समकालीन समाजको यथार्थ चित्रणः परिवेश

- राजेन्द्र पहाडी

सिर्जन सामथ्र्य कसैले चाहना राख्दैमा प्रस्फुटित हुन सक्छ भन्न सकिँदैन । त्यसो त सोची विचारी मात्र रचनाकर्म अघि बढ्छ, यसो भनिहाल्न पनि कठिन हुन्छ । साहित्य सिर्जनाका लागि विविध अवस्था, अक्कर, ठक्कर, रहर, कहरजस्ता अनेकानेक परिस्थितिहरु जिम्मेवार भएर देखापर्न सक्दछन् । साहित्यको फेरो समातेर जीवन र जगतको मेहेरो मार्न निक्कै मजा र आनन्द हुन्छ । अपितु सबैमा यस्तो तागत, हिम्मत, आँट र कौशलता प्राप्ति हुँदैन । जसले यस्तो शिल्प, गुण, स्वभाव र अन्तरदृष्टि हात पारेका हुन्छन्, तिनीहरु आफ्नै खालको रौनकता, जिम्वेवारीबोध र कर्मशीलतामा आल्लादित भैरहेका हुन्छन् ।

कविवर माधवप्रसाद घिमिरेले अथ्र्याएझैं ‘‘...सिर्जना शक्ति हुँदैन विफल’’ । साहित्य रसमा भिन्दै खालको शक्ति हुन्छ, अजश्र ऊर्जा हुन्छ, उत्ताल गड्गडाहट हुन्छ, जसले व्यक्तिमा संयम, शील, सकारात्मक चिन्तनभाव, सत्चरित्र, सदाचारीओझ, शालिनता, स्वसम्मान र समभावको सम्पत्ति सुनिश्चित गर्दछ । एकसरो सिर्जना र कल्पनाशीलताका लागि कुनै उमेरको सीमारेखा, भूगोलको परिधि र विधागत शर्तहरु हुँदैनन् । त्यसैले जुनसुकै अवस्था, उमेर र परिस्थितिमा चिन्तनका उच्छालहरु उम्रिन सक्छन्, फक्रिन सक्छन् र उत्तिकै गौरवमय ढंगले सुवासित हुन सक्दछन् ।

भन्ने गरिन्छ– काम गर्नै नपाई कोही पनि अनुभवी हुँदैन र अनुभव नभएको व्यक्ति स्वाभाविक रुपमा सिकारु हुन्छ, अपरिपक्व हुन्छ र लड्दै पड्दै अघि बढिरहेको हुन्छ । अहम् कुरा त ऊ अघि बढ्ने इच्छाशक्ति राख्छ कि राख्दैन भन्ने नै हो । आज हिँड्न थालनी गरेको यात्री भोली अवश्य पनि आफ्नो गन्तब्यमा पुग्न सक्छ । तसर्थ यात्राको शुभारम्भ गर्नु पनि सफलताको कुञ्जी हो भन्ने गर्दछन् जान्ने बुझ्नेहरु । साहित्यको यात्रा पनि यस्तै उहापोहले अनुबन्धित भएको हुन्छ भन्ने गरिन्छ । यस क्षेत्रका पथिकहरुको सङ्ख्या ठूलो छ, कोही अघि छन्, कोही पछि छन्, कोही ठीकैठीकै छन् । तर सबै आफ्नो यात्रामा अनवरत जुटिरहेका छन् । यही यात्रामा पछिल्लो समयमा मिसिन आएकाछन् कलिला र कान्छा यात्री शिवप्रसाद संङ्कल्प आफ्नो मुक्तकसङ्ग्रह ‘परिवेश’ लिएर ।

अग्रभागमा उठान गरिएजस्तो शिवप्रसाद कुन अक्कर, ठक्कर वा रहर, चाहनाले मुक्तक लेख्न प्रारम्भ गरे यसै भन्न सकिँदैन । तथापी यिनका प्रारम्भिक मुक्तकहरुको शब्द, लय र भाव सोझो, सुस्पष्ट, सरल र सजिलो छ । उमेरशुलभ सोच, चिन्तन, जिज्ञासा, आक्रोश, छटपटी र सपनाहरु यिनका मुक्तकमा अटेसमटेस भएको देखिन्छ । यिनले आफ्ना मुक्तकहरुमा समकालीन समाज व्यवस्थामा व्याप्त राजनीतिक, आर्थिक, सामाजिक, साँस्कृतिक, धार्मिक लगायतका विकृति, विसङ्गतीका विरुद्ध आफ्ना निर्मम भावनाहरु प्रकट गरेकाछन् । किशोरवयका चाहना, इच्छा, परिकल्पना र दृष्टिकोणहरुलाई यिनले आफ्ना मुक्तकका विषय बनाएको भेटिन्छ । सामाजिक विभेद, साँस्कृतिक पक्षपात, वैदेशिक रोजगार, संघीय राजनैतिक प्रारुप, विश्वास गुमाउँदै गएको नेतृत्व आदि विषयमा यिनका मुक्तकहरुले आफ्ना विचारहरु सम्प्रेषित गर्न चाहेका छन् ।

आफ्नो मातृभूमिप्रतिको प्रेम, श्रद्धा र भावनात्मक एकत्वको सोचाइलाई यिनले आफ्ना कतिपय मुक्तकमा समावेश गर्न जमर्को गरेका छन् । यिनले आफू बाँचेको समाजलाई सभ्य, समृद्ध, सफल र सद्भावले ओतप्रोत भएको देख्न चाहान्छन् भन्ने कुरा मुक्तकमा समाविष्ट आग्रहबाट थाहा लाग्छ । तर आफूले सोचेजस्तो नभई समाजको गति नकारात्मक व्यवहार र गतिविधिहरुले गाँजेको देख्दा यिनी चिन्तित छन् । समयमा संविधान निर्माण गर्नदेखि देशको विकासमा सबै एक भएर जुट्नुपर्ने यिनको अनुरोध साच्चिकै मननीय देखिन्छ । आम मानिसमा भएजस्तो छ सय एकजना सभासद् प्रति यिनीमा पनि उत्तिकै अविश्वास र वितृष्णा भएको कुरा यिनका धेरै मुक्तकमा भेट्टाउन सकिन्छ । राष्ट्रियताका प्रति यिनी बढि नै लालायित देखिन्छन् र एकता, सहकार्य, समन्वय र सद्भावको संस्कृति स्थापना गर्नुपर्ने कुरामा आफ्ना मुक्तकहरु मार्फत सादर आव्हान गर्दछन् ।

मुक्तक सङ्ग्रहको नाम जस्तै यिनले आफ्नो परिवेशको अन्तरकुन्तर नियाल्न कोशिस गरेकाछन् । सफल भए भएनन् त्यो आफ्नो ठाउँमा छ । परन्तु देशको मूल नीति हुनुका कारणले राजनीति बिग्रिएका प्रति यिनी ज्यादा चिन्तित र आक्रोशित छन् । यिनको ठम्याइमा राजनीति सङ्लियो भने अन्य क्षेत्रमा यसको सकारात्मक प्रभाव पर्दथ्यो भन्ने छ । हत्या, हिंसा, आतंक, चोरी चकारी, अन्याय, अत्याचार, असमानता, रोग, भोक, कुशासन, गरिबी, भ्रष्टाचार, जातीय विभेद र अनैतिक आचरणका विरुद्ध यिनको चरम असन्तुष्टि देखिन्छ । यिनका मुक्तक कतिपय ठाउमा सलल बगेका छन् भने कतिपय स्थानमा बाङ्गाटिङ्गा हुँदै अघि बढेका छन् । सिकारु सर्जक हुनुको प्रष्ट सङ्केत यिनका रचनामा धेरैथोरै भेट्न सकिन्छ । अपितु विचार संप्रेषणका दृष्टिले प्रस्तुत मुक्तकहरुले शिवप्रसादको अन्तरमनको चाहनाको प्रतिनिधित्व गरिरहेका होलान् भन्ने अड्कल काट्न असजिलो छैन ।

मुक्तकीय सिद्धान्त र मान्यताका कुरा आफ्ना स्थानमा हुन्छन् नै । तैपनि शिवप्रसाद सङ्कल्पले कलिलै उमेरमा मुक्तक सिर्जनाको बहानामा आफ्नो समाजिक परिस्थितिको यथार्थ प्रकटीकरण गर्ने जुन पर्यत्न गरेकाछन् त्यो प्रशंसनीय काम हो । आफ्नो लेखनलाई निरन्तरता दिँदै जाँदा विषयवस्तुको छनोट, लेखनको ढाँचा, भाव सम्प्रेषणको शैली, विम्ब तथा प्रतीकहरुको चयन आदिमा विस्तारै परिष्कार हुँदै जाने तथ्य निर्विवाद छ । सङ्कल्प भाइको आरम्भिक लेखनलाई सरसर्ती नियाल्दा उनले भविष्यमा थप तरक्की गर्न सक्छन् भन्ने अनुमान लगाउन कठिन छैन ।

प्रशंसनीय दृष्टिकोणको मर्मलाई आत्मसाथ गरी विश्लेषण गर्दा सानै उमेरमा शिवप्रसाद सङ्कल्पले साहित्य फाँटमा जुन खालको उपस्थिति देखाउन खोजेका छन्, यो उनकै उमेरका किशोरकिशोरीहरुका लागि ज्यादै अनुकरणीय एवम् उदाहरणीय छ । प्रस्तुत मुक्तकसङ्ग्रहभित्रका त्रुटी कमजोरी, तलमाथि, गौंडा गल्छेँडा खुट्टाउनतर्फ नलागिकन म उनको लेखन यात्राको निरन्तरता, अविराम साधना र उत्कृष्ठता प्राप्तिका लागि हार्दिक सुभेच्छा तथा शुभकामना प्रकट गर्नु उचित सम्झिन्छु । ‘परिवेश’ को पठनपश्चात अन्य बाल तथा युवावयका भाइबैनीहरुमा पनि सिर्जनकर्ममा लाग्ने जाँगर सम्प्रेषण हुन सकोस् । प्रकाशनको कार्यमा सहयोगी हात अघि बढाउने धौलागिरि क्षेत्रकै अग्रणी साहित्यिक संस्था पर्वत साहित्य सङ्गमलाई पनि हार्दिक सलाम । धन्यवाद ।

कुश्मा, पर्वत

प्रकाशित मिति : प्रकाशन मिति : शुक्रबार, 28 चैत्र, 2070

लेखकका अन्य रचनाहरु