हृदयघात

- चेतनाथ आचार्य

दिनभर अस्पतालमा काम गरेर फर्किदा पनि थकाइको महससु हुँदैन प्रतिमालाई। सानैदेखि मिहिनेती र परोपकारी भावना भएकी प्रतिमा एक अस्पतालकी परिचारिका हो। परापूर्व कालमा भएदेखि परिचारिका काम राम्रो मानिँदैन थियो तर वर्तमान सयममा परिचारिकालाई साक्षात देवीजस्तै मान्छन् बिरामीहरू। प्रतिमा त आफैँमा मृदुभाषी र सहयोगी भावना भएकी नारी। नारी कोमलता त उसमा प्रचुर छँदैथियो। त्यसमाथि उसले काम गर्ने अस्पताल मुटु रोगीका निम्ति मात्र थियो।
प्रतिमाले थुप्रै मुटु रोगीको उपचार गराएकी थिई। कतिपय बिरामीले मुटुको सल्यक्रियापछि नयाँ जीवन पाएर खुसी व्यक्त गर्दा प्रतिमा आफूलाई गौरवान्वित ठान्थी। कतिपय बिरामीहरू स्वास्थ्य उपचारपछि पनि प्रतिमाको सम्पर्कमा रहन्थे जसले गर्दा ऊ आफ्नो हृदय अझै फराकिलो भएको ठान्थी। मुटुरोगीहरू उपचारपछि अझै बढी सहयोगी र मायालु हुन्छन् जसको सङ्गतले गर्दा प्रतिमामा पनि परोपकारी भावना अझै बिस्तार हुँदै गएको थियो। दिउँसो मात्र होइन प्रतिमा रातभर पनि बिरामीको उपचारमा जुट्थी। बिरामीहरूको हँ... हँ... र ऐया... ऐया... आवाज प्रतिमाको सामिप्यमा मधुरो हुदै जान्थ्यो। ऊ बिरामीहरूको माहोलमा आफूलाई अत्यन्त खुसी र सुखी ठान्थी।
बिरामीहरूकै भेलमा एकदिन प्रतिमाको अस्पतालमा सरोज आइपुग्यो। सरोज २५ वर्षे उमेरमा एकाएक बिरामी भएर अर्कै अस्पताल गएको थियो। त्यो अस्पतालले सरोजलाई मुटुको समस्या छ भन्ने निर्क्योल भएपछि प्रतिमाको अस्पतालमा आइपुगेको थियो। आउँदा सरोज अरू बिरामीभन्दा फरक थिएन तर चिन्ताजनक अवस्थामा थियो। दुइदिनसम्म सिसियुमा राखेपछि उसको अवस्थामा सुधार आएको थियो। तर उसको मुटुको सल्यक्रिया गर्नुपर्ने र मुटुको दुईवटै भल्भ फेर्नु पर्ने कुरा चिकित्सकले परीक्षणपछि बताए। फलस्वरूप दुइहप्तापछि सरोजको मुटुको सल्यक्रिया हुने भयो।
पाल्पाको मदनपोखरामा घर भएको सरोज आर्थिक अवस्थाले अत्यन्त कमजोर थियो। ऊ छात्रवृत्ति पाएर त्रिचन्द्र क्याम्पसमा विज्ञान विषयमा स्नातक तहको तेस्रो वर्षमा अध्ययनरत थियो। थाहा थिएन उसले छात्रवृत्ति नपाएको भए पाल्पामा अरूसरह कृषि पेसामा तल्लीन रहन्थ्यो होला। उसको बुबा वृद्ध हुनुहुन्थ्यो त्यसमाथि कलेजोमा क्यान्सरको रोगी, मृत्युको पर्खाइमा हुनुहुन्थ्यो। भाइ अपाङ्ग भएकाले घरमा आश्रित थियो। एउटी बहिनी कक्षा ८ पढेर पूर्ण बिराम लागी घरमा नै काम गर्दै थिइन्। आमा बिरामी लोग्ने र अपाङ्ग छोराको चाकर गर्दागर्दै आधामरो शरीरमा बाँच्नु परेको थियो।
सरोजलाई उपचार गर्नका लागि साथीहरूले चन्दा सङ्कलन गरेका थिए। त्यही भएर अस्पतालमा उसलाई कुर्नका लागि घरका सदस्य तथा आफन्त नभएर साथीहरू नै थिए। सरोज अस्पतालको शैयामा बसेर पनि पत्रपत्रिका पढ्ने डायरी लेख्ने र वाकमेनमा गीत सुन्ने कुरामा प्राय व्यस्त देखिन्थ्यो। चिकित्सकहरू उसलाई भावनामा नडुब्न, पत्रपत्रिकामा ध्यान नदिन सल्लाह दिन्थे। अनि लेखाइ र दिमाग खियाउने कुरा पनि नगर्न भन्थे। मुटु रोगीका लागि यी कुराहरू प्रतिकुल अवस्था सिर्जना गर्ने कारक तत्व हुन् भन्ने चिकित्सकको भनाइ थियो। भावुक हुनु, समाचार हेरेर त्रासदीपूर्ण कुराले मनमस्तिष्कलाई तनाव भएमा मुटुको समस्या बढ्नसक्ने भएकाले त्यसो नगर्न प्रतिमाले पनि उसलाई सल्लाह दिन्थी।
सरोज प्रतिमालाई भन्थ्यो 'मलाई यसो गर्दा तनाव हुँदैन बरू गीत नसुन्दा अथवा डायरी नलेख्ता र समाचार नसुन्दा तनाव हुन्छ। अब आफैँ भन्नुहोस् मैले के गर्दा ठीक हुन्छ?' प्रतिमा अवाक हुन्थी उसको कुराबाट।
सरोजलाई हेर्न आउने, सहयोग गर्ने तथा कुर्ने साथीहरू फेरिइरहन्थे। सरोजसँग धेरै बेर कुरा गर्न पाइन्नथ्यो। वेला मौकामा प्रतिमा उसलाई सन्चो बिसन्चोको कुरा सोद्थी। ऊ उत्तर दिन्थ्यो 'मलाई के थाहा तपाईं घन्टैपिच्छे मेरो हेरचार गरिरहनुभएको छ। मलाई सन्चो छ कि बिसन्चो छ त्यो त तपाईलाई नै सोधेपछि मात्र मलाई थाहा हुन्छ। अनि मलाई किन सोध्नुहुन्छ?' प्रतिमा छक्क पर्थी कस्तो कुरा गर्न आएको ...।
पढ्नमा अत्यन्त तीक्ष्ण बुद्धि भएको सरोज साहित्यिक सिर्जनामा पनि विशेष रूचि राख्दथ्यो। पत्रिका पढ्दा पनि उसको कानमा वाकमेन जहिल्यै रहन्थ्यो। एकदिन प्रतिमाले ऊसँग कतिवटा क्यासेट छन् भनेर सोधेकी थिई। प्रतिउत्तरमा सरोजले आफूसँग एउटा मात्र क्यासेट भएको बतायो। फेरि प्रतिमाले प्रश्न तेर्स्याई यत्रो दिनदेखि तपाईं एउटै क्यासेट सुनिरहनु भएको छ? सरोजले सजिलै भनेको थियो मेरो जीवनमा यही एउटा क्यासेट नै पूर्ण छ। प्रतिमा आफूसँग भएको गीतको क्यासेट सरोजलाई दिन चाहन्थी तर उसले एउटै क्यासेट पूर्ण छ भनेपछि क्यासेट दिने आवश्यकता उसले ठानिन।
कहिले काहीँ प्रतिमालाई फुर्सद भयो भने सरोजसँग कुराकानी गर्न रमाइलो लाग्थ्यो। फेरि सरोजलाई डाक्टरको उपचारभन्दा पनि परिचारिकाको व्यवहार नम्र र न्यानो चाहिएको थियो। सरोज जीवन र जगतका बारेमा अनौठो सोचाइ राख्दथ्यो। भन्ने गर्दथ्यो उसलाई बाँच्नमा त्यत्रो ठूलो रहर छैन। उसले निराशावादी सुन्य जीवन अँगालेर अगाडि बढिरहेको जस्तो लाग्दथ्यो। बाँच्नेहरूले पनि केही गर्न नसकेको तर आफू आमाका लागि बाँच्न चाहेको उसको विचार थियो। आमाले बाबु धेरै पढेर जागिर खाएस् बुढेसकालमा सुख दिएस भनेर दुःख पोखेको, अपाङ्ग भाइले दाजुबाट सहाराको आशा गरेको तथा बुबाले उपचारको आशा गरेको कुरा ऊ बारम्बार सुनाउँथ्यो। उसको कुरा सुन्दासुन्दै प्रतिमाको मन ऊप्रति सहानुभूति राख्न थालेको थियो।
जीव विज्ञानमा स्नातक तहको पढाइ भएकाले पनि सरोजलाई औषधिका बारेमा धेरथोर ज्ञान थियो। प्रतिमा र उसकाबीचमा उपचार पद्धत्तिका बारेमा पनि कुराकानी हुन्थ्यो। त्यसकारणले पनि सरोज र प्रतिमाबीचको घनिष्टता बाक्लिँदै गयो। प्रतिमालाई सरोजदेखि छक्क पर्नुपर्ने एउटै कारण थियो। ऊ एउटै चक्का दिनप्रतिदिन दोहोर्याघई तेहेर्या ई सुन्ने गर्दथ्यो। उसले त्यो एउटै क्यासेट सुन्नुपर्ने कारणका बारेमा प्रतिमालाई भनेको थियो 'वास्तवमा मलाई गीतभन्दा यो गीत गाउने गायिका अत्यन्त मनपर्छ। उनी मेरी प्रेमिका जस्तै हुन्।'
सरोजको मुखबाट प्रेमिका भन्ने शब्द सुन्नासाथ प्रतिमा रोमाञ्चित भएकी थिई। उसलाई सरोजको कुरा सुन्न अझै जाँगर बढेर आएको थियो। सरोजले पनि सबै कुरा खुलस्त बतायो। सरोज एकदिन (लगभग दस महिना अगाडि) बुबा सिकिस्त बिरामी भएको कुरा सुनेर निकै तनावमा थियो। उसले रेडियोबाट एउटी केटीको गीत सुन्यो। त्यो गीतले उसलाई तत्कालको तनावबाट सितलता प्रदान गर्योम। उसलाई अरू गीतभन्दा त्यो गीत धेरै राम्रो लागेको हुनाले सुनेकै दिन बजारमा गएर त्यो गीतको क्यासेट किन्यो र सुन्दैसुन्दै घर गयो। त्यसपछि उसलाई त्यो गीत दिनदिनानुदिन बढ्ता मन पर्न थाल्यो। ऊ सोच्ने गर्दथ्यो, एकान्तमा घोत्लिने गर्दथ्यो, सुनसानमा एकोहोरिने गर्दथ्यो जसमा त्यो गीतले उसको जीवनको एउटा पाटो नै बोलेजस्तो लाग्थ्यो। उसले भित्रभित्रै ती गायिकालाई मन पराउन थाल्यो। उसलाई थाहा थियो उसको माया एकोहोरो छ भनेर तैपनि उसको माया पवित्र र स्वर्गीय थियो। ऊ त्यही मायाको तानोमा पिङ्ग खेल्दै झझल्कोभरी जीवन बुन्ने गर्दथ्यो। अनि आफ्नो पीडा बिर्सने गर्दथ्यो। तर सरोजले उसकी अन्जान मायालुलाई भेट्न र देख्न पाएको थिएन।
कुरा सुन्दासुन्दै प्रतिमा पनि निकै भावुक भएकी थिई। प्रतिमाले अहिलेसम्म कसैलाई पनि प्रेम गरेकी थिइन। अस्पतालको कामले गर्दा उसलाई फुर्सद पनि थिएन। पहाडमा भएका बुबा आमाले प्रतिमालाई बिहे गर भनेर नभनेका पनि होइनन् तर ऊ भने उपयुक्त मान्छेको पर्खाइमा चौबीसौ वसन्तलाई पछाडि पार्दै थिई।
प्रतिमाको साप्ताहिक रूपमा हरेक सोमबार बिदा हुन्थ्यो। ऊ मङ्गलबार अस्पताल गई र सरोजलाई भेट्न उसको शैयामा हाजिर भई। सरोजका क्याम्पसका केही साथीहरू आएका थिए। सबै हसिँला र खुसिला देखिन्थे। प्रतिमा आउनसाथ सरोजले आफूहरू खुसी हुनाको कारण खोलिहाल्यो। सरोजले उसकी सपनाकी राजकुमारी गायिकालाई गायनको प्रशंसा गर्दै चिठी लेखेको रहेछ। उसको क्यासेटमा भएको ठेगानामा दुइ तीनपल्ट पत्र पठाएपछि त्यो दिन गायिकाले पनि सरोजलाई चिठी लेखेकी रहिछे। अब सरोजले उक्त गायिकालाई आफू अस्पतालको शैयामा भएको र हेर्न आउने आग्रहका साथ चिठी लेख्ने इच्छा पनि प्रतिमालाई सुनायो। प्रतिमा पनि एकैछिन उनीहरूको खुसीमा समाहित भई। उसले सोची सरोजकी सपनाकी प्रेमिकाको चिठीले सरोजको स्वास्थ्यमा थप उपचार पुर्या इरहेको छ।
केही दिनपछि सरोजको अपरेसनको दिन आयो। साथीहरूले उपचारमा लाग्ने खर्च जुटाइसकेका थिए। अपरेसन थिएटरमा जाने बेलामा सबै साथीहरूले उसलाई नयाँ जीवन पाउने शुभकामना दिए। उसले सबै साथीहरूलाई भन्यो 'बेकारको औपचारिकता किन निर्वाह गर्ने? मुटुको अपरेसन हो बाँचिन्छ कि बाँचिदैन त्यो त अपरेसनपछि मात्र थाहा हुन्छ। यदि म बाँचेभने तपाईंहरू सबैसँग फेरि खुसीको कुरा गरौँला नभए ...।' प्रतिमा र साथीहरूले उसलाई त्यस्तो कुरा नगर्न भने। उसले फेरि हाँसेर भन्यो 'हो त नि मैले त प्रतिमाका लागि पनि बाँच्नुपर्छ। थाहा छ मैले उनलाई चिठी लेखेको पनि पाँच दिनभइसक्यो। मैले अपरेसनपछि त नयाँ जीवनमा उनको पनि दर्शन पाउने भएँ नि!'
अपरेसन थिएटरमा लानु अगाडि बिरामीको अभिभावकले अस्पतालको सम्झौतापत्रमा हस्ताक्षर गर्नुपर्ने थियो। कसले गर्ने भन्दा सरोजले प्रतिमालाई हस्ताक्षर गर्न भन्यो तर प्रतिमा त्यही अस्पतालकी कर्मचारी भएकाले गर्दा हस्ताक्षर गर्न मिलेन। उसकै सहपाठी दिनेशले हस्ताक्षर गर्यो । सरोजलाई अपरेसन थिएटरमा लगियो।
सरोजका सामग्रीहरू प्रतिमाले नै समालेर राखी। उसको डायरी, क्यासेट, वाकमेन, लुगा कपडा राख्ने क्रममा एउटा चिठी भुइँमा झर्यो । प्रतिमा झस्की। झस्कनु पर्ने कारण थियो चिठीको हस्ताक्षर। चिठी प्रतिमाले लेखेकी थिई। हत्तपत्त उसले चिठी झिकेर पढी। त्यो चिठी उसले आफ्नो एक श्रोतालाई लेखेकी थिई। प्रतिमा गायिका पनि थिई। उसले एकवर्षअगाडि मात्र एउटा गीति एल्बम निकालेकी थिई। त्यसपछि उसले हतार हतार वाकमेनबाट क्यासेट निकालेर हेरी। त्यो उसैको क्यासेट रहेछ। उसले क्यासेटमा आफ्नो नाम प्रतिमा नराखेर सन्ध्या सगरम राखेकी थिई।
ओहो सरोजले मनमनै पूजा गर्ने व्यक्ति अर्को कोही नभएर उही प्रतिमा रहिछे। तर कस्तो संयोग सरोजले उसलाई चिन्नै पाएन। प्रतिमा केहीबेर खुसी भई अनि फेरि दुःखी। उसले एउटा राम्रो श्रोताले दुईतीनवटा पत्र पठाएपछि प्रतिउत्तर पठाएकी थिई। हुनतः उसले थुप्रै श्रोताहरूबाट चिठीपत्र पाएकी थिई तर प्रतिउत्तर भने एकाध व्यक्तिलाई मात्र पठाएकी थिई। जसमध्ये सरोज पनि एउटा रहेछ। प्रतिमाले त्यतिखेर सम्झी सरोजले फेरि उसलाई चिठी लेखेको छ। प्रतिमालाई तुरून्तै उसको पोष्ट बक्स खोल्न मन लाग्यो।
सरोजलाई अपरेसन गर्न लगभग ८ घण्टा लाग्ने कुरा चिकित्सकहरूले बताएका थिए। त्यही समयलाई सदुपयोग गर्न प्रतिमा सरासर हुलाकघरतिर गई। उसले पोष्ट बक्स खोली। थुप्रै चिठीपत्रहरू आएका रहेछन्। उसले चिठीको भीडबाट सरोजको हस्ताक्षर खोजी। एकैछिनको प्रयासपछि उसले चिठी फेला पारी। हत्तपत्त खोलेर हेरी। चिठीको आशय यस्तो थियो।
सन्ध्या सगरगमको नाम पुकारेर सरोज बाँचिरहेको छ। उसले आशा गरे अनुसार नै चिठीको प्रतिउत्तर पाएपछि यतिधेरै व्यक्तिगत कुरा लेख्न ऊ हतारिएको पनि चिठीमा खुलस्त थियो। अपरेसनबाट ऊ यस दुनियमा फर्कन्छ या फर्कदैन थाहा छैन। फर्किएमा ऊ सन्ध्या सरगमलाई हेर्न चाहन्छ, छुन चाहन्छ र बोल्न चाहन्छ। उसको इच्छा यति मात्र हो। यदि अपरेसनबाट नफर्केमा पनि सन्ध्या सरगम उसको लाशमा आउनेछे। आफ्नो श्रोताको पार्थिव शरीरमा उसले हेर्नेछे र केही मलिन अनुहार लगाएर फर्कनेछे। तर उसकी प्रेमिकाको रूपमा रहेको गीति एल्बम उसको लाश सहित दाहसंस्कारमा समाहित हुनेछ। यो उसको अन्तिम इच्छा हो।
सरोजले एकातर्फी सन्ध्या सगरमलाई प्रेम गर्ने गरेको पनि पत्रमा लेखिएको थियो। तर त्यो प्रेम लौकिकभन्दा परलौकिकजस्तो थियो। उसकै शब्दमा ऊ आकाशभन्दा विशाल, हिउँभन्दा स्वच्छ, समुन्द्रभन्दा गम्भीर, नदीभन्दा पवित्र र पवनभन्दा मन्द प्रेम गरिरहेको छ। यी कुरालाई सन्ध्या सगरमले नस्वीकारे पनि उसलाई केही फरक पर्नेछैन। तर ऊ एकपल्ट हेर्न चाहन्थ्यो। आफ्नी सपनाकी राजकुमारीलाई देख्न चाहन्थ्यो।
प्रतिमाले भयङ्खर ठूलो अपराध गर्ने चेष्टा गरी सरोजको डायरी हेरेर। डायरी गोप्य हुँदाहुँदै पनि उसलाई हेर्न मन लाग्यो। डायरीमा पनि चिठीकै आशय थियो। फरक यति थियो कि डायरीमा साथीहरूलाई पनि सम्बोधन गरी अपरेसनबाट नफर्केमा उक्त चक्कासँगै जल्ने इच्छा पूरा गरिदिन आग्रह गरिएको थियो। उसले ठूलो विश्वासका साथ लेखेको थियो सन्ध्या सगरम पक्कै आउनेछिन् र एकछिन घोरिनेछिन् तब साथीहरूले उनलाई भन्नुपर्ने छ तिम्रो प्रेमी मर्यो भनेर।
प्रतिमाले योभन्दा धेरै कुरा खोजेकी थिई तर पाइन। न त डायरीमा पाई न त चिठीमै। कहीँ कतै पनि प्रतिमाको नाम उल्लेख छैन। ऊ छक्क परी अनि भित्रभित्रै मर्माहत पनि भई।
ऊ अस्पताल गई। सरोजलाई अपरेसन थिएटरबाट ल्याइएको थिएन। बेचैनका साथ ऊ बाहिर बसी। सरोजका साथीहरू पनि उही व्यग्रताका साथ प्रतीक्षामा थिए। सबैजना सन्ध्या सरगम कतिखेर आउँछे भनेर कुरा गरिरहेका थिए। प्रतिमाले भन्न चाहेकी थिई ऊ नै हो सन्ध्या सरगम। तर अरूले विश्वास गर्ने कुरामा उसले शङ्खा गरी। अब सरोजलाई नै होसमा आएपछि चिठी देखाएर बताउने इच्छा गर्दै ऊ पर्खी।
अपरेसन थिएटरबाट चिकित्सक निस्किएर सरोजको आफ्नो मान्छेको सोधखोज गरे। त्यहाँ उपस्थित सबैले आफू सरोजको साथी भएको बताए। तर चिकित्सकले सरोजको घरको अथवा सबैभन्दा नजिकको को छ भनेर सोद्धा अन्जानमै प्रतिमाले म छु भनी। चिकित्सकले सरोजको अपरेसन सफल भएको र दुइवटै भल्भ फेरिएको बताए। तर सरोजलाई तत्काल भेट्न नमिल्ने भयो। सबैजना उही व्यग्रताका साथ बसिरहे।
प्रतिमा परिचारिका भएको हुनाले भेटेर आई र साथीहरूलाई उसको हाल सुनाई। सबैजना खुसी भए अनि एकै छिनमा दुःखी पनि। किनकी अहिलेसम्म सन्ध्या सगरमको अत्तोपत्तो थिएन। अपरेसनको पर्सिपल्ट सरोजलाई सामान्य शैयामा सारेपछि सबैजना साथीहरू भेट्न गए र सरोजलाई बधाई दिए। सरोज भने सन्ध्या सरगमलाई खोजिरहेको थियो। उसले गार्होप मान्दै सोध्यो 'खै त सन्ध्या सगरम आउनु भएको छैन?' साथीहरूले नकारात्मक रूपमा टाउको हल्लाए। त्यतिखेर नै 'यहीँ छे त सन्ध्या सरगम' भन्ने आवाज ढोकाभित्र छिर्यो । आवाज प्रतिमाको थियो। प्रतिमाले सरोजलाई नजिकै आएर भनी 'सरोज तिम्री सन्ध्या सरगम यहीँ छे यी लेऊ' भनेर वाकमेन र एल्बम हातमा राखिदिई। सरोजले भन्यो 'तपाईंले मलाई कति धेरै निरास बनाइदिनुभयो। मलाई त साच्चै नै उहाँ आउनुभयोहोला भन्ने लागेको थियो। तपाईंले मलाई सगरमाथाको टाकुरामा पुर्यासएर केचनामा झारिदिनुभयो। म होसमा आएपछि सबैभन्दा पहिले सन्ध्या सरगमलाई भेट्न चाहन्थेँ। तर मेरो इच्छा यत्तिकै रहने भयो त ...'
अब प्रतिमाले आफू सन्ध्या सरगम हुँ भन्ने वातावरण सिर्जना गर्न तत्पर रही। सरोजको स्वास्थ्यमा सुधार भए पनि सन्ध्या सगरम नआएकै कारणले बढी व्यग्र देखिन थाल्यो। चिकित्सकले कुनै खतरा हुनसक्ने सङ्केत दिइसकेका थिए। त्यसकारण पनि प्रतिमाले सरोजलाई बचाउनु आफ्नो पहिलो दायित्व सम्झी।
प्रतिमाले सबै साथीहरूलाई बोलाएर यथार्थ कुरा भन्ने र सरोजलाई आफ्नो गायिकाको रूप बताउने बिचार गरी। जब ऊ सरोजको शैया भएको कोठामा गई। सबै साथीहरूको अट्टहास सुनिन्थ्यो। यसो गर्नु बिरामीका लागि बेफाइदा हुन्थ्यो। कोठामा साथीहरूका साथमा अत्यन्त सुन्दर लुगा लगाएकी एक सुन्दर केटी पनि थिई।
सरोजले प्रतिमासँग परिचय गरायो 'उहाँ प्रसिद्ध गायिका सन्ध्या सरगम। काठमाडौँ बाहिर साङ्गीतिक कार्यक्रममा जानुभएको रहेछ र आजमात्र आउनुभएछ।' प्रतिमा छक्क परी अनि दुविधामा रूमल्लिई। तत्काललाई प्रतिमाले उक्त केटीलाई नमस्कार गरेर आफ्नो परिचय दिई 'म प्रतिमा'। केटी सरोजसँग कुरा गर्न थाली। 'सरोज तपाईंको चिठी पाएर मैले प्रतिउत्तर पठाएको थिएँ। मलाई पनि तपाईंलाई भेट्ने ठूलो इच्छा थियो। आज भेट भयो तर अस्पतालको शैयामा। तपाईं मलाई मन पराउनुहुँदो रहेछ। साँच्चै भन्ने हो भने म पनि तपाईंलाई मन पराउँछु।'
प्रतिमा केही बेर त्यहाँ बसी, कुरा सुनी र नबोलिकन बाहिर निस्किई। प्रतिमा त्यो केटीसँग केही कुरा गर्न चाहन्थी तर फुर्सदै भएन। त्यही दिनदेखि सरोजको स्वास्थ्यमा सुधार आयो। भोलिपल्ट पनि त्यो केटी सरोजलाई भेट्न आई। अब सरोज अस्पतालमा एक दिन रहेर छुट्ने भयो। अस्पतालबाट निस्कने वेलामा प्रतिमाले उक्त केटीलाई 'तपाईं को हुनुहुन्छ?' भनेर सोधी। उक्त केटीले आफू सन्ध्या सरगम हुँ भनेपछि प्रतिमाले प्रतिवाद गरी। आफूले सन्ध्या सगरमलाई राम्ररी चिनेको प्रतिमाले बताएपछि केटीले झुक्न बाध्य हुनुपर्यो । उसले भनी साथीहरूले सरोजको ज्यान बचाउनका लागि नाटक गर्न लगाएको र आफूले कसैको ज्यान बचाउनका लागि मात्र सन्ध्या सरगम भएको भन्दै माफी मागी। उसले बिन्ती गरी 'कृपया सरोजलाई यथार्थ नबताउनुहोला उसलाई जे पनि हुनसक्छ...।'
प्रतिमाले मनमनै भनी 'हो सरोजलाई जे पनि हुनसक्छ त्यही भएर त म विभीषण ज्वाला सहिरहेकी छु तर ...' त्यो केटी हिँडी प्रतिमा गेटमै ठिङ्ग उभिई। भोलिपल्ट सरोजका साथीहरू र उही केटी सरोजलाई लिन आए। प्रतिमा अत्यन्त गम्भीर र भावुक थिई। उसको अनुहारमा सधैँको जस्तो चमक थिएन। सरोज अस्पतालबाट डिर्स्चाज भयो। सबैले सरोजलाई लिएर प्रतिमासँग बिदा भई हिँडे। प्रतिमाले गेटबाट उनीहरूको गाडी गुडेको हेरिरही। त्यतिखेरै उसलाई अलिक अप्ठेरोजस्तो भयो। पसिना आयो, रिँगटा लाग्यो र मुटु रोगीमा देखिने लक्षण देखिएजस्तो लाग्यो। उसले दाहिने हातले गेट समाई र बिस्तारै अस्पतालतिर फर्की हृदयघातको वेदना सहँदै। ऊभित्र पस्ता उसको मुटु रित्तो थियो।

प्रकाशित मिति : प्रकाशन मिति : शुक्रबार, 16 जेठ, 2071

लेखकका अन्य रचनाहरु