देहात टाईम्स १

- चन्द्र घिमिरे

मान्छेले कुल्चेरै
औलो भगाएको देहात तिर
मिनपचासमा पुग्थेँ
कालाजारले जामुनझैँ निला–काला
र पाटाखाडीमा पटुवा झैँ गनाएका मामाहरू हुन्थे
घमौराले चिलेको म भान्जाबाबुलाई
सिँयाल ओताउँदै सारा देहात चिनाउथे ।

कट्टु नअडिने छोटुसँग माछालाई ‘बल्छी’ थाप्थ्यौँ
अनुहार नपरेको भ्यागुत्तो पथ्र्यो
हिलोबाट पइँया ठेलेर उद्धार गर्दिन्थ्यौँ
साधुलालको नालायक बैलगाडा
जोगीकुटीको बगैँचाबाट चोरेको आँपभन्दा
जोगीबाट खाएका गाली अस्वस्थकर हुन्थे
निगुरो टिप्दा हाम्लाई झम्टने अक्कडो गोमन साँप
नाङ्गै पौडी खेल्दा नियमापत्ति नगर्ने
र हरेकको गोप्य भूगोल सार्वजनिक गर्दिने धैँती खोला हुन्थे
मंसिरमा खमारमा दाइँ
र जुनको टहकमा
पत्तपत्ति धुवाँएको बबुवाको बैराग्य गीत हुन्थे
धान उठाएको हिउँदे खेतबाट
डनजस्तो धान चोर मुसो सपरिवार पक्रने गोलु मुसर हुन्थ्यो
खेत पटाउँथे पानी झगडाले
फौदार पैनीमा कुटाकुट गर्ने
आफ्नै प्रियजन र हरुवा हुन्थे
भट्टा पोखरीमा नुहाउँदा
अप्ठेरोमा गाडिएको भ्यात्लुंग जुका
तान्दा नमान्दा चुँडिने त्यो हुन्थ्यो
रगतपच्छे डर मेरो हुन्थ्यो
मट्काको ताडी पिलाउँथी
चाँदीको चुरी लाउने हटारु तरुनीले
झमक्क साँझ परे पछि
ऊसँग मातेको ललुवाको रहस्यमय सम्बन्ध हल्लिँदै घर फिथ्र्यो
लमतन्न सुतेको डगरमा
टिङ–टिङ टिङ–टिङ घण्टीको आवाज नजिकिँदा
बस्तीको अर्थतन्त्र हाँक्ने बनियाँ तेली
उसको सवारी बुझ्थ्यौँ हामी भुराभुरीहरू
घाँटीमा लत्रेको कौडावाला मालाले
मालिकको औकात बताउँथे भैँसीहरू
छाप्रोमा हररात लोग्नेसँग गृहयुद्ध पछि
रुँदै आँग्नामा घोषणा गर्थी ‘मरगइल रे...’
तीनपुस्ते गालीको मिजाइल चलाएर सुस्ताउँथ्यो
हरियाकी स्वास्नीको नारी–अधिकार
पँजाबबाट पैसा कमाएको हैसियत घन्काउँथ्यो
छिमेकी गाँवबाट बम्बैया गीत बजाउने भुरेलालको माइक
बस्तीमा लाग्ने डाका र चुनाउ
दुवैबाट लुटिएको बात माथ्र्याे चिया पसल
के–के हुन्थेन देहातमा !

देहात जाँदा
आमासित हाम्रा पुराना लुगाफाटा पनि दौडन्थे
बस्तीको आङ्गमा नाङ्गो पहाड रैछ
ढाकि नसक्नुको ।

कोलकाता

प्रकाशित मिति : प्रकाशन मिति : बिहीबार, 29 फागुन, 2070

लेखकका अन्य रचनाहरु