कृष्ण उपाध्यायको तेस्रो पुरुषको दृष्टिमा "प्रथम पुरुष"

- श्यामल

कृष्ण उपाध्याय । यो नाम नेपालमा थुप्रैको होला तर नेपाली कवितामा मैले उति सम्झेको नाम होइन । अहिलेका प्रखर मानवशास्त्री मेरा मित्र सुरेश ढकाल (पिएच्डी) ले मेरो र यस नामका बीच सेतुको काम गरिदिए । कृष्णको अद्भूत र समसामयिक काव्यधाराको दुनियाँबाट उछिट्टिएर गरेको जोखिमपूर्ण काव्ययात्राले मलाई लेखूँ वा नलेखूँका बीचको धर्मसङ्कटमा पारिदिएको छ । यसमा उनका केही आग्रह छन् ः यथा, ‘पाठकहरू, कविता विशिष्ट कला हो, अझैं कष्टपूर्वक भित्र पस्ने यत्न गर्नोस्, नबुझिने केही छैन, मेले धेरै लामो समयसम्म यसलाई अन्तस्करणदेखि नै बुझेर लेखेको छु, मैले जति कष्टपूर्वक लेखेको छु, उत्रि नै तपाई ं पनि कष्ट गर्नोस्, अवश्य पनि यहाँ दोहोराहटको आभास होला, तिनको पनि अर्थ खुल्दै जानेछ’ आदि । यी मन्त्रमय लाग्छन्, सूक्तिमय लाग्छन्, प्राचीन लाग्छन् । यिनमा प्रेमको आराधन छ, भाषा अध्यात्मपूर्ण छ ।

मेरो अखण्ड काव्य सागर
तिम्रो सान्निध्यताको तरेली र
काली, कोशी, गण्डक र यमुनाका
काव्य प्रवाहित नभए
मरुतल हुन्थ्यो
मात्र मरुतल ।

नदकिो प्रवाहलाई काव्य प्रवाहसंग तुलनीय ठान्दा रहेछन् उनी । हो, कृष्ण चेतनाको भित्री स्तरमा पुग्ने र पाठकलाई त्यही स्तरमा पु¥याउने उपक्रममा केही शब्दविशेषप्रति विशेष मोह राख्छन् । संस्कृतमय पदावलीको प्रचुर प्रयोग भएको छ यसमा । तर ठान्छन्, नेपालीका जति भाषिक भेद छन्, समानता पनि छ, उत्तिकै यसको फैलावट पनि छ । त्यसैले आसाम, मेघालय र वर्मादेखि दुनियाँमा जहाँ जहाँ नेपाली बस्छन्, तिनको साझापन नेपाली भाषाका अनेकन रुपको प्रयोगमा प्रतिबिम्बित भइआएको छ । सायद यो संस्कृतनिष्ठता उनका लागि सबै नेपालीले व्यवहार गर्ने र बुझ्ने नेपालीनिष्ठता हो । वाह्य जगतका उहापोहबाट टाढा यिनीे मानिसको सुक्ष्म चैतन्यतर्फ जाने चेष्टा गर्छन् । पश्चिमी समाजको भयानक भौतिकताका बीच यी अध्यात्मको खोज गर्दैछन्, प्रेमको वहसमा उत्रिएका छन् र प्रकृतिको उदात्त कोखमा फर्कन लालायित भएका छन् । यिनमा गोलीले छियाछिया परेको अफगानिस्तानको मानिस उपस्थित छैन, अमेरिकी सेनाले ध्वस्त पारेको बग्दाद र बसराका गल्लीमा सुनिने आर्तनाद छैन न त भोकले सुकेका आन्द्रासहित मृत्युको कामना गरिरहेको अफ्रिकी बालक छैन । यिनमा छ त मानस र अङ्गनाको मानस यात्रा ।
अंगनाको अंगालोमा बाँधिएर
उसको वक्षस्थलमा अडेस लाग्दा
मानस आँखा चिम्लेर सौन्दर्य खोज्छ
आँखा चिम्लेर सौन्दर्य छाम्छ
सुगन्ध खोज्छ
अत्तरको वासना
अङ्गनाको वासना
अङ्गनाको अत्तरको वासना !
वासना अनुभूति न हो !

मानस र अङ्गनाको सहयात्रा प्रेमको यात्रा हो । प्रकृतिसंग तादात्म्य राख्तै उनीहरु यात्रामा निस्केका छन् । मधुमासमा निस्केका उनीहरू हिमालयबाट निस्केका नदीका सतत प्रवाहमा हेलिँदै गंगा र यमुनाको यात्रा गर्छन् । प्रेमको प्रतीक मानिएको ताजमहलमा पुगेपछि शाहजहाँ र मुमताज महलको प्रेममा विलीन हुन्छन् , उत्तरको यात्रा शुरु गर्छन् जहाँ एक तपस्वी सिद्ध पुरुष भन्न सकिने वृद्धबाट अनन्त यात्राको निर्देश लिन्छन् र तदनुरूप कठोर यात्रा जारी राख्तछन् । यात्रा कष्टकर हुन्छ, तर तमाम कष्टहरुका बीच उनीहरु नेपालको दाङ उपत्यकाको थारु संस्कृतिमा आइपुग्छन् ।

दाङ उपत्यकाको थारु संस्कृति प्रेम—उत्सवमय छ भन्ने कुरा तिनका वाद्य र नृत्यमा प्रकट हुन्छ । मानस नृत्यरत थारु अप्सराहरुको भीडमा मिसिएर मस्त हुन थालेपछि अंगनाको मनमा विक्षोभ उत्पन्न हुन्छ । यही त हो मानवीय कमजोरी ! तर तत्कालै ऊ त्यस उत्सवमा सामेल भएर मानससंग एकाकार हुन्छे । यही विलयनलाई मुख्य भूमिकामा राखिएको छ यस काव्यमा । यस काव्यको मोटामोटी अनुशीलनपछि लाग्छ, यसमा कथानक कस्सिएको भए, सम्प्रेषणको समस्या हुने थिएन । यसमा सम्वादको रचना भएको भए, जीवन्तता थपिने थियो । दृश्यहरू र यात्राका परिवेश जति व्यापक र विस्तीर्ण छन्, उत्तिकै चित्रात्मक भएको भए, यिनमा कलाको अद्भूत रूप उपस्थित हुने थियो ।

दोस्रो परिच्छेदमा, अंगनासंग मधुमास यात्रामा निस्केको मानस थकानपछि विश्राममा अंगनासंग आलिंगनबद्ध हुन्छ, समयक्रममा रतियात्रा पनि समाप्त हुन्छ । दुबै आलिंगनमुक्त हुन्छन् । मानसको मन अनायासै अगनाबाट समेत मुक्त हुन्छ र ऊ विचरण गर्दछ अन्यत्र । दुबै एकार्काका लागि अगम्य हुन्छन् । मानसतः दुबै एकल यात्रामा निस्कन्छन् । यात्रा विश्रामयोग्य भएपछि अंगना अट्टालिकामा पुग्छे र प्रेमप्रणयको खोज गर्छे, मानस मधुशालातर्फ लाग्छ र अंगनाजस्ता नितम्बहरुको खोज गर्छ । मानिसभित्रको यो स्व—अगम्यता र परगामिता, कृष्णको प्रस्तुतिमा, शाश्वत भाववृत्ति हो ।

सुभगा पुरुषका लागि कामिनी हो, हरेक कामपुरुषका लागि रति हो । प्रेम र प्रणयको यस काव्यमा मानस र अंगनाको यही आचरणको गाथा छ । तर त्यो यात्रा र यात्राको संघर्षमा एकाकार भएर आएको प्रतीत हुन्छ । यात्राक्रमका भोगाई प्रेमलाई जीवनको अजस्र सा्रेतका रुपमा अंगीकार गरिएको छ र नदीको प्रवाहलाई उर्जा । गतिशीलताको गाथा हो यो लामो कविता ।

जसलाई हाम्रो लोकले सात समुद्र पार ठानिआएको छ वा हाम्रो शास्त्रले म्लेच्छहरुको मुलुक मानिआएको छ काव्यकारले त्यस सुदूर प्रदेशको भिगेल्याण्ड पार्क यात्रालाई आफ्नो मातृभूमिको पर्यावरण दिने चेष्टा गरेका छन् । वस्तुतः यो पनि विदेशिएका नेपालीहरुको मानस यात्रा नै हो । थेम्समा वाग्मती देख्नु, इफेल टावरमा धरहरा देख्नु वा नियाग्रा फल्समा रुप्से छहरा भेट्नु, तत् तत् स्थानमा बस्ने नेपालीहरुका लागि अतीतप्रेम र मातृभूमिको प्रेम भन्न सकिएला परन्तु कृष्णले जसरी नेपालीलाई अन्तर्राष्ट्रिय भाषाको रुपमा पाएका छन्, उसैगरी नेपाली प्रकृति र पर्यावरणको वैश्वीकरण गर्ने चेष्टा गरेका छन् । जहाँनिर भिगेल्याण्डको यात्रामा निस्केको मानसलाई नागार्जुनको अनुभूति हुन्छ, पाठकले ठान्दछ,, यो अतीतदंश हो, स्वदेशमोह हो । तर, पूर्वीय दार्शनिक नागार्जुन पनि त उपस्थित हुन सक्छन् त्यहाँ । यो पक्ष स्पष्ट गर्ने कुँजी भने कविले पाठकलाई दिएको पाइन्न ।

मानस जमीनबाट उठेर उँचाईंको यात्रा थाल्दछ तर जतिसुकै उठे पनि उठिने र उभिने जमीन नै हो । त्यसै आधार विचारलाई मानसको उचाईंको यात्रामा बाँसको बिम्ब प्रयोग गरी जमीनतर्फ नुहेको देखाएका छन् कविले । एकप्रकारले यो जमीन प्रेम हो कविको, जमीनको चिस्यानको र शीतलताको प्रेम ।

आकाश छुने विद्युतीय वेगमा
ऊ बाँसका तामा जस्तै आकाश ताक्छ
बढ्दाबढ्दै
बढेको बाँस तल नुहियेजस्तै
मानस नुहिन्छ
मानस जमिन छुन्छ
चिसो जमिन !
शीतल जमिन !

प्रेम र प्रणयकै बीच, मानस यात्राको यस श्रृंखलामा मानसले नेपाली यौवनाहरु वा अशोकको आडमा अडिएकी केतकी मालती, माधवी र मल्लिकाका फक्रक्क फुलेका बैँसालु वन मात्र देखिरहेको छैन, संगसंगै नेपाली वस्तीका विसंगत यथार्थहरु पनि देखिरहेको छ । उसले खेत र खरबारी.........खरको एक कोठे घरमा बस्ने
अर्धनग्न तन.......पनि देखिरहेको छ र तीन सय तिर्न तीस वर्ष जोत्दा थाकेको मन अनि विभेदका बिरुवा झाँगिएर कलिला हात बेरिएको तथा आराध्यका आराधनामा पनि विभेदको बोट देखिरहेको छ । समकालीन यथार्थलाई झिनै रुपमा भए पनि मानसको मानस यात्रामा देखाउनु अर्थपूर्ण छ भन्ने मलाई लाग्छ । अझै पनि नेपालको एक ठूलो वर्ग आफ्नो आराधनाका लागि आराध्यकहाँ पुग्नबाट बञ्चित नै छ । पाठकलाई लाग्छ, यो नेपालको दलित समुदायतर्फ लक्ष्यित हुनुपर्छ जुन सीमान्तीकृत नेपालीको दुर्दान्त पीडाका रुपमा अझै हाम्रो मुलुकमा कलंकित रहँदै आएको छ ।

यी कविताहरुमा कृष्ण उपाध्याय मूलतः प्रकृति र नारी सौन्दर्यपूजक कविका रुपमा आएका छन् । उनका निम्ति विजयीको वीरता मात्र स्तुत्य हुन्न, सत्यको हारमा पनि वीरता पूज्य हुन्छ । त्यसैले अंग्रेजसंग हार्नुपरेका वीर बलभद्र उनको मानसमा अद्यापि वास गर्छन् । उनका निम्ति ट्रोजनहरुले खोसेर लगेकी हेलेन र रावणबाट हरण गरिएकी सीतामा समभाव छ । पश्चिममा सौन्दर्यशास्त्रमै कहलिएकी सुन्दरी क्लियोपेट्रा र आधुनिक पर्दामा देखिने मर्लिन मुनरोलाई सीता बनाउन सक्छन् उनी । कालो गोरोमा रंगको पार्थक्य बाहेक अरु केही पाउँदैनन् उनी । आजको कथित भूकण्डलीकृत पूँजीवादको जगजगीलाई उनी मानव सौन्दर्य उपासनाका माध्यमबाट विस्थापित गर्छन् । नेपालीको भावनात्मक विराटता उनको आराध्य हो । आफ्नो नितान्त निजी पहिचानका पक्षमा भन्छन् ः

ए आऊ न आऊ !
फुटबलका खेलहरुमा
क्रिकेटका मैदानहरुमा
तिमी आप्mनै झण्डा बोकेर आऊ
आप्mनै रङ बोकेर आऊ
आप्mनै गीत लिएर आऊ !
आऊ !
म तिमीलाई डाँफे दिन्छु
मुनाल दिन्छु
मात्र तिमी तिनीहरुसँग सँगसँगै नाच
म तिमीलाई नाच्न सिंगो हिमाल दिन्छु
तिमी नाच ।

समकालीन काव्य लेखनको मूल प्रवृत्तिबाट फरक रहेर विषय र काव्य भाषाको चयन गर्नु निश्चय नै जोखिमपूर्ण काम हो र उनले यस चुनौतिलाई सहर्ष स्वीकारेका छन् । उसै त गम्भीर कविताका पाठक आख्यानका पाठकझैं हुन्नन्, त्यसमा पनि कृष्णको आग्रहलाई बुझेर यस कृतिभित्र प्रवेश गर्ने कति होलान् र ! तर आफ्ना दार्शनिक आग्रहको आलोकमा मानिसको अन्तश्चेतनामा प्रवेश गर्ने र सौन्दर्यौपासना गर्ने यस प्रयासलाई स्वागत गर्नै पर्छ । यद्यपि यसको सम्प्रेषणीय क्षमताबारे कविले आफ्ना पाठकलाई आश्वस्त पार्नै पर्नेछ ।

प्रकाशित मिति : प्रकाशन मिति : वुधबार, 7 जेठ, 2071

लेखकका अन्य रचनाहरु