अस्पष्ट प्रेम

- अर्जुन दाहाल “अपवाद”

उसका आँखाले मलाई असाध्यै असजिलो बनायो । मैले त्यस भन्दा अगाडि कहिल्यै उसको आँखामा त्यस्तरी हेरेको थिइन । आँखामा विस्तारै आँसू भरिँदै थियो । टिलपिल टिलपिल । धेरै कुरा बोल्न मन लागेको थियो । केही बोली नै फुटेन । म अवाक भएँ !
अघि भेट भएदेखि अहिलेसम्म ऊ लगभग मौन थियो । मैले सोधेका कुराको जवाफ मात्रै दिन्थ्यो । त्यो पनि प्राय एक शब्दमा । म असजिलोमा परेकी थिएँ, के गर्ने के भन्ने विषयमा ।
उसको आँखाको डिलमा आइसकेका आँसू झर्न खोज्दै थिए । झरिसकेका थिएनन् । आँखामा विचमा सानो नानी । कालाकाला आँखा । छेउ छेउमा थोरै खैरो । पुरै सेतो । परेला रुझ्नै लागेका थिए । एउटा आँखाको कुनामा कचेराको सानो टुक्रा पनि थियो ।
एकटक हेरि रहेका उसका आँखा एकपटक पनि झिम्किएका थिएनन् । मैले आँखा झिम्काँइ या झिम्काँइन याद गरिन । एक्कासि चिसो हावा चलेपछि म झसङ्ग भएँ । मैले ओडेको सल हावाले अल्लिपर पु¥याइसकेछ । हावाले सल्लाको वन सुसाएपछि मेरो एकोहोरोपन भङ्ग भयो । म आफै देखेर अलमलमा परे ! लाज लाग्यो अलिअलि । मनमा विभिन्न कुरा खेले एकैपटकमा । झन्डै दुई वर्ष सम्म सङ्गत गरेको मान्छे यही हो ? के यो मान्छे र मैले विगतमा घण्टौ घण्टा गफ गरेर विताएका थियौँ ?
मान्छे यही हो । उही नमिलेको कपाल, थोरै मिलाएका दारी, लवाइ उही जिउडाल उही । तर आज मलाई ऊ यस्तो मान्छे लाग्यो, जो सँग म पहिलो पटक कुरा गर्दैछु । कुनै पैदल यात्रामा भेटिएको अपरिचित यात्रु जस्तै ।
बजारको मुख्य चोक सातदोबाटोबाट हामी झण्डै ३० मिनेट पर थियौँ । बजारको कतै आभास नहुने ठाँउ । बेलाबेलामा कराउने जङ्गली चराको आवाज मात्र सुनिएको थियो । नाडीमा भएको घडीको मिनेट सुई त्यस्तै ३ अङ्क पार गर्ने तयारीमा थियो कि ? अरुबेला एकै छिनमा बित्ने समय आज एक्कदम लामो लागिरहेको थियो । म एक किसिमको छटपटिमा थिएँ । भन्नु पर्ने कुराहरुका लागि थुप्रै योजना बनाएको थें । यत्तिका समय वितिसक्दा पनि कुनै कुरा सुरु भएका थिएनन् । कसरी सुरु गर्ने के भनेर सुरु गर्ने?
उसको शिर देखि पाउ सम्म नियाले । तिनै खुट्टा, सधैं लगाउने चप्पल, कालो रङ्गको पाइन्ट, सेतो धर्के टिसर्ट, गोजीमा स्टारलाइन डट्पेन, ५ र १० रुपैयाँका केही नोटहरु, घाँटीमा डोरो । दुई हप्ता अघि भिमेश्वर मन्दिर जाँदा मैले नै लगाइदिएको डोरो थियो त्यो ।
उसले म तिर हेरेको थिएन । टाढाको क्षितिज तिर हेदै थिए, उसका आँखाहरु । मैले भन्न खोजेको कुरा थाहा पाएर हो की ? मनमा विभिन्न कुरा खेल्न थाले ।
“तिमीलाई के भा’छ ?” मैले सोधे ?
“केही भा’छैन” उसले छोटैमा उत्तर दियो ।
“फरक छौ नी, हिजो अस्ति भन्दा ?”
“सबैले त्यसै भन्छन् । किन र ?”
“त्यतिकै, केही भन्नु थ्यो तिमीलाई अनि बोला’को ।”
“ए ए, भन्न पर्ने कुरा कुरा त मोबाइल छदैँ थ्यो नी ?”
“व्यस्त थ्यौ र ?”
“हैन, प्रविधि उपयोग ग¥या भा हुन्थ्यो नि ।”
हो त नी, यतिखेर म झल्यास्स भएँ । मोबाइलमानै भनेको भए पनि हुन्थ्यो । यति धेरै असजिलो पनि नलाग्दो हो ।
“भन, के भन्ने हो ?” उसैले कुरा राख्यो । यो भेटमा बोलेको मध्ये उसको यो वाक्य सबै भन्दा लामो वाक्य थियो ।
सल्लाको वन एकपटक सुसायो आफ्नै गतिले । म झसङ्ग भएँ । ऊ बिस्तारै मुस्कुरायो । अरुबेला भएको भए यति बेला उसले खित्का छोडेर हाँस्ने थियो । तर आज ऊ गम्भिर थियो ।
यो सधै सुनिरहेको सङ्गित थियो । कता बज्यो । भेऊ पाइन । सम्झे, यो त उसको मोबाइलको रिङटोन थियो । उसले पाइन्टको खल्तिबाट फोन निकाल्यो । पुरानो डिजाईनको । थोत्रो भईसकेको । लागेको थियो उसले फोन काटिदिन्छ । अनुमानले हावा खायो उसले फोन उठायो ।
“ए ए, म अल्कति काममा छु ।”
“बेल्कातिर भेटौला नी ।”
उसको साथी हुनुपर्छ फोन गर्ने । मैले अड्कल काटें ।
“हैन हैन त्यस्तो काम छैन ।”
“नचाहिने कुरा मात्रै गर्न आउँच है ।”
“ह्याऽऽऽ, नचाहिने कुरा गर्नी हैन । भरे भेटौला बेकरीमा ।”
“ल ल, म आँए । आऽऽ..”
“म जानु पर्ने भो । के भन्नु पर्ने थ्यो ?” कुनै सम्बोधन नगरी मलाई सोध्यो ।
“थ्यो नी, कुरा कति छन् कति ?”
“केको भुमिका बाध्या त, खुरुखुरु भने भैगो नी ।” उसको प्रश्न सोधाईले ऊ सके सम्म यो बसाइ अन्त्य गर्न चाहेजस्तो देखिन्थ्यो ।
“अँऽऽऽ तिमी र मेरो सम्बन्धको बारेमा कुरा गर्न खोजेको..... ”
मैले कुरा पुरा गर्न नपाउदै उसले भन्यो “मलाई तिमीले के भन्छौ भन्ने थाहा भो । यस भन्दा धेरै म तिम्रो कुरा सुन्न सक्दिन ।”
यति भनेर ऊ बजार तिर दौडियो । मैले उसको बाटो हरिरहेँ । फर्केर हेर्छ की भनेर । उसले एकपटक पनि फर्केर हेरेन ।
म के गर्ने के नगर्ने भन्ने दोधारमा परें । मन खाली भयो । कुनै विचार आएनन् । एकैछिनपछि मैले मोबाइल निकाले र म्यासेज लेखेँ । “कुरा तिमीले सोचेकोभन्दा फरक छ ...... सम्बन्धलाई परिवारले मान्यता दियो !”

मिर्गे–५, दोलखा

प्रकाशित मिति : प्रकाशन मिति : शुक्रबार, 12 बैशाख, 2071

लेखकका अन्य रचनाहरु