जीवनको सौन्दर्यशास्त्र

- सरस्वती प्रतीक्षा

गत वर्ष 'सम्बन्धको सौन्दर्यशास्त्र' कविता लेखिरहँदा लाग्दै थियो, म आफ्नै अनुभव र अनुभूतिको शास्त्र लेख्दै छु । शास्त्रका ठूलाठूला ठेलीका कुराहरू भन्दा फरक भोगाइको आफ्नै खालको लघु शास्त्र । निजी शास्त्र । 'सम्बन्धको सौन्दर्यशास्त्र' आधा मनको अदालत र आधा त्यही मनको अदालतको फैसलाको शास्त्र जो थियो ।

'सम्बन्धको सौन्दर्यशास्त्र' त जीवनको एक अंशको साभार मात्र न हो । एउटा कोणमा रचिएको । जीवनलाई त अनेकौं कोणमा उभिएर हेर्नुपर्ने हुन्छ । दार्शनिक हुन नसके पनि दार्शनिक शैलीमा म पनि जीवनको सौन्दर्यलाई केस्राकेस्रामा केलाएर बाँच्न मन पराउँछु । आजकल त जीवनलाई दशक दशकमा भाग लगाएर केलाउनुको मज्जा पनि लिइरहेकी छु ।

एउटा अलि फरक खालको पारिवारिक र सांस्कृतिक पृष्ठभूमिमा जन्मिएँ । मेरो बाबा खाट्टी थकालीको छोरा र मेरी आमा खाट्टी बाहुनकी छोरी । आजभन्दा ३३, ३४ वर्षअगाडि प्रेमविाह गरेका मेरा आमाबाबाले आफ्नै जीवनकालमा उक्त प्रेमको मूल्य किस्ताकिस्तामा बुझाइरहे समाजलाई । उनीहरूको प्रेमको मूल्य उनीहरूले मात्र बुझाएनन्, उनका सन्तान हुनुको नाताले हामीले पनि बुझाउनुपर्योम किस्ताकिस्त्ाामा ।

सानो छँदा जब बाहुन समाजको जमघट, चाडपर्व वा कुनै सांस्कृतिक कार्यक्रम हुन्थ्यो, 'यसको बाबु त थकाली हो नि' भन्दै हामीलाई आउटसाइडरको जस्तो व्यवहार गरिन्थ्यो । थकालीहरूका माझ जब कुनै जमघट वा कुनै सांस्कृतिक कार्यक्रम हुन्थ्यो, 'यसकी आमा त बाहुनी हो नि' भन्दै त्यहाँ पनि हामीलाई आउटसाइडरको जस्तो व्यवहार गरिन्थ्यो । यसरी सधैंसधैं आउटसाइडरको जस्तो व्यवहार गरिँदा मेरा भाइहरूले के सोच्थे कुन्नि, म भने म को हु र किन आउटसाइडर भए ? भन्ने पीडाले सताइन्थे सधैं । जराहरू भएर पनि जरा नहुनुको आर्तनादले घोचिन्थे सधैं । जीवनको सौन्दर्यशास्त्रलाई आत्मसात् गर्न त्यहाँ कुरूपताहरूको चड्कन पनि हुन जरुरी छ सायद । नत्र मान्छेलाई कसरी थाहा हुन्छ- कुरूपताको चड्कनको आवाज र सौन्दर्यको टुंगनाको धूनको आवाजमा कति फरक हुन्छ भनेर ?

पछाडि फर्किएर हेर्दा बाल्यकालमा आफूले भोगेका प्रत्येक अप्ठ्यारो र अप्ठ्यारोको छायालाई नमन गर्न मन लाग्छ । सधैंसधैं आउटसाइडर हुनुको अनुभूतिले जन्माएको पीडाको कम्पन र तीव्रतालाई सलाम गर्न मन लाग्छ । सानै उमेरमा मभित्र जुन पीडाहरूको तीव्रता थियो, त्यही तीव्रताले मेरोे संवेदनाको तीव्रतालाई जन्मायो । त्यही संवेदनाको तीव्रताले मैले लेख्ने कविता र कविताहरूलाई जन्मायो ।

आजकल म किन आउटसाइडर भए भन्ने प्रश्नको घनत्व क्रमशः कम हुँदै गइरहेको छ । समाज र सामाजिक मान्यताहरूमा आएको उदारताको परिणाम हो यो पक्कै । अर्कोतिर म को हुँ ? भन्ने प्रश्नको घनत्व भने बढ्दै गइरहेको छ । विश्वप्रसिद्व पुस्तक 'द प्रोफेट'का लेखक खलिल जिब्रानले कतै भनेका छन्- केवल एकपटक मेरो बोली बन्द भएको थियो त्यो त्यतिबेला जब एक व्यक्तिले मलाई सोध्यो- तिमी को हौ भनेर ?

पक्कै पनि म को हुँ ? यो प्रश्नले बारम्बार चिमोटिरहन्छ मलाई । म को हुँ ? यो प्रश्नले सताइरहन्छ मलाई र म चिन्तन गरिरहन्छु र म लेखिरहन्छु, लेखिरहन्छु । मलाई थाहा छ, म बाँचे भने आपmनै अक्षरहरूमा बाँच्नेछु । बिहान-बेलुका मैले पकाउने दालभात, मैले धुने लुगा, मेरो स्नेहमा हुर्कने फूलका बोटहरू, मैले एटेन्ड गर्ने प्रोग्राम र पार्टीहरू, मेरो बैंक ब्यालेन्स वा भौतिक सम्पत्ति-यी केहीमा पनि बाँच्दिनँ म ।

अरू त अरू, मेरो छोराको रगतमा मेरो रगत त बाँच्ला, उसको आफ्नै अनुभव र अनुभूतिले निकाल्ने जीवनको उपसंहारमा पनि बाँच्दिनँ म । मैले बाँचिरहेको मेरो जीवनको उपसंहार मेरा बाबुआमाहरूको जीवनको उपसंहारसित मिल्दैन भने मेरो छोराको जीवनको उपसंहारसित मेरो जीवनको उपसंहार मिलोस् भनेर म कहिल्यै अपेक्षा पनि राख्दिनँ । एउटा लेखक हुनुको नाताले म बस् यति भन्न सक्छु, म बाँचे भने म मेरै अक्षरहरूमा बाँच्नेछु । म मेरा किताबहरूमा बाँच्नेछु । यसर्थ मेरा अक्षरहरू मेरानिम्ति संजीवनी बुटी हुन् । लेखक हुँ भन्दै अक्षरहरूसँग सस्तो खेल खेल्ने धृष्टता म गर्नै सक्दिनँ कदाचित् ।

मेरो एउटा साथी छ, जसलाई कसैले ढुंगाले हिर्कायो भने पनि ऊ यति शान्त भएर त्यसलाई ग्रहण गर्छ, मानौं कसैले उसमाथि ढुंगा होइन, फूल बर्साइरहेको छ । म उसका आँखाहरूको ऐनामा सौन्दर्यका दुर्लभ तस्बिरहरू भेट्छु । मेरै अगलबगलमा एउटा यस्ता अग्रज पनि छन्, जसको सोचमै हरपल खुकुरी झुन्डिरहेको हुन्छ । दुर्गन्धित खुकुरी । सोचिबस्छन्- अर्काको एक टाउको छप्काउन पाए आफ्नो एक टाउको अग्लिन्छ भनेर । कठै, बिचरा ! आफ्नै खुकुरीको धारबाट आफै रेटिएर बचेखुचेको सिर्जनशीलता पनि क्षयीकरणको तल्लो बिन्दुमा पुगिसकेको उनलाई थाहा छ कि छैन कुन्नि !

एउटा चरम सुन्दरता र अर्को चरम कुरूपताका माझमा उभिएर म जीवनलाई सधैंसधैं तटस्थ भावले हेर्छु र तटस्थ भावमा नै प्रश्न गर्छु- किन महेन्द्रपुलको आलिशान महलमुनिको चिसो छिँडीमा बोरा ओढेर एउटा सडक बालक निश्चिन्त निदाइरहेको हुन्छ ? र त्यही महलको माथिल्लो तलामा लाखौंको पलङमा स्लिपिङ ट्याब्लेट खाएर सुत्दा पनि कोही किन रातभर छटपटाउँछ ? किन आजकल घरघरमा दुबो कम र डिप्रेसन बढी मौलाइरहेको छ ? भौतिक सुखसुविधा र सम्पन्नताले मान्छे सुखी त छ, तर किन खुसी छैन ?

पछिल्लोपटक रयान्डी पाउचको विश्वप्रसिद्ध किताब 'द लास्ट लेक्चर'को गुरुत्वले यसरी तान्यो मलाई, त्यो किताबलाई लगातार तीनपटक पढें मैले । प्रत्येक पटक उक्त किताब पढेर सक्दा लाग्थ्यो, यो किताबको अलिकति भाइब्रेसन मभित्र पनि प्रसारित हुँदै छ । 'आई ह्याभ एन इन्जिनियरिङ प्रोब्लम' भन्दै आफ्नो कलेजोमा भएको दसवटा ट्युमरको कारण जीवनको केही महिना मात्र बाँकी रहँदा एउटा प्राध्यापकले लेखेको यो किताबले जो कोहीलाई सिकाउँछ- मृत्युबोध पनि सकारात्मक बनिदिन्छ बाँच्न जान्नेहरूका लागि । मृत्युबोधको कालो सुरुङभित्र पनि कसैले चाह्यो भने जीवनकै श्रेष्ठतम् उज्यालोको बान्की कोर्न सक्छ- यही कुरा बताउँछ 'द लास्ट लेक्चर'ले । कहीं कतै जीवनमा विषादको बाडुली लगातार लागिरह्यो भने मैले पिउने पानी हो यो किताब, जो आजकल म आफ्नो सिरानी छेउमै राखेर सुत्ने गर्छु । बिहान ब्युँझदा मलाई यो किताबको भाइब्रेसनले यति चर्कोसँग छुन्छ, मलाई र्यान्डी पाउचको जीवनको सौन्दर्यशास्त्र कतै न कतै आफ्नै जीवनको सौन्दर्यशास्त्रजस्तो लाग्छ ।

जीवनको शास्त्र यथार्थ र आदर्शको तराजुशास्त्र पनि हो र यो तराजुशास्त्रले सन्तुलनको माग गर्दछ सधैं । आजकल यथार्थ र इमानदारीको नाममा लेखकहरू न्ाांगिँदै गएको आभास जो कोहीलाई पनि हुन्छ । लेखनमा होस् वा अन्य क्षेत्रमा, यथार्थ र इमानदारीको प्रकटीकरण त्यो स्तरसम्म उपयुक्त हुन्छ, जुन स्तरसम्म त्यो सुन्दर र सुपाच्य लाग्छ । कसलाई थाहा छैन र, एकान्तमा प्रेमीप्रेमिका प्रेमको कुन हदसम्म जान सक्छन् भनेर ! तर त्यो हदको सम्पूर्ण चित्रण खुल्लमखुला सडकसडकमा गर्दै हिँडिन थालियो भने के प्रेममा प्रेमको सौन्दर्य बाँकी रहन्छ र ?

अर्कोतिर आदर्शको नाममा जीवन बाँच्दाबाँच्दै जीवन कम र आदर्श बढी बाँच्नेहरूको संख्या पनि कम छैन हाम्रो समाजमा । आदर्श त समाजले निर्माण गरिदिएको एउटा पहिरन हो । सबैको ज्यानमा यो पहिरन उसरी र उत्तिकै रूपमा फिट हुन्छ भन्ने छैन । आदर्शको पहिरन पनि त्यति बेलासम्म मात्र उपयुक्त हुन्छ, जति बेलासम्म यो हाम्रो शरीर र मनका अवयवहरूसँग मेल खान्छ । म त देख्छु, कतिजना आदर्शको नाममा आफ्नो भावनाको पखेटा नै काटिरहेका छन् । कतै हामी पनि आदर्शको नाममा आफ्नै सपनाको मासु त ताछिरहेका छैनौं ? हाम्रो स्वतन्त्र चाहनाको जैविक अस्तित्वभन्दा समाजले निर्माण गर्ने आदर्शको अजैविक अस्तित्व महान् हुनै सक्दैन । कतै हामी महानता र उत्सर्गको नाममा आफ्नै चाहनाहरूलाई आर्यघाटमा पोलिरहेका त छैनौं ?

अहिलेसम्म मैले बाँचेको जीवनको शास्त्र यी र यस्ता थुप्रै प्रश्नहरूको एकमुष्ठ शास्त्र पनि हो । सत्य हो, मैले मेरो मनको शब्दकोशबाट 'सहनशीला सुशीला'लाई हटाएर 'प्रतिकार' शब्दलाई लेखेर हाइलाइट गरेकै हुँ । त्यही हाइलाइटको रंग छ, र त बाँच्नुको आभास छ ।

अर्थशास्त्रीहरू न्युम्यान र मोर्गेन्ट्रर्नले 'छनोटको सिद्धान्त' प्रतिपादन गर्दै गर्दा पुलिङ्गी र स्त्रीलिङ्गी चरहरूलाई कहाँ आँकलन गरेथे र ?... त्यसो त परिवारशास्त्र र अर्थशास्त्रका बीचमा तात्त्विक भिन्नता त हुन्छ नै । जे होस्, मेरो अगाडि छनोटको बाध्यकारी चट्याङले आजसम्म ङच्िच दाँत देखाउन आइपुगेको छैन ।

लोग्ने र लेखनमध्ये कसलाई रोज्ने ? सम्भवतः पारिवारिक विघटनको चर्को मूल्य चुकाएका बेञ्जु शर्मा, मोमिलादेखि मनीषा गौचनसम्मको जवाफ र व्यवस्थित पारिवारिक र लेखकीय जीवन बाँचिरहेका शारदा शर्मा, गीता त्रिपाठी र रजनी ढकाललगायतकाहरूको जवाफमा तारतम्यता नमिल्ला पक्कै । आफ्नो सम्पूर्ण 'अस्तित्व'लाई कुल्चिएर लोग्नेकै नाममा सहिद हुनबाट जोगिनैपर्छ आजका महिला लेखकहरूले । अर्कोतर आफ्नो जीवनसाथीको न्यूनतम भावना नै छेदन गरेर महत्त्वकांक्षाको बेलुनमा हावा भरिएझैं भरिएर उड्न र फुट्नबाट पनि जोगिनैपर्छ जो कोही । महिला हुँ । यसर्थ 'जेन्डर' नामक् यस्ता पातहरू मेरो अनभूतिको शास्त्रमा पनि कुनै न कुनै रूपमा हल्लिरहेकै हुन्छन् सधैं । कहीं कतै हरिया-हरिया पातहरू । कहीं कतै पहेंला-पहेंला पातहरू ।

चरम सिकिस्तताको अवस्थामा पनि मान्छेको मन बाहिरको निम्ति एउटै मात्र आईसीयू काफी हुन्छ,

जहाँ पैसा तिरेपछि हाम्रा निम्ति एक से एक चिकित्सकहरू तैनाथमा रहन्छन् । मनभित्रको आईसीयूको संरचना भने अलि फरक हुन्छ । त्यो मनको बिरामी पनि मान्छे आफैं हुन्छ र चिकित्सक पनि । आफूलाई निरोगी राख्ने वा रोगी ? त्यो मान्छे आफैंमा भर पर्ने कुरा हो ।

पछिल्लोपटक मण्डलामा चलिरहेको नाटक 'स्वप्नमहल'ले पनि एउटा यस्तै भत्किएको जिन्दगीको आरोहअवरोहलाई बडो रोचक ढंगले प्रस्तुत गरेको छ । नाटककी नायिका आफ्नो सपना, महत्त्वकांक्षा र यथार्थबीचको असन्तुलनमा जैले पनि पेन्डुलम जीवन बाँच्छे । आज धेरैले बाँचिरहेको जीवन पनि त्यही पेन्डुलम जीवन हो र चाहेको जीवनचाहिं पेन्डुलमबाट मुक्तिको जीवन ।

म अझै पनि जीवनको प्राथमिक तहकै विद्यार्थी हुँ । मेरो जीवनको सौन्दयशास्त्रमा जति हरफहरू लेखिएका छन्, त्योभन्दा बढी हरफहरू अझै लेखिनै बाँकी छन् । कतै ठक्कर नै पाठशाला । कतै चोट नै पाठशाला । कतै प्रेम नै पाठशाला । कतै संस्कार अनि कतै संगत नै पाठशाला । सिंगो समाज र यसको मनोवैज्ञानिक ऐना, आफैंमा अर्को पाठशाला । कतै आँधीहुरी र भूकम्प नै पाठशाला । मलाई सधैं लाग्छ, जीवनको सौन्दर्यशास्त्रमा निखारता भर्नका निम्ति पाइला-पाइलामा थुप्रै पाठशालाहरू तैनाथ छन् ।

प्रश्न बस् यति मात्र हो- जीवन असुन्दर छ भन्दै हिँड्ने कि जीवनलाई सुन्दर बनाउने कला सिक्दै जाने ?

प्रकाशित मिति : प्रकाशन मिति : शुक्रबार, 25 आश्वीन, 2070

लेखकका अन्य रचनाहरु