कमिला

- भोला अधिकारी

कमिलो अति सानु छ हेर यहाँ
तर गर्छ सधैं कति पौरूषता।
गरि नित्य सुकर्म उ चल्छ यहाँ
उ जहाँ पनि पुग्छ हिडेर सदा।१।

सब एक भएर कता तिरको
लिइमार्ग उ चल्दछ उन्नतको।
तर ती सबमा कति निर्मिलता
न त गर्छ कुरा उ कहाँ अरूका।२।

नर झैं कमिला यदि आरिसमा
दिनका दिन जल्नु भने भुवमा।
इतिहास अवस्य हुने कमिला
तर यी कमिला अति छन् निमुखा।३।

फितलो छ शरीर उनीहरुको
न त लाउँछ त्यो कपडा विचरो।
शतकोस हिडे पनि छैन थकान्
तपसीहरुको छ समस्त वयान्।४।

जति छन् बलिया अरु जीवहरू
तर छैन कतै कमिला सरिका।
कमिला जगका सब हुन् तपसी
कति शान्ति छ त्यो तिनको झुपडी।५।

जब बस्तछ एक खनेर दुलो
तब गर्छ सधै उ निमेक ठुलो।
कमिला सबको गुरु हो जगको
गरि सिल्पकला बसि खान्छ सदा।६।

कमिला जतिको यदि पौरूषता
सब मानवले जब गर्नु यहाँ।
जग यो अवता कति माथि हुने
अनि यो दुनिया कति शान्ति हुने।७।

तर छैन कतै नरका मनमा
हित कर्म र धर्म दया ममता।
सब दुष्ट भए धनमा झुमिए
अनि हुन्न कहाँ जगमा रमिता।८।

सब जाग अहो! अब बेर भयो
यसरी कति वेर निदाउनु हो।
नर हुन्न यसै बसि मौन सदा
गर कर्म अनेक जगमा अवता।९।
(छन्द त्रोटक)

राभङला, दक्षिण सिक्कम

प्रकाशित मिति : प्रकाशन मिति : शनिवार, 1 मङ्गसीर, 2070

लेखकका अन्य रचनाहरु