तिम्रै नाम !

- युवा बराल ‘अनन्त’

पात्र क: के तिमी अझै उस्तै छौ… जस्तो तिमीले मलाई या मैले तिमीलाई छोड़ेपछि छौ ?

पात्र ख: छोड़ेको तिमीले थियौ, म छोड़िएको थिएँ ।

पात्र क: अनि तिमी छोड़िएपछि किन पिछा गरेर आईनौ ?

पात्र ख: यतिका दिन पछि यस्तो प्रश्न गर्न लाज लागेन?

पात्र क: उतिखेर म शिकार थिएँ तिम्रो शंकाको… म भागिरहेथें ।

पात्र ख: त्यही त्राशले म पनि उसरी नै तिमीदेखि टाड़ा भागिरहेथें । अनि दुई किनारा बन्यौं ।

X X X

पात्र क : खैर छोड़िदिऊँ ती अतीतका तीता कुरा… हिज-आज कहाँ छौ त्यो भनन ।

पात्र ख : अब कसै गरे पनि हाम्रा कुराहरु मीठा, चाखलाग्दा हुँदैनन् … किन ती पुराना कुरा कोट्यायौ?

म त आलो चोटले रक्ताम्मे छु। तिमी किन यसरी चट्टै फुत्किन सक्छौ हाम्रा अतीतदेखि !

पात्र क : घाउ त मेरो पनि बल्झिएको छ, दु:खिरहेछु म पनि ।

पात्र ख : ती दर्दभरिका कुरा गरन… जब शिलशिला शुरु गरिसकेपछि…।



X X X

पात्र क : त्यो पहिलो भेट… तिमी कस्ती नपत्याउँदी, एउटी सोझो स्कुले ठिटी थियौ । म किशोर केटो,

तिम्रा आँखा भर्खर पढ़न जान्दै थिएँ । तिमी चञ्चले स्वभावकी नकचरी थियौ । त्यो लामो

केशराशी, मिलेको आँखेभौं, लाम्चो गहूँ-गोरो अनुहार्… हिस्कि परेको जिउ-डाल, सुड़ौल खुट्टाहरुमा

चटक्कै सुहाएको सेतो मोजामा कालो जुत्ता ।

पात्र ख: अनि भन्दै जाऊ…

पात्र क: मैले सबैभन्दा ज्यादा हेर्ने तिम्रो कालो आँखा अनि भर्खर चुलिंदै गएको तिम्रो छाती !

पात्र ख: अब ती कुराहरुको के महत्व।

पात्र क : छ, किन छैन । तिमीलाई छैन होला तर मलाई छ । पहिलो प्रेम पहिलो नै हुन्छ, त्यस्को

स्थान दोस्रो या तेस्रोले आगट्न सक्दै सक्दैन ।

पात्र ख: म तिम्रो प्रेम थिएँ र! म स्वीकार्दिन तिम्रो साक्षी ।

पात्र क: तसर्थ हामी छुटियौं । न म तिम्रो बन्न सकें न तिमी नै मेरो ।

पात्र ख: तिम्रो प्रेम उतिखेरै मेरो शरीरसंगमात्र थियो । तिम्रो प्रिय वस्तु तिमीले हाशिल गर्यौ। अन्तत:

तिमी अघाएपछि कुकुरले हड्डी छोड़े झैं छोड़यौ । छोड़िदियौ…!!

पात्र क: हो सबै प्रेमी प्रथमत: आफ्नो प्रेमिकाको वाह्य देखिने शरीरबाट आकर्शित हुन्छन्, उसरी नै

प्रेमिकाहरु पनि। मैले तिमीलाई मन पराउनु भनेको तिम्रो वाह्य रुपको मोह हुनु हो ।

पात्र ख: भनेपछि मैले तिमीलाई मोहित बनाएको थिएँ छु… होइन?

पात्र क: हो, त्यसपछि तिम्रो बोलीले लठ्ठै परेछु । अनि पछि तिम्रा हावभाव अनि स्वभावले ।

पात्र ख: कसरी सिक्यौ यसरी बोल्न !

पात्र क: किन र म सधैं यसरी नै त बोल्थें, बोल्छु अनि बोलिरहेछु ।

पात्र ख: त किन छुटियौं हामी ?

पात्र क: म पनि यही प्रश्न सोध्न लगिरहेथें… किन टाड़ियौं हामी ?

X X X

पात्र क: म ऐले पि जि टि गणितको शिक्षक भएको छु । तिमी नी?

पात्र ख: वधाई छ… धन्न प्रेमले तिम्रो अध्यापनमा प्रभाव चैं पार्न सकेन रहेछ । म स्वास्थ्य विभागमा

नर्स छु । बिरामी परे नहिच्किचाई आउँदा हुन्छ ।

पात्र क: कस्तो संयोग ! मेरी श्रीमती पनि नर्स नै हो ।

पात्र ख: भनेपछि जस्तै बिमार भए पनि म चैं तिम्रो काम नाआउने नै भएँ होइन त ?

पात्र क: उ त वैकल्पिक मात्र हो । हृदयको कुन्नि कुन कुनामा तिम्रो त्यो अमेट छाप अझसम्म

खिलिएको छ । त्यसो त दुई जना नानीको बाउ भैसक्दा पनि म यो बदमासी गर्न उत्प्रेरित

भैरहेको छु ।

पात्र ख : दुई जना नानी? कस्तो अचम्म ! मेरो विषयमा भने चैं तिमी किन सोद्धैनौ ?

पात्र क : मलाई थाहा छ्… तिमीले बिहे नै गरेनौ… होइन ?

पात्र ख : गलत्… मैले बिहे गरें… चार वर्ष पहिला । तर …

पात्र क : मैले वाध्यताले बिहे गरें ।

पात्र ख : म त नगर्ने अठोटमा थिएँ… संसार देखें… एउटा सहृदयी साथी पाएँ… अनि सम्झौता बिहे गरें ।

पात्र क : अनि जयजन्म नि !

पात्र ख : ऐलेसम्म गर्भ बसेको छैन । भगवान नगरे नबसेकै राम्रो ।

पात्र क : कस्तो असुभ बोल्दैछौ… किन?

पात्र ख : हामीले पहिलो एबोर्ट गरेको भ्रूण्… रहेको भए कति वर्षको हुन्थ्यो?

पात्र क : यस्तै सत्रह अठाह्र वर्षको हुन्थ्यो ।

पात्र ख : दोश्रो चैं ?

पात्र क : त्यस्तै पाँच-छ महिना पछिको त थ्यो नि त्यो पनि…

पात्र ख : डाक्टरले नमानेको भए?

पात्र क : न तिमी नर्श हुन्थ्यौ न म पोस्ट ग्रेजुएट टिचर्… हामी स्कूल ड्रप आउट हुन्थ्यौं अनि सम्भवत:

कतै रोड-साइड्तिर या कुनै कम्पनीतिर कुल्लि काम गर्दै हुन्थ्यौं …।

पात्र ख : मैले ऐलेसम्म कन्सिभ नगर्नुमा त्यही एबोर्सन कै कारण हो कि डर लाग्दैछ ।

पात्र क : कारणहरु धेरै हुन्छन् जाँच नगरी कुनै नतिजामा पुग्नु या कसैलाई दोष दिनु मुर्खता हो ।

पात्र ख : कति पुगे नानीहरु… मलाई त कस्तो हेर्न मन पर्यो हौ …।

पात्र क : ठुलो छोरो आठ वर्ष पुग्यो, सानो छ: … ‘टु’ र ‘वान’ मा पढ़दैछन् मोराहरु ।

पात्र ख ; सुनेर खुशी लाग्यो… नसुनेको भए वेश थियो …। यो छटपटाहट्…

पात्र क : किन र! अर्काको खुशी देखि सहिंदैन कि कसो ?

पात्र ख : आह्रिस लाग्यो मलाई । रिस पनि…

X X X

पात्र ख : तिमीले पहिलोचोटि मेरो हात समाएको याद आलो भयो। थाहा छ, म कसरी रातो भएको थिएँ ।

पात्र क : त्यो तिम्रो स्वीकृति थियो । त्यसपछि त म तिमीमाथि हावि बनेको थिएँ । नत्र ममा कसरी

पलाउँथ्यो त्यत्रो आँट ।

पात्र ख : हाम्रो मिलन त्यति क्षणिक हुन्छ कस्ले जानेको थियो र !

पात्र क : भनन कसरी छुटियौं हामी ?

पात्र ख : भवितव्य यस्तै थियो हो । हामी एक-अर्काको निम्ति जन्मिएका थिएनौं ।

पात्र क : मैले तिमीलाई धोखा दिएको थिइनँ । केवल त्यो एउटा तुच्छ विषयले हाम्रो कसिलो प्रेमको

डोरीलाई टुक्रा-टुक्रा पारी चुटाई दियो । उसंग मेरो कुनै त्यस्तो संबन्ध थिएन… न तिमीसंग

छुटेपछि नै स्थापित भयो ।

पात्र ख : मलाई माफ गरिदेऊ यतिखेर प्रिय ! यो कुनै पश्चतापको आगोमा जल्ने क्षण होइन । तिम्रा

नानीहरु स्कुलबाट आईसके होलान् । श्रीमती अस्पतालदेखि थाकेर फर्केकी होलिन् । यी व्यर्थका

कुरा लिएर न अल्झ मसंग । मलाई त्यो पात सम्झ जो डालीबाट कुनै हावाको झोंकाले

झरिदिसक्यो । अब भुईंतिर यता-उता नखोज… नसोध मलाई म कस्तो छु भनेर !!!

पात्र क : यतिका दिन पछि तिमीसंग कुरा गर्न पाउँदा हृदय हलुङ्गो भएको अनुभव भयो । गाँठो परेका

कुराहरु खोलिए । मन माझा-माझ भयो । शंकाहरु पखालिए । आनन्द लाग्यो ।

पात्र ख : प्राप्ति के भयो र ! उही एकलोपन ! उही विछोड़ । उही विरक्ति । उही अपुग । उही खालिपन !

पात्र क : दोष मेरो मात्र होइन । तिमी पनि त्यतिकै भागिदारी छौ ।

पात्र ख : उनले मेरो अतीत विषय ऐलेसम्म सोधेका छैनन्। कि बताइदिऊँ ?

पात्र क : तिमी स्वयं जान… मेरो केही आपत्ति छैन । अब यो नभन कि हामी पुन: प्रेम गरौं… एकात्म

हौं।

पात्र ख : कद्धापि पनि । तर मेरो पनि पहिलो प्रेम सायद तिमी नै थियौ कि भूल्न बिर्सनै सक्दिन ।

पात्र क : मैले तिम्रो शरीरसंग प्रेम गरे झैं लाग्थ्यो… तर यस क्षण लाग्दैछ कि त्यो सब मिथ्या थिएछ ।

हाम्रो प्रेम साच्चैं अलौकिक अनि अमर बनेको रहेछ । नत्र किन बड़ेको थियो यो हृदयको धड़कन

तिम्रो नाम र आइडी फेसबुकको फ्रेण्ड लिस्ट्मा पाउँदा । साच्चैं प्रिये… म अझै तिमीलाई प्रेम

गर्दो रहेछु ।

पात्र ख : यो आभाष हुनु मेरो निम्ति ठूलो प्राप्ति हो । धन्य छु म कि मलाई प्रेम गर्ने एउटा प्रेमी छ यो

संसारमा भनेर । म यही अनुभवले प्रफुल्लित छु… यही विश्वासले गद्गद छु ।

सायद, तिम्रो चोखो प्रेमको यही स्वच्छ अनि उर्वरा अवधिमा स्थापित मेरो पतिसंगको

सहवासमा म गर्भिणी बनूँ अनि तत्पश्चात जन्मिएको छोरोको तिम्रै नाम राखूँ… ।


पात्र क : ……………अवाक्…………!!!

प्रकाशित मिति : प्रकाशन मिति : शनिवार, 9 कार्तिक, 2070

लेखकका अन्य रचनाहरु