छोरीलाई शिक्षा

- आन्ना ढुङ्गेल

मूल सडक छेवैको भित्तामा वर्षौंदेखि सानो काठको कटगेरामा फलफूल पसल थापेर बसेकी छिन् उनी । ग्राहक आएका बेला सामान दिन व्यस्त उनी खाली हुँदा मेशिनभन्दा छिटो छिटो आफ्ना हातले स्वीटर बुनिरहन्छिन् । यसरी दिनभरी पसलमा बस्दा उनको मनभित्र कति सपना संगालिन्छन् त कति सपना चुडालिन्छन् पनि । दैनिक हजारौंको संख्यामा आवतजावत भइरहने व्यस्त सडकमा सलबलाइरहेका मानिसहरुप्रति उनलाई न त कुनै आशा छ, त त कसैप्रति इश्र्या नै । आफ्नो पुख्यौंली थलो धनुषा बजार बताउने ती मधेशी मुलकी महिलालाई शहरीया मानिसको जीवन गाउँले जीवनसँग तुलना गर्न मन लाग्छ । उनले शहरीया जीवनलाई अति व्यस्त जीवनको परिभाषा दिएकी छिन् र यहाँका कैयौं श्रमिकहरुलाई यन्त्र मानवको संज्ञा पनि दिएकि छिन् ।
उनले पनि यसै शहरमा करिव ३० वर्ष बिताइसकेकी छिन् । अधिकांश शहरवासीहरु मनभरि अनेकौं सुखदुःख संगालेर पनि आ–आफ्नै पेटका लागि यन्त्र मानव जस्तो लगातार कसैको आदेश बमोजिम चलिरहेको जस्तो भान हुन्छ उनलाई ।
किन तपाईंमा यस्ता विचारहरु आउँछन् ? मैले उनीसँग कुरा कोट्याएँ ।
हामीजस्ता कैयौं महिला त झन् पुरुषको आदेश अनुसार नै चल्नु पर्ने । यी मलाई नै हेर्नुस् न, म पनि उनैको आदेश बमोजिम नै चलिरहेको छु । घरमा छोराको स्कुल टाइम भयो, ऊ आज पनि भोकै जानेवाला छ । उनको आदेश बेगर न त यो पसल बन्द गर्न पाइन्छ, न त उठेर यसो खुट्टा तन्काउन नै । अनि बनाएनन् त हामीलाई यन्त्र मानव ?
झन् अअिले त सडक मर्मत कार्य भन्दै भएभरको बाटो भत्काएका छन् । दिनभरि धुलो खाएर बस्नु परेको छ । सडकतिर टुलुक्क हेरेर उनले सारीको सप्कोले आफ्नो मुख छोपिन् । सडकमा तँछाड मछाड गरी बुङ्बुङ्ती धुलो उडाउँदै एकपछि अर्का गाडीहरु गुडिरहेका छन् । ती गाडी चलाउने व्यक्ति पनि यन्त्र मानव नै होइनन् र ? ऊ पनि आफ्नो पेटको लागि कसैको आदेश बमोजिम अर्काको काम गर्दै छ । हेर्दा हो पनि जस्तो लाग्यो तर तिनले भनेजस्तै सबै मानिस यन्त्र मानवकै रुपमा भने पक्कै पनि थिएनन् ।

निकै लामो समयदेखि म उनलाई यसैगरी व्यस्त देख्दै आएको छु । हुन त खोजी नै गर्ने हो भने यो शहरमा यस्ता मानिस कति भेटिन्छन् कति । तर यी मधेसी मुलकी महिलाको व्यस्तताले मेरो ध्यान तान्यो । मैले धेरैपटक तिनको पसलबाट स्याऊ, अंगुर, केरा लगायतका फलफूल किनेको छु । फलफूलको सामान्य मोलमोलाइ बाहेक उनीसँग आजसम्म कुनै औपचारिक कुराकानी हुन सकेको थिएन । त्यस दिन म अफिसका लागि सधैंभन्दा १ घण्टा छिटो निस्केको थिएँ । उनको पसलमा अंगुर किने, एकछिन त्यतै उभिरहेँ ।
उनको पसलमा छिनछिनमा मानिसहरुमा आइरहन्थे । फलफूलका अलावा उनले चुरोट, चाउचाउ, चकलेट, पानपराग लगायत अरु खिच्रिङमिच्रिङ पनि राखेकी छिन् । कोही खैनी किन्न आउँथे त कोही फलफूल अनि कोही शुद्ध प्लस अरे । नेपाली शुद्धसँग बोल्न नजान्ने उनी प्रायः कसैसँग पनि दोहोरो कुराकानी गर्दैनथिन् । आफूले बुन्दै गरेको स्वीटरको गतिलाई झन् झन् बढाउँदै जान्छिन् उनी ।
तपाईंलाई त काँटा, कुरुस चलाउन खुब मन पर्दोहरेछ हो दिदी ? उनको मौनता भंग गर्दै मैले सोधें ।
म त खाली हात बस्नै सक्दिन । केही न केही गरिरहन्छु । अब त यसैमा बानी परिसकें । मैले थोरै भए पनि सहजता महशुस गरें । यसो आफ्नो नाडीको खडी हेरें अफिस टाइम हुन अझै बाँकी थियो । त्यसैले उनको छेवैको मुढा तानेर टसक्क बसें र कथा खोतल्न तिर लागें ।
पसल त सानो छ ? व्यापार कतिको हुन्छ ? मैले कुराको सुरुवात गरें ।
ठाउँ त यही मात्र हो । तर एउटा साइकल छ अनि एउटा ठेला पनि । साइकलमा श्रीमानले दिनभरी व्यपार गर्नुहुन्छ । ठेलामा छोरीले । तर अहिले महानगरपालिकाले फुटपाथमा व्यापार गर्न नदिएकाले ठेला भने थन्किएको छ ।
ए ! तीनजनाले तिनतिर व्यापार गर्दा त कमाइ राम्रै हुँदो हो होइन ?
हुन्छ, राम्रै छ, पुगेकै छ ।
बसाइ कता छ ?
उ यही पल्तिर फ्ल्याट लिएको छ ।
कति तिर्नुहुन्छ ?
मासिक १० हजार
कति जनाको परिवार हो ?
दुई छोरा, एक छोरी अनि हामी दुईजना
सन्तान यति नै हुन् कि ?
अर्को छोरी पनि छ गाउँमा, विहे भइसक्यो
ए, दिनभरि त छोराछोरी सबै स्कुल जालान् नि होइन र ?
मैले चाहेजस्तो छिटो उनको जवाफ आएन । केहीबेरको मौनता अनि एक तमासले सडकतिरको हेराइ । सायद मैले गरेको प्रश्नले उनलाई मौन बनायो कि भन्ने पनि लाग्यो । पुनः वातावरण सहज पार्ने खोजें । के गर्नु सबैले आ–आफ्नो काम त गर्नै प¥यो नि होइन ?
छोराहरु त पढ्न जान्छन् तर छोरी ........................ ।
किन ? छोरीलाई पढाउनु भएको छैन ?
मेरो यो प्रश्नले उनी रिसाउलिन् कि भन्ने सम्भावित त्रास हुँदा हुँदै पनि मैले प्रश्न गरेकी थिएँ । तर वातावरण चाहेबमोजिम नै हुँदै थियो । त्यसपछि उनी बोल्दै गइन् म सुन्दै गएँ ।
हेर्नुस् नानी, आफ्ना सन्तान जति र जस्ता भए पनि आमाको माया उत्तिकै हुँदो रहेछ । चाहे छोरा हुन् या छोरी । मेरा दुई छोरा र दुई छोरी छन् । जेठी छोरीको १३ वर्षकै उमेरमा विवाह गरिदिएँ । उ उतै गाउँमै छ अहिले त नाति नातिना पनि भइसके ।
अहिले हाम्रो साथमा दुई भाइ छोरा र एउटी छोरी छ । जेठो छोराले थापाथली इन्जिनियरिङ कलेजबाट ओभरिसिएर पास ग¥यो । अब इन्जिनियरि पढ्दैछ । सानो छोरा उ यही माथिको बोर्डिङ स्कुलमा पढ्छ । उसको पढाइ पनि एकदमै तेज छ । खुसी लाग्छ । गाउँबाट आएर पनि छोराहरुको पढाइमा भएको प्रगति देख्दा ।
अनि छोरीले चाहिँ कति पढेकी ?
सातसम्म पढेर छाडी ।
त्योभन्दा माथि किन नपढाएको त ? व्यापार पनि राम्रै छ भन्नु हुन्छ, छोराहरुलाई पनि राम्रै पढाउनुु भएको रहेछ । काठमाडौं जस्तो ठाउँमा १० हजारको फ्ल्याट लिएर बस्नु भएको छ अनि छोरीलाई किन नपढाएको त ?
के गर्नु नानी, मेरो परिवारमा मैले धेरै परिवर्तन ल्याएँ तर श्रीमानको मन परिवर्तन गर्न भने अझै सकेको छैन । उसको सोचाइ एकदम पुरातन छ । मेरा श्रीमानको सोचमा छोरी पढाउनु हुन्न अरे । उनी भन्छन्– हाम्रो जातमा जति नै सम्पत्ति भए पनि छोरी पढाउँदैनन् अनि जति नै पढेलेखे पनि छोरीलाई बाहिर काम गर्न पठाउँदैनन् ।
यो त जातले हुने हो र ? यो त तपाईहरु जस्तो आमा बुवाको सोचले फरक पार्ने कुरा हो । हेर्नुस्, तपाईहरुकै समुदायका पनि कतिपय छोरीहरु डाक्टर, इन्जिनियर भएका छन् । पढेलेखे त आफ्नो खुट्टामा आफैं उभिन सकिन्छ नि ।
मेरो यस किसिमको प्रश्नले उनलाई बिथोल्छ उनी भन्दै गइन् – मेरो यही कुराले त हिजो राति श्रीमानसँग झगडा प¥यो । तपाईंलाई जस्तै सोच मलाई पनि नआएको कहाँ हो र ? हाम्रो जातमा जति पढ्यो उती दाइजोको माग बढ्दो हुन्छ । आफ्नो छोरीको स्तर अनुसारको ज्वाइ खोज्नै प¥यो । हामीले १५–२० लाख दाइजो दिएर विवाह गर्न नसक्ने, बरु पढ्नु पर्दैन, छोरीले पढेर के हुन्छ ? भात भान्छाको काम जान्नुपर्छ । अक्षर चिनेकै छ भैगो नि भन्दै मेरा श्रीमानले दुईवर्ष अगाडि छोरीलाई स्कुल जानबाट बन्देज गराउनु भयो । जति जति समय बित्दै जान्छ म त्यति नै पिरोलिन्छु ।
अनि तपाईं र छोराले केही भन्नु हुन्न त ?
भनेका छौं नि त्यसैले त झगडा परिरहन्छ । हिजो पनि त्यस्तै भयो ।
मेरो जेठो छोरो धेरै ज्ञानी छ । उसले बैनीलाई पुनः स्कुल पठाउनुपर्छ भनेको छ । उसले आफैंबाट दाइजो प्रथाको अन्त्यको प्रयास थाल्ने कुरा गर्छ । उसको विचार मलाई एकदम राम्रो लाग्छ । आफू पनि कुनै दाइजो विना विहे गर्ने कुरा गर्छ । तर उसको बुवा सहमत हुनु भएको छैन । अहिले हाम्रो जातमा इन्जिनियरको माग १५ देखि १८ लाखसम्मको हुन्छ । मेरा श्रीमानलाई यसैको लोभ छ । सम्पत्ति भन्ने कुरा मानिसलाई जति भए पनि नपुग्ने रहेछ नानी । पढेलेखेका मानिसले त कमाउनुपर्छ नि होइन र ? अरुलाई रित्याएर दाइजो ल्याउँनै हुँदैन । आफूले लिएपछि त दिनु पनिपर्छ । लिनेले लिन्न भन्दै गयो भने दिनप्रतिदिन यस्तो विकृति रोकिन्छ ।
कति राम्रो तपाईको विचार म उनीसामु मुस्कुराउँछु । अनि प्रश्न गर्छु– के अब छोरीलाई पढ्न पठाउनुहुन्छ त ? श्रीमान सहमति हुनुहोला ? अनि भन्छिन् छोरा र मैले सल्लाह गरिसकेका छौं यसै शैक्षिक सत्रदेखि पुनः स्कुल पठाउने र छोरासरह छोरीलाई पनि शिक्षित बनाउने ।

प्रकाशित मिति : प्रकाशन मिति : शुक्रबार, 12 बैशाख, 2071

लेखकका अन्य रचनाहरु