भ्रममा लोकतन्त्र

- ओमप्रसाद घायल

फूलमाया !
लोकतन्त्रको सुन्दर ऐनाअघि उभिएर
आफूलाई हेर्दा
यतिखेर आफ्नै अनुहार
अस्पष्ट देखिएको तिम्रो गुनासो
मलाई पनि सत्य लागिरहेछ ।
फूलमाया †
किन चिन्न सकेनौ हामीले हाम्रो तस्वीर ?
लोकतन्त्रको यो सुन्दर ऐनाभित्र
हामीले सोध्नु छ हाम्रो देशतिर फर्केर
किन हामीलाई ढाँटिरहेको छ सँधै–सँधै ।
हाम्रो प्रिय लोकतन्त्रले †

तिमीले देखिरहेकी छौं फूलमाया †
लोकतन्त्रको नागरिक सदनमा यतिखेर
बन्दसत्र शुरु भएको छ भर्खरै ।
लोकतन्त्रको माथि सदनमा पदासिन महोदयसँग
हात उठाएर प्रतिवाद गर
‘जनआन्दोलनको मैदानमा
पिठ्यूँमा छोरी र पटुकीमा सातु बोकेर
हामीले बगाएको रगत र पसिनाको मूल्यको बदलामा
हाम्रो प्रिय सत्ताले
भर्खरै हामीलाई दिएको महङ्गीको उपहार
हामी अस्वीकार गर्छौ भनेर ।’

फूलमाया मपनि आफैप्रति द्विविधामा छु यतिखेर
किनकि हामी आफैंले
रैतिबाट नागरिक भएको घोषणा गरेको
अहिले सातबर्ष पुरा भएको छ
तरपनि हामी सत्ताधारीहरुको
कुरुप दासतामा अझै आफूलाई किन समर्पित गरिरहेछौं †
यो विडम्बना हो प्रिय ।

हाम्रो बलशाली तागतको व्यानरमा उभिएर
हामीप्रति नै आघात गर्ने
माथिल्लो सदनका महामहिमहरुलाई
औंला उठाएर अब
हाम्रो रगत र पसिनाको मूल्य माग्नुछ, फूलमाया
र,
देशतिर फर्केर सोध्नुछ एउटा ‘यक्ष प्रश्न’
बर्षौदेखिको कुकृतिको किन भइरहेछ पुनरावृत्ति
पात्र सँधै फरक–फरक तर किन एउटै प्रवृत्ति †

बलेवा, बागलुङ

प्रकाशित मिति : प्रकाशन मिति : शनिवार, 22 चैत्र, 2070

लेखकका अन्य रचनाहरु