कहाँ खोजु ?

- जीवन देवान "गाउँले"

"सुङ्गाई बुलोहतिर एकजना नेपाली छ रे, मलेसिया आएको १५–१६ बर्ष भयो रे, नेपालमा पुरै सम्पर्क बिच्छेद भएर बसेको छ रे ।" –कतैबाट चलेको यो हल्ला मेरो कानमा प¥यो ।
खबर कतिको पक्का हो ? –जान्नु भन्दा उ बसेको ठेगाना पत्तो लागउन आवश्यक ठाने मैले । त्यही भएर मैले उसलाई सोधे जसले मलाई यो खवर सुनायो । उसले उसलाई र उसले उसलाई हुदै एउटा भरपर्दो मोबाईल नम्बर पाएँ । मैले सम्पर्क गरे, सामान्य चिनजान गरे र फोन गर्नुको कारण खुलाउदै सोधेँ,– ‘त्यहा एकजना पुरानो नेपाली हुनुहुन्छ रे नि ?’
‘हो, हुनुहुन्छ ।’ उसले हल्लालाई पक्का बनाईदियो ।
‘उहाँको नाम र नेपालको ठेगाना तपाईलाई थाहा होला ?’ –मैले सोधे । उसको जवाफ आयो,– ‘यहा सबैले जोन भनेर चिन्दछन्, खास नाम थाहा भएन । नेपालको ठेगाना राम्रो सँग बताउनु हुन्न ।’
आईतवार सार्वजानिक विदाको दिन जोन होष्टलमै हुने उसले बताएको थियो । सोही दिन मलाई विदा मिल्ने । म सुङ्गाई बुलोह हान्निएँ ।
बस स्टप भन्दा ट्रेन स्टेशनको लोकेशन उपयुक्त होला भन्ने लागेर म क्वालालम्पूर स्टेशन पुगे र केटिएम ट्रेनको टिकट लिएँ । केही बेरमै रवाङ सम्म पुग्ने ट्रेन आईपुग्यो । म चढ्नु पर्ने ट्रेन । ढोका खुल्यो र म ट्रेन भित्र पसे । टे«नले क्वालालम्पूर स्टेशनलाई पछाडी धकेल्न थाल्यो । उसलाई कल गरेर जनाउँ दिएँ,– ‘म आउदै छु, । कृपय ट्रेन स्टेशनमा आउनु होला ।’
सुङ्गाई बुलोह ट्रेन स्टेशनमा उसले मलाई भेट्टायो र जोन बस्ने होष्टेल पु¥यायो अनि हामी भेट्टियौ ।
‘म देवेन ।’ मैले नाम बताएँ ।
‘के थरी परियो ?’ –सम्बोधनमा सिष्टचार देखाएन उसले । मान्छेको बोल्ने सभाउ आ–आफ्नै हुन्छ भन्ने बुझेर मैले पनि आपती नमानी भन्दिएँ,– ‘याख्खा हुँ ।’
‘ए...! याख्खा भनेको राई नै हो ।’ उसले मेरो थरमा तोक लगाई दियो । प्रतिकार गरौ कि ? मनमा लागेर पनि गरिन । सोधे,– ‘तपाईको परिचय ?’
‘जोन । घर पूर्व हो ।’ –उसले आफ्नो परिचय दियो ।
‘किष्चियन पर्नु भो ?’ –मैले सोधे ।
‘किराती हुँ ।’ आँखा फुकालेरै उ जंगियो ।
‘किराती भित्रका अलग जात र पहिचान भएका याख्खा लाई चिन्न नसक्ने नाथुले के किरातीको धक्कु लगाउनु ?’ झल्किने मेरो मुहारी भाव पढेर उसको मुहारी भाव बोल्दैथियो,– ‘मेरो मान मर्दन गर्न खोज्दैछस् ?’
‘नामले किराती जस्तो लागेन । खैर के थरी पर्नु भो नि ?’ –मैले नरम बोली निकाले । मैले निकालेको विरालो आवाजलाई दवाउने गरी उसले सिंह गर्जन निकाल्यो,– ‘म के थरी नाकले बताउदैन र ?’
‘किरातीहरुको नाकको बनावट प्रायः एकसमान त हुन्छ नि ! त्यसैले नाक हेरेर कसरी जान्नु ?’ –मैले उल्याउन खोजेँ ।
‘नामले धर्म छुट्याउन सक्नेले नाक हेरेर जात नि छुट्याउन सक्नु पर्छ ।’ –उसले बेतुके तर्क ग¥यो ।
उसको बौद्धिक मनस्थितिको अड्कलबाजी गरेर बेकार बहस गर्नु मलाई उचित लागेन । उसले किराती हुँ भनि सके पछि सामन्यतयः बोलीको लवजले अड्कल काट्न सकिन्थ्यो ।
‘म लिम्बू, सुब्बा खलक ।’ –उ आफैले धाक फुकालेर भन्यो । यसो भन्दा उ गर्वले गजक्क फुलिएको थियो । सायद, हिंङ बाँधेको टालो भन्याँ यही होला !
‘भनेपछि ताप्लेजुङे कि तेह्रथुमे कि पान्थरे या धनकुटे सुब्बा पर्नु भयो नि ?’ –सोधे पछि भने उसले आफुलाई कहिले धराने भन्ने कहिले झापाली भन्ने गरेर सही बताउन चाहेन । मैले पनि कर गरिन ।
उसलाई देख्दा नै थाहा भएको हो कि उ मैले खोजेको मान्छे थिएन । तैपनि समय खर्चेर आई सके पछि उसका बारेमा पनि केही जानौ बुझौ भन्ने अभिप्रायले म गफिन खोजेको थिएँ । तर उ त मैले सोचेको भन्दा अग्राख चाम्रो निस्कियो । मेरो कुराले उसका भावना चिर्न सकेन र हावा भरिएको भकुण्डोमा बन्चरो बजारे जस्तो मात्रै भयो ।
विदा भएर फर्किने क्रममा बाटोभरी मन खेलिरहयो । खिन्न मन बनाएर फर्किनु परेकोमा ग्लानी बोध भयो । अझ जोन सँग गलफती भएकोमा त एक प्रकारको पश्चाताप महसुस भयो ।
जादाँ आशातित दियोको उज्यालो पछ्याउदै जानु र फर्किदा नेरश्यताको भयाङकर अध्यारोमा रुमलिदै फर्किनु परेको घट्ना यो नै पहिलो थिएन,मेरा लागि । यस भन्दा पहिला पटक पटक यही मनोदशाको शिकार भएको छु । कहिले नाम मिलेको भरमा केलाङ पुगेर फर्केको छु । कहिले मलेसिया बसेको समयावधी मिलेको भरमा सेन्तुल पुगेर फर्केको छु । कहिले सामान्य हुलिया मिलेको भरमा काजाङ पुगेर फर्केको छु । म जुन आशाले जहा जहा पुगे केवल निराश मात्र भेट्टाएको छु । यसरी सारा उत्साह निरासमा परिणत हुदै गए पछि कहिले त हतास हुन्छु । सोच्छु – यति ठुलो सहरमा कहा कहा मात्रै खोजु ?
हुनसक्छ ! मैले खोजेको मान्छे तपाईहरुको सम्पर्कमा छ । अथवा मैले खोजेको मान्छेको हुलिया थाहा पाउनु भए पछि तपाईहरुले मेरो खोजी कार्यमा साथ दिनु हुनेछ । त्यसैले खोजीका पात्रको नाम सार्वजानिक गरिदिन्छु ः–
नाम ः राम वहादुर
ठेगाना ः पुर्व नेपाल ।
हाल ः विगत १२ बर्ष देखि मलेसियामा गुमनाम ।
+++
तीन महिने छुट्टिमा घर गएको बेला थाहा पाएको थिएँ ः
‘रामेले मलेसियामै घरजाम गरेर बसेको छ ।’ –गाउँभरी हल्ला रै छ । उसो त गाउँलेहरु रामदाईको श्रीमतीको ईज्वत माथि पनि शंका गर्दा रै छन् ।
‘एक्लो आईमाई भएको घरमा घरीघरी जानु राम्रो हैन !’ –घर भित्रकै मान्छेहरु मलाई बेलाबेला सचेत गराउथे । उहाहरुको आसय राम दाईको घरमा नजानु भन्ने हुन्थ्यो । किन जानु नहुने ? –सोध्दा जवाफ आउथ्यो,– त्यत्रो गन्ध चलेको छ, सुन्दैनस् ?
‘कुहिएरै हो, गन्ध चलेको ?’ –म केटाहरुसँग बुझ्थे । केटाहरु पनि शंका ब्यक्त गर्थे तर बिना प्रमाणको मिथ्या शंका । केटाहरु त अझ छोरी माथि पनि शंका गर्थे र भन्थे,– ‘त्यसका केटा साथी पनि कति कति ? कोही पत्र–मित्र साथी भन्दै भेट्न आउछन, कोही फेसबुक साथी भन्दै भेट्न आउछन, कोही के साथी कोही के साथी भन्दै भेट्न आउछन ।’
तर, जस्तोसुकै हल्ला चले पनि गाउँभरीका मान्छे भेला हुने घर राम दाई कै रहेछ । किराना पसल भनिहाल्न नमिल्ने खिच्रिक–मिच्रिक सामान राखिएको दोकान र सानो भट्टी चलाएर बसेका रहेछन आमा–छोरी । खिच्रिक–मिच्रिक पसलको साहुनी छोरी, उ चटपटे पनि बनाएर बेच्थी । आमा चै भट्टी पसलको साहुनी ।
छुट्टी कटाउन आएको म अरपेलाई केटाहरुले किन छाड्थे ? आज एउटा आउथ्यो र भन्थ्यो,– ‘रिंगिट अलिअलि खर्च गरौन ।’ अनि, लिएर जान्थ्यो त्यही आमा–छोरीको पसलमा ।
भोली अर्को आउथ्यो र भन्थ्यो,– ‘अरपे आउदा त हो नि हामीले मुख फेर्ने ।’ अनि, लिएर जान्थे त्यही आमा–छोरीको पसल ।
यसरी कहिले आफ्नै गोडाले तानेर त कहिले अरुको गोडाले घचेटिएर पुग्ने गरेको म, एक दिन बेलुकीको खाना खाने निम्तो पाएर पुगेको थिएँ । मलाई टिभी कोठामा राखिएको थियो । हामी गफिदै कान्तिपुर टेलिभिजनबाट प्रसारित साझा सवाल हेरिरहेका थियौँ । साझा सवालमा कतारमा काम गरिरहेका नेपाली श्रमिकहरुको बारेमा तयार परिएको रिर्पोट प्रसारण भई रहेको थियो ।
दोहाको हिलाल भन्ने ठाउँको एउटा सानो कोठामा कोचिएर बस्न विवश नेपालीहरुका कथा, मरुभूमिको मुजरामा खेती गर्ने नेपालीहरुको दुःख सदृश्य हुदै थियो ।
‘विदेशको दुःख यस्तो छ तर गाउँमा आउदा अरपे भई टोपल्नु पर्छ के गर्ने भाउजु ।’ अचानक मेरो वाक्य फुट्यो ।
‘दुःख कै कुरा गर्दा विदेशिनेहरुले छाडीजाने दुःख नि कम पीडादायक छैन ।’ अरपेहरुले भोगेका दृश्यमा गढेर भाउजुले दुखेसो कहन थाल्नु भयो,– ‘जाने त जान्छ उज्यालो भविश्यको आश देखाएर । विरानो मुलुकमा विरक्त लागुन्जेल घर परिवार सम्झिन्छ । तर विदेशको रंगिन वातावरणसँगै दशदेशका मानिसहरुसँग घुलमिल हुदै गए पछि भने उ आफै विरानो हुदै जादो रहेछ । यहा हुनेले उसको ईज्वत टालटुल गर्दिनु पर्छ । अरपेनीको हैसियतमा बाँच्दिनु पर्छ । गाउँ समाज ईष्ट मित्रले अरपेनी देख्छ । अरपेनी भए पछि जीवनशैली पनि अरपेनी कै हुनु प¥यो, नत्र लुच्चा भन्छन् । देख्नेले त बाहिरीका कुरा न देख्ने हुन् गुह्य कुरो त पर्नेलाई मात्रै थाहा हुन्छ ।’
दृश्यमा ! अरपेहरुका विवश ब्यथा सुनिदै थियो । वास्ताविकतामा ! एउटी अरपेनी आफ्नो जीवन्त ब्यथा सुनाउदै थिईन ।
‘यसको बा मलेसिया जाँदा यो दुई बर्षकी थिई । यो नै यत्री भई सकी ।’ छोरीतिर ईङकित गर्दै भाउजु बोल्दै गई,– ‘गको दुई बर्ष सम्म त सम्पर्क गर्नुभो । ‘छोरी र तिम्रो मायाँबाट अलग्गिएर बस्नु गाह्रो भो । जतिबेला पनि तिमीहरु कै झ–झल्कोको । उठ्दा–बस्दा तिमीहरु कै छाँयाले पछ्याई रहन्छ’ भन्नु हुन्थ्यो । जाँदा लागेको ऋण तिर्ने पैसा पनि पठाउनु भो । त्यस पछि यतीका बर्ष भो न फोन गर्नु हुन्छ न पैसा पठाउनु हुन्छ । पसलको आम्दानीले घर खर्च टार्छु । जाँड रक्सी बेचेर पैसा जम्मा गर्छु । कुखुरा, बंगुर, खसी पाल्छु । चार बर्ष अगाडी बंगुर र खसी बेचेको पैसाले घरमा टीनको छानो हाले । पोहोरको साल टि.भी किने । तर मैले जुन दुःखले यस घरको ईज्वत ढाक्न खोजिरहेको छु मान्छेहरु मलाई नै यस घरको कलंकको रुपमा कान फुकाफुक गर्छन । विदेश हुनेको अतोपतो छैन, अतोपतो नहुनेले पैसा पठाउदैन भन्ने जान्दा जान्दै पनि ‘रामेले टन्नै पैसा कमाउदा रै छ’ भनेर काईते ब्याङ्य हान्छन । मान्छेहरुको कटाक्ष म बुझ्छु तर चुपचाप सुन्छु मात्रै । हो पसलमा दशथरीका मान्छेहरु आउछन र मैले पनि दशथरीकै बोली वचन गर्नु पर्ने हुन्छ । मेरो यस्तो ब्यवहारलाई मान्छेहरु अनैतिक बुझ्दा हुन् र सोच्दा हुन् –म जाँड रक्सी मात्रै हैन अरु पनि बेच्छु ।’
‘ममी पनि ...! कति एउटै कुरामा फतफत फतफत । मान्छेले जे सुकै भनुन त तिनेरको कुरा सुनेजस्तो गर्ने हो मनमा लिने हैन । उनीहरु आफू पनि गरि खान सक्दैनन् अरुले गरेको आरिस गर्छन नि !’ –आमाको दुखेसो पोखाईलाई झिजो माने झै गरी छोरी झर्की ।
सधै एउटै कुरा सुनि राखेर हुनसक्छ उसलाई आफ्नी आमाको बह पोखाई फगत फतफत लागेको । तर मैले त त्यही फतफताईमा आफु बाँचेको समाजको दृष्टिकोण सोच्न पाई रहेको थिएँ । समाजले एकल महिलाका हरेका कृयाकलापलाई कुन दृष्टिले हेर्छ भन्ने बुझ्न पाई रहेको थिएँ । लोग्नेबाट परित्याग्त भई बाँचेको आईमाईलाई सधै निरिह दुरुह र साहानुभूतिको पात्रका हैसियतमा समाज किन राखिराख्न चाहन्छ भन्ने जान्न पाई रहेको थिएँ ।
आमा छोरी विच केही बेर भनाभन चल्यो । अन्तत ः गरिराख्नुस फतफत फतफत भनीराखेर छोरी कोठाबाट बाहिरीई । मलिन अनुहार बनाएर भाउजुले छोरीको पिठ्यु हेरि पठाई । म मुक बनेर बसिरहेको थिएँ ।
‘उहाँ जानु भा पनि त १२ बर्ष भयो नि ।’ जमेलियाको मरुभूमिमा भेडा गोठालो गर्दै १२ बर्ष कटाएका बिरबहादुर बुढामगरको हाल देखेर भाउजु बिरक्तिई । टिभिको स्क्रीनमा नारायण श्रेष्ठ र रुक्मा भाउजु विचको सम्बाद देखिदै थियो । हेर्दा हेर्दै श्रीमान श्रीमती विचमा फोन कुराकानी भयो । ‘ल छिटो आउनु’ रुक्मा भाउजुले लजाउदै आफ्ना श्रीमानलाई आग्रह गरेको सुनेर भाउजुले पनि भनी,–‘हाम्रो पनि त्यसरी सम्पर्क हुने भए छिटो आउनुस भन्ने थिएँ । उतै घरजाम बसाउनु भा छ भनेर पनि घुक्र्याउथे । तर रुक्मा दिदी जति भाग्यमान अरपेनी म हुन सकिन । बिरबहादुरलाई जस्तो संञ्चार माध्यम पनि खोज्दै पुगेन ।’
‘यद्धपी...!’ लामो सास तानेर भाउजुले आत्मविश्वास ब्याक्त गरी,– ‘लट्टाईको धागो रित्याउदै उडेको चङ्गा बादल भित्र हराएसरी उहा हराउनु भयो । मैले हृदयको लट्टाईमा बेरिएको मायाको धागो फुकाउदै गएँ । मलाई मेरो मायामा विश्वास छ कि एकदिन यस लट्टाईबाट छुटेको चङ्गा फर्केर यही लट्टाईमा लुटपुटिने छ ।’
घर परिवार विर्षेर बेखवर बस्ने, कर्तब्यच्युत र गैर जिम्मेवार श्रीमान प्रतिको पत्नी प्रेमले मलाई अचम्मित बनायो । मनमनै गुनगुनिएँ,– ‘यदी रामदाई कुनै मलेनी, ईन्डोन, फिलिपिना या त अरु कुनै केटीको लट्टाईमा बाँधिएको चङ्गा भै सकेका रहेछन भने ? त्यस्तो अवस्थामा रामदाई फर्केर आए पनि मन–मुटु उतै छाडेर आउलान् र खोक्रो शरिरलाई मात्रै भाउजुले स्विकारलान् ?’
तर, मैले यही कुरा भाउजुलाई सोध्न सकिन । बरु भाउजुले नै छुट्टिनेबेला सोधेकी थिई,– दाईले उतै विहे गरेको हल्ला गाउँभरी छ, के यो साँचो हो ?
+++
हो म सँग ठोस जवाफ त्यतिबेला पनि थिएन र अहिले पनि छैन । म मलेसियामा हुनुको कारण दाईको खोजी गरिदिए हुन्थ्यो भन्ने अनुनय भाउजुले गरि रहेकी छे भन्ने लागि रहन्छ । तर मलेसियामा हराउनेहरु कतिपय यस्ता छन जो आफन्तले भेट्छन कि भन्दै भाग्छन । यस्तो अवश्थामा म कहा खोजुँ ?

प्रकाशित मिति : प्रकाशन मिति : सोमबार, 6 माघ, 2070

लेखकका अन्य रचनाहरु