म्यापल भ्याली

- हरिहर खनाल

निकै पर क्षितिजरेखासित जोडिएको अग्र भागमा दृष्टिको दूरीले सिर्जना गरेको गुर्मैलो स्वरूपको सेतो हिमाल र त्यसको घाँचतिर देखिने कोणधारी जङ्गल, त्यसभन्दा वरका डाँडाकाँडा र खोलानालासहितको पहाडी भूदृश्य, विविध रङ्ग र कुचीका माध्यमले ती प्रत्येक चिजका आकृतिहरू क्रमशः क्यानभासमा उतार्दै जान्छ महेश । बिहान नियमित सामान्य कामका लागि एकछिन अलमलिएपछि सुरू हुन्छ उसको दैनिकी । रङ्गहरू र कुचीसित खेल्नु अब एक प्रकारको नशाजस्तै भएको छ उसका लागि । भित्र स्टुडियो छ उसको, बाह्र बाइ सोह्रको । भित्ताका चारै खण्डहरू भीमकाय क्यानभासजस्तै लाग्छन् । ती मूर्त, अर्धमूर्त र अमूर्त कलाका सङ्गम हुन् कि झैँ लाग्छ उसलाई । उसले तिनमा थरीथरीका आकृतिहरू कोरेको छ । झलक्क हेर्दा यस्तो लाग्छ, चित्र बनाउनकै लागि उसको जन्म भएको हो । उसको मनमा बेगबान रूपमा भावनाहरू आएको समयमा उभित्र एउटा भेल उर्लिरहेको महसुस गर्छ ऊ । त्यो भेललाई अभिव्यक्त गर्ने उसका माध्यम भनेकै रङ्ग र कुची हुन् ।
चित्रकारको एउटा सानो संसार छ त्यहाँ । थरीथरीका रङ्गहरू छन् कुचीहरू छन् र क्यानभासहरू छन्।् । स्टुडियोको भुईँमा म्यापल उडका ससाना टुक्राहरू जोडेर बिच्छ्याइएको छ । कोठाको दाहिने खण्डमा बाहिर तान्न र भित्र धकेल्न मिल्ने ड्रअरहरू भएको म्यापल उडबाट बनेको एउटा ठूलो काठको दराज छ । ड्रअरभित्र कुमारी धरतीजस्ता विविध आकार–प्रकारका क्यानभासहरू छन् । जब महेश त्यसका मनमा उर्लेका भावनाहरूलाई अभिव्यक्त गर्न स्टुडियोमा पस्छ, त्यति बेला ऊ खाली खुट्टा भित्र जान्छ । म्यापल उडको भुईँसित पैताला रगेड्नु एक प्रकारको आनन्दको सागरमा पौडी खेल्नुजस्तै लाग्छ उसलाई । भुईँमा त्यसका पैताला परेपछि उसमा एक प्रकारको मादकता उत्पन्न हुन्छ । क्यानभास अड्याउने विभिन्न आकारका त्रिखुट्टीहरू छन्, म्यापल उडका । हातमा ब्रस लिएर क्यानभासमा जोतिएपछि त्यसको आन्तरिक मनको कल्पनामा आएको चित्र त्यहाँ नउत्रेसम्म उसको मनले शान्ति पाउन सक्तैन । थरीथरीका आकार–प्रकारका ब्रसहरू छन्, तर उसलाई सबभन्दा धेरै मन पर्ने ब्रस भने म्यापल उडबाटै बनेका हुन् ।
रङ्गहरूका विविध प्रकारका बट्टा छन्, तर ती सबैलाई म्यापल उडको एउटा ट्रेमा नराखी उसको चित्त बुझ्दैन । रङ्गहरूसित खेल्दै जाँदा म्यापल ट्रेका बिटमा पोतिएको रङ्गले त्यसको स्वरूपलाई अलिकति भत्काएको छ । थोरै लत्पत्याएको छ । तर जब ऊ म्यापल उडका ब्रसले रङ्गहरू खेलाउन थाल्छ, उसलाई त्यसमा अपार आनन्द आउँछ ।
सामान्य मानिसको जीवनभन्दा विलकुलै पृथक छ महेशको जीवन । उसको दैनिकी स्टुडियोबाट शुरु हुन्छ र स्टुडियोमा नै समाप्त हुन्छ । स्टुडियोमा बसेर ब्रस र रङ्गको संयोजनद्वारा मनमा उर्लेका आन्तरिक भावनाहरू अभिव्यक्त गर्ने काम उसका लागि शुरुमा आनन्ददायक लागेको भए पनि पछि गएर भने त्यसले नशाकै रूप लिन थाल्छ । प्रकृति, जीवजन्तु, ब्रह्माण्ड, आदि सबैका आकृतिहरूले त्यसका मनमा पहिले आकार लिन्छन् । त्यसपछि भने तिनीहरूलाई क्यानभासमा कति बेला उतारूँ भन्ने किसिमको हुटहुटी पैदा हुन्छ उसका मनमा । जतिजति ऊ सिर्जनामा डुब्दै जान्छ त्यतित्यति मात्रामा धेरै तह भएको एउटा अनन्त गहिराइयुक्त सुरुङभित्र छिर्दै गएको आभास हुन्छ त्यसलाई जहाँ प्रत्येक तहमा निरन्तर प्रकाश प्रवाह गरिरहेका इन्द्रेनीहरूको गुम्बजाकार संसारको मादकता व्याप्त छ । सिर्जना सागरमा चुर्लुम्ब डुबेको महेशले पूर्वीय कलाका अतिरिक्त युरोपियन, अमेरिकन र इजिप्सियन कलाको समेत अध्ययन गरेको छ । पुनरुत्थान कालका लियोनार्दो दा भिन्ची, सोह्रौं शताब्दीका इटालीयन कलाकार राफेल, फ्रान्सेली कलाकार जाँ डेमिनिकन इग्रेस, अठारौं शताव्दीका रेम्ब्रान्ट, केथ कलविज तथा बीसौं शताव्दीको अन्त्य र एर्काईसौं शताव्दीको शुरुका एन्ड्रे ब्रेटन र उनका साथीहरूको मानव मनका आन्तरिक अव्यक्त भावनाहरू अभिव्यक्त गर्ने कला लगायत यथार्थादी कलाको समेत अध्ययन गरेको छ उसले । उसको एउटा विशिष्ठ पक्ष के छ भने ऊ जे विषयको अध्यन गर्छ त्यसलाई उसको कलामा उतार्ने उसमा एक प्रकारको भोक जागृत हुन्छ । त्यसको मनको क्यानभासमा उत्रेका चित्रलाई यथार्थ क्यानभासमा नउतारेसम्म उसमा एक प्रकारको छट्पटी पैदा हुन्छ । उतारिसकेपछि भने त्यसको भोकप्यास सबै हराउँछ र ऊ खाली क्यानभासमा म्यापल उडका होल्डरमा रहेका ब्रस र कुचीका माध्यमले थरीथरीका रङ्गहरू खेलाउन थाल्छ ।
धेरै दिनको अनवरत प्रयत्नपछि महेशले एउटा पूर्णचित्र तयार गर्छ । क्षितिजरेखासँगै जोडिएको नीलो आकाश र त्योभन्दा वरको हिमाच्छादित सेतो पहाड जसलाई गहिरिएर हेर्दा नाना प्रकारका अमूर्त चित्रका आकृतिहरू अनुभव गर्न सकिन्छ । एउटी नव यौवनाको स्निग्ध स्वेत केशपाशजस्तो देखिने त्यसको फैलिएको भागबाट पग्लँदै गएर खोँचको बाटो तल झर्दै गरेका ससाना हिमनदीहरू, अनि त्यसभन्दा वरको कोणधारी जङ्गल, त्यसभन्दा अझै वरको उपत्यका र त्यसको काखमा रहेको एउटा सानो गाउँँ । माथि पाखातिर रातो माटो र सेतो कमेरो लगाएका दुईपाखे घरहरू, तल खेतबारी । खेतबारीमा किसानहरू काम गरिरहेका छन् । अलिकति परतिर चउरमा गाइबस्तुहरू चरिरहेका छन् । एउटा शान्त तलाउ किनारमा रहेको पिपलको बोटमुनिको चौतारोजस्तो, बुध्दको तपस्याभूमिजस्तो एउटा अनुपम दृश्य छ त्यो । महेश अक्सर उसको स्टुडियोको रङ्गभूमिमा उसको कल्पनालोकको चित्र उतार्नमा व्यग्रतापूर्वक लागिरहन्छ र उसको त्यो एकाग्रताको साँछी आँफू मात्रै भएझैं लाग्छ उमालाई । एउटा अर्कै दुनियाँ छ तिनीहरूको ।

प्रकृतिको स्वभाव पनि विचित्र छ । बुझिनसक्नु । वसन्त ऋतुको आगमन सँगै धरतीको आँत फुटेर पलाएका पालुवाले त्यसलाई हराभरा बनाउँछन् र त्यसमा ज्यान भर्छन् । त्यसरी नै मानिसको जीवनमा पनि समयको एउटा निश्चित बिन्दुमा पुगेर यौवनको पूmल फक्रँदोरहेछ । जोवनको थुम्कोतिर नित्य निरन्तर उक्लँदै गरेका यी दुई प्राणीलाई पनि विगत केही समय यता आपूmदेखि आफैलाई लाज लाग्न थालेको छ । तिनीहरूको शरीरभित्र मौलाउँदै गएको कुर्कुरे बैँसले ती दुवैलाई कुत्कुत्याउन थालेको छ, । तर पनि ती दुवैले आजसम्म आफ्नो कौमार्यको संरक्षण गर्ने अनुशासन भने कायम राखेकै छन् ।
महेशसित भेट हुने बित्तिकै त्यसलाई एकाएक तिनीहरूका बालवयका दिनहरूको स्मृतिले आएर बिस्तारै छोप्न थाल्छ ।
“बिहान उठ्ने बित्तिकै हिमाल देख्न पाइयोस्..” को झझल्को मेटाउने प्रकारको थियो तिनीहरूको गाउँ । हरेक दिन, घाम उदाउनुभन्दा पहिले पूर्वको क्षितिज किनारमा अबीर पोतेर डाँडाको कापबाट बाहिर निस्केको सूर्जे उत्तरको हिमराशिमा चिप्लेँटी खेल्दै तिनीहरूका धुरीमा पाइला टेक्न आइपुग्थ्यो । हिमालको गर्भबाट निस्केको नदी हिमचुलीको पाउ पखाल्दै हस्याङफस्याङ गर्दै तल झथ्र्यो र पहाडका कुनाकाप्चा छिचोल्दै अगाडि बढ्थ्यो । अनेक अप्ठ्यारा गल्छी र अँधेरा भूभाग पार गरेर कुइनेटोबाट दाहिने मोडिएपछि समतल भूभाग फेला पारेको त्यसले तिनीहरूको गाउँ अघिल्तिरबाट भने फाँटलाई दुई फ्याकमा चिरेर बिस्तारै बग्दथ्यो । उहिलेदेखिको त्यसको त्यो क्रम आजपर्यन्त कायम छ र अनन्त कालसम्म रहिरहने छ ।
नदीका दुवै किनारामा ठाउँठाउँमा साना ठूला फाँटहरू थिए, ती अझै छन् । बर्खाभरि बालीले लदाबदी फाँट हिउँद लागेपछि फुकार हुन्थे । धान थन्क्याइसकेपछि गाउँका गाईबस्तु चराउने चरनमा परिणत हुन्थे ती फाँट । पाका मान्छेदेखि किशोर वयका नानीबाबुहरू समेत गोठाला जान्थे । खेतका कान्लाकान्ली चाहारेर चरनमा गाइबस्तु रमाउन थालेपछि कोही वयस्कहरू एक अर्कालाई छेडछाड गरेर ठट्टा मार्दै मायाँ पिरतीका गफमा रमाउथे, कोही चौताराका छपनीमा बागचाल खेलेर आनन्द लिन्थे । साना केटाकेटीहरू भने कुनै मुसाका दुलाका धान निकाल्न गराका आली भत्काउन थाल्थे, कोही सिला खोज्न । महेश कहिलेकाहीँ उसका साथीहरूसित मिलेर उनीहरूसँगै खेल्थ्यो, कहिले भने त्यो लुसुक्क नदी किनारतिर लाग्थ्यो र बालुवामा एक्लै खेल्न थाल्थ्यो । भिजेको चिसो बालुवालाई सम्याएपछि त्यसमा छेस्काले कोरेर थरीथरीका बस्तुका अनेक प्रकारका आकृति बनाउन त्यसलाई खुब मजा लाग्थ्यो । एकान्तमा बसेर त्यसरी चित्र कोर्न थालेपछि त्यो सबै कुरा बिर्सन्थ्यो । उता फाँटमा खेल्दै गरेका साथीहरूका बीचमा महेशलाई नदेखेपछि उमा भित्रभित्रै त्यसै छट्पटाउन थाल्थी र आपूm पनि अरूले थाहा नपाउने गरी त्यहाँबाट लुसुक्क हिँड्थी । खेतको डिलमा पुगेर तल हेर्दा नदी किनारको बालुवामा छेस्काको कलमले चित्र बनाउन तल्लिन महेशलाई देखेपछि त्यसको मन भित्रभित्रै त्यसै पुलकित भएर आउँथ्यो । अनि त्यो बिरालाको चालमा पछाडितिरबाट विस्तारै जान्थी र दुवै हातले त्यसका आँखा च्याप्प समातेर अँठ्याउँथी । एक सुरमा चित्र बनाउन तल्लिन महेश झस्याङ्ग हुन्थ्यो र आफ्ना आँखा छोपिरहेका हातलाई बिस्तारै छाम्थ्यो । त्यसरी उसलाई कसले खोज्दै हिँड्छ भन्ने कुरा उसलाई थाहा थियो र त्यसको स्पर्सले पनि उसमा एक प्रकारको मादकता छाएको अनुभूति हुन्थ्यो त्यसलाई । तथापि उसले त्यो कुरा मनमै लुकाउँथ्यो र उसलाई हकाथ्र्यो– हेर है उमा, छिटो छोड, नत्र म तँलाई..। एउटा चेतावनीयुक्त स्वरपछि ऊ विस्तारै उसका हात पन्छाउँथ्यो । त्यसपछि ती दुई सजल नयनले एक अर्कालाई हेरेर मुस्कुराउँथे ।
हिउँदको समयमा फाँटका गल्छेडा र नदी किनारका घाँचमा राताम्मे भएर बँयर पाक्थे । ती मिलिजुली टिप्थे र खान्थे । महेश टारीखेतको डिलको अमाराको बोटमा झटारो हान्थ्यो । पाकेका अमारा दुवै मिली कोपर्थे । कहिलेकाहीँ बँेसीमाथिको जङ्गलतिर जाँदा महेश तिँजु टिप्थ्यो, उमा कटुस खोज्थी । खोल्साको सेपिलो भित्तामा उम्रेका पानीअमला ती बाँडिचुँडी खान्थे । शिवरात्री र फागु पूर्णिमामा ती सँगै जात्रा जान्थे, उल्लासमय वातावरणको आनन्द लिन्थे । जात्रामा पिपलमेट किन्थे र हाँस्दै खेल्दै रङ्गीचङगी बजारको यो छेउदेखि त्यो छेउसम्म पुगेर आनन्दविभोर हँुदै रमाउँथे ।
काँचो माटोका डल्लाजस्ता तिनीहरूको बाल वयका ती दिन भिन्दै प्रकारका थिए । तराईमा झरेपछि पनि तिनीहरूको मित्रतामा कुनै परिवर्तन आएन । पहाडमा झैँ नै वल्लो–पल्लो थियो त्यहाँ पनि नितीहरूको घर । तिनीहरूले सँगै एस्.एल्.सी. पास गरे एउटै स्कूलबाट । त्यसपछि तिनीहरू सँगै क्याम्पस जान थाले ।
एक पटक त समय पनि कस्तो आयो भने पढ्न थाल्यो भने पढ्न मन नलाग्ने, कुनै काममा लाग्यो भने पनि त्यसमा दिल नलाग्ने, जे गर्दा पनि, जता जाँदा पनि मनमा महेशकै अनुहार नाचिरहने । त्यसलाई एक प्रकारको बिमारले छोएजस्तो लाग्यो । घरमा फुर्सद हुने वित्तिकै त्यसलाई फल्लो घरतिर जाऊँजाऊँजस्तो लागेर आउँथ्यो र त्यो यसो मौका हेरेर फुत्त निस्किइहाल्थी र बिरालाको चालमा महेशको स्टुडियोमा पस्थी । उता महेशको मनस्थिति पनि त्यस्तै प्रकारको थियो । बाहिरतिर हेर्दा ऊ जति तन्मयतासाथ काममा लागिरहेको भए पनि त्यसको मनको एक कुनामा उमाको स्मृति सल्बलाइरहेको हुन्थ्यो । अनि हरेकजसो चित्रमा ऊ कुनै न कुनै रूपमा उमाकै परिचय झल्कने बिम्ब तयार गथ्र्यो । एकोहोरो किसिमले तन्मयतासाथ काममा लागिरहेको उसको ध्यान नखल्बलिने गरी लुसुक्क भित्र पसेकी उसले महेशको क्यानभासमा आफ्नै आकृति टाँसिएको देखेपछि त्यो भित्रभित्रै हर्षले गदगद हुन्थी र आफैँसित मुस्कुराउँथी । रङ्ग र ब्रससित क्यानभासमा खेलिरहेको महेश उसको आगमनले किञ्चित विशृङ्खलित हुन्थ्यो र त्यसका सजल नयन आगन्तुकको अनुहरतिर बिसाउँथ्यो । चार आँखा मिलेपछि फेरि तिनीहरूका अनुहार धरतीको गर्भबाट भर्खरै फुत्त बाहिर निस्केको प्रातःकालको सूर्यसरि पूर्ण आभाले भरिन्थे ।
तर स्थिति सधैँ एकनास नरहने रहेछ । आजकल किन किन उमालाई देख्यो कि महेशको मनमा एउटा हुन्डरी मडारिन थालेको छ । बयान गर्न समेत नसकिने एक प्रकारको मानसिकताले त्यो आफैँमा भित्रभित्रै निकै उद्धेलिन हुन थालेको छ ।
उमाका मनमा पनि तरह तरहका भावनाहरू नउम्रते होइनन्, तथापि त्यस्तो सोचाइ आएको समयमा उसले आफूलाई यत्नसाथ समालेर राखेकी छे । उसले त्यसका मनमा उठ्ने कुनै पनि किसिमका अप्रिय भावनाहरूलाई टाउको उठाउन दिएकी छैन आजसम्म । उसका दिनहरू यसअघि जसरी चलेका थिए त्यसरी नै धकेलिरहेकी छ उसले । ऊ पहिले जसरी नै महेशलाई भेट्छे, स्नेह साटासाट गर्छे र स्वभाविक वार्तालापपछि घरतिर फर्कन्छे । ऊ यथावत् रूपमा उसको स्टुडियोमा जाउआउ गरिरहन्छे । आज पनि त्यस्तै भयो । उसले त्यसै गरी ।
घुँगुरिएको कालो कपाल, च्युँडामा झुस्स बढेका दारी र सामान्य पहिरन, दुई दशकको उमेर पार गर्नैलागेको महेशको अनुहारमा एक प्रकारको चमक देखिन्छ । उता समवयकी उमा सामान्य परिधानमा पनि फक्रेको गुलाफको फुलजस्ती देखिन्छे ।
अगाडिको टेबुलमा मैनबत्तीको मधुरो प्रकाश छरिइरहेको छ र त्यही उज्यालाको सहारामा क्यानभासमा रङ्ग पोत्न तल्लिन महेश पछाडितिरबाट चपक्क समातेर छोपिएका त्यसका आँखामा एक्कासी पर्दा लागेपछि टक्क अडिन्छ र दाहिने हातको ब्रसलाई यथास्थितिमा राखेर देब्रे हात बिस्तारै माथितिर लगेर आँखा खोल्ने प्रयत्न गर्र्छ । कैयौँ पटक यस्तो स्थिति बेहोरिसकेको उसलाई यस्ता कृयाकलापमा एक प्रकारले भन्दा बानी नै परिसकेको छ ।
काममा तल्लिन भैरहेकै बेला उसले मनमनै अन्दाज लगाएको थियो हिँजो–अस्तिकै झैँ आज पनि उमा उसले थाहा नपाउने गरी कुन बेला लुसुक्क उसको स्टुडियोभित्र छिर्ने छ र तन्मयतापूर्वक काममा जोतिइरहेको महेशका आँखा आफ्ना कोमल हातका दुवै पञ्जाले अगिपछिकै झैँ चपक्क समातेर छोप्ने छ ।
नभन्दै त्यस्तै भयो । त्यसका सुकोमल हातको स्पर्सलाई आत्मसात गर्दै बिस्तारै त्यसले उसका हात हटाउने प्रयत्न ग¥यो र आगन्तुकतिर हे¥यो । उसले आगन्तुकका आँखामा आँखा अड्यायो । चार आँखा एक आपसमा मिले । तिनीहरूका अनुहारमा एक प्रकारको मादकता छायो । उमा अनुहारमा हल्का मुस्कान छरेर मुस्कुराउँदै उसको नजिकै पुगी । निकै नजिक टाँसिन पुगेकी उसको छातीको धडकन ऊ बाहिरैबाट महसुस गरिरहेको थियो र त्यसको तातो उच्छ्वासले उसलाई नजानिदो किसिमले पोलिरहेको थियो । हातको ब्रस पेन्टिङ टे«मा राखेर उसले त्यसका दुवै हात विस्तारै समात्यो र उसका आँखामा आँखा अड्याएर अनुहारमा मन्द मुस्कान छरेर मुसुक्क हाँस्यो ।
बाहिर साँझको क्षितिज किनार राताम्मे भएर त्यसको पहुँचले भेटेसम्म आकाशको क्यानभास रङ्गाइरहेको थियो । गाईबस्तुहरू चरनबाट फर्कँदै थिए र तिनीहरूका गलामा झुण्ड्याइएका घण्टहरूको आवाजले वरपरको वातावरण गुञ्जायमान पारिरहेको थियो । यता भित्र महेश र उमा उन्मादको भेलमा लपेटिएर एक अर्काका अनुहारमा हेरेर एक–आपसमा चुम्बनको बर्षा गर्दै प्रेमको अतल गहिराईमा पौडी खैल्दै आफैँभित्र हराइरहेका थिए । कुनै मैदानी भूभागबाट बेगवान गतिमा अगाडितिर दौडिइरहेको बेला एक्कासी इञ्जिन बन्द भएर बज्र समान एउटा स्थूल धक्कासहित रोकिन पुगेको रेलझैँ ती दुईको गति ठप्प भयो । बाहिरतिर कसैको पदचापले तीे खङ्रङग हुन पुगे । एक आपसमा समातिरहेका आफ्ना हातहरू चटक्क छोडेर ती दुवैले झ्याल बाहिर हेरे । देखे, महेशकी आमा परतिरबाट घरतिर आउँदै थिईन् । तिनीहरूका अनुहारमा एक्कासी परिवर्तन आयो । अपराध बोधले छोपिएका ती दुवै शव्दहीन हुन पुगे । ती दुवैको अनुहार सोहोरिएर पँहेलो भयो । उमा एक्कासी उठी र फरक्क पछाडि फर्केर तत्कालै बाहिर निस्किई । महेश कुची हातमा लिएर क्यानभासमा रङग पोत्न तल्लिन भएझैँ गर्नथाल्यो ।
अगिपछि पनि एक प्रकारको सामान्य पे्रमक्रिडा तिनीहरूबीच भैरहन्थ्यो, तर आजजस्तो उन्माद ती दुवैले त्यसअधि कहिल्यै अनुभव गरेका थिएनन् । आज के भएको हो कुन्नि ? तिनीहरूको त्यस्तो ब्यवहार संझेर ती दुवै आँफै अचम्ममा परेका थिए ।
उमा घर पुगेपछि ओछ्यानमा बसेर निकै बेरसम्म घोरिेइरही । अहिलेसम्म बचाएर राखेको त्यसको कुमारीत्व आज एकाएक भङ्ग हुन पुगेको थियो । त्यसलाई कताकता भित्रभित्रै त्यसै डर लागेर आयो । त्यसले ढोकाको चुकुल लगाई र सिरानीमा घुप्लुक्क घोप्टिएर बेस्कन रोई । एक्लै बसेर निकै बेर रोइसकेपछि त्यसले आफैँलाई संझउन खोजी । एउटा गंभीर अपराध गरेको महसुस भयो त्यसलाई । धेरै बेरसम्म निःशव्द त्यो त्यत्तिकै ओछ्यानमा पल्टिइरही । खाना खाने बेलामा आमाले बोलाएपछि मात्र त्यो मनमा उर्लिरहेको भूमरीलाई दवाएर उठी र भान्छातिर लागी ।

तर कुरो त्यतिमा मात्रै सकिएन । त्यस दिनको त्यो दुर्घटनापछि महेशको मानसिकतामा आएकको परिवर्तन देखेर उमा एकदमै त्रसित हुन पुगेकी थिई । उसलाई लाग्यो, महेश पहिलेजस्तो हार्दिक पटक्कै थिएन । वर्षौदेखि सँगै खाइखेलेको उसको प्रियजन आजभोलि किन हो कुन्नि विल्कुलै अपरिचित, कुनै नौलो मान्छेजस्तो लाग्न थालेको छ उसलाई ।
क्याम्पस छुटेपछि अगिपछिजस्तै आज पनि साथीहरूसित बिदा भएर उमा घरको बाटो लागी । केही पर पुगेपछि देखी, चौताराको डिलमा महेश उसैलाई पर्खेर बसेको रहेछ । भेट भएपछि केही समयसम्म ती दुवै सँगै निःशव्द हिँडे, हिँडिरहे । मन्दिरको नजिकै पुग्नलाग्दा महेशले मुख खोल्यो ः
“मलाई माफ गर उमा । तर म तिमीबिना बाँच्न सक्तिन । तिमी मेरो प्राण हौ ।” उमाले सुनी मात्र केही बोलिन ।
“मेरो विश्वास गर उमा ! म तिमीलाई बितरा पार्दिन ।” महेशले उसलाई आस्वस्त पार्ने प्रयत्न ग¥यो ।
“तर तिमी एउटा उपाध्ये बाहुनको छोरो, पण्डित पुत्र । म ठकुरीकी छोरी । तिमीलाई यो पनि थाहा छ नि ।” हिँड्दा हिँड्दै बाटामा टक्क रोकिएर महेशको मुख ताक्दै उमाले भनी ।
“मेरो बुबाको पण्डित्याई उहाँसितै रहोस् उमा ! मैले त्यसलाई पच्छ्याइरहनु पर्छ भन्ने कुनै कारण छैन । उहाँहरूको जमाना र हाम्रो समय एकै ठाउँमा उभिइरहनु पर्ने हुँदैन । सक्तैन पनि ।” एउटा क्रान्तिकारीले भाषण गरेको शैलीमा महेश बोल्यो ।
समयको प्रवाहसँगै दिनहरू क्रमशः बित्दैगए । उमाको हृदयमा लागेको घाउ पनि बिस्तारै पुरिँदै गयो । तिनीहरू फेरि सामान्य अवस्थामा आइपुगे । परिस्थितिमा भने अलिकति फरक पन देखिन थाल्यो । त्यसपछिका दिनहरूमा तिनीहरू बेलाबेलामा सँगै सहर बजार चाहार्न थाले । कहिलेकाहीँ त रात–बिरात उतै हराउन थाले । तिनीहरूका त्यस प्रकारका कृयाकलापको नतिजा तिनीहरू गाउँको चार्चाका विषय हुन थाले । कसरी र किन हो कुन्नि ? त्यसपछि उमाले आपूmलाई संपूर्ण रूपमा महेशमा समर्पण गरी । तिनीहरूको त्यस्तो ब्यवहार देखेर महेशका बाबुआमा सबभन्दा बढी सकसमा परे । गाउँको पण्डितको छोराको त्यो हविगत उनीहरूका लागि स्वीकार्य थिएन । पहिले एउटै आँत भएका उहिल्यैदेखिका वोल्लोपल्लो घरका छिमेकी अब पानी बाराबारको स्थितिमा पुगे । उता गाउँका चिया पसलहरू र चोकचोकमा ती दुईको प्रेम–प्रशङ्ग चर्चाको विषय बनेको थियो ।
आफ्नी कन्या छोरीका विषयमा चलेका त्यस प्रकारका हल्लाले उमाका माता पिताको मुटु छियाछिया पा¥यो । तिनीहरूले समाज राखे । गाउँमा कचहरी भयो । केटा केटी दुवैले स्वेच्छाले सँगै जीवन बिताउने कुरा बताए ।
“म मरीगए पनि यसलाई मेरो घरभित्र पस्न दिन्न । हाम्रो नाक काटेर जिउँदै मार्न पाइन्छ हामीलाई ?” पण्डित कड्किए । पण्डित्नीले त्यै भाकामा उनको स्वरमा स्वर मिलाइन् ।
अर्काकी कन्ने छोरीलाई बिगारेपछि न ततेरेर तेसै सुख्ख पाइन्छ ?” केटी पक्षका मानिसहरू पनि कुर्लिए । धेरै चर्काचर्की भयो । तर कुरो टुङ्गिएन । पश्चिमी क्षितिज किनाराबाट तलतिर लुक्न थालेको घामका पाइलाहरूलाई स्ट्राटा बादलका धर्साहरूले छोपिदिए । । कचहरी फेरि अर्को दिन बस्ने गरेर स्थगित भयो । त्यसपछि सबै आ–आफ्ना घरतिर लागे ।

गरुङ्गो टाउको लिएर ओच्छ्यानको डिलमा बसेर झोक्राइरहेकी उमाको ध्यान मोबाइलको हल्का भाइब्रेसनले खल्बल्याइदियो । त्यसले म्यासेजको इनबक्समा हेरी । देखी, महेशको रहेछ । चोकमा बोलाएको । त्यो यन्त्रवत घरबाट निस्किई र त्यतै लागी । चोकमा महेश उसको सुपर स्प्लेन्डरमा स्टार्टमा नै रहेछ । उसले सङ्केत गरेपछि उमा घोडा चढ्ने शैलीमा त्यसको पछाडि थचक्क बसी र एउटा हातले उसको काँधमा समाती । उसको अर्को हात महेशको देब्रे तिघ्रामा अडिएको थियो । महेशले गियर बदलेर स्पिड लियो र क्रमशः त्यो बेगबान गतिमा उत्तरतर्फ हानियो ।
“कहाँ जाँदै छौँ हामी महेश ?” उसको कानैनेर मुख जोतेर उमाले सोधी ।
“म्यापल भ्याली ।” महेशले सहज भावमा उत्तर दियो ।

बजारलाई दुई फ्याकमा चिरेर उत्तर–दक्षिण दौडेको राजमार्ग भन्न सुहाउने किसिमको फराकिलो पिच सडक । दायाँ–बायाँ फैलिएको घाँटुका बुट्यानले भरिएको बाँझो चौरलाई चिरेर त्यसको सिरानबाट केही माथि पुगेपछि दश मिनेटको दूरीमा एउटा चौबाटो भेटिन्छ । तीनतिर पिच छ, तर देब्रेतिरको धुले सडक भने दुवै काँधमा झाडीका झ्याङहरू बोकेर बेतोडले नदी किनारातिर हानिन्छ । दायाँ बायाँ र अगाडि सबैतिर सालघारी छ । जङ्गलको बीचोबीचबाट पश्चिमतिर हुत्तिदै गएर हँसिया आकारमा उत्तरतर्फ मोहिएको सडक नदीको किनारैकिनार निकै पर पुगेपछि एउटा ढिकजस्तो ठाउँबाट दुई चिरामा बाँडिन्छ । गेगर माटोले भरिएको एउटा खण्ड तर्पायँ ओरालो झर्दै बगरतिर सोझिन्छ, अर्कोचाहिँ लगातार अगाडि बड्दै पुलको मुखमा पुगेर बिश्राम लिन्छ । त्यही जङ्गल बीचको नदी किनारमाथि बाटो किनारमा फराकिलो आयतनमा फैलिएको समथर जमिनमा पोखरीको डिलमा चारोको खोजीमा ढुकिरहेका सेता बकुल्लाका बथानजस्ता केही घरहरू देखिन्छन् । पुलको मुखैमा देब्रेतिर बाटाको किनारमा बर–पिपलसहितको एउटा चौतारी छ, त्यसको पछाडिपट्टि देखिन्छन् घरका लहरहरू । त्यही बिन्दुबाट शुरु हुन्छ म्यापल भ्याली । एउटा विशाल समथर फाँट ।
पश्चिम क्षितिज किनारातिर ढल्कँदै गएको घाम दिनभरिको थकाइले लखतरान परेको एउटा शिथिल बृद्ध पथिकझैँ त्यसका मलिन किरणहरू धरतीमाथि टेकाएर घरि बिस्तारै बादलको घुम्टोमा लुक्तै र घरि लुकामारी खेल्न कर्सापछाडि पुगेका बालबालिका घुमेर फेरि आँगनमा निस्केझैँ आकाश किनारामा फैलिएको पातलो बादलको पर्दालाई पन्छाएर बाहिर निस्कन्छ । गोधुली साँझको प्रवेशद्वारजस्तो लाग्ने समयको त्यही क्षणमा चौतारो नजिकै पुगेपछि महेशले उसको बाइक रोक्यो । उसले शङ्केत गरेपछि उमा झरी । महेश पनि तल ओर्लियो । त्यसपछि उसले उमाको हात समात्यो ।
सुस्त गतिमा गन्तव्यमार्गतिर लम्किइरहेका उसका पाइला अनायास रोकिन पुगे । किन्चित शङ्कोचबस उसले महेशको मुहारतिर हेरी । देब्रे कन्पारोतिरबाट सिउँदो काडेर कोरेको गाढा कालो कपाल त्यसको टुप्पामा बटारिएर घुमुर्किएको थियो । अनुहारभरि मृदु मुस्कार छरेर उसका आँखामा आँखा अड्याउँदै त्यसले सोध्यो– “थाक्यौ प्रिये !” प्रत्युत्तरमा उसले पनि शुक्लपक्षको पूर्णचन्द्रजस्तो तेजोमय आभाले भरिपूर्ण त्यसको अनुहामा मन्द मुस्कानको लालिमा छरेर उसको अनुहारतिर हेरी । त्यसको मनमा अचानक एउटा अनुत्तरित प्रश्न आएर अड्कियो ।
जिन्दगीको निकै लामो कालखण्डसम्म सँगै खाई खेलेर हुर्के–बढेका तिनीहरू एक अर्काका नङ–मासुजस्ता थिए । उमाले यसो हेरी, तर कस्तो अचम्म ! वर्षौदेखि सँगै खाइखेलेको महेश आज एकाएक कुनै अपरिचित नौलो मान्छेजस्तो लाग्यो उसलाई । मनमा त्यस्तो भाव आए तापनि त्यसले त्यो व्यक्त गरिन । केवल मुस्कुराई मात्र ।
“यही हो म्यापल भ्याली ! अबको हाम्रो नयाँ संसार । अबदेखि हामी यहीँको प्रकृति, यहीँको माटो र पानीसित घुलमिल भएर हाम्रो जीवनको क्यानभासमा रङ्ग पोत्ने छौँ प्रिये ! यही क्यानभासमा हाम्रो सुन्दर सिर्जना रोप्ने छौँ ।”
महेशका कवितात्मक कुरा सुनेर त्यसको मन त्यसैत्यसै फुरुङ्ग प¥यो । त्यसले सम्झी, उसको सपनाको राजकुमारजस्तो लाग्ने महेश सानैदेखि त्यस्ता तिलस्मी प्रकारका पाल्सी कुरा गर्न खपिस थियो । पहिलेदेखि नै कम बोल्ने ऊ बोलेपछि पालिस लगाएर बोल्थ्यो र उमा त्यसको बोली सुनेपछि किन हो कुन्नि चुम्बकको वरिपरि छरिएको फलामका कणझैँ त्यसै उतिर तानिन्थी । त्यसलाई लाग्यो, घनघोर आँधीमा फसेको तिनीहरूको जीवनरूपी जहाजलाई दन्त्यकथाको राजकुमारले झँै उसको सपनाको मायावी पुरुष महेशले किनारा लगाएको छ । उसले उतिर फर्कने हजार व्यभिचारी नजरहरूबाट उसलाई बचाउने छ । जातिवादका रुढीग्रस्त प्रहारहरूबाट उसलाई पन्छाउने छ ।
बेलुकी ओच्छ्यानमा पल्टेपछि पनि त्यसका मनमा तरह तरहका तर्कना चलिरहे । महेश नीलकण्ठ मुद्रामा सँगै खाटमा पल्टिइरहेको थियो । देब्रे कोल्टो परेर महेशको छातीमा दाहिने हात राखिरहेकी त्यसले त्यसको जन्मथलो, गाउँ, बाबुआमा, इष्टमित्र, साथीभाइ, गाउँ–समाज र त्यहाँ हुने गरेका थरी–थरीका टिका–टिप्पणी, नाटीकुटी आदि संझिन पुगी । यसरी, नयाँ सन्सार सिर्जनाको प्रवेशद्वारमा उभिएर त्यसले मनमा नानाभातिका कुरा खेलाई । रात जतिजति छिप्पिँदै गयो, त्यतित्यति त्यो बिस्मृतिको गर्तमा डुब्दै जानथाली । अब त्यसले नजिकैबाट स्वाँ.. गर्दै बगिरहेको नदीको निरव स्वर बाहेक कुनै कुरा पनि सुन्न छाडी । एकैछिनपछि त्यो भुसुक्कै निदाई ।
भोलिपल्ट बिहान धरतीमा मिर्मिरे उज्यालो खस्ता नखस्तै त्यो बिउँझी । हेरी, महेश ओछ्यानमा थिएन । सुचीनिचीतिर लाग्यो होला ऊ । त्यसले यस्तै ठानी । उठी । बाहिर निस्केर हेरी । देखी, तल निर्मल नदीमा कञ्चन पानी मन्द गतिमा बगिरहेको थियो । त्यो त्यतै लागी र उन्मुक्त भावमा चिसो पानीले स्नान गरी । शरीर चङ्गा भएको महसुस भयो । घरतिर फर्कदै गर्दा देखी, नदी किनारामा सिँदुरे रङगका त्रिकोणात्मक पातले ढाकिएका म्यापलका रुखहरू हावाको हल्का स्पर्ससँगै शान्त मुद्रामा हल्लिइरहेका छन् ।
घर आई । घर रित्तै थियो । महेश अझै आईपुगेको थिएन । यताउता हेरी कतै देखिएन । काम विशेषले गयो होला कतै । यस्तै ठानी उसले र घरधन्दामा लागि ।
वातावरणमा विस्तारै चहलपहल बढ्न थाल्यो । घामका किरणहरू विस्तारै धरतीमा उज्यालो छर्दै फैलन थाले । हेर्दाहेर्दै भात खाने बेला भयो । तर महेश अझै आइपुगेन । उसले मोबाइल झिकी र महेशको नंबरमा डायल गरी । स्वीच अप्m रहेछ । अन्यमनस्क भावमा ऊ निकै बेरसम्म त्यसै टोलाएर बसिरही । केही समयपछि उमाले फेरि मोबाइल थिची । तर उताको स्वीच अझै अन् भएको थिएन । अप्m नै थियो । किंकर्तव्यविमूढ ऊ धरै बेरसम्म उसको बाटो हेर्दै टोलाएर बसी ।
दिन बित्यो, फेरि रात प¥यो । फेरि उज्यालो भयो र एवं रीतले कुमालेको चक्रझंै समयको प्रवाहमा दिनहरू एकपछि अर्को गर्दै चिप्लिँदै जानथाले ।
हरेक साँझ, बत्ती बालेपछि ऊ आईहाल्छ कि भन्ने आसमा उमा सडकतिर आँखा बिच्छ्याउँछे । महेशलाई कुरेर बसेकी ऊ, बस्दा बस्दा धेरै थकित हुन्छे । “मानवजातिको मस्तिस्कमा रोपिएको जातीय विभेदको यो बिष कुनै दिन निर्मुल होला कि सधै यत्तिकै रहला ?” उमाका मनमा बारम्बार यस्तै प्रश्नहरू उठ्छन् । उसको बाटो हेर्दाहेर्दै पट्टाएका आफ्ना आँखालाई बिश्राम दिँदै ऊ आफैँलाई संझउन खोज्छे ः “आफ्नो प्राणजस्तै संझेर मलाई त्यस्तो बिधि माया गर्ने महेश यो नौलो नयाँ ठाउँमा मलाई यसरी एक्लै छाडेर कहाँ गएको होला ?”
तर उसित त्यसको कुनै उत्तर थिएन । “मलाई एक्लै छाडेर सधैँ त कसरी बस्ला ऊ ?” भोलिको आशामा आफैलाई शान्त्वना दिँदै धैर्यको घोडा चढेर ऊ यसरी आफैँलाई संझाउँछे र फेरि भित्र पस्छे ।

तल नदीको पानी निरन्तर बगिरहेको छ र सँगै समय पनि युगको काँध चढेर लगातार चिप्लिइरहेको छ । हेर्दाहेर्दै उमाको अनुहारमा समेत समयको कोर्राले हानेका परिवर्तनका छापहरू प्रतिबिम्बित हुँदै जान्छन् । संघर्षको बलीवेदीमा हर क्षण आपूmलाई होमिरहेकी उमा एक्लै ध्यान मुद्रामा बसेको बेलामा कहिलेकाहीँ आफैँसित सोध्छे, “म्यापल भ्यालीको यो एकान्त स्थलमा मलाई असहाय छोडेर बेपत्ता भएको महेश अहिलेसम्म नफर्केको किन ? आफ्नो प्रश्नको कुनै उत्तर नपाएपछि फेरि पनि ऊ आफैसित सोध्छे,, “मेरो आस्थाको सतिसाल, मेरो प्रिय मान्छेले मलाई छलेर कसरी हिड्न सकेको ? उसले यसो गर्ला भन्ने त मैले सपनामा पनि सोचेकी थिइन । मेरो प्रेमी भनाउँदो त्यो पुरुष किन यति बिघ्न निठुरी भएको होला ? मलाई लिन ऊ कुनै दिन आउला कि त्यत्तिकै हराउला उतै ?”

प्रकाशित मिति : प्रकाशन मिति : शुक्रबार, 16 जेठ, 2071

लेखकका अन्य रचनाहरु