ब्रह्माण्ड र मान्छे -२

- पुष्कर रिजाल ”शुभेच्छुक”

मान्छेलाई कुन कोणबाट, कुन आयतनबाट, कुन आयामबाट दुरुस्त नाप्न सकिन्छ र? ठिक ब्रह्माण्ड जस्तै। मान्छे र ब्रह्माण्ड दुबै शाश्वत छन, निराकार छन। आकार छ त केबल भगवानको छ। हरेक धार्मिक मान्छेले उस्को भगवानलाई आकार दिएर आफु निराकार बनेको छ। आकारबाटै उस्ले छुट्याउछ त्यो कुन भगवान हो, कस्को भगवान हो, कस्तो प्रयोजनको हो? आकार लिए भने मान्छेहरु भगवान बन्न सक्छन र आकार फ्याँकेर भगवानहरु मान्छे!
आफ्नै मस्तिष्कको आबरणबाट फैलदै मान्छे ब्रह्माण्डिय उडानको परिक्रमा पश्चात पुन: टाउकोमै आएर खाँदिन्छ। वैचारिक फैलावटमा अन्नत पुगेर मान्छे उत्तिखेरै ब्रह्माण्डिय कणहरुमा, अणुहरुमा पनि खाँदिएर रहन सक्छ। त्यहि रहिरहन सक्छ, हराउन सक्छ। सायद ब्रह्माण्डलाई यो सब गर्न करोडौं बर्ष लाग्दो हो। ब्रह्माण्ड तुरुन्तै फैलन र खाँदिन सक्दैन। यस आयामबाट मान्छे र उस्को चैतन्यलाई बर्गिकरण गर्न स्वंम मान्छेले पनि सक्दैन। मान्छेको उच्चता र निचता दुबै अनन्त छ, अनन्तै रहिरहने छ।
आकाशका बिभिन्न तहहरुमा अबस्थित असंख्य साना-ठुला खगोलिय पिण्डहरु जस्तै मान्छेहरु पनि आ-आफ्नो तह आ-आफ्नै क्षितिजमा, आकाशमा निर्धारण गर्दै बिराजित छन। ग्रह, उपग्रह जस्तै मान्छे पनि मान्छेरुपि ब्रह्माण्डको परिक्रमा गरिरहेका छन। आफुलाई केन्द्र बनाएर यो मान्छे निरन्तर घुमिरहेको छ। चाहे विचारमा होस चाहे कर्ममा। आफ्नो स्वार्थको गुरुत्वाकर्षणकले मान्छे जति फैलनुपर्ने हो त्यति फैलन सकेको छैन। हो यहिनेर मात्र तात्विक भिन्नता छ मान्छे र ब्रह्माण्डमा। ब्रह्माण्ड जति-जति फैलदै छ मान्छे उति उति साँघुरिदै छ। समानताको अर्को पक्षबाट हेर्ने हो भने खगोलिय पिण्ड र मान्छेले आफैलाई केन्द्र बनाउदै एक-आपसको परिक्रमा पनि गरिरहेका छन र बिज्ञानले कुनै दिन यो सत्यको पनि रहस्योदघाटन गर्ने छ। मान्छे र ब्रह्माण्डको केन्द्र फरक फरक भए पनि उनिहरुले कालान्तरमा तय गर्ने दुरी एउटै छ। उस्तै छ। साथै यिनिहरु वीचको शक्ति आपसि सन्तुलनमा स्थापित छ। कुनै एक सन्तुलन बाहिर गए अर्को स्वत असन्तुलित हुनेछ। हामी देख्छौं आकाशबाट बिभिन्न कालखण्डमा अनेक ग्रहहरु; पिण्डहरु; उल्काहरु देखिएका छन र देखिएका छैनन। मान्छे पनि तिनिहरु जस्तै एक कालखण्डमा देखिन्छन र देखिदैनन। तर ती दुबै हराएका हैनन। केबल अदृश्य भएका हुन। नदेखिएका हुन। अनि हामीले नदेख्नु हाम्रै कमजोरि हो। अरुको होइन। जीब-जन्तु पनि त्यस्तै। कैयौं जीबजन्तु यस पृथ्वीमा देखिए र देखिएनन। ती पुन: देखिन सक्छन। यसमा आश्चर्य मान्नु पर्ने केहि कारण छैन। मैले अघिल्ला भागहरुमै भनिसके- मान्छेहरु एउटा कालखण्ड पछि यस धर्तीबाट अदृश्य हुन्छन, अदृश्य भएका हुन। हराएका, लोप भएका हैनन। ति त अंश ब्रह्माण्डबाट सम्पुर्ण ब्रह्माण्ड बनेका हुन; बन्दै गरेका हुन। ति साँच्चै हराएछन भने यो ब्रह्माण्ड पनि हराउने छ। लोप हुनेछ। यहि शक्ति सन्तुलनको आधार हो।
२१ औं शताब्दीमा आएर बल्ल मान्छेले भुमण्डलीकरणको बिषय उठाउन थालेको छ। ब्रह्माण्डिय सुरक्षाको बिषय उठाउन थालेको छ। वास्तबमा मान्छेले आफ्नो सुरक्षाको कुरा उठाएको हो। ब्रह्माण्डलाई बिर्सेर, त्यत्तिकै छाडेर मान्छे सुरक्षित हुन सक्छ र?। यो कुरा मान्छेले बल्ल थाहा पाउदै छ। मान्छे र ब्रह्माण्ड बीचको अस्तित्वको सम्बन्ध भर्खर भर्खर मान्छेले थाहापाउदै गैरहेको छ। ढिलै भएपनि मान्छेले ब्रह्माण्डमा आफ्नु अस्तित्व बोध गर्नु प्रशंसनिय छ। पञ्च तत्वको ख्याल गर्नु सर्हानिय छ।
मान्छेलाई वाक्यमा परिभाषित गर्न सक्दिन म। मान्छे संख्यामा अगणित छ। सक्छु त केबल एक शब्दमा प्रतिस्थापन गर्न र त्यो हो विचार। मान्छे हुनुको सबै भन्दा सहि मानक यो भन्दा अर्को छैन मेरा लागि। वाक्यमा ब्याख्या गर्न त म स्वंमको पनि सक्दिन। ठिक त्यसैगरि यो ब्रह्माण्डको परिभाषा गर्न शब्द धेरै हुन्छ मेरा लागि। एउटा माछालाई समुद्रको आकार सोध्यो भने उस्ले के जबाफ देला? उसको लागि त आफ्नो सरिर छोप्न पुग्ने पानी नै समुद्र हो। हुनसक्छ उस्ले समुद्रको अर्को परिभाषा जीवन भनेर देला! त्यस अर्थमा पनि ऊ ठिक छ। पानी बिहिन समुद्रको ऊ न कल्पना गर्छ न जीवनको। ऊ पानी भित्र जीवनलाई लुकाउछ हामी जीवन भित्र पानी। उसको लागि पहिला पानी, हाम्रो लागि पहिला जीवन। माछाले आफ्नुलागि कहिल्यै पानीको खपत गरेको छैन। पानीको आयतनलाई स्थिर राखेरै ऊ हुर्कन्छ, बढ्छ र मर्छ। त्यसैले माछाले पानीसँग उधारो होइन नगदिय जिन्दगी बिताएको हुन्छ। माछाको लागि पानी भन्दा शक्तिशाली र अत्याबशेक अरु केहि छैन। पानी नै उस्का लागि जन्म र मृत्यु घर। पानी ठूलो जिवित घर अनि ऊ त्यहि जिवित घरबाट अलिकति जीवन सापटी लिएर मृत्यु फिर्ता गर्छ। पानीले आफु बाँच्नको लागि लिएको श्वासबाट (हावा/अक्सिजन) माछाले पनि सास फेर्ने हो। त्यसैले पानी उस्का लागी सबैथोक…। अन्तिम सत्य। अर्कोतिर, मान्छेले पनि आफुलाई चाहिने हरेक वस्तु ब्रह्माण्डबाट लिइरहेको छ। तर अहिले सम्म मान्छेले जे जति लिएको छ सबै उधारो। ब्रह्माण्डको आकार-प्रकार, शुद्धता, शुन्यता सबैमा दखल गर्दै अघि बढिरहेको छ। ब्रह्माण्डलाई अशुद्ध राखेर आफु शुद्ध बन्न सकिन्न भन्ने मुल मन्त्रलाई बिर्सेर मानव समाज बढिरहेको छ। अघि हैन सायद पछाडि सरिरहेको छ। ब्रह्माण्डको परिभाषा दिनै पर्दा म अक्षरमा दिन चाहन्छु ‘ॐ’ । सायद ॐ ब्रह्माण्डको बाहिरि आबरण वा भित्रि चुरो पनि हुन सक्छ। जे होस…। चीज जति ठूलो हुन्छ त्यस्लाई ब्याख्या गर्न त्यतिनै सानो चीज उपयुक्त हुन्छ भन्ने मेरो ठम्याई छ।
दुई शुन्यका बीचबाट अगाडि बढ्दै गैरहेका छन दुबै-ब्रह्माण्ड र मान्छे। अस्तित्व रक्षाको लागि यो भन्दा अर्को मार्ग यो ब्रह्माण्डमा सायद छैन। एक हराएर अर्कोको अस्तित्व सुरक्षित छैन। त्यहि भएर यी दुबैले एक आपसको परिक्रमा गर्दै अन्तत: शुन्यकै परिक्रमा गरिरहेका छन। आफनै उद्गम स्थलको परिक्रमा गरिरहेका छन। चन्द्रमाले पृथ्वीको, पृथ्वीले सुर्यको अनि सुर्यले आकाशगंगाको परिक्रमा गरेको तथ्य वा सत्य जो स्थापित छ आजसम्म यो नै सम्पुर्ण तथ्य-सत्य होइन। हो यी तत् तत् पिण्डहरुले ती तत् तत् पिण्डहरुको परिक्रमा गरेका हुन तर तिनिहरु हुदै सबैले शुन्यको परिक्रमा गरेको नै अन्तिम सत्य हो। हामी अन्तिम सत्य सम्म सम्पुर्ण रुपले पुग्न सकिरहेका छैनौं। तर अब त्यस दिशा तर्फ हाम्रो यात्रा बढिसकेको चाहिं पक्कै हो। शुन्यबाटै उदय भएका ति सबै शुन्यमै गएर बिलिन हुनेछन, हराउने छन एकदिन वा यी सबै लुक्नेछन शुन्यमा जस्ले गर्दा ती पुन: जन्मिउन शुन्यबाटै शुन्य लिएर। यस दृष्टिकोणबाट हेर्दा यो शुन्यको बिशालता कसैको एक कल्पनामा समेत अटाउन सक्दैन। मान्छेको चैतन्य बिशालता, ब्रह्माण्डको क्षेत्रिय बिशालता र रहस्यको बिशालता भन्दा शुन्यको बिशालता सबै मानेमा बिशाल छ, अनाकार छ, अनादी छ।

हाल: वाइमार, जर्मनी

प्रकाशित मिति : प्रकाशन मिति : शनिवार, 23 कार्तिक, 2070

लेखकका अन्य रचनाहरु