सेलिब्रेटी र साहित्य

- गोपीकृष्ण ढुंगाना

‘भीड सेलिब्रेटीमा रहेछ, भीड कवितामा रहेछ’, राजधानी काठमाडौंमा भएको चार दिने एनसेल नेपाल लिटेरेचर फेस्टिभलको अन्तिम दिन सोमबार नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा एक जोडी साहित्य सम्मेलनबारे निष्कर्ष निकाल्दै बाहिरिए । गतवर्ष प्राध्यापक डा. अभि सुवेदीले ‘किनोट’ मा साहित्य र विचार अनि आमवृत्तबारे बोलेका थिए । आमवृत्तलाई समेट्ने विषय थोरै हुन्छन्, फेस्टिभलको यो तेस्रो वर्षमा पनि चर्चित जोडी मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, नायक राजेश हमालमा साहित्यप्रेमी ओइरिए । अनि ओइरिएका थिए, कविता वाचन र कविताको वर्तमान अनुहारसम्बन्धी छलफलमा ।
धेरैवटा विषयमा छलफल हुँदा कुनैमा कम र कुनैमा बढीको सहभागिता हुनु स्वाभाविक होला । अनि कुनैमा वक्ता वा प्रस्तोता कमजोर हुनु पनि स्वाभाविक नै होला । यस्तो पनि भयो महोत्सवमा । पठन र लेखन संस्कृतिको विकास गराउन महोत्सवको आयोजना गरेको बताउने महोत्सवका निर्देशक अजित बराल पनि प्रस्तुत वाक्यहरुलाई स्वीकार्छन् । भने, ‘विदेशमा हुने यस्ता साहित्यिक सम्मेलन नेपालमै पनि गर्न सकिन्छ भनेर तीन वर्षअघि थाल्यौं । त्यो सोचभन्दा धेरै सफलता पाएका छौं तर अझै पनि सबै पक्षमा पूर्ण सफल हुन सकेका छैनौं ।’
साहित्यकार एवं स्तम्भकार खगेन्द्र संग्रौलाले महोत्सवमा राम्रा र कमजोर दुवै काम भएको टिप्पणी गरे । उनले अन्नपूर्णसँग भने, ‘यो अजिंगरजस्तो प्रज्ञा प्रतिष्ठानले गर्नुपर्ने काम अजित बराल र निरज भारीजस्ता भाइहरुले गरिरहेका छन् । त्रिभुवन विश्वविद्यालयको नेपाली विभाग, शिक्षा र संस्कृति मन्त्रालयहरु के हेरिबसेका हुन् ?’ उनले एनसेलजस्तो पूर्णव्यापारिक कर्पोरेट हाउसले साहित्यमा लगानी गर्नुलाई पनि स्वागत गरे । भने, ‘तर महोत्सवले अब लेखक लेखक, लेखक पाठक, देशी विदेशी साहित्यकारलाई भेटमात्र गराएर पुग्दैन । महोत्सवले गम्भीर विषयहरुमा तात्तातो बहस चलाउनुपर्छ । यसपटक हल्काफुल्का बहसले महोत्सवलाई छायामा पारेको छ ।’ उनले साहित्यसँगै राजनीतिलाई पनि समेटिसकेपछि संघीयता, पहिचान, शासकीय स्वरुपजस्ता विषयमा प्रखर वक्ता बोलाएर बहस गर्नुपर्ने बताए ।
सिस्नुपानी नेपालका अध्यक्ष लक्ष्मण गाम्नागेले सहभागीमा पुस्तान्तरको समस्या भएको बताए । उनले साहित्यका विविध विधामाथि पर्याप्त छलफल गर्ने अवस्था नरहेको गुनासो गरे । उनले भने, ‘उपन्यास, कथा, कविता, गजल, निवन्ध लगायतका विधाहरूको स्थिति के छ ? विदेशी साहित्यको तुलनामा तिनीहरूको स्थान कहाँ छ ? तिनीहरूको प्रवद्र्धन कसरी हुन्छ भन्नेमा जानुपथ्र्यो ।’ अत्यन्तै लोकप्रिय हास्यव्यङ्ग्य साहित्यलाई पनि फेस्टिबलले स्थान दिनुपर्ने उनको भनाइ छ ।
नयाँबजारनिवासी यादव देवकोटाले पाठक सचेत भइसकेकाले आयोजकहरु सचेत हुनुपर्ने बताए । उनले भने, ‘कार्यक्रम डिजाइनर र प्यानलिस्टले पाठकको स्तरसम्म उकास्न नसक्ने अवस्था पनि यसपटक देखियो ।’ ललितपुरमा क्याम्पस पढाउने उनले थपे, ‘केही वक्ता र प्रस्तोता पनि परम्परागत रुपमा उपस्थित भएको पाइयो, उनीहरु विषयमा अद्यावधिक देखिएनन् । मञ्चमा आउने व्यक्तित्व रेसलिङमा आएजस्तो महसुस पाठकले नगरुन् ।’ नेपाली कला साहित्य डट कम प्रतिष्ठानकी अध्यक्ष मोमिलाले महोत्सवमा कम्तिमा एक उत्कृष्ट र वरिष्ठ मानिने साहित्यकारलाई सम्मान गर्ने परम्परा बसाउन सुझाव दिइन् । उनले भनिन्, ‘महोत्सवले साहित्यिक उत्सवको माहौल सिर्जना गरेकाले थुप्रै लेखक र पाठकलाई फाइदा पुगेको छ ।’
साहित्यकार कृष्ण धराबासीले महोत्सव सुरुवातभन्दा राम्रो हुँदै जानुपर्नेमा त्यसो हुन नसकिरहेको बताए । उनले भने, ‘नयाँ पुस्तासँग शिखर व्यक्तित्व पनि आवश्यक हुन्छ, तीनवटा महोत्सवको शैली र ढाँचा पनि फरक हुनुपथ्र्यो । अझ व्यावहारिक महोत्सव आवश्यक देखिएको छ ।’ धराबासीले महोत्सवमा साहित्यका अतिरिक्त गैरसाहित्यिक विषयलाई समावेश गरेकोमा खुसी व्यक्त गरे । उनले थपे, ‘यो मिश्रणले सुनमा सुगन्ध थपेको छ, नत्र त पानीमा अक्सिजनबाट हाइड्रोजन छुट्याइदिएजस्तो हुन्थ्यो ।’ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका पूर्वअध्यक्ष ज्ञानेन्द्र गदालले अमेरिका वा बेलायतमा यत्तिको सम्मेलन हुने हो भने त्यसलाई भव्य मान्न सकिने बताए । उनले भने, ‘तर नेपालका सन्दर्भमा यो पूर्ण होइन । डायस्पोरा र मोफसलका चर्चित साहित्यकारलाई पनि समेट्नुपर्ने देखिन्छ ।’ उनले महोत्सवले समग्र निचोढ निकाल्नुपर्ने साथै विषयमा बहसमात्र नचलाएर नयाँ कुराहरुको आविष्कार गर्नुपर्नेमा जोड दिए ।
महोत्सवको उद्घाटनमा राष्ट्रकवि माधव घिमिरेले राणाकालदेखिको अवस्थाबाट नेपाली साहित्य महोत्सवसम्म आइपुग्नु स्वागतयोग्य भएको बताएका थिए । राणाकालमा पुस्तक पढ्नु पनि अपराध थियो भन्ने ९५ वर्षीय घिमिरेदेखि पुस्तक नपढे अपराध ठहरिने समय आइसक्यो भन्नेसम्मका नयाँ पुस्तालाई महोत्सवले समेट्नु यसको सौन्दर्य हो । अझ सूचना प्रविधिको यो जमानामा ‘ई बुक्स’ को सम्भावना र चुनौतिसमेतमा छलफल गराउनुले साहित्यको भोलिको भविष्यलाई समेत समेट्न खोजेको आभास भएको छ । प्रज्ञा प्रतिष्ठानका कूलपति वैरागी काइँलाले साहित्यको दायरा फराकिलो हुँदै गएकोमा खुसी व्यक्त गरेका थिए । उनले उद्घाटन समारोहमा भनेका थिए, ‘समाज र कलालाई रचनात्मक रुपमा सम्बन्ध गाँस्न महोत्सव सेतू बनेको छ ।’ यसवर्ष ‘किनोट’ दिएका तीर्थबहादुर श्रेष्ठले राष्ट्रिय पहिचानका साझा चरित्रमा ध्यान दिनुपर्नेमा जोड दिएका थिए । यसले पनि साहित्यलाई आमवृत्तमा फराकिलो बनाउने विषयका रुपमा सहभागीले लिएका थिए ।
तेस्रो यो महोत्सवले समसामयिक राजनीतिलाई चिरफार गरेको सुधिर शर्माको पुस्तक ‘प्रयोगशाला’ मा शर्मा, युवराज घिमिरे र मुमाराम खनाललाई वक्ताका रुपमा पाठकको अदालतमा उभ्याएको थियो । ‘साहित्यमा ग्लामर’ मा नारायण वाग्ले, शारदा शर्मा र सुबिन भटराई, ‘लेखकको दृष्टिकोणमा लेखक’ मा अभि सुवेदी र खगेन्द्र संग्रौला, ‘तीन यायावर’ मा कुमार नगरकोटी, सञ्जीव शर्मा र उपेन्द्र सुब्बा, ‘सीमान्त आवाज’ मा राजन मुकारुङ, सरिता तिवारी र अब्दुल लतिफ शौकका विचार सुनिए । ‘ई बुक्स ः सम्भावना र चुनौती’ मा करुण थापा, लिखत पाण्डे र निर्मल थापा, ‘वर्तमान कविताको अनुहार’ मा तुलसी दिवस, सरस्वती प्रतीक्षा र विक्रम सुब्बा, ‘आख्यान र गैरआख्यान’ मा नयनराज पाण्डे, अमर न्यौपाने र मोहन मैनालीले बहस गरेका थिए ।
यसैगरी, पुस्तान्तरमा शैलेन्द्र साकार, डा. बेन्जू शर्मा, श्यामल, आन्विका गिरी, बुद्धिसागर र प्रविण अधिकारीलाई र कविता वाचनमा विक्रम सुब्बा, मोमिला, चन्द्र घिमिरे, निभा शाह, युमा श्रेष्ठ, विमला तुम्खेवा, सरिता तिवारी, रावत, हेमन यात्री, रमेश क्षितिज, श्रवण मुकारुङ, स्वप्निल स्मृति, उपेन्द्र सुब्बा, चन्द्रवीर तुम्वापो, शकुन्तला जोशी, मणि लोहनी, सरस्वती प्रतीक्षा सहभागी थिए । गैरसाहित्यिक विषयमा ‘नेपाली भाषा कसको ?’ मा बसन्त थापा, ‘ कार्टुनका कुरा ’ मा गुणराज लुइटेल, दुर्गा बराल र राजेश केसी, ‘छापा पत्रकारिताको भविष्य’ मा अखिलेश उपाध्याय, अमित ढकाल र राजेन्द्र दाहाल, ‘अपराध लेखन’ मा रमेश खरेल, केपी ढुंगाना र सरोजराज अधिकारी र ‘राष्ट्रियताको पुनर्परिभाषा’ मा सिके लाल, प्रत्युष वन्त र डम्बर चेम्जोङले आआफ्ना तर्क पेश गरेका थिए । यसवर्ष बेलायतका लेखक नेड ब्यूम्यान र बंगलादेशका फराह घुज्नवी महोत्सवका नयाँ आकर्षक बने । भारतबाट शोभा डे, रबिन्दर सिंह, प्रज्ज्वल पराजुली, प्रकाश लेर, अभयकुमार र अन्नी जाइदीको उपस्थितिले भारत र नेपालको साहित्यबीच तातो बहस गराएको थियो ।

प्रकाशित मिति : प्रकाशन मिति : शुक्रबार, 15 कार्तिक, 2070

लेखकका अन्य रचनाहरु