हेडक्वार्टर

- हिरामणि दुःखी

‘कमरेड !’ आफ्नो अङ्गरक्षक प्रह्लादलाई बोलायो उसले र भन्यो ‘आज मेसको हालचाल के छ बुझ्नुस् त’ । यसरी सोध्नुको अर्थ हुन्थ्यो विशेष परिकारको अर्डर । नत्र मेस विभागले बनाएको रुटिन अनुसार नै चल्थ्यो खानाको नियमित प्रकृया । दाल, भात, तरकारी, चटनी आदि इत्यादि । एकाध दिनको अन्तरमा केही पीस मासु वा माछा र बेलुकामा एकदुई गिलास रमझम अक्सर छुट्दैनथ्यो भान्सामा । स्थानीय लोकल चामलको भात पाक्थ्यो हेडक्वार्टर र हेडक्वार्टर परिवारका लागि । त्यो चामल अलि विरलै पाइन्थ्यो र महङ्गो पनि थियो ।
हुन्छ सर भन्दै प्रह्लाद आफ्ना सहयोगीहरूका साथ तुरुन्तै मेसतिर दौडियो । हेडक्वार्टरको निवास भन्दा केही पर थियो मेस । मेसको कमाण्ड सम्हालेको थियो कमरेड विवसले । विवसलाई बाहिर बोलायो प्रह्लादले र एकान्तमा कानेखुसी गरे उनीहरू ।
‘आज विशेष खाना बनाउनु प¥यो विवस जी’ प्रह्लादले आदेश ग¥यो । विशेषको अर्थ जङ्गलतिरबाट आयातित मासु र कोदोबाट बनाइएको विशेषखालको कडा लोकल रमझम भन्ने बुझ्नुपथ्र्यो मेसविभागले । विवस केहीबेर अकमकायो । किनकि आज ती विशेष परिकार थिएनन् भण्डारमा । तैपनि हुन्छ भन्दै आस्वस्त पा¥यो उसले र केही समय लाग्ने जानकारी गरायो प्रह्लादलाई ।
‘हुन्छ । धेरै रात नपार्नुहोला है विवस जी नत्र हेडक्वार्टरको मेडम अलि झर्किनुहुन्छ क्या । साउती गर्दै भन्यो प्रह्लादले र इसारा ग¥यो एचक्युतिर ।
‘हो त्यो त मलाई पनि थाहा छ । जतिसक्दो छिटो गर्ने कोसिस गर्छु । सामान खोज्न अलि ढिला हुन्छ । बाहिर जानु पर्छ त्यसैले’ विवसले स्पष्टीकरणको भावमा जबाफ फर्कायो ।
प्रह्लाद एचक्युतर्फ फर्कियो । उता विवसले समीरको नेतृत्वमा पाँचजनाको टोलीलाई नजिकै रहेको झिनुवाको जङ्गलतिर शिकार गर्न पठायो । साथै चुमानको नेतृत्वमा दुईजनालाई कोदोबाट बनाइएको लोकल खोज्न दुईखोलीतर्फ पठायो । मेसका अन्य सदस्यहरू सबै आ–आफ्नो ड्युटीमा यन्त्रवत् खटिए ।
ठण्डी मौसम थियो । पुस महिना भएकाले दिनमा आकाश डम्म ढाकिन्थ्यो । हिउँ पर्लापर्ला जस्तो गरेको हप्ता नाघिसकेको थियो तर हिउँ भने परिसकेको थिएन । उता हिमाली भेकतर्फ हिउँ परिसकेको थियो । सेताम्मे थियो जलजलाको धुरी पनि ।
शिकार गर्न गएको टोलीले रतुवा मारेर ल्यायो ।
युद्ध सुरु भएदेखि जनताका सबै घरेलु हतियार माओवादीले कब्जा गरेपछि गाउँलेहरूले शिकार खेल्न छाडेका थिए । कहिलेकाहीँ खेल्न मनलागे जनसत्ताको अनुमति लिनु पथ्र्यो । त्यसपछि जनमिलिसियाहरूका साथमा मात्र खेल्न पाइन्थ्यो । त्यसैले जङ्गलमा मृग, बँदेल, कालिज, तित्रा र च्याखुराहरू जस्ता शिकार छ्याप्छ्याप्ती पाइन्थे । त्यस्तै अन्य जङ्गली जनाबर र पञ्छीहरूका बगाल पनि बढिरहेका थिए ।
जलपान लिन गएकाहरू पनि पाँचलिटरे जरकिनभरि कोदोको रमझम लिएर आए । संयोग पनि राम्रै जुट्यो । उता हेडक्वार्टरमा आज विशेष पाहुना थपिएका थिए । कुनै विषयमा छलफल गर्न र नयाँ योजना बनाउन एचक्यु टिम केन्द्रित हुन्थ्यो । त्यसैले आज एचक्यु टिमका अन्य सदस्यहरू बोलाइएका थिए । एचक्यु टिमका दुईजना जेल परेकाले त्यहाँ तीनजना मात्र उपस्थित थिए ।
खाना तयार हुँदा रातको आठ बजिसकेको थियो । रातको मौसम अझ चिसो हुँदै थियो । स्टिलको थालभरि रतुवाको कट्नेसी र कोदोको रमझम लिएर मेस विभागबाट विवस र सुवोध एचक्युमा आए ।
‘हेडक्वार्टर कमरेड ! नास्ता तयार भयो’ विवसले जानकारी गरायो ।
‘ल ठिक छ विवस जी, बाहिर स्टाफहरूलाई पनि यसो हेर्नुहोला है’ हेडक्वार्टरले मुस्कुराउँदै भने ।
‘त्यो त भै हाल्छ नि’ स्वीकारोक्ति जनायोे विवसले ।
स्टिलका गिलाँस चियर्स गर्दै तिनै जना नेताहरूले सुक्र्याए । खानपिनको रमझम निकै गरम भयो । गफगाफ पनि निकै भए । नेपाली क्रान्तिका ठुलठुला योजनाहरू बुनिए । अब युद्ध धेरै नलम्ब्याउने भन्ने कुरा गरे कमरेड हेडक्वार्टरले । ‘युद्ध धेरै लामो भयो भने नेतृत्व पङ्क्ति पनि समाप्त हुन सक्छ’ हेडक्वार्टरले अलि गम्भीर हुँदै तर्क गरे । उनको सङ्केत आफ्नो असुरक्षातर्फ केन्द्रित थियो । किनकि केही दिन अगाडि उनले छोडेको निवासमा दुश्मनले बमबार्ड गरेको थियो । त्यो समयमा आधारक्षेत्रमा ब्यापक अप्रेशन पनि गरेको थियो दुश्मन सेनाले । यस घटनाले आतङ्कित बनाएको थियो हेडक्वार्टरलाई । यद्यपि उनले प्रवासमा ठुला नेताहरूको ठुलै लर्को समातिएको घटनालाई लिएर तर्क गरिरहेका थिए । त्यसैकारण आपूm प्रवासको बर्सौंको बसाइँ छाडेर भित्र पसेका पनि थिए । यता भित्र आएपछि झन् दिनहुँको बमबार्डले उनलाई बेचैन बनाएको थियो । कतै संसार जितेर सम्राट बन्ने सपनाले हावा खाने त होइन ? मनमा चिसो पसिसकेको थियो । कसरी युद्धलाई शान्तिपूर्ण अवतरण गराउने भन्ने योजना बुन्नमा हेडक्वार्टर सोचमग्न थियो । धेरै मन्थनपछि उपाय सुल्झियो ‘अब सातघरेहरूसँग तालमेल गरेर जाने, नयाँ जनवादी क्रान्तिको बाटो त्याग्ने’ । यसकुरामा हेडक्वार्टरलाई कामरेड उपाधिले सहयोग गरे । तर यो कुरा पार्टीमा कसरी मिलाउने भन्ने कुरामा केही अलमल भयो ।
कामरेड उपाधिले भने ‘युद्धको नयाँ रूप भनेर जानु पर्छ’ ।
‘ठिक भन्नु भयो’ कामरेड हेडक्वार्टरले भने । ‘उता छिमेकीलाई मिलाउने जिम्मा तपाइँको, यता पार्टीमा र सातघरेहरूसँग तालमेल मिलाउने जिम्मा मेरो’ हेडक्वार्टरले कार्यविभाजन गरे । ‘पार्टीको बैठक बसेर हाम्रो कमिटीकाहरूलाई ठिक पार्ने त्यसपछि उनीहरूलाई नै प्रवक्ता बनाएर तलका कार्यकर्ताहरूलाई सन्त्याउने, अनि बाटो खुला र सहज हुन्छ’ हेडक्वार्टरले योजनाको विस्तृत खाका प्रस्तुत गरे । हेडक्वार्टरको योजना मुताविक सबै काम पुरा भयो । उता छिमेकीसँग भेटघाटको चाँजोपाँजो सबै मिलाउन श्रीमतीसहित कामरेड उपाधि बाहिर हिँडे ।
भेटघाटको चाँजोपाँजो सबै मिलेपछि सातघरेहरूका मित्रमण्डलीलाई पनि बोलाइयो । हेडक्वार्टर पनि उतै लागे । सबैसँग भेटघाट भयो । कुराकानी मिल्यो । छिमेकीको रोहबरमा तमसुक लेखियो र दुबै पक्षले सहिछाप ठोके । लेनादेना पुरा भयो । दिव्य बाह« बर्सको महाभारतलाई विश्राम दिन कामरेड हेडक्वार्टर र कामरेड उपाधि राजी भए । यसबापत सातघरेहरूले आफ्नो कुलगोत्रमा कामरेड हेडक्वार्टरको गोत्रलाई मिलाउन सहमत भए । उता छिमेकीले पनि आइन्दा आफ्नो विरोध नगर्न कामरेड हेडक्वार्टरलाई निर्देशन ग¥यो । साथै छिमेकीले कामरेड हेडक्वार्टरलाई अबदेखि पार्टीलाई कामरेड उपाधिको योजनामा चलाउनू भनेर पनि आदेश ग¥यो । हेडक्वार्टरले ‘जो आज्ञा’ भन्दै स्वस्ति गरे । सबै भित्र फर्किए ।
केही समयपछि चुनखोलामा पार्टीको बैठक बस्यो । पूर्वयोजना अनुसार पार्टीका तल्ला नेताहरूलाई ठोकठाकपछि ठिकठाक पारियो । सबै सहमत भए । एकापसमा गला मिलाए । चुनखोलाको बैठकपछि ‘क्रान्ति’को नयाँ विगुल फुकियो । आफ्नो बर्सौंदेखिको सपना पुरा भएकोमा कामरेड उपाधि भित्रभित्रै गद्गद् थिए । कामरेड हेडक्वार्टरले सुइइय गर्दै लामो सास फेरे । आफ्नो सपना अन्तै मोडिएकोमा केही असमञ्जस त थिए तर उप्रान्त ज्यानको जोखिम हटेकोमा भने खुसी हुँदै जुङ्गा मुसारिरहेका थिए । गानाबजाना चल्यो । कलाकारहरूले लडाइँका दुखान्त घटनाका नाटक देखाए, नाचे, गाए । आन्दोलनलाई गलत बाटोमा नलैजान खबरदारी गरे । नेताहरू साँक्कसुँक्क गरे । नाचगानको कार्यक्रम पुरा भयो ।
रात प¥यो । एचक्यु टिमका लागि गरम खानपिन तयार भयो । खानपिनका लागि विशेष कोठातर्फ लागे उनीहरू । सबै दर्शक नेताहरू र कलाकारहरू पनि आ–आफ्ना ठाउँतिर लागे । खानपिन गरे । सुते ।
.....
केही समयपछि युद्धको बाटो बदलियो । पार्टी अर्को दिशामा अवतरण भयो । सातघरेहरूसँग तालमेल गरियो । कामरेड हेडक्वार्टरले कामरेड उपाधिसहितको पारिवारिक टोली लिएर सातघरेहरूको गोत्रघरमा प्रकट भए । उनीहरूलाई सातघरेहरूले भब्य स्वागत गर्दै भित्र्याए र आफ्नो कुलगोत्रमा मिलाए । तमसुक लेखियो । दुबैले लेनादेनाको सहिछाप गरे । गराए । अबउप्रान्त कामरेड हेडक्वाटर्र गुफा नपस्ने सहमति भयो । अब त ज्यान बाँच्यो भन्दै कामरेड हेडक्वार्टर अन्तरहृदयदेखि नै प्रफुल्ल देखिए । दिव्य बाह« बर्सको ध्यान तपस्याबाट आर्जित शक्ति प्रदर्शन गर्दै लामै प्रवचन दिए कामरेड हेडक्वार्टरले । देशदेशावरका सयौँ दूतहरू र खवरदाताहरूले ध्यानमग्न भएर उनको प्रवचन सुने । टेलिभिजन र रेडियोहरूले घटनाको प्रत्यक्ष प्रशारण गरे । देशवासीहरूले हेडक्वार्टरको प्रत्यक्ष दर्शन गर्न पाए । साथै उनको दिब्यवाणी समेत सुन्न पाएकोमा मन्त्रमुग्ध भए । देशमा नयाँ अवतारै जन्मेकोमा मख्ख परे । सातघरेका मुलीले हेडक्वार्टरलाई ठुलो शक्ति बुद्धि आर्जन गरेछौ भन्दै धाप मारे । स्याबासी दिए । अब मेरो उत्तराधिकारी भएर विँडो थाम्ने जिम्मा तिम्रो भयो भन्दै आफ्नो उमेरले डाँडो काटेको जनाउ दिए । आपूmहरूलाई कुलगोत्रमा मिलाएकोमा कामरेड हेडक्वार्टरले पनि सातघरेका मुलीलाई कृतज्ञता प्रकट गरे । एउटा अध्याय समाप्त पारी अर्को अध्याय सुरुआत भएको घोषणा गरियो । सबै आ–आफ्नो डेरातर्फ लागे । कामरेड हेडक्वार्टर र कामरेड उपाधिको टोलीलाई सातघरेहरूले सहरका ठुलठुला तारेहोटेलहरूमा सेल्टरको व्यवस्था मिलाइदिए । होटेल मालिकहरूले पनि राता र ताता कामरेडहरूको टोलीलाई स्वागत गर्न र लजिङ फुडिङको व्यवस्था गर्न पाएकोमा गौरवान्वित भए । उता कामरेडहरूको टोली पनि आफ्नो चामत्कारिक सफलता मिलेकोमा युद्ध जितेको महसुस गरे । यो चमत्कारलाई नेपाली युद्धकलाको नयाँ रूप भएको संश्लेषण गरे । तारेका रमझममा व्यस्त भए ।
पार्टीका तलका नेता र कार्यकर्ताहरूले आफ्नो हेडक्वार्टरबाट चमत्कार गर्दै नयाँ युगको शुभारम्भ गरेको जानकारी गराउन देशभर सभाको बन्दोवस्ती मिलाए । देश माओवादीमय भयो । ‘सबै नेपाली माओवादी, सबै माओवादी नेपाली’ भन्ने नाराले धर्तीआकाश गुञ्जायमान भयो । देशका ठुलठुला उद्योगी, ब्यापारी, ठेकेदार, गुप्तब्यापारीहरू खादा, पूmलमाला र ब्रिफकेश लिएर हेडक्वार्टरको दर्शनभेट गर्न तारेहरूमा लर्को लागे । विदेशी पाहुनाहरू पनि रेडलेवल र ब्ल्याकलेवल लिएर हेडक्वार्टरको दर्शनभेटमा लामवद्ध भए । शहरका सबै तारेहोटेलहरूमा हेडक्वार्टरको स्वागत गर्न स्पर्धा नै चल्यो । स्वास्नी, छोराछोरी, भाइभतिजा, भाञ्जाभाञ्जीलगायत नाताकुटुम्ब सहितको दलवल लिएर नयाँ घरजम गरे हेडक्वार्टरले । निवासको रक्षार्थ सरकारले जम्बोटोली फौज पठायो । सरकारी फौजले आफ्नो गाथगादीको रक्षा गरेकोमा कामरेड हेडक्वार्टर पुलकित भए ।
युद्धका फौजहरू देशका विभिन्न ठाउँहरूमा क्याम्प जमाएर बसालिए । सात समुद्र पारीबाट दूतहरू आएर क्याम्पमा बसे । उनीहरूले फौजलाई खोरमा राखेर तिनको निगरानी गरे । फौजका लागि देशदेशावरबाट दानापानी ओसारियो । सरकारी दानापानीको बन्दोवस्ती मिलाइयो । सरकारी दानापानीबाट फौजका कमाण्डरहरूले सिलित्त बग्ने महङ्गा गाडी किने, सहरहरूमा घरघडेरी जोडे । ठुलठुला ठेक्का र व्यपारमा लागे । लगाए । ठेक्का र ब्यापारबाट आएका कमिसन फौजका मुख्य कमाण्डर नेताहरूसम्म पु¥याइयो । सरकारी दानापानीबाट जम्मा पारिएको ठुलो रासी नियमित रूपमा कामरेड हेडक्वार्टरसम्म पु¥याउने व्यवस्था मिलाइयो । हेडक्वार्टरमा दिन दुगुना रात चौगुनाले ढिकुटीको थुप्रो लाग्दै गयो । हेडक्वार्टर पुलकित हुँदै गर्वले छाती फुलाउँदै गए । कामरेड हेडक्वार्टरले ढिकुटीको रक्षा गर्ने जिम्मा श्रीमती र छोरा भतिजाहरूलाई दिए । परिवारका सदस्यहरूको बाक्लो घेराबन्दी तयार गरियो । श्रीमती, छोराछोरी र आफ्ना भित्रियाहरूको टोली लिएर हेडक्वार्टर देशदेशाटनमा निस्किए ।
......
दिन महिना हुँदै बर्स बित्दै गए । प्रवासबाट पनि एचक्यु टिमका अन्य सदस्यहरू र नेताहरू छुटेर आए । कामरेड हेडक्वार्टर र कामरेड उपाधिपट्टिका भित्रियाहरू ठेक्कापट्टा, बन्दब्यापार, घरघडेरीको कारोबार तथा काष्ठजन्य पदार्थ र किराफट्याङ्ग्राहरूको गुप्तब्यापारमा लागे । पार्टीमा कमण्डलु, झोलीतुम्मा र शङ्खघण्ट लिएका नयाँ जोगी, पण्डा, फकिर र नन्दी भृङ्गीहरूको लस्कर पस्यो । कोही एक्लाएक्लै पसे, कोही बथान बथान बनाएर पसे । कामरेड हेडक्वार्टर तथा कामरेड उपाधिहरूलाई स्वागत गर्न र भित्र्याउन भ्याइ नभ्याई भयो । ती पण्डा, जोगी र फकिरहरू कामरेड हेडक्वार्टरको भजनकिर्तनमा अहोरात्र खटिए । उनीहरूले कामरेड हेडक्वार्टर र उपाधिपट्टिका पुराना मित्रमण्डली र युद्धबाट आएका भित्रियाहरूलाई समेत भजनकिर्तन र शास्त्रका श्लोकहरू घोकाए । यसबाट कामरेड हेडक्वार्टर अझ शक्तिशाली बन्दै गए । उनले आफूलाई देशदेशावरबाट ठुलठुलो समर्थन आएको र आफ्नो यात्रा सही भएको भन्दै बिरोध नगर्न अन्य नेता कार्यकर्ताहरूलाई चेतावनी दिए । उनको चेतावनी अस्वीकार गर्दै आलोचना, टिकाटिप्पणी गर्ने र आफ्नो यात्राका बारेमा प्रश्न उठाउनेहरूलाई शनैःशनैः पाखा लगाउन थाले । हेडक्वार्टरको यो क्रियाकलाप देखेपछि उनका भित्रियाहरू झनै ठुलठुलो स्वरमा उनको स्तुतिगान गर्न थाले । पार्टीमा हेडक्वार्टरको भजन गाउने, उनको यात्रालाई सही भन्ने र नभन्नेहरूका वीच दुईवटा समुह बने ।
चुनखोलाको बैठकले लिएको नीतिका बारेमा छलफल र बहस सुरु भयो । कामरेड हेडक्वार्टर र कामरेड उपाधिको गठजोड र नियतमाथि संशय पैदा भयो । खटपट सुरु भयो । पार्टीमा हेडक्वार्टरले गन्तव्य भुलेको, बाटो बिराएको, विगतको आफ्नो सपनाप्रति घात गरेको भन्नेहरूको जमात बढ्दै गयो । पार्टीमा चलेको गरमागरम बहसलाई हेडक्वार्टरले पटकपटक चिसो पानी खन्याउँदै साम्य पार्न थाले । तर पनि बहसको आगो भुसको आगोझैँ सल्किँदै गयो । अन्त्यमा युद्धबाट आएको एउटा टोली हेडक्वार्टरका विरुद्ध धावा बोल्न कम्मर कस्यो । बहसले अझ मुर्त रुप लिन थाल्यो ।
अहिले युद्धकालको विशाल फौज पनि छैन ऊसँग । कति फौजलाई सरकारी पैसासँग बिनिमय गरेर क्षतबिक्षत पारिसक्यो ऊ आफैँले । कति विदेश पलायन भए । कति सरकारी पिटी परेडमा सामेल भए । यसरी पछिल्ला दिनमा आफैँलाई घाँडो बनेका विशाल फौज समाप्त पार्न सफल भएकोमा कामरेड हेडक्वार्टर र उपाधिले केहीदिन चैनको ठुलो सास फेरे । प्रफुल्ल भए । यसो गरेकोमा सातसमुद्र पारीका मित्रमण्डलीहरूले हेडक्वार्टर र उपाधिलाई स्याबासी दिए । स्वागत गरे र आफ्नो मुलुकमा प्रवेश खुलेको सुचना जारी गरे ।
......
अचेल हेडक्वार्टरलाई राम्रोसँग निद्रा पर्ने गरेको छैन । बेचैन छ ऊ । न त भोकको महसुस नै हुने गरेको छ, न त निद्राको । भित्रै छटपटी, बाहिरै छटपटी । आफ्नो शरीरका तन्तु गल्दै गएको महसुस गरिरहेछ ऊ । उसो त उसलाई सांसारिक जीवनका सबै सुखसुविधा र भोगविलासको कुनै कमी छैन । क्षणभरमा संसारका कुनै पनि कुनामा जाने निर्णय गर्न स्वतन्त्र छ ऊ । उसले आफ्नो इच्छा प्रकट मात्र गर्नु पर्छ, भारदारहरूले त्यसको सम्पूर्ण बन्दोवस्ती मिलाउँछन् र ख्वामितका पाउमा तयारी पुरा भएको जाहेरी गर्न हाजिर हुन्छन् । उसका इच्छा मुताविकका पक्वानहरू तत्क्षण तयार हुन्छन् । अहँ ! उसलाई यतिले पनि चैन दिन सकेको छैन । खुसी दिन सकेको छैन । मनमा सुनामी उर्लेको उल्र्यै छ । दिनभरको थकान मेटाउने र दुईचार घण्टाको रात आरामले विताउने काममा रेडलेबल र ब्ल्याकलेबलले साथ दिन्थे । अहिले त ती पनि फिका भैसके । एउटा रौँ पनि हल्लाउन सके पो । कस्तो बिडम्बना ! अकल्पनीय बर्गउत्थान हुँदा पनि बेचैन । केही नहुँदा पनि बेचैन । यो मानिस भन्ने जन्तु नै अजिव छ ।
जीवनका अनेकौँ घुम्ती र मोडहरू पार गरेको छ उसले । बरू अप्ठ्यारा मोडहरूमा पनि शान्ति थियो उसलाई । हेडक्वार्टर हुनुको सान–सौकत नै बेग्लै थियो । आफ्ना अगाडि सबै नतमस्तक हुन्थे । अहिले बाटाघाटै बेइज्जत गर्न सिङ उध्याउँछन् तिनै दौँतरीहरू । कस्तो अचम्म । के भएको हो यो ।
एउटा समयमा जब ऊ पदोन्नति भएको थियो, उसको नामाकरण भयो ‘हेडक्वार्टर’ । अब उसका दौँतरीहरूले पनि उसलाई नामबाट सम्बोधन गर्दैनन् । कामरेड हेडक्वार्टर भन्छन् । हुन त उसको नाम पटकपटक बदलिएको छ । छत्रबाट कमल, त्यसपछि विशाल अनि निर्माण । केके हो केके । अहिले ऊ कामरेड हेडक्वार्टरले नै सम्बोधित छ । कसैकसैले एचक्यु पनि भन्छन् उसलाई । आपूmभन्दा तलकाहरूका निम्ति त ऊ कलियुगको ‘भगवान’ नै थियो । माहाभारतमा बर्णित कृष्णलिलाकै अवतार जस्तो मानिन्थ्यो ऊ । उसको नेतृत्वमा विशाल फौज मेची–काली फैलिएका थिए । कलियुगको महाभारतकै लडाइँ चलेथ्यो । कुरुक्षेत्र जस्तै बनेको थियो देश । युद्धका बेला उसले एउटा बेग्लै सपना देखेको थियो । आफ्नो देश त के संसार हल्लाइदिन्छु भन्थ्यो ऊ । परन्तु समयक्रमले ऊ आफँै हल्लिरहेछ यतिखेर ।
सूत्रधारले कमरेड छत्र कसरी हेडक्वार्टरमा रुपान्तरित भयो र कसरी ऊ आज बेचैन छ भन्ने कुराको बेलीविस्तार लगायो । युद्धका अनेकौँ घटनाक्रमहरूको नालीबेली बतायो । उसले पहिला त सहरमा गनेचुनिएको सभाहलमा यी सबै घटनाक्रमको जानकारी गराउन आफ्ना सुभेच्छुक समर्थकहरू भेला पारेको थियो । पछि उसका कुरा सुन्न गाउँगाउँबाट मान्छे ओइरिन थाले । सभाहल खचाखच भरियो । मान्छे अटनखटन भए । भीडबाट जुरुक्क उठेर चर्को चर्को स्वरमा कराउँदै एउटाले भन्यो ‘सूत्रधार ! बाहिर मञ्चमा आउनु प¥यो । अब यस्तो कुरा आफैमा सीमित राख्नु भएन । सार्बजनिक गर्नुप¥यो र सबैलाई जानकारी गराउनु प¥यो । सुचना पाउनु जनताको अधिकार हो ।’
‘हो हो’ भन्दै अरूहरू पनि ज¥याकजुरुक उठे र भने ‘यो हेडक्वार्टर गद्दार हो, धोकेबाज हो । अब यसको पछि लाग्नु हुन्न ।’ हलमा सबैले तालि बजाए । धेरैबेरसम्म तालि बजिरह्यो । हलमा नारबाजी नै हुन थाल्यो ।
‘अब गद्धार र धोकेबाजहरूलाई छोडिन्न ।’
‘हो हो छोडिन्न । छोडिन्न ।’ सबै एकस्वरमा कराए । हलबाट सबै निस्किए । सूत्रधार अघि लाग्यो । अरु सबै पछि लागे । नाराबाजी गर्दै सहरको मूल सडकमा विशाल ¥याली निस्कियो । रातो कपडामा हँसिया हथ्योडा अङ्कित विशालकाय झण्डा हातहातमा लिएर शीरमा कफन काँधेर राता भेष्ट लगाएको जुलुसले सहर राताम्य भयो । विद्रोहको दुन्दुभी बज्यो । जुलुस धेरै अघि बढिसकेको थियो । नेपथ्यमा आवाज रोकिएको थिएन ‘युद्ध जारी छ ! युद्ध जारी छ ! धोकेवाज र गद्दारहरू मूर्दावाद !’

२५ फागुन २०७०, तुलसीपुर, दाङ ।

प्रकाशित मिति : प्रकाशन मिति : शनिवार, 22 चैत्र, 2070

लेखकका अन्य रचनाहरु