कैलाश

- परशु श्रेष्ठ

चूपचाप बगिरहेछ सिंगिया खोला नागबेली बाटो पछ्याउँदै । बर्षौंदेखिको उसको यो मौन प्रवाह हेरिरहेको बखत पनि मेरो मन भने आँधीमय छ । घरि जलिरहेको चिता हेर्छु, घरि खोलाको शान्त बहाव । शायद ह्वारह्वारी बलिरहेको आगोबाट बढि प्रभावित छ मेरो मन यतिबेला । त्यसैले बेस्सरी पोलिरहेको छ ।
सँगै आएका मलामीहरु केहि फर्किसके । केहि समूहमा भेला भएर तास खेल्दै पैसाको हारजीतमा मस्त छन् । केहि गफिंदै ठट्टा गर्दै बसिरहेका छन् । अनि केहि चाहिँ चितामा बाँसको लामो घोचाले घरिघरि घोंच्दै बलिरहेको आगोमा पोलिथिनको झोलाबाट चिनी मुठ्याउँदै हुर्याउँदै पनि छन् ।
चवाजुलाई हेर्छु, फुङ्ग उडेको अनुहार छ । कुनै जीवनरस नभएजस्तो । उर्हाँ तास खेलिरहेका मलामीहरुको छेउमा बसेर घरिघरि बलिरहेको चितातिर निरिह भएर हेर्नुहुन्छ । चवाजुका बुवा कपाल खौराएर मुडुलो बन्नु भएको छ आफ्नो नातिको किरियापुत्री बस्न । सेतो कपडामा मुडुलो टाउको कस्तो विरुप देखिएको ।
हेर्दा हेर्दै लास जलेर खरानीमा परिणत भयो । सानो एउटा मांसपिण्ड बाँकी रह्यो, नितम्बनेरको । मलामीहरुले खोलामा बगाइदिए । खोलामा फ्याँकिएका मृतकका लुगाफाटा भने गोठालाहरुले सोहोरेर लगे ।
किरियापुत्रीलाई लिएर मलामीको लर्को फर्कियो । गाउँलेहरु भेला भएर बाटोमै मलामीहरुलाई खाजा खुवाउने प्रबन्ध मिलाइएको रहेछ । जुस, पाउरोटी, केरा, सुन्तला ईत्यादि ।
घरमा रुवाबासी चलिरहेकै थियो । चमा बेहोसीमै बर्बराइरहनु भएको थियो । एउटै छोरो, त्यो पनि नौ बर्षमै मृत्युको मुखमा परेपछि चमाको मन थामियोस् पनि कसरी । आफन्तजनहरुले सम्झाइ बुझाइ गरिरहेका थिए ।
थकाइले क्लान्त मेरो शरीरले आराम खोज्यो । सुत्नका लागि चमाका छिमेकीहरुले ओछ्यान ब्यवस्था गरिदिएका रहेछन् । बेलुकीको खानाको व्यवस्था एक छिमेकीकोमा रहेछ । घरमा झिलिमिली बत्ती बलिरहेको थियो । तर जताततै असहज मौनता व्याप्त थियो । मानिसहरु यता उति गरिरहेका थिए । किरियापुत्री रुँग्न बसेका गाउँका पुरुषहरु तास खेलिरहेका थिए । महिलाहरु टाढाटाढाबाट आएका पाहुनाहरुलाई पकाएर खुवाउन र ओछ्यान मिलाइदिन ब्यस्त थिए ।
खाना खाइसकेपछि सधैंझैं उँघ्न थालिहालेछु । त्यसैले म तास खेलेको हेर्न छोडेर सुत्न गएँ । तर ओछ्यानमा पल्टिएपछि भने निन्द्रा हराएझैं भयो । चलचित्रमा झैं मेरो मनको पर्दामा एकपछि अर्कौ गर्दै आएका दृश्यहरुले तीतो विगत सम्झाए ।
+ + +
“कैलाश पनि निकै साह्रै छ रे ।” एक साँझ थकाइले चुर भएर घर फर्किनासाथ ममीले भन्नुभयो । मन सिरिङ्ग भयो ।
“के भएछ ?” मैले सोधें ।
“खै, दुई हप्ता अघि साइकल कुदाउँदा लडेको थियो रे । साह्रै भएकोले बिराटनगर लगेको रे । त्यहाँका डाक्टरले नसकेर धरान लैजानू भनेका छन् रे । चमा रुन खोज्दैथिई फोनमा ।”
“पहिल्यै धरान ल्याउन पाएको भए उपचार छिटो हुने थियो कि ?”
“भोलि धरान लिएर आउने भनेकी छ,” ममीले फेरि भन्नुभयो, “छोरो पनि सँगै गइदिए सजिलो हुन्थ्यो भन्दैथिई ।”
“हुन्छ,” मैले भनें, “म पनि जाउँला ।”
मैले केहिदिन अघिदेखि बारम्बार दोहोरिइरहेको एउटा सपना झट्ट सम्झें । तीन रात भइसकेको थियो मैले त्यो सपना लगातार देखेको । त्यसैले त्यसले के संकेत गर्दैछ भनेर सोंच्न थालेको थिएँ । कैलाश बिरामी भएको सुन्नु रै छ ।
मलाई याद भएसम्म त्यो मेरो पहिलो सपना थियो, जो बारम्बार दोहोरिएको थियो । म एक्लै हतारमा कतै गइरहेको हुन्थें । तर मेरो बाटो छेकेर एउटा अजङ्गको कालो सर्प म हिंडिरहेकै दिशातर्फ टाउको फर्काएर बसिरहेको हुन्थ्यो । जब म पछाडि छु भन्ने आभास त्यसलाई हुन्थ्यो, अनि त्यो पछाडि फर्किन्थ्यो । बटारिएर मलाई आँखा तर्दै निर्दयतापूर्वक मलाई डस्न झम्टन्थ्यो । सोझै मेरो दायाँ कोखामा आफ्नो दाँत गाड्न ल्याइपुर्याउँथ्यो । म डरले आत्तिएर चिच्याउँदै पछाडि सरेर भाग्न खोज्थें । तर तत्काल म आफूलाई ओछ्यानमा असिनपसिन भएर स्वाँ, स्वाँ गरिरहेको पाउँथे । उही सपना लगातार तीन रात दोहोरिइसकेको थियो ।
+ + +
बी. पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको चाइल्ड वार्ड । स—साना बालबालिकाहरु बिरामी भएर ओछ्यानमा लडिरहेको भयानक दृश्य । उनीहरुको अभिभावकहरुको बाक्लो उपस्थिति । कोहि यता दौडिरहेका, कोहि उता छट्पटाइरहेका । डाक्टर तथा नर्सहरु स—साना घाइते फूलहरुलाई सुम्सुम्याइरहेका बगैंचे जस्ता व्यस्त । सबैतिरं दौडधूप । नानीहरुले घाऊको पीडा सहन नसकेर चिच्याएको आवाजले वातावरण नै कोलाहलमय र उराठलाग्दो थियो । त्यहिं एउटा बेडमा एउटा खरानी रङ्गको मैलो खास्टो ओढेर पल्टिरहेको थियो कैलाश, मेरो भाइ, मेरो कान्छी चमाको एकमात्र छोरो । उसको बेडको एक छेउमा सिरानीपट्टि चमा पनि चिन्तित अनुहार लिएर पल्टिरहनु भएको थियो । शायद धेरै रात बिरामी कुरुवा बन्दाको थकाइ र निन्द्रा थियो उहाँको आँखामा ।
“चमा,” मैले उहाँको कुम छोएर बोलाएँ ।
“हँ,” आँखा खोल्दा चमाले मलाई देख्नु भयो, “तिमी आइपुग्यौ ?”
म बेडछेउको स्टूल तानेर त्यसमाथि बसें । कैलाश निदाएको थियो । आँखा चिम्लिएर बायाँतिर कोल्टो परी ढल्किएको थियो । चमाले उसलाई हल्लाउँदै उठाउनु भयो ।
कैलाशले आँखा खोलेर पुलुक्क मलाई हेर्यो । उसको ओंठमा मन्द मुस्कान दौडियो एकपटक, तर ऊ उठेन । मेरो मन चिसो भयो बरफ जस्तै । मैले देखें मुस्कुराउँदा उसका ओंठहरु अप्रत्याशितरुपमा अनौठोसित बाङ्गिए ।
मलाई देख्नासाथ उसले केहि भन्न खोजेजस्तो लाग्यो । तर बोली बुझिँन । बायाँपट्िटको तल्लो ओंठभरि घाउ थियो ।
“के भयो यस्को ओंठमा ?” चमातिर फर्किएर सोधें ।
“खै, हेर न ऊ,” विष्मित भावसहित चमाले भन्नुभयो,“ओंठ टोकेको थाहै पाउँदैन । देब्रे हात र खुट्टा पनि चलाउन सक्दैन ।”
मन अमिलो भयो । यति सानो बच्चालाई कसरी यस्तो पक्षघात भयो ? मनमनै सोंचे ।
“कसरी यस्तो भयोे ?” मैले जिज्ञासा राखें ।
चमाले बेलिबिस्तार लगाउनुभयो, “दुई महिनाअघि साइकलबाट लडेको थियो । साइकल देख्नै नहुने । कसैको साइकल भेट्यो कि त दौडाइहाल्थ्यो । छिमेकीहरुले देखेछन् । उत्तानो परेर लडेको थियो रे । टाउकोको पछाडि निक्कै साह्रो ठोक्किएछ । मलाई त भनेन धेरै पछिसम्म पनि । लडेर आएको रहेछ । निकै दिनसम्म राम्ररी पनि खेलेन, झोंक्राएको जस्तो गरेर बसिरह्यो । छोरो किन त्यसो गर्छ भनेर सोंच्न पनि भ्याइनँ । धान काट्ने चटारो थियो घरमा । उसको बाबा र म दिनभरि खेतमै हुन्थ्यौं । बेलुकी गलेर आयो, भात खायो, सुतिहाल्यो । झोंक्राएर बसेको देखेपछि उसको बाबाले गाउँकै ओझाकोमा लगेर देखाउनु भो । ओझाले हेरेर “लागू” छ भने र झारफुक गरिदिए ।”
“तपाईंहरु पनि त्यस्तै हुनुहुन्छ,” मैले अलि चिढिएर भनें, “जति सम्झाए—बुझाए पनि धामी , झाँक्री, ओझा भनेर कुदिरहनु हुन्छ । बिरामीलाई तुरुन्त डाक्टरकोमा लानु छैन ।”
रुन्चे अनुहार पारेर चमा हाँस्नु भयो । मैले पुन सोधें, “अनि कसरी पुर्याउनु भयो बिराटनगरको क्लिनिकमा ?”
“ओझाको झारफुकले मात्र भएन । एकदिन भात खान बस्दा पानी निल्नै सकेन । “घाँटी दुख्यो” भन्यो । त्यसपछि घरछेउकै औषधी पसलबाट ल्याएर औषधी खान दिएँ । एकहप्ता औषधी खाँदा पनि ठीक नभएपछि पसलेको सल्लाहमा बिराटनगर लगियोे ।”
त्यति धेरै अलमल गाउँमा भएको थाहा पाएपछि मेरो मन चुकचुकायो ।
“बिराटनगर ल्याएपछि पनि दुई हप्ता राख्यो । यी यस्तो “सी टी स्क्यान” पनि गरायो ।” हातले कैलाश सुतिरहेको सिरानी छेउबाट सी टी स्क्यानको फिल्म झिकेर मतिर बढाउँदै भन्नुभयो— “आत्तिनु पर्दैन चाँडै ठिक पार्छौं भन्दै अल्मल्याएर राखे । हिजो चैं ठूलो डाक्टर आएर “तुरुन्तै धरानको घोपा हस्पिटल लगिहाल्नू, हामी अब सक्दैनौं” भने । त्यत्रो ७०—७५ हजार रुपैंया खर्च भइसक्यो । अब यहाँ कति खर्च हुने हो । तर राम्रो भयो भने आफ्नो अंशको जग्गा बेचेर भएपनि उपचार गर्थें । के गर्नु र ? मेरो भाग्यमा के लेखेको छ कुन्नी ?”
चमाको आँखा रसायो । बोलीमा पीडा र अत्यास मिसियोे ।
“अब आत्तिनु पर्दैन, चमा,” मैले ढाडस दिन खोजें, “यो ठूलो अस्पताल हो । यहाँ राम्रा डाक्टरहरु छन् । उनीहरुले चाँडै रोग पत्ता लगाउँछन् र उपचार सुरु गर्छन् । सुरुमै ल्याउन पाएको भए यति धेरै दुख पाउनु पर्दैनथ्यो होला ।”
“के गर्नु, थाहा भएन,” बायाँ हत्केलाले आँशु पुछ्दै रुन्चे स्वरमा चमाले भन्नुभयो ।
“भइहाल्यो, नरुनुस् । अब ठाउँमा आइपुग्नु भएको छ । म पनि छँदैछु विरामीलाई हेर्न ।” शायद चमालाई हौसला मिल्यो । अलिक सम्हालिनु भयो ।
आँखा घुमाएर चारैतिर हेरें । बिरामी कुरुवाहरु कोही बाहिर घाम तापिरहेका थिए । कोहि भित्रै बिरामीको छेउमा बसेर गफ गरिरहेका थिए । एक अर्काको अनुभव साटासाट गरेर पीडा कम गर्ने कोसिसमा थिए ।
एकछिन पछि एकहुल डाक्टर तथा नर्सहरु राउण्डमा आइपुगे । ती मध्ये केही विद्यार्थी डाक्टरहरु थिए । दुईजना अलिक अनुभवी देखिने डाक्टरहरु उनीहरुको समूहको नेतृत्व गरिरहेका थिए । उनीहरु हाम्रो छेउमा आइपुगे र कैलाशलाई उठाउन लगाए । कसैले प्रेसर नापे । कसैले बिराटनगरमा गराएर ल्याएको सिटी स्क्यान हेरे । समूहको नेतृत्वकर्ता दुईजनाले भने कैलाशलाई हिंड्न लगाए, सीधा लाइनमा । तर उसले हिंड्न सकेन र लड्न खोज्यो । डाक्टरलाई शायद थाहा थियो । उनले च्याप्प समाते । त्यसको निम्ति उनी पहिल्यै तयार थिए जस्तो लाग्यो । छोरोले राम्ररी हिंड्न नसकेको देखेपछि चमाको अनुहार अँध्यारो भयो । ती दुई डाक्टरहरु भने अंग्रेजीमा कुरा गर्नथाले । मैले धेरै कुरा बुझिनँ । तर “हि ह्याज अ ट्यूमर इन हिज् लेफ्ट हेड् द्याट इज् ग्रोइङ्ग र्यापिड्ली” (उसको टाउकोको बायाँतिर एउटा छिटो छिटो बढिरहेको ट्यूमर छ ।) भनेको बुझें । नरमाइलो लाग्यो । कैलाशको बिमार सामान्य होइन रहेछ भन्ने प्रष्ट भयो । तर चमालाई भन्नु उचित लागेन । त्यो टोली गएपछि चमाले मलाई सोध्नुभयो । तर सत्य कुरा भन्न सकिनँ । घाँटीमा केहि अड्किएजस्तो भइरह्यो । रिपोर्ट आएपछि मात्र सबैकुरा थाहा हुन्छ भन्दैथिए भनेर ढाँटें । अस्पतालको बेडमा भर्ना भएपछि कैलाशको रगत परीक्षणका निम्ति नमूना लगिएको थियो । त्यसको रिपोर्ट आउन बाँकी नै थियो ।
हामी कुरा गर्दै थियौं, चवाजु आइपुग्नु भयो । सँगै आएका एक गाउँले पनि साथी थिए । डाक्टरले लेखिदिएको स्लिप लिएर चवाजुु र उहाँका साथी औषधी लिन जानु भएको रहेछ । म केहीबेर निदाइरहेको कैलाशलाई हेरेर बसिरहें ।
बेलुकी सबैले ममीले इटहरीबाट हटकेसमा ल्याउनु भएको खाना खायौं । थोरै कैलाशले पनि खानखोज्योे, तर खाँदाखाँदै उसलाई बिचैमा खाना सर्कियो । हुरुक्कै भयो । हामी सबै आत्तियौं । तुरुन्तै ड्यूटी अफिसरलाई बोलाएर ल्याएँ र बिरामीको अवस्था अवगत गराएँ । उनले भोलिपल्ट डाक्टरलाई रिपोर्ट गरिदिने बताए । खोक्दा खोक्दा ओइलिएको सागजस्तो भएर कैलाश केहिबेरपछि सुत्यो । उसको अवस्था देख्दा मलाई ऊ झन् झन् सिकिस्त हुँदैछ भन्ने लाग्यो ।
बिहानै कैलाशले पानी खान खोज्यो । चमाले मिनरल वाटरको बोतलबाट खुवाइदिनु भयो । तर फेरि उसलाई पानी सर्कियो । हुरुक्क होउन्जेल खोकिरह्यो केहिबेर । चाहेर पनि उसको दुख बाँडेर हामी ठूलाहरुले भोग्न सकेनौं । यहि नै जीवनको वास्तविकता हो आखिर । दुख जसलाई पर्छ उसैले मात्र भोग्नुपर्छ, एक्लै ।
डाक्टर आपm्नो नियमित राउण्डमा आए । उनीसँगै उनका विद्यार्थीहरु पनि थिए । सबैले बिरामी हेरे । हालसालैको बिरामीको अवस्थाको जानकारी पाएपछि उनले छेउमै उभिएकी नर्सलाई केहि भने । र, एउटा कागजको टुक्रामा केहि लेखेर मलाई दिए । “तुरुन्त यी सामानहरु किनेर ल्याउनुस्,” उनले भने ।
कैलाशलाई छिनछिनमा भोक लागिरहन्थ्योे । डाक्टरले उसको नाकको प्वाँलबाट एउटा लामो पाइप छिराएर पेटसम्म पुर्याइदिएका थिए । उ जे देख्यो त्यहि खान खोज्थ्यो । सन्चो सुविस्ता हुँदा पनि उ एकदमै चन्चले स्वभावको केटा थियो, अरुसित चलिरहनु पर्ने, खाइरहनु पर्ने । तर डाक्टरले उसलाई झोल पदार्थमात्र खुवाउनु भनेका थिए । मुखबाट होइन, नाकबाट छिराइएको त्यहि नलीबाट । उसले पानी माग्थ्यो, नलीबाट उसको पेटमा पसाइदिनुपथ्र्यों । बिस्कुट माग्थ्यो, दूधमा घोलेर लेदो बनाएर पाइपबाट छिराइदिनुपथ्र्यो । उ झर्किन्थ्यो, रिसाउँथ्यो र पाइप तानेर फ्याँक्न खोज्थ्यो । चमा रुनुहुन्थ्यो । म उसलाई फकाउँथेँ । ऊ मान्थ्यो । मानेन भने अलि कडा स्वरमा “म तँलाई छोडेर जान्छु” भनिदिन्थें । अनि चूप लाग्थ्यो । मलाई उसको माया लाग्थ्यो । तर मायाले के गर्नु ? उसलाई लागेको रोग र परेको कष्ट चाहेर पनि बाँड्न सकिन्थेन । दुईटी छोरी पछि जन्मेको एउटैमात्र छोरो त्यस्तो हुँदा चमा निकै दुखी हुनुहुन्थ्यो ।
भित्री मधेसको गाऊँ तकियाझोडाको समाजमा अनपढ र अशिक्षितहरुको बाहुल्य छ । जहाँ छोरा नहुने दम्पत्तिलाई मानिसकोरुपमा गणना गरिंदैन । अझ आफ्नै परिवारभित्र चमाले सासू र सासूको पनि सासू (बूढी सासू)को खटनपटन सहँदै आउनु भएको थियो । छोरो जन्मेपछि नै हो त्यस परिवारमा उहाँको शीर ठाडो भएको । मन नपरेको कुरामा अलिअलि “नाईँ, हुन्न” भन्ने साहस त्यहि छोरोको कारण उहाँले जुटाउन सक्नु भएको थियो । अब छोरोलाई केही भइहालेमा परिवारमा अनि गाउँ समाजमा उहाँको बनिंदो हैसियत हठात् खोसिने निश्चित थियो । छोरो जन्मेपछि नै अब यति भए पुग्छ भनेर गाउँका महिलाहरुसँग गाउँमा लागेको परिवार नियोजनको शिविरमा स्थाइ बन्ध्याकरण गराउनु भएको थियो । अब उहाँ प्रति चवाजुको भावी सोंच र ब्यवहार कस्तो हुने हो भन्ने निश्चित थिएन । अनपढ र सोझो स्वभावका चवाजु गाउँले र परिवारका अन्य सदस्यहरुको भनाइमा लागेर बहकिनु हुने पो हो कि ? मलाई डर लाग्न थालिसकेको थियो ।
परिवार भित्रै नन्द, आमाजु, जेठानी, देउरानी, सासू, बूढी सासू लगायतका महिला सदस्यहरु सामान्यतया घरकी दुलहीको बिरुद्दमा पुरुष सदस्यहरुसितको मोर्चाबन्दीमा पाइन्छन् । मानौं कि उनीहरु आफू चैं महिला नै होइनन् । परिवार र समाजका पुरुषहरु सरह उनीहरु पनि “खुट्टा भए जुत्ताको दुख हुँदैन” भन्नेमा विश्वस्त पाइन्छन् । र, आफ्ना दाजु, भाइ, छोरा, भतिजा वा भान्जालाई मर्द बन्न र अर्की ल्याउन उक्साउँछन् । यो समस्याबाट चमाको जस्तो पिछडिएको गाउँ समाज कसरी अछूतो रहन सक्थ्यो र ?
+ + +
हस्पिटल ल्याएको तेस्रो दिनमा कैलाशको सि टी स्क्यान गराउनु पर्ने भयो । डाक्टरले बिहानैदेखि उसलाई केही पनि नखुवाउनु भनेका थिए । दुब्लाएर निकै कमजोर भएको थियो ऊ । त्यसमाथि शरीरको आधा भागमा पक्षघात । बाँयापट्टि कुनै अङ्गमा सियोले घोंचेपनि थाहा पाउँदैनथ्यो । मुख अलि बाँगिएको र बायाँ आँखा झिमझिम पार्न पनि नसक्ने । शौचालय लैजाँदा दुई पट्टिबाट दुईजनाले डोर्याउनु पथ्र्यो । नर्सले ओछ्यानमै कोपराको ब्यवस्था गरिदिएकी थिइन्, तर ऊ लजाउँथ्यो । दिसापिसाब गर्न मान्दैनथ्यो । पर्दाले छेक्दा पनि उसको ममीसित बाहेक अरुसित अप्ठेरो मान्थ्यो ।
बिहानैदेखि भोकै राख्यो र केही खान दिएन भनेर कैलाश रोयो । ममीसित रिसायो । हातखुट्टा झट्कार्न थाल्यो । नाकमा टेपले टाँसेर लगाइराखेको पाइप तानेर निकाल्न खोज्यो । चमाले उसको दायाँ हात समातेर त्यसो गर्न दिनुभएन । उसको बायाँ हात निर्जीव थियो । दायाँ हातको हत्केलाको पछिल्तिर एउटा ठूलो, मोटो सियो अस्पताल ल्याइए देखिनै नसामा घुसारिएको अवस्थामा थियो उसलाई समय समयमा सलाइन पानी चढाउनको लागि । त्यसलाई पनि दाँतले टोकेर निकाल्न खोजिरहेथ्यो । आँखाबाट आँशुको ढिक्का खसाल्दै थरथर काम्दैं ममीलाई रिस पोखिरहेको थियो । आफैंले आफैंलाई कोतरेर र कोपरेर उ ममीले बिहानभरि भोकै राखेको बदला लिन चाहन्थ्यो । तर बिरामी शरीरको कमजोरीको कारण सकिरहेको थिएन ।
“कैलाश,” मैले उसलाई थुम्थुम्याएँ, “भाइ, किन त्यसो गरेको ? किन रिसाएको ? मलाई भन त के भयो ?”
मेरो उपस्थितिमा ऊ अलि मत्थर भयो । र, ममीसितको संघर्ष त्यागेर भित्तातिर फर्किएर नबोली सुत्यो ।
“तिम्रो सि टी स्क्यान गराउनलाई डाक्टरले केही नखुवाउनु भनेका छन्,” मैले उसलाई स्पष्टीकरण दिएँ, “त्यो भनेको टाउकोको एक्स—रे हो । केही नखाइकन खाली पेटमा गराउनु पर्छ क्या । तिमीलाई यति माया गर्ने ममीसित यसरी रिसाउनु हुन्छ र ?” उसले सुनिरहेको छ भन्ने मलाई थाहा थियो । चमालाई हेरें । उहाँ बर्कोको सप्कोले आँशु पुछिरहनु भएको थियो ।
“यता फर्क त,” मैले हातले अलिकति आफूतिर तान्दै कैलाशलाई फेरि भनें, “म तिमीलाई भरे सि टी स्क्यान गरिसकेपछि दुईवटा फ्रूटी किनी दिन्छु ।” सन्चो हुँदा फ्रूटी उसको मन पर्ने पेय थियोे । त्यसैले उसलाई फकाउन मलाई त्यो जुक्ति फुर्यो । नभन्दै ऊ फकियो र हामीतिर फेरि कष्टपूर्वक फर्कियो । अलि खुशी पनि देखियो ।
दिउँसो दुई बजेतिर नर्स आएर बिरामीको विवरण लेखिएको फाइल दिइन् । चवाजु र मैले कैलाशलाई स्ट्रेचरमा सुतायौं र एम आर आइ बिल्डिङ्गतिर गुडायौं । केहीबेर पर्खेपछि हाम्रो पालो आयो । कैलाश केही डराएको थियो स्ट्रेचरसहित उसलाई एउटा ठूलो इलेक्टोनिक ढ्वाङ्गभित्र पसाइँदा । तर मैले उसलाई केही नहुनेमा विश्वस्त तुल्याएको थिएँ । सि टी स्क्यान गरुन्जेल नचली सुतिरहेमा अरु एउटा फ्रूटी थपिदिने वचन पनि दिएको थिएँ । त्यसैले होला, मैले भनेको सबैकुरा उसले खुरुखुरु मान्यो ।
बाचा गरेअनुरुप नै मैले दुईवटा फ्रूटी किनें र कैलाशलाई बेडमा ल्याएर दिएँ । सकिनसकी दायाँहातले समात्यो र मुसुक्क हाँस्यो । नाकमा जोडिएको पाइप छिचोलेर निस्किएको उसको मुस्कानले मलिनो भएपनि मलाई आनन्द दियो । नबुझिने स्वरमा हातको इशारा सहित उसले भन्यो— “अरु एउटा खोइ त ?” म हाँसे ।
“पहिले यी दुईवटै खाइसक, अनि फेरि ल्याइदिउँला,” उसलाई भनें । त्यसपछि उसले चमालाई फ्रूटीको बट्टाको बाहिर टाँसिराखेको सानो पाइप भित्रपट्टि छिराइ माग्यो । अनिमात्र म झसङ्ग भएँ । मन खिन्न भयो । एकैछिन अघिको मेरो खुशी बिलायो । भर्खरै उसको ओंठमा फुलेको मुस्कान मैले निर्दयी बनेर चुँड्नु पर्ने भयो । अब कसरी उसलाई सम्झाउने भनेर म अलमल्ल परें ।
“बाबु, त्यसरी मुखले खाने होइन । डाक्टरले अब मुखबाट पटक्कै खानु हुदैन भनेका छन् । पाइपबाट खानु पर्छ । सन्चो भएपछि फेरि मुखले खान पाइहाल्छौ नि ।” मैले भन्नै पर्यो उसलाई । उसले मानेन । फ्रूटीको बट्टा भूईंमा फ्यात्त फ्याँकिदियो र रुन थाल्यो । चमाको आँखामा फेरि आँशु देखा पर्यो । फेरि पाइप निकालेर फ्याँक्न खोज्यो । दौडदै गएर डाक्टरलाई बोलाएर ल्याएँ । उनलाई पनि शायद माया लाग्यो कैलाशको । पाइप झिकिदिए र बिस्तारै चम्चाले खुवाइदिनु भने । बल्ल कैलाश खुशी भयो । छिटो छिटो निल्दै रस मुखमा हालिमाग्न थाल्यो ।
तर एकैछिनमा उसलाई फेरि सर्कियो र हुरुक्कै भयो । डाक्टर तुरुन्तै आए र पुन नाकबाट पाइप भित्र छिराइदिए । अब उप्रान्त डाक्टरको निगरानीमा बाहेक पाइप ननिकाल्न सचेत गराएर गए । त्यसपछि कैलाश भित्तातिर फर्किएर सुतिरह्यो साँझ अबेरसम्म । मेरो मन भने खिन्न भइरह्यो ।
भोलिपल्ट बिहानै डाक्टर फेरि राउण्डमा आए । सि टी स्क्यानको रिपोर्ट आइसकेको थियो । बिरामीको अघिल्लो दिनभरिको गतिविधिको जानकारी लिए । अनि सि टी स्क्यानको रिपोर्ट हेरिसकेपछि भने — “यो बिरामीलाई अब ढिलो नगरी काठमाडौं या सिलीगुडीमा राम्रो न्यूरो सर्जनलाई देखाउनूस् । अब यहाँ उपचार हुन सक्दैन ।”
हामी सबै विस्मयमा पर्यौं । मन अत्तालियो । अब यहाँबाट पनि लगेपछि कहाँ र कसरी उपचार गराउने होला ? बिरामीको साथमा को—को जाने होला ? डाक्टरले तत्काल निर्णय लिइहाल्न र बिरामीलाई ढिलो नगरी डिस्चार्ज लिएर हिंडाइहाल्न सल्लाह दिए ।
म र चवाजु डाक्टरको पछि—पछि गयौं । हामी एक किसिमले स्तब्ध भएका थियौं डाक्टरको सल्लाह सुनेर । किन त्यसो भने त डाक्टरले भन्ने लाग्यो मनमा । मैले भनें— “डाक्टर साब, म बिरामीको दाइ हो । खासमा के छ हाम्रो बिरामीको अवस्था ? हामीलाई ठिक सल्लाह दिनूस् । बिरामीको उपचार सफल हुने सम्भावना छ भने हामी जहाँ पनि लैजान तयार छौं । नत्र घर लान्छौं ।”
डाक्टरले बल्ल रहस्य खोले— “अवस्था एकदम नाजुक भइसकेको छ । थोरै मात्र आश गर्न सकिन्छ । यहाँ ल्याउन तपाईंहरुले ढिलो गर्नुभयो । अब घरको अवस्था राम्रो छैन भने अन्यत्र कोसिस नगर्दा हुन्छ । बरु बिरामीले भने अनुसार गरिदिनुस् ।” उनको कुरा सुनेर मेरो मन अमिलो भयो । आँखा धमिलिएर छेउमै उभिनु भएका चवाजुलाई पनि एकछिन त देखिनँ । रोऊँ रोऊँ लाग्यो । डाक्टरलाई धन्यवाद भनेर बिरामी भाइ छेउमा आएँ । आफूलाई बिल्कुल असहाय महसुस गरिरहेको थिएँ । चवाजुले पनि कुरो बुझिसक्नु भएको थियो । त्यसैले अब घरै लैजानुपर्छ भन्न थाल्नुभयो । तर चमा जहाँ लगेर भएपनि मेरो छोरो ठीक पारेर मात्र घर जान्छु भन्न थाल्नुभयो ।
इटहरीबाट ममी र लेटाङ्गबाट हजुरआमा पनि आइपुग्नु भयो । उहाँहरु बिरामीको डिस्चार्ज हुन लाग्यो भनेर खुशी हुनहन्थ्योे, तर मैले सबै कुराको बेलिबिस्तार लगाएपछि अँध्यारोे अनुहार लगाउनु भयो । हामी सबै दुखी मन लिएर इटहरी फर्कियौं ।
चमा छोरोलाई काठमाडौं लगेर थप उपचार गराइ छाड्ने विचारमा हुनुहुन्थ्यो । तर कैलाश भने घर जान्छु भनेर ढिपी गरिरहेको थियो । केहि आफन्तको सहयोगमा चमा अन्तत कैलाशलाई लिएर काठमाडौं गुड्नुभयो । चमालाई वास्तविकता बताउन नसकेर म चूपचाप मूकदर्शक बनिरहें । “अब बढीमा एक हप्ता बाँच्छ तपाईंको बिरामी,” डाक्टरको भनाइ कानमा गुन्जिरह्यो ।
+ + +
एकाबिहानै चमाको घरबाट फोन आयो । चमाको कान्छा देवर बोल्नुभयो— “कैलाश बित्यो, तपाईंहरु चाँडै आइपुग्नुस् ।” फोन राखिसकेपछि एकपटक मेरो जीउ थरर्र काम्यो । मेरो दुस्वप्न यथार्थमा परिणत भएको त्यो बिहान अरु कुरो केही पनि सोंच्न सकिनँ । कतिबेला चमाको घरमा पुगुँ भन्ने मात्र लागिरह्यो ।
बिराटचोकमा ममी र म पुग्दा अरु आफन्तजनहरुसँग पनि भेट भयो । तेतरिया उत्रेपछि झण्डै डेढ घण्टा हिंड्नु पथ्र्यो तकिया गाविस पुग्न । गाउँलेले गाउँको सिरानदेखि नै हामीलाई नियालेर हेरे । झण्डै साढे दश बजेको थियो हामी चमाको घर पुग्दा ।
घरको वातावरण अस्तव्यस्त थियो । सबै रोइरहेका थिए । गाउँले तथा अन्य आफन्तहरु लास जलाउन लैजाने तयारी गर्दै थिए । घर अगाडि तुलसीको मठनेर लास सेतो कपडाले छोपेर लडाइएको रहेछ । त्यो देख्नासाथ मलाई भाउन्न भएर आयो । निकैबेरसम्म डाँको छोडेर रोएछु । कति रोएँ, थाहा पाइनँ । पछि कसैले झक्झक्याए पछि मात्र वरिपरि अरु मानिसहरु देखें ।
+ + +
सोंच्दा सोंच्दै कतिबेला भुसुक्कै निदाएछु । बिहान ओछ्यान छोड्दा घाम झुल्किसकेछ । मेरो मन चमालाई हेर्न आतुर भयो । अघिल्लो दिनको चमाको विव्हल अनुहार आँखामा आइरहेको थियो । छिटो छिटो लुगा लगाएर ओछ्यानबाट निस्किएँ । भर्याङ्गबाट ओर्लिएर चमाको घर पुगें ।
रातभरि नसुतेको चमाको अनुहार सुन्निएको थियो । आँखा अझै रसिलो थियो । ममी र अन्य आफन्त महिलाहरु चमासँगै हुनुहुन्थ्यो । चमा उहाँहरुलाई कैलाश बिरामी भएदेखि मर्नु अघिसम्मका सबै घटनाहरु सुनाउँदै हुनुहुन्थ्यो ।
डराई डराई म चमाको छेउमा पुगें । मलाई देखेर चमा रुन थाल्नुहोला कि भनेर मलाई डर थियो । अरु रोएको हेरिरहन म सक्दिनँ । धन्न, चमा मैले सोंचेजस्तो रुन थाल्नु भएन । धेरै हदसम्म मन बाँधिसक्नु भएको रहेछ । केहिबेर पछि बिदा मागें ।
घर फर्किंदा बाटोभरि मनमा कुरा खेल्यो । जीवन यस्तै रहेछ । पीडा सम्झेर मात्र जीवन बाँच्न साह्रो छ ।
इटहरी ५, सुनसरी

प्रकाशित मिति : प्रकाशन मिति : शनिवार, 9 कार्तिक, 2070

लेखकका अन्य रचनाहरु