दम्पति

- एन. पी. रिजाल

“विवाह भै सकेको तीन महिना बितिसक्दा पनि बोलचाल छैन, दुलहा र दुलहीको ।” कुरा गजवको भइरहेको थियो गाँउ घरमा । पहिले पो, छ सात वर्षकै उमेरमा विवाह गरिदिन्थे र दुहला–दुलही बीच वर्षोँ दिनसम्म पनि बोलचाल हुँदैन थियो तर यहाँ त अवस्था बेग्लै छ । उमेर पुगेका केटा केटी । समाज र जीवन पनि राम्ररी बुझेका थिए फेरि किन बोलचाल नै हुँदैन त दुई को ? कुरा चर्चामा आइरहेको थियो ।
कान्छा भने असाँैदिला मान्छे हुन् । अनुहार नै नमिलेको, कस्ता अनौठा, काल । त्यती मात्रै होइन ओठ केही उठेको थियो । तर कान्छी भने केही राम्री, सौंदिली, चिटिक्क परेकी । हुन त कान्छी दुलहीलाई पनि बत्तिस लक्षणकी भन्न मिल्दैन । हात केही बाङ्गो देखिन्थ्यो । तर झट्ट हेर्दा दुलहा भन्दा दुलही नै राम्री थिइन् ।
दुलहा भने कुरा मिलाएर बोल्न नै नजान्ने, जुन कुरा स्वागरातमा नै दुलहीले राम्ररी बुझिन् । कती आस र उमङ्ग मनमा थियो दुलहीको । तर दुलहाले भने भाव नै बुझेनन्, संकेत नै बुझेनन् । एक शब्द पनि नबोली कन नै दुलहा सुते । एकैछिनमा सिथिलझै भए दुलहा र स्वाँ... स्वाँ गर्न थाले । दुलही छक्क परिन र दुलहाको अनुहारमा एकोहोरो पाराले हेरिन ।
“असाँैदिलो, हेर्दा पनि नहेरु जस्तो, कस्तो नराम्रो !” दुलहीले मन दुखाई, आफैलाई धिकारी । जीवनमा नसोचेको दुलहा पाएकी थिइ । त्यसैदिन देखि दुलही अर्कै कोठामा सुत्न थालिन । दुलहा पनि दुलहीलाई बोलाउँदैनथे । हुत न दुलहा गाउँका परिचित साथीहरुसंग पनि बोल्न नसक्ने मान्छे हुन फेरि स्वास्नीसंग त भर्खर मात्र भेट भएको थियो । बोलचाल नै गर्न असजिलो भयो फेरि बोल्दा पनि के भन्ने ? कस्तो भाव देखाउने ? दुलहा आफैमा सुन्य थिए ।
तर दुलहाको मन र क्रियाकलापमा भने केही परिवर्तन देखिदैँ थिए । पहिले त्यति काम नगर्ने दुलहा यति खेर काम राम्रोसंग गर्छन् । दुलही उठ्नु भन्दा पहिले नै दुलहा उठेर घर बडारी सक्छन्, अगेनामा आगो जोर्छन र चिया बनाउँछन् । खेत पनि जोत्ने दुलहा यतिखेर किन हो किन पहिले भन्दा राम्ररी खेतबारी जोतछन् । तर दुलहीले भने दुलहाको परिश्रमलाई नियालेकी पनि छैनन् । दुलहाको त्यो जाँगर, काम गर्दाका जोसहरु नियाल्ने चेष्टा कहिलै पनि गरिन दुलहीले ।
दुलहा त दुलहीको मनको मान्छे नै होइन । मन नपरेको लाटो हो दुलहा, केही नजान्ने, केही गर्न नसक्ने मनको भाव पनि नबुझ्ने । “छि ! कस्तो हो मेरो भाग्य र कर्म, यस्ताकी स्वास्नी हुनु परेको । कसरी यो जिन्दगी यो लाटोसंग बिताउनु ? छि ! बोल्न पनि नसक्ने । संगै हिड्न पनि लाझ लाग्छ ।”
दुलही मनमनै जुरमुराउँथी, पिरोलिन्थी । तर दुलहाको भने खाली आफ्नै सुर । दुलहीसंग बोल्न पनि नखोज्ने । दुलही भात पकाउँथी । दुलहा बसेर जस्तो दियो त्यस्तै खाने । सब्जी खल्लो, पिरो, नमिठो, मीठो पनि नभन्ने । अझ दुलहीलाई खाउसम्म पनि नभन्ने दुलहा थिए । दुलहीको लागि आफ्नो थिएन दुलहा । कताको यात्री झै थियो, सहयात्री देखिदैनथ्यो । मात्र भाव विहिन थिए दुलहा ।
तर दुलहा भने पहिले भन्दा धेरै नै बदलिसकेका थिए । हप्तै पिछ्छे दाह्री काट्छन् । काम गरेर आए पछि हात खुट्टा धोएर सफा हुन्छन् र दुलहीको छेउनेर बस्छन् । घरि दुलहीलाई एकोहोरो पाराले नियाल्छन् । दुलहाको मन कस्तो उन्मुक्त हुन्छ । दुलही राम्री थिइ , हेरिरहुँ लाग्ने, आँखामा राखिरहँ लाग्ने । त्यसैले त दुलहा दाह्री राम्ररी काट्थे । दुलही जव घरधन्दा गर्दै हुन्थिन अनि दुलहा त्यहीँ छेउमा बसेर ऐनामा हेर्दै दाह्री काट्छन् । दाह्री काटी सके पछि उनी अनुहारलाई राम्ररी हेर्छन । कतै असौदिलो छ की ? घरिघरि दुलहाका आँखा दुलहीतिर जान्थ्यो । तर दुलही भने दुलहालाई नहेर्ने । उनी पनि दुलहासंग बोल्न नखोज्ने । नजिकिन पनि नखोज्ने । साँचिकै केटाकेटीको जोडी झै थियो दुइको दाम्पत्य जीवन । एकले अर्कालाई जिवन साथी माने पनि मनको भाव नै बुझ्न नसक्ने ।
सुत्दाखेरी दुलही राम्रो ओछ्यानमा सुत्ने तर दुलहा भने नराम्रो ओछ्यानमा । कहिलै नमिलाएको दुलहाको ओछ्यान बिजाउने भइसकेको थियो । त्यसैले दुलहा एक्कासी दुलहीको ओछ्यानमा गएर सुते । दुलही पनि कोठमा पसिन तर खाटमा दुलहा पो सुतेका थिए । कहिलै कोठामा नआउने दुलहा आज किन एक्कासी यसरी आएर सुते दुलही छक्क परिन । कतै जाने पो हुन की भनेर केही क्षण त्यहीँ उभिइन तर दुलहा भने चट्पटाएनन् । जानु यो मेरो ओछ्यान हो भनेर भन्न पनि दुलहीले सकिनन् । केही सिप नचले पछि दुलही खाटको छेउमा सुतिन ।
अक्र्रो नयाँ बिहानी भयो । तर दुबैको मनमा अनौठो लहर चल्न थाल्यो । जिन्दगीको भाव बुझेझैँ लाग्न थाल्यो । किनकी, त्यो रात दुबैका लागि पहिलो रात थियो, एउटा नयाँ जिन्दगीको प्रारम्भको । दुलहा भने सधै झै उठेर घर बडार्दै थिए । दुलही उठेर बाहिर आँउदा त दुलहालाई आँगन बडार्न थालेको देखिन । उनको मन नमिठो भयो र भनिन् “खै, म बडारी हाल्छु नी ।” दुलहीले कुच्चो समाइन र आँगन बडार्न थालिन । दुलहा भने गोरु लिएर खेत जोत्न गए । दुलहीको मन धेरै नै उत्तेजित भै रहेको थियो । कताकता पोखरीमा ढुङ्गा फ्याँक्दा निश्किएका पानीका तरङ्गहरु झै शरीरका अङ्ग–अङ्गमा नौलो क्षणको तरङ्ग डौडिरहेको थियो ।
दुलहीले खाना पनि तयार गरिन । सधै दुलहा आफैँ खाना खान आउँथे तर आझ भने पहिले नै दुलही खेतमा गइन । दुलहा जोत्दै थिए । दुलहीले भनिन् “खाना खान आउनुहोस न । कति धावा गर्नु हुन्छ ? फेरि आराम नहोला नी ?” दुलहाको लागि यो पहिलो स्पर्श थियो दुलहीको । तर दुलहाले भने कुनै प्रतिक्रिया नै जनाएनन् । झट्ट गोरु उभ्याए र दुलहीको पछि पछि लागे ।
घरमा पुगेर दुलही खाना पस्कन थालीन । दुलाहले हात खुट्टा धोएर भान्सा कोठामा पसे । दुलहले खाना खान थाले । दुलाहले केही गाँस खाएपछि दुलहीले भनिन् “सब्जी कस्तो भयो ? मिठो, खल्लो, तितो ?” दुलहाले हाँस्दै भने “ मिठै छ ।” अरु केही बोलेनन् । दुलाहीका आँखा भने दुलहामा थिए । पहिले भाव विहिन देखिने दुलहा दुलहीका आँखामा भावले भरिपूर्ण देखिन थाले । हेर्न पनि मन नलाग्ने दुलहाको नराम्रो अनुहार आज भने हेरिरहुँ जस्तो थियो । दुलहाले भने “तिमी पनि खाउ न ।” दुलहीको मन कस्तो कस्तो भयो । पतिको पहिलो पल्टको मायालु आग्रह त्यो थियो । कहिलै नबोल्ने दुलहाले एक्कासी नौलो भाव राखेपछि नकार्ने क्षण दुलहीको लागि थिएन् । उनको तत्काल आफ्नो भाग पनि पस्किन र खान थालिन । आजको खाना सधैको भन्दा धेरै मिठो दुलहीको लागि भयो । दुलहीको मनमा पनि दुलहाको भाव बसिसकेको थियो । दुलहाले नै मन पराएको खाना दुलहीका लागि नमिठो लाग्ने कुरै भएन् ।
खाना खाएपछि दुलहा जोत्न गए । जोत्ता आज दुलहालाई थकाइ पनि लागेन , अझ मनमा जोस आइरहेको थियो । कामवासनाको पीडाले सिर्जित तरङ्गहरु मनमा अझै पनि डौडिरहेका थिए ।
पुन रात प¥यो । दुलहा अघिल्लो दिनमा झै पुनः दुलहीको कोठामा गए र सुते । दुलही पनि आइन तर असजिलो क्षण भएन । हिजोझै संगै सुते । अचेल दुलहा र दुलही एक आपसमा जतिखेर पनि बोल्छन् । नजिकिन्छन् र घरि जिस्कन्छन् पनि । गाउँ घरमा पनि चर्चा चल्न थाल्यो, “अचेल त कान्छा दुहला र दुलही त मज्जाले बोल्छन् पनि, थाहा छ, दुलही त दुइ जिउकी पो भएकी छ रे ।”
दुलहीले दुलहासंग राती सुतेको बेलामा भनि “तपाइलाई बधाइ छ है ।” दुलहाले भने “के को बधाई ?” “अब, हाम्रो घरमा कोक्रो पनि हल्लीने भो ।” दुलहालाई अनौठो लाग्यो । जीवन यात्रामा सहयात्री थपिने भयो । दम्पतिसंगै सुते । दुलहीले भनी “भोलि म माइत जान्छु है । कति दिन भयो नगएको ।” दुलहाले हाँस्दै भने “जाउन त, म बस पार्कसम्म साइकलमा पु¥याइ दिउँला । तर घर चाँडै फर्कर्नु नी ।”
अक्र्रो दिन भयो, दुलही उठेर नुवाउन थालिन । दुलहा पनि दुलही कै छेउमा बसेर दाह्री काट्दै थिए । दुलहीले देलहालाई देखिन । दाह्रीले कान्छाको अनुहार नै असौदिलो भएको थियो । दाह्री काटेपछि अनुहार उज्यालो देखियो । दुलहीको लागि कान्छा दुलहा राम्रा थिए ।
दुलहीले खाना खाएपछि सृङ्गार पटारमा लागिन । साडी पैरदा त दुलही त राम्री बनेकी थिइन ।
कान्छाले पुरानो साइकल ठिक पारे । कान्छीको झेला साइकलको हेन्डलमा झुन्डाए र साइकलमा बसे । दुलही पनि केरियररमा बसिन । त्यसपछि दुलहाले साइकल हाँके । दुलहीको मन तत्काल प्रफूल्ल भयो । दुलहाले साइकलमा बसाएर बसपार्क लाँदै थिए । हुन त, पहिले पनि दुलहीले साइकलमा नबसेकी भने होइनन् । दुलहाले भन्दा पहिले नै दुलही साइकल चलाउन जान्दथिन् । दुलहा त भर्खर मात्र साइकल चलाउन जान्ने भएका हुन् । तर किन हो किन कान्छीलाई साइकलमा बस्दा अनौठो लागिरहेको थियो ।
बसपार्क आइ पुग्यो । दुलही साइकलबाट उत्रिन । बस हिड्न लागेको थियो । उनी तत्काल बसमा चडिन । बस चल्यो । दुलहाले एकोहोरो पाराले बसलाई परसम्म हेरिरहे र घर फर्के तर दुलहीलाई भने जिन्दगीको सबै भन्दा अनौठो क्षण भयो ।
बस चलिरहेको थियो । तर दुलहीलाई त्यो यात्रा खल्लो भयो । साइकलमा बस्दा जस्तो अनुभूति उनलाई बसमा भएन । किनकी, दुलहा साथमा थिएनन् । कस्तो बिरक्तको क्षण मनमा भइरहेको थियो । बल्ल माइती गाउँ आयो र बस रोकियो ।
बसबाट उत्रेर उनी माइतीघर तिर लागिन । घरमा आमा मात्र थिइन अरु थिएनन् । खाजा खाएर दिनभरी गफमा अल्मलिए । दुलही माइली छोरी थिई । बेलुका बहिनी स्कुलबाट आई । दिदी बहिनीको चेट चयो । रातीसंगै सुते तर दुलहीलाई भावपूर्ण त्यो क्षण भएन । बहिनीलाई भने भिनाजु दिदीको लागि पटक्कै सुहाउने खाल्को थिएन । सालीसंग पनि नबोल्ने भिनाजु कस्तो लाटो । फेरि अनुहार नै नकिलेको भिनाजु, नहाँस्ने पनि । तर दिदीलाई केही भनिन मात्र सोची “दिदीले भिनाजुसंग कसरी जिन्दगी बिताउली ? के खुवाउला दिदीलाई ? माया गर्ला ? नगर्ला ? ....
भोलिपल्ट दिदी बहिनीले बजार जाने सल्लाह गरे । खाना खाएर दुबै जना बजार गए । बजारमा पुगेपछि दुलही एउटा पसलमा पुगी । बहिनीले केही पनि बुझेकी थिइन । दुलहीले आपपेन्ट र टिसर्ट हेर्न थालिन र टिसर्ट हेर्दै बहिनीलाई भनी “ए, केटी, यो भिनाजुलाई सुहाउने खाल्को छ छैन ।” बहिनी छक्क परी । अनुहार नै नपरेको भिनाजुलाई जस्तो राम्रो कपडा लगाए पनि कुवाको भ्यागुतो कुवामा नै । तर दिदीको मन यतिको भावपूर्ण भएको देखेर उ छक्क पर्दै भनी “राम्रै छ, लानु न ।” टिसर्ट र हापपेन्ट किनेपछि दुबै जना सिनेमा हेर्न गए । सिनेमा लव स्टोरी थियो । हिरो र हिरोइनबीच रोमाञ्स हुँदा दुलहीको मन रामोञ्चित हुन्थ्यो । बहिनी भने छक्क परेकी थिइ । त्यति नराम्रो भिनाजुसंग दिदीको माया कसरी बस्यो । फेरि लाटो जस्ता भिनाजु थिए ।
सिनेमा हेरिसकेर घर फर्के । बाटाभरी दुलहीले बहिनीलाई दुलहाका कुरा गरीरही । “भिनाजु देवता जस्तै छन् । कति माया गर्छन् । कहिले काँही त घरधन्दा पनि हामी दुबै मिलेर गर्छौ । म भात पकाउँछु, भिनाजु तरकारी केलाउने हुन्छ ....... बहिनी छक्क परिरही ।
बेलुका साँझपख दुवै जना घर आइपुगे र खाना खाए । केहि छिनमा दुलहीका बाबु पनि आए । बाबुले छोरीलाई भने “छोरी, अझै एक दुई दिन त बस्छेस होला नी ?” दुलहीले अनकन्याउँदै भनी “कहाँ, बुुबा । म धेरै दिन बस्न भ्याँउँछु र । जुवाइ एक्लै हुनुहुन्छ । काम धेरै हुन्छ । भोलि त जान्छु ।” सबै जना छक्क परे । पहिले त दुलही माइतमा आएर यस्तो सोझो केटोलाई दियौ भन्थी तर यसपाली त उसले यस्तो कुरा नै गरिन् । बाबु आमाले पनि बोलेनन् । घर पठाएकी छोरी हो । उसले त्यही नै जस्तो भए पनि त्यो जिन्दगी बिताउनु प¥र्थो ।
अर्को दिन बिहानै दुलही माइतबाट घर फर्की । घरको सम्झनाले यात्रालाई खल्लो बनाई रयो । कहिले घर पुग्नु जस्तो उनीलाई भई नै रहयो । बसपार्कमा ओर्लिएर उनी छेउको पसलमा गइन र एक केजी स्याउ किनिन् । अनि रिक्सामा चडेर घरतर्फ लागिन । रिक्सामा चडेपछि उनलाई अस्तीको सम्झना आयो । दुलहाले उनीलाई साइकलमा चडाएर बसपार्क पु¥याएका थिए । तर उनी मात्रै रिक्सामा हुँदा मन एक्कासी खल्लो भएर आयो ।
दुलही घर पुगिन । दुलहा घर बडार्दै थिए । दुलहीलाई देखेर दुलहाले भने “चाँडै फर्र्को त । म त अझै हप्ता दिन जति बस्छौ होला पो भन्दै थिए ।” दुलहीले झोला खाटका राख्दै भनी “कहाँ, मनले मान्दो रहेछ र ? माइतमा पुगेपछि त खाली घरको मात्र याद आइरहदो रहेछ । के भयो होला ? कस्तो भयो होला ? भनेर मेरो त मनमा खटपट्टी भएर आइ नै रहयो । आमाले त अझै एक दुई दिन बस भन्दै हुनु हुन्थ्यो तर मलाई बस्न नै मन लागेन र आए ।”
दुलही घरभित्र झोला बोक्तै पसिन । दुलहाको अनुहारमा उत्तेजित संकेतहरु देखिन थालेका थिए । उनीलाई पनि दुलही माइत गएकोमा मन खटपट्टी भै रहेको थियो । कहिले आउँछे भनेर दुलहा पनि बाटो हेरिरहन्थे । फेरि रातभरी निन्द्रा पनि लाग्दैनथ्यो दुलहालाई ।
दुलहीले भित्रबाट दुलहालाई बोलाई “एकछिन भित्र आउनुहोस त ?” दुलहा घरभित्र पसे । दुलहीले टिसर्ट र हापपेन्ट झिकेर टेवलमा राखेकी थिइन । कोसेलीको पाको पनि छेउमा थियो । दुलहाले भने “किन बोलाएकी” “यो, मैले तपाइँको लागि भनेर ल्याएकी टिसर्ट र हापपेन्ट । लगाइ हेर्नु त एक पटक ।” दुलहा छक्क परे । पहिले त कपडा किन्ने कुरा नै थिएन । तर माइतबाट आउँदा ल्याएकीले उनी आश्चार्य चकित भए । उनले टिसर्ट र हापपेन्ट समाए ।
दुलही कपडा फेर्दै थिइन । दुलहाले पुरानो कपडा फेरेर नयाँ कपडा लगाए । बक्सवाला रातो हापपेन्ट र टिसर्टले त दुलहालाई गजब्बै सुहाएको थियो । दुलहीले दुलहालाई राम्ररी नियालिन । दुलहा एकदम राम्रा देखिए । दुलहीको मन प्रफूल्ल भयो ।
दुलहा दिउँसो त्यही टिसर्ट र हापपेन्ट लगाएर घर बाहिर निस्के । पल्लो घरको राईदाइले उनीलाई देखे र भने “ ओ ! कान्छा भाई । भेस र हापपेन्ट त राम्रो किनेछौ । कतिमा ल्यायौ त ?” दुलहाले एकपल्ट कपडालाई नियाले । दुलहीले किनेर ल्याएको हो त्यो । उनीलाई ज्यादै मन परेको थियो । दुलहाले भने “कान्छीले ल्याएकी । कतिमा ल्याइ थाहा छैन ।” राई दाई छक्क परे । पहिले बोलचाल नै गर्न नचाहने दुलहा र दुलही अचेल त चखेवा र चखेवी झै एक मुटु भएका थिए । उनले कुनै प्रतिकृया नै जनानन् ।
साँझपर्न लागेको थियो । दुलही राईको घरमा आएकी थिइ । दाई र भाउजु घरमै बसेका थिए । भाउजुले भनी, “कान्छी, माइतबाट त चाँडै फर्केउ त ?” दुलहीले भनी, “कहाँ, बस्न मन लाग्छ र ? घरमा सबै बित्तो मात्र छ ।” दुबै छक्क परे, काम केही थिएन । खेतीपाती लगाउने बेला नै भएको छैन । भाउजुले भनी “खाना , बेलुकाको बनाइ सक्यौ त ?” “अघिनै बनाएकी नी । तर उवाँ नभएर मत्र बसेकी । फेरि आफूले खाएर उवाँलाई चुल्लोमा खाना राख्नु पनि त भएन । म त उवाँलाई खान नदिन आफू पहिले खाँदै खान्न । फेरि, खान नै थाले भने पनि खान नै मन लाग्दैन । म जान्छु है ।”
दुलही घरतर्फ लागिन् । दुई जाईपोइले एक अर्काको अनुहार हेरै । जोइले भनि “खै, के हो, के हो ? कान्छा दुलहा र दुलहीको पारा । पहिले त्यही कान्छालाई हेरेर भाग्यलाई दोषदिने कान्छी नै हो । तर आज उसैलाई खान नदिन खान्न भन्छे ।” पोइले भन्यो “म पनि अचम्म मान्दै छु । कसरी यसरी भावपूर्ण बन्यो दुबैको दाम्पत्य जीवन ? ....

धाईजन–६, झापा

प्रकाशित मिति : प्रकाशन मिति : शनिवार, 1 मङ्गसीर, 2070

लेखकका अन्य रचनाहरु