अन्तिम आश

- एकराज प्रधान

परालको छानो । टाँडे घर । जमिनबाट दुई फिट जति अग्ल्याइएको । गोबरमाटोले लिपिएको बाँसको टाटी । त्यो पनि थोत्रिएर प्वालैप्वाल । बाङ्गो देखिन्छ, पश्चिमतिर ढल्किएको । पूर्वतिरबाट टेको लगाइएको छ, बाँसको । गाउँकै नमुना लाग्ने पुरानो घर ! यो बिरिङ्गे माइलाको घर हो । ऊ यहीँ बस्छ ।
दुई वर्ष भो, यो झुप्रोले नयाँ पराल नफेरेको । दुई वर्षै भो माइला थलिएको पनि । होचो कद, बुढो शरीर । कान कम सुन्ने पहिलेकै रोग । थपिएको छ, आँखाको पीर । लेन्स कमजोर भएको । उज्यालोमा धमिलो देख्ने, अँध्यारिएपछि छामछामछुमछुमको भर । साठीको दशक पार गर्न लागेको उमेर । कपाल आधा पाकिसकेको छ । शिरमा ढाकाटोपी टुट्दैन । बाङ्गो परेर ठडिएकै हुन्छ प्रायः । आज पनि ठडिएकै छ । कानसम्म खाँदेकाले कपाल कुङ्लिङ भएर उँभो फर्केछ !
‘ब्यालिठ बर्ठ भो, ब्या गडेको, एक ढाप्पु ला’ठैन । ट्यै भ’र हो, यल्ले नठाडेको मलाई, मया गर्ठे...साहै्र... ।’ ऊ खित्खितायो एकछिन् । धक फुकाएर । पूर्वेली भए पनि नेवारी लवज उसको विशेषता हो । यही लवजले लोभिएर पुग्थेँ, घरिघरि त्यहाँ । म उसको साह्रै मन पर्ने मान्छे । मायाले मङ्गले भन्छ । छोराजस्तै गरी । म ‘पाजु’ भन्छु, साइनो लाएर । ऊ मलेजुको कुरा गर्दैछ ।
उसको लवज सुन्न हतारिएर पुगेको थिएँ म । सानैदेखि खूब मज्जा लाग्ने । तर, अहिले भने नमज्जा लागिरहेछ । कुरैकुरामा ऊ भन्दैथ्यो, ‘मर्ठु होला हौ मङ्गले, यो साल । बाँच्डिनँ । डिन आए जस्टो ठ मेरो ।’
कान अझै टालिएछ । एकोहोरो बोलिरहन थालेछ । आफ्नै मात्र गफ सुनाउँदै । म हेर्छु उसलाई । एकोहोरिएर । मासुले हाड छोडेछ । थुप्रिएर झोलिएका थियो, छालामा । हिजोझैँ लाग्छ, उसका बलिया पाखुराले नाङ्लाभरिको धान हुत्याएको । उडाउँलाझैँ गरी धान बताएको । गाउँभरिको घरको धुरी चडेर खरले छाएको । ड्यामड्याम सखुवाको मुढा चिरेको । डेढ फुटे फरुवाभरि हिले माटो उचाल्दै आली सम्याएको । समयले निचोर्दै लगेछ उसलाई । र त ऊ हार मान्दैछ । जीवन छोटो देख्दैछ । मन कुँडियो ।
अनुहार मतिरै छ उसको, आँखा अन्तै । ऊ निरन्तर बोल्दैछ, दुःखका दिन सम्झेर । अँगेना छेऊ टुक्रुक्क बसेको छ । रापमा हात सेक्दै । म वरै छु, पलँेटी कसेर बसेको । पराल गुजुल्ट्याएर बुनेको पिरामा ।
‘टे गर्नु, बल निठ्रिगो, कोई बोलाउन आउँडैनन् । कमाइ ठैन’, दुःख बिसायो । एकछिन् हात मुसा¥यो । राप बढिनै लागेछ क्यार ! तात्तिएको हातले पिँडुला सेक्यो । एकछिन् सुनसान भो ।
घुटुक्क थुक निल्यो र भन्यो – ‘यै घरबाडी ठ, डुई कठा । आमाले डेको । खानै पुग्डैन जट्टि गडे नि ।’ उसका आँखा पिल्पिलाएको देख्दैथेँ म ।
ऊ भन्दैथ्यो, ‘मलेडुले सारो डुख्ख पाई । पूर्व डन्ममा मेरो रिन खाकी ठी होला टेल्ले ।’ अनि फेरि खित्का छोड्न थाल्यो । अनुहारमा खुसी थिएन, अघिको जस्तो । अहँ पटक्कै थिएन ।
म अनुमान लगाउन सक्थेँ, मलेजुको पीडा । गाँवै थर्किने गरी कराए नि आधा कुरा सुन्दैन ऊ । दोहो¥याई–तेहे¥याई चिच्याउनु पर्ने । उनले त जीवनको चार दशक गुजारिन् । अहिले त डो¥याउनु पनि पर्दो रहेछ । उमेरले थकाएको शरीर घिस्याउँदी हुन् ! उमेरमा त खूब जाँगरिलो थिइन् । घर पट्पट् चर्केको छ अहिले । लिपपोत गर्न पनि सक्दिनन् क्यार ! धन्न एक माउ गाई रै’छ, दुहुना । घरमा गाछी गाँसेर राखेको । दुई चारवटा चल्लाहरु चिर्चिराउँदै थिए, बास बस्न गुँड खोज्दै । साँझ झमक्क पर्न लागेको छ ।
म जोरले बोलेँ, ‘कहाँ जानु भा’छ मलेजु ?’
‘टे रे ?...ठुन्डिन है म ट’ उनी तन्किएर वरै आए । कान मतिर पारे ।
म अझै जोरले कराएँ, ‘कहाँ जानु भा’छ मलेजु ?’
‘एऽ डबै लिन गा’की ठे । डोकान । डिउ डुखो भन्ठी । मट्टिटेल पनि सिड्येको ठ ।’
मैले माथितिर नजर डुलाएँ । ओहो ! उनको घरमा त बिजुली पनि रैनछ ।
घरपूर्व दुई सय पाइलामा हडियाखोला चूपचाप बगिरहेछ । पाँच–सात वर्ष अघि हो उनी हडियासँग नजिक भएको । त्यसअघि ऊ बिरिङ रुङ्थ्यो । त्यसैले नामै बिरिङ्गे माइला । माइला यस मानेमा कि उसको एउटा दाइ पनि छ । तीन छोराको धनी । बेलाबेला हारगुहार गर्दा टार्ने । बिरिङ्गेलाई सन्तान सुख मिलेन । दुई बुढाबुढी मात्रै बस्छन् ।
बिरिङसँग लामै साइनो छ उसको । तीन दशकभन्दा बढी । इलाम र झापाको जोड्ती । पहाडको फेदी । बुधबारे बजारदेखि निक्कै माथि । भोटेटारबाट उँभो हेर्दा पहाडको भित्तो टुङ्गिएपछि कुनोमा पाँच सात वटा घर देखिन्थ्यो । तीनै मध्ये एउटा हो उसको घर । जीवनको उर्वर समय उसले यहीँ बितायो । ढुङ्गा बटुल्दै ट्याक्टरमा भरेर । खेतीको काम नहुँदाको कमाइ गर्ने नियमित पेसा थियो, ढुङ्गा बटुल्ने । उसले बटुलेका ढुङ्गा र कुटेको गिटीबाट धेरैको महल ठडिए होलान् ! म अनुमान लगाउन सक्दिनँ ।
कहिलेकाहीँ दाउरा पनि ल्याउँथ्यो, बुधबारेसम्म । खेतीपातीको बेला ऊ झथ्र्याे, करिब दस किलोमिटर तलसम्म । अधिकांश किसानको निम्तो हुन्थ्यो उसलाई । भ्याइनभ्याइ हुने गरी । गाउँमा उसलाई नचिन्ने कोही थिएन । आफ्नो खेत नभए नि धेरै पसिना बगेको छ उसको, यो गाउँको माटोमा । कति माटो त अहिले भिटा बनिसकेको छ । कतिमा घर बन्दैछन् । गाउँ नयाँ नयाँ अनुहारको बस्ती बन्दैछ ।
समय सर्लक्कै फेरियो । अहिले उसलाई धेरैले नचिनुँलाझैँ गर्छन् । किनकि धेरैले खेती गर्नै छाडे । कसैले मान्छे नपाएर, कसैले प्लटिङ गरेर । केटाहरुलाई विदेशको मोहनी लागेको छ । धेरै गइसकेका छन्, रहेकाहरु उमेर कहिले पुग्ला र पासपोर्ट बनाउँला भन्नेमा छन् । उनीहरुमा खेतीपातीतिर जाँगरै छैन । अलिअलि पढेकाहरु जागिर गर्छन् । मजदुरी गर्ने नपाइनु आमसमस्या बनिसकेको छ । बाँझै छन् खेतहरु । धान मात्र फल्छ, दुःखले । तोरी फुल्दैन, गहुँ झुल्दैन । फापर, तिल, आलस, खेसरीको मगमगाहट छैन यहाँ । कुन दिनदेखि अनिकाल लाग्ने हो खै ! पसिनाले खेत भिजाउनेहरु दिनदिनै बुढो हुँदैछन् । बिरिङ्गे माइलाजस्तै । म सोचमा डुबेछु । ऊ भन्दै रहेछ, ‘यो आँठाले गर्डा काम गर्न ठक्डिन, नभा ट गर्ठें नि ।’
धारे हात पार्दै आँखामा प्याट्प्याट् कुट्छ र भन्छ, ‘यो आँठाले गर्डा, यो आँठाले गर्डा ।’
उसको रिटायर उमेरले च्वास्स घोँच्यो मलाई । सरकारी जागिरे भए पेन्सन खाने दिन । कति दुःखलाग्दो, एउटा किसानको यो जीवन । तर अझै आँखालाई दोष दिँदैछ ऊ । शरीरमा अझै तागत भएको ठान्दैछ । तागत हुनेहरुलाई सम्झेँ, जो अहिले क्यारेम बोर्डमा बाजी मार्दैछन् । तास फिट्दैछन् । र, बेकम्मा बनेर डुल्दैछन् । समय उनीहरुको पनि यसरी नै त बित्दैछ । दिनदिनै उमेर उनीहरुको पनि त बढ्दैछ । हाडलाई मासुले छोड्न कत्ति समय लाग्ला र !
‘टिमी सग क्यामेला ठ रे, फोटो खिट्नु ठो मेरो’, भन्यो उसले ।
‘छ त, किन चाहियो फोटो’, कराएँ ।
‘बिर्ड भट्टा खान फोटो चाइन्ट रे नि ट । टीन मैनाको डुई हडार डिन्ठ रे । नून भुटुन खाने पोइठो हुन्ठ्यो । मलेडुको पनि बनाउनु ठ ।’
म चर्को आवाजले बोलेँ, ‘म भोलि लेर आउँछु । अहिले ल्याइनँ ।’
सहमतिमा टाउको हल्लियो उसको ।
‘हि हि हि...!’ बोल्नुभन्दा पहिल्यै हाँस्यो ऊ ।
थामिएपछि भन्यो, ‘डमनामा खिट्या, नागृक्टा बनौँडा । ...डारी काट्नु पर्यो, कपाल काट्नु पर्यो । डिउँसो आउनू, म टयार हुन्ठु ।’ फेरि फिस्स हाँस्यो ।
‘को सँग बोल्या हँ ?’ मलेजुको चर्को आवाज ।
‘मङ्गले ।’
‘ए भानिज ?’ भित्र पस्दै गर्दा देखेँ, खुट्टो खोल्च्याउँदै गरेकी मलेजुलाई । मैले सोचेँभन्दा बढी नै बुढी भइछन् । निधारभरि मुजा । कपाल पाजुको भन्दा धेरै फुलेछ ।
‘रातो नून च्या खा’र गको भा हुन्थ्यो, यो जाडोमा’, म हिँड्न लाग्दा उनले भनिन् ।
‘म भोलि आउँछु नि फोटो खिच्न ।’
‘यिनको ढङ्गै छैन, च्या ख्वाउनु पर्दैन भानिजलाई ?’
उसले सुनेन । म निस्किएँ । ऊ अझै सेकाउँदैथ्यो हात अँगेनामा । उसको लागि अन्तिम आश हो बृद्ध भत्ता । पाइलाहरु सार्दै गर्दा सम्झेँ, मनमोहन अधिकारीलाई ! जसले पहल गरेर २०५१ सालमा ल्याइदिए बृद्धबृद्धाको हितमा यो नीति । मनले सल्युट ठोक्यो ।

बुधबारे (झापा)

प्रकाशित मिति : प्रकाशन मिति : सोमबार, 20 माघ, 2070

लेखकका अन्य रचनाहरु