सर्कस सर्कस

- हरिहर खनाल

सदाबहार राज्यका रूपमा परिचित वाशिङ्टनमा पनि स्कटल्याण्डमा जस्तै गृष्मऋतुभरि राति साडे नौ बजेसम्म पश्चिमको क्षितिज किनारमा डुब्न लागेको घाम आकाशमा देख्न सकिन्छ । केही समय अघिमात्र अफिसबाट फर्केको उसको छोरो किचेन–कम–ड्रइङ्रुममा टिभी हेरिरहेको थियो । नरेन्द्र भने बाहिर बरण्डामा फोल्डिङ कुर्चीमा बसेर झुम्पा लाहिरीको उपन्यास द नेमसेक हेरिरहेको थियो ।
प्रसुती बेथाले च्यापेपछि अमेरिकी अस्पतालमा भर्ना गरिएकी बङ्गाली नारी असीमा गङ्गुली र उनको पति अशोक पुत्रलाभपश्चात नवजात शिशुको नाम दर्ता गर्नुपर्ने त्यहा“को नियमअनुसार न्वारान हुनुभन्दा एघार दिन पहिले नै छोराको नाम राख्नुपर्ने वाध्यतामा परे । असीमा र अशोकलाई प¥यो फसाद । त्यति बेला अशोकका मनमा एउटा त्रासदीको याद आयो । पहिले बङ्गालमा नै हु“दा अशोक एक पटक रेलयात्रामा अचानक दुर्घटनामा परेको थियो । दुर्घटित रेलको भग्नावशेषबाट बाहिर निस्क“दा उसले आफू नजिकै छिरलिएको अवस्थामा एउटा पुस्तकका केही पाना भेटेको थियो । यात्रामा उसले रूसी कथासाहित्यको प्रस्थानबिन्दु मानिने निकोलाई गोगोलको कथा ओभरकोट पढिरहेको कुरा राम्ररी होस आएपछि उसलाई संझना भयो । अरू कैयांै मानिसहरू मरेका थिए, तर ऊ त्यो त्रासदीबाट उम्केर बा“चेको थियो । गोगोलको त्यही कथाले बचाएजस्तो लाग्यो उसलाई । उसले तत्कालको समस्या टार्नका लागि तिनै कालजयी स्रष्टाको सम्मानमा आºनो नवजात शिशुको नाम ‘गोगोल’ राख्ने निधो ग¥यो ।
नरेन्द्र पुस्तकमा यही प्रशङ्ग पढ्दै थियो, भित्र फोनको घण्टी बज्यो । उसको छोराले फोन उठायो । नरेन्द्रकी भाञ्जीको रहेछ । लास भेगासबाट । दिदी–भाइको कुशलक्षेम चल्यो केही बेर । तिनीहरूको सङ्क्षिप्त वार्तापछि उसले नरेन्द्रलाई भित्र बोलायो ।
अप्रिलको पहिलो हप्ता बिरानो देशको त्यो धरती टेक्न पुगेको नरेन्द्र र उसकी जहान सुषमा विगत दुई महिनादेखि छोरा–बुहारीका पाहुना भएर बसिरहेका थिए । छोरा–बुहारी हप्तामा छ दिन अफिस जान्थे, ती दुई भने घरै बस्थे । तेस्रो विश्वका मानिसहरूका लागि पहु“च बाहिरको जस्तो लाग्ने कल्पनालोक अमेरिका पुगेका ती दम्पति सुरुका केही दिन प्रफुल्ल नै भए पनि पछि गएर भने दिनभरि घरभित्रै बसिरहनु पर्दा मनमनै अघोरै आत्तिन थालेका थिए । केही समयपछि नै अमेरिकी जीवनशैलीले विस्तारै तिनीहरूलाई पनि बशिभुत पार्दै लगेको थियो । बेलुकी अबेला सुत्यो अनि बिहान पनि अबेलै उठ्यो, केही समय बाहिरफेर घुमघाम ग¥यो, फक्र्यो, बस् । नुवाइ–धुवाइ । ब्रेकफाष्ट, टिभी, पुस्तक । कति हेर्नु टिभी पनि ? एकोहोरो कति घोटिनु पुस्तकमा पनि ? उही दैनन्दिनी । तिनीहरूका लागि जीन्दगी पनि वाक्क, दिक्क लाग्दो हुनथाल्यो । छोरा–बुहारीको छुट्टी भएको दिन तिनीहरू सँ“झपख मेलाबाट फर्केकी आमालाई देख्ता फुर्केका भुराजस्तै हुन्थे । वातावरण नै भिन्दै हुने, आवाद–गुल्जार र सजीव । कहिले कतै कहिले कतै घुमाउन लगिहाल्थे । त्यस्तो समयमा तिनीहरू पि“जडाबाट फुत्केका चरीसरि ठान्थे आपूmलाई ।
अमेरिका पुगेको भोलिपल्टै तिनीहरूले फोन गरेर आºनो आगमनको जानकारी गराएका थिए आºनी भाञ्जीलाई । त्यसपछि त प्रत्येक आईतबार कहिले यताबाट कहिले उताबाट निरन्तर फोन गर्ने प्रकृया सुरु भयो तिनीहरूको । कहिलेकाही“ त छुट्टीको दिन बाहेक पनि कुरा गर्थे तिनीहरू एक–आपसमा । विगत चार वर्षदेखि देख्न पाएका थिएनन् तिनीहरूले एक–अर्कालाई । ज्वाईको ग्रिनकार्ड भएपछि एस्.एल्.सी. गरेको छोरालाई समेत लिएर अमेरिका पुगेकी भान्जी निकै सरल र सोझी थिइन् । तिनीहरूका आºनै काखमा हुर्केकी भाञ्जी तिनीहरूका लागि खुवै प्रिय थिइन् । ‘आमा कि मामा’ भन्ने त उखानै छ । उनी पनि तिनीहरू भनेपछि भुतुक्कै हुन्थिन् । ज्वाईं अमेरिकातिर लागेपछि नाबालक छोराको पढाइ–लेखाइ र घर–व्यवहारका लागि कम्ति दुःख गरेकी थिइनन् उनले । सासु–ससुरा सहितको संयुक्त परिवार, निकै कष्ट झेल्नुपरेको थियो तिनले । समयले तिनलाई सङ्घर्षशील र स्वाभिमानी हुन सिकायो । तिनले एउटी कर्तव्यनिष्ठ बुहारी, सक्षम महिला र जिम्मेवार अभिभावकको भूमिका निभाइन्, घर–गृहस्थी चलाइन् र छोरालाई हुर्काइन्, पढाइन्, लेखाइन् । तिनको कार्य–कुशलता, तिनको सालिनता र तिनको हिम्मत देखेर तिनीहरू गर्वले प्रफुल्ल हुन्थे ।
“मामा, हजुरहरू यतातिर कहिले आउने ?” तिनीहरूसित हुने प्रत्येकजसो फोनवार्ताको अन्त्यतिर उनी हरेक पटक यस्तै प्रश्न सोध्थिन् ।
“हजुरहरू यता आएपछि यसो मेरो मिलाएर डि. सी., न्युयोर्कतिर पनि जाउ“ला घुम्न । हजुरहरूका लागि केही दिन कामबाट बिदा लिन मलाई कुनै अप्ठेरो छैन ।” भाञ्जीको बोलीमा लोली मिलाएर ज्वाई“ तिनीहरूप्रति सद्भाव व्यक्त गर्थे ।
“दिदी–भिनाजुले जे भने पनि अमेरिकामा काम नगरी कसैले पनि खान पाउ“दैन । तपाईंहरूलाई घुमाउनकै लागि भनेर कसले फुर्सद निकाल्न सक्छ त्यति धेरै दिन ?” हरेकजसो फोनवार्तापछि उतातिर जान हौसिएका बाउ–आमालाई छोराले पटक पटक यसै भनेर संझाउ“थ्यो । तर तिनीहरूको एकोहोरो जिद्धीका अगाडि उसको केही सिप चलेन । आखिर त्यै सा“झ उसले अनलाइन टिकट काट्यो र त्यसको कम्प्युटर प्रिन्ट बाउका हातमा थमाइदियो ।
०००
शोरलाइन नजिकैबाट सियाटल उत्तर–पश्चिमी किनाराको भूभाग चिर्दै भित्रतिर पसेको प्रशान्त महासागरको नीलो जलराशी धरातलका कुनाकाप्चातिर लुकामारी खेल्दै टकोमाको शिरमा पुगेपछि बल्ल थकाई मार्छ । वायुमार्ग हु“दै पहिलो पटक त्यहा“ ओर्लने मानिसहरू दिउ“सोको समयमा पुगेका छन् भने तिनीहरूको जेट पानी माथि नै त बस्न लागेको होइन भनेर मनमनै निकै आत्तिन्छन् । हरियो सल्लाघारी र म्यापलउडले घेरिएको टकोमा–सियाटल अन्तर्राष्ट्रिय हवाई मैदान समुद्रको नीलो पानीमा पैताला चोपेर उत्तर–दक्षिण लमतन्न सुतिरहेझैं भान पर्छ ।
लास भेगाससम्मको दुई टिकटको क्रमाङ्क सिलसिला एउटै भए पनि सिट लाइन भने अधि–पछि परेका हुनाले नरेन्द्रलाई असाध्यै दिक्क लाग्यो । बोर्डिङ्पास हातमा परिसकेपछि बिमान परिचारिकालाई भनेर उसले सुषमालाई पनि स“गै राख्ने प्रयत्न ग¥यो, तर उसको केही सिप लागेन । स“गै यात्रा गरिरहेका पति–पत्नीको त्यो मामुली प्रकारको असजिलो पनि मिलाइदिऊ“ भन्ने भावना नभएका अमेरिकीहरूको एकोहोरो पन देखेर उसको मनमा नाना तरहका तर्कना उठे । ती यात्रुहरूका लहरमा यदि कुनै नेपाली भएको भए त्यो कुरालाई उसले कति सहज किसिमले लि“दो हो भनेर ऊ भित्रभित्रै निकै उद्वेलित भयो । केही उपाय नलागेपछि अन्त्यमा ती दुई तल्लो र उपल्लो लहरमा आ–आºनो सिटमा बसे ।
अलाश्का एयरलाइन्सको तिनीहरूको जेट बिमान जमिन छोडेको पा“च मिनेटपछि टकोमाडोमलाई दाहिने पारेर क्यास्केड शृङ्खलाको आकाशमा फैलिएको बादलको सागरभित्र पस्यो । रुईका थुप्राजस्ता बादलका पहाडहरूलाई चिर्दै घरि भित्र पस्तै र घरि बाहिर निस्क“दै अगाडि बढेको तिनीहरूको बिमान वाशिङटन र ओरेगन राज्यका हरिया कोणधारी जङ्गल र ठूलठूला फाकटमाथिको आकाशमा हावामा कावा खा“दै लगातार दक्षिणतिर बढ्दै गयो र एक छिनपछि रकी पर्वतीय शृङखलामाथि उड्न थाल्यो ।
सिधै तलतिर ठाउ“ठाउ“मा हरियालीयुक्त जङ्गलले ढाकेको पहाड छ, कताकति पातलो आवादी, बाटोघाटो र घरहरू, ससाना तालतलैया देखिन्छन् । दाहिनेतिर सुदूर क्षितिज किनारासम्म फैलिएको जमिनको अधिकाङ्श भाग कुहिराको महासागरभित्र बिलाएको छ । उसले घडी हे¥यो, प्रस्थानबिन्दुबाट हि“डेको ठीक दुई घण्टा भएछ । ती दुवै वायुयानको झ्यालबाट बाहिरतिर हेर्छन्, देख्छन् तलका पहाडी भूभागको पश्चिमी भेकमा घामका ताता किरणहरू छरिएर उज्यालो भए पनि पूर्वी भेकमा भने ओझेल परिसकेको छ र ती विस्तारै गोधुली सा“झको पातलो पर्दामुनि लुक्ने तरखर गर्दैछन् ।
धरती र आकाशको सङ्गम बिन्दु क्षितिज किनारमा पुगेको एउटा थकित बटुवाजस्तो देखिने सूर्जे पनि हेर्दाहेर्दै त्यसका मलिन खुट्टालाई खोकिलामा लुकाएर तलतिर झ¥यो र सारा वातावरणभरि बिस्तारै अ“ध्यारो खस्यो । दिन र रातको दोसा“ध गोधुलीसा“झको त्यही पातलो पर्दालाई चिर्दै उडिरहेको बेगवान पित्रेल चरोजस्तो तिनीहरूको बिमान लगभग सवा दुई घण्टामा झण्डै साडे आठसय माइलको दूरी पार गरेर लास भेगासको आकाशमा प्रवेश ग¥यो । पहिले अलि पर र त्यसपछि क्रमशः वरवर आईरहेको भेगास सहर बिजुली बत्तीको प“हेलो प्रकाश यत्रतत्र छरेर अ“ध्यारो रातको पर्दा च्यातिरहेको थियो र त्यो माथि अकाशबाट हेर्दा सयपत्री पूmलले भरिएको यामानको सुनौलो ढकियाजस्तो देखियो । बिमानले उचाइका साथसाथै विस्तारै त्यसको गति पनि कम गर्दैगयो र चन्द्रागिरीमाथिको आकाशमार्गबाट गौचर हवाइअड्डातिर सोझिएको जेटझैं भेगासको पश्चिमी किनारातिरबाट म्याक्क्यारन इन्टरनेशनल एयरपोर्टको धावनमार्गतिर सोझियो ।
०००
जुन–जुलाईमा लास भेगासको गर्मी खपी नसक्नु हुन्छ । बिहान पा“च बज्दा नबज्दै त्यहा“को सर्वत्र जगतभरि उज्यालो फैलन्छ र पूर्वको क्षितिज किनाराबाट फुत्त बाहिर निस्केको सूर्जे तातो वाणजस्ता त्यसका किरणले यावत् चिजलाई घोच्न थाल्छ । हावा मन्द गतिमा सिर्सिर चलिरहेको छ, तैपनि चर्को उष्णताले सबैलाई भतभत पोलिरहेको छ ।
भोलिपल्ट सा“झपख नरेन्द्र र सुषमा अपार्टमेन्ट अगाडिको हरियो चौरमा सिया“लमा बसिरहेका थिए, भाञ्जी कामबाट फर्किइन् । तिनीहरूले अलि परैबाट देखे, उनीस“गै एउटी युवती पनि थिई । त्यो युवतीे कालो रङ्गको मर्सिडिज गाडी हा“किरहेकी थिई र भाञ्जी अगाडि नै, त्यसको दाहिनेतिरको सिटमा बसिरहेकी थिइन् । हेर्दाहेर्दै तिनीहरू नरेन्द्र र सुषमा नजिकै पुगे । अगाडिको पार्किङ्लटमा गाडी रोकेर तिनीहरू दुवै अनुहारमा हल्का मुस्कान छर्दै नरेन्द्रतिर आए ।
“मेरो मामा, माइजु ।” त्यो युवतीसित उनीहरूलाई चिनाएजस्तो गरेर भाञ्जीले भनिन् । उसले शिष्टतापूर्वक जुम्ला हात जोडेर पालैपालो तिनीहरूलाई नमस्ते गरी ।
“यिनी वन्दना हुन् । मस“गै काम गर्छिन् । तिनीहरूले त्यसको प्रत्युत्तर फर्काएपछि भाञ्जीले उसित तिनीहरूको परिचय गराइन् ।
“म नरेन्द्र थापा, नानीसित भेट ह“दा खुसी लाग्यो ।” उसले पनि औपचारिकता निभाउने शैलीमा भन्यो ।
“म सुषमा ।” उसले कुरो टुङ्ग्याएपछि नव–आगन्तुकको अनुहारतिर हेरेर हार्दिकतापूर्ण लवजमा उसकी पत्नीले भनी । त्यो युवती तिनीहरूको अनुहारतिर हेरर मुस्कुराई । केही बेरको भलाकुसारीपछि ती सबै भित्र पसे ।
केही दिनपछि एक सा“झ, तिनीहरू उसरी नै बाहिर हरियो लाउनमा रुखको सि“यालमा बसिरहेका थिए, वन्दना पहिलेझैं नै त्यसको कालो मर्सिडिज कार हा““केर उसकी भाञ्जीस“गै आइपुगी । गाडी पार्किङ्लटमा रोकेपछि ती दुवै तिनीहरूतिर गए । वन्दनाले पहिलेझैं नै जुम्ला हात जोडेर तिनीहरूलाई अभिवादन गरी ।
यस पटक भाञ्जी फ्रेस भएर निस्कनुभन्दा पहिले नै वन्दनाले तिनीहरूसित घुम्न जाने कि भनेर सोध्न भ्याइसकेकी थिई । दिनभरि घरभित्रै कोचिएर बसिरहनु परेको समयमा घुम्न जाने कुरा सुनेपछि तिनीहरू त्यसै पनि खुसी भए ।
“तिमीले लिएर जाउ न त । मलाई असाध्यै थकाई लागेको छ । म एकछिन आराम गर्छु ।” वन्दनाको कुरा सुनेपछि भाञ्जीले भनिन् । ऊ तिनीहरूलाई लिएर जान तयार भै ।
“तिम्रो आत्मीय व्यवहारले हामी त मुग्ध भयौ“ वन्दना ।” मूल सडकमा निस्किएपछि कुराकानीको मेसो झिक्ने सिलसिलामा नरेन्द्रले भन्यो ।
“मलाई पनि असाध्यै खुसी लाग्यो नानीलाई भेटेर ।” उसको कुरामा कुरा थप्दै सुषमाले भनी ।
“मलाई पनि अङ्कल–अन्टीसित भेट ह“ुदा आºनै बा–आमासित भेट भएजस्तो खुबै रमाइलो लाग्यो । त्यसले आºनो बोलीमा पहिलेभन्दा अझ धेरै आत्मीयता प्रदर्शन गर्दै भनी । त्यसको सम्बोधनले तिनीहरूलाई भावविभोर बनायो । नरेन्द्रले त्यसको अनुहारतिर हे¥यो । त्यो पनि निकै भावुक देखिई ।
“तर यहा“ त ‘वन्दना’ भनेर मलाई कसैले पनि चिन्दैनन् ।” एक माइलजति पूर्व हानिएर देब्रेतिर पहिलो एक्जिट लिएपछि पश्चिमतिरको बाटो समातेकी त्यसले गाडी भित्रको एकछिनसम्मको निश्तव्धतालाई चिर्दै, आºनो ध्यान स्टेरिङ्बाट कत्ति पनि यताउता नमोडिकन शालिन मुद्रामा भनी । त्यसको कुराले अलिकति अलमलमा परेको नरेन्द्रले निमेशभर त्यसको अनुहारतिर हे¥यो ।
“ए, त्यसो भए यहा“ तिमीलाई के भनेर चिन्दछन् त मानिसहरूले ?” आºनो दाहिनेतिर ड्राइभिङ् सिटमा बसेर गाडी हा“किरहेकी त्यस युवतीतिर हेर्दै उसले सोध्यो ।
“एली । हुन त मेरो नया“ नाम ‘एलिसा’ हो, तर मलाई माया“ गरेर बोलाउने सबै मानिसले ‘एली’ भन्छन् । सुरुमा मलाई केही असजिलो लागेको भए पनि पछि विस्तारै बानी पर्दै गयो । अहिले त मलाई मेरो यही नाम नै प्रिय लाग्छ ।”
“अनि तिम्रो त्यस्तो कर्णप्रिय नाम ‘वन्दना’ छाडेर तिमी कसरी ‘एलिसा’ हुन पग्यौ त ?” बाटो काट्नु पनि थियो, मनमा एक प्रकारको जिज्ञासा पनि उठिरहेको थियो । त्यसैलाई शान्त पार्न उसले सोध्यो । तर वन्दनाले एकछिनसम्म कुनै जवाफ दिइन । उसले उतिर हे¥यो, देख्यो, उसका हात स्टेरिङ्मा थिए, आ“खा अगाडिको व्यस्त सडकमा, तर त्यसको मन भने कहा“ पुगेको थियो कुन्नि ? त्यसको अनुहार र भावभङ्गिमामा पूरै परिवर्तन आएकोे महसुस ग¥यो उसले ।
“तिमीले मेरो प्रश्नको उत्तर दिन त बिसिर्यौ नि एली ।” त्यसको नया“ नामले सम्बोधन गर्दै उसले भन्यो ।
“म मेरो विगतलाई बिर्सन चाहन्छु अङ्कल ।” अनुहारलाई निकै गम्भीर बनाउ“दै भावपूर्ण शैलीमा उसले जवाफ दिई ।
“भेट हुन पाएको छैन कति धेरै नालीबेली सोध्नु परेको होला हजुरलाई पनि ।” ती दुईको वार्ता सुनेर चुपचाप बसिरहेकी सुषमाले अलिकति हस्तक्षेप गर्दै भनी । उसको हस्तक्षेपले रामवाणको काम ग¥यो । ऊ पनि हो त भनेझैं गरी चुप लाग्यो । तर एकैछिनपछि त्यसको घा“टी खसखस गर्न थाल्यो । तर के भन्ने भन्ने कुरामा त्यसका मनमा फेरि तर्कको भुमरी चल्यो । त्यै बेलामा एलिसाले गाडीलाई दाहिनेतिर मोडी र सडक किनार नजिकै रहेको ‘होटल एभरेष्ट इन्डियन कुजिन’ को पार्किङ्लटमा रोकी ।
बाहिरबाट हेर्दा सामान्य देखिने एक तले घरको मूलद्वारबाट भित्र पस्ने बित्तिकै तिनीहरूका अगाडि एउटा फराकिलो हल देखापर्छ । हलभरि ठाउ“ठाउ“मा डिनर टेबुलहरू सजाएर राखिएका छन् । मूलढोकाको दाहिनेतिर अर्ध– गोलाकार काउन्टर छ र त्यसभित्र एक नेपाली युवक बसिरहेको देखिन्छ । अरू दुई–तीनजना नेपालीहरू ग्राहकका आदेश पालन गर्न व्यस्त छन् । तिनीहरू काउन्टरको दाहिनेतिरको भित्तोस“गै जोडेर राखेको टेबुल वरपर बस्छन् ।
“नेपालबाट यता घुम्न आउनुभएको अङ्कल, अन्टी ।” तिनीहरूको टेबुल नजिकै आइपुगेको त्यो युवकलाई सम्बोधन गर्दै एलिसाले भनी ।
“उहा“ नवीन के.सी. ।” तिनीहरूतिर हेर्दै ह“सिलो मुहारमा जुम्लाहात जोडिरहेको त्यो युवकसित उसले तिनीहरूको परिचय गराई । त्यसपछि त्यस्तो भेटमा गरिने सामान्य भलाकुसारी चल्यो । त्यै बीचमा के खाने भन्ने प्रकारको सोधपुछ चल्यो । तिनीहरूले खासै केही खाने इच्छा नदेखाएपछि अन्त्यमा एलिसाले लसी अर्डर गरी ।
“अनि यो होटलको नामलाई ‘एभरेष्ट इन्डियन कुजिन’ भनेर किन भा“चभु“च पारेका होलान् यी मानिसले ?” आपूmहरू भर्खरै निस्केर आएको होटलको प्रशङ्ग जोड्दै नरेन्द्रले कुरा निकाल्यो ।
“यताका मानिसलाई हाम्रो देशको नामसम्म थाहा छैन । यी अमेरिकनहरू हामीलाई पनि इन्डियन नै ठान्दछन् । फेरि, अमेरिका ओर्लने नेपालीको संख्या पनि कमै छ । भारतीयहरू भने सन्सारका कुनाकुनामा छ्यापछ्यापती छन् । यहा“ पनि छन् । यो होटलका मुख्य ग्राहक पनि तिनै हुन् ।” एलिसाले लामै व्याख्या गरी ।
“अनि, एभरेष्ट त हाम्रो हो नि । व्यवसाय चलाउनु छ भन्दैमा आºनो पहिचानलाई अकार्को नामसित घोलेर बिकाउनु राम्रो कुरो हो र ?” ऊ पनि गम्भीर हु“दै गयो ।
“त्यसो गर्नु त निश्चय नै राम्रो होइन अङ्कल । यस विषयमा म अङ्कलको विचारसित सहमत छु । तर के गर्नु ? यी होटलका सञ्चालकहरूलाई पनि एक प्रकारको वाध्यता नै रहेछ । दुई वर्ष पहिले नेपालकी प्रख्यात समाज सुधारक अनुराधा कोइराला यहा“ आउ“दा यसरी नै त्यो होटेलमा पुग्नु भएको थियो । त्यति बेला संयोगबस हामी केही नेपाली त्यही“ थियौं । हामीलाई देखेर उहा“ निकै खुसी हुनुभयो । उहा“ले एक एक गरेर हामी सबैसित परिचय गर्नुभयो र हाम्रा दुःख–सुखका यावत् कुरा सोध्नुभयो । हामीलाई पनि उहा“सित भेट्न पाउ“दा आºनै आमालाई भेटेजस्तो लाग्यो । हामी औधी रमायौं । अन्त्यमा हामीसित बिदा भएर बाहिर निस्कन लाग्दा मूलद्वारको डिस्प्ले बोर्डमा जग्मगाउ“दो बिजुलीको प्रकाशमा दौडिरहेको त्यही “एभरेष्ट इन्डियन कुजिन” लेखिएको वाक्याङ्शमा आ“खा अड्याएर उहा“ टक्क रोकिनुभयो र अहिले अङ्कलले मलाई सोधेकै शैलीमा हामीसित यही प्रश्न सोध्नुभयो । “किन ‘एभरेष्ट इन्डियन कुजिन’ ? त्यसको सट्टा किन ‘एभरेष्ट नेपाली कुजिन’ नभनेको ?”
उहा“को प्रश्नको उत्तर दि“दै सञ्चालकले भनेका थिए, “यो हाम्रो वाध्यता हो दिज्यू । हामीलाई पनि हाम्रो जन्मभूमिको माया छ । तर के गर्नु, हाम्रो ब्यवसाय जेभन्दा चल्छ त्यही भन्न विवस छौं हामी ।”
एलीका कुरा सुनेर ऊ स्तव्ध भयो । सुषमा पनि एकदम गम्भीर भई । उसको मुखबाट धेरै बेरसम्म कुनै शव्द निस्केन ।
०००
सफा चौडा सडकहरू र मिलाएर राखिएका सलाईका बट्टाजस्ता टायलले छाएका घरहरू । सडकका दुवै किनारमा उष्णप्रदेशीय जलवायुमा पाइने रुख बिरुवा र वनस्पतिका पातला बोटहरू । लास भेगास भ्यालीको पश्चिमी किनारमा मूल सडक नजिकै, भित्रतिर रहेको सनातन धर्मसेवा मन्दिर । मन्दिर पसिरभरि जता हे¥यो त्यतै निकै राम्ररी चिरिच्या“ट्ट पारेर राखिएको सफा र सुन्दर परिदृश्य । बीचोबीच भागमा वर्गाकार बरन्डाबाट घुम्दै पूर्वको प्रवेशद्वारबाट भित्र पसेपछि एकैचोटि एउटा ठूलो हलमा पुगिन्छ । भुइर्“भरि रातो रङ्गको लचकदार कार्पेट बिछ्याइएको त्यो भीमकाय हलको पश्चिम खण्डमा अलिकति उठेको चौकाको पल्लो छेउको भित्ताभरि यो कुनादेखि त्यो कुनासम्म किसिम किसिमका पूर्ण कदका देव प्रतिमाहरू विभिन्न प्रकारका वस्त्र र आभूषणमा सजिएका छन् । लामो टुपी र सेतो धोती–कुर्ताको परिधानमा देखिएको पुजारी निधारमा चन्दन र गलामा सानो रुद्राक्षको माला भिरेर त्यसको परिचयलाई प्रगाढ बनाउने प्रयत्न गरिरहेझैं देखिन्छ ।
फोटोग्राफीको निकै शौकीन छ नरेन्द्र । यस प्रकारको त्यसको तन्मयता देखेर सुषमालाई भने कहिलेकाही“ त सारै दिक्क लाग्छ । जहा“ पुग्यो त्यही“को, जे नया“ देख्यो त्यसैको फोटो खिचिहाल्नु पर्ने । उसले त्यहा“ पनि त्यसै ग¥यो । एलिसालाई क्यामरा थमाएपछि मन्दिरको मुख्य भागलाई पृष्टभूमिमा पारेर उभिएकी सुषमास“गै उभिन पुग्यो ऊ । एलिसाले दाहिने हातको चोर औ“लो क्यामराको बटनमा राख्तै ‘चीज’ भनी । ती दुवै मुस्कुराए । त्यसले बिस्तारै क्यामराको बटन थिची । त्यसपछि त्यसले मन्दिर परिसरमा पस्तैगरेको एक जना मान्छेलाई क्यामरा थमाई र तिनीहरूको लहरमा गएर उभिई । ती तिनै जना क्यामराको लेन्सतिर हेरेर मुस्कुराए । क्यामरा फिर्ता लिइसकेपछि नरेन्द्रले रिप्ले गरेर भर्खरै खिचिएका सबै तस्बीर हे¥यो । सबैले हेरे ।
सूर्य अपरान्हको अन्त्यतिरको प“हेलो आकाशमार्गबाट विस्तारै पश्चिमको शिक्षिजरेखातिर लागिरहेको थियो । वातावरणभरि फैलिएको दिनभरको खपी नसक्नु गर्मी पनि बिस्तारै कम हु“दै जान थालेको थियो । मन्द गतिमा सिर्सिर चलेको हावाले मन्दिर परिसर र वरपरका बोट बिरुवाका पातहरू फिर्फिर हल्लिइरहेका थिए । त्यहा“को वातावरणभरि एक प्रकारको माधुर्य, एउटा भिन्नै प्रकारको शान्ति व्याप्त थियो । ती तिनै जना मन्दिर परिसरको उत्तर–पूर्वछेउको एकान्तस्थलमा रहेको प्रतीक्षालयको बेञ्चमा गएर बसे । त्यसपछि उसले एलिसाको अनुहारमा आ“खा अड्यायो । झट्ट हेर्दा त्यो एउटी सानी चुलबुले किशोरीजस्ती देखिन्थी । तर गहिरिएर हेर्दा भने त्यसको भित्री हृदयमा अनन्त पीडाको भारी थोपरिएझंै लाग्दथ्यो ।
”लास भेगासमा पहिलो पल्ट पाइला टेक्ता मलाई त आगाको भुङ्रोमा कुल्चेजस्तो लागेको थियो । अहिले भने बिस्तारै बानी पर्दै गयो, ठीकठीकै लाग्न थालेको छ ।” बातावरणलाई हल्का बनाउने विचारले एलिसाको अनुहारतिर हेर्दै उसले भन्यो ।
“जुन ठाउ“मा बस्यो त्यसैलाई राम्रो ठान्नु पर्दोरहेछ अङ्कल । सुरुसुरुमा हामीलाई पनि त्यस्तै लाग्थ्यो, तर पछि गएर त सबै स्वाभाविक लाग्न थाल्यो । अहिले त मलाई यै ठाउ“ रमाइलो लाग्छ ।” एलिसाले उसको समर्थन गरेको शैलीमा भनी ।
“त्यति राम्रो ‘वन्दना’ नाम छाडेर तिमी कसरी ‘एलिसा हुन पुग्यौ त नानी ?” उसका आ“खामा आ“खा अड्याएर सुषमाले सोधी ।
“खाटा बसिसकेको घाउको पाप्रा उक्काउनुको कुनै अर्थ छैन अन्टी । वास्तवमा म मेरो विगतलाई पूरै बिर्सन चाहन्छु ।” निकै गम्भीर भावभङ्गीमामा उसले उत्तर दिई । कुरा गर्दैजा“दा त्यो निकै भावुक भई । त्यसको गला एकाएक अवरुद्ध भएर आयो । विगतको उसको त्यो त्रासदीले भरिएको समयलाई संझनसम्म नखोज्ने त्यसलाई खै कुन्नि किन हो त्यसको बन्द जीवनका एक एक पाना फुकाएर तिनीहरूका अगाडि फुकाउन मन लाग्यो । त्यसले भन्न सुरु गरी ः
“चितवनको देहातमा थियो हाम्रो बस्ती । २०१६ सालमा रापतीदुन खुलेपछि पहाडबाट मधेस झर्ने मानिसहरूको लहरमा मिसिएर बुवा केटौले उमेरमा नै त्यता पुग्नुभएछ । म जान्ने हु“दासम्म नहरको दक्षिणतिर त्यसको डिलैमा थियो हाम्रो घर । पछि बुवाले देहातको बजारमा एउटा सानु दुकान सुरु गर्नुभो । रासन–पानी, नुन–तेल, खिचिरमिचिर जे चाहियो त्यै थियो हाम्रो पसलमा । एक किसिमको मनचिन्ते झोलीजस्तो थियो हाम्रो पसल । टोल–छिमेक र गाउ“घरका मासिहरू हाम्रा स्थायी ग्राहक थिए । बुवा असाध्यै दयालु स्वभावका हुनुहुन्थ्यो । खरखा“चो, गाह्रो–सा“गुरो, चाडबाड, बिहेबारी, मर्दापर्दा, जे गर्दा पनि मानिसहरू हामै्र पसलमा आइपुग्थे । बुवा बिना हिच्किचाहट तिनीहरूको गर्जो टारिदिनुहुन्थ्यो । गाउ“भरिको शितल छहारीजस्तै थियो हाम्रो घर । गाउ“का किसानदेखि जिल्लाका राजनीतक नेता र कार्यकर्ता सबैको साझा चौतारीजस्तोे । उता पूर्वतिर झापाबाट बिद्रोहको रा“को बलेपछि त्यसैबाट प्रभावित भएर वामपन्थी राजनीतितिर ढल्कनुभएको थियो बुवा । दिनभरि पसलको काममा व्यस्त भए पनि त्यसपछिको समयमा गाउ“घर, टोल छिमेक र जिल्ला अनि समग्र राजनीतिबारे साथीभाइसित कुराकानी र बहस गर्न निकै चाख मान्नुहुन्थ्यो बुवा । पछिपछि त हाम्रो घरमा नौला मानिसहरूको आवत–जावत अलि बाक्लो भएर गयो । पछि हामीले बुझ्यौं, बुवा बाहिर देख्ता एउटा सामान्य पसले भए पनि त्यस क्षेत्रको अगुवा राजनैतिक नेता नै भैसक्नु भएको रहेछ । पञ्चायत ढलेर त्यस्तै चार–पा“च वर्ष भएको थियो होला, देश जनयुद्धको भुमरीमा होमियो र हेर्दाहेर्दै परिस्थिति एकाएक फेरिएर गयो । विगतमा खुला रूपमा बहस हुने विषयमा पनि मानिसहरू साउतीको स्वरमा कुरा गर्न थाले । हामी पनि स्वभाविक रूपमा फेरि“दै गयौं ।” ध्यानमग्न मुद्रामा एलिसाका कुरा सुनिरहेका तिनीहरू भित्रभित्रै निकै जिज्ञासु हु“दै गैरहेका थिए । ऊ भने त्यसको विगत उधिनेर तिनीहरूका अगाडि राख्न तल्लिन थिई ।
“टोल–छिमेक र गाउ“घरको धुरीखा“बोजस्तै थियो हाम्रो घर । हाम्रो वरपर अरू पसल हु“दै नभएका भने होइनन् । तर मानिसहरू हामीकहा“ नै धुइरिन्थे । हामीले व्यापारमा एक प्रकारको विश्वास जितेका थियौं गाउ“लेको । सुरुका दिनमा बुवा एक जनाले चलाइरहेको पसलमा पछि गएर हामी परिवारका सबै सदस्यहरू व्यस्त रहन थाल्यौं । पछिपछि त कस्तो स्थिति आयो भने बुवाले पसलको काममा निकै कम ध्यान दिन थाल्नुभो र सामाजिक काममा क्रियाशील हुन थाल्नुभो । जनयुद्ध सुरु भएको दुई–तीन वर्षपछि त खेतीपाती लगायत पसलको संपूर्ण जिम्मा हाम्रै का“धमा आइप¥यो । बुवाका लागि घरको कामको विषेश महत्व थिएन । बेला मौकामा हामीसित गफ गर्दा बुवा देशको तत्कालीन अवस्थका विषयमा कुरा गर्नहुन्थ्यो र जनवादी क्रान्ति सफल भएपछि सबै चिज ठीक हुन्छ भन्नुहुन्थ्यो । कुरा गर्ने बेलामा मात्र नभएर बुवा अघिपछि पनि बढी भावुक हु“दै गएको अनुभूति गथ्र्यौं हामी । त्यै बीचमा एक पटक हामीले कल्पना नै नगरेको घटना घट्यो ।” ती दुवै उसका कुरा ध्यान पूर्वक सुनिरहेका थिए । धारा प्रवाहमा बोलिरहेकी एलिसा त्यत्तिकैमा लामो सास फेरेर टक्क अडिई । उसले देख्यो, त्यो पूर्वस्मृतिको गर्तमा हराउ“दै गैरहेकी थिई र त्यसको अनुहारमा विषादका अनन्त रेखा दौडिइरहेका थिए ।
“कस्तो घटना घट्यो, त्यो हामीलाई सुनाउ न एलिसा ।” एकोहोरिंदै गएको त्यसको मौन मुद्रालाई भङ्ग गर्दै नरेन्द्रले सोध्यो ।
त्यसपछि त्यसले भनी, “एक दिन पुलिसले अचानक हाम्रो घरमा छापा मा¥यो र खानतलासी लियो । हाम्रो घरमा अवैधानिक त्यस्तो कुनै वस्तु थिएन । तिनीहरूले बुवालाई खोजे । बुवा काम विशेषले काठमाडौं जानु भएको थियो । हामीले सोझो उत्तर दियौ“ । पछि हामीले पत्र–पत्रिकाबाट थाहा पायौं, बुवा काठमाडौंमा पक्डाउ पर्नु भएछ । हामी बुवाको बाटो हेरेर बसिर≈यौं । तर त्यसपछि उहा“ कहिल्यै पर्केर आउनु भएन । हाम्रो बर्कतले भ्याएसम्म उहा“को खोज खबर ग¥यौं । तर हाम्रो केही सिप चलेन । हाम्रो बुवालाई समातेकै छैन भन्ने जवाफ दिएर उहा“लाई बेपत्ता पारे राजाका सिपाहीले । बुवाको गिरºतारीपछि हाम्रो घर–ब्यवहार र बन्द–व्यापार दिन–प्रतिदिन चौपट हु“दैगयो । हामीले त्यसलाई समाल्न सकेनौं । बुवासित सापट र ऋण लिएका र उधारो खाएका मानिसहरू फर्केर आउन छाडे । आम्दानीको बाटो बन्द भएपछि हामीले पसलमा मालसामान थप्न सकेनौं । केही समयपछि गएर त हाम्रो पसलमा सामान राख्ने ¥याक, पुराना ढक–तराजु र थोत्रा बोराका चाङ् मात्र बा“की रहन गए ।
”हाम्रो भाइ त्यति बेला त्यस्तै १५ वर्षजतिको थियो । देश घोषित रूपमा नै युद्धमा होमिएको थियो । बम, बारुद, गोला, काटमार, लुटपाट, हत्या, बलात्कारसम्बन्धी घटनाका श्रव्य–दृश्य सामग्रीहरू सरकारी रेडियो, टिभी र पत्रपत्रिकाका मुख्य विषय बन्न पुगेका थिए । बुवालाई सरकारले बेपत्ता पारेको तीन वर्ष पुगिसकेको थियो । आमा, दिदी, म र भाइ बेला बेलामा बुवाका विषयमा कुरा गथ्र्यौं र मुख छोपेर बेसरी रुन्थ्यौं । सुरुसुरुमा मलिन अनुहार लगाए पनि भाइ क्रमशः कठोर हु“दै गएको आभास भयो हामीलाई । पछि गएर हामीले थाहा पायौं, ऊ विद्रोहीहरूसित नजिकिइसकेको रहेछ । आमा भाइलाई सम्झाएर खुबै रुनुभयो, तर त्यो रुवाइले उसको अनुहारमा कुनै किसिमको परिवर्तन ल्याउन सकेन । त्यसै बीच एक पटक रात निकै छिप्पिइसत्ता पनि भाइ घर आएन । हामी तीनैजना आमा–छोरी ऊ आउने बाटोतिर आ“खा बिछ्याएर बसिर≈यौं । तर ऊ फर्केन । पछि हामीले ऊ विद्रोही सेनामा भर्ती भएको कुरा सुन्यौं । त्यो खबर सुनेपछि आमा झन् पिरलोमा पर्नुभो ।” एलिसा धाराप्रवाह रूपमा बोलिरहेकी थिई । ती दुई स्तव्ध मुद्रामा त्यसका कुरा सुन्नमा तल्लिन थिए ।
“त्यसपछि के भयो एलिसा ?” सास रोकेर सुस्त गतिमा उसले सोध्यो ।
त्यसले एक पटक लामो सास फेरी र फेरि भन्न थाली ः “भाइले घर छाडेर हि“डेको दुई वर्षपछि देउखुरीको भीडन्तमा परेर उसले सहादत प्राप्त गरेको कुरा सुन्यौं हामीले । सरकारी टेलिभिजनले मारिएका योद्धाहरूको क्षत–विक्षत शरीरका त्रासदीयुक्त तस्बीरहरू दोहो¥याई तेहे¥याई प्रसारण ग¥यो । त्यो देखेर आमा मुर्छा पर्नुभो । हामी दिदी बहिनी पनि आमालाई अ“गालो हालेर खुबै रोयौं । त्यसपछि आमा पिरैपिरको भुमरीमा पिल्सिएर बिस्तारै गल्दै जानुभो । समयमा खाना खानसमेत रुचि लिनुभएन उहा“ले । पिरैपिरले आमा थला पर्नुभो र छ महिना थलिएर उहा“ पनि बित्नुभो । त्यसपछि घरमा हामी दुई मात्र र≈यौं, दिदी र म । बढेका छोरी, पहिराको डिलका रुखजस्तै थिया“ै हामी । अ“गालो हालेर रु“दै कैयौ“ रात बितायौ“ हामीले । त्यसो गर्न विवस थियौं हामी । आमाको अवसानपछि बिचल्लीमा परेका हामीलाई मामाले हेर विचार गर्न थाल्नुभो । हामी मामाकै घरमा बस्न थाल्यौं । मामा र हाम्रो घर एकै ठाउ“मा थियो, वोल्लो–पल्लो ।”
”घरको भत्केको वातावरणको असर हाम्रो पढाइमा पनि नराम्ररी पर्नथाल्यो । पहिले दिदी र मेरो पढाइ औसतमा राम्रै थियो । त्यसमा पनि तुलनात्मक रूपमा म अगाडि थिए“ । तर हाम्रो जीवनमा अकस्मात् आइलागेको बिपत्को त्यो कालो छाया“ले हाम्रो मनलाई सधै“ गा“जिर≈यो । हामी दुवैको अनुहारबाट उज्यालो हराएको थियो । लाउ“लाउ“ र खाउ“खाउ“ भन्ने उमेरको हाम्रो जीवन दुःख, कष्ट र पीडाको भुमरीमा परेर फन्फनी घुम्नथाल्यो ।”
एलिसा निमेशभर रोकिई र लामो सास फेरी । पहिलो भेटमा एउटी चुलबुले किशोरीजस्ती देखिएकी त्यसको हृदयमा यति धेरै कष्टको महासागर लुकेर बसेको देखेर तिनीहरू त्यसै बिलखबन्दमा परेका थिए । त्यसले फेरि भन्न थाली ः
“फेरि हिउ“द लाग्यो । हिउ“दको एक सा“झ, खाना खाइवरि बैठकमा बसेर टिभीको स्क्रिनमा आ“खा गाडिरहेको समयमा मामाले दिदीलाई सम्बोधन गर्दै उसको घरजमको प्रस्ताव राख्नुभो । हामी दुवै एक्कासी बरफका टुक्राले च्वास्स छोइएसरि शीताङ्ग भयौं । दिदी केही बोलिन । म पनि उसको अनुहार हेरेर निर्विकार त्यसै टोलाइरहे“ ।
“‘एक दिन गर्नैपर्च क्यारे । अब सधैं त्यत्तिकै बसेर हुने होइन ।’ मामाको कुरालाई समर्थन गरेको भावमा माइजुले भन्नुभो । दिदी चुपचाप त्यसै टोलाएर बसिरही । मलाई भने मेरो टाउको विल्कुलै रित्तो भएको अनुभूति भयो ।”
“त्यो दिन त्यत्तिकै भयो । दिदी कुनै जवाफ नदिई कोठाभित्र पसी । म पनि उसैका पदचापलाई पच्छ्याउ“दै भित्रतिर लागे“ । भोलिपल्ट हामीले माइजुसित कुरो खोतल्यौं । बाबु–आमाको एक्लो छोरो, बिबिएस् पास गरेर घरतिरै अल्मिलिएर बसिरहेको नवीनको विषयमा कुरा ल्याउनुभएको रहेछ मामाले । हामी प्रमाणपत्र तहमा पढ्दा ऊ स्नातक– तहको अन्तिम वर्षमा अध्ययनरत थियो । गाउ“घरबाट क्याम्पस जा“दा हामी प्रायः साइकलमा जान्थ्यौं । तीन किलोमिटर परको क्याम्पस जाने विद्यार्थीहरूको सङ्ख्या उल्लेखनीय थियो । एउटै गाउ“घरका भएकाले हामी सबै एक आपसमा परिचित पनि थियौ“ । त्यसमा थप, स“गै क्याम्पस जाने आउने क्रियाले त हामीबीच मित्रताको पुल बा“ध्ने काम गरेको थियो । हामी नवीनलाई आºनै अभिभावकजस्तै ठान्थ्यौं । पूर्व परिचित भएको हुनाले र आनीबानी जानिराखेको हुनाले पनि हामीले उसलाई सहजै स्वीका¥यांै । त्यसपछि दिदीको बिहे भयो । दिदीको बिहे भएको अर्को वर्ष भिनाजुको समेत संलग्नतामा मामाले मेरो पनि घरजम गरिदिनुभो । त्यति बेला हाम्रो गाउ“घरमा समेत अमेरिकाका लागि डि.भी.फाराम भर्ने कामको लहर नै चलेको थियो । फाराम खुलेपछि हामी चारैजनाले भ¥यौं । केही समयपछि नतिजा निस्क“दा मलाई र भीनाजुलाई चिट्टा परेछ । हामी चारैजना स“गै बसेर सल्लाह ग¥यौं र हाम्रो भत्कोको विगतलाई बिर्सेर अमेरिकामा नया“ जीवनको निर्माण गर्ने सपना बुन्यौं । अनि सल्लाहले नै भिनाजु र म यता लाग्यौं । दिदीकी छोरी वर्ष दिनकी भैसकेकी थिई हामी यता लाग्दा । मैले मेरो लोग्ने भनाउ“दो त्यसलाई पनि दिदी र छोरीलार्ई भिनाजुले यहा““ ल्याएझैं स“गस“गै यथा समयमा यहा“ ल्याउने सपना बुनेकी थिए“ ।” यति भनेर एलिसा रोकिई । अनायास त्यसका आ“खा रसाएर आए । त्यसको अनुहारमा एकोहोरो हेरेर त्यसका कुरा सुनिरहेको नरेन्द्र र सुषमाका आ“खा पनि थाहै नपाई रसाएछन् । तिनीहरूले आ“खाका कोस पुछे ।
“त्यसपछि के भयो नानु ?” एलिसाको अनुहारतिर हेरेर सुषमाले सोधी ।
त्यसपछि एलिसाले फेरि भन्नथाली ः “हामी यता आएको छ महिना नबित्दै त्यसले आºनै सहपाठी साथीलाई उडाएर भागेछ । यति बेला त मलाई त्यसको नामसम्म लिन मन लाग्दैन अन्टी ।” सुषमालाई सम्बोधन गर्दै एलिसाले भनी ।
“अनि तिम्री दिदी र उनकी छोरी कहा“ छन् त अहिले ?” स्थितिलाई सामान्य बनाउने प्रयत्न गर्दै नरेन्द्रले भन्यो ।
“उनीहरू दुवै यही“ छन्, हामी स“गै । यता आएको दुई वर्षपछि भिनाजुले दिदी र छोरीलाई बोलाउनुभयो ।” उसले भनी ।
“अनि तिमी के गछ्र्यौ त अब । तिम्रो के हुन्छ ?” सुषमाले अधैर्य हु“दै सोधी ।
“मेरो के हुनु छ र अन्टी अब ? त्यसले आºनो सुर गर्दा मैले पनि आºनो सुर गर्नसक्छु । त्यो भन्दा म के कुरामा कम छु र ? हामी बीचको एउटै भात्र भिन्नता त्यो पुरुष हो, म नारी । त्यत्ति होइन ? तर म हतारमा छैन अन्टी । म पहिले आºनो स्थिति सुधार्न चाहन्छु । मैले मेरो परिवारले गरेको दुःख बिर्सेकी छैन । तर म मेरो लोग्ने भनाउ“दो त्यो अविवेकी केटोलाई संझेर पश्चाताप गर्नुपर्ने कुनै कारण देख्तिन । त्यसले आºनु सुर गर्न हु“दा मैले गर्न नहुने भन्ने क्यै छैन । खासमा म मेरो विगतलाई बिर्सन चाहन्छु अङ्कल ।” यस पटक एलिसाले नरेन्द्रको अनुहारतिर ताकेर उसलाई नै सम्बोधन गर्दै भनी । त्यसको त्रासदीयुक्त विगतले एक प्रकारको प्रभाव दिइरहेकको थियो र फेरिएको वर्तमानले अरू नै केही कुरा भनिरहेझैं लाग्यो उसलाई ।
“तिमीलाई आºनो जन्मभूमि, आºनो गाउ“घर, आºना इष्टमित्र र साथीभाइको माया लाग्दैन एली ?” त्यसको कुरा सुनिसकेपछि नरेन्द्रले अलिकति कडा किसिमको प्रश्न ग¥यो ।
“लाग्छ किन नलाग्नु ? मलाई पनि मेरो देश, मेरो गाउ“घर, मेरा इष्टमित्र, साथीभाइ, सबैको उत्तिकै माया“ लाग्छ । तर म के गरू“ अङ्कल ?” निमेषभर रोकिएर त्यसले फेरि भन्नथाली ः “मेरो देशको सरकारले हाम्रो परिवारको बा“च्ने आधार, जगतको भलो चिताउने मेरा सज्जन पिताजीलाई बेपत्ता पा¥यो । मेरो भाइको हत्या ग¥यो । देउताकी गाईजस्ती सोझी मेरी आमालाई पिरैपिरको भुमरीमा डुबाएर मा¥यो । हामी सक्षम छउन्जेल हामीलाई दुहेर आवश्यकता अनुसारको फाइदा लिएका गाउ“लेहरूले हामीलाई बिपत् पर्दा फिटिक्कै हेरेनन् । हाम्रो धनसम्पति खाएका मानिसहरू बुवा बेपत्ता भएपछि एक पटक पनि फर्केर आएनन् । अग्नी सा“छी राखेर जीवनभर स“गै बाच्ने, स“गै मर्ने बाचा खाएर मलाई घरभित्र हुलेको त्यो पुरुषले मलाई धोका दिएर मेरो जीवन उजाड बनायो । अनि म के गरू“ अङ्कल ?”
“तर हेर एलिसा, आºनो देश भनेको आºनै हो । तिमी कमाई–धमाई गर्नका लागि केही समय यता बसे पनि कालान्तरमा त उतै फर्क भन्छु म । बेपत्ता पारिएका तिम्रा बाको पनि खोजी गर्नु प¥यो नि ।” सम्झाउने शैलीमा नरेन्द्रले भन्यो ।
“त्यो कुराप्रति मेरो पूर्ण समर्थन छ । म यहीं बसेर पनि मानव अधिकारवादी सङ्गठनहरूको मद्धतमा त्यो काममा लागिरहेकी छु । यसमा अङ्कलको सद्भावका लागि म धन्यवाद दिन चाहन्छु ।” यस पटक एलिसाले उज्यालो अनुहार बनाउ“दै मुसुक्क हा“सेर भनी ।
“तिमीले यस पटक त पूरै औपचारिक भाषण ग¥यौ नि एलिसा ?” उसले पनि स्थितिलाई सहज बनाउने प्रयत्न स्वरूप ठट्यौलो पारामा यसो भन्यो ।
“ए, हो र ?” त्यो पनि निर्भिकतापूर्वक हा“सी ।
०००
नरेन्द्रले घडी हे¥यो । पौने आठ बजिसकेछ । अघि भर्खरसम्म तातो राप ºया“केर धरतीभरि प्रचण्ड ताप ओकलिरहेको सूर्य पनि भर्खरै पश्चिमको आकाशबाट तल झरिसकेको छ । धरतीतिर अ“ध्यारोको कालो पर्दा फैलन थलेको छ । त्यसका साथै भेगास सहरभरि विजुलीको मनोरम प्रकाश छरिएको छ र त्यो सेरोफेरोको पूरै धरती प्रकाशको पोखरी नै हो किझैं गरी झल्झलाकार उज्यालोमा नुहाएर हा“सिरहेको छ ।
“अङ्कल–अन्टीको यो घुमाइमा सानु एउटा टिप्स थपु“ है त आज ।” एउटा कुशल चालकलेझैं गाडी हा“किरहेकी एलिसाले एकछिनसम्मको मौनतालाई चिर्दै भनी । यस्तो लाग्थ्यो, ऊ वातावरणलाई हरतरहले हल्का बनाउन तल्लिन छे ।
“कस्तो टिप्स हो त्यो ?” नरेन्द्रले पनि स्वरमा स्वर मिलाएर सोध्यो ।
“घुमफिरकै टिप्स हो ।” उसले पनि सहज भावमा भनी ।
“तिमीलाई अबेला हुन्न ? आठ बज्न थालिसकेछ ।” हातको घडीमा हेरेर उसले भन्यो ।
“कहिलेकाही“ त म राति दुई–तिन बजेसम्म पनि घुम्छु, एक्लै ।” निर्धक्कसाथ त्यसले भनी ।
“अनि कुन ठाउ“मा लाने विचार गर्दैछौ त ?” घुमाउरो तरिकाले स्वीकृति दि“दै उसले भन्यो ।
“त्यो त म अहिले भन्दिन । यो मेरो सप्र्राइज प्याकेज हो ।” त्यसले हा“सेरै भनी ।
“लौ, तिम्रो मनोकामना पूरा होवोस् ।” नरेन्द्रले पनि उज्यालो अनुहार बनाउ“दै भन्यो ।
“अघि हामीलाई लसी खुवाउनुभो नि, हो उहा“ नै हो मेरो भिनाजु हो । ” मूल सडकबाट दाहिनेतिर एक्जिट लिएपछि एलिसाले भनी ।
“ए ।” सही थापेको शैलीमा उसले भन्यो ।
“अनि दिदी नि ?” सुषमाले उत्सुक हु“दै सोधी ।
“हामी स“गै काम गर्छौं । थ्रेडिङ् पार्लरमा ।” उसले भनी ।
हेर्दाहेर्दै एलिसाले उसको कारलाई सडकबाट मोडेर एउटा भीमकाय भवनभित्र हुली र स्टेरिङ् घुमाउ“दै त्यसको दोस्रो तलामा पु¥याएर पार्किङ्लटमा राखी । त्यसपछि तिनीहरू एउटा विशालकाय घरको आन्तरिक भागमा प्रवेश गरे । एउटा हाटबजारको झल्को दिने त्यो परिसरमा क्याजुयल ड्रेसमा यता र उता ओहोदोहोर गरिरहेका मानिसहरू खचाखच थिए । बिजुलीको झिलिमिली प्रकाशमा ठाउ“ठाउ“मा विविध प्रकारका खेलहरू चलिरहेका छन् । देख्तैमा मनै सिरिङ्ग हुने विद्युतीय रोटेपिङ, द्रुतगतिको रेलयात्रा खेल, अद्भुत प्रकारका जिम्नास्टिक खेल र तरह–तरहका अरू खेलहरू । मानिसहरू तिनै विविध प्रकारका खेल र जुवास्टलमा झुम्मिएर रमाइरहेका छन् ।
मूलद्वारबाट भित्र पस्ने बित्तिकै लबीमा भेटिएको एउटा युवक र दुइटी युवतीसित एलिसाले गला मिलाएर अङ्कमाल गरी । ‘त्यो त्यसको केटो साथी होला ।’ नरेन्द्रले यस्तै अनुमान ग¥यो । केही पर पुगेपछि अर्को लबीमा पुगेपछि छातीमा परिचयपत्रका ट्याग झुन्ड्याएका अर्का दुई जना युवक र एउटी युवतीसित पहिलेकैझैं उसले गला मिलाई । त्यसपछि तिनीहरू हा“सिखुसी हल्काफुल्का कुरा गर्नथाले ।
“तिमीले त ती सबै युवा–युवतीसित गला मिलायौ एलिसा ।” त्यहा“बाट बिदा भएर अगाडि बढ्दै गर्दा नरेन्द्रले उसलाई भन्यो ।
“यी सबै मेरा साथी हुन् ।” त्यसले सहज भावमा भनी ।
“यहा“का यी युवा–युवतीहरू कसरी तिम्रा साथी हुन पुगे ?” उसले जिज्ञासा राख्यो ।
“भेगास आउने वित्तिकै केही समय मैले यहा“ काम गरेकी थिए“ । यिनीहरू सबै त्यै समयका मेरा साथीहरू हुन् ।” त्यसले स्पष्टिकरण दिई ।
“तिमीले सुरुमा दुई जना केटीस“गै जुन केटालाई अङ्कमाल ग¥यौ नि, त्यति बेला मेले के ठानेको थिए“ तिमीलाई थाहा छ ?” नरेन्द्रले अलिकति उत्सुकता जगाउने खाले प्रश्न ग¥यो ।
“अ“ ह“ । के ठान्नुभएको थियो र अङ्कल ?” एलिसाले हि“ड्दाहि“ड्दै टक्क अडिएर उसका आ“खामा आ“खा अड्याएर सोधी ।
“मैले त त्यो केटालाई तिम्रो ब्वाइफेन्ड होला भन्ने ठानेको थिए“ ।” नरेन्द्रले अलिअलि हा“सेर उत्तर दियो । उसको कुरा सुनेर एलिजा “हो र ?” भन्दै बेस्सरी खिल्खिलाएर हा“सी । त्यसपछि तिनीहरू बिस्तारै अघि बढे ।
“अनि यो ठाउ“को नाम के हो नि ?” नरेन्द्रले कुराकानीको प्रशङ्गलाई अन्तै मोड्ने विचारले सोध्यो ।
“सर्कस सर्कस । अङ्कल–अन्टीका लागि यही हो मेरो सप्र्राइज टिप्स ।” त्यसले प्रशन्न मुद्रामा भनी ।

प्रकाशित मिति : प्रकाशन मिति : मगलबार, 16 बैशाख, 2071

लेखकका अन्य रचनाहरु