जिन्दगी एक भकुण्डो

- डा. टीकाराम पोखरेल

‘ए डोले ! खेल्ने होइन आज पनि भकुण्डो ?’ म डोलबहादुरलाई भन्छु ।
‘खेलौँ ।’ डोले बेपर्वाहसँग उत्साहित हुँदै भन्छ ।
‘आज पनि’ भन्नुको अर्थ हाम्रो भकुण्डोको मिनी वल्र्डकप हरेक दिन चल्छ । दिउँसो स्कूलमा पनि गुरुहरु पढाइरहेका हुन्छन् । आफ्नो ध्यान चाहिँ कहिले घर पुगेर भकुण्डो हान्ने भन्नेमा हुन्छ । ४ बजे स्कूल छुट्टी भएपछि १ घण्टाको बाटो हिँडेर घर पुगिन्छ । अनि झोला फालेर पुगिन्छ चौरमा, थोत्रा कपडाबाट निर्मित भकुण्डो बोकेर । डोले र म चौरमा पुग्दा नपुग्दै पुड्के, पोकले, नाराने, हरे, भैरे, चन्द्रे, धने, जगते सबजना आइसकेका हुन्छन्, भकुण्डो खेलमा सहभागी हुन । हाम्रो मिनिवल्र्डकप चल्छ । भूमिका कसैको खेलाडी हुन्छ त कसैको दर्शक हुन्छ ।
हो, त्यसबेला मलाई आफ्नो प्रिय भकुण्डो बोकेर चौरमा पुग्दा वल्र्डकप खेल्न रंगशालामा उत्रेको भान हुन्थ्यो । चौर त के भनौँ बारीको पाटामा । फाटेको कपडाले बनाएको भकुण्डो । बारीको पाटामा कोदालोले खनेर लाइन बनाएको भलिबल कोर्ट । घाँस दाउरा बोक्ने नाम्लोले बनाएको नेट । अनि गाई बाँध्ने खाँबोबाट बनाएको पोल । खेल चाहिँ भलिबल । खेल आयातित भए पनि हाम्रा खेल सामग्री कुनै पनि आयातित थिएनन् । पुरै होम मेड । कच्चा पदार्थमा पूर्णतः आत्मनिर्भर थियौँ हामी ।
त्यसो त त्यो भकुण्डो मेरो लागि प्रिय मात्र थिएन, कहिलेकहिँ अप्रिय पनि भइदिन्थ्यो । अप्रियताको कारण हो भकुण्डोले मलाई खुवाएको गाली । हो, भकुण्डोले धेरै गाली पनि खुवायो मलाई । कहिले काहीँ थोत्रा कपडा नपाउँदा नयाँ कपडा नै च्यातचुत पारेर भकुण्डो बनाइन्थ्यो, आमाको गाली । साँगुरो पाटामा भकुण्डो खेल्दा भकुण्डो उफ्रेर अर्काको खेतबारीमा पुग्दा छिमेकीको गाली । गाईबाख्रा हेर्न जाँदा आफू भकुण्डो खेल्ने धुनमा, गाइबाख्रा अरुकै बालीमा मस्त, फेरी त्यहाँ पनि बालीधनीको गाली । बेलुका घर फर्किँदा अरुको बालीमा गाइवस्तु छोडेको भनेर बाको फेरि गाली । भकुण्डोलाई जति हानियो त्यो भन्दा धेरै बढी गाली भकुण्डोले मलाई खुयायो । गाली सम्झिँदा त मैले भकुण्डो खेलेको हो कि भकुण्डोले मलाई खेलाएको हो भन्नै गारो । जे होस् जतिसुकै गाली खाए पनि भकुण्डो छोडिनँ मैले । म परेँ भकुण्डोप्रेमी । भकुण्डो मेरो पूरक । सानैदेखि जिन्दगी जोडियो भकुण्डोसँग ।
हो, सानोमा भकुण्डो खुब हानियो । बेपर्वाहसँग हानियो । कहिलेकाहिँ त भात खाने बेलामा र सुत्ने बेलामा बाहेक भकुण्डोले सुख पाएन । मैले हानिरहेँ, भकुण्डो हानिइरह्यो । जति हाने पनि नहान् भनेन भकुण्डोले मलाई । मैले पनि त गाली खुवाइस् भनेर कहिल्यै गुनासो गरिनँ नि भकुण्डोलाई । यसरी बाल्यकालमा भकुण्डो मेरो जीवनको अभिन्न अंग बनिरह्यो ।
‘ए केटा ! तँलाई रबरको भकुण्डो किनिदिउँ त ?’ बाले एक दिन अनायास भने ।
बाको कुरा सुनेर दंग परेँ म । बाले मलाई जिस्क्याएको हो कि साँच्चै भनेको हो भन्ने कुरा बुझ्न सकिनँ । तै पनि हुन्छ भन्दा के फरक पर्छ भन्ने सोचेँ र भन्दिएँ– ‘हुन्छ बा ।’
मलाई रबरको भकुण्डो किनिदिने कुरा विश्वास थिएन । कुरा साँच्चिकै पो रहेछ । धेरै वर्षदेखि मैले झुम्राको भकुण्डो होनेको देखेर मेरा बालाई मप्रति दया लागेछ कि के हो बाले रबरको भकुण्डो किन्न बजेट छुट्याएछन् । झुम्राको भकुण्डो हान्न धेरै मेहनत गरिएछ क्यारे, प्रमोशन भइएछ । बाले प्रमोशन गरिदिए । प्रमोशन म भएँ कि भकुण्डो भयो कुन्नि ? जे बुझे पनि हुन्छ । जे होस् मैले झुम्राको भकुण्डोको ठाउँमा अब रबरको भकुण्डो हान्न पाउने भएँ । मेरो झुम्राको भकुण्डो अब रिटायर्ड हुने भयो ।
झुम्रोको भकुण्डो हान्नेलाई रबरको भकुण्डो पाउने भएपछि के चाहिन्थ्यो र ? खेलाडीले वल्र्डकप जित्दा खुसी भएको भन्दा म बढी खुसी थिएँ । रबरको भकुण्डो पाउने भएको थिएँ तर पाउन त बाँकी नै थियो । गाउँमा किन्न पाउने भए पो भन्नेबित्तिकै पाउनु ?
एकदिन बा चरिकोट जाने भए । मैले पनि यही मौकामा भकुण्डो किन्न जाने भनेँ । बा आफैँ किनेर ल्याइदिन्छु भन्थे । मैले आफैँ गएर किन्ने जिद्दी गरेँ । भकुण्डो किन्ने निहुँमा सहर हेर्ने पनि रहर थियो मलाई । इच्छा त मेरो मोटर हेर्ने पनि थियो । भकुण्डो पनि किन्ने मोटर पनि हेर्ने एक पन्थ दुई काजको मेरो अभियान, म पनि कम बाठो थिएँ र ? छोडिनँ मैले बालाई ।
बिहानको झिसमिसेमै म बाको दौराको फेर समातेर भकुण्डो किन्न चरिकोटतिर लागेँ । ७ घण्टा पैदल हिँडेर चरिकोट पुगियो । चरिकोट पुग्दा पहिलोपटक जीवनमा दुई युद्ध एकैपटक जितेको भान भैरहेको थियो । एउटा भकुण्डो किन्ने युद्ध अर्को चरिकोटका मोटर हेर्ने युद्ध । आहा ! कति भाग्यमानी म । भकुण्डाृ किन्न पाएँ, मोटर हेर्न पाएँ ।
त्यतिबेला चरिकोटमा भर्खरै मोटरबाटो पुगेको थियो । यदाकदा आउने मोटर हेर्नेको धुइरो हुन्थ्यो सातदोबाटोमा । गाउँमा मोटरबाटो पुग्ने बेलामा गाउँको रौनक बढ्छ । प्रसव वेदनापछिको नारीको खुसी झैँ गाउँमा खुसी छाउँछ । त्यसबेला चरिकोट पनि गाउँबाट शहरमा परिणत हुँदै थियो । चरिकोटका गाउँलेहरु रातारात शहरीया हुँदै थिए । खुद्रा पसलहरु बढेर वयस्क हुँदै थिए । साना बाटा फराकिला बन्दै थिए । झुप्राहरु महलमा परिणत हुँदै थिए ।
चरिकोटबाट घर फर्केपछि चरिकोट आउन नपाएकाहरुलाई शहरका कथा सुनाउनु थियो मलाई । रबरको भकुण्डो त किनियो नै सुरुमै । अनि सात दोबाटोदेखि टुँडिखेलसम्मको बजार तीन पटक ओहोरदोहोर गरियो । पसल र अफिसमा राखेका सबै साइनबोर्ड पढेर कण्ठ गरियो । .... इन्टरप्राइजेज, ..... फोटो स्टुडियो ..... मिठाइ पसल, ..... स्टेशनरी एण्ड पुस्तक पसल, ....भेराइटी सेन्टर, .... होटल एण्ड लज, ....बैँक लिमिटेड, ......होजियरी आदि आदि । पशुपति मन्दिर नजिकैको पसलमा जेरी पनि खाइयो ? सातदोबाटोमा एकछिन रोकिएर जिरीतिर लाग्ने मोटरगाडी त झन् आँखा झिमिक्क नपारी हेरियो । त्यसरी नहेरी कसरी सुनाउनु त गाउँ फर्केर शहरका कथा चरिकोट आउन नपाएकाहरुलाई ।
झण्डै ६ घण्टाको चरिकोट घुमाइ मलाई त ६ मिनेट जस्तो लाग्यो । कति छिटो चरिकोट आइपुगेको ६ घण्टा बितेछ । बा र बासँगै आएका अरु ढाक्रेहरुले किनमेल गरी ढाकर बाँधिसकेछन् । उनीहरु फर्कन लागेपछि बाको फेर समातेर पछि लाग्नुको विकल्प थिएन मसँग पनि । बाले ढाकर बोके, मैले मेरो प्रिय भकुण्डो बोकेँ । चरिकोटबाट फिर्ता हुँदा साँझको ६ बजिसकको थियो । रात स्वागत गर्न तम्तयार भयो ।
चरिकोटबाट हिँडेपछि दोलखा पुग्दा नपुग्दै स्थानीय नेवारी भाषामा टुटुरवटी भनिने ठाउँमा एउटा पाटी थियो, अहिले पनि छ । बोलीचालीमा च्यादरपाटी भन्छन् त्यो पाटीलाई । हाम्रो त्यो दिनको होटल एण्ड लज त्यही च्यादरपाटी हुने भयो । गन्तव्य च्यादरपाटी लिएर ६ बजे चरिकोटबाट हिँडेका हामी ७ बजे पाटीमा पुग्यौँ । हिँउदको दिन सायद औँसीको सेरोफेरोको दिन थियो क्यारे । पुरै अन्धकार थियो, चकमन्न । दोलखामा बिजुली पुगिसकेको थिएन । पुगेकै भए पनि पाटीमा बिजुली बाल्न कसको जाँगर ?
पाटी, जहाँ बस्न होटल एण्ड लजमा जस्तो भाडा तिर्नुपर्दैन । बस्नलाई कसैको अनुमति लिनु पनि पर्दैन । बरु उल्टो उपियाँ र उडुसको स्वागत पाइन्छ । हामीलाई पनि पुग्नासाथ पाटीका उपियाँ, उडुस र जुम्राहरुले स्वागत गरे, स्वागतार्थीको न्यानो आतिथ्यतामा हामीले एक रात त्यहीँ बिताउने निर्णय ग¥यौँ ।
घरबाट ल्याएका ताउला काम्ला ओछ्याएर हाम्रो ढाक्रे दलका सबै जना सुते । म पनि मेरो प्यारो भकुण्डो च्यापेर बाका खोकिलातिर घुस्रेँ । तर निन्द्रा किन लाग्थ्यो उपियाँघरमा । त्यसमाथि कहिले ऊ खोक्छ, कहिले ऊ घुर्छ । कहिले कसैले माथिबाट डकार्छ, कहिले अर्कोले तलबाट छोड्छ । कहिले कोही पाटीसँगै जोडिएको बाटोमा हल्ला गर्छ, कहिले एकतमासले किरा कराउँछ । कहिले स्याल कराउँछ कहिले कुकुर भुक्छ । यस्ता कुराले निःशुल्क प्रवेश पाउने पाटीमा निन्द्रालाई त पुरै प्रवेश निषेध रहेछ ।
हो, पाटीको बास निन्द्रा कसैलाई छैन । झन भकुण्डो च्यापेर सुतेको मलाई त निन्द्रा लाग्ने कुरै भएन । कहिले घर पुगिएला र सबका अगाडि शान दिएर रबरको भकुण्डो हानौँला भन्ने कुराले छटपटी भइरह्यो । छटपटीकै बीच एक जना नवअतिथि अँध्यारोमा खस्याकखुसुक गर्दै पाटीभित्र पस्यो । चोर पो आयो कि भनेर सबै सजग भए । चोर होइन रहेछ । चोर्नै आएपछि पाटीमा किन आउँथ्यो होला र ? बुझ्दा पाटीको स्थायी ग्राहक रहेछ त्यो मान्छे । झुत्रे थियो ऊ । सुत्ने ठाउँ खोज्न थाल्यो । तर लम्पसार परेका मान्छेहरुले ठाउँ पूरै प्याक । जति प्याक भए पनि सार्वजनिक पाटीमा कसैलाई नआइज भन्ने कसले ?
एकछिनमा पाटीको कुनामा खाली ठाउँ खोजेर पल्ट्यो त्यो झुत्रे मान्छे पनि । तर खस्याकखुसुक गर्न छोडेन उसले । कहिले खोक्ने, कहिले के के गुन्गुनाउने, कहिले साकसाकसुकसुक गर्ने । डिस्टर्व माथि डिस्टर्ब थप्यो अतिथिले ।
त्यो झुत्रे अतिथिले धेरै डिस्टर्ब गरेपछि लम्पसार परेको मध्येको कसैलाई झोक चल्यो सायद । ऊसँग ठाठाडो स्वरमा वार्तालाप सुरु ग¥यो ।
‘घर कहाँ हो ? ’
‘चिलंखा ।’ उसले भन्यो ।
‘यहाँ के गर्छौ त ?’
‘ज्यालामजदुरी गर्छु बाटो खन्ने ठाउँमा ।’ त्यसबेला चरिकोटबाट दोलखा जाने बाटोको ट्रयाक खुल्दै थियो ।
‘अनि जहान परिवार कता छन् नि, यतै सँगै हो ?’
‘सँगै होइन, घरमा छन् ।’
‘अनि घरबाट कहिले आको त ?’
चारवर्ष भो ।
बीचबीचमा जाने गरेको छ कि घरमा ?
‘हिँडेदेखि एकपटक पनि गएको छैन । कमा’को पैसा जहानलाई पठाइरा’को छु । अहिले काम पनि पाइरा’को छु । अब अर्को एकदुई वर्ष पछि मात्र जान्छु होला । अहिले किन जानु र ?’ उल्टो उसैैले प्रश्नकर्तामाथि प्रतिप्रश्न ग¥यो ।
‘अनि छोराछोरी छन् कि छैनन् ?’
‘छन् ।’
‘कतिवटा ?’
‘तीन’टा ।’
‘कति–कति वर्षका ? ’
‘खै, कति कति वर्षका भए त्यो त खबर आ’को छैन । तीन’टा भैसके भन्ने खबर चाहिँ हिजो मात्र आ’को ।’ (पाटीमा लम्पसार परेकाहरुको गलल्ल हाँसो)
‘आफ्नो छोराछोरा छोरी कति वर्ष भए भन्ने पनि थाहा हुँदैन त ?’ हाँसोकै बीचमा प्रश्नकर्ताको थप प्रश्न ।
‘पहिला म घरबाट हिँड्दा त एउटा पनि थिएनन्, सबै म हिँडेपछि जन्मेका हुन्, त्यसैले वर्ष थाहा भएन हजुर ।’ उसको प्रत्युत्तर । (पाटीभित्र अझ ठूलो हाँसो)
हो, उसको निर्दोषितामा सबै जना गलल्ल हाँसे । अरुको लहैैलहैमा म पनि हाँसे । अरु किन हाँसे थाहा भएन । म चाहिँ हाँसोमा हाँसो मिलाउन हाँसे । अर्थात् कुरा नबुझे पनि कुरा बुझेको अभिनय गर्न हाँसे ।
त्यतिबेला म सानो थिएँ । उमेरले पनि बुझाइले पनि । अवोध वच्चाले कसरी बुझ्नु र लोग्ने सँगै नभई स्वास्नीले बच्चा जन्माएका कुरा ? पछि वयस्क भएपछि त्यो मजदुरको कुरा सुनेर च्यादरपाटीमा सबैजना गलल्ल हाँसेको रहस्य बुझेँ । म फेरि हाँसे । एउटै कुरामा दुई पटक हासेँ । उहिले च्यादरपाटीमा कुरा नबुझेर हाँसे, पछि वयस्क भएपछि कुरा बुझेर हाँसे । धेरै ठाउँमा टाइम पास गर्न यो कथालाई मैले ‘जोक’को रुपमा सुनाएँ पनि । तर ‘जोक’ जस्तो लाग्ने यो कुरा ‘जोक’ थिएन ।
तर आज आएर सम्झन्छु । बिचरा ! त्यो मजदुर आफ्नी स्वास्नीलाई खुसी पार्नका लागि घरभन्दा कोसौँ टाढा बसेर मजदुरी गर्दो रहेछ । उता स्वास्नी भने लोग्नेले मजदुरी गरेर पठाएको पैसामा अरुलाई नै खुसी पार्दी रहिछ । खुसी पारेको ब्याज स्वरुप अरुकै बच्चा उत्पादन गर्दी रहिछ र आफूले महान् काम गरे झैँ गरी लोग्नेलाई खबर पठाउँदी रहिछ । सोझो लोग्ने आफूले दुःखै नगरी स्वास्नीले बच्चा जन्माइदिएकोमा दंग पर्दो रहेछ । लोग्नेको सोझो र अनाडिपनको फाइदा उसकी स्वास्नीले खुब उठाइछ । त्यसको जिन्दगीलाई स्वास्नीले भकुण्डो बनाइछ । बिचरा ! त्यो मजदुर भकुण्डो स्वास्नी चाहिँ खेलाडी भइछ । त्यसबेला हाँसोको विषय बनेको त्यो कथा आज सम्झँदा हाँसो होइन जीवनप्रति दया जागेर आउँछ ।
जिन्दगीको लामो यात्राको आधाभन्दा बढी यात्रा तय गरिसक्दा अहिले आएर सोच्छु हरेक मान्छेको जीवन त एक भकुण्डो नै पो रहेछ । कतै स्वास्नीले लोग्नेलाई भकुण्डो बनाए होलान्, कतै लोग्नेले स्वास्नीलाई भकुण्डो बनाए होलान् । कतै बाबुले छोरालाई कतै छोराले बाबुलाई । कतै साथीले साथीलाई कतै मालिकले कारिन्दालाई । कतै नेताले जनतालाई, कतै मित्रराष्ट्रले नेतालाई ।
जसले जसलाई भकुण्डो बनाए पनि नियति रहेछ सबै कुरा । नियतिले जता हान्छ उतै ठोकिन पर्ने, हामी त नियतिको खेलका पात्र मात्र रहेछौँ । आख्यानकार इन्द्रबहादुर राईको भनाई सम्झिरहेको छु– ‘हामी सोच्दछौँ एउटा, तर भैदिन्छ अर्को ।’ हो जिन्दगी योजना गरे जस्तो गरी चल्दैन । डाक्टर पढ्ने इच्छा गरेको मान्छे अन्ततः साहित्यकार बन्छ, व्यापार गर्छु भनेको मान्छे व्यापारमा फेल भएर राजनीति गर्न पुग्छ । नियतिका यी खेलहरु कसले जानेको छ र ? मान्छेलाई जित्नुपर्छ । जित्ने लोभमा मान्छे उफ्रिरहन्छ । तर जित्ने दौड आरम्भ हुनु अगाडि नै आफू हारिसकेको थाहा पाउँदैन मान्छे ।
भकुण्डो जति उफ्रे पनि भकुण्डोले जित्दैन खेलाडीले जित्छ । जीवन जति उफ्रे पनि जीवनले पनि जित्दैन, जित्छ सधैँ नियतिले । हार्छ सधैँ जिन्दगीले । मान्छेले भकुण्डोलाई बेपर्वाहसँग हानेर मनोरञ्जन लिए झैँ नियतिले जिन्दगीलाई हानेर नियतिले मनोरञ्जन लिइरहन्छ ।
जीवन भकुण्डो । मेरो जीवन पनि भकुण्डो । अर्थात् भकुण्डो जीवन । तर मेरो हिजो र आजको भकुण्डो जीवन चाहिँ फरक छ । सानामा भकुण्डो खेल्न पाए जीवन हुन्थ्यो । भकुण्डो रहर थियो । तर भने जस्तो भकुण्डो पाउनै गारो । आज भकुण्डो हुन मन छैन तर नियतिले सधैँ भकुण्डो बनाउँछ जीवनलाई । हिजो म खेलाडी थिएँ म भकुण्डो हान्थेँ, आज म भकुण्डो भएको छु खेलाडी चाहिँ नियति । भकुण्डोसँग जिन्दगीको कहिल्यै डिभोर्स भएन । जिन्दगी रहेछ एक भकुण्डो ।

प्रकाशित मिति : प्रकाशन मिति : शनिवार, 1 मङ्गसीर, 2070

लेखकका अन्य रचनाहरु