प्रेम खेलाडी

- माधव सयपत्री

रात गहिरिएर गर्तमा भासिएको छ । त्यो गर्तमा एकाकार भएर निदाउन सकिरहेको छुइनँ । म सोचाइ मग्न छु । बिर्सूंभन्दा पनि सम्झन बाध्य छु । सम्झनु मेरो दिनचर्या हो । यो विडम्बना ! यो अपसोच ! !
रात बित्छ अवश्य पनि । सधैँ बितेको रात त हो नि ! यसमा मैले किन विमति राख्नु ! रात बित्नुसँग मेरो विमति सापेक्ष हुन सक्दैन । निरपेक्षतामा मानसिक खलबल, टकराब किन ? कैयौँ रातहरू मैले विमति राख्दाराख्दै पनि बिते । बित्न नै त रात जन्मन्छ । कसैलाई सम्झनै पर्ने बाध्यता छैन । कुनै कसम खाएको पनि छैन । त्यसो भए म किन सम्झनाको झोलुङ्गोमा हल्लिउँ ? फेरि बिर्सिहाल्नु पनि उचित छैन । सकेसम्म धेरै कुरा सम्झेकै बेस । रात दगुरिरहेको छ ।
उसको नाम निता थियो । सत्य हो, उसको र मेरो प्रेम एकसमय गोदावरीझैँ झाँङ्गिएको थियो । सयपत्रीझैँ फुलेको पनि हो । थुप्रै साथी साक्षी छन् । तर ती साथी अहिले साक्षी बसिदिन तयार छैनन् । उसले र मैले एउटा पनि रातलाई आफ्नो बनाउँन सकेनौँ । उसको तातो उच्छवासमा रुमलिन नपाएपनि ऊ मलाई मेरैजस्ती लाग्थी । तर यो समाजसामु प्रस्तुत गर्न मसँग प्रमाण छैन । बेजोडसँग चिच्याएर भन्न सक्छु, ऊ मेरै थिई । तर मैले उसलाई अर्काको हुनबाट म रोक्न सक्दिन ।
समयको वायुपङ्खीले धेरै पँखेटा चाल्यो । उसलाई पर्खेन न मलाई नै पख्र्यो । समयको क्रुर चपेटामा म परेँ । ऊ पनि परी । समयले हामी दुवैलाई धेरै समय अनिर्णयको बन्दी बनायो । बन्दी कारागारबाट म निस्कन सकिन । ऊ पनि सकिन । मात्र फरक परिवेश र फरक कोठामा हामी समयका बन्दी भयौँ । उसको र मेरो प्रणयवागमा ढकमक्क पूmल फुल्न सकेन । हामी एकै नदीका दुईकिनारा भयौँ । अनन्तसम्म पनि भेट नहुने । हाम्रो प्रेम साहारा, खार र गोभीजस्तै सुख्खा भयो । युराल र साइबेरिया जस्तै चिसो भयो ।
धेरै समय उसको मलाई पत्तो भएन । मलाई यत्ति थाहा छ, ऊ असाध्यै राम्री थिई । ओठमा लालुपाते र गालामा गुलाफ फुलेको थियो । मलाई देख्नेबित्तिकै नजर लोलाएर, झुकाएर हिँड्थी । ऊ मुस्कुराउँदा मलाई लाग्थ्यो –स्वर्गकी अप्सरा मलाई प्रणययज्ञमा चरु होम्न आग्रह गरिरहेकी छे । उसको बोलीमा मोह थियो । माधुर्यमा मोहिनी थियो । यौवनमा वासन्ती उद्यान फुलेको थियो । अपसोच ! मैले त्यो उद्यानमा खेल्न पाइन ।
निताको व्यवहारमा एकाएक परिवर्तन आयो । मलाई बाहिरबाहिर मात्र देखावटी प्रेम गर्न लागी । मैले सोचेको थिइनँ, ऊ यति सिपालु प्रेमखेलाडी हो । केही समयपछि मात्र मलाई थाहा भयो । उसले मलाई भुलेर जानुमा सम्पति पहिलो कारण थियो । सम्पन्न बाबुकी छोरी थिई ऊ । निता आलिसान महलकी दुलही बन्न सक्थी । दुईचारवटा कारकी मालिक बन्न सक्थी । त्यसैले होला मलाई उसले बिर्सिदिई ।
फेरि ममा अफसोच र प्रताडना किन ! म निर्धनलाई स्विकार्नु उसको घरसंसारमा भयङ्कर पैरो जानु थियो । स्वभाविकै थियो, यस्तै ठानेर ऊ मबाट टाढा भई । उसले आप्mनो नूतन संसारमा व्यवस्थित घरजम बसाइसकेकी होली । आप्mनो लोग्नेसामुन्ने आपूmलाई सुम्पिसकी होली । त्यतिबेला मलाई लाग्थ्यो –संसारमा ऊ जतिको रूपवती अर्को कोही छैन । कालो केश । सौम्य मुहार । गोरो वर्ण । फराकिलो निधार । छरितो जिउडाल ।
हामी संँगै पढ्थ्यौ । एकदिन कक्षामा ऊ अनुपस्थित हुँदा म संसारै हराएको अनुभव गर्थेँ । वर्षभरि पढेर वार्षिक परीक्षा आउने बेला उसले कक्षा छाडी । परीक्षाका सबै दिन बिते । ऊ परीक्षमा सामेल हुन आइन । परीक्षापछि मैले सहरका गल्लीगल्ली उसलाई खोजँे । कतै पाइनँ । म निराश
भएँ । म छटपटी र बेचैनीले बौलाहाजस्तै भएँ । उसको घर विशालनगरमा थियो । मलाई यति मात्र थाहा थियो । त्यताका चोकचोक, गल्लीगल्ली खोज्दा पनि भेटिँन । उसलाई खोज्ने मेरो प्रयास निरर्थक भयो ।
धेरै रात र दिनहरूले कोल्टे फेरे । नदीमा धेरै पानी बग्यो, फेरियो । पेटको आगो शान्त पार्न मैले केही काम गर्नु नै पथ्र्यो । कतै सोर्सफोर्स लगाउने मेरो हैसियत थिएन । म पत्रिकाको हकर भएँ । गल्लीगल्ली घुम्दै र बसबसमा चढ्दै रोमाञ्चकारी समाचार सुनाएर मैले सुकामोहर कमाएँ । कहिले त त्यै पनि हात लाग्यो शून्य भयो ।
दिनहरू उसरी नै बित्दै गए, जसरी पहिले बित्थे । म पत्रिकाको खात हातमा लिएर भन्न थालेँ, ‘ए आयो हजुर समाचार ! पढ्नुस् । घुसखोरी रङ्गेहात पक्राउ । दोहोरो भिडन्तमा ४० ठहरै ।’ म बसभित्र पसेर पत्रिका बेच्दै बसको माझमा पुगेँ । मेरो आँखाले भ्रम देख्यो या वास्तविकता ! त्यही बसकै झ्यालपट्टि सानो गुथुमुने बच्चा खेलाउँदै गरेकी एउटी सुन्दरी देखेँ । छेउमा सुन्दर युवक सुन्दरीसँग टाँसिएर इतरिइरहेको थियो ।
त्यो नै मेरी निता थिई । तर हो कि होइन ? भ्रमजस्तो लाग्यो । कचेरा पुछेर हेरेँ । हो, उही हो । ओजस्वी मुहार, सिउँदोमा सिन्दुर, हातभरि राता चुरा, गलामा पोते । एकदमै सुहाएको थियो । म चित खाएँ । मलाई सम्हालिन पनि गाह्रो भयो । उसले मलाई हेरिन वा देखिन । नितासँगै बसेको युवकले पत्रिका माग्यो । यात्रुलाई ठेल्दै त्यतै गएँ । मैले पत्रिका दिएँ । ऊ पैसा झिक्दै थियो । म फुत्त बाहिरिएँ ।
युवक भन्दै थियो, ‘ए पत्रिकावाला साथी ! पैसा लिनुस् ।’ मलाई त्यता फर्केर पैसा लिन जाने आँट आएन । भ्mयालबाट पुलुक्क नितालाई हेरँे । निता बच्चाको निधार चुम्दै थिई । युवकले एकहातले युवतीलाई बेरेको थियो । मैले त्यता हेर्न सकिनँ । चोर अलपिए झैँ मान्छेको माझमा म हराएँ ।

प्रकाशित मिति : प्रकाशन मिति : मगलबार, 16 पौष, 2070

लेखकका अन्य रचनाहरु