नामधारी दादाको प्रतिरोधमा

- आन्ना ढुङ्गेल

सवारीसाधन र पैदलयात्रीको नियमित रुपमा ओहोर दोहोर भैरहने अति नै व्यस्त चावहिल चोकमा प्रायः दिनहुँ जसो भीडभाड नै भइरहन्छ । फुटपाथमा पसल थापेर आफ्नो दैनिक गुजारा चलाइरहने विभिन्न व्यक्ति र तमाम सर्वसाधारणको खचाखच आज पनि कम छैन । यस्तो भीडभाडलाई छिचोल्दै आफ्नो हाातमा बोकेको मसिनो सेतो छडीले सडकको दायाँबायाँ छाम्दै बाटो पारि गयो । छडीको टाकटुक आवाजले उसललाई बाटो काट्न सहायता गरिरहेको थियो । आँखाको दृष्टि नभए पनि त्यही सेतो छडीको सहायताले ऊ सुस्त–सुस्त गतिमा आफ्नो गन्तव्यतिर अगाडि बढिरहेको थियो । आभास हुन्थ्यो– ऊ आफ्नो महत्वपूर्ण लक्ष्य प्राप्तिको लागि जीवनसँग प्रतिस्पर्धा गरिरहेको छ ।
माघ महिनाका कठ्याङ्ग्रिने जाडो, दिन त अलि ढल्किँदै गइसकेको थियो । तर पनि आकाशमा मडारिएकको कालो बादल र त्यसको परिक्रमा गर्दै वरिपरि छरिएको हुस्सु अझै पनि पन्छिसकेको थिएन । त्यसैले मौसम निकै ठण्डा र असहज प्रतीत हुन्थ्यो । बहुसंख्यक नरनारीहहरु जाडोले कठ्याङ्ग्रिएर नाकबाट तप–तप सिंगान चुहाउँदै तातो, न्यानो र उज्यालोको प्रतीक्षा सहित अगाडि बढिरहेका देखिन्थे ।
सडकका ती नौला यात्री आफ्नो गतिमा अगाडि बढिरहेका थिए । त्यत्तिकैमा पूर्व तिरको गोरेटोबाट ७ जना युवाहरुको जमात निस्कियो र सोही भिडभाडका बीच मिसिन पुग्यो । लाग्दथ्यो, उनीहरु कुनै नौलो उट्पट्याङका विषयमा चर्चा परिचर्चा गर्दै थिए ।
हिंड्दाहिंड्दै उनीहरु त्यही दृष्टिविहीन यात्रीका नजिक आइपुगे । उनीहरु आ–आफ्नै गफको सुरमा व्यस्त थिए । उनीहरुको ध्यान बाटोभन्दा अन्तै थियो । त्यतिकैमा एक युवक एक्कासी गएर तिनै दृष्टिविहीनको छडीमा अल्झिन पुगे र अगाडितिर हुत्तिंदै जमिनमा बजारिए । ती दृष्टिविहीन यात्री त्यो जमातबाट तर्किन नखोजेका पनि होइनन् तर पनि उसले आँखा नदेख्नु अनि ती युवककको निकै उत्ताउलो र बेशुरको हिंडाइको कारणले गर्दा ऊ तर्कन भ्याएन । ऊ पनि झण्डै–झण्डै त सडक बीचमै लडिसकेको थियो । तर उसल आफू सम्हालिन गरेको प्रयत्नले लड्नबाट जोगियो ।
हैन, तेरा तेरा त आँखा छैनन् कि क्या हो हँ ? बेफकुफ कहीको ? बाटोमा हिंड्ने मान्छेलाई लौरोले अल्झाएर
लडाउने ? ती लडेकी युवती उठेर लुगामा लागेको धुलो टकटक्याउँदै भनिन् । उसले केही बोल्न नभ्याउँदै अर्को युवकले त्यसैमाथि थपे– यो मुर्ख अन्धाको आँखा त छैन छैन, खुट्टा पनि भाँचिएको छ कि क्या हो ? ए अन्धा ! अब त हिंड्न पनि नसक्ने भइस् कि कसो ?
यस्तो कुरा सुनेर वरपरका अरु उरन्ठेउला युवायुवतीहरु आश्चर्यजनक हाँसो हाँसे ।
उनीहरुको उत्ताउलो हिंडाई, आफूप्रतिको तुच्छ वचन र व्यङ्ग्यपूर्ण हाँसोले उसको मुटुमा चस्स सीयो रोपिएझैं भयो । क्रोधले उसको अनुहार पुरै रातो भयो र प्रतिकार गर्दै भन्यो– तिमीहरु आफैं बाटो नहेरी हिंड्छौ अनि अर्कालाई दोष दिन्छौं ? म त यसै पनि दृष्टि गुमाएको मान्छे, तिमीहरु त आँखा देख्थ्यौ त ? हेरेर हिंड्न सकेनौं ?
अझ धेरै बोल्छस् ? धेरै बढी नबोल है अन्धा, नत्र फेरि भेट्लास झापड ? ती दृष्टिविहीन यात्रीको कुरा सकिन नपाउँदै त्यसै मध्येको अर्का युवकले हाँक दियो ।
के हो ? जहिले पनि यहाँ तिमीहरुको मात्र राज हुने हो ? तिमीहरुको अन्याय पनि सहनु पर्ने अनि उल्टो झापड पनि खानु पर्ने ? दृष्टि गुमाएका कारण यसै त अपाङ्ग भइयो, त्यसमा पनि तिमीहरुको बाटबाटै धम्कीपूर्ण व्यवहार सहनुपर्ने ? उसले यति मात्र के बोलेको थियो हान यसलाई, निकै बढी–बढी पो बोल्दो रहेछ हँ, भन्दै एकले अर्कोलाई उक्सायो ।
के हाम्रो देशको सुरक्षा व्यवस्था र मानव अधिकारलाई निमिट्यान्न पार्न खोजेको ? दृष्टिविहीनले बढो हिम्मतका साथ भन्यो – सुरक्षा व्यवस्था ? तेस्रो युवकले अपमानजनक शब्द उच्चारण गर्दै– ला ! यही हो तेरा लागि सुरक्षा व्यवस्था ? भन्दै टाउकोमा एक मुक्का दिएर त्यस दृष्टिविहीनको यात्रीको सेतो छडीलाई खोसेर अलि पर फ्याँकिदियो । उसको यस्तो अपमानजनक क्रियाकलापलाई बहादुरी सम्झी सबै युवकहरु ठूलो स्वरमा खित्का छोडी छोडी हाँसे । हाँस्ने क्रम निरन्तर थियो । फेरि त्यसै मध्येको अर्को एक युवकले अब हेर तेरो मानव अधिकार ? भन्दै उक्त छडीलाई पुन टिपेर उसले टिप्न नभ्याउने गरी अझै पर पुग्ने गरी फ्याँकी दियो । आफ्नो हिंड्ने साहारा छडी नहुँदा उसले आफूलाई सम्हाल्न सकेन र ढुनमुनिदै सडकमा पछारिन पुग्यो ।
उसलाई यस अवस्थामा देखेर ती तन्नेरीहरु खुब हाँसे । बल्ल खायो, खुब ठूला–ठूला कुरा गर्दोरहेछ भन्दै हाँसे । हाँस्दा–हाँस्दै एउटाले भन्यो दादा हौं, दादा । यस शहरको १ नम्बर दादा हौं हामी अब चिन्छस् तैले राम्रोसँग । ए अन्धा, के तैले हाम्लाई त्यत्ति कमजोर सम्झेको ? उसको कुराले हाँसो झन चर्कियो ।
यस्तो घट्ना क्षणभरमै भएको थियो । त्यतिबेलासम्म सडकको वरिपरि निकै दर्शकहरु झुम्मिसकेका थिए । तर जसलाई प¥यो उसैले भोग्यो भन्ने मानिसमा दबेको कुण्ठित मानसिकताले ती आफूलाई निकै बहादुर सम्झने दादाहरुको तत्काल प्रतिकार गर्न कसैले पनि सकेन ।
“स्वयम्भूका दुइटा आँखाले न्याय–अन्याय छुट्याई हेर्छ” भनेको होइन ? खोइ त ? कि स्वयम्भूले अग्लो डाँडाँमा बसेर यस्तै–यस्तै रमिता मात्र हेरिरहने हो ?
ती यात्री उठ्न सकिरहेका थिएनन् । वरिपरि सबै रमिता मात्र हेर्न आएका थिए । कोही कसैले पनि ती दादा भनाउनेहरुको विरोध गरेका थिएनन् । यतिकैमा सडकको पारिपट्टिबाट एकजना लगभग १३–१४ वर्षकी जस्ती देखिने स्कुले बालिका घर फर्किदै थिइन् । मानिसको निकै घुइँचो लागेको देखेर ती बालिका पनि त्यतैतिर लम्किन् ।
उनले देख्दा बहादुर दादाहरुको जमात निकै ठूलो स्वर निकालेर हाँस्दै थिए भने दृष्टिविहीन सडक यात्री चिसो भुइँमा लडिरहेको थियो । यो दृश्यले ती बालिकाको स्वर एक्कासी चर्कियो । ए दादा भनाउनेहरु हो ! तपाईहरु त साँच्चिकै बहादुर पो हुनुहुँदो रहेछ । एक असहाय व्यक्ति जसलाई तपाईहरु जस्तो जवानको साहाराको खाँचो छ उसैलाई आज यस्तो दुव्र्यवहार देखाएर अझ पनि हाँस्दै आफ्नो बहादुरी देखाए भन्नमा लाज लाग्दैन ? तपाईहरु आफूले आफैलाई के सम्झनु भएको छ ?
वरिपरि जम्मा भएका व्यक्तिहरु तर्फ इंगित गर्दै– अनि तपाईंहरु नि ! यस्तो बीच सडकमा कसैले यस्ता असहाय व्यक्तिलाई यसरी दुव्र्यवहार गर्छ भने तपाईहरुले थोरै भए पनि प्रतिकार गर्न सक्नु भएन ? एक निर्दोष व्यक्ति जो आज विनाकारण कुटाइ खाएर सडकमा पछारिएको छ, त्यसमा तपाईंहरुले पनि समर्थन जनाउनु भयो हैन ? के यी व्यक्तिले यसैगरी कुटाइ खाँदै हिंड्नु पर्ने हो ? उनीहरुले आफूलाई बहादुर भन्दै अपाङ्ग र साहाराविहीनहरुलाई गरेको दुव्र्यवहारले तपाईहरुको मनमा अलिकति पनि दया जागेन ? हो, यिनीहरुलाई समाजमा तपाईंहरुले नै स्थान दिनुभएको हो । तपाईहरुको यस्तै व्यवहारले उनीहरु झन् झन् मौलाउँदै आएका छन् । तपाईहरु मौन बस्नु भनेको उनीहरुको समर्थन जनाउनु सरह हो ।
हेर्नुस्, समाजमा यस्ता शारीरिक रुपमा कमजोर व्यक्तिहरुको दुःखको अन्त न कागजमा कोर्दैमा हुन्छ न त सभामा भाषण गर्दैमा । यसका लागि त तपाई, हामी र यस समाजका सबै व्यक्तित्वहरुले यस्ता कृयाकलापको सदैव विरोध गर्नैपर्छ ।
ती बालिकाले उसको छडी टिपेर दिइन् । विचरो दृष्टिविहीन यात्री सकी नसकी आफू तिनै बालिकाको सहायता लिएर विस्तारै उठ्न पुग्छ र भन्छ– हे ! शहरका बहादुर दादाहरु हो ! तपाईंहरुको यत्रो सात–सात जनाको समूह मिलेर म जस्तो दृष्टिविहनीन एक अपाङ्गलाई सडकमा यसरी पछार्न सफल हुनु भएकोमा म तपाईहरुलाई मुरी–मुरी धन्यावद दिन चाहन्छु । आज म आफैंले आफूलाई लाचार सम्झन्छु । जनआन्दोलनमा राज्य पक्षको गोली लागेर आफ्नो दृष्टि गुमाए पनि मैले आफूलाई तपाईंहरुले जस्तो बहादुर दादाको उपनाम दिन सकिनँ ।
सडकको किनारामा उभिएका ती दृष्टिविहीन यात्रीको यस्तो कुराले त्यहाँ वरिपरि जम्मा भएका दर्शकहरुको मुटु यतिखेर बल्ल चस्कियो र आङ जिरिङ्ग भयो । त्यति बेलासम्म ती शहरका एक नम्बरका बहादुर दादा भनाउनेहरु निकै पर पुगिसकेका थिए । ती स्कुले बालिकाले डो¥याएर उसको गन्तव्यसम्म पु¥याइदिन ठूलो मद्दत गरिन् ।

नयाँबानेश्वर, काठमाडौं

प्रकाशित मिति : प्रकाशन मिति : शनिवार, 19 आश्वीन, 2070

लेखकका अन्य रचनाहरु