हतारहतार ‘हतार छैन हतार छ’भित्र पस्दा

- पञ्च विस्मृत

पछाडि फर्केर हेरेको छु— वि. सं. २०५९ या ६० तिर भीष्म उप्रेतीको एकल कविता वाचन कार्यक्रम वाणी प्रकाशन विराटनगरमा सम्पन्न भएको थियो । जसरी भएपनि एउटा नयाँ कविता कोरेर वाणीको पाक्षिक कवि गोष्ठीमा वाचन गर्ने प्रयत्न मेरो रहन्थ्यो । त्यो दिन कवि कृष्णभूषण बलले भन्नुभयो— “आज कवि भीष्म उप्रेतीको एकल कविता वाचन कार्यक्रम छ, निक्कै राम्रा कवि हुन् उनी ।” त्यो बेलासम्म म फुच्चेले एकल कविता वाचन कार्यक्रम भन्ने कहीँ सुनेकै थिइनँ । या सुने पनि बुझेको थिइनँ शायद । उहाँ आउनु भयो एक्लै आफूले मात्रै कविता वाचन गरेर जानुभयो । अनि थाहा भयो, एकल कविता वाचन भनेको यो रहेछ । मेरो गोजीको कविता अर्को कार्य्रकमको लागि बच्ने भयो ।
अत्यन्तै छोटाछोटा कविताहरू उहाँले वाचन गर्नुभयो त्यो बेला । वाचित कविताहरूमाथि टिप्पणी हुँदा यो हतारको समयमा हतारमै पढ्ने छोटा मसिना कविताहरू समय सापेक्ष बन्दै गएको कुरा आए । वास्तवमा हो, समय हतारको छ । छोटो समयमा धेरै काम गर्नु छ । धेरै लामा-लामा दुर्बोध कविताहरू पढेर बस्ने समय नै कसलार्इ छ यहाँ ! अर्कातर्फ यो हामीले बाँचेको समयकोलागि स्थापित एक नयाँ मान्यताको रूपमा विकसित हुँदैगएको रहेछ । केस्रा, गेँडी जस्ता नयाँ र छोटा विधाहरूको बारेमा विचार विमर्श हुँदा यही मान्यतालार्इ पटक-पटक उठाउने गरिएको छ । नयाँ विधाको रूपमा आएका एकसेएक संरचनाहरू अत्यन्तै छोटा लाग्छन् पनि ।
उहाँ सन् २०१० तिरको इटहरीको एउटा कार्यक्रममा उपस्थित हुनुहुन्थ्यो । त्यो बेला एक अत्यन्तै असल साहित्यानुरागीको पनि उपस्थिति थियो । सुजाता राउत नाम उहाँको । करिब एक घण्टाको बाटोमा साइकल पेलेर सो कार्यक्रममा उपस्थित हुनुहुन्थ्यो उहाँ— मेरो निम्तो मानेर । मैले कविता वाचन गरेर फर्किँदा कवि मनु मञ्जिलले भिष्म उप्रेतीतर्फ इशारा गरेर चिनाउनुभयो— “उहाँ भीष्म उप्रेत,” भन्दै । तर मैले पहिलेदेखि नै चिनेको हुनाले हात मिलाउदै भनेँ— “म उहाँलार्इ चिन्छु ।” र, मेरो पाहुनासँगै बस्न पुगेँ । त्यसकारण कुनै बोलचाल हुन पाएन ।
धेरै पछि एकदिन उहाँले अनलाइनमा सोध्नुभयो तपार्इं नै हैन पोखरामा सम्मानित भएको ? भनेपछि मलार्इ उहाँले अझैँ चिन्नुभएको रहेनछ भन्ने भयो । कहाँको प्रवासमा एकनास र बिरसिला दिनहरू काटिरहेको मैले पोखरा पुग्नु, त्यो पनि सम्मान थाप्न ? र भनेँ, चिन्नु भएन छ सर, इटहरीमा हात त मिलाएकै हो । त्यसपछि भने बिर्सनुभएन उहाँले । फलस्वरूप ‘हतार छैन हतार छ’ छ मेरो हातमा आज ।
भीष्म उप्रेतीज्युको वि. सं. २०५८ मा प्रकाशित ‘समुद्र र सपनाहरू’ कविता सङ्ग्रह मेरोलागि एउटा ‘नमूना’ कविता सङ्ग्रह हो । कविता सङ्ग्रहको रूपमा प्रकाशित हुने अधिकांश पुस्तकहरू प्रवासमा बिताएका एकनास र बिरसिला दिनहरू जस्तै सादा र खल्लो लाग्न थालेको अवस्थामा मैले प्रथम पल्ट पाएको त्यो नौलो अनुहारको सङ्ग्रह नै ‘समुद्र र अन्य कविताहरू’ हो । जुन मैले २०६० सालमै किनेर पढेको थिएँ । मैले मलेसियामा रहँदा यही नमूनालार्इ सम्झेर आफ्नो पनि यस्तै कविता सङ्ग्रह प्रकाशित गर्ने योजना बनाएको थिएँ, जुन सफल हुन सकेको छैन आजसम्म । ‘समुद्र र अन्य कविताहरू’मा नेपाली कविता र तिनको अङ्ग्रेजीमा अनुवाद एकसाथ राखिएको छ । यहीबाट मेरो एउटा मान्यता नै भएर आयो कि कविता सङ्ग्रहको रूप केही न केही पृथक होस् । यो ग्लोबलाइजेशनको युगमा एउटा विदेशीलार्इ मेरो रचना भनेर देखाउन पाइयोस् । त्यसकोलागि आफ्ना रचनाको अनुवाद पनि हुनु पर्ने देखिन्छ । यो मान्यता हरेक कविहरूकालागि मननयोग्य हुनु पर्छ नै । ‘समुद्र र अन्य कविताहरू’बाटै मैले अनुवादको गाँठी कुरा बोध गरेकोले र अन्य केही कारणहरूले गर्दा म स्वयम् अनुवादतर्फ आकृष्ट पनि भएँ । अब सिक्ने क्रम चलिरहेको छ । आजकल केहीले मलार्इ अनुवादकको रूपमा पनि चिन्न थालेका छन् । र केही अनुरोधहरू समेत आउन थालेका छन् ।
यसरी मैले एक असल र अग्रज कविको रूपमा चिनेका भीष्म उप्रेतीज्युका निबन्ध भने प्रथमपल्ट मधुपर्कमा पढेको हुँ— ‘आकाश खस्यो भने के हुन्छ ?’ शीर्षकको हुनुपर्छ त्यो । दोस्रो, कोशेढुङ्गामा । र तेस्रो पल्ट यो एउटा सिङ्गो पुस्तकमा । पढिसकेँ— ‘हतार छैन हतार छ’ हतारहतारमै ।
दिनको रङ्ग एउटै लाग्छ यो प्रवासको । यसले कहिले आगो भएर सेक्छ, कहिले बरफ भएर कठयाङ्ग्र्याउछ— फरक यति रह्यो । काम काम काम र काम ... यो सधैँ एकनासको दिन बिताउनु पनि कति बिरसिलो ! विशेष गरेर प्रवासमा यस्तो अनुभूति हुँदोरहेछ । यद्यपि, आजसम्म बिताएका सबै दिनबारहरूलार्इ जोडेर हेर्दा यो बिरसिलोपन पनि एउटा रस हो लाग्छ । चित्त बुझाउने ठाउँ कहीँ न कहीँ त हुन्छ नै । यस्तो परिवेशमा उभिएर सोच्दै छु म— हतार धेरै छ । धेरै ठाउँ पुग्नु छ । धेरै कुरा गर्नु छ । अझ धेरै कुरा लेख्नु पनि छ । तर प्रवासका यी बिरसिला दिनहरूमा जकडिएका कदमहरूले एक बित्ता सरेर बाहिर निक्लने चाल देखाउदै देखाएका छैनन् । तर खुशीको कुरा त यी बिरसिला दिनहरूको पनि आफ्नै खालको हतार हुँदोरहेछ ।
बरफमा कठयाङ्ग्रिएर भर्खर तङ्ग्रिन लागेको समयमा मलार्इ भीष्म उप्रेतीज्युको ‘हतार छैन हतार छ’ हात लागेको हो । दिन असाध्यै व्यस्तताको छ, त्यसैले पढ्दा पनि हतार हतारमै पढ्नु पैर्ने वाध्यता छ । केही बित्ता कदम सासेर बाहिर निक्लनु छ, त्यसैले पनि हतार छ । कहीँ अवश्य पुग्नु छ, त्यसैले पनि हतार छ । त्यही भएर पनि मैले यो प्रवासमा एक शब्द नछोडि पढेका थोरै नेपाली पुस्तकहरूमध्ये यो एक हो । भर्खरैदेखि पुस्तकका थाक बढेका छन् । हतार हतारमै पढेर थन्क्याउन खोजेको छु – ‘हतार छैन हतार छ’लार्इ । यस्तै अर्को सुन्दर पुस्तक पढ्नु छ मलार्इ ।
र, पढिसकेर थन्क्याउदै हतारमै छोटो शब्द दौड अवश्य निक्लन्छु— दिनले आगोको रूप लिन थालेको यो समय ।

हतार छैन हतार छ,

“हतार छैन हतार छ’ निबन्ध केही गर्ने र कहीँ जानु नपर्नेहरूको यथार्थ हो ।”
— समालोचक कृष्णचन्द्रसिंह प्रधान ।

‘हतार छैन हतार छ’ भीष्मउप्रेतीज्युको सबैभन्दा पछिल्लो कृति (निबन्ध सङ्ग्रह) हो । वि. सं. २०७० मा साझा प्रकाशनबाट प्रकाशित सो कृतिको आवरण सुवर्ण हुमागार्इंले गर्नुभएको छ भने यसको भुमिका समालोचक कृष्णचन्द्रसिंह प्रधानले लेख्नुभएको छ । यसभित्र जम्मा सोह्र मीठा, रसिला, चोटिला र दर्शनयुक्त निबन्धहरू सङ्ग्रिहत छन् । सोह्र निबन्ध लेखिसकेकोले हो कि यसमा लेखकीयको आवश्यकता महशुस गरिएको छैन ।
यो मानव सभ्यता दिनानुदिन किन नवीन सोच र मान्यताहरू लिएर पछाडि हैन खाली अगाडि नै बढ्न खोज्छ ? यसभित्रका हामी झिनामसिना मानिसहरूको जीवन पहाडजत्रा कर्तव्यका भारी बोकेर किन यति चलायमान् र गतिशील छ ? कुनै निश्चित गन्तव्य विन्दुदेखि अनजान भएर पनि हामीलार्इ किन अनवरत हिँडिरहनु परेको ? आदिइत्यादि विषयमन्थनबाट धेरै वादहरूको जन्म भएको छ । भयको कारण नै जीवनमा यसरी अघि बढिरहनु परेको, अझ मानव सभ्यताको वर्तमान विकसित रूप नै यसैको उपज हो भन्छ भयवाद । अर्कातिर इतिहास र विचारको मृत्युको घोषणा गर्नेहरूले त्यही रूपमा जीवनलार्इ हेरेका होलान् । लीलाले ‘बाँचौँ बाँच्ने खेल’ भनेर सम्झाएको छ । यता, भीष्म उप्रेतीज्युको तर्क भने यस्तो छ—
“जीवन सधैँ अपूर्ण हुने रहेछ । जीवन सधैँ नपुग र अभावग्रस्त हुँदोरहेछ । यही अभाव र अपूर्णताको अनुभूतिले हिँडाउदो रहेछ मान्छेलार्इ ।
“जीवन त केवल हिँड्नु मात्र रहेछ, पुग्नु होइन रहेछ ।”— ‘हिँड्दै गर्दा’बाट ।
कति सत्य छ यी भनाइहरूमा । जीवन भयका कारणमात्र हैन अभावका कारण पनि गतिशील छ । जीवन भनेको त हिँडिरहनु हो— इतिहास कोर्दै, अघिल्लो मूल सडकको बारेमा जानकारी लिँदै, बिचार मन्थन गर्दै जुन सडकको अन्त देखिएकै छैन । र अझ, ‘वस्तुता’लार्इ शीरोधार्य गरेर कहीँ पुगेको भ्रममा खुशी हुँदै, अझ कहीँ पुगेको अभिनय गर्दै, खेल खेल्दै । यस निबन्धले ‘अनन्तता’ (Eternity) को सत्यसँग पनि धेरै सादृश्य राखेको छ । वस्तुको अनन्तता । अन्त कहीँ छैन । यसरी यो निबन्ध वैचारिक र दार्शनिक बन्न पुगेको छ जसका मान्यताहरू मननयोग्य छन् ।
‘समय चिप्लिँदै गइरहन्छ’ एक जङ्गल यात्रामाथि लेखिएको निबन्ध हो । कुनै पनि कुरा सिक्न युरोप र अमेरिका जानु पर्ने सोचमाथि उहाँ प्रश्न गर्नुहुछ— “यति धेरै निकुञ्ज र वन्यजन्तु आरक्षहरू भएको नेपालमा पनि यस्तै किसिमले प्रकृति शिक्षालयहरूको स्थापना गर्न सकिँदैन र ?” यहाँ यस्तै भनेर उहाँले भारतको जस्तै भन्नु भएको हो । समाज र देश परिवर्तन गर्छु भन्नेहरूले पढेर प्रेरणा लिनु पर्ने निबन्ध हो यो ।
नयाँ र पुराना पुस्ताका कविहरू एकसाथ यतिखेर कविताको खेतीमा लागिपरेका देखिन्छन् । केका लागि, के फलाउनका लागि ? अथवा कविता के हो ? जस्ता प्रश्नहरू उठाएर परिभाषा र प्रयोजनहीन यथार्थबीच परिभाषा र प्रयोजन पनि उत्तिकै खोजिँदै आएको छ । ‘कविताका सम्बन्धमा’ शीर्षकमा निबन्धकारज्युले उपर्युक्तका सवालहरूको जवाफ खोज्ने प्रयास गरेर शाहसिक कदम चाल्नु भएको छ । कविताको सम्बन्धमा सो शीर्षक अन्तर्गत लेखिएको सबैभन्दा मन छुने सत्य यो लाग्यो—
“जीवनलार्इ प्रेम गर्नेले मात्र कवितालार्इ पनि प्रेम गर्न सक्तछ । निष्ठालार्इ प्रेम गर्नेले मात्र कवितालार्इ पनि प्रेम गर्न सक्तछ । सत्यलार्इ प्रेम गर्नेले मात्र कवितालार्इ पनि प्रेम गर्न सक्तछ ।”
त्यसैले कविता जिन्दावाद !
हामीले हरेक दिन भोग्ने दिन र रात बाहेकका दिन र रातको कुरा छ— ‘रात पर्दै गइरहेको’ शीर्षकको निबन्धभित्र । अँध्यारोलार्इ भावुक भएर हेर्नु हुन्छ उहाँ त उज्यालोलार्इ आशाले ।
देखाइ सुनाइ र भोगाइ नै विचारका द्योतक हुन् । स्वाभावतः तिनैले निबन्धकारको मथिङ्गलमा ‘विचारको भुँमरी’ चलाउछन् । निरक्षर गाउँले बुढी आमैको दर्शनले खङ्ग्रङ्ग हुँदै ‘अपठित भनिएका र दुनियाँ नदेखेका गाउँलेहरू’ ठूलाठूला ज्ञानका ठेली भएका र तिनैले बाँच्न सिकाएको यथार्थ स्वीकार्नु हुन्छ निबन्धकारज्यु ।
पूर्ण सन्तोष लिनु मुर्ख्यार्इं हो भन्ने सन्देश समेत दिएको छ ‘फर्केर हेर्दा’ शीर्षकको निबन्धले— “म पूर्ण सन्तोष लिन चाहन्न जीवनमा । पूर्ण सन्तोष पूर्णविराम पनि हो । पूर्ण सन्तोष एउटा अल्गो पर्खाल हो, जसले त्यहाँभन्दा अगाडिको सुन्दर लालसालार्इ पूर्णतः छेकिदिन्छ; त्यहाँभन्दा अगाडिको हरियो रहरलार्इ एकै ठाउँ जमाइदिन्छ र लेउलाग्छ, जीवन प्रवाहमयताबाट छेउ लाग्छ ।” र, जीवनमा कहिलेकाहीँ पछाडि पनि फर्केर हेर्नु पर्ने जिकिर यसमा छ । धेरै आदर्शवादीहरू पछाडि फर्केर हेर्नुलार्इ उति रूचाउदैनन् यदि त्यो सुन्दर छैन भने । तर पछाडि फर्केर हेर्नु त प्राकृतिक नियम हो, जसरी खोला बग्दाबग्दै भुमरी पर्छ र एक फन्का घुम्दा पछाडि फर्केर हेरिहाल्छ भन्ने तर्क निबन्धकारको रहेको छ । अझ लेख्नुहुन्छ— “कहिलेकाहीँ पछाडि फर्केर हेर्दा पनि अगाडि नै गएको हुँदो रहेछ, गति भाँचिदैन रहेछ; तिर्खा लाग्न छोड्दैन रहेछ, लालसा जागिरहँदो रहेछ मनभित्र ।” र, शिल्प पक्ष धेरै बलियो भएको निबन्धको रूपमा समेत लिनु पर्दछ यसलार्इ ।
‘किङ्स्ट्रिटको पहेँले ढोका’ एक अत्यन्तै रोचक निबन्ध हो । यसमा एउटा कथा छ जुन शायद हरेक नेपाली लेखक बाँच्न चाहन्छन् । नेपाली साहित्यले विश्वमा पहिचान बाउनु पर्छ भन्ने मान्यतामा अडिएर लेखिएको निबन्ध हो यो ।
‘सम्बन्धको सौन्दर्य’ ले हामी जे गर्दछौँ सम्बन्धकै कारणले गर्दछौँ भन्ने निचोर निकालेको छ ।
अर्को निबन्ध ‘बूढो हुँदै गए जस्तो’मा उमेरप्रतिको वितृष्णा छ जुन आम मानिसमा हुँदो रहेछ । वास्तवमा जिन्दगी छोटो छ, तर जिन्दगीभन्दा लामा लामा कुराहरू छन् । गर्नु धेरै छ, समय कम छ । धेरै सुन्दर-सुन्दर सपनाहरू छन् तर यो छोटो उमेरमा तीमध्ये कतिलार्इ पो टिप्न सकिएला र ! जिन्दगीको दुर्दम सत्य बोलेको यो विशेष गरेर पारिवारिक कलह, झैँझगडामा जीवन बिताइरहेकाहरूले पढ्नै पर्ने निबन्धको रूपमा देखिन्छ ।
‘सत्य र भ्रमहरू’ भन्ने बित्तिकै लीला लेखन मस्तिष्कमा आइहाल्छ । वस्तुताको मीयोमा घुमेर लीला लेखनले जुन सत्यको उत्घाटन गरेको छ त्यो चित्ताकर्षक छ । तर त्यो एउटा वस्तुलार्इ अर्थ्याउने सवालबाट उठेको सत्य हो । यता व्यवहारमा सत्य र भ्रम अथवा सत्य व्यवहार र झूठ व्यवहारको पनि आफ्नै स्थान छ, जुन निबन्धकारज्युले अत्यन्तै सूक्ष्म ढङ्गले केलाउनु भएको छ ।
‘ढोका’ एउटा प्रतीकात्मक शब्द हो, निबन्ध हो । ‘जीवन भनेको ढोका रहेछ,’ र ‘जीवन बाँच्नु भनेको ढोका खोल्नु हो,’ देखि ‘जीवन बाँच्नेहरूकालागि मात्र हो,’ सम्मका सत्यहरूले मन भित्रैबाट छुन्छन् ।
‘दृश्यचित्र’मा अनेक मनले नपचाएका र नरूचाएका दृश्यचित्रहरू छन् । हाम्रै देश र समाजका सग्ला दृश्यचित्रहरू । ती दृश्यचित्रहरूले हटिदिए अवश्य हामी एक कदम अघि बढ्न सक्छौँ । यसमा द्विविधा छैन । यो निबन्ध वजनदार र चोटिलो प्रतित हुन्छ ।
जसको ससाना बच्चाहरूलार्इ धेरै माया गर्छन्, या जो आफ्नो सन्तानबाट छुट्टिएर बिरस जीवन बाँच्छन्— लार्इ ‘ब्लिन स्कुलमा एक साता’ शीर्षकको निबन्धले भावुक बनाउछ । कसरी निबन्धकारज्यु आफ्नी सानी छोरी लुमानासित सँगै एकहप्ता स्कुल पढ्न जानु हुन्छ ! र, कसरी उहाँकी सानी छोरीलार्इ त्यहाँकी सानी बच्चीले उसको हातमा समाएर डोर्याउछे ! लुमना । भीष्म उप्रेतीज्युको ज्यानभन्दा प्यारो नाम प्रतीत हुन्छ । उहाँका आफ्ना लेखरचनादेखि कृतिसम्म लुमाना नाम अत्यन्तै प्रिय भएर बसेकी छन् । भीष्म सर, मलार्इ लुमनासित भेट्ने तीब्र इच्छा जागेको छ ।
‘भोक’ शीर्षकको निबन्धले भोकले नै मान्छेलार्इ गतिशील बनाउछ भन्ने तर्क पेश गरेको छ । भोक, ढोका र अभाव; यस पुस्तकमा यी तीन शब्दहरू जीवनका उज्याला र गतिशीलताका द्योतकको रूपमा आएका छन् ।
‘कविताको भर्नाकुलर’मा एक कविको नियति छ । एक कविको काव्य चिन्तन छ जसलार्इ सधैँ कविता लेख्न आउदैन र जो आशुकवि हैन । र, यस निबन्धले निबन्धकार भीष्म उप्रेतीको कवि व्यक्तित्वको थप उचाइ प्रदान गर्नमा सहायता पुर्याएको छ । यसले उहाँको कवि व्यक्तित्वको पृष्ठभुमि बताएको छ । उहाँले आउनुभएको त्यो स्थानको बारेमा बताएको छ जुन एउटा मीठो कहानीले बनेको छ ।
समयलार्इ हतार छ तर हामी नेपाली जनतालार्इ हतार छैन । हो, वास्तवमा यो सही कुरा हो । यदि नेपाली जनतालार्इ पनि हतार भएको भए राजनीतिलार्इ कमाइखाने भाँडो सम्झेर त्यही भाँडो वरिपरि बाझ्दै संविधान बनाउनै बिर्सेर बस्दैनथे । केही गर्न त दृढ उद्देश्य र अठोट लिनु पर्ने र हतार मान्नु पर्ने सन्देश दिएको छ ‘हतार छैन हतार छ’ शीर्षकको निबन्धले जुन यस पुस्तकको शीर्षनिबन्ध हो । विदेशिएका दाजुभाइ र दिदीबहिनीहरूलार्इ समेत यसरी सम्बोधन गर्नुभएको छ उहाँले—
"आफ्नाहरूबाट टाढिएर थोपाथोपा पसिनामा पगाल्दै आफ्ना सानासाना नाजुक सपनाहरूलार्इ, भावना र उमेरजन्य रहरहरूलार्इ उनीहरू केही हरिया नोटहरू पठाउछन् नेपाल र यो देश त्यसैले सास फेरिरहेको छ ।
“निमुखा र गरिब जनताले धानेको र ढल्नबाट बचाइरहेको देश उनीहरूकै चाहिँ कहिले हुने ?”
घरदेशमा बस्ने धेरैको विदेशिनेहरूप्रति खाली नकरात्मक धारणा मात्र आइरहेको अवस्थामा भीष्म उप्रेतीको उपर्युक्तका हरफहरू हरेक विदेशिनेहरूकालागि यादगार रहने छन् ।

निचोर
भीष्म उप्रेतीज्युका निबन्धमा जीवनको अँध्यारो पाटो दुख्छ, उज्यालो पाटोको खोज छ । जीवन र जगतलार्इ निराशाले हैन आशाले हेर्नु पर्छ भन्ने अकाट्य तर्क छ । दर्शन छ । दर्शनै दर्शन छ सिङ्गो पुस्तकमा । गरिबीप्रतिको असीम सहानुभूति छ । धनभन्दा मनको सत्ता ठूलो हुन्छ भन्ने मान्यताको हावी छ । नेपाली साहित्यको प्रतिनिधि पात्र बोल्छ । सन्तानप्रतिको मायामा सुख खुल्छ । एकलकाँटे र अनुत्तरदायी उमेरप्रति गुनासो छ । हतार नमान्ने मानसिकताको प्रतिकार छ । विचार छ, कसले भन्यो छैन ? दर्शन छ । कला छ, शिल्प पक्ष अत्यन्तै बलियो छ । यति भएपछि अरू के चाहियो ?
यस कृतिलार्इ समालोचक कृष्न चन्द्रसिंह प्रधानले ‘सुखद भविष्यतर्फको अभियान’को रूपमा लिनु भएको छ । वस्तुतः धेरै कम लेखिने विधाको नाम निबन्ध पनि हो । निबन्ध लेखनमा भीष्म उप्रेतीज्युका पाइला पछ्याउदै नयाँ पीढी सुखद भविष्यको सपनालार्इ साकार पार्न उल्लेख्य रूपमा आउनु पर्ने देखिन्छ ।
भीष्म उप्रेतीज्युका निबन्धहरू पढेपछि मैले यो सिकेँ कि निबन्ध भनेको अत्यन्तै निजात्मक अनुभव र अनुभूतिहरूको शाब्दिक र साकार रूप रहेछ । सरलताको खेती रहेछ, उर्वरताको तरार्इ रहेछ । मलार्इ पनि त्यसै लेखूँ लेखूँ लागेर आयो । निबन्धमा जति आफूलार्इ कुशलरूपमा अभिव्यक्त गर्ने अरू पनि कुनै विधा छ ?
हतार छैन हतार छभित्र कथानक खोज्नु मेरो कमजोरी हैन भने मैले ‘केही’ निबन्धहरूमा कथानक निक्कै खोजेँ । तन्किँदै गएका शब्दहरूको गन्तव्य पत्ता लगाउन हम्मे पर्यो केहीमा ठाउँमा । हिजो, आज, भोलि, ढोका, जीवन दर्शन र भ्रमका अस्तित्वमाथि निब घोट्ने भीष्म उप्रेतीज्युका हातले लीला, भयवाद, बहुरङ्गवाद, उत्तरआधुनिकतावाद आदिका कोणबाट पनि जीवन र जगतको बारेमा लेख्दा कस्तो हुन्थ्यो होला, लागेर आयो ? जीवन, उज्यालो र सपनाको सर्बोच्चता स्वीकार्ने उहाँका आँखाले केही भ्रष्ट र हुतीहारा नेताका कारण कमजोर बनेको प्रगतिवादको कोणबाट जीवन र जगतलार्इ हेर्दा कस्तो देखिन्थ्यो होला, रूचि जागेर आयो ? सन्दर्भ सामग्रीहीन भएरै पूर्ण बनेको निबन्धहरूको सिङ्गो पुस्तक बैचारिक अवश्य भयो तर तथ्यगत कुराहरूलार्इ उल्लेख्य समेटेको भए सुनमा सुगन्ध हुन्थ्यो कि लाग्यो ।
केही ठाउँको प्रुफरिडिङ्को कमजोरी बास्मती चामल चपाउदा लाग्ने पत्थर साबित भएतापनि यसलार्इ स्वीकार्न सक्ने शक्ति यहाँका वजनदार निबन्धहरूले दिएका छन् । प्रुफरिडिङ्कै कमजोरी होला केही ठाउँमा चन्द्रबिन्दुको अनावश्यक प्रयोग र आवश्यक भएको ठाउँमा प्रयोग नभएको अवस्था देखिएको छ ।
अन्तमा,
भीष्म उप्रेतीज्युको लेखनको मूल्याङ्कन गर्ने क्षमता ममा छैन । किनभने अग्रजहरूको सधैँ आदर गर्ने बानी रह्यो ममा । उनीको सट्टा उहाँको प्रयोग गर्नु समीक्षाको प्रचलित नियमप्रति अनभिज्ञ हुनु या नमान्नु हो भने यो शब्द दौड कृति समीक्षाको दौड हुँदै हैन । यो दौड सिर्फ पाठकीय दृष्टिको हो जुन एक पाठक एक कृति पढिसकेपछि मनभरीको नानाभाँति कुरा लेख्तछ । साह्रै हतार गर्यो भने यो कुरा खुलाउनै बिर्सने देखियो । हतार हतारमै अझ भनिहालूँ, समय धेरै हतारको छ । अब ‘हतार छैन हतार छ’ पढिसकेपछि पनि हतार गरेन भने समयले धेरै पछाडि छोड्ने छ । त्यसैले जय होस् हतारको सधैँ !

केएसए

प्रकाशित मिति : प्रकाशन मिति : वुधबार, 21 जेठ, 2071

लेखकका अन्य रचनाहरु