अपहत्ते

- होम सुवेदी

आज भुराभुरी र बूढाबूढीहरुबाहेक अरु सबैको हातमा छ मोबायल । कुनै बेला यो मोबायलले बोक्ने मान्छेको हैसियत देखाउँथ्यो । त्यो मान्छे कुन तह र वर्गको रहेछ भन्ने कुराको जनाउ दिन्थ्यो । तर अहिले यसबाट त्यो अर्थ हटिसकेको छ । जसको हातमा पनि देखिन्छ मोबायल, चाहिएन अब कुनै हैसियत यसलाई हातमा लिन । गाउँ, सहर, बस्ती सबैतिर यसले छाएको छ । श्रमिक, किसान, मजदुरहरुमा पनि यसको पकड छ । युवायुवतीको हातको कुरै छाडौं, म हजुरबा भइसकेको मान्छेको हातमा पनि यो रहन्छ सधैं । कहिलेकाहीं यसले सारै ठुलो गुन पनि गर्छ ।
मलाई अस्तिसम्म मात्र पनि यसका धेरै फाइदा रहेका छन् भन्ने नै लाग्थ्यो । लागेको पनि हो । तर मोबायलबाट अरुले लाभ लिए पनि म भने विगत डेढ दुई महिनादेखि ठुलो तनावमा छु मानसिक हानी बेहोरिरहेको छु । धेरै पटक यसको सीम निकालेर फालूँ भन्ने विचार पनि मनमा आइसकेको छ । तर फेरि आफैं संयमित हुन्छु र यसको गुणात्मकताको बोध गर्छु । यसले मलाई तनावमा कसरी पा¥यो ? मलाई यसले तनाबमा पु¥याउनुको बारेको कथा पाठकका साथ सुनाऊँ ? सुन्नुहुन्छ ? पढ्नुहुन्छ ? लौ त उसो भए—
करिब दुई महिना अघिको कुरा हो । मेरा हातको मोबालयमा एउटा अज्ञात व्यक्तिको अज्ञात नम्बरबाट कल आयो । यस्ता कलहरु अघिपछि पनि नआएका होइनन् तर यसले भने आउनासाथै झमेला र तनावमा पा¥यो ।
“हजूर !” म फोन उठाउँदा यसै भन्छु । यो कुरा जगदम्बा प्रेसदेखि नै सिकेको हुँ । हलो भन्न अलिक आउँदैन । यसै भनेर फोन उठाएँ ।
“लौ बोली पनि पो परिवर्तन भाछ त !” मेरा बोलीको कमेन्ट गर्दै उताबाट यस अघि मैले कहिल्यै नसुनेको नारी आवाज आयो । “पाँचै महिनामा यत्रो परिवर्तन ? के हो ?” फेरि त्यस आवाजले मलाई भन्यो ।
“मैले तपार्इंको कुरा बुझिनँ, कहाँबाट को बोल्नुभा हो ? नम्बर झुक्किनु भो कि ?” मैले भनें ।
“आफूले होइन नम्बर झुक्याएको ? अझ हेर मलाई नै झुक्किएको कुरा गर्ने ? मेरा लागि केको तपाई्र ? मलाई ता तपाईं पो अरे तिम्री प्यारी हुँ क्या म । अस्तिसम्म काली पोक्चीसम्म भन्ने मान्छेले आजै मलाई तपाईं ? बाह सरन काले !”
कुरा सुन्दा मलाई अलिकति रउस चढिसकेको थियो । मलाई पनि किन रमाइलो नगरुँ भन्ने लागिसकेको रहेछ । अनि भनिदिएँ–“नकरा पोक्ची काली ।” मेरो गल्तीको मूल सुरुवात यहींबाट भयो किनभने उसबाट सुनेको शब्द उसैलाई जिस्किएर फर्काउनु नै गल्ती हुन गयो । नभन्नु पथ्र्याे उसलाई मैले पोक्ची काली भनेर । न जान्नु न सुन्नु न बुझ्नु सबै जाने बुझेझैं गरी मैले भनिदिएँ ।
“हेर न त्यो आवाज चिन्ली भनेर फरक पो पा¥या छ त ! ए कालु, मेरो काले ? याँ सुन त । तिमीसँग भेटघाटै नभई पाँँच पाँच महिना म कसरी बसें होला पापी ! के मलाई छोड्न खोजेको ता होइन ? केही पछुताउ भएन पापी ? एकपटक पनि मेरो याद आएन ? यसरी मबाट भागँुला भन्ने ठानेको थियौ होला तर..... तिमीसँग नआई म कहाँ छोड्थें । अहिले कहाँ छौ कालु ?” उसले हकारेझैं गरी र मायालु आवाजले मलाई सोधी ।
“तेरो कानमा पोक्ची !” मैले यसै भनिदिएँ ।
उसले तुरुन्तै उत्तर फर्काई—“तिमी मेरो कानमा होइन मेरो मुटुमा छौ कालु । यत्रो दिन मेरो याद आएन ? कालु ? लाटा ?”
उसको कुरा सुनेर म केही बेर अवाक भएँ । अनि संयमित भएर फोरि भनें—“छेस् पोक्ची मेरा मुटुमा ! अँ आयो तेरो खुब याद आयो, तेरो नआए कसको आओस् त ! रातदिन तेरै याद आइरह्यो !” भन्दै फेरि सोधें—“ए काली, कसरी थाहा पाइस् मेरो नम्बर ?”
“रोजीले भनेकी, अस्ति म लोटेर घाेंडा फाक्चर भेर सुन्नियो । अस्पतालाँ गाथँेें, रोजीले तिम्रो नम्बर दिई । अनि अहिले ग¥या नि, किन ढाँट्नु प¥यो । पुरानो मुबाइल नम्बर किन हटाएको ? मबाट पर हट्न होला । पाइन्छ नि त्यसै हट्न आकास पताल खोजेर भए पनि तिमीलाई छाडे ता के र ?”
मैले कुरा निकै माथि जाला भनेर अब वास्तविकता खोल्ने विचार गरिसकेको थिएँ । मनले अझै पनि केही रमाइलो गरुँ कि भन्न पनि छोडेको थिएन । बूढो बूढो हुन लागे पनि आखिर म पनि ता लोग्ने मान्छे थिएँ । मलाई यसबाट कुनै पाप लाग्ने होइन क्यारे भन्ने सोच पनि आइरहेको थियो । यस्तै केही सोच्तै थिएँ, त्यसै बेला उसैले भनी— ‘भख्खरै आएँ अस्पतबाट घोँडाको एयाक्सरे (उसकै शब्द) ग¥या छ । हिजो हेराउदा भकल (??) देखियो । निकै दुखिराछ । मेरा छोराहरु इस्कुलाट आइसके, फेरि फेरि म कुरा गर्दै गरुँला । मबाट भाग्ने काम नगर है कालु, अहिलेलाई बाइ कालु । आइलभ यु ।’
मैले केही बोल्नै नपाई उसले फोन राखी । उसको बोलीले र उसको कुराले ऊ कुनै अधवैंसे आइमाई बुझिन्थी । म भने उसको बाबुजत्तिकै थिएँ । तैपनि मेरै रउसले गर्दा अहिले म बडो दोधारको भुँवरीमा परिरहेको थिएँ । होइन यो के हो, न जान्नु, न सुन्नु कालु भन्छे, सरन भन्छे अनि काले पनि भन्छे । यस्तो नाम राख्ने को होली यो मान्छे ? कहाँबाट यसले यसरी मेरो नम्बर पाई ? मेरो ता नामै पनि फेरिदिई सरन भन्छे, काले भन्छे, कालु भन्छे । हा राम !
फोनको यो वार्तालापले मेरो मन निकै रन्थनियो । तै सहरतिर कहिलेकाहीं यस्ता कुरा निकै हुने गरेको सुनेको थिएँ । मिसकल आएर मान्छेहरुलाई हत्तु पारेको सुनेको थिएँ । पत्रपत्रिकाहरुले पनि यस्ता कुरा निकै बाक्लै हुने गरेको खबर छापेका हुन्थे । त्यो पनि सम्झें र कुनै त्यस्तै खेती गर्ने आइमाई होली भन्ने ठानेर अलिक आश्वस्त हुन खोजेंं ।
साँझ पर्न पाएको थिएन, एकै चोटि एसएमएस आयो उही नम्बरबाट । मेरो कालु, के खानुभो ? खाना भयो ? तरकारी के थियो ? गीता भाउजूले के पकाउनुभो ? एसएमएसको विवरण यही प्रकृतिको थियो । म फोन गर्छु उठाउ है कालु आदि । यी सबै पढेर मलाई आफ्नै पत्नीदेखि डर लागिसक्यो । कस्तो सडल लोग्ने परेछ— बूढेस कालमा अफेयरमा लाग्ने भनेर उनले मलाई गाली गर्नु निश्चित थियो । हातमा मोबायल बोक्नुहुन्छ कसकससँग अफेयर चलाइसक्नु भएछ भनेर उनले मेरो हुर्मत लिन बेर लाउँँदिनन् यो सबैको सुइँको मात्र पनि पाइन् भने । अब मेरी यिनै पत्नीको समेत उसैले पो नामाकरण गरिसकेकी थिई । गीता अरे मेरी पत्नीको नाम उसका अनुसार । एकै छिनमा कल आयो मलाई थरहरी भो । मोबायलाई साइलेन्ट मोडमा नसुन्ने पारेर राखेको थिएँ कसैले सुनेन । यसपछि क्रमशः निकैपटक कल आयो । मैले उठाइनँ घरको तत्कालीन वातावरण फोन उठाउनलाई अनुकूल पनि थिएन । अन्तमा एउटा एसएमएस आयो धम्कीको गन्ध थियो– ‘फोन नउठाउने नै हो त कालु ?’ त्यस दिन मलाई निद्रा कम भयो । रात कसै गरी बिताएँ ।
यो क्रम अब बाक्लो हुँदै गयो ।
यसपछि पनि कलहरु आउँदै गए । सारै लामो कल गरी भने उठाउन पनि थालेको थिएँ । उसका कुराहरुको मैले अन्ठसन्ठ उत्तर पनि दिन थालेको थिएँ । माया लागेर हुरुक्कै भएको कुरा उसले बारम्बार भनिरही । मैले उसलाई लिन जानु पर्ने आग्रहको उरुङ नै उसले ममाथि खन्याई । मौका पारेर मैले आफ्नो वास्तविकता बेग्लै हो भनेर भन्दा उसले कसै गरेर पनि पत्याइन । उसका लागि उसको सरन म नै थिएँ । अझ यसै क्रममा के पनि थाहा भो भने उसको र म सरनको पाँच महिना अघि सुर्खेतको ..... होटलमा निकै पटक शारीरिक सम्पर्क भइसकेको छ भन्ने कुरा पनि उसले सम्झाई । हे भगवान् अब मरिएछ । जिन्दगीमा सुर्खेत पुगेकै छैन म अनि कताबाट यो रामकुमारीसँग रसबस गर्नु ? म दङ्गदास भएको छु । आश्चर्यमा परेको छु । के गरौं र के नगरौं भन्ने दोधारले मलाई किचेको छ । कताको शारीरिक सम्पर्क ? कताको सुर्खेतको होटेल ? कताको सरन ? कताको सावित्रा । मेरो मथिङ्गलले नथाम्ने भयो । तैपनि उसको शरीर भोग गर्ने तथाकथित सरन कुनै अवस्थामा पनि एक होइन भन्नेमा म विश्वस्त छु यद्यपि उसको यसमा पूर्णतः मलाई नै उसको सरन ठानेकी छे । सुर्खेत मैले सपनामा पनि देखेको छैन विपनाको कुरा परै जाओस् । उसको कालु वा सरन म निश्चय नै होइन भन्ने कुराको ममाथि पक्का विश्वास छ । यो विश्वास भएपछि मलाई अलिक हिम्मत आयो ।
के डराएको यस्ता झ्यासदेखि ? आफू भला त जगत् भला । अलिकति साहस बटुलें ।
यसपछि ता उसका कलदेखि अलिक डर पनि भाग्यो । म पनि उसैको सरन भएर उसबाट कुरा दुहुन सकिन्छ कि भनेर परिपाठ पारेर कुराहरु गर्न थालें । यस बिचमा उसबाट धेरै कुरा थाहा भए । उसको पति रहेछन् बम्बैमा दुई वर्षदेखि । नानीहरु रहेछन् दुईओटा । माइतमा बसेकी रहिछे । किसानकी छोरी रहिछे । कसै गर्दा पनि उसको गाउँ ठाउँको जानकारी मैले लिन सकिनँ । जम्मा ६ कक्षासम्म पढेकी रहिछे । एसएमएस लेख्ता नै उसको अवस्था र स्थानका बारेमा केही कुरा बुझिन्थ्यो । टिन्सन नलिनु भन्थी । उसका सन्देशको ‘सरन म हजुरको साथमा आय भनी कति खुसी हुमला हैन ?’ भन्ने वाक्यबाट मात्र पनि ऊ कुन स्थान र दिशाकी महिला हो भन्ने अनुमान हुन सक्थ्यो । एउटा सन्देशमा ता गीतै लेखी अहिले पनि सम्झन्छु– ‘तिमी उता म यता रुनी, सोचे जस्तो कहिले नहुनी’ । धेरै ट्यानसन नलिनु भनेर केही अंग्रेजीका शब्दहरुलाई पनि उसले प्रयोग गरेकी थिई । उसका सन्देशमा ‘भकल’ शब्द आएको थियो । यसको अर्थ के थियो शब्दकोशले पनि दिएन । कुरा यस्तै उस्तै थिए सन्देशहरुमा । करीब १००० जति सन्देश त्यो महिना दिन भित्रमा आइसकेका थिए, मलाई अप्ठेरो पर्न सक्ने सोचेर धेरैलाई म मेटाइहाल्ने गर्दथें । मिस कल ता मोबायले गन्न पनि भ्याउन छाडेको थियो । सन्देशबाट उसले मलाई पनि मिस कलको खुबै आशा गरेकी थिई म पनि निकै रउसे भएर मिस कल गर्दथे ।
यो क्रम लगभग एक महिना जति चल्यो ।
यसै बिच एउटा सन्देश आयो— ‘कालु, आइ लभ यु । तिमी मलाई लिन बुधबार बिहानै ...... मा आऊ है । नआए म आत्महत्या गरेर मरिदिन्छु ।’ पछिल्लो उसको यो सन्देशको प्रस्तावले मलाई भयानक डर लाग्न थालेको थियो । यस्ता सन्देशहरुबाट भित्रभित्रै अलिक त्रसित हुन थालेको थिएँ । यो कुरा कसैलाई भन्नु भएको छैन । कस्तो सडल मान्छे भनेर मैमाथि ठाडो हुन्छ समाजको औंलो । अब के गर्ने ? एसएमएस ता यो एक महिनाभित्र दिनको घटीमा १० र बढीमा ३९ ओटाका दरले आएका हुन्् तर यो जतिको कठोर अरु थिएनन् । यस किसिमको अपहत्ते नै गर्ने धम्की दिएका भने सन्देश आएका थिएनन् । त्यसैले मैले पनि ‘हुन्छ आउँछु’ भनेर लेखिदिएँ । मलाई उसका सन्देशहरु हेर्नु र पढ्नु भन्दा पनि मेट्न मुस्किल पर्न थालिसक्यो । साथसाथै अर्काे म्यासेजमा भनेकी थिई–“तिमीलाई मेस (उसकै शब्द) गर्दा अहिलेसम्म ५६००।— रुपियाँ सकिएछ कालु ।”
राति आयो अर्काे म्यासेज— ‘सरी कालु, अघिको मेसमा मैले भोलि आऊ भनेकी थिएँ, भोलि ता मेरो दुइ दिन पो हुन्छ । मेरो पेट दुख्छ । ब्लोट (ब्लडका अर्थमा उसैको शब्द) पनि आउँछ । यस्तो बेलामा ता राम्रो हुँदैन । बरु शुकबार भेटम है ।”
यस सन्देशले समस्या शुकबारसम्मलाई स¥यो । मलाई अलिकति हलुको भयो । हुन्छ भन्ने स्वीकृतिका लागि मिस कल नै गरिदिएँ ।
मैले सोचें । फोन ता त्यति बढी उससँग गरेकै छैन । यो एक महिनामा बढीमा हजार ओटा जति सन्देश पठाएको हुनु पथ्र्याे । नेपालकै टेलिफोन लाइन थियो । यसैले मलाई गरेका सन्देशहरुमा ५६०० सय रुपियाा खर्च ता नहुनु पर्ने हो । यसैले यसको सरन भन्ने मान्छे कुनै अर्कै हुनु पर्ने हो भन्ने मैले सोचेर एक दिन श्रीमती नभएको बेलामा उसलाई फोन गरें र ‘म तिम्रो सरन काले हुँदै होइन, तिमी गल्तीमा छौ । हेर रामकुमारी म तिम्रो सरन होइन नि, मलाई फोन गरेर आइन्दा दुःख नदिनू । म अर्कै मान्छे हँु सन्देश पनि नपठाऊ मात्र के भनेको थिएँ उताबाट धरधरी रोएको आवाज आयो । मलाई यस आँसुले अलिकति भावुकै बनाइहाल्यो र नरोऊ भनेर फुल्याउनै प¥यो । हे दैव कस्तो फसाद ! कुन भाङ्लो भिरायौ नि मलाई भनेर आहत भइसकें । अन्तमा फेरि पनि ‘म तिम्रो कालु वा सरन चाहिं होइन’ भनें । उसले पत्याओस् ता मर्नु ।
को हो गीता, को हो रामकुमारी, को हो सरन, को हो काले यी सबै कुराले मेरो मथिङ्गल चक्कराउन थालिसकेको थियो । राति फोन आउन निश्चित थियो । श्रीमतीले थाहा पाउलिन् भनेर थरहरीमा छु । मोबायललाई साइलेन्ट मोडमा नराखेर धरै थिएन । मनमा जग्जगी थियो । कसै गरी समय बित्तै थियो ।
मैले उति वास्ता गरेको पनि थिइँन । निकै दिनपछि एक रात भरिमा ३० ओटा म्यासेज आएका रहेछन् । खोलेर पढ्नु पनि मलाई जग्जगी छ । श्रीमतीले थाहा पाउलिन्, छोराले थाहा पाउला, छोरी ज्वाइँले थाहा पाउलान् र अझै बढी नातिनीले पनि पो थाहा पाउलिन् भन्ने जगजगीले म आधा मासु भइसकेें । ‘एउटा मिसकल पनि नगर्नी हो भने ता मेरो छाती पट्ट फुट्छ केरे, मिस कल गर है कालु’ भन्ने सन्देश पाएपछि ता मै पनि पो मिस कलको धन्दामा लागेको रहेछु । अलिकति नलुकाइ के भनूँ भने म पनि यी एसएमएस र मिसकलबाट निकै नै आकर्षित भइसकेको रहेछु । हुँदा हुँदा म पनि मिस कल बाक्लैसँग गर्न थालिसकेको रहेछु । ‘काली केटी, मलाई तिमी धेरै दुख नदेऊ’ भन्ने जस्ता केही एसएमएस मैले समेत पठाइसकेको रहेछु । नजानिदो गरी म उसको जालमा पर्न पर्न थालेको रहेछु । समालिने बेला आइसकेको रहेछ । मौका हातबाट खुस्किने बेला हुन हुन पो लागिरहेको रहेछ । मलाई यस्तै लागिरहेको थियो ।
एक दिन बिहान उठेर हेर्छु ता रातभरि ४० ओटा एसएमएस पो आएका छन् । कुनैमा मेरो कालु मलाई माया नमार ल, भनिएको छ । कुनैमा तिमीबिनाको रात कसरी एक्लै काट्ने हो, भनेर लेखिएको छ । कुनैमा मलाई चाँडै बोलाऊ, चाँडै लिन आऊ भनेर लेखिएको छ । कुनैमा कालु मिठो चुम्मासम्म पनि पो लेखिएको छ । अन्तिममा सबै एसएमएसमा कालु आइ लभ यु लेखिन छुटेको छैन । मैले मेरा मोबायलको एसएम एस चोरले चोर्दाझैं गरी लुकेर हेरें बाथरुपमा पिसाप गर्ने बहानामा । सबै ता पढिसक्न पनि पाइएन । अब के गरुँ ? भनेर यसबारे सोच्तै थिएँ । त्यही बेला फेरि एसएसएस आयो रातभरि सुत्नै नसकेको कुरा उल्लेख गरेको । उसले सबै सुरक्षाको प्रबन्ध मिलाएकी, मैले उसले भनेको होटलमा पुगे मात्र हुने र उसको बुढाले भर्खर बम्बैबाट पैसा पठाएकोले पैसाको कुनै फिक्री नगर्नु पर्ने कुरा समेत पो रहेछ । अब परेछ मलाई फसाद !
तत्काल अर्काे म्यासेज आयो—‘तिम्रो पो श्रीमती छिन् मेरो को छ ? मैले जवानीलाई भड्खालामा हाल्नु भेन के रे । म सबै प्रबन्ध मिलाउँछु । पैसाको ट्यान्सन पनि नलेउ, र अरु कुनै ट्यानसन नलिई आऊ । म तिम्रो अँगालोमा बेरिन आतुर छु ।”
कथा लेखिन्जेलको अन्तिम सन्देशलाई पनि यहाँ उद्धरुण गरौं कि ? त्यो अहिलेसम्मको अन्तिम सन्देश यस्तो थियो–“सरन तिमी कति राम्रा छौ हैन ? समज्दार छौ तर धेरै कालो छौ काले ।”
हे राम अब के गर्ने होला ! अब कसो गर्ने होला ! म बडो बिलखबन्दमा परिरहेको छु । कुरा जारी छ, यसको अन्त कसरी हुने हो म भविलाखमा परेको छु । कसैले यसको सफल अवतरणको उपाय बताए हुने ।

प्रकाशित मिति : प्रकाशन मिति : मगलबार, 16 बैशाख, 2071

लेखकका अन्य रचनाहरु