सलहेशको फूलबारी

- भेषराज रिजाल

सलहेशको फूलबारी पुग्ने हाम्रो अघिल्लो दिनको योजनालाई सहज बनाइदियो रातभर जाग्राम माइकले । २०७० साल वैशाख १० गते बिहानैको वासान्ती पवनले सुम्सुम्यायो हामीलाई । निकै उल्लासित मन लिएर लाग्यौँ सलहेशको फूलबारीतिर हामी एउटा अद्भूत सौर्न्दर्य नियाल्ने आकांक्षासहित ।
बजारको चलमलाहट देखियो । बिहानै सडकछेउमा उँघिरहेका गाईवस्तुहरू देखिए । चटारो हुनेहरू कुदिरहे । फुर्सद हुनेहरू चिया पसलमा झुलिरहे । नेपाली गाउँघरको प्रतिनिधि दृष्य थियो त्यो । बेहिसाब समय खेर फालेर गफगाफमा मस्त युवाहरू देख्दा मनमा अमिलो भरिएर आउने । यस्तै अमिलो सङ्लेर कुनै दीर्घ रोग लाग्ने हो कि आफैलाई ? म गरिब नेपाली समाज जत्तिकै उदासीमा छु ।
पैदल हिँड्न लालायित पयरहरू खुम्च्याइयो र लहानको गोधुलि होटलबाट निस्केर मोटर चढियो । जाबो पाँच किलोमिटर के हो र मोटरका लागि ? साठीसत्तरीको बेतोडले कुदेका पाङ्ग्राहरू लोकमार्ग छाडेर दक्षिणपट्टिको खेततर्फ घिस्रिएका मात्र के थिए, एकैछिनमै खेतको बीचमा रहेको फूलबारीमा पुगिहालियो ।
गोलाकार घेरा आकारमा संरक्षित सानो फूलबारी रहेछ सलहेशको फूलबारी । चौधौं शताब्दीका दुसाध जातिका राजा सलहेशले बनाएको फूलबारी कोइलीको कुहुकुहु र लहरैलहराले जेलिएका दुर्लभ वनस्पतिका रूखहरू भएर भेटियो । राजा फूलका निकै शोखिन रहेछन् मनमनै अनुमान गरेँ तर समीको रूखबाहेक अरू रूख भने चिन्न सकिन मैले ।
जताततै छरिएका बाख्राका बड्कौला कुल्चँदै हामी फूलबारीभित्र छिर्न खोज्यौँ ।
'सरासर गए पनि वारपार गर्न कठिन छ, मन्दिरमा दर्शन गरेपछि बल्ल पुग्न सकिन्छ पारि' दिलिपजी भन्दै हुनुहुन्थ्यो । जता फर्के पनि लहरैलहरा, हामी पनि अनभिज्ञ पन्थे, त्यसैले प्रतिवाद गरेनौँ कसैले । होला भनिदिएर अर्काको पछिपछि कुद्न धेरै सजिलो यो दुनियाँमा ।
'वैशाख १ गते मात्र फूल फुल्ने रूख कता छ होला ।' सबैको चासो त्यही रूखप्रति थियो ।
'मन्दिर वरपरका यी रूखहरूमा फुल्छ त्यो फूल तर यसपटक दुईचार दिन छिटो फुल्यो ।' दिलिपले सबैका खरिएका जिज्ञासामा शीतल पानी छम्कँदै हुनुहुन्थ्यो ।
'दुईचार दिन झन् ढिला भयौँ हामी ।' त्यो फूल हेर्ने आफ्नै मनको भित्री अभिलाषामा तुषारात गर्दै सान्त्वत्नाको न्यानोले आफैलाई सेकेँ मैले ।
मन्दिरभित्र रानी दिना मालिनीलाई अगाडि राखेर हात्तिमा चढेको राजा सलहेशको मूर्ति रहेछ । देवको मोबाइल-उज्यालामा खिचेँ मैले । मैले बटुलेका यस्तै केही फोटाहरूको सङ्क्षिप्त व्याख्यानसहित एउटा पुस्तक तयार पार्न पाए ! आधा शताब्दी भोगिसक्दा आफ्नै पाइलाले पारेका डोबहरूमा हिमाल, पहाड र तर्राईका सग्बगाउँदा छायाँहरू बटुलिएको सम्झेर रोमाञ्चित हुन्छु ।
सुखभन्दा पल्तिर खुसी फुलेको आँगनामा छुजस्तो लाग्यो मलाई त्यतिखेर । काठमाडौंको दुर्गन्धित वातावरण छोडेर शीतल हावाका लहरसँग रमाउँदै आफ्नै लाग्ने प्रकृतिको मादक सौर्न्दर्यमा हराएको थिएँ म । मैले आफैलाई पनि बिर्सिरहेको थिएँ । अरूलाई सम्झनु त सुँगुरले सगर हेर्नुजस्तै थियो ।
एकजोर चराका भुर्र आवाजले झस्काइदियो मलाई । बिचराहरू पनि त झस्केरै उडेका होलान् बतोडले । उनीहरू किन झस्के खोइ ? न म सिकारीजस्तो देखिन्छु, न त मेरा हातमा हतियार नै छ । न म चाल मारेर खोदीपाइला लाएको छु उनीहरूको न त उनीहरूप्रति लक्षित प्रहार दागेको नै छु । खोइ किन डराए बिचराहरू ! विचारको भुमरीबीच एउटा कारण फेला पारेँ - मानव जातिप्रतिको अविश्वास भोग्दै आएका छन् पुस्तौँपुस्तादेखि । शायद उनीहरूले मनमनै भनेका होलान् -
जहाँ जान्छु दैजालो खान, त्यहीँ पापी बथान बसेको !
निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले सलहेशको बारेमा हामीलाई जानकारी दिन थाल्नुभयो 'धार्मिक एवं ऐतिहासिक मनोरम यो फूलबारीमा सिरहा, सप्तरी, उदयपुर, धनुषा, महोत्तरी आदि जिल्लाका साथ भारतबाट आएका असङ्ख्य मानिसहरूको मेला लाग्छ प्रत्येक वर्ष। सलहेश दलितहरूका राजा थिए । उनले एउटा अमर इतिहास बनाएर गए ।' धेरै कुरा जानकारी चाहिए पूर्व सभासद् रामप्रित पासवानसँग सोध्नु भन्दै अयोधी सरले उहाँको मोबाइल नम्बर दिनुभयो ।
'सलहेशको दरबार सिरहा सदरमुकाम र सिरहाको फूलबारी पतारीमा थियो रे ।' स्थानीय साथीभाइले जानकारी दिँदै किंवदन्ती सुनाउँदै हुनुहुन्थ्यो 'गोविन्दपुरको मानिक दहमा नुहाउने, फूलबारीमा फूल टिप्ने, सलहेशगढमा कुलदेवीको पूजा गर्ने, सिल्हट अखडामा कुस्ती खेल्ने र आफ्ना प्रजाको पीरमर्का सुन्ने गर्थे रे सलहेशले' ।
साथीहरूले थप्दै जानुभयो 'सलहेशको लोकनाच र लोकगीत निकै प्रख्यात छ । नाचगानमा सलहेशको वीरताको वर्णन पाइन्छ । कृष्णाराम र सलहेशको भयानय युद्ध हुँदा दुबैको मृत्यु भएको थियो रे ।' सधैँ राजाका बखान सुन्दा वाक्क हुने कान खोइ किन हो पट्याएका थिएनन् यसपटक । तर्राईका सिराहा, धनुषा र सप्तरी जिल्ला मिलाएर दलित राज्य बनाउन माग भएको प्रसङ्ग पनि उठाउँदै हुनुहुन्थ्यो कसैले ।
'सबै जातजातिलाई जोड्ने साँस्कृतिक कडीका रूपमा रहेको यो स्थानमा सन्तान प्राप्ति र मनोकांक्षा पूरा गर्न पूजा गरिन्छ । इच्छा पूरा भए पाठीको बलि दिने र कागजको छाता चढाउने चलन छ ।' साथीहरूका भनाइलाई पानीछेउमा खुचमुचिएका कागजका छाताले प्रमाणित गरिरहेका थिए ।
पानी छ प्रशस्त । रूख छन् हरिया । घुमीघुमी हेरियो शीतल छहारीहरू । लाग्थ्यो, प्रकृतिमा सङ्गीत घोलिएको छ । नातिकाजी, अम्मर र शम्भुजितहरू यहीँ छन् । नारायणगोपाल, अरूणा र रामकृष्णहरू यतै छन् । चराका कलरव समेटिएको छ तीनका गीतसङ्गीतमा । पानीको मिहिन कलकल पनि उनीएको छ तिनका मन्त्रणामा । नदीका नागबेली, हिमालका चुली र बालीका बयली बिच्छयाएर तिनीहरू अनवरत साधनामा तल्लीन छन् ।
छेउछाउका मुसहर बस्ती हेर्दै कतै गाडीमा त कतै पैदल छिचल्दै होटल गोधुलितिर र्फकँदै थियौँ । मुसहर बस्तीका झुप्राहरू गरिबीले थुपारेका मरुभूमिका बालुवाको थुप्रा जस्ता लागे । ती अभावले चुसेर शेष करङकङ्काल बनेका गरिब कायाजस्तै थिए । र थिए, मधेशको चर्को घाम र हुरीले उडाएर बनेका अस्थायी वनेली पतकरजस्तै । कुनै जमानाका शोखिन राजाले र्सवश्वहरण गरेर दास बनाइएका जस्ता तिनका काया बोले - हामीले नागरिकता बनाएका छैनौँ, फोटोसहितको मतदाता नामावली कसरी बनाउने ? लोकतन्त्रको दुहाइ दिइरहेको तिनको मसिनो स्वर हुण्डरी मच्चाएर गगनभेदी बनेझैँ लाग्यो मलाई । त्यो ऐतिहासिक धरा पनि बत्तिमुन्तिरको अँध्यारोजस्तै लाग्यो ।
तिम्रो गाउँबस्ती चहार्न निस्कँदा तिमीलाई आफ्नै आँगनमा विरानो देखेर म रन्थनिएँछु । सबैका नजरले तिमीलाई विरानो ठहर्याएपछि विरानबस्ती नै उदास हुने गरी म आफैभित्र भक्कानिएँछु । आँसुका उद्गम बनेका यी नयनहरू निरदहमा डुबेछन् । र त, आँसु मनको गहिरो दहमा सङ्गालिएछ । मनमा सङ्गालिएको आँसुको दहमा म आफै डुबेँछु नउत्रने गरी । त्रि्रो आरक्षण र उत्थान कहिले हुने होला - औँसी पोखिएको मझेरीमा मनकै टुकीका भरमा मनसँग संवाद गर्दै आफ्नै वरपर घस्रिरहेको थिएँ म ।
कति छिटै होटलमा आइपुगिएछ । होटलमा पुगे पनि मेरो मनमा भने गरिब बस्तीको आलाप सुनेर मलिन हुन नसकेको फूलबारीको सौर्न्दर्य नाचिरहेको थियो । मलाई थाहा छ, मनमस्तिष्कमा फूलबारीको जस्तै चहक बटुलेर दुःखका क्षणहरू बिर्सनु छ । सुख पाएर पनि दुःख बाँचेकाहरू धेरै छन् दुनियाँमा । तर मैले दुःख भोगेर पनि सुखपर्ूण्ा खुसी फुलाउनु छ अधरका कलेटीमा । आजका दाग भोलिका घाउ बन्लान्, क्यान्सर लागेजस्तै विषाक्त र पीडादायी । तिनका असहृय छटपटीसँग रमाउनु छ भोलि । आजको रोमाञ्चक उज्यालो साँचेर हृदयमा भोलिको कचपल्टिँदो जीवन जिउनु छ । जसोतसो साँचेको त्यही उज्यालाका भरमा वर्तमान बाँचिरहेछु भोलिका लागि ।
होटलमा पुगेर लबिमा बस्दा एउटा आकृति देखाउनुभएथ्यो मधु सरले 'बेल्जियमपको म्यानाकम्पी' । पिसाब गरिरहेको सानो ढुङ्गे बालआकृति रहेछ म्यानकम्पी । त्यो ढुङ्गे बालकले कहिलेसम्म पिसाब गरिरहने होला, सम्झेर हाँस्नुहुन्छ मधु सर । जुनसुकै जनावर वा मान्छेका साना बच्चा असाध्य सुन्दर हुन्छन् । सुन्दर हुनाले ती सबैका प्रिय भएका हुन् । काखमा लिएर खेलाउने तीब्र इच्छाले कुत्कुत्याउँछ मलाई तर म्यानकम्पी बेपरबाह मुतिरहन्छ । उताको म्यानाकम्पी बेहिसाब समृद्धिको पिसाब गरिरहेछ । यताका म्यानाकम्पीहरू दलित बस्तीका गरिबीसँग गुडुल्किएर कुपोषण मुतिरहेछन् ।
म अझै सलहेशको फूलबारी वरपरका गाउँबस्तीमै रहेँछु ।

प्रकाशित मिति : प्रकाशन मिति : वुधबार, 21 फागुन, 2070

लेखकका अन्य रचनाहरु