कृतिकाको अडान

- आन्ना ढुङ्गेल

उनको आगमनमा घरका सबै परिवार सुखी र खुसी देखिन्थे । सुकोमल गोडाका कुर्कुच्चा ढाकिने गरी लगाएको रातो साडी, अलिक लामो र चुच्चो नाकमा अडिएको कालो चस्मा त्यसमाथि आफ्नो मधुर मुस्कानसँगै सधैँ सजिएर बस्ने कृतिको आगमन यस घरमा १२ वर्ष अघि भएको थियो । आ–आफ्ना बास्तविक नाम भएर पनि घर परिवारका सदस्यले उनीहरूलाई राम र सीताको उपनाम दिएका थिए । झन् भन्ने हो भने त श्यामलालले कृतिलाई विहे गरेर ल्याएदेखि आफूले संसार नै जितेको महसुश गर्दथ्यो । उसले कृतिलाई आफूभन्दा पनि बढी माया गरेको थियो । श्यामलाल र कृति दुवैले आफूलाई यति विश्वासको भुमरीमा होमिदिएका थिए कि त्यसको कुनै सीमा नै थिएन । ती दुईका आ–आफ्ना स्वभावमा केही भिन्नता भने थियो । श्यामलाल सधैँ ठट्यौली मै रमाउन चाहन्थ्यो भने कृति अलि भावुक थिइन् । एकदिन श्लामलालले ठट्यौली पारामा सोध्यो– “कृति हाम्रो बिस्वासै विश्वासले भरिएको मायामा कुनै दिन कुनै किसिमको बाधा अड्चन आई लागे अथवा हामी दुई एक–अर्काबीच अलग्गिएर बस्नुपर्ने भयो भने तिमी के गर्छेऊ नि ?” कृतिले भावुक हुँदै जवाफ दिइन्– “यो संसारमा हामीलाई सँगै बाच्न नदिए पनि हामीलाई सँगै मर्नबाट त कसैले वञ्चित गर्न सक्दैन होला नि, होइन र ? कृतिको मुखबाट यस्तो सुनिसकेपछि दुवैले एक–अर्काको अँगालोमा बाँधिएर हर्षका आँसु झारेका थिए । म भने यी दुईको प्रेम बीचमा रमिते बनेर हेरिरहन्थे र सोच्दथे– “के साच्चै माया भन्ने चीज यस्तै हुन्छ त ? “यस्तो सुन्दर जीवन बाच्ने इच्छा सबैमा हुनु स्वभाविकै हो । आफूले इच्छाएको कुराहरू सबै सफल र सार्थक हुने पनि कहाँ हो र ? जीवन संघर्षशील हुन्छ । विभिन्न किसिमका बाधा अड्चनलाई पन्छाउँदै र जीवन आइपर्ने समस्यासँग सुध्दै अगाडि बढ्नु नै मानव जीवन हो । जीवन जिउने क्रममा थुप्रै मोडहरू आउँछन् । प्रत्येक मोडमा प्रत्येक मानिसले संघर्ष गर्नु नै पर्दोरहेछ । कसै–कसैलाई मायाको विश्वासको फल कहिले काहीँ हृदयको घाउ पनि बन्दो रहेछ । यस्तो सोच्दा सोच्दै एक छिन म कता कता हराएँछु ।
आज कृति तीनै आफ्ना मायालु श्रीमानलाई जीवन–मरणको दोसाँधमा देखेर आफ्ना विगतका दिनहरू सम्झदै एकोहोरो उनको मुखमा टुलुटुलु हेरिरहन्छिन् । उनलाई आज खपिनसक्नु भएको छ । आफ्नो श्रीमानको यस्तो अवस्था उनले सोच्न पनि सक्दिनन् । आफ्नो काँधमा निकै ठूलो जिम्मेवारी आइलागेको उनलाई आज राम्रोसँग महशुस हुन थालेको छ । आफ्ना कलिला दुई छोराछोरीको अन्यौलपूर्ण भविष्य देख्दा उनको मुटु काप्नु स्वभाविक नै भयो । आफ्ना आँखा भरि टलपल–टलपल भरिएका आँसुलाई भित्रभित्रै उनले सुकाउँछिन् र आजका दिनसम्म श्लामलालले निभाएको कर्तव्य र जिम्मेवारी अब आफूले कतै पनि तलमाथि हुन नदिइकन निभाउनु पर्ने कुरामा उनले दृढ संकल्प गर्दछिन् । श्यामलाल बढो मिहिनेती थिए । आफ्नो जिम्मवारीलाई उनले कहिल्यै पनि दुःख र बोझ भन्ने सम्झदैनथिए । शारीरिक रूपमा जति नै परिश्रम गरे पनि मानसिक रूपमा उनी सधैँ प्रफुल्लित देखिन्थे । उनी “बेइमानी गरेर कमाएको धनले चौरासी व्यञ्जन खानुभन्दा मिहिनेतको कमाइले एकछाक नूनसँग भात खानु नै राम्रो” भन्थे । जीवनलाई कहिल्यै पनि बोझ नसम्झने श्लामलालको परिवार आर्थिक रूपमा विपन्न परिवार हो । जीवनमा जस्तो सुकै संकट पर्दा पनि उनको आत्तिने स्वभाव भने थिएन । यसमा कृतिको पनि ठूलो हात रहन्थ्यो । सँधैजस्तो ठट्यौलीमै रमाउन चाहने श्यामलाले आज निकै भावुक हुँदै भने– “कृति मैले तिमीलाई भौतिक सुख दिन सकिनँ, हाम्रो विवाह भएको पनि यतिका वर्ष बितिसके । तिम्रा पनि त रहरहरू होलान् । तिमीसँगैका सबै साथीहरू सम्पन्न घरमा परेका छन् । तिम्रो भने हामीजस्तो गरिबको घरमा विवाह हुन पुग्यो । कतै तिमीले मलाई गाली त गरेकी छैनौं नि ? कृपया मलाई माफ गर ।”
आफ्ना श्रीमानको मुखमा यस्तो नैराश्यता छाएको देखेर कृतिले मलिन स्वरमा भनिन्– “धत् लाटो मान्छे, यस्ता कुरामा पनि चिन्ता लिने हो ? मैले तिमीबाट सबै भन्दा बढी माया पाएको छु । यही हो मेरा लागि सबैभन्दा ठूलो कुरा । म यसैमा रमाउन चाहन्छु, यसैमा खुसी हुन चाहन्छु । हेर, तिमीले यस्ता झिना मसिना कुरामा अल्झेर हुँदैन । अरुले जस्तै हामीले पनि खाना खाएकै छौं । तिम्रो इमान्दारीताको कमाइले हामीलाई खाना लगाउन त गाह्रो भएको छैन नि ? आखिर धनी पनि एक दिन न एकदिन मर्नै पर्छ । जन्मँदा जुन रूप लिएर हामी यस संसारमा आएका थियौं आखिर मर्दा पनि उसै गरी यस संसारबाट बिदा हुनुपर्छ । अरुको मन दुखाई दुखाई बेइमानीका साथ कमाएर थुपारेको धन– सम्पत्तिको मलाई कुनै लोभ लालचा छैन र तिमी पनि आजदेखि यस्ता कुराहरू दिमागबाट हटाइदेऊ । तिम्रो परिश्रममा म पनि सधैँ साथ दिइरहने छु ।” आफूले यस्ती जीवनसंगिनी पाएकोमा श्यामलाल गर्वले फूलिए । कृतिले भनेजस्तै श्यामलाले ज्याला मजदुरी गरेरै भए पनि इमानदारीका साथ आफ्ना परिवार पाल्दै आएका थिए । आफूले जति नै दुःख गरे पनि उनले आफ्ना सन्तति र श्रीमतीलाई सकेजति सुखसयल दिनुपर्छ भन्ने सोचाइले उनी दिन रात कडा परिश्रम गर्दथे । धन–सम्पत्ति प्रसस्त नभए पनि उनीहरूको परिवारमा माया र ममता साटासाट गर्ने शैलीमा भने कुनै कमी थिएन । श्यामलाल जति नै खटे पनि उनको एक्लो कमाइबाट ४–४ जनाको परिवार पाल्नुपर्दा उनलाई कहिले काहीँ समस्या आइ नलागेको पनि होइन । जस्तोसुकै समस्या आइलागे पनि उनी हिम्मत भने हार्दैनथे । इमानदारी र मेहनतका साथ काम गर्दै गयो भने एक दिन न एक दिन त गन्तव्यमा पुगिन्छ भन्ने उनलाई विश्वास थियो । उनको यस विश्वासमा कृतिले झन बेला–बेलामा ऊर्जा थप्ने काम गर्दथिन् र यही अटल विश्वासलाई कृतिले पनि हरहमेशा साथ दिँदै आएकी थिइन् । आफ्नी प्राणभन्दा प्यारी श्रीमतीको हौसलाले गर्दा पनि उनी झनै बढी मिहिनेतका साथ सधैँ काम गरिरहन्थे । यही क्रममा उनीहरूको दिनचर्या बित्दै थियो । दैवको लीला अपरम्पार भने जस्तै उनको परिवारमाथि पनि यस्तै हुन गयो । एकदिन सबेरै उनी हँसिया र डोरी साइकलको पछाडि च्यापी दाउरा लिन भनी आफ्नो घरबाट दक्षिणको जंगलतिर लाग्छन् । सँधैजसो श्यामलालमा त्यसदिन उस्तो जाँगर थिएन । आज उनलाई घरबाट बाहिर निस्कन उतिसारो मन थिएन । मन नलागी नलागी पनि उनी जंगल भित्र छिर्छन् र आफूले बोक्न सक्ने जति दाउरा काटी साइकलमा भारी कसेर घरतिर लाग्ने तरखरमा हुन्छन् । एक्कासी उनले गोली चलेको आवाज सुन्छन् । सोही जंगलमा सरकार र विद्रोही पक्षबीच भिडन्त भइरहेको रहेछ । गोली चलेको आवाजले श्यामलाल त्रसित हुन्छन् । उनले आफ्नो जीवन बचाउनका लागि दाउराको भारी बाँधिएको साइकल त्यही छोडी भाग्छन् । एक्लै जंगलमा भागेको देखेर सरकार पक्षले विद्रोही नै हो भन्ने सम्झन्छ र गोली चलाउँछ । सरकारी पक्षले चलाएको गोली विचरा निर्दोष श्यामलालको छातीमा लाग्न पुग्छ ।
सधैँजसो विहान ११ बज्दा श्लामलाल कामबाट घर फर्कने गर्दथे । आज पनि ११ बज्यो कृति श्लामलालको बाटो हेर्न थालिन् । १२ बजिसक्यो उनी फर्केनन् । अब घडीले पनि दिउँसोको ४ बजाउन थालिसकेछ । कृतिका आँखाहरू श्यामलालको बाटो हेर्दाहेर्दै थाकिसकेछन् । त्यो घाम पनि थाकेको हुनुपर्छ । त्यसैले होला डाँडा पारी थकान मेट्ने जमर्कोका साथ सुस्तरी ढल्कँदै थियो । छोराछोरी भोक लाग्यो भनी रुन थाल्छन् । विहानैदेखि पकाएर राखेको खाना भाँडामा जस्ताको तस्तै हुन्छ । छोराछोरीलाई सोही खाना खुवाउँछिन् अनि आफू भने श्रीमानको आगमनको प्रतिक्षामा हुन्छिन् । हुँदा हुँदै अब त बेलुकाको ७ बजिसकेछ । उनी अझै पनि फर्केनन् । कृति निकै आत्तिन थालिन् । खुल्ला आकाशमा तछाड मछाड गर्दै जुनताराहरू प्रतिस्पर्धा गर्न थालिसकेका थिए । कृति आत्तिदै गाउँतिर लागिन् । सबैलाई आफ्ना श्रीमान विहान दाउरा लिन भनी जंगल गएका र यतिका बेरसम्म पनि घर नफर्केको खबर सुनाइन । उनले गाउँलेसँग हारगुहार गरिन् । आफ्ना श्रीमानको खोजी कार्यका लागि । रातको बेला जंगलमा गएर श्यामलालको खोजी गर्न कसैले पनि मानेनन् । गाउँलेहरू सबैले उनलाई भोलि विहान जतिसक्दो छिटो खोजी कार्य गर्ने भनी आवश्त गराए । कृति निन्याउरो अनुहार लगाएर घर फर्किन् । छोराछोरी बाबा खोई, आज किन बुवा घर नआउनुभएको ? भनी प्रश्न माथि प्रश्न गर्न थाले । उनले भोलि बिहान तिमीहरू उठ्ने बेलामा बुवा आउने भन्दै छोराछोरीलाई सुताइन् । तर उनलाई भने छटपटी भइरह्यो ? घरमा कलिला छोराछोरीलाई अलपत्र छाडेर रातको समयमा श्रीमान्को खोजीमा जान पनि सक्दिथिन् । रात छिप्पिदै जान्छ । कृतिलाई आजको रात वर्षदिन जतिकै लामो लाग्न थालेको हुन्छ । गाउँ पुरै चकमन्न हुन्छ । उनी बाहिर र भित्र गरिरहन्छिन् । आँगनको डिलमा बसेर एकोहोरो उनी बाटोतिर हेरिरहन्छिन् । खुल्ला प्रांगणमा आकाशको छानो, धर्तिको विच्छ्यौना अनि आफ्नै हातको सिरानी लगाएर खै उनी कति बेला निदाइछिन् पत्तै भएन । बिहानको ४ बजिसकेछ । आफ्नै घरमा पालिएका दुईवटा कुखुराका भाले पोथीले उनलाई निद्राबाट बिउँझाउँछन् । हतार–हतार उठेर छोराछोरीलाई खानाको प्रबन्ध मिलाउँछिन् अनि गाउँलेको साथ लागेर उनी आफ्नो मायालु श्रीमानको खोजी गर्न जंगलतिर लाग्छिन् ।
घामका सप्तरङ्ी किरणले धर्तीलाई लालीमय बनाइसकेको हुन्छ । बीच जंगलको सानो गोरेटो छेउमा अचेत अवस्थामा उनले श्यामलालाई देख्न पुग्छिन् । आफूलाई भन्दा पनि धेरै माया गर्ने श्रीमान्को यस्तो अवस्था देखेर उनलाई खपिनसक्नु भयो । गाउँले सबैले वरिपरिबाट घरिसकेका थिए । श्याम ......... श्याम पागलझै बाटाबाटै कराउँदै कुदेर चटारिँदै मानिसको भिडमाझ ठोकिदै र छेलिँदै उनी अगाडि बढ्छिन् । उनलाई गोली लागेको कुरा थाहा हुन्छ । यस घटनाले उनको परिवारमाथि बज्रपात हुन गयो । जतिसक्दो छिटो उनलाई अस्पताल पु¥याउनु पर्ने अवस्था देखिन्छ । टोल छिमेकका मानिसहरू जम्मा भई उनलाई अस्पतालसम्म पु¥याइयो । अस्पतालको भनाइअनुसार जतिसक्दो छिटो अपरेसन गरेर उनको छातीको गोली निकालिनु पर्छ भन्ने थियो । विरामीको अस्पताल भर्नापछि पल–पलमा पैसाकै कुरा आउँथ्यो । विचरा कृतिसँग अपरेसनका लागि चाहिने पैसा थिएन । उनलाई के गरुँ र कसो गरुँ पैसाको प्रबन्ध कताबाट पो मिलाउँ भन्ने भयो । श्यामलाललाई अस्पतालकै बेडमा छाडेर उनी घर फर्किन् । उनीसँग उनका माइती पक्षले विवाहमा दिएको लगभग एक तोला सुन सुरक्षित थियो । जतिसक्दो छिटो अपरेसनका लागि खर्च जुटाउनु पर्ने भएकाले उनले त्यही सुन बन्दकी राख्ने निर्णय गरिन् र हतार–हतार सोही गाउँका एक पण्डितकहाँ पुगिन् । श्यामलालको अवस्था र कृतिको समस्या पण्डितलाई थाहा भइसकेको थियो । उनलाई देख्ने वित्तिकै पण्डित आफूले कुनै सहयोग पो गर्नुपर्ने हो कि भनेर पन्छिन खोज्दै थिए । पण्डित निकै लोभी र धूर्त स्वभावका थिए । ती सबै जान्दा जान्दै पनि उनले नजिकै गएर पण्डितलाई आफ्नो समस्या बताइन् र आफूले सुनको गहना ल्याएको र उक्त गहना बन्दकीमा राखी पैसा दिन विनम्र अनुरोध गरिन् । यसपछि पण्डितले उनले लिएर गएको उक्त सुनको गहनालाई आफ्नो हातमा लिएर तौले झैं गर्दै भने– यो सुनमा रसायनको मात्र धेरै रहेछ, त्यति राम्रो छैन, अरुले यसरी ल्याएको भए म लिन्नथें तर तिमीलाई अप्ठेरो परेको रहेछ त्यसैले म लिइदिन्छु । यस्ता बेलामा मद्दत गर्न पाए मलाई पनि धर्म हुन्छ ।
कृतिले हतारिँदै पण्डितका कुरालाई बीचमा काटेर भनिन्– चलेको भाउ अनुसार कति दिन मिल्छ अहिलेलार्य हिसाब गरेर दिनुहोला । पछि म तपाईको पैसा फर्काउनेछु र मेरो सुन लिएर जाने नै छु । तपाईंले त्यति गर्नुभयो भने मेरा लागि ठूलो सहयोग हुने थियो । पण्डितजी यसबेला म साह्रै अप्ठेरोमा परेको छु । त्यो पनि तपाईंलाई थाहा छँदैछ । तिम्रो कुरा त राम्रै हो नानी, तिमीलाई साह्रो गाह्रो परेको पनि हो, त्यो पनि हामीले देखेकै हौं । तर सुन भने गतिलो नपरेको हुँदा अहिलेलाई २५ हजार रूपैँया मात्र लैजाऊ । कृतिको सहमतिको कुनै प्रतिक्षा नै नगरी उनले कन्तुरबाट २५ हजार रूपैयाँ झिकेर गनिदिए । आफ्नो सामानको अवमूल्यन भएको उनलाई राम्रैसँग थाहा थियो । तर पनि यसको मोलमोलाई र वादविवाद गर्ने समय उनीसँग थिएन । यही भए पनि अहिलेका लागि मेरा श्रीमानको उपचारका लागि दैवले जुराइदिएको सम्झी पैसा लिएर अस्पतालतिर लागिन् । यता धूर्त पण्डित भने एकाविहानै लक्ष्मीमाता खुशी भएको भन्दै दंग थिए ।
अस्पतालमा पैसा डिपोजिट गरिन् । त्यसपछि डाक्टरहरूले अप्रेशन तुरुन्तै हुने जानकारी दिए । उनलाई अप्रेसन थिएटरभित्र नलगिएको पनि होइन । केही छिनमै उनको प्रेसर निकै बढेको कारण अप्रेसनमा कठिनाइ भएको भन्दै पुन अर्को डेटको प्रतिक्षा गर्न भनी अस्पताल स्रोतले जानकारी गराउँछन् । डाक्टरले फेरि १५ दिनपछिको अप्रेसनको डेट मिलाइदिन्छन् । उनलाई थप केही दिन अस्तालमा नै राख्नु पर्ने भएकाले अरु खर्चको बन्दोबस्त गर्न समेत सल्लाह दिए । १५ दिन बित्यो फेरि उनको त्यही अवस्था उनको प्रेसरले अप्रेसनमा साथ दिएन । विना अप्रेसन उनको छातीमा लागेको गोली निकाल्ने कुरा पनि थिएन । यतिका दिनसम्म उनलाई लागेको गोली निकाल्न नसकिँदा उनको अवस्था झन् झन् गम्भीर हुँदै गएको थियो । कृति जति नै आपतमा परे पनि हिम्मत भने हार्ने खालकी महिला थिइनन् । दुःख पर्दा नआत्तिनु अनि सुख हुँदा नमात्तिनु भन्ने भनाइलाई मनन गर्दै उनी आफ्ना श्रीमानको थप उपचारका लागि चाहिने खर्चवर्चको बन्दोवस्त गर्नतिर लागिन् । आफ्ना श्रीमानले विवाहमा लगाइदिएको तिलहरी उनीसँग अझै बाँकी रहेछ । त्यही तिलहरी साथमा लिएर उनी पुनः सोही पण्डितकहाँ पुगिन् । उनी यस गाउँमा कर्मकाण्ड गर्ने पण्डित पनि हुन् । आज फेरि पनि पण्डितले १ तोला बराबरको तिलहरी १० हजारमा बन्दकी राखिदिएर उनी माथि ठूलो उपकार गरे ।
तीन दिनपछि उपचारमा सुधार आएको कुरा अस्पतालले जानकारी दियो । तर श्यामलालको होस आएको थिएन । न त अप्रेसन नै भएको थियो । आज भन्दा, भोली भन्दा अस्पतालमै महिनौं दिन बिते । अझै उनको होस आएन । अब भने कृति अली आत्तिएकी जस्ती देखिन थालिन् । सहरको यस्तो महँगाई, औषधी खर्च अनि डाक्टरी आदेश– एक्सरे, रगतको परीक्षण, दिसा–पिसावको परीक्षण, थप विशेष परीक्षण आदि आदि के–के हो के–के ? यी सबैका पछाडि पैसाको पोको नै झुण्डिएको थियो ।
गर्दा गर्दै धेरै समय अस्पतालमै बिते, तर श्यामलालको होस आएन । गोठका गाईबस्तु सकिए, खेती गरी खाने जमिन खोटियो, गलाका गहना सकिए । तर पनि उनले हिम्मत हारिनन् । उनी आफूले गर्दा हुनेसम्म गर्दै गइन् । तर पेशेवार डाक्टरहरू पनि पैसामा नै बिक्दा रहेछन् । उनीहरूले तोके बमोजिम पैसा दिन सकेमात्र उपचार राम्रो हुने नत्र भने त यसै भन्न पनि सकिने रहेनछ । आज भोलि त उनलाई डाक्टरहरूले आफ्ना श्रीमानप्रति उतिसारो ध्यान दिएको जस्तो लाग्न छाड्यो । सोध्यो भने विस्तारै–विस्तारै निको हुन्छ भन्छन् । यस्तै गर्दा गर्दै अन्तिममा आएर श्लामलाललाई अस्पतालबाट निकालेर घर लैजाने सुझाव दिन्छन् ।
उनी आफ्ना श्रीमानको स्थिति देखेर धेरै रोइन् । जीन्दगीको हरेक कहानी सम्झी सम्झी रोइन् । हुने हार दैव नटार भन्ने सम्झी कता कता आफ्नो मन आफैं बुझाउन खोज्दथिन् । तर पनि उनको आँखा ओबानो थिएन । घरमा विरामी भेट्न सबै टोल छिमेकी लगायत उनका माइतीहरू पनि आउन थाले । विचरा कलिला बालबालिकालाई टुहुरा बनाएर जान लागेछ, दैवको लीला, विरामी भेट्न आउनेहरूका मुखबाट निस्किएका आदि आदि शब्दहरूले उनलाई झन् झन् पीडा बोध गरायो । कसैले पनि उनलाई धैर्यता र उर्जा दिएनन् । त्यसैबीचमा उनले अर्को एक आवाज सुनिन् । त्यो आवाज तिनै पण्डितको थियो । उनी विरामीको मृत्युञ्जय जप गर्नुपर्छ भन्दै थिए । कृति पण्डितको आवाज सुनेर स्तब्ध भइन् । पण्डित भन्दै गए– यो जप धेरै शक्तिशाली हुन्छ । त्यसले त कालका मुखमा परेकालाई जीवन दान दिन्छ । तिमी पनि आफ्ना श्रीमानलाई यस कालजयी परिस्थितिबाट पार गराउन चाहन्छ्यौ भने मृत्युञ्जय जप गराऊ । गाउँका कतिपय व्यक्तिहरूले पनि पण्डितको कुरामा सहमति जनाउँछन् । अस्पतालको उपचारबाट समेत सुधार हुन नसकेको श्लामलालको अवस्थालाई हेर्दा अनि पण्डितको यस्तो भनाई सुन्दा अब चाहिँआफू चूप लागेर बस्न नहुने ठान्छिन् । उनी सोच्दछिन्– मैले हुनेसम्म त गरेकै हो, अझै पनि गर्नेछु । आफ्ना श्रीमानको जीवन रहुञ्जेल आफू कडा परिश्रम र संघर्षका साथ उनलाई जीवन जीवनउका लागि साथ दिनेछु । तर यस्तो अन्धविश्वासका पछाडि लागेर भने होइन भनेर उनले मनमनै दृढ संकल्प गर्छिन् । कृतिको मौनता देखेर पण्डितले पुनः झस्काउँछन् । तिमीले चिन्ता गर्न पर्दैन । परेका बेला मद्दत गरौंला नि । आपत परेका बेलामा मद्दत गर्नु नै गुरु पुरोहितको धर्म हो । तर यसमा अलमल भने गर्न हुन्न । जप भोलिदेखि नै थालिहाल्नु पर्छ ।
कृतिले भनिन्– पण्डतजी मलाई त यस्तो कुनै जप तपले श्यामको स्थितिमा सुधार आउला जस्तो लाग्दैन । आजको यस्तो विज्ञान र प्रविधिको युगमा आएर पनि तपाईंले यस्तो कुरा गर्न सुहाउँदैन पण्डितजी । भयो म त यसको पक्षमा छैन । उनको जीवन रहुञ्जेल म मेरो बलबुताले भ्याएसम्म औषधीमूलो गर्दछु । त्यति गर्दा पनि भएन भने ठिकै छ जस्तो परे पनि सहूँला । तर म यस्ता अन्धविश्वासका पछाडि लागेर समय बर्बाद भने पार्न चाहन्न । समाजमा विकृत रहेका यस्ता विकृति र अन्धविश्वासलाई आफूले कदापि प्रश्रय नदिने कुराको जानकारी समेत गराइन् ।
कृतिको मुखबाट यस्ता किसिमका शब्दहरू सुनिसकेपछि पण्डितजीले– आफ्नो धर्म परम्परालाई लात हान्नेलाई कहिल्यै पनि भलो हुँदैन । तिमीले धर्मलाई लत्याएका कारण अनि धर्मप्रति तिमीले गरेको अनादरको कारण पनि आज श्यामेको यो गति भएको हो । हेर्दै जाउ अझै के के हुने हो, भन्दै पण्डित रिसाएर त्यहाँबाट उठेर हिंडे । गाउँलेले पनि पण्डितकै समर्थन गरिरहेका थिए । विचार सोझा गाउँलेलाई के थाहा यी पण्डित आफ्नो दूनो सोझ्याउन कतिको धूर्त स्वभाव देखाउँछन् भन्ने कुरा । अब त उनलाई श्यामलालको स्थिति झन् झन् क्षीण हुँदै गएको भान हुन थाल्छ । टुलुटुलु आफ्ना विछ्यौनामा परेका श्रीमानको अनुहार हेर्दछिन् अनि फेरि ती अबोध छोराछोरीको भविष्य सम्झिन्छन् । कहिले पण्डित आएर मृत्युञ्जय जप गर्नुपर्छ भन्छन्, कहिले वैतरणी गर्नुपर्छ भन्छन् त कहिले धर्मप्रतिको अनास्थाका कारण यस्तो भएको भन्छन् । खै के–के हो के–के ? कोही कसैले पनि श्यामलाल बाँच्ने कुरामा विश्वास गर्दैनन् ।
यी सबै कुराहरू सम्झँदा उनलाई आकाश नै खसेर आफूलाई थिचेजस्तो भान हुन्छ । तर पनि आफूले औषधि उपचारको प्रबन्ध मिलाउन सकेमा आफ्नो श्रीमानलाई बचाउन सकिन्छ भन्ने विश्वास अझै पनि बाँकी छ । आफ्ना श्रीमानलाई बचाइराख्न अनि ती कलिला बालबच्चाको पठनपाठन र लालनपालनका लागि अब आफू यसरी चुप लागेर बस्न नहुने, होइन भने आफ्नै छायाँले पनि उनी आफैंलाई गिज्याइ रहेको जस्तो भान हुन थाल्यो । आफू यसरी दिनदिनै विरामीको छेउमा बसेर आँसु खसाल्नुभन्दा उनको जीवनरक्षाका लागि आर्थिक रूपमा कहीँ कतैबाट सहयोग पाइएला कि भन्ने सम्झी उनले विभिन्न संघसंस्था, नागरिक समाज र आम जनसमुदायसँग अपिल गर्न थालिन् । विवाहपूर्व कक्षा १२ सम्मको अध्ययन गरेकी कृतिले आफ्ना श्रीमानको अवस्था र यस्तो अवस्थामा हुनुको कारण दर्शाई विभिन्न पत्रपत्रिकामा समाचार छपाइन् । यसले पनि उनलाई केही हदसम्म राहत मिल्यो । त्यसपछि गाउँका २–४ जना बुद्धिजीवी र विभिन्न संघसंस्थाका पदाधिकारीद्वारा सरकाले यस घटनाको नैतिक जिम्मेवारी लिनैपर्ने कुरामा दवाव दिन थालियो ।
यसै दवावका फलस्वरूप श्यामलालको उपचारको व्यवस्था सरकारले गर्ने भयो । अब कृतिलाई श्रीमानको उपचारका लागि आर्थिक भार नपर्ने भयो । यस्तै यस्तै अनेकौं समस्या आइलाग्दा पनि उनले श्यामलाल प्रति गर्ने मायामा कुनै कमी गरिनन् । श्यामलालाई पनि बाँच्ने इच्छा जागेर आयो । उनको स्थितिमा पहिलेको तुलनामा निकै सुधार आइसकेको छ । कृतिले त्यस गाउँकी एक नमुना महिलाको रूपमा आफ्नो पहिचान बनाइन् । उनी श्रीमानका उपचारका लागि अब भौंतारिनु नपर्ने भयो । अब फेरि उनी सुन्दर भविष्यको कल्पनामा डुब्न थालिन् । विभिन्न समस्याका बाबजुद पनि उनले पुनः आफ्नो अध्ययनलाई अगाडि बढाउँदै लगिन् । पढाइप्रतिको लगनशीलताले गर्दा नै उनलाई छात्रवृत्तिको अवसर प्राप्त भयो । उनको आँट, विश्वास र धैर्यताले गर्दा पनि हुन सक्छ, अध्ययनलाई पनि सफलताका साथ अघि बढाउँदै लगिन् । आज उनी गाउँकै एक सरकारी विद्यालयमा माध्यमिक तहको शिक्षिकाको रूपमा कार्य गर्र्दैछिन् । आफ्ना दुई बालबालिकाको अध्ययनमा कृतिले निकै ध्यान दिने गरेकी छिन् । श्यामलालको परिवार आज त्यस गाउँकै नमुना परिवार बनेको छ ।
विचार सोझा आफूमा कठिन परिस्थिति सृजना हुँदा भाग्यलाई दोष दिँदै कर्म गर्नबाट बञ्चित हुँदै पुरपुरोमा हात राखेर भाग्यलाई धिक्कार्दै थिए अनि यस्ता धूर्त पण्डितका पछि लागेर धार्मिक अन्धविश्वासलाई प्रश्रय दिनुपर्छ भन्दै थिए आज तिनै गाउँले “भाग्यमा भन्दा पनि कर्ममा विश्वास गर्नुपर्दोरहेछ” भन्ने पाठ कृतिबाटै सिक्दैछन् र सोही अनुसार अनुसरण पनि गर्दैछन् । यसरी नै थालिन् कृतिले समाजमा परिवर्तनको सुरुवात ।

नयाँ बानेश्वर, काठमाडौं

प्रकाशित मिति : प्रकाशन मिति : शनिवार, 1 मङ्गसीर, 2070

लेखकका अन्य रचनाहरु