अन्तर्मनको यात्राको पूर्ण रूप

- छविरमण सिलवाल

वनमा मैले शब्द–साधनाबाहेक केही गरिनँ, अरुका र आफ्ना शब्दमा रमाउने काम । कलाकारको जस्तै मेरो जीवन पनि तीन चरणमाबाट गुज्रियो । मैले पहिले आफ्नू बाहिरी ल्यान्डस्केप लेखेँ, अनि भित्री ल्यान्डस्केप । अब म आफूलाई लेख्तै छु । अन्तर्मनको यात्रा सर्वश्रेष्ठ यात्रा हो । म त्यही यात्रामा छु । सत्यको अन्वेषण सर्वोत्कृष्ट आनन्द हो । म त्यस आनन्दको खोजीमा छु । यहाँ म त्यो यात्रा र त्यो खोजीको मिलान गर्दै छु । जसले गाउँछ, त्यसले गीत पाउँछ । म जीवनको त्यही गीत गाउँदै छु । विषाद गीत । म मेरो जीवनको त्यही विषाद गीत गाउँदै छु ।’
जगदीश घिमिरेको जीवनको यही गीतले नेपाली साहित्यमा निकै ठूलो उचाई दियो । मल्टिपल माइलोमा जस्तो रोगले दिएको पीडालाई यी नै गीतहले बचाई राख्यो । हरेक मान्छेले आ–आफ्नै कथाव्यथालाई पुस्तकसँग दाज्न थाले । आत्मैबाट पोखिएका सिर्जनाले हरेक मान्छेका आत्मलाई चिन्दो रहेछ भन्ने आभाष दिलाए । मान्छेलाई जीवन जिउने कला सिकाए, गरिबीले थिचिएका मान्छेहरुका बोझ उठाए । र, नेपाली साहित्यमा एउटा ऐतिहासीक पुस्तक उपहार दिएर गए, सकस र अन्तर्मनको यात्रा । र, आफै लागे महाप्रस्थानमा ।
उनले अन्तर्मनको यात्रामा लेखेका छन् ः–‘अन्तमा सबैको समस्त जीवन समेटिएर त्यही धर्कामा टुङ्गिन्छ, महामानव–महादानव, अन्पायु–दिर्धायु, असल–खराव, धनि–गरिब सबैको । अमर भनिनेहरुको जीवनसमेत अन्ततः त्यही सानु धर्को हो भने सामान्य भनिनेका के कुरा ।’ जीवन रुपी त्यही धर्को मेटिए पनि उनले दिएका जीवनका गहनतम कुराहरुले बाँच्नेहरुलाई बाँच्ने कला सिकाई रहेको छ ।
दुर्गा घिमिरेद्धारा लिखित ‘उनको सम्झना’ पुस्तकको सन्दर्भकै क्रममा मैले अन्तर्मनको यात्रा पुस्तकमा जगदीश घिमिरेले लेखेका प्रसङ्गहरुलाई यहाँ प्रस्तुत गरेको मात्र हुँ । मैले ‘उनको सम्झना’ पुस्तक पढिरहँदा जगदीशदाइसंग केही वर्ष मैले राम्ररी संगत गरे, आँखामा झलझली ति दृश्यहरु नाचिरहे । भने ३९ वर्षको दाम्पत्य जीवनका सुमधुर क्षणहरु कसरी विर्सन सक्छिन्, दुर्गा घिमिरेले । उहाँको निधनमा शोकमा डुबेर भए पनि एउटा सुन्दर पुस्तक अर्पण गरेकी छिन् दुर्गा घिमिरेले । ‘उनको सम्झना’ पुस्तकले साँच्चै नै अन्तर्मनको यात्रा पुस्तकलाई पूर्ण बनाएको आभाष मैले पाएको छु । उनले पुस्तक लेखनको शुरुवाती यसरी गरेकी छिन् ः–‘मेरो आँसुको मसीले तिमीले लेख्यौँ अन्तर्मनको यात्रा, त्यही आँसु नसुक्दै मैले लेखेँ ‘उनको सम्झना’ ।’ जगदीश घिमिरेले पनि अन्तर्मनको यात्रा पुस्तकको शुरुवाती यसरी गरेका थिए, –‘जसले मेरा पछिल्ला दिनहरुलाई, छिनहरुलाई अलि सजिला बनाइदिए अनि मेरी सहयात्री दुर्गालाई जसले मेरा सबै प्राप्ति र पीडाहरुलाई स्वानुभूत गरेकी छन् ।’
तिस ओटा निबन्धात्मक शैलिमा लेखिएका यी लेखहरु पढ्दा जो कोहीलाई पनि भावुक बनाउँछ नै । र, अन्तर्मनको यात्रामा नभेटिएका केही नयाँ कुराहरु पनि ‘उनको सम्झना’ पुस्तकमा भेटिन्छन् । बैवाहिक सम्बन्ध गाँसिए पछि जीवनका उन्नचालिसौं बसन्तको यात्रा सँग–सँगै पार गरेर एक्ले महाप्रस्थानको यात्रामा लागेका जगदीश घिमिरेका विविध आयामहरुलाई नजिकबाट बुझ्न सकिन्छ । चुपचाप शोकमा डुबेर बस्नु भन्दा उनीसँग भोगेका भोगाईहरुलाई पुस्तकमा समेटेर पाठकसामू प्रस्तुत गर्नु नै उचित ठानेर लेखिएको ‘उनको सम्झना’ पुस्तक त्यही शोकलाई शक्तिमा बदल्ने आत्मविश्वासी पुस्तक भन्दा पनि फरक पर्दैन ।
म माथि परेको वज्रपात, आशाको प्रतिबिम्बसँगै मल्टिपल माइलोमा, मल्टिपल माइलोमा भएर नेपाल फर्किएपछि, सिरिराज अस्पतालको बसाई, उनको दैनिकी, संस्कार र उनका सोच, हाम्रो प्रेम विवाह, साहित्यमा उनको पुनरागमन, हाम्रो दाम्पत्य जीवन, पहिलोपटक मन्थली जाँदा, ओम अस्पतालमा पैतिस दिन, मृत्युको छाया र अन्तर्मनको यात्रा, उपचार र परिवारको सहयोग, मेरो कामको प्रेरणा र हौसला, सबैको प्रिय मान्छे, ममा आएको परिवर्तन, उनको अधुरो आशा, आँसुको अस्त्र, दोश्रोपटक फेरि रोग बल्झिएपछि, दशैमा जमरा उम्रिएन, छोरा छोरी र उनी, अन्तर्मनको यात्रा र मेरो प्रसंग, मनको कुरा भन्ने सकेनन्, उनको जन्मदिनमा मैले उनेको माला, विवाहको पच्चिस वर्षपछि आगरा, सुनसान चोभार, समाज सुधारक जगदीश, उनी विना मन्थली जाँदा, मन्थलीवासीको मनमा जगदीश, आस्थाको धरोहर आदि शिर्षकहरुमा रहेका यी लेखहरुका मालाले आफ्ना श्रीमान जगदीश घिमिरेलाई अर्पण गरेकी छिन् दुर्गा घिमिरेले । उनी आफै पनि विद्यार्थीकाल देखि नै राजनीतिक आस्था बोकेर हिडेकी र जेल जीवन पनि भोगिसकेकी आस्थावान कार्यकर्ता भएको र साहित्यमा पनि आफ्नो पदचाप बनाउँन सफल भएकी छिन् । जेलको सम्झना उनको चर्चित पुस्तक हो । महिला जागरण सम्बन्धी थुप्रै लेख, गीतहरु र बेचिएका चेलिहरुका मार्मिक कथाहरुका पुस्तक पनि उनले प्रकाशन गरेकी छिन् । कविताको पुस्तक पनि प्रकाशनको तयारीमा रहेको छ ।
जगदिश घिमिरे बिरामी भएपछि नजिकबाट मृत्युसँग साक्षात्कार गर्न पाए । त्यसलाई नजिकबाट हेर्ने उनै थिइन दुर्गा घिमिरे । आस्थाको धरोहर शिर्षकमा अगाडि लेख्छिन्ः–‘जगदीशलाई आफू मृत्युको मुखमा छु भन्ने कुरा राम्ररी थाह थियो । तर त्यो कुरा उनी देखाउदैनथे । उनी बरावर भन्ने गर्दथे–तिमीले सबै कुराको लागि तैयार हुनु पर्दछ ।’ आखिर त्यो दिन २०७० कार्तिक १४ गतेको बिहानै रहेछ, उहाँ दुर्गा घिमिरेमात्रको आस्थाको धरोहर नभएर साहित्य, समाज, राजनीतिक, किसान, दलित सबैको प्रिय रहेछन् । सबैका आस्थाको धरोहर रहेछन् । मैले त्यो अत्यासलाग्दो बिहानीमा यही कल्पना गरेको थिए । नेपाली समाजले भोगेका सकसपूर्ण जीवनको नालिबेली खोतलेर यही समाजलाई सुम्पिए सकस । र, आफू एक्लै महाप्रस्थानको यात्रामा लागे । सरल भाषामा लेखिएको यी संस्मरणहरुले जगदीशलाई सधैं जिवन्त बनाइ रहेको आभाष पाइन्छ । उहाँले भने जस्तै ‘अन्तमा सबैको समस्त जीवन समेटिएर त्यही धर्कामा टुङ्गिन्छ, । अमर भनिनेहरुको जीवनसमेत अन्ततः त्यही सानु धर्को हो भने सामान्य भनिनेका के कुरा ।’ जीवन रुपी त्यही धर्को मेटिए पनि उनले दिएका जीवनका गहनतम कुराहरुले बाँच्नेहरुलाई बाँच्ने कला सिकाई रहेको छ ।

प्रकाशित मिति : प्रकाशन मिति : शुक्रबार, 16 जेठ, 2071

लेखकका अन्य रचनाहरु