युरोपमा नेपाली साहित्य विकाशको संक्षिप्त ईतिहास

- सुमल कुमार गुरुङ

१. विषय प्रवेश

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) बोेर्ड आफ ट्रस्टीजका अध्यक्ष होम नाथ सुबेदीज्यूले बेलायतको नेपाली साहित्य सम्बन्धि एउटा मिठो कार्यपत्र प्रस्तुत गर्ने प्रस्ताव राख्नु भएको थियो । त्यसकारण शुरुमा केवल बेलायतको साहित्य विकाशको ईतिहास लेख्ने मानसिकता बनाएको थिए । तर, पछि केहि सन्दर्भ सामाग्रीहरु र सूचनाहरु प्राप्त भएपछि युरोपमा नेपाली साहित्यको विकाशको ईतिहास तर्फ मेरो सोंच मोडियो । मैले प्राप्त सूचनाको आधारमा युरोपका केहिदेशहरुलाई मात्र समेटेर ती देशहरुको नेपाली साहित्य विकाशको ईतिहासबारे संक्षेपमा केहि प्रकाश पार्ने कोशिस गरेको छु । युरोपका सबै राष्ट्रहरु र साहित्यिक संस्थाहरु सबैसंग समयको आभावले र केहि कठिनाईले गर्दा सम्पर्क गर्न सकिएन त्यसकारण यस कार्यपत्रले पूर्णतया सबै युरोपियन राष्ट्रहरुलाई समेटिएको छैन । यद्यपि प्राप्त सूचनाको आधारमा यस कार्यपत्र मार्फत युरोपको भूमीबाट नेपाली साहित्यको विकाश र संक्षिप्त ईतिहासमाथि प्रकाश पार्ने कोशिस रहेको छ ।

२. युरोपमा पहिलो नेपालीहरुको आगमन र शुरुका साहित्यिक कृतिहरु

युरोपका नेपाली साहित्यको बारेमा परिचर्चा गर्नु अघि युरोपमा नेपालीहरुको आगमन बारे बुझ्न अत्यन्त जरुरी छ । सन् १८१६सालमा सुगौली सन्धि भएकै साल जन्मेका जंगबहादुर रानाले सन् १८५२ सालमा बेलायत र फ्रान्सको भ्रमण गरेका थिए । हालसम्म प्राप्त अभिलेख अनुसार युरोप भ्रमण गर्ने समुहमा उनको समुह पहिलो देखिन्छ । उनको बेलायत यात्रासंगै नेपाली साहित्यमा एउटा महत्वपूर्ण कृति जन्मिएको छ “श्री ३ महाराजा जंगबहादुर राणाको बेलायत भ्रमण“ । यो कृति नेपाली साहित्यको नियात्रा फाँटको कोशेढुङ्गा मानिन्छ । डा. मधु माधुर्यका अनुसार सन् १९०८तिर बझाङ्गे राजा जयपृथ्विबहादुर सिंहको लेनिनसंग प्रत्यक्ष तथा अप्रत्यक्ष सम्पर्क थियो भन्ने अनुमान रहेको छ । त्यसपछि युरोप आउने नेपालीहरुमा गोरखा फौज अग्रस्थानमा आउँछ । बझाङ्गे राजादेखि गोरखा फौजको पहिलो आगमन कालमा कुनै नेपाली कृति युरोपबाट सिर्जना भएको अभिलेख पाईदैन । जंगबहादुर राणाको बेलायत भ्रमण पछिका उल्लेखनीय कृतिहरुमा लैनसिंह बाङ्देलका उपन्यास “मुलुक बाहिर“ रहेको छ । लैनसिंह बाङ्देल चित्रकला अध्ययनका लागि जङ्गबहादुर रानाले फ्रान्स भ्रमण गरेको ९९ वर्षपछि अर्थात सन् १९५१ सालतिर फ्रान्स आएका थिए । उनको एक दशकभन्दा बढि युरोपको बसाइँमा धेरै साहित्यिक सिर्जनाहरु उनले गरे । सम्भवतः डायस्पोरिक नेपाली साहित्यको अनुभूति लिएर उत्तरी युरोपको धरातलमा सिर्जना गर्ने वा विविध विधामा साहित्य लेख्ने पहिलो व्यक्तित्व लैनसिंह बाङदेल नै हुन्कि भन्ने मलाई लाग्छ । उनको झण्डै एक दशकको युरोप बसाइँमा उत्कृष्ट सिर्जनाहरुको जन्म भएको देखिन्छ । युरोपमा नेपालीहरुको बसाइँ सराई गर्ने राष्ट्रहरुमा बेलायत नै पहिलो हुन आउँछ । उत्तरी युरोपमा मौलाएका डायस्पोरिक (अझ यस शब्दलाई प्रष्ट पार्न आवश्यक देखिन्छ) नेपाली साहित्यको ईतिहास बारे अघिल्लो अनुच्छेदहरुमा चर्चा गरिन्छ ।

३. बेलायतमा नेपाली साहित्यको विकाश

नेपाल र बेलायतको सम्बन्ध सन् १८१६सालदेखि कायम रहेतापनि राजकीय भ्रमणचाँही जङ्गबहादुर राणापछि राजा महेन्द्रको पालासम्म बेलायतमा केवल तीन वटा राजकीय भ्रमणहरु भएको अभिलेख पाईन्छ । राजा महेन्द्रले सन् १९६० सालमा बेलायत भ्रमण गरेका थिए । त्यसपछि बेलायतकी महारानीले सन् १९६१ सालमा नेपालको भ्रमण गरेकी थिईन् । जंगबहादुर राणाको युरोप भ्रमण पछि नेपालीहरुको आगमन गोरखा पल्टनहरु मार्फत प्रथम विश्वयुद्धको दौरान युरोपका विभिन्न क्षेत्रहरुमा प्रवेश गरेका पाउँछौ । यी महासमरहरुमा लाखौ नेपालीहरुको ज्यान गएको थियो । कतिपय युद्धका दौरान लापता भएका गोरखाहरु युद्धपश्चात युरोपमा नै घरजम गरी बसेका हुन सक्छन् भन्ने अनुमान छ । लापता भएकाहरु मृत्यु भएको कहिँ प्रमाण भेटिएको छैन । समय र परिस्थितिले गर्दा यसरी नै आफ्नो पहिचान गुमाएका गोरखालीका सन्तानहरु विश्वभरी छरिएका छन् । यसको गतिलो उदहारण हामीले धेरै पहिलेदेखि फिजीमा बस्दै आएका गोरखा समुदायलाई लिन सक्छौ । युरोपतिरमात्र नभई बेलायतको विश्वभरी छरिएर रहेका कलोनियल (बेलायती उपनिवेशको दौरान) भूभागहरुमा पाईला टेकेर कतिपय स्थानहरुमा स्थायी रुपमा बसोबास गर्ने पहिलो नेपालीहरु यीनै गोरखा समुहबाट थिए । पाकिस्तानको एबोटाबाद क्षेत्रदेखि बर्मासम्म क्रमिकरुपमा नेपालीहरु सयौंवर्षदेखि बसोबास गर्दै आएको मूलकारण गोरखा फौज अर्थात लाहुरेहरु नै थिए ।

दोश्रो विश्वयुद्धको दौरान भिक्टोरिया क्राँस र आईओएम बहादुरी पदक विजेता लाल बहादुर थापा सन् १९४४सालमा बेलायत आएका थिए । उनको भ्रमणको दौरान उनले देखाएका बहादुरीको बृतान्त बेलायती दर्शकहरुलाई ठाउँठाउँमा कार्यक्रम सञ्चालन गरेर प्रकाश पारेको थियो भन्ने अभिलेखहरु उल्लेख गरेका छन् । प्रशिक्षण र अन्यकारणबाट बेलायत आउने लाहुरेहरु धेरै पहिलेदेखि नै आउन थालेका थिए । बेलायतसंगको २००वर्ष पहिले सम्बन्ध रहेको गोरखा फौजका कर्मचारीहरु तालीम अथवा विभिन्न कामहरु मार्फत बेलायत आउन थालेका थिए । बिदेशी भूमीहरुमा नेपाली भाषा बोल्ने पहिलो नेपाली नागरिकहरु गोरखा फौजबाट गएकाहरु हुन् । नेपाली साहित्यको विकाशलाई भारत छाडेर विश्वको अरु मुलुकमा शुरुआत गर्नेक्रम नै गोरखा पल्टनहरुबाट भएको देखिन्छ । नेपाली भाषाको रेडियो प्रसारण भारतलाई छोडेर पहिलोचोटि बीएफबीएस मार्फत हङकङबाट शुरु भएको थियो । बीएफबीएस गोरखा सेवा नेपाली भाषाको एकदमै लोकप्रिय रेडियो प्रसारण हो । अहिले पनि यो सेवा नेपाल, ब्रुनई र बेलायतबाट निरन्तर प्रसारण भईरहेको छ ।

त्यसपछि सन् १९९७मा व्रिगेड अफ गुर्खाज बेलायतमा स्थानान्तरण भएपछि पर्वते पत्रिका बेलायतबाट प्रकाशित हुनथालेको थियो । नेपाली भाषाको प्रकाशनको कुरा गर्नुपर्दा शताब्दियौ पहिलेदेखि पल्टनहरुमा प्रकाशित हुने पल्टनका प्रशासकीय गतिविधिहरु र स्थानान्तरणका आदेशहरु रोमन गोरखालीमा प्रकाशन गर्दथे । ती सबै अभिलेखहरु अहिले प्रत्येक विधमान रहेका गोरखा पल्टनहरुमा तथा अभिलेख कार्यालयहरुमा प्राप्त गर्न सकिन्छ । पर्वते पत्रिकाको प्रकाशन पूर्व सन् १९६० सालतिर यती समाजको स्थापना पछि बेलायतमा पहिलो नेपाली यतीपत्र सन् १९६०बाट प्रकाशन शुरु भएको अभिलेख पाईन्छ । यती संस्था मार्फत युरोपमा संस्थागत रुपमा पहिलो नेपाली डायस्पोरिक साहित्यको जन्म भएको प्रसङ्ग यतीपत्र मार्फत लिन सकिन्छ । यसको चर्चा अघिल्लो परिक्षेदमा गरिनेछ । नेपालीहरुको बेलायत आगमन क्रमिक रुपमा बेलायती सेनामा कार्यरत् गोरखाली सैनिककर्मीहरुको कारणबाट बढ्न थालेको थियो । त्यसपछि नेपालीहरु पढाईको सिलसिलामा छिटपुट अध्ययनको लागि तथा जन् अन्दोलन् पछि शरणार्थी र अरु कुनै माध्यमबाट बेलायत आउन थाले ।

एक्काईसौ शताब्दिको पहिलो दशकमा बेलायती भूतपूर्व गोरखाली सैनिकहरुलाई परिवारसहित बेलायतमा बस्ने सुविधा पाएपछि बेलायतमा नेपालीको सङ्ंख्या ह्वात्तै बढेर आयो । हाल बेलायतमा एकलाख साठीहजारको हाराहारीमा नेपालीहरु बसोबास गरेको तथ्याङ्क छ । त्यस्तै युरोपमा सत्तरीको दशकताका नेपाली राजदूतावासहरुको स्थापना हुन थालेपछि नेपालीहरुको आगमान हुन थालेको थियो । युरोपमा नेपालीहरुको संख्यात्मक बृद्धि हुन थालेपछि सिर्जनाका रहर बोकेका सर्जकहरुपनि विस्तारै विभिन्न संघसंस्थाहरु र साहित्यिक संस्थाहरुको मार्फत सिर्जनाहरु उजागर गर्न थालेका देखिन्छन् । युरोपका लागि थाह पाए अनुसार नेपाली डायस्पोरिक साहित्य फस्टिएको मुलुकहरुमा बेलायत, रुस, बेल्जियम, जर्मनी र फ्रान्स देखिन्छ । यी राष्ट्रहरुमा पल्लवित भएर नेपाली साहित्यको सुवास छर्ने युरोपेली राष्ट्रहरुको साहित्यिक ईतिहास प्राप्त सूचनाको आधारमा क्रमबद्ध रुपमा प्रस्तुत गर्ने कोशिस गरिन्छ ।

४. बेलायतका साहित्यिक संस्थाहरु

युरोपमा सबैभन्दा बढि नेपालीहरु बसोबास गर्ने राष्ट्र बेलायत हो । बेलायतमा यतिबेला दुईसयभन्दा बढि सानाठूला नेपाली संघसंस्थाहरु छन् । ती संघसंस्थाहरुमध्ये पाँचवटा नेपाली साहित्यिक संस्थाहरु सक्रिय छन् भने यती समाजबाट निरन्तर यतीपत्र प्रकाशित भईरहेको छ । पर्वते पत्रिका, बीबीसी र बीएफबीएस बेलायती सरकारको प्रायोजनबाट सञ्चालित छन् । पाँचवटा साहित्यिक संस्थाहरु निरन्तर सक्रिय छन् । यसर्थ बेलायतको साहित्यिक फाँट एकदमै उर्बर देखिन्छ । मैले चिनेका, बेलायतलाई कर्मभूमी बनाएका, पहिलो नेपाली व्यक्तित्वहरुमा स्व.ईश्वर मानन्धर, राजेन्द्र क्षेत्री (शुरुका नर्सिङ विद्यार्थी) र डाक्टर चुडा कार्कीहरु थिए ।

५. बेलायतबाट प्रकाशित हुने यतीपत्र

सयौ संघसंस्थाहरुमध्येका सबैभन्दा पहिले स्थापना भएको संस्था “यती समाज” बेलायतको मात्र नभई युरोपकै सबैभन्दा पुरानो संस्था हो । बेलायतका लागि नेपाली राजदूत प्रबल शमशेर जबरा तथा हेमाङ्ग दिक्षितहरुको पहलमा सबैभन्दा पुरानो नेपाली संस्था यती समाज स्थापना भएको थियो । यती समाज यूकेको स्थापनकालदेखि यतीपत्र प्रकाशन हुन थालेको थियो जुनचाँहि पहिलोचोटी सन् १९६०मा प्रकाशित भएको थियो । यही नै सबैभन्दा पहिलेको प्रकाशन मानिन्छ । मई १९६०सालमा स्थापना भएको यस संस्थाबाट सबै भन्दा पहिले १९६० सालताका यती समाजका अध्यक्ष प्रबल शमशेर जबर र महासचिव डाक्टर हेमाङ्ग दिक्षितको सम्पादनमा प्रारम्भ भएको पत्रिका मार्फत बेलायतमा साहित्य सिर्जनाको श्रीगणेश भएको देखिन्छ । यती पत्र पत्रीकाका वर्तमान सम्पादक सुरेश जंग शाहको पालासम्म आईपुग्दा उनले बताए अनुसार ३५७ अङ्क सम्मा प्रकाशित भईसकेका छन् । यती समाज मार्फत प्रकाशित हुने यतीपत्र बीचमा कहिलेकाँही छुटेतापनि लगातार रुपमा प्रकाशन गर्दै आएकोे देखिन्छ । सन् १९९५मा नेपाली साहित्य विकाश परिषदको स्थापना भएपछि त बेलायतमा संस्थागत साहित्यिक माहौल बन्दै आएको कुरा शाह बताउँछन् ।

६. पर्बते पत्रिका बेलायत रक्षामन्त्रलायबाट प्रायोजित

सबैभन्दा पहिले पर्बते पत्रिका सन् १९४९ सालमा सिंगापुरबाट शुरु भएको थियो । ब्रिगेड आफ गुर्खाजको स्थानान्तरण सन् साठीको दशक शुरु भएपछि हङकङबाट सो पत्रिकाको प्रकाशन निरन्तर रुपमा भएको थियो र हालसम्म यस पत्रिकाको प्रकाशन निरन्तर छ । माथि उल्लेख गरे अनुसार यो एउटा साहित्यिक संस्थाबाट सञ्चालित नभई बेलायती सरकारबाट प्रायोजित तथा नियुक्त गरिएको एउटा टिम मार्फत सञ्चालित सञ्चारको माध्यम हो जसबाट सम्पूर्ण सेवारत् गोरखा फौजमात्र नभई नेपालका विभिन्न भूभागमा बस्दै आएका भू.पू गोरखालीहरुलाई सम्पर्क गरेर गोरखा ब्रिगेडको गतिविधिहरुसगं आबद्ध राख्ने र जानकारी सम्प्रेषन गर्ने उद्धेश्य लिएर प्रकाशित हँुदै आएको पत्रिका हो । यस पत्रिका मार्फत समाचार, गोरखा व्रिगेडका गतिविधिहरु तथा लेखरचनाहरु प्रकाशित गरिन्छ । यस पत्रिकामा प्रकाशित लेखरचनाहरुबारे यस कार्यपत्रमा समेट्ना असभ्मव छ । तर, पर्वते पत्रिका मार्फत सिर्जना शुरु गरेका गोरखा सेनाका सर्जकहरु अहिले नेपाली साहित्य आकाशमा उज्यालो प्रकाश लिएर उदाइरहेका छन् । यस्ता सर्जकहरु अहिले सयौका सङ्ख्यामा छन् । सन् १९९७ पछि ब्रिगेड अफ गुर्खाजबाट पर्बते मासिक पत्रिका अनवरत् प्रकाशन हुन थालेपछि शायद विदेशबाट नेपालीमा सबैभन्दा बढि सङ्ख्यात्मक हिसाबमा छापिईने पत्रिका पर्बते हुन आएको छ ।

पर्बते प्रत्ति महिना एउटा अङ्क लिएर निरन्तर प्रकाशन हुने गर्दछ र एक पटकमा एक्काईस हजार प्रति भन्दा बढि वितरण हुने पत्रिका हो । यो पत्रिका पहिले पाक्षिक हिसाबमा प्रकाशित हुन्थ्यो । तर, केहि वर्ष पहिलेदेखि मासीकरुपमा आउन थालेको छ । गोरखा सेनामा कार्यरत् वा सेवा निवृत्त भईसकेका भूतपूर्व सैनिकहरुले उल्लेखनीय सिर्जनाहरु जन्माउँदै नेपाली साहित्य भण्डारमा कृतिहरुको भरमार गर्दै आएका हामी पाउँछौ । बीएफबीएस रेडियो मार्फत कविता प्रत्तियोगिताहरुको आयोजनाले गर्दा गोरखा जवानहरुलाई साहित्य सिर्जना गर्ने कुरामा उत्प्रेरित गरिरहेको छ । यसले गर्दा बेलायतको सिर्जना आकाश झन् फराकिलो हुँदै आएको छ । नेपाली साहित्यिक संस्थाहरुको स्थापना भएपछि पुस्तक प्रकाशनको बाढ नै आउन थालेको छ । अनेकौं संघसंस्थाहरुबाट वर्षेनी प्रकाशन गरिने स्मारिकाहरुको रेकर्ड प्राप्त गर्न समय लाग्ने हुनाले यस कार्यपत्रमा हाल बेलायतमा सक्रिय साहित्यिक संस्थाहरुबाट प्रकाशित कृति तथा लेखकहरुबारेमात्र संक्षिप्त जानकारी दिने प्रयास रहेको छ ।

७. नेपाली साहित्य विकाश परिषद, बेलायत

सन् १९९५ सालमा सुरेशजंग शाहको अध्यक्षतामा खोलेको यो साहित्यिक संस्था बेलायतको सबैभन्दा पहिलो साहित्यिक संस्था हो । नेपाली साहित्यको विकाशका लागि खोलिएको यो साहित्यिक संस्थाले संस्थापनकाल देखि नै नेपाली साहित्यिक पत्रिका लालीगुराँस सुरेशजंग शाहको सम्पादनमा प्रकाशित हुँदै आएको छ । पत्रिका मार्फत संस्थाका नियमित गतिविधिहरु सम्प्रेषण गर्दै आएको छ । यस संस्थाले साहित्यिक पुरस्कार कोषको स्थापना गरेर नेपाली साहित्यलाई महत्वपूर्ण योगदान पुर्याएको छ । बेलायतमा निकै पहिले प्रवेश गरेका सुरेशजंग शाहीका अनुसार सन् २००० पछि बेलायतमा नेपाली साहित्य सिर्जनाको क्षेत्रमा अभिबृद्धि साथै नेपाली संघसंस्थाहरु, पत्रपत्रिकाहरुको प्रकाशन र नेपालीका गतिविधिहरु ह्वात्तै बढ्न गएपनि सो भन्दा अगाडि स्थापना भएको प्रमुख नेपाली तीन वटा संस्थाहरु क्रमशः यती नेपाली एसोसिएसन् – १९६०, १९८६ सालमा स्थापित कोसेली नेपाली संस्कृतिक परिवार (यस समाजको मूल उद्धेश्य नेपाली लोक संगीतलाई बेलायती परिवेशमा परिचित गराउनु हो) र नेपाली साहित्य विकाश परिषद बेलायत हुन् भन्छन् उनी ।

(अ) नेपाली साहित्य विकाश परिषदका प्रकाशनहरु

नेपाली साहित्य विकाश परिषदका संस्थापक अध्यक्ष सुरेशजंग शाहका सम्पादनमा लालीगुराँस, कोसेली, लण्डनपोस्ट र सगरमाथा टाईम्स पत्रिकाहरु प्रकाशित भएका छन् । नेपाल साहित्य विकाश परिषदसंगको अग्रतामा करिब दुईदर्जन जति कृतिहरु हालसम्म प्रकाशित भईसकेका छन् । नेपाली साहित्य विकाश परिषदका सर्जकहरुमा क्रमशः सुरेशजंग शाह, कोमल प्रसाद श्रेष्ठमल्ल, हरिसिंह थापा, स्व.ईश्वर प्रसाद मानन्धर, गोपाल पौडेल, प्रेना थापा, धन बहादुर थापामगर, गोकुल भण्डारी, नेपालका मदन पुरस्कार विजेता, वरिष्ठ कवि गोपाल पराजुली र हाल ईजरायलमा रहेकी कवयात्री सुमित्र आँचलका पनि पुस्तकहरु परिषदबाट प्रकाशित भईसकेका छन् ।

(ब) नेपाली साहित्य विकाश परिषदबाट प्रदान गरिने पुरस्कारहरु

नेपाली साहित्य विकाश परिषदले एनएलडीसी गोल्डमेडल र नेपाली साहित्य पुरस्कार नेपाली सर्जकहरुका प्रोत्साहनका लागि पुरस्कृत गर्दै आएको छ । हालसम्म एनएलडीसी गोल्डमेडल पुरस्कारबाट पुरस्कृत कबिहरुमा क्रमशः प्रेना थापा, कोमल श्रेष्ठमल्ल र धनबहादुर थापामगरहरु छन् । नेपाली साहित्य पुरस्कारको पहिलो संस्करणका विजेता सुमल कुमार गुरुङलाई उनको कृति, कथा सङ्ग्रह “मेजर अर्जुनको औँठी” कालागि यसैवर्ष अप्रिल महिनामा पुरस्कृत गरेको छ । स्मरण रहोस साहित्यकार सुमल कुमार गुरुङका (हाल बेलायतलाई कर्मभूमी बनाएर यतै बसेका छन्) यसै कृतिका लागि अन्तर्राष्ट्रिय साहित्य समाजको तेश्रो सम्मेलनमा “धवलागिरी अञ्चल सवोत्कृष्ट पुस्तक पुरस्कार”बाट पनि पुरस्कृत गरेको थियो ।

८. अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास), बेलायत च्याप्टर

अनेसास बेलायत च्याप्टर अनेसासको विश्वभरी सञ्जाल फैलिएको संस्थाहरु मध्येका एउटा एकाई हो । यो संस्था सन् २००४ सालमा पोषेन्द्र सत्यालको अध्यक्षतामा स्थापना भएको संस्था हो । डा. रुपक श्रेष्ठको अध्यक्षतामा चौथो कार्यसमितिको चयन यहि सालको २० जुलाई २०१३का दिन भएको छ । अन्तर्रारष्ट्रिय नेपाली साहित्य समाज बेलायत च्याप्टरले साहित्यिक कार्यक्रमहरु सम्पन्न गरेर नेपाली साहित्यका लागि अनुकरणीय योगदानहरु प्रदान गरेको छ । सन् २००८ सालदेखि यस संस्थाले राम्रो गति लिन थालेको देखिन्छ । अहिले यस संस्थाको नेतृत्वमा डाक्टर रुपक श्रेष्ठ छन् । यसबेला अनेसासको प्रकाशनभित्र रहेर तथा अनेसास बेलायत च्याप्टरमा आबद्ध रहेका सर्जकहरुद्वारा निम्न सिर्जनाहरु जन्माई सकेका छन्ः

ड्ड स्व. ईश्वर मानन्धरका सातवटा कृतिहरु (केहि कृतिहरु पहिले नै प्रकाशित भईसकेका थिए)
ड्ड डाक्टर रुपक श्रेष्ठ – कृति एक
ड्ड होम परिवाग – कृति दुई
ड्ड गोपी कृष्ण प्रसाई – कृति एक
ड्ड जयालक्ष्मि राई – कृति एक
ड्ड विकल आचर्य – कृति दुई
ड्ड लक्ष्मि थापा राई (लारा) – कृति एक
ड्ड सुमल कुमार गुरुुङ – कृति दुई
ड्ड जगत नबोदित – कृति दुई
ड्ड जम्मा कृतिहरु – १८

छोटो समयअवधिभित्र प्रकाशित उल्लेखनीय माथिका सर्जकहरुको केहि कृतिहरु विभिन्न साहित्यिक संस्थानहरुबाट पुरस्कृत भईसकेका छन् । अनेसास बेलायत च्याप्टरले सन् २०११ सालमा केन्द्रिय अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको दुई दुईवर्षमा आयोजना गरिने कन्भेन्शनको आयोजना गरेको थियो । यो कार्यक्रम बडो धुमधामसंग सम्पन्न भएको थियो । सोहि अवसरमा देशविदेशबाट आएका सर्जकहरुको आतिथ्यको साथसाथै अनेसासको लण्डन घोषणा सार्वजानिक गरिएको थियो । यसै अवसरमा अनेसास को “वाङमय” पत्रिका अनेसास बेलायत च्याप्टरले प्रकाशित गरेको थियो ।

९. अनेसास बेलायत च्याप्टरबाट प्रदान गरिने पुरस्कार

यसै वर्षदेखि स्व.ईश्वर प्रसाद मानन्धरले आफ्नो बुवाको नामबाट बेलायतका साहित्यकारहरुलाई प्रोत्साहन गर्न प्रदान गरिने साहित्यिक पुरस्कार सुन्दर प्रसाद मानन्धर साहित्यिक पुरस्कारको घोषणा भईसकेको छ । यसवर्ष विशेष कारणले गर्दा सो पुरस्कार वितरण गर्न सकिएन ।

१०. पारिजात स्मृति भवन निर्माण सहयोग

सन् २०११सालमा पारिजात जयन्ती भव्यताको साथ सम्पन्न गरेर ५०,०००.०० रुपैया पारिजात स्मृति भवन निर्माण सहयोगार्थ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बेलायत च्याप्टरले व्यवस्थापन समितिलाई समाजकी उपाध्यक्ष जाया राई हस्ते हस्तान्तरण गरेको थियो ।

११. अनेसास बेलायत च्याप्टरको मासिक तथा अन्य साहित्यिक कार्यक्रमहरु

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बेलायत च्याप्टरले प्रत्येक महिनाको अन्तिम पहिलो शनिवार मासिक साहित्यिक कार्यक्रम गरि सन्ध्या नायक÷नायिकाको प्रकाशोन्मुख कृतिहरुमाथि समालोचना, र छलफल गरि श्रष्टालाई अझ मुखरित हुन सहयोग गर्ने र सर्जकहरु द्वारा सिर्जित कविता वाचन गरिन्थ्यो । यो डा. रुपकको परिकल्पना थियो । तर, अहिले आएर प्रत्येक महिनाको अन्तिम आईतवार साहित्य विधाको विभिन्न विधाहरुमा गोष्ठी गरिन्छ साथै नेपाली साहित्यका महान नायक÷नायिकाहरुको जन्म जयन्ती मनाईन्छ । सन् २०१०मा मात्र अनेसास बेलायत च्याप्टरका सर्जकहरुको आठ वटा कृतिहरु प्रकाशन भएको थियो । अन्तर्राष्ट्रिय नपाली साहित्य समाज बेलायत च्याप्टरले नेपालबाट बेलायत आउने विभिन्न नेपाली साहित्यका वरिष्ठ सर्जकहरु, प्राध्यापकहरु र तथा विद्वानहरुसंग तथा बेलायतका अन्य साहित्यिक संस्थाहरुसंग सहकार्य गर्दै नेपाली साहित्य को विकाशको लागि अन्तरक्रिया निरन्तर गर्दै आएको छ ।

१२. लण्डनमा अनेसास बेलायतद्वारा सम्पन्न अनेसासको दोश्रो सम्मेलन

अनेसासको प्रत्येक दुईवर्षमा गरिने अन्तर्राष्ट्रिय सम्मेलन पहिलो पटक २००९मा अमेरिकामा नै सम्पन्न भएको थियो भने दोश्रो पटकको सम्मेलन बेलायतमा सन् २०११को अगस्त महिनामा २६ देखि २८ तारिखसम्म बडो सफलताको साथ सम्पन्न भएको थियो । त्यस सम्मेलनमा नेपालबाट प्रा.डा. गोविन्दराज भट््टराई, प्रा. सुष्मा आचार्य, अमेरिकाबाट अनेसासका बिओटी अध्यक्ष होमनाथ सुवेदी, बेलायतबाट डा. रुपक श्रेष्ठा, गोपीकृष्ण प्रसाई, प्रा. माइकल हट आदि द्वारा कार्यपत्रहरु प्रस्तुत गरेका थिए । यस सम्मेलनमा विभिन्न राष्ट्रहरुबाट आएका कैयौ अग्रज साहित्यकारहरुको उपस्थिति पनि थियो । सम्मेलनको अन्तमा अनेसास लण्डन घोषणापत्र समप्रेषण गरिएको थियो ।

१३. नेपाली प्रत्तिभा प्रतिष्ठान, बेलायत

सन् २००८ सालमा स्थापना भएको नेपाली प्रत्तिभा प्रतिष्ठान बेलायतले साहित्य क्षेत्रमा मात्र नभई सिर्जनाको विविध पक्षलाई लिएर सिर्जनामा अघि बढिरहेको छ । नेपाली भाषा, साहित्य, कला एवं संस्कृतिको रक्षा, सम्बद्र्धन, जगेर्ना तथा सर्वाङ्गीण विकास गर्ने उद्धेश्यले यो संस्थाको जन्म भएको हो । कम समयभित्र ठूलठूला कार्यक्रमहरु आयोजना गरेर नेपाली सर्जकहरुलाई उल्लेखनीय सम्मान र आर्थिक सहयोग प्रदान गरिने संस्थामा नेपाली प्रतिभा प्रतिष्ठान पछिल्ला दिनहरुमा सबैभन्दा अघि देखिन आएको छ ।

१४. विगत पाँचवर्षभित्र नेपाली प्रत्तिभा प्रतिष्ठानका प्रकाशित कृतिहरु

ड्ड कविता सङ्ग्रहरु – १३ वटा
ड्ड गीती सङ्ग्रहहरु – तीन वटा
ड्ड उपन्यासहरु – तीन वटा
ड्ड संस्मरणहरु – दुई वटा
ड्ड गीती एल्बम – एक वटा
ड्ड लोक संस्कृति – एक वटा
ड्ड विचार÷दर्शन – एक वटा
ड्ड कथा सङ्ग्रह – एक वटा
ड्ड जम्मा – २५ वटा

१५. नेपाली प्रत्तिभा प्रतिष्ठानबाट प्रदान गरिने पुरस्कारहरु

प्रत्तिभा प्रतिष्ठानका बहुसङ्ख्यक सदस्यहरु बेलायती सेनाका भूपू सैनिकहरु हुन् । छोटो समयभित्र देखा परेका कृतिहरु सिर्जना क्षमताको ज्वलन्त उदहारण हुन् । नेपाली प्रत्तिभा प्रतिष्ठान बेलायतले दुइवटा पुरस्कारहरु प्रदान गरिंँदै आएको छ ।

प्रत्तिभा सम्मान

ड्ड सन् २००८ – स्व. ईश्वर प्रसाद मानन्धर, वरिष्ठ सर्जक – कदरप्रत्र द्वारा सम्मान
ड्ड सन् २००८ – सर्जक नवीन विभास (किरण पुन) – कदरपत्र तथा पच्चीस हजार एक रुपैयाको सम्मान राशी ।
ड्ड सन् २००९ – सुप्रसिद्ध सर्जक, गायक, संगीतकार तथा हालको नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका कुलपति अम्बर गुरुङ – कदरपत्र तथा ११ हजार रुपैयाको सम्मान राशी ।
ड्ड सन् २००९ – गायक कुवेर राई – कदरपत्र तथा तीसहजार रुपैयाको सम्मान राशी ।
ड्ड सन् २०१० – वरिष्ठ सर्जक जी..वी. लुगुन (गणेश बहादुर राई) – कदरपत्र तथा बीसहजार एक रुपैयाको सम्मान राशी ।
ड्ड सन् २०१० – कवि तथा गीतकार उपेन्द्र सुब्बा – कदरपत्र तथा एकलाख एक रुपैयाको सम्मान राशी ।
ड्ड सन् २०११ – चर्चित कवि श्रवन मुकारुङ – कदरपत्र तथा एकलाख एक रुपैयाको सम्मान राशी ।
ड्ड सन् २०११ – भजनशिरोमणि भक्तराज आचार्य – कदरपत्र तथा बीसहजार एक रुपैयाको सम्मान राशी ।
ड्ड सन् २०१२ – प्रा.डा. गोविन्दराज भट्टराई – कदरपत्र तथा बीसहजार एक रुपैयाको सम्मान राशी ।
ड्ड सन् २०१२ – सर्जक मोमिला नेपाली – कदरपत्र तथा एकलाख एक रुपैयाँको सम्मान राशी ।

१६. नेपाली प्रत्तिभा प्रतिष्ठान् द्वारा बेलायती नेपाली श्रष्टाहरुका–“अभिव्यक्ति श्रृङ्खला“

नेपाली प्रतिभा प्रतिष्ठान द्वारा प्रत्येकवर्ष एक जना स्रष्टालाई “अभिव्यक्ति श्रृङ्खला“मा उभ्याईन्छ र प्रत्यक्षरुपमा उनको एकल सिर्जनाको प्रस्तुति गराईन्छ । सशुल्क रुपमा सन् २००८देखि अहिलेसम्ममा ५ जनाले आ–आफ्ना अमुल्य सिर्जनाहरु बेलायती दर्शकहरुलाई पस्किसकेका छन् ।

ड्ड सन् २००८ – गायक तथा सङ्गीतकार चोक गुरुङ
ड्ड सन् २००९ – कवि दयाकृष्ण राई
ड्ड सन् २०१० – कवि टंक बनेम
ड्ड सन् २०११ – सङ्गीतकार किशोर गुरुङ
ड्ड सन् २०१२ – कवि अञ्जु अञ्जली
ड्ड सन् २०१३ – पप गायक नोरदेन तेन्जिङ भुटिया ।

१७. विश्व नेपाली साहित्य महासंघ, बेलायत च्याप्टर

सन् २०१० सालको जुलाई महिनामा नेटमार्फत स्थापना भएको विश्व नेपाली महासंघका अहिले विश्वभरी १२ वटा राष्ट्रहरुमा शाखाहरु स्थापित छन् । बेलायतमा पनि त्यही साल विश्व नेपाली महासंधको बेलायत एकाई अध्यक्ष समिप हाङबुङ, “जर्जर“को अध्यक्षतामा स्थापना भएको छ । विश्व नेपाली साहित्य महासंघले स्थापनाकालदेखि नै साहित्यिक कार्यक्रमहरु गर्दै आएको छ । यस संस्था मार्फत मुलबाटो अन्लाइन् पत्रिका निरन्तर रुपमा प्रकाशित भईरहेको छ । विश्व नेपाली साहित्य महासंघ केन्द्रबाट कृतिहरुको प्रकाशन तथा अन्य थुप्रै कार्यक्रमहरु सञ्चालन भएता पनि बेलायत शाखाबाट अहिलेसम्म कुनै कृति प्रकाशित भएको जानकारी छैन ।

१८. विश्व नेपाली साहित्य महासंघबाट दिएको स्रष्टा पुरस्कारहरु

हालै कात्र्तिक आठ, २०७०का दिन विश्व नेपाली महासंघबाट निम्न पुरस्कारहरु स्रष्टाहरुलाई पुरस्कृत गरेको छ ।

ड्ड नेपाली स्रष्टा पुरस्कार, पचासहजार रुपैया राशी तथा कदरपत्र – डाक्टर राजेन्द्र भण्डारी, सिक्किम, भारत
ड्ड युवा स्रष्टा पुरस्कार, पच्चीसहजार रुपैया राशी तथा कदरपत्र – विमला तुम्खेवा (नेपाल)
ड्ड भाषाभाषी साहित्य पुरस्कार, दशहजार रुपैया राशी तथा कदरपत्र – श्यामसुन्दर यादव (नेपाल)

कात्र्तिक आठ गतेकै दिन विश्व नेपाली साहित्य महासंघबाट चारवटा कृतिहरुको विमोचन भएको थियो । सुरेन्द्र ईङनामका “चोट सिद्धिएपछि”,सपना गौतमकी “सपना सिन्धु” लगायत माक्माकुर–माक्माकुर र साहित्य संसार लोकमा गरौ हित भन्ने कृतिहरको लोकार्पण भएको थियो ।

१९. अन्तर्राष्ट्रिय नेपाली वाङ्मय प्रतिष्ठान

२०१२, अगस्त महिनाको १९ तारिखको दिन भानु जयन्तीको अवसर पारेर विकल आचार्यको अध्यक्षतामा अन्तर्राष्ट्रिय नेपाली वाङमय प्रतिपष्ठानको स्थापना भएको थियो । वाङमयका प्रायः सबै कार्यकारी समितिका पदाधिकारीहरु तथा सदस्यहरु अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजसित पनि आबद्ध छन् । एक वर्ष पहिले स्थापना भएको यस साहित्यिक संस्थाले समय सापेक्ष रचनात्मक क्रियाकलापहरु गर्दै नेपाली साहित्यको विकाशमा अघि बढिरहेको छ । अन्तर्राष्ट्रिय तवरमा विस्तृत गर्ने लक्ष्य बोकेको संस्थाको एउटा शाखा नेपालमा पनि खोलिएको छ । यस संस्थाबाट हालै विकल आचार्य द्वारा सिर्जित एउटा उपन्यास, “मोह“को विमोचन भएको छ तथा नेपालबाट केहि कृतिहरु प्रकाशित भएर विमोचनका लागि तैयार छन् । हालसालै पचास हजार रुपैयाको सम्मान राशीबाट पहिलेका सभासद शान्ता चौधरीलाई उनको सिर्जना “कमलारीदेखि सभासद सम्माका“ लागि “अन्तर्राष्ट्रिय वाङमय नक्षत्र पुरस्कार“ द्वारा पुरस्कृत गरेको छ ।

२०. बेलायतका केहि नेपाली सञ्चार माध्यमहरु

ड्ड नेपाली पत्रकार महासंघ, बेलायत च्याप्टर सन् २०१२मा स्थापित
ड्ड एभरेष्ट टाईम सप्ताहिक (छापामा तथा वेभमा)
ड्ड नेपालपत्र साप्ताहिक (छापामा तथा वेबमा)
ड्ड नेपाली सन्देश सप्ताहिक (छापामा)
ड्ड मेरोयूके डटकम वेबसाईट
ड्ड नेपालब्रिटैन डटकम वेबसाईट (साहित्य तथा समाचार)
ड्ड मेरोयूकेसमाज डटकम वेबसाईट (समाचार)
ड्ड विभिन्न संघसंस्थाहरुका वेबसाईट (दुईदर्जन भन्दा बढि)
ड्ड नेपाली टिभी यूके (नेपालको समाचार बेलायतमा प्रसार गरिन्छ)
ड्ड बीएपबीएस गोरखा रेडियो, बेलायत सन् ८० को दशकदेखि परिचालित हाल ईन्टरनेट मार्फत विश्वभरि सुन्न सकिन्छ । ब्रुनेई, बेलायत र नेपालमा प्रत्यक्ष रेडियो सेवा सुन्न सकिन्छ ।
ड्ड बीबीसी सेवा – सन् १९६९ सालदेख बेलायतमा अध्ययनको सिलसिलामा आएका विद्यार्थी पुरन अग्रवालबाट सञ्चालन गरिएको बीबीसी नेपाली सेवा सन् १९७०सम्म आईपुग्दासम्म हप्ताको पाँचदिन प्रसारण गरिन्थ्यो । तर, अहिले हप्ताको सातै दिन नेपाली बीबीसी सेवा चालु छ । बीबीसी मार्फत समाचार तथा विशेष व्यक्तित्वहरुसंग अन्तरवार्ता र समसामायिक विश्लेषणहरु गरेर समाचार प्रसारित गरिन्छ । बीबीसी सेवा मार्फत नारायाण श्रेष्ठबाट सञ्चालन गरिने साझा सवाल अहिले एकदमै लोकप्रिय भएको छ ।

बेलायत सरकारबाट नेपाली भाषा र साहित्यका लागि गरिएको योगदान अरु राष्ट्र्हरुको तुलनामा धेरै राम्रो छ । दातृदेशहरुमध्ये बेलायत सबैभन्दा बढि आर्थिक सहयोग पुर्याउने राष्ट्रमा पर्दछ । अनेकौ बेलायतबाट प्रायोजित प्रोजेक्टहरु मार्फत बेलायतमा नेपाली विद्यार्थीहरुको आउनेक्रम धेरै पहिले देखि थियो ।

२१. नेपाली भाषा, साहित्य र नेपालबारे कृतिहरु सिर्जना गर्ने अङ्गे्रज स्रष्टाहरु

नेपाललाई माया गरेर नेपालमा नै जीवन बिताउन अठोट गरेका बेलायती नागरिकहरु पनि छन् । तिनमध्ये कर्नल रिटायर्ड जेपी क्राँस बेलायती नागरिकता त्यागेर विगत चालीसवर्ष देखि नेपालमा बस्दै आएका छन् । उनले नेपाली अध्ययन गरेर नेपाली भाषामा बीए अनर्स गरेका छन् । अङ्ग्रेजीमा गोरखा योद्धा सम्बन्धि धेरै पुस्तकहरु लेखिसकेका छन् । नेपाली भाषाको राम्रो ज्ञाता भएको हुनाले उनका नेपाली सिर्जनाहरु पनि छन् । त्यस्तै अरु नेपाली भाषाका बेलायती सर्जकहरु पनि छन् । उनमध्ये दोश्रो अनेसास सम्मेलनमा कार्यपत्र प्रस्तुत गरेका माईकल हट पनि एक हुन । विलियम शेक्सपियरदेखि आधुनिक अङ्ग्रेजी साहित्यकारहरुका कैयौ पुस्तकहरु नेपाली भाषामा अनुवाद गरिसकेका छन् भने नेपाली पुस्तकहरु पनि अङ्ग्रेजी भाषामा अनुवाद गरेका छन् । नेपाली र नेपालको बारेमा टोनी हागेन भन्दा पहिलेका ब्रिटिश आर्मीका अधिकारीहरु तथा अङ्ग्रेज ईतिहासकारहरुले गोर्खाहरुबारे तथा नेपालको बारेमा धेरै कृतिहरु पस्किसकेका छन् । शताब्दियौदेखिको दौत्य सम्बन्धका कारण नेपालीहरु बेलायत मार्फत विश्वभरि छरिएको यथार्थलाई हामी नकार्न सक्दैनौ । जहाँ नेपाली पुगे त्यहाँ नेपाली भाषा पुगेको हुन्छ । साहित्य सिर्जनाको माध्यम पनि भाषा नै हो ।

२२. बेलायतको नेपाली भाषा, साहित्यिक माहौल र भविष्य

माथि उल्लेख गरिएका साहित्यिक तथा सञ्चार माध्यमहरु मार्फत नेपाली भाषा र साहित्यको श्रीबृद्धि बेलायतमा फस्टिएर एउटा नेपाली साहित्य संसारको निर्माण भईसकेको छ । नेपाली भाषा र साहित्यको विकाश राम्रो भएता पनि सर्जकहरु भविष्यका सन्ततिहरुबारे चिन्तित छन् । भविष्यमा नेपाली साहित्य सिर्जना र नेपाली साहित्यको पाठकहरु बारे अहिलेदेखि नै चिन्तित हुन थालेका छन् । बेलायतको पठनपाठन र शैक्षिक माहौलले गर्दा यहाँ जन्मेका नेपाली बालबालिकाहरु प्रायः संवादहरु अङ्ग्रेजीमा सम्प्रेषन गर्छन् । कतिपय घरमा अङ्ग्रेजीलाई बढि महत्व दिने हुनाले नेपाली भाषाप्रति विस्तारै लगाव कम हुन थालेका छन् । अहिलेको पुस्तासम्मकाले नेपाली भाषा बोल्ने गर्छन । अरु देशबाट नेपालीहरुभन्दा धेरै पहिले माईग्रेशन भएर आएका समुहले उनिहरुका भाषा बिर्सिसकेका छन् । ब्रिटिशमय बनेका नेपालीहरुका सन्तानहरु पनि पछि गएर नेपाली भाषा र साहित्यमा लगाव रहोस भन्ने ध्येयले नेपाली संघसंस्थाहरु मार्फत पुस्तकालय, नेपाली भाषाको पाठ्यक्रम निर्माण र पढाउने सिलसिला शुरु हुन थालेको छ । तर, प्रभावित ढंगबाट सञ्चालन भईरहेको छैन । भविष्यामा यस कार्यक्रमलाई बृहतरुपमा सञ्चालन नगरिएमा बेलायत मात्र नभई विश्वका अरु राष्ट्रहरुमा पनि नेपाली भाषा र साहित्यको विकाश विस्तारै नेपाल र भारतमा मात्र सिमित रहन सक्नेछ ।

२३. बेल्जियममा नेपाली साहित्य र साहित्यिक गतिविधिहरु

बेल्जियमलाई युरोपको राजधानी भन्छन् । विश्वका दुई महासमरहरु, प्रत्येक युरोपियन युद्धहरु वा नेपोलियनको पालादेखि नै युद्धस्थल रहेको बेल्जियम एउटा सानो राष्ट्र हो । भाषागत हिसाबमा प्रान्तहरु छुट्याएर संघीय प्रणालीमा प्रशासित यो राष्ट्रमा तीनवटा मुख्य सरकारी कामकाजमा प्रयोग गर्ने भाषाहरु क्रमशः फ्रेन्च, डच र जर्मनी भाषाहरु छन् । रेकर्डमा नेपालीहरु यस राष्ट्रमा प्रथमविश्वयुद्ध ताका फ्लेण्डर्सको महासमरमा गोरखाहरु आएर युद्ध लडेका थिए । यस भूमीमा नेपालीको रगतले सिंचेका कथाहरु छन् । कैयौ नेपालीहरु मरे । तर, यही बसोबास गर्ने ध्येय लिएर आएकी पहिलो नेपाली, पोखराकी सुकमाया नेपाली एक जना बेल्जियम नागरिकसंग विवाह गरेर सन् १९८२मा आएकी रेकर्ड पाईन्छ । त्यसपछि २०४६सालको जन्अन्दोलन पछि बेल्जियमा नेपालीहरु आउन थालेका रहेछन् । यतिबेला बेल्जियममा चारदेखि पाँच हजारको हाराहारीमा नेपालीहरु कामधन्दा गरेर बसेका छन् । यति छोटो अवधिभित्रै यो सानो राष्ट्रमा अहिले ४५वटा जति नेपाली संघसंस्थाहरु परिचालित रहेको कुरा सुन्दा ताज्जूब लाग्छ । यी संघसंस्थाहरुको मूल उद्धेश्य नै नेपाली संस्कृति, परम्परा, चाडपर्व, भाषा, साहित्यलाई जगेर्न गर्ने अथवा विकाश गर्ने देखिन्छ । अतः नेपाली साहित्यको विकाश पनि यही समयदेखि भएको बुझिन्छ । सन् २००७ सालमा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको बेल्जियम च्याप्टर स्थापना भएपछि बेल्जियममा भानु जयन्ती, मोती जयन्ती तथा देवकोटा जयन्तीहरु वर्षेनी मनाउँदै आएका छन् ।

२४. बेल्जियमबाट प्रकाशित भएका प्रकाशनहरु

ड्ड नेपाली सांस्कृतिक समाज सन् २००१ – संस्थाका गतिविधिहरु समेटेर प्रकाशित गरिएको फोटोकपि पत्रिका ।
ड्ड ल्यूभेन शहरको ईन्द्रधनुष क्लब सन् २००३ – ईन्द्रेणी नामक फोटोकपि पत्रिका ।
ड्ड ईन्द्रधनुष क्लब सन् २००४ – नेपालबाट मुद्रण गरी ल्याएको ईन्द्रणी पत्रिका (त्यसपछि अहिले बन्द भएको छ)
ड्ड साङ्ग्रीला समाज सन् २००६ – बेल्जियम दर्पण अङ्क एक (फेरी प्रकाशन भएको छैन) । यस समाजले सर्जकहरुलाई सम्मान गर्ने ध्येयले “स्रस्टाको आँगनमा साङ्ग्रीला“ भन्ने कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
ड्ड अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बेल्जियम च्याप्टर सन् २००८ – कृष्ण बजगाईको सम्पादनमा विशुद्ध साहित्यिक पत्रिका “शब्दाञ्जली“ को २ अङ्क प्रकाशित भईसकेको । अब फेरी प्रकाशनको क्रममा छ ।
ड्ड साहित्यकार कृष्ण बजगाईका कृतिहरु – चार वटा विभिन्न विधामा ।
ड्ड विमल गिरीको गीतीसङ्ग्रह – संझनाका तरेलीहरु (एक)
ड्ड पञ्चम अधिकारीको – प्रवासन –एक)
ड्ड सञ्जु बजगाईको कथा सङ्ग्रह – समुन्द्र र सपना –एक)

प्रकाशोन्मुख रहेको कृतिहरुका सर्जकहरु क्र्रमशः राजकुमार पुडासैनी, दिपेन्द्र केसी, दिपक ज्योती पौडैल र राधाकृष्ण अधिकारीका छन् । बेल्जियमका अन्य साहित्यिक सर्जकहरुमा रमेश कँडेल र जेबी शेर्पा पनि हुन् ।

२५.. बेल्जियममा नेपालीहरु द्वारा सञ्चालित वेबसाईटहरु

कृष्ण बजगाई द्वारा सम्पादित÷प्रकाशित तथा सञ्चालित नेपाली साहित्यिक वेब पत्रिका समकालीन डटकम ।
दिपेन्द्र केसी द्वारा सम्पादित÷प्रकाशित तथा सञ्चालित वेब पत्रिका प्रतिनिधि डटकम ।

अन्य वेबसाईटहरुमा – चितवन डटकम, इनेपाल न्युज डटकम, सँगालो डटकम, नमस्ते युरोप डटकम, म्याग्दी डटकम, ब्रस.ेल्स डटकम, नेपाली मित्र डटकम र हाम्रो खबर डटकम आदि छन् ।

बैल्जियमका नेपालीहरुले पहल गरेको अर्को राम्रो पक्ष बच्चाहरुलाई नेपाली भाषा सिकाउनका लागि सन् २००५मा ल्युभेन शहरमा स्थापित गरेका छन् । र, त्यस्तै बेल्जियमको ब्रुज शहरमा सन् २०१० देखि नेपाली भाषाको कक्षा सञ्चालन गर्दै आएको छ ।

बेल्जियमको नेपाली भाषा र साहित्यका लागि अथक प्रयास गरेका सर्जकहरुको कारणले गर्दा सङ्ख्यात्मक हिसाबमा कम भएता पनि साहित्यिक देन एकदमै ठूलो र सराहनीय रहेको छ । विश्वका सबै भूभागमा रहेका नेपालीहरुले यही सिको लिन सकेमा नेपाली विश्व साहित्य बन्न बेर लाग्ने छैन ।


२६. फ्रान्समा नेपाली साहित्यको पृष्ठभूमी र वर्तमान

जङबहादुर राणाको बेलायत यात्राको क्रममा उनले फ्रान्स पनि भ्रमण गरेका थिए । त्यसबेला फ्रान्समा धीर शम्शेर द्वारा प्रदर्शन गरिएको पिस्तोल निशानेबाजी र घोडसवारी करतबबारेका रेकर्डहरु उल्लेख गरेको पाईन्छ । त्यसपछि फ्रान्समा नेपालीहरु प्रथम विश्वयुद्ध र दोश्रो विश्वयुद्धताका आएका थिए । तर, नेपालीहरु स्थाई रुपमा फ्रान्समा कहिलेदेखि बसोबास गर्न थाले सोबारे रेकर्ड प्राप्त भएको छैन । १९५१ सालमा लैनसिंह बाङदेल पेरिसमा अध्ययनका लागि आएका थिए । वाङदेल एक दशकजति फ्रान्स बसेका थिए । उनका रचनाहरु बारे माथि उल्लेख गरिसकेको छु । नेपाल र फ्रान्सको दौत्य सम्बन्ध सन् १९४९सालमा स्थापित भएको थियो । आवासीय राजदूतावास सन् १९६७सालमा स्थापित भएको थियो । लैनसिंह वाङ्देल पश्चात फ्रान्समा राजदूतावास स्थापना भएपछिमात्र निश्चित रुपमा साहित्यिक गतिविधि भएको हुनु पर्छ । हाल एक जना नेपाली साहित्यका सर्जक हरिहर आर्याल बस्दै आएका छन् भन्ने कुरा सुत्रहरुबाट थाह लागेको छ । उनका रचनाहरु पनि वेब मार्फत पढ्न पाईन्छ ।

माथि उल्लेख गरेका राष्ट्रहरु बाहेक युरोपका अन्य देशहरुमा पनि नेपाली साहित्यको विकाश गर्ने सर्जकहरु छन्, तर, सूचनाको आभावमा यस कार्यपत्र मार्फत ती देशहरुको नेपाली भाषा र साहित्य सम्बन्धि चर्चा गर्न सकिरहेका छैन । यस विषयमा अझ बढि खोज गर्नुपर्ने आवश्यकता रहेको छ । नेदरल्याण्ड, जर्मनी, फिनल्याण्ड, डेनमार्क र नर्वेतिरको नेपाली साहित्य प्रतिको जानकारी प्राप्त भएको छैन । तर, जहाँ नेपाली बस्छन् त्यहाँ अवश्य नै नेपाली भाषाको सिर्जना होला भन्ने मलाई विश्वास छ ।

माथि उल्लेख नगरेका राष्ट्रहरु, उत्तरी युरोप वा अन्य युरोपेली राष्ट्रहरुमा बसोबास गरेर गैर आवासीय नेपालीहरुको राष्ट्रिय समन्वय परिषद गठन गरेर बसेका राष्ट्रहरुमा क्रमशः बेलारुस, साईप्रास, स्लोभेनीया, स्विट्जरल्याण्ड, उक्रैन, पोल्याण्ड, लक्जेम्बर्ग, ग्रीक, ईटाली, लिसोथो, चेक रिपब्लिक, जर्मनी, फिनल्याण्ड, स्वेडेन तथा नेदरल्याण्डका नेपाली साहित्य सम्बन्धि विवरणहरु थाह नभएकाले वा सूचनाको आभावले गर्दा यस कार्यपत्र मार्फत प्रकाश पार्न सकेको छैन । ती राष्ट्रहरुमा विधमान रहेका वा नेपालीहरु द्वारा सञ्चालन गरिएका कार्यक्रमहरु उपर खोजी गर्नु आवश्यकता छ । युरोपका केहि शक्तिशाली राष्ट्रहरुसंग नेपालको दौत्य सम्बन्ध साठीको दशकपछिमात्र स्थापित भएको पाईन्छ । केहि युरोपेली राष्ट्रहरुसंग धेरै पछिमात्र दौत्य सम्बन्ध रहेको पाईन्छ । सोभियत राष्ट्रबाट टुक्रिएर गएका राष्ट्रहरुसंग भने सन् नब्बेको दशकताका मात्र दौत्य सम्बन्ध रहेको पाईन्छ । ती राष्ट्रहरुको बारेमा खोजबिन गर्न आवश्यक देखिन्छ ।

२७. सोभियतरुसमा मौलाएको नेपाली साहित्यको ईतिहास

रुसमा नेपालीहरु पढाईको सिलसिलामा गएर त्यहाँ नै आप्mनो कर्मथलो बनाएर बसेका धेरै नेपाली व्यक्तित्वहरु छन् । बेलायतपछि नेपालीहरुको साहित्यिक गतिविधिहरु रुसमा बढि भएको अभिलेखहरुबाट पाईन्छ । बझाङ्गे राजा जयपृथ्विबहादुर सिंह सन् १९०८ ताका लेनिन्संग सम्पर्क भएको बारेमा माथि नै उल्लेख भईसकेको छ । पहिलो चोटि सन् १९५३सालको बुखारेष्ट विश्व युवा सम्मेलनमा भाग लिन गएको अवसरमा अनौपचारिक रुपमा पूर्णबहादुर एम.ए.का स्रष्टा समुह क्रमशः लक्ष्मि प्रसाद देवकोटा, बालककृण सम र सिद्धिचरण श्रेष्ठले मस्को भ्रमण गरेका अभिलेख पाईन्छ । भ्रमण पश्चात यी स्रष्टाहरुले रुसको भूमीलाई आधार बनाएर लेखिएका सिर्जनाहरु नेपाली साहित्य भण्डारमा सुरक्षित छन् । सन् १९५७ सालमा नेपाल र शोभियत रुसको दौत्य सम्बन्ध स्थापित भएदेखि नेपाली विद्यार्थीहरुले रुसमा पढ्नका लागि प्रवेश पाउन थालेका थिए । र, युरोपेली राष्ट्रहरुमा बेलायत पछि बढि नेपालीहरु पढ्न जाने राष्ट्र नै रुसलाई लिन सकिन्छ । विशेष गरेर ईन्जिनियारिङ पढ्नको लागि नेपालको विद्यार्थीहरुको पहिलो गन्तव्य नै रुस थियो । सन् १९६१सालमा मस्कोमा आवासीय नेपाली राजदूतावासको स्थापना भएपश्चात नेपाली साहित्य सिर्जनाको शुरुआत पनि सोभियत भूमी हुन थालेको पाईन्छ । शुरुमा कृष्ण प्रकाश श्रेष्ठको सम्पादकत्वमा हस्तलिखित पत्रिका “किरण“ प्रकाशित भएको रेकर्ड पाईन्छ । त्यसपछि विभिन्न शहरहरुबाट छात्रसंघको मुखपत्रको रुपमा २ दर्जनभन्दा बढि हस्तलिखित पत्रिकाहरु प्रकाशित भएका थिए । कैयौ नेपालका वरिष्ठ सर्जकहरुले रुसमा भ्रमण गरिसकेका छन् । १९७४ सालमा रुस भ्रमणमा गएका कवि भूपि शेरचनले, “मलाई लेखक बनाउने नै रुस हो“ भनेका थिए ।

कैयन रुसी साहित्यकारहरुले नेपाली साहित्य अध्ययन गरेका छन्, रुसी पुस्तकहरु नेपालीमा अनुवाद तथा नेपाली रचनाहरुपनि रुसी भाषामा अनुवाद भईसकेका छन् । यी अनुवादकहरु मध्ये कृष्ण प्र’साद श्रेष्ठका सम्पादकत्व गरिएका रुसी रचनाहरुको अनुवाद उल्लेखनिय रहेको छ । त्यस्तै नेपाली र रुसीहरुको सौहाद्र्रताको अर्को नमुना रुसी सर्जकहरुले नेपाली कृतिहरुको सक्दो रुसी भाषामा अनुवाद गरेर नेपाली साहित्यलाई रुसी जनताबीच फैलाएका छन् । विभिन्न मुलुकका साहित्यहरुको अध्ययन पछि सर्जकहरुमा अध्ययन गरेका कुराहरुको केहि प्रभाव निश्चि रुपमा पर्ने गर्छ । नेपाली साहित्यमा रुसी साहित्यको पनि प्रभाव परेको पाईन्छ । सोभियतसंधको विघटन पछि नेपाली भाषामा सञ्चालन रेडियो कार्यक्रम रोकिनुका साथै धेरै प्रकाशनहरु बन्द भएका छन् । सोभियत रुस पन्द्रह वटा गणराज्यहरुमा विभाजन भए पश्चात अहिले रुस महासंघबाट निकालिने नेपाली पत्रपत्रिकाहरु निम्न अनुसार छन्ः

ड्ड फ्री नेपाल डटकम “स्वतन्त्र नेपाल“ ।
ड्ड नेपाल बाहिरको साहित्य ।
ड्ड तिमिर्याजेभ कृषि एकेडमी ।
ड्ड मास्को ईन्जिनियारिङ इन्स्टिट्यूट र मास्को सडक निर्माण इन्स्टिट्यूटको पत्रिका “तिमिमा“ ।
ड्ड नेपाली नारी निकुञ्जको “नारीदृष्टि“
ड्ड रुस सिआइयस उद्योग वाणिज्य संघको “सार्जवाह“
ड्ड नेपाली पाठशालाको भित्ते पत्रिका “सुकुन्दा“
ड्ड नेपाली दूतावासको “सूचना पत्र“
ड्ड नेपाली छात्रसंघ जनमैत्री विश्व विद्यालयको “जनमैत्री“

रुसमा सक्र्रिय नेपाली साहित्यिक संस्थाहरु

ड्ड अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (रसिया च्याप्टर)
ड्ड विश्व नेपाली साहित्य महासंघ

साहित्यको प्रबर्धनका लागि योगदान दिने काममा फ्री नेपाल डटकम र नारी निकुञ्ज जस्ता अन्य संस्था वा वेब पत्रिकाहरु विशेष रुपमा सक्रिय रहेका छन् । विगत कैयौ दशकदेखि नेपाली भाषा र साहित्य र उत्थानका लागि योगदान दिनका लागि रुसमा बसोबास गर्ने नेपाली साहित्यकारहरुले ३०० भन्दा बढि रहेको अनुमान गरिन्छ ।

२८. रोमानियामा नेपाली साहित्य साधनामा लागेका नवराज पोख्रेल

१९८०को उत्तरार्धमा रोमानिया गएका नवराज पोख्रेल आफ्नो युवा अवस्थादेखि नै साहित्य क्षेत्रमा लागेका व्यक्तित्व हुन् । उनले बताए बमोजिम बिगत दुईदशकदेखि उनी युरोपमा बस्दै आएका छन् । गैरआवासीय नेपाली राष्ट्रिय समन्वय परिषद रोमानियाका संस्थापक अध्यक्ष पनि हुन् । नेपाली भाषा र साहित्यको विकाशका लागि उनले रोमानियाबाट सञ्चालित एकमात्र साहित्यिक वेब पत्रिका नेपालरोमानिया डटकम सम्पादन तथा सञ्चालन गर्दै आएका छन् । उनका धेरै कृतिहरु मधुपर्क, नवकबिता तथा नवप्रभात पत्रिकाहरु मार्फत सम्प्रेषन भईसकेका छन् । उनी नेपाली गीती रचनालाई रोमानियाली भाषामा अनुवाद गर्ने प्रथम व्यक्ति हुन । हाल रोमानियाकी नागरिकसंग वैवाहिक बन्धनमा बाँधे पश्चात स्थायी रुपमा रोमानियामा बस्दै आएका छन् । उनको पहलमा रोमानियामा बस्दै आएका नेपालीहरुलाई संयोजन गरेर नेपाली भाषा र साहित्यको श्रीबृद्धिमा लागेका छन् ।

२९. पर्तुगाल÷स्पेन का साहित्यकारहरु

पर्तुगाल तथा स्पेनमा पनि नेपाली साहित्यका सर्जकहरु छन् । नेपाली साहित्यका रचनाहरु मार्फत प्रवासमा रहेर पनि नेपालको मोह नत्यागेको प्रभाव पाईन्छ । यसरी नेपाललाई माया गर्दे पर्तुगल, स्पेन तथा दक्षिणी युरोपमा रहेका नेपालीहरुले ती राष्ट्रहरुलाई आफ्नो कर्मभूमी बनाएर नेपाली साहित्य सिर्जनामा लागेकाहरु मध्येमा थाह भए अनुसार सुनिल संगम, सिता बराल, अम्बर गुरुङ र ईन्दे्रणी शर्माहरु छन् । पर्तुगाल तथा स्पेनका गतिविधिहरु बारे मलाई पर्याप्त सूचना प्राप्त नभएकोले गर्दा त्यस क्षेत्रको नेपाली साहित्यको ईतिहास यहाँ प्रकाश पार्न असमर्थ छु ।

३०. उपसंहार

सार्क राष्ट्रहरु छाडेर विश्वका ६५वटा राष्ट्रहरुमा अहिले गैर आवासीय नेपालीको राष्ट्रिय समन्वय परिषदहरु खडा भईसकेका छन् भने अनेसासले सम्प्रेषण गरे अनुसार अनेसासका विभिन्न राष्ट्रहरुका गठन भएको साहित्यिक संस्थाहरु पनि उत्तिकै सङ्ख्यामा स्थापना भईसकेका छन् । ती सबै राष्ट्रहरुमा नेपाली भाषीहरु बसोबास गर्दै आएकाले नेपाली भाषा र साहित्यको प्रबर्धन क्रमिकरुपमा विकाश हँुदै आएको देखिन्छ । नेपाली साहित्यको विकाश पछिल्लो सयवर्षभित्र सोंचेभन्दा बढि विकाश भएको पाईन्छ र नेपाली साहित्य विश्व साहित्यको दाँजोमा उभिसकेको छ । विशेष गरि अहिले अमेरिका, एसिया, युरोप र अस्ट्रेलियामा नेपाली साहित्यको विकाश तिव्ररुपमा भईरहेको छ । यहि विकाशक्रमलाई निरन्तरता दिएर अघि बढ्ने होभने नेपाली साहित्यको भविष्य अझ उर्बर देखिन्छ । तर, विदेशमा बसोबास गर्नेहरुका लागि भावी अहिले भावी पुस्ताहरुको बारेमा गम्भिर रुपले सोच्नु पर्ने समय आएको छ । भावी पुस्तालाई भाषा, परमपरा र साहित्यलाई सही बाटोमा डोर्याउँदे लैजानु पर्ने दायित्व अहिलेको पुस्तामाथि आएको छ ।

मैले बेलायतमा अनुभव के गरें भन्दा नेपाली भन्दा चारपाँच दशक पहिले आएका अफ्रिकी मूलका बेलायती नागरिकहरुका तेस्रो पुस्ताले आफ्नो मूल थलो विर्सीसकेका छन् उनिहरुमात्र नभई यहाँ जन्मेका भारतीय, पाकिस्तानी तथा बंगलादेशीहरुका पछिल्ला पुस्तालाई उनिहरुको भाषा बोल्न आउँदैनन् । पहिले नै आएका तथा यहाँ जन्मेका नेपाली बच्चाहरुलाई पनि नेपाली बोल्न प्रायः आउदैन । भावी सन्ततीहरु विदेशमा बस्दै आएपछि त्यही देशको संस्कार, परम्परा र भाषासाहित्यको प्रभावबाट मुक्त हुन सक्दैन । पछिका पुस्ताले भाषा नै नबोलेपछि साहित्यमा रुची हुने सवाल उत्पन्न हुन्न । यसका लागि अहिलेका पुस्ताले सोंच्नु पर्ने अवस्था आएको छ । भविष्याका लागि अहिलेका पुस्ताले साहित्य सिर्जना गर्नेमात्र नभई, नेपाली भाषा साहित्यलाई अनन्तसम्म संरक्षण गर्दै अघि बढ्ने माहोल बनाउनु पर्ने देखिन्छ । युरोपको प्रसङ्गमा बेलायत, रुस तथा बेल्जियमले नेपाली भाषा र साहित्य विकाश निकै राम्रो गरेको पाईन्छ । सङ्ख्यात्मक हिसाबमा बढि नेपालीहरु बेलायतमा रहेकोले गर्दा भाषा र साहित्यको लागि गम्भिररुपले सोच्नु पर्ने अवस्था आएको छ । स्थानीय चुनावहरुमा समेत भाग लिएर नेपालीहरु विजयी भएर कौन्सिलरसम्म बनेका छन् । त्यसकारण क्षेत्रीय हिसाबले बेलायत वा कुनैपनि विदेशी राष्ट्रमा मूलधारमा प्रवाह हुनका लागि र भावी सन्ततीका लागि नेपाली भाषा र साहित्यलाई शैक्षिक क्षेत्रमा पठनपाठनका लागि उपयुक्त वातावरण बनाउन सक्नुपर्छ ।

सन्दर्भ सूचीः
बेलायतका लागि नेपाली राजदूतावासको वेबसाईट
अनेसास डायस्पोरिक साहित्यमा अनेसास बेलायतको योगदान – डाक्टर रुपक श्रेष्ठ, गोपीकृष्ण प्रसाई
द गुर्खाज – जोन पार्कर, १९९९ः३८६–३८९
द गुर्खाज स्पेसल फोर्स – ख्रिश बलेमी, २०१०ः२३०–२४९
समकालिन साहित्य डटकम धधध।कबmबपबष्लिकबजष्तथब।अयm वेबसाईट
नेपाली प्रत्तिभा प्रतिष्ठानको वार्षिक बुलेटिन, २०१२ “प्रतिभा दर्पण“
विश्व नेपाली साहित्य महासंघको वेबसाईट धधध।नाल।ियचन
नवराज पोख्रेलद्वारा सञ्चालित धधध।लभउबचियmबलष्ब।अयm वेबसाईट
डाक्टर मधु माधुर्य – रुसमा नेपाली साहित्य र नविन आयामको सन्दर्भः एक चर्चा
एनआरएनए वेबसाईट धधध।लचलब।यचन।लउ
फ्री नेपाल डटकम “स्वतन्त्र नेपाल“ वेबपत्रिका
पर्वते मासिक पत्रिका वेबसाईट
विभिन्न पत्रपत्रिकाहरु

प्रकाशित मिति : प्रकाशन मिति : वुधबार, 21 जेठ, 2071

लेखकका अन्य रचनाहरु