गीत

- भेषराज रिजाल

सापट लिई अलिकति जूनघामको रश्मी
दुवै हात फैलाएर मुस्काउँदा तिमी
वसन्तले जिन्दगीलाई चुमेछ कि भनी
यसो नजर उठाएर हेर्छु मैले पनि !

वारि छाँया भए पनि पारि घाम लाग्दा
हिमाल टल्की झलमल्ल मनमा ज्योति बल्दा
उज्यालोले जिन्दगीलाई छोएछ कि भनी
यसो नजर घुमाएर हेर्छु मैले पनि !

जताततै हरियाली बाग थियो फूल थियो
उमङ्गमा चङ्गा भन्दा बढी उड्ने मन थियो
सुदिनले जिन्दगीलाई फेरेछ कि भनी
यसो नजर डुलाएर हेर्छु मैले पनि !

साँचेको छु रूग्ण इच्छा ढल्ने जिजीविषा
भाँचेको छु दु;खी अतित मन पोल्ने दृष्य
बग्दै जाँदा डुब्दै जाँदा सहारा पो छ कि भनी
यसो नजर चलाएर हेर्छु अझै पनि !

प्रकाशित मिति : प्रकाशन मिति : शनिवार, 22 मङ्गसीर, 2070

लेखकका अन्य रचनाहरु