ब्रह्माण्ड र मान्छे- ६

- पुष्कर रिजाल ”शुभेच्छुक”

मान्छेहरु एकै समयमा अनेक युगहरु जीइरहेका हुन्छन। समयले मान्छेहरु मात्र निर्देशित गर्दैन। मान्छेहरु मात्र फेर्दैन। मान्छेहरुले पनि समय निर्देश गरेका छन। समयको बहाब परिबर्तन गरेका छन। धार फेरेका छन। समय मात्र त के मान्छेहरुले त एउटै जीवनकालमा अनेक ब्रह्माण्डहरु सृष्टि गरेका छन, उपयोग गरेका छन। यस मानेमा ब्रह्माले सृष्टि गरेको भनेको एक ब्रह्माण्ड भन्दा मान्छेहरुले सृष्टि गरेका कुल ब्रह्माण्डहरु नै बिशाल छ, अनन्त छ, अकल्पनिय छ।
अनेक वस्तुहरुको, पदार्थहरुको मिश्रण वा समायोजनको एक नाम हो ब्रह्माण्ड। अनि समयप्रबाह (गति) त्यसको सुचक। जसरी एक ब्रह्माण्डमा सारा अटाएको छ ठीक त्यसैगरि मान्छे भित्र पनि अनेक चिजहरु अटाएको छ। हावा, पानी, आगो के छैन मान्छे भित्र? अनि ब्रह्माण्डमा जस्तै रहस्य नै रहस्यहरुको पुञ्ज। कोट्याउदै गयो निस्कदै जान्छ। महामानव भनाउदाहरुले जतिनै पर्दाफास गरे पनि रहस्य नै शेष रहेकोछ मान्छे भित्र पनि। ब्रह्माण्डले चाहेर समय, हावा र पानीको बहाब रोक्न सक्छ सक्दैन त्यो अर्को बिषय हो तर मान्छेले चाहेर यी सब रोकेका छन केहि क्षण। जसरि ब्रह्माण्डमा अभेद्द्य आकाश छ, मान्छेमा अप्राप्य आकाश त्यतिनै बिशाल भएर फैलिएको छ। मानविय ब्रह्माण्डको अन्त्यसँग मात्रै यो आकाश साँगुरिएको छ।
उमेरका हिसाबले दुबै-समय र मान्छे, करिब करिब उत्तिकै बुढा छन। अझ समय अलि बुढो छ। त्यहि भएर बुढो समय पान गर्ने मान्छेहरु झन बुढो हुदै गएका हुन-विचार र भोगाईमा। जब जब म आफ्नो सोचोइको क्षितिजमा पुग्छु, आफ्नै आकाशमा हराउछु लाग्छ त्यसबेला म अर्कै ब्रह्माण्डमा हुन्छु। आफ्नै ब्रह्माण्डमा। जब हामी आफै भित्र आफ्नै ब्रह्माण्डमा हराउन सक्छौ भने, सयर गर्न सक्छौ भने हामी एक ब्रह्माण्डको सिद्धान्तबाट अलि टाढा निस्केर आफुमा समाहित सबै ब्रह्माण्डहरुको बारेमा सचेत रहन जरुरि छ। बुझ्न, जान्न जरुरि छ। नत्र ती नजन्मदै हराउने छन, अलाप हुने छन। एउटा संकेत छाडेर मन मस्तिष्कमा। बुझ्ने हो भने आफैं भित्र भेटिने छन ति अष्ट भुजाहरु, गदा, चक्र धारिहरु अनि अरु पनि थुप्रै…। के गीतामा भगवान श्री कृष्णलाई ज्ञान ओकल्न लगाउने, अभिनय गर्न लगाउने महात्मा कमजोर थिए? निरिह थिए? होइन। उनि त कृष्ण भन्दा धेरै शक्तिशाली थिए जसले कृष्णलाई समेत त्यति शक्तिशाली बनाए। उनै मानव महात्मा हुन जसले ब्रह्मिय ब्रह्माण्डमा आफ्नो ब्रह्माण्डबाट भगवानको अबतार अबतरित गरे र देखाइदिए जसले सृष्टिमा अहम भूमिका खेलेका भगवानहरुलाई अदृष्य हुन बाध्य बनायो। नत्र कण कणमा बस्न सक्ने भगवान किन बस्न सकेनन मान्छे भित्र? असहाय भित्र? जसलाई आज पनि मान्छे खोज्दै हिडेको छ। र भगवान भाग्दै हिडेका छन पर पर किनकी उनलाई थाहा भैसक्यो की स्वंम मान्छे भित्रको भगवान कति शक्तिशाली छ। अझ रोचक कुरा त यो छ की भगवान बस्ने घर चाहे त्यो मठ, मन्दिर होस वा वेद, पुराण, शास्त्र जहाँसुकै मान्छेले स्थापित गरेका हुन भगवानलाई। मान्छेले नै शक्तिशाली पनि बनाएका हुन। किनकी हर मान्छेमा एउटै रोग छ-मनोरोग जस्ले ऊ मान्छे भएर मान्छेलाई बिश्वास गर्न सक्दैन, गर्दैन। त्यहि भएर मान्छे आफै भित्र अलौकिक ब्रह्माण्ड लिएर यो लौकिक ब्रह्माण्डको पछि पछि हिडिरहेको छ। हिडिरहने छ।
ब्रह्माण्डको आबरणमा अटाएका, दृश्यमा रहेका सूर्य, तारा अनि अरु नामाकरण गरिएका नगरिएका, रहेका, हराएका सबै अनगिन्ति सौर्य पिण्डहरु जस्तै मान्छेको चेतनामा पनि ति सबै पिण्डहरुको बारेमा जान्ने, बुझ्ने अनि ती सबैलाई एक एक परिभाषित गर्ने सामर्थ्य रहनुले पनि पुष्टि गर्दछ यो ब्रह्मिय ब्रह्माण्ड मानविय ब्रह्माण्ड बिना अपुरो छ, अपुर्ण छ, अपरिभाषित छ। मान्छेको चेतनामा आएर ठोक्किएपछि अनाम वस्तुहरु, रहस्यवान वस्तुहरु नाम राख्न, रहस्य उद्घाटन गर्न बाध्य हुनेछन। हरेक वस्तुको वास्तबिक पहिचान गराउन सक्ने सरस्वति मान्छेमै बिराजित छिन। धनका महाराज कुबेर, निपुण कला कौशित बिश्वकर्मा, ध्यान ज्ञानमा पारंगत गुरु शुक्राचार्य, घमण्डि रावण सबै अटाएका छन मान्छेमा। त्यति मात्र होइन, देवता का देवता; संहारक महादेव पनि मान्छे भित्रै छन। अब मान्छेले चाह्यो भने कुनै शिव धनु बोकेर त्रिपुर ध्वस्त गर्न हिडिरहनु पर्दैन। बसि बसि कनै यो देखिएको संसार क्षणमै ध्वस्त गर्न सक्छ। यो उदाहरण आज स्थापित भैसकेको छ। र कुनै दिन मान्छे यो ब्रह्माण्डकै रुप परिबर्तन गर्न सक्षम हुनेछ। यो तथ्यमा आधारित मेरो बिश्वास हो। घमण्ड वा अहंकार होइन।
यति धेरै सत्य तथ्य बोकेर आज हामी कुन बाटो हिड्न खोज्दैछौ? ध्यान, ज्ञान, मान, उपकार र परोपकारको मार्ग छाडेर हामी कता लम्कन खोज्दैछौं? आफु भित्रै अनेक बाटो र गन्तब्य हुँदाहुँदै हामी कुन बाटो बनाउन लाग्दैछौं? यो सांसारिक जगत क्षणिक छ। हामी यो क्षणिक बाटोको पछि पछि हिड्नुको कुनै दिर्घकालिन सार्थकता छैन। सार्थकता त यसमा छ हामी एकले अर्कालाई, एकले अर्काको ब्रह्माण्डलाई सम्मान गर्दै आत्मियता र भाइचाराको नयाँ सम्बन्ध स्थापित गरे मात्र हामीले आफुमा निहित ब्रह्माण्ड र मान्छेको सहि साक्षात्कार गरेको हुनेछौ।

प्रकाशित मिति : प्रकाशन मिति : शनिवार, 22 मङ्गसीर, 2070

लेखकका अन्य रचनाहरु