मेरो हिस्सा मेरो उमेर

- युवा बराल ‘अनन्त’

सबैले लगिगए
उनीहरुको हिस्सामा परेका
चोइटा चोइटा मेरो उमेर
अनि उपभोग गरिसकेपछि
पुनः मलाई नै फ़र्काइदिए
टुक्रा टुक्रा मेरो उमेर ।

छ साथमा ! के छैन ! यो जीवन !
छन् आफ़्नाहरु- छोरा नाति अनि
ती नाता-गोता शाखा सन्तानहरु !
र हो म धनी छु… एउटा यो लठ्ठीको
परिपूर्ण छु, समृद्ध छु, कुबेर छु
यो बूढो उमेरको…
फ़लतः म सबैबाट छि: छि: दुर-दुर छु ।
कैले फ़ोरियो मेरो त्यो पुरानो बाकस
अत्तो पत्तो भएन
न जिउनीको एक कान्ला भरोशा बेचिएको
सुईंको भो मलाई
यी हात-गोडाहरु जुर्मुराइ उठ्छन् त के
दुई पाइला चल्ने हुतिकार रहेन
उफ़! फ़त्फ़ताउनु, फ़गत फ़त्फ़ताउनु
यो बूढो जीवाईको अपूर्णता
यी कन्पनसरिको मध्यिम आवाज…
हाय! कसरी लादियो नि यो बोझ
आज सबै आफ़्नो भएर !

आउछन् जान्छन् अरु कै हाँसो खुशीहरु
मेरै छेउ लागेर…
मेरै हुन जस्ता रमाइला पलहरु
मेरा आफ़्नाहरुका अंघालोभरि झुम्छ्न्।
अनि म रमाउँछु
पूर्णिमाको जून सरि
चकमन्न एक्लै एकान्तमा ।
वसन्तका पाउलासरि
लहलाउँदो, कल्कलाउँदो
कस्तो रहर !
शायद चाहना र इच्छा उमंगहरु
उमेरको प्लास्टिकले
नछोपिंदोरहेछ कि कसो ।
कस्तो लालसा !
वचपनका लोलोपोतोको
जवानीको जोशको !
थाह नै नपाई
नाघिदिएछु… एउटा ठूलो फ़ांट्…
यौवनका ती रमाइला पलहरु !

एउटा अज्ञात आकर्षणले तानिरहन्छ
जीवनको प्रगाड़ लोभ लगिरहन्छ
कस्तो चाहना लामो आयुको ?
कस्तो लालसा यो पापि संसारको ?
फर्कौं त कुन बाटो जवानीतिर ?
फ़र्कनु कहाँ सक्छु र म विगतमा ?
आहा !
मीठो रसीलो कति छिटो स्खलित हुन्छ
छताछुल्ल भुईंभरि, अनुहारभरि, नशाभरि
कति चिसो रिक्तता यो जीवन
कस्तो अतृप्तिको आभाश!

घरका कुनाबाट निस्केर, मुसाहरु
मेरो छेउसम्म आएर फ़र्किजान्छ्न्
उड़दा उड़दै भुसुना र झिंगाहरु,
आँखाभित्रै पस्न खोज्छन ।
ती हितैशी छिमेकीका हँसिला अनुहारहरु
आजकल छेवैबाट नदेखि जाइदिनेगर्छन
परेवाका जोड़ीहरु के के पोल लाएझैं गर्छन
कुखुराका चिंगनाहरु नाना विलाप गरिरन्छन
एक्लै म वेवश बबुरो
यस्तै असामर्थ्यको अनुभव गरिरहन्छु
बुढ़ेस्कालको गह्रौं भारी बोकि
त्यो अज्ञात बिसौनी पर्खिरहेछु ।

सबैलाई बाँटिदिएछु सित्थैमा
मेरो हिस्साबाट केही उमेर
आज फ़र्काइदिए सबैले थोत्रो बनाई
मेरो जम्मै हिस्सा मेरो बूढो उमेर ।

प्रकाशित मिति : प्रकाशन मिति : बिहीबार, 1 जेठ, 2071

लेखकका अन्य रचनाहरु