अतीतको पीडामा मलहम

- आन्ना ढुङ्गेल

चैतमासको दिन, काठमाडौंमा कठ्याङग्रिदो जाडो सकिएर सबैतिर न्यानोपनको पारिलो घामले छ्याङग खुलेको नीलो आकाश । यो पटक अघिल्ला वर्षहरुमा झै पानी पर्न भने सकेको थिएन । अब त काठमाडौंको बस्ती पनि निकै बाक्लिइसकेछ । दिउँसो त तराईको जस्तै प्रचण्ड गर्मी पो हुन थालेछ । त्यसमाथि पनि हाम्रो देशमा हुने लोडसेडिङ । झन् झन् बढ्दो पो छ । जलस्रोतको जति नै धनी देश भए पनि बत्ती नै पो कहाँ आउँछ र ? लोडसेडिङ्ग मात्र नभइदिए यसो पंखाको तातै हावाले पनि केही राहत दिन्थ्यो होला । हावा पनि चल्न छोड्यो क्यार । चलोस् पनि कसरी ? आजकाल त शहरको विकास भन्दै सडक किनारमा भए जति जम्मै रुख विरुवा काटेर सखाप नै पारिसके । यही एउटा पीपलको बोटचाहिँ बाँकी बसेको छ । धन्न कुनै सामाजिक व्यक्तित्वले यति चौतारो भए पनि बनाइदिएछन् । केही बेर भए पनि यो रुखमुनिको चौतारोमा बस्नुको आनन्द नै बेग्लै । तर शहरको बसाइ, यसरी आनन्द लिन चौतारोमा बसिरहन पनि कहाँ पाइने हो र ? दिनहुँजसो मरिमेटेर काम गरिरहनु पर्ने । धेरैको मन बहलाउने ठाउँ भएको थियो यो । कतिपय थकित अनुहारहरुलाई एकछिन भए पनि चौतारोको बसाइले प्रसन्न गराउँथ्यो ।

उफ्........... एकदिन मलाई पनि निकै गर्मीको महशुस भएकाले एकछिन भए पनि चौतारोका हावामा तावा खाँदै आनन्दाको अनुभूति गर्नुप¥यो भन्दै बसिरहेको थिएँ । त्यस दिन त्यहाँ खासै धेरै मानिसहरु थिएनन् । म चौतारोको डिलमा दुवै खुट्टा तल झुण्ड्याएर बसिरहेको थिएँ । आफ्नो अनुकुल पर्दा म यसभन्दा अघि पनि धेरैचोटी यस ठाउँमा गएकी थिएँ । त्यहाँ मैले जहिले पनि एक वृद्धालाई देख्ने गरेकी थिएँ । उनी भन्थिन्– एकछिन भए पनि यस ठाउँमा आएर बस्नु मेरो दैनिकी नै बनिसक्यो । तर आजभने मैले उनीलाई त्यहाँ देखिनँ । उनलाई त्यस ठाउँमा नदेख्दा कता कता चौतारोको शोभा नै हराएजस्तो लाग्यो । उनको अनुहार मलाई चिरपरिचित जस्तै लागेकाले कहिलेकाहीँ हाम्रो सामान्य कुराकानी पनि हुन्थ्यो । आज मैले तिनै बृद्धालाई करिव १ घण्टा जति नै कुरें । उनी आइनन् । म अमिलो मन पारेर घरतिर फर्किए ।
एकसाता पछि म फेरि त्यसै ठाउँमा आएँ । आश्चर्य के भने त्यस दिन बुढी आमा मभन्दा निक्कै पहिले नै पुगिसकेकी रहिछिन् । त्यसदिन चौतारो वरिपरि अरु कोही थिएनन् । मैले यसो हेरेको त उनी खडेरीमा मुल फुटे झैं आँखाबाट मोतीको सागर बगाउँदै रहिछिन् । किन होला ? मेरो मनमा खुल्दुली मच्चियो । जान्ने उत्सुकताले म उनको नजिक सरे । उनले पुलुक्क मलाई हेरिन् र खिस्स रुन्चे हाँसो हासिन् ।

नमस्ते आमा ! उनले पनि नमस्ते फर्काइन् । मैले सधैँजसो तपाईलाई आज पाइन नि । फेरि तपाईं त सधै यस ठाउँमा दिनहुँ आउँछु भन्नुहुन्थ्यो होइन र ? एकसाता अगाडि म आएको थिएँ । धेरै बेर बसें तर तपाईलाई कतै देखिनँ । किन तपाई एकसाता पछि बल्ल आज यहाँ आउनु भएको हो ? फेरि आज यसरी किन हुँदै हुनुहुन्छ ? यसरी एक्लै चौतारीमा बसेर रुनुको कारण के होला आमा ? के म तपाईंको रुवाइबारे जान्न सक्छु ? .......................
उनी मौन भइन् र अझ मेरो नजिक सरिन् ।
घर कता हो नानी तिम्रो ?
रामेछाप
यहाँ कता बस्नुहुन्छ ?
बानेश्वर
के काम गर्नुहुन्छ ?
सामान्य यसो पेट पाल्ने काम गर्छु ।
अब यतै बस्ने विचारमा हुनुहुन्छ ?
सायद बसिन्छ होला ।
के तिमी विवाहित हौ ?
हजुर !
अनि श्रीमान कहाँ हुनुहुन्छ ?
यतै हो
बालबच्चा ?
छन्
पढ्दै होलान् होइन ?
हजुर !
काम सामान्य पेट पाल्ने मात्र हो भन्नु हुन्छ अनि काठमाडौंको बसाइ, घरभाडा, छोराछोरी पढाउन गाह्रो पर्दैन ?

मलाई झनक्क रिस पनि उठ्यो सधैभरी यसैका लागि घोटिएर काम गरेको कसले देख्ने ? मान्छे पनि कस्ता कस्ता भेटिन्छन् भन्या ? यदि प्रत्येक प्रश्न सोधाइमा पैसा लाग्ने भइदिए कसले पो सोधीखोजी गथ्र्यो होला र ? त्यही गाह्रो परेर त मरिमेटेर काम गर्नु परेको छ । म अलि झर्केर उत्तर दिन्छु । उनी फेरि पनि कुरा अघि बढाउँदै भन्छिन्–
तिम्रो उमेर कति भो ?
किन चाहियो तपाईंलाई ?
के आज तपाईं मसँग अन्तरर्वार्ता लिँदै हुनुहुन्छ ? कि मलाई कुनै कथाको पात्र बनाउँदै हुनुहुन्छ ?
हैन, किन रिसाएकी नानी ?, नरिसाउ न ।
तिमीलाई मेरो प्रश्नको जवाफ दिँदा अप्ठेरो पर्छ भने भैगो त ।
केहीबेर त बोल्नै मन लागेन त्यससपछि उत्तर दिन्छु– २६ वर्ष ।
फेरि सुरु हुन्छ, बच्चो कति वर्षको ?
६ वर्षको ।
सानै उमेरमा विवाह भएको रहेछ, बच्चा पनि सानै रहेछ । अनि अहिले कसलाई छोडेर यहाँ आउनु भएको त ? त्यतै खेल्दै होला । कति कठोर मन छ है तपाईंको । घरमा बच्चा एक्लै छाडेर यहाँ हावा खान आउनु भएको छ । एक्लै–एक्लै यसरी छाडेर हिंड्दा कतै उसलाई केही भएदिए नि ? उनको यो प्रश्नले म झस्किएँ । मेरो मन बिथोलियो र आँखा भरिए । मैले आफूलाई सम्हाल्दै भने– उनीहरुकै भविष्यका खातिर हामी संघर्ष गर्दैछौं । के गर्नु एकछिन थकाइ मारेन भने भोलिदेखि काममा जान सकिँदैन । यसलाई रहर भन्न मिल्दैन आमै यो मेरो बाध्यता हो । अनि मैले यसो बुढीलाई नियालेको त उनी त झन् झन् रुँदै रहिछिन् । मैले भने किन रोएको आमै ? तपाईं भित्रको पीडा कस्तो हो ? जो तपाईंले झारेको आँसुले बताउँदैछ । अब म उनी भएतिर फर्किएँ र सोध्न थाले । उनको रुवाइको स्वर झन् झन् चर्कियो । मैले भने हेर्नुस् आमैं, पीडालाई भित्रभित्रै गुम्स्यायो भने झन् त्यसले विकराल रुप लिन्छ । कहिले काहीँ पीडालाई उकेल्नु पनि पर्छ त्यसले केही हलुका हुन्छ । मैले यति भनेपछि उनको अनुहार एकैछिनमा निक्कै उज्यालो भयो आँखा निलो गगन झँै सफा र उत्सुक देखिए । ओठमा मलिन मुस्कान सहित उनी मलाई सोध्छिन् भोक लाग्ने बेला भएन ? हजुर, हुन लाग्यो अनि तपाईंलाई नि ? त्यस्तै त्यस्तै हो उनी भनिन्छन् । म फेरी प्रश्न गर्छु तपाईंको नाम ? मुसुक्क हाँसेर केही बेरपछि यतिका चिनजान पछि ? बल्ल नाम .................
मलाई उनको आँशुको रहस्य जान्नु थियो उनको जिन्दगी पढ्नु थियो त्यसैले मैले कुरा कोट्याएं तपाईं आज निक्कै दुःखी हुनुहुन्छ यस्तो बेलामा भन्न ठिक हुन्छ हुन्न मलाई थाहा भएन तर तपार्इं कस्तो पीडा बोकेर बाच्नु भएको छ कृपया भन्न मिल्छ भने मात्र....मैले विनम्र अनुरोध गरें । उनी बेसुरमा बर्बराउन थालिन् ....

म १४ बर्ष पुरा हुँदा नहुँदै मेरो विवाह भयो । विवाह पश्चात् वर्षैपिच्छेका दुई भाइ छोरा जन्मिए । हामी धेर थोर जे भएको आफ्नो खेती किसानी र बाख्रा पालनबाट आफ्नो गुजारा चलाउँदै थियौं । एकदिन मेरा श्रीमान घरमा पालिएका बाख्रालाई घाँस लिन भनि जंगल जानु भएको थियो । फर्केर आउनु भएन । खोजी गरियो । तेस्रो दिन बडरको ठूलो रुखको तलतिरको हाँगामा पेट उनिएर झुण्डिरहेको उहाँको मृत शरीर फेला प¥यो । जब मेरो विवाह गर्ने उमेर भएको थियो । त्यति बेला म एक्लिसकेकी थिएँ ।

नाबालक दुई छोराहरु र आफू गरी तीन जनाको पेट पाल्न मलाई धौ धौ पर्न थाल्यो । म दिनभरि नै अरुको खेतबारीमा काम गर्न जान्थे । त्यहाँबाट जो जु¥थ्यो त्यो नै हाम्रो आहारा बन्थ्यो । यसैगरी दिनहरु बित्दै गए । एकदिनको कुरा हो दिनभरिको कामबाट थकित हुँदै म घर फर्कँदा जेठो छोरो घरमा थिएन । म उसको वियोगले छटपटिए । त्यस पछि भएको १ सन्तानलाई साथमा लिएर आफ्नो दैनिकी चलाउँदै थिएँ । उनि टक्क अडिन्छिन् । अनि ? म पुनः कुरालाई निरन्तरता दिन उनलाई झक्झक्याउंछु ।
त्यसपछि मेरा दुईजना देवर जेठाजुले मलाई घरबाट निकालिदिनुभयो । म पुर्ण रुपले बेसाहारा भएँ । मलाई अलच्छिनी र ‘पोइ टुकुइ’को आरोप लागेको थियो । उनीहरुलाई के थाहा नानी यो कुनै दुर्घटना थियो भनेर । त्यसपछि म आफ्नो साथमा रहेको एक छोरालाई काखी च्यापेर माइति गाउँतिर लागे । माइतीमा पनि बा आमा हुनुहुन्नथ्यो । दाजु भाउजु मात्र । त्यहाँ पनि मैले यस्तै आरोपको पगरी गुथें । अलच्छिनी आइमाइ भन्ने शब्द सहन गर्न मलाई सहज भइसकेको थियो । मेरा लागि माइतीको ढोकासम्म खुलेन । म साहारा विहीन भएँ । बल्लतल्ल गाउँलेको साहारामा मलाई छुट्टै तल्लो बारीको कान्ला मुनि एउटा छाप्रो हालिदिने निधो भयो ।

साँझ झमक्क परिसकेको थियो आमै आजलाई तपाई पनि जानु होला म पनि जानेछु भोलि यसै ठाउँमा फेरि हाम्रो भेट हुनेछ यो तपाईंको जिबन कहानी भोलि पुरा गर्ने है मलाई ढिला भयो भनेर म दौडिएँ । मन भने त्यतै घुम्दै थियो, बुढी आमा सँगै । भोलिपल्ट विहानको खान पछि उनी फेरि त्यसै चौतारीमा आइछिन् । भोलिपल्ट शनिबारको दिन परेकाले म पनि उतैतिर तानिए । आज पनि म उनको अगाडि कान ठाडा पार्दै बसे । उनी हिजोको कहानी पुरा गर्नतिर लाग्छिन् ।

म दिनहुँजसो घर बाहिरनै हुन्थे । घरमा छोरो एक्लै छाडेर काम गर्न निस्कनु पथ्र्यो । एक दिनको कुरा हो । पारी पाखामा तल्ला गाउँका पण्डितको मकै गोड्न भनी गएकी थिएँ । फर्कनलाई अलि अबेला भयो । छाप्रोमा आइपुग्दा साँझा झमक्क परिसकेको थियो । विहान ८ बजे छोडेर हिंडेको मेरो छोरो यतिबेलासम्म नदेख्दा मलाई छटपटी भयो । म उसैको प्रतिक्षामा छाप्रोबाट छितिज नियाँल्दै बसिरहेकी थिएँ । म हारगुहार गर्न थाले । कतै खेल्न गएको होला आउला नि त भन्ने झैं पनि लाग्यो । तर छोरो आएन । यतिकैमा पल्लो घरको रामे आएर हेर्नुस् न दिदी आज त भाइलाई धेरै झिँगाहरुले टोके ऊ त पल्लो बारीमा सुतिरहेको छ । यस्तो सुन्दा वित्तिकै म दौडदैँ त्यहाँ पुगे । छोरालाई अरिङ्गालले टोकेको रहेछ र उसको मृत्यु पनि भइसकेको रहेछ । म एकपछि अर्को पीडा सहँदै बानी परिसकेकी थिएँ । यसलाई पनि स्वीकारें । माइतीमा दाजुलाई बोलाएँ उहाँहरु कसैको पनि उपस्थिती भएन । गाउँलेको साहारामा लास गाडियो । आफूलाई भन्दा पनि धेरै माया सन्तानको यसरी एकपछि अर्कोको वियोगले मेरो बाँच्ने कुनै आधार थिएन । श्रीमान्को मृत्युपछि यिनै सन्तानको मुख हेरेर जीवन अल्झाइरहेकी थिएँ अब त सबैले बेसाहारा बनाउँदै जान थालेपछि म बहुलाई जस्तै बेसुरमा कराउने गर्थें रे । त्यसपछि के के हुँदै गयो अरु कुरा अहिले मलाई याद छैन । मैले एक्कासी आफूलाई हस्पिटलको बेडमा पाएँ मेरो शरीर निकै हलुको लाग्यो । मेरो शरीरमा स्फूर्ति थियो । यति भन्दा उनका आँखाबाट आँसु भुइँमा पोखिइसकेका थिए । म भने बाँकी कहाँनी सुन्न हातारिँदै थिए । अरु भन्नुस् न आमा ...........

सानै उमेरको विवाह, सन्तानको जन्म लगत्तै श्रीमानको मृत्यु, त्सपछि एक छोरो बेपत्ता, घरवार विहिनी भएपछि माइतीको साहारासम्म नपाएर बडो कष्टकर जीवनयापन गर्ने क्रममा भएको अर्काे छोराको पनि मृत्यु हुनु । त्यसपछिका दिनलाई सहन गर्न नसकेर बेहोसीमै लडिरहेको र बेहोसीमै बरबराइरहेकी मलाई गाउँकै एकजना इन्द्र भन्ने व्यक्तिले उठाएर लगेछन् । उनी बडो दयावान व्यक्ति थिए । उनमा मानवताको विजारोपण राम्रैसँग भएको थियो । कसैको पनि दुःख देख्न नसक्ने उनले धेरै समय मेरो स्वास्थ्योपचारका निम्ति खर्चिएछन् । टाइम– टाइमको खाना र उनले गरिदिएको सरसफाइको कारण मेरो शरीरमा त निकै परिवर्तन आएछ तर सन्तानको मृत्युले आहत भएको मन र खलबलिएको दिमाग भने ठीक हुन सकेनछ । लाख कोशिस गर्दा पनि उनले सोचे जस्तो ममा परिवर्तन हुन नसक्दा एक मात्र उपाय मेरो हराएको छोराका खोजी गरी उनको जिम्मा लगाइदिनु उचित हुन्छ भन्ने ठानेछन् ।

सानै उमेरमा घरबाट हिंडेको मेरो जेठो छोरो काठमाडौंको एक सम्पन्न परिवारमा भात–भान्साको काम गर्दोरहेछ । छोराको खोजीकार्यमा पनि उनले धेरै सास्ती पाएका रहेछन् । बल्ल तल्ल सम्बन्धित व्यक्ति र ठाउँ पहिल्याइ उनै इन्द्र भाइले मेरो बारेमा सबै बेलिविस्तार लगाइदिएछन् । एक दिन उनले मलाई छोराको डेरासम्म लिएर गए । के थाहा म आफ्नो छोरा सामु उभिरहेकी छु भन्ने कुरा । त्यहाँ एक अपरिचित अनुहार देखेंँ । इन्द्र भाइले सोधें के तिमी आफ्नी आमालाई चिन्छौ ? यस किसिमको इन्द्र भाइको प्रश्नमा ती अपरिचित व्यक्तिको जवाफ थियो– सानै हँुदा मेरो बुबाको निधन भयो । एउटा भाइ थियो ऊ पनि धेरै सानो । आमाको अनुहार धमिलो छाँया जस्तै अलिअलि याद छ । घरको विजोग हेर्न नसकेर शहर पसेको म यतिका वर्ष भइसक्यो घरको कुनै खोजीसम्म गरेको छैन । मलाई पढ भन्ने कोहि थिएनन् मेरो सुन्दर भविष्यको कल्पना गर्ने पनि कोहि थिएनन् त्यसैले जस्तो काम पाएँ त्यस्तैमा म खुसी छु ।

हेर बाबु तिम्री आमा मैले ल्याइदिएको छु । जो तिम्रो सामु अहिले हुनुहुन्छ । त्यसपछि म सपनाबाट बिउँझिए जस्ती भएँ । आफ्नो छोरालाई अँगालोमा बाँधेर मेरो आँखाबाट .............. । इन्द्र काका तपाईले मेरी आमालाई म समक्ष ल्याइपु¥याएर मेरो ठूलो उपकार गर्नुभएको छ । आज तपाईंले मेरो आँखा खोलिदिनु भयो । आफूलाई जन्म दिने आमाप्रति निभाउनु पर्ने कर्तव्य र जिम्मेवारी अब ममा आएको छ । मेरो कर्तव्यलाई म चुक्न दिने छैन । त्यसमा म तपाईंको सदा ऋणी रहने छु ।

आफूलाई सन्तानको समीप पाउँदा म निकै खुसी छु । खै के भनौ ? ‘सुख दुख बाँडे मन हल्का हुन्छ रे, पीडा आँशुले बगाएर लैजान्छ रे’ त्यसैले नरोक्नुस् आमा, अब पुरा भन्नुस् यो अधुरो कहानिले म झन् बिथोलिएछु मैले भने । उनी बोल्न थालिन्, जति आमाछोराको मिलनले हामी खुशी थियौं त्यो भन्दा पनि धेरै खुशी इन्द्र भाइ थिए । साइनो नै लगाउने भए इन्द्र र म देवर भाउजु थियौं । तर म उनीलाई इन्द्र भाइ भन्थे भने उनी मलाई आमा भन्थे ।

इन्द्र भाइ पनि बेला बेलामा हामीलाई भेट्न यहाँ आइरहन्थे । आउँदा जहिले पनि रित्तो हात हाउँदैन थिए । हातभरी फलफूलको झोला झुण्ड्याउँदै आएका हुन्थे । म सधैँ भन्ने गर्थे– इन्द्र, तिमीलाई भगवान्ले सधैँ रक्षा गरुन् । अरुको दुःख हेर्न नसक्ने तिमीलाई कहिल्यै पनि दुःख नपरोस् । तिमीलाई दिन त म के नै सक्छु र ? जीवनको अमूल्य समय तिमीले मेरा लागि धेरै खर्चिएका छौं । खै यसको मूल्य चुकाउन सक्छु कि सक्दिन । जेहोस् म तिमीलाई सधैँ खुशी हेर्न चाहन्छु ।

एक दिन उनी पोखारा घुम्न भनी घरबाट निस्किएका रहेछन् । यसैक्रममा बस दुर्घटनामा परी दुवै खुट्टा काम नलाग्ने भएर काट्नु प¥यो । त्यसै घाउबाट उनलाई क्यान्सर भयो । डाक्टरले दिएको निर्देशन अनुसार अब उनको जीवन एक हप्ता मात्र बाँकी छ ।

यति भनि सक्दा मैले मेरा आँखामा उर्लिएको त्रिशुली चालै पाइनछु उनले नै तिमी पहिले आँशु पुछ भन्दा पो झसंग भएँ । बुढी आमा अघि बोल्दै गइन् आफू यस्तो अवस्थामा हुँदा पनि मलाई भेट्न ह्विलचियर लिएर आइरहन्छन् । अहिले १५ दिन जति भयो इन्द्रको बसाइ हस्पिटलमै छ । छोरो अहिले जागिरे छ । मसँग सबै थोक छ । कुनै कुराको खाँचो मलाई छोराले पारिदिएको छैन । तर पनि मेरो मनमा खुशी छैन । मलाई जीवन दिएर उनी आफू मृत्युसँग लड्दैछन् । म विहान भरी हस्पिटल बस्छु र दिउँसो एकछिन चौतारीतिर आएर मन भुलाउने गर्छु ।

प्रकाशित मिति : प्रकाशन मिति : शनिवार, 22 चैत्र, 2070

लेखकका अन्य रचनाहरु