परीक्षण

- विन्देश मगर

“जय नेपाल विजय जी ।”
“जय नेपाल ।” भन्ने उत्तर दिदै म प्रकाशलाई बस्न अनुरोध गर्छु । प्रकाश मेरो समकक्षी साथी डिएसपी हो । उसको र मेरो चिनाजनी र मित्रता क्याम्पस पढ्दा कै हो । सिआइबीमा सँगसँगैको भर्ती, एउटै शाखा र हाल पनि एकदम मिल्ने साथी भएकोले ऊ मेरो कार्यकक्षमा आइरहन्छ । आज पनि बिहानै ऊ मेरो अफिसमा आएको छ ।
“के काममा व्यस्त हो आजकल ?” उ मलाई सोध्छ ।
“अहिले त्यस्तो कुनै नयाँ विशेष अप्रेसन त छैन तर हिजो मात्रै सोल्टी होटलबाट फर्केको । त्यहाँ एक जर्मन पर्यटकको निगरानी गर्न गएको थिएँ । खासै त्यस्तो शंकास्पद कुरा भेटिएन । तीन दिन सोल्टी होटलको खानपिन र बसाइ भो । बस् उपलब्धी त्यति भो ।”
केको लागि खटाइएको थियो र तिमीलाई ?”
“इन्टरपोलले जर्मनीमा एक व्यक्तिको हत्या गरी फरार भएको हत्यारा भएको आशंकामा निगरानी गर्न मलाई त्यहाँ खटाइएको थियो । त्यति महँगो फाइभ स्टार होटलमा हामी जस्ताको त्यसै बास कहाँ हुन्छ र ? जे होस् यसपाली चैं पहिलो पटक तीन दिन त्यहाँ बासै बसियो ।”
“अनि त्यो जासुसी क्यामेरा परीक्षण भयो ?”
“त्यो परीक्षणै नगरी त पठाइएको पक्कै होइन होला तर यहाँ एकैचोटी परीक्षणै नगरी मिसनमा प्रयोग गर्नु भन्दा पहिला परीक्षण गरेर मात्रै मिसनमा प्रयोग गर्नु बेस होला । ठिकै छ म परीक्षण छिटै गर्छु ।”

प्रकाश चिया गफ गरेपछि आफ्नो कार्यकक्षतिर लाग्छ । म त्यो जासुसी क्यामेरा हेर्दै त्यसको परीक्षण योजना बनाउन थालेँ । जासुसी क्यामेराको आकार कमिजमा लगाउने टाँक जत्रै थियो । यसले आवाज सहितको भिडियो यसको प्रणालीसँग जोडिएको कम्प्युटरमा दिइरहन्छ । यसलाई कुनै विदेशी सरकारबाट सहयोग स्वरूप पठाइएको थियो । मेरो कार्यालयमा तीन सेट आएको थियो । मैले यसको परीक्षण आफ्नै घरमा गर्ने विचार गरेँ । यो सानो गहनामा लगाउने पत्थर जस्तै भएकोले यसलाई महिलाले कानमा लगाउने झुम्कामा जोड्ने निधो गरेँ । सुन पसलमा गएर यसको प्रकारसँग मिल्ने पत्थर भएको झुम्काको मोडल रोजेँ । जोडीमा एकातिर जासुसी क्यामेरा र एकातिर सक्कली पत्थर बनाएर सुनको झुम्का बनाउन अर्डर दिएँ । नभन्दै हप्तादिनमै मैले भने र चाहे अनुरूपकै सुन्दर गहना बन्यो । यसलाई जन्म दिनको अवसर पारेर श्रीमतीलाई उपहार स्वरूप दिएँ ।
मेरी श्रीमती पनि त्यस्तै औशत खालकै महिला थिइन् । जो श्रीमान्ले महँगा गहना दिँदा आफूलाई निकै भाग्यमानी ठान्छिन् अनि श्रीमान्ले त्यो कहाँ बाट कति र कसरी दुख गरेर ल्याएको छ त्यो बारे वास्ता गर्दिन ।
घरमा छोरी अनि श्रीमती, श्रीमतीको जीउमा टाउको, टाउकोमा कान, कानमा सुनको झुम्का, झुम्कामा जासुसी क्यामेरा, क्यामेरामा भिडियो, भिडियोमा कम्प्युटरबाट मेरो निगरानी । म यसैगरी कार्यालय र अन्य कामका लागि बाहिर रहे पनि रेकर्ड गरिएको भिडियो निगरानी गरिरहन्थेँ ।
माफगर्नुस् मित्र मैले आफ्नी प्यारी श्रीमती माथि शंका लागेर निगरानी गरेको थिइनँ । म त मात्र त्यस जासुसी क्यामेराको सफल हुँदै गरेको परीक्षण गरिरहेको थिएँ । आमाछोरी दुवै बोर्डिङ जान्थे । एकजना पढ्न र अर्को पढाउन । छोरी पढाउने र आमा पढ्ने चाहिँ हैन किनकि मैले भनिहालेँ मेरी श्रीमती औशत महिला नै थिई । जो साधारण बोर्डिङ स्कुलकी साधारण शिक्षिका । अनि छोरी पनि साधारण छोरी नै थिई जो साधारण बोर्डिङ्का साधारण विद्यार्थी थिई यति भनेपछि तपाईंले बुझिसक्नुभयो होला मेरो साधारण परिवारको बारेमा ।
म घरीघरी घरबाट टाढा भएकोले श्रीमतीको कानमा रहेको जासुसी क्यामेराले पठाएको भिडियो हेर्ने गर्थेँ । यसै गरी केही दिन र हप्ता बित्यो ।
त्यस्तै एकदिन, मेरी श्रीमतीको बोर्डिङ्का प्रिन्सिपल समर पनि उनीसँगै घर आए । त्यो जासुसी क्यामेराबाट तिनीहरूलाई हेरिरहेको म अचानक बेहोसजस्तै भएँ । मेरा पाँचै इन्द्रीयहरूले अचानक काम गर्न छोडेको थिए सायद् । मेरा कार्यलयको अरू सहायकहरूले उठाएपछि म केहीबेर मै बिउँझिएछु । मैले अलि विश्वास नलागेकोले फेरी त्यो भिडियो दोहो¥याएर हेरेँ । कम्प्युटर बिग्रेको थिएन, क्यामेरा पनि बिग्रेको थिएन । मेरो आँखा पनि ठिकै थियो बिग्रेको थियो त –त्यहीँको क्रियाकलाप ।
म त्यस्तो अभागी श्रीमान् थिएँ जो लाइभ पोर्नमुभी हेरिरहेको थिएँ । आफ्नै श्रीमतीको परपुरुष सँग । समरसँग मेरो साधारण चिनजान मात्र थियो । मेरी श्रीमतीको हाकिम भएकोले । उसका बारेमा श्रीमतीले थप कुरा उनको क्याम्पस पढ्दाको साथी भएको कुरा गरेकी थिइन् । आज यस भिडियोबाट थाहा भयो तिनीहरू पहिलादेखि कै प्रेमी प्रेमिका थिए ।
बिचमा समरको अर्कै केटीसँग बिहे भयो । त्यसको केही वर्षपछि सीमाको मसँग । तिनीहरू अहिले पनि एक अर्कालाई प्रेम गर्छन् । पहिलेकै जस्तो गरी प्रेमी प्रेमीका बीच हुने क्रियाकलाप स्वरूप शारीरिक सम्बन्ध कायम गरेका थिए ।
अब मलाई अचानक ज्वरो बढेर आयो, टाउको पनि दुखेर आयो । आखिर सीमाले किन यसो गरी ? मैले उसको खुसीको लागि के चाहिँ गरिनँ र ? आखिर किन मलाई यसरी विश्वासघात गरी ? समरलाई त्यतिधेरै माया गर्ने भए मसँग किन बिहे गरिन् त ? कि म नभएको कारण मेरो अनुपस्थितिको आवश्यकता परिपूर्ति मात्रै गरिन् ? सबै प्रश्न उत्तर विहीन थिए –मेरो सोचाइमा । अब मेरी प्यारी श्रीमती श्रीमतीबाट धोकेबाज, विश्वासघाती, निष्ठुरी र यस्तैयस्तै शब्दले पुकार्नु पर्ने पात्र थिइन् ।
अब के गरूँ केही निर्णय लिन सकिएन । उनीहरू दुवैसँग जोडले रिस उठेर आयो । धेरै तनावका बीच मैले उनीहरू दुवैलाई मार्ने योजना बनाएँ । मैले रिसको झोँकमा समाधान नै यही देखेँ । अब म उनलाई कसरी मार्ने भन्नेतिर सोच्न लागेँ । मनमा अनेक किसिमका तर्कना आउँथ्यो । कहिले के सोच्थेँ ? कहिले के ? कहिले आफैँले बनाएको योजना ठिक लाग्थ्यो कहिले बेठिक । यसैकारण म कार्यालयको काम, मिसन, अनुसन्धान कुनै कुरामा ध्यान दिन नसक्ने भएँ । मैले धेरै प्रकारका अपराध पनि अनुसन्धान गरेको अनुसन्धान विभागको गुप्तचर भएकाले मलाई हत्या गर्न कुनै धेरै मेहनत गरेर योजना बनाउनु पर्दैनथ्यो । जे भए नि म मेरी श्रीमतीको हत्या गरेरै छाड्ने सोचमा पुगेँ । धेरै सोच्दा सोच्दा, रुँदारुँदा, तनाव व्यहोर्दा व्यहोर्दा मेरो मन, शरीर, दिमाग पुरै गलेर सिथिल भइसकेको थियो ।
अकस्मात मेरो मोबाइलको घन्टी बज्यो । मैले उठाउन खासै रूचि लिइनँ । फेरि बज्यो हेरेँ सिमाकै मोबाइल नम्बर स्क्रिनमा थियो । पहिला म फोन उठाऊँ कि नउठाऊँ ? म कन्फ्युज भएँ । फेरि फोनको घन्टी बज्यो ।
“धोकेबाज, विश्वासघाती” चिच्याउन मन लागेको थियो तर चिच्याइनँ । विस्तरै मधुर स्वरमा “हलो” भनेँ ।
“बाबा गुडमोर्निङ ।” उताबाट मधुर बालसुलभ बोली सुनियो ।
“गुडमोर्निङ छोरी । कतिबेला उठ्यौ ?”
“अघि नै उठेको बाबा । अब मामु र म हजुरसँग नबोल्ने ।” छोरीले दङ्ग्याउँदै घुर्की लगाई ।
“किन र छोरी ? बाबाबाट के बिरानी भयो र त्यस्तो बोल्नै नहुने ?”
“अब हजुरले म पास भएपछि हामीलाई लिएर घुमाउन लाने भन्नु भएको थियो । हजुरले त मेरो रिजल्ट पनि सोध्नु भएन घर पनि आउनु भएन ।”
तनावग्रस्त भएको मेरो दिमागलाई छोरीसँगको फोनवार्ताले ठन्डा तुल्याएको थियो । मैले आफ्नी श्रीमतीलाई मार्न बनाएको योजना र छोरी अनि उसको भविष्य सम्झिएँ । अकस्मात् मेरो गालाबाट आँसुको थोप्लो दौडेर भुइँमा खस्यो । म केही बोल्नै सकिनँ ।
उताबाट फेरि आवाज आयो “बाबा । हजुर किन नबोल्नुभाको ? मैले बोल्दिनँ भनेँ भनेर हो ? त्यसो भए अब बोल्ने क्या बाबा । ....किन नबोल्नुभाको बाबा ? सरी बाबा मैले फेरि हजुरको चित्त दुखाएँ ।”
अब छोरी मलाई फकाउन लागेकी थिइन् । म रोएको मेरी छोरीलाई के थाहा ? मलाई फकाउँदै गरेकी मेरी छोरीलाई म चाँडै दुई चार दिनमै घर आउने कुरा गरेर फकाएँ अनि छोरी म चाँडै घर आउने कुराले खुसी हुँदै फोन राखिन् । छोरीको सुन्दर भविष्य अनि सीमालाई मार्ने योजना यी कुराले मेरो मनलाई रणभूमि बनाएको थिएँ । धेरै सोचेँ, रोएँ अनि आफैँलाई धिक्कारेँ अन्तमा मैले हत्या योजना पूर्ण रूपमा क्यान्सिल गरिदिएँ ।
एकहप्ता विदा लिएर म घर आएँ । घर आइपुग्दा अबेर भइसकेको थियो । सीमा भने मलाई नै पर्खिरहेकी थिइन् । सुत्ने बेलामा मस्त निद्रामा सुतिरहेको छोरीको अनुहार हेरेँ अनि सीमाको कानको झुम्का पनि म त्यत्तिकैमा टोलाई बसेछु । सीमा भने भन्दै थिई यो जासुसी जागिर पनि कस्तोकस्तो अरूले केमा जागिर खाको भनेर सोध्दा नि सही उत्तर दिन नमिल्ने सोझो मान्छेलाई पनि यसरी टोलाउने बनाउदो रहेछ ।

ओख्रेनी, रामेछाप ।

प्रकाशित मिति : प्रकाशन मिति : शनिवार, 22 मङ्गसीर, 2070

लेखकका अन्य रचनाहरु