सह-अस्तित्व

- युवा बराल ‘अनन्त’

जीवाष्महरु………!
रात-दिन हामीसित हातेमालो गरिरहन्छ्न्
जीवात्माहरु……!
साँझ-बिहान हामीसित छिल्बिलाईरहन्छ्न् ।
हरपल, हरक्षण हाम्रा परम हितैषि बनी
हाम्रो जीवन जिउने माध्यम बन्दै,
हाम्रो बँचाईको मुख्य पृष्ठपोषकको रुपमा ।

X

हाम्रो अव्यक्त डर बसेको छ ती प्रेतात्माहरुसंग
अनि निरापेक्षमा, हाम्रो दह्रिलो भर बसेको छ
ती करोड़ौं युग पुराना जीवका हाड़-खोड़ मासु अनि
पुरिएका रुख-पातहरुसंग ।

X

कुनै जण्डाको त्रांत्रिकले बोतलमा थुनेर राखेको
मोक्षबाट विमुख भट्कल आत्मालाई झैं
फलामे सिलिण्डरमा थुनेर राखिन्छ ती अदृश्य शक्तिपुञ्जलाई…।
ठूल-ठूला टेङ्की र बन्द भण्डारणहरुमा भरेर राखिन्छन्
ती अनमोल, अमूल्य ईंधनहरु
कतै उड़िजाने, विलाईजाने, हराईजाने त्राशमा
बड़ो सावधानीकासाथ प्रयोगमा ल्याइन्छन् विस्तारै विस्तारै
ती महाविनाशक, महाविद्रोहात्मक अभेद्य उर्जाहरु…
कतै पेट्रोल, डिजेल र मट्टितेलरूपि तेलिय-द्रव्यहरु
कतै खनिज, धातु, कोइला अनि प्राकृतिक-ग्यासको रुपमा,
ती हजारौं लाखौं करोड़ौं वर्ष पुराना
डाइनोसोरका विशाल हड्डिहरु…मासुहरु…छालाहरु…
ती असीम दबावभित्र दबिएका
हाम्रै जिजु-बाजेका चिहानहरु, मृतदेहहरु, रगत-पसिनाहरु
समस्त चराचर जगत अनि ती उद्विदहरु…।

X

युगौंपछि…
बौरी उठेकाछन् ती प्रेतात्माहरु
कतै थोरियम ,बोरोन, क्रिप्टन
कतै हाइड्रोजन, हिलियम, नाइट्रोजन
कतै प्रोटोन, न्युट्रोन, एलेक्ट्रोनका परमाणु हुँदै
कतै रेडियम,युरेनियम, अल्ट्राभायलेटका विकिरण हुँदै…
कतै कतै उष्ण ज्वालामुखी, भूईंचालो र आँधिबेह्रि
भयावह आपदा स्वरुपमा
जागी उठ्नेगर्छन् ती शक्तिशाली मृतात्माहरु
ब्यूँझि उठ्छनेगर्छन ती अदृश्य महाशक्तिहरु !!!
अनि आफ्नो अनर्गल ताण्डव नाच नाचिरहन्छन्-
अटब्बे पहाड़ उठ्छन्, अनकण्टार सागर फैलिन्छन्
अग्लो हिमालको सेताम्मे हिँउबाट एभलाञ्ची झर्छन्
कतै उठ्छन् ज्वारभाटा, सुनामी, उष्णकटिबन्दिय चक्रवातहरु… ।

X
चलिरहन्छ यो घर्षण… जीवन र मरणको
चलिरहेकै छ यो निर्भरता… मृतहरुबाट संरक्षित जीवहरुको
सिक्काका दुई पाटा, सम्पुरक छन् एका-अर्कामा
एउटा बाँच्नलाई अर्काको मृत्यु अवस्यम्भावि छ
जीवितताको अस्तित्वको निम्ति मृतताको अवस्थिति,
पूर्वनिर्धारित छ ।
अलिकति पानी, माटो, हावा, आगो, अनि आकाशको संभरणमा
पंख चालिरहन्छन्… यी सृष्टिका प्राणीहरु…॥

बिरिङ्ग, पाकिम, पूर्व सिक्किम

प्रकाशित मिति : प्रकाशन मिति : मगलबार, 16 बैशाख, 2071

लेखकका अन्य रचनाहरु