प्रथम खगोलीय शिखर सम्मेलन

- भुवन त्रिपाठी

"मार्च १० को कार्यक्रमको तयारी पूरा भयो ?" पहिलो पटक संयोजक निकोलसले प्रत्यक्ष रूपमा भेटेर कार्यक्रमको बारेमा जानकारी मागेका थिए। सबै कुरा प्रविधिले प्रत्यक्षरूपमा जानकारी दिइसकेको भए पनि विशेष महत्त्वको कार्यक्रम भएकाले यसरी सोधेका थिए। यसको मर्म राम्रैसँग बुझेको थिएँ।
"हजुर बोस, सम्भव भएसम्मका सम्पूर्ण प्रविधिहरू जडान गर्ने कार्य सम्पन्न भयो।" भन्दै उनको सबैभन्दा नजिकको सहयोगीको नाताले उत्तर दिएँ। त्यसपछि संयोजक निकोलस सरासर आफ्नो कार्यकक्षतिर फर्किसकेका थिए।
विगत १३ वर्ष अगाडिदेखि प्रतीक्षा गरेको दस मार्च सन् २०६६ को दिन आउन अब जम्मा दुई दिनमात्र बाँकी छन्। हुन त खगोलीय शिखर सम्मेलनको तयारीका सबै काम सम्पन्न भइसके अब केवल विभिन्न ग्रहबाट यस ग्रहमा आउने अतिथिहरूको अन्तरिक्ष यात्रा मनिटरिङ्ग एवम् तयारी भइसकेका हरेक पक्षको यथोचित अपडेट गराउनु मात्र बाँकी छ। खगोलीय ब्रम्हाण्डका अन्य ग्रहमा रहेका यान्त्रिक मानव एवम् प्राकृतिक जीवहरूको परिकल्पना बाहिरका पक्षलाई समेटेर यस्तो खालको कार्यक्रम आयोजना गरिएकाले सहभागीहरूलाई यस सम्बन्धी जानकारी गराउनु र हाम्रो यो नवग्रह नवजाम्पलको प्रभुत्व सधैँका लागि कायम राख्नु अझ महत्त्वपूर्ण पक्ष हो।
यस अघि बृहस्पति ग्रहका संयोजनकर्ता यस्कनले आफ्नो ग्रहमा खगोलीय शिखर सम्मेलनको दावी गरेका थिए। उनको तर्क नाजायज थिएन किनकि उनको तर्क थियो "खगोलीय ब्रह्माण्डको सबैभन्दा ठूलो ग्रहका वासिन्दाको नेतृत्व गरेको छु।" सख्यात्मक रूपमा कमै जनसङ्ख्या भए पनि पहिलो शिखर सम्मेलनको अध्यक्षता ग्रहण गर्ने कस्को रहर हुँदैन र ? तर हाम्रो ग्रहका संयोजक निकोलसका अगाडि कस्को के लाग्थ्यो र ? खगोलका अन्य ग्रहका वासिन्दाले सयौँ वर्ष अगाडि देखिबाट विभिन्न ग्रह-उपग्रहको खोजी गरे, तर हाम्रो ग्रहलाई उनीहरूले जस्तो सुकै वैज्ञानिक र प्राविधिक खोज गरे पनि कुनै हालतमा पत्ता लगाउन सकेका थिएनन्। हाम्रो ग्रहको प्रभावित क्षेत्रमा अदृष्य -याडरिङ्ग पद्दति (अरु कसैले थाहा पाउन नसक्ने खालको यन्त्र) द्वारा सेन्सर लागाइएको थियो, तर हाम्रो ग्रहमा बसोबास गर्ने जुनसुकै ह्युमन सेन्सले पनि सेन्सर फ्याल्स वोर्ड (अन्य ग्रहका सबैक्रियाकलाप हेर्न सकिने यन्त्र) सहज रूपमा निर्माण गरी खगोलीय सबै ग्रहका जीव एवम् तारापुञ्जको प्रकाश प्रक्रियालाई आफ्नो जीवनमा उपयोग गर्ने अवसर प्राप्त थियो।
खगोलीय मण्डलको शक्तिशाली ग्रह भएको दावी गर्ने पृथ्वीले खगोलीय मण्डलका अन्य ग्रहमा जीवको अस्तित्त्व छैन हामीमात्र यो विश्व व्रमाह्णका सबैभन्दा बैद्धिक जीव हौ भन्दै प्रत्येक नयाँ पुस्तालाई नौवटा ग्रहहरू मात्र छन भन्दै घोकाइ रह्यो। जब-जब प्रत्येक वर्ष पृथ्वीमा चमत्कार गर्न सक्ने क्षमता भएका एक-दुई अतिरिक्त दिमाग भएका मानिस जन्मन्थे तब-तब यस ग्रहमा रहस्यमय तरिकाले ल्याइ पुर्याइन्थ्यो। प्रत्येक वर्ष आफ्नो ग्रहबाट शक्तिशाली दिमागी मान्छे हराउन थालेको सुइको विस्तार-विस्तार पृथ्वीमा पनि चर्चाको विषय बन्न थालेको थियो। आज यो कुरा सम्झिरहदाँ मलाई आफ्नो विगतप्रति सम्झना आउन थाल्छ। ४५ वर्ष पहिला पृथ्वीको नेपाल भन्ने कुनामा खेल्दै गर्दा एकरात देखेको सपनालाई वास्तविकताको कलेवरले ढाकेर 'आगामी विश्वको परिकल्पना' शीर्षकको लेख मेरो व्यक्तिगत वालमा पोष्ट गरेँ। विस्तार-विस्तार विश्वका विभिन्न प्रसिद्ध अनलाइन सञ्जालमा त्यो लेख प्रकाशित हुन थाल्यो। त्यही लेखको भरमा तत्कालीन विश्वको शक्तिशाली राष्ट्र मानिने अमेरिकाका राजदूतको सक्रियतामा मलाई अमेरिकासम्म पुर्याइएको थियो। जब त्यहाँ पुगेपछि उपलब्ध प्रविधि र सम्भावित यान्त्रिक विकासमा काल्पनाशील क्षमताको प्रकट भएजस्तो लाग्यो। अदृष्य सेन्स मार्फत यो खगोलीय व्रह्माण्डका अन्य ग्रहमा त पृथ्वीमा भन्दा शक्तिशाली एवम् बौद्धिक जीव हुन सक्ने कुरालाई आफ्नो तर्कको रूपमा प्रकट गरे। धेरै जसो मानिसहरूले तर्कहीन कुरा भन्दै पागलसम्म भन्नपछि परेनन्। अरु त अरु त्यस टिमका अन्य सदस्यहरूले समेत विश्वास गरेनन्। तर मेरा तर्कमा सत्यताको नजिक भएको जिकिर गरिरहन्थेँ। यो कुरालाई प्रमाणित गर्नतर्फ आफ्नो अध्ययन अगाडि बढाइ रहे। केही तथ्यहरू प्राप्त गर्ने उद्देश्यले रातको १२ बजेसम्म अन्तरिक्ष यात्राको चाजो-पाजो मिलाउने क्रममा थिएँ। हाम्रो टिमका साथीहरू पनि दिलोज्यान दिएर लागि परेका थिए। अकस्मात प्रयोगशाला कक्षमा केही अदृश्य जीवले झम्टे जस्तो भयो, केही बोल्ने प्रयास गरे पनि बोली बाहिर प्रकट हुन सकेन। आँखाहरू बन्द भए केही देख्न सकिएन केवल मन्द गतिको यान्त्रिक आवाजमात्र सुने जस्तो महसुस भयो। तर वास्तविकता हो कि भ्रम हो केही बुझ्न सकिन। कतिबेरसम्म यस्तो अवस्था रह्यो त्यो पनि एकिन हुन सकेन्। एकैचोटि आँखा खोल्दा कहिल्यै नदेखिएका र परिकल्पना नगरिएका मानव आकृतिका स्वरूपहरूले चारैतिर घेरिरहेको अवस्थामा आफूलाई पाएँ। स्वर्णशिल्प युक्त अत्यन्त आकर्षकजस्ता देखिने अनुहारहरू भए पनि म हडबडाएर बोल्न थाले "तिमीहरू को हौँ ? मलाई कहाँ ल्यायौँ ?" आदि-आदि प्रश्नहरूको प्रहार गरेँ।
कुनै विश्व प्रसिद्ध कलाकारलेसमेत क्यानभाषमा उतार्न नसकिने जस्तो मुहार भएकी एक सुन्दर मानव आकृतिले मुख खोली "ए केही अगिसम्मका पृथ्वी बासी 'कल्लु' अहिले तिमीले परिकल्पना गर्न प्रयास गरेको तर पूर्णता प्राप्त गर्न नसकेको दसौँ ग्रह 'नवजाम्पल' मा छौँ। अब तिम्रो कार्यक्षेत्र यही हो आज देखिबाट तिमी पनि हाम्रो टिमको सदस्य भयौ" यस कुराले मलाई रिस उठेर आयो आफ्ना तर्कद्वारा उनीहरूको कार्यलाई असहमति जनाएँ। जब हामी रहेको स्थान नजिकको ठूलो स्क्रिनमा मेरो मनले सोचिरहेका मात्र कुराहरू एकपछि अर्को गर्दै डकुमेन्ट्रिको रूपमा देखा पर्न थाले। त्यसपछि उनीहरूको विपक्षमा सोच्न पनि सकिन र विस्तार-विस्तारै पृथ्वीमा रहदाँ परिकल्पनासम्म गर्न नभ्याएका र परिकल्पनामात्र गरेका कार्यलाई वास्तविकतामा प्रयोग गर्न पाएको थिएँ। खगोलीय विभिन्न ग्रहमा जन्मेका अतिरिक्त दिमागी मान्छेहरूले यथोचित दिमागको स्वतन्त्ररूपमा यस ग्रहमा परिचालन गरेको देख्न पाउँदा विगतका पललाई सोच्नेसम्म फूर्सद हुन छाडेको थियो। केवल भविष्यका सम्भावना र चुनौती माझ आफूलाई दौडाउन लालायित थियौ। खगोलीय शिखर सम्मेलन तयारी गरिदै गरेको विशेष प्रयोगशालामा रहदाँको केही खाली समयमा यति धेरै पुराना कुरा सोचिएछ। जब दक्षिण-पूर्वी अन्तरिक्ष मनिटरिङ्ग सेन्सर डिभाइस (सेन्समार्फत रिपोर्टिङ गर्ने यन्त्र) ले भी.आई.पी. पर्सनको आगमनको सङ्केत गरेको थियो, तब एक्कासि सामान्य अवस्थामा पुगेको थिएँ।
कार्यक्रममा सहभागिता जनाउँनको लागि पृथ्वी ग्रहका संयोजक 'एब्स्ट्रयाक जोन' अन्तरिक्षको बाटो हुँदै सर्वप्रथम यतातर्फ प्रवेश गरेको सङ्केत मिल्यो। त्यसपछि क्रमश: मङ्गल, शुक्र, वृहस्पति, शनी, बुध, यम, अरुण र बरुण ग्रहका संयोजकहरू आफ्नो शक्तिशाली टिमलाई लिएर १० मार्चको पूर्व सन्ध्यामा नै प्रवेश गरिसकेका थिए। नवजम्पलका संयोजकले अतिथिहरूको स्वागतको निम्ति कुनै कसर बाँकी राखेनन्। यो आतिथ्य देखेर सबैजना सहभागी नतमस्तक देखिन्थ्ये। उनीहरू रहने सबैस्थानमा 'माइन्ड सेन्स डिभाइस' (कुनै पनि जीवले के सोचेको छ भन्ने कुराको जानकारी दिने यन्त्र) जडान गरिएको हुँनाले कुन अतिथिले के सोचिरहेको छ भन्ने कुरा प्रयोगशाला कक्षबाट सहज रूपमा मनिटरिङ्ग गरिरहेका थियौ। अन्य ग्रहका संयोजकहरू यस ग्रहको प्राविधिक, वैज्ञानिक, यान्त्रिक र अदृश्य चरम विकास कसरी गरे होलान भन्ने कुरा सोच्नमा नै व्यस्त देखिन्थे भने पृथ्वी ग्रहका संयोजक एब्स्ट्रायक जोन भने दैवीकालीन परिकल्पनामा डुवेको देखियो। उनको सोचाइ थियो पृथ्वीमा रहदाँ परिकल्पना गरेको स्वर्ग त यही पो रहेछ। यस ग्रहलाई पनि आफ्नो अधीनमा पारी यहाँको प्रमुख बन्न पाए आफू जन्मेको सर्थक हुन्थ्योँ। साथै यहाँ कसरी आक्रमण गरेर आफ्नो प्रभाव स्थापित गर्ने सकिन्छ भन्ने क्षीण कुरा सोच्नसमेत भ्याएको जानकारी हाम्रो 'माइन्ड सेन्स डिभाइस' को स्क्रिनमा डिसप्लेय भइसकेको थियो।
१० मार्चको विहानी सबै ग्रहका संयोजकहरू आ-आफ्नोतर्फबाट खगोलीय शिखर सम्मेलनमा प्रस्तुत गरिने प्रस्ताव एवम् कार्य ढाँचाको साथमा उद्घाटन समारोहमा दिमागी एवम् भौतिक रूपमा उपस्थिति भइसकेका छन्। सबै ग्रहका संयोजकहरूको समग्र धारणा थियो कि 'खगोलीय ब्रम्हाण्डभित्रका सबै ग्रहहरू बीच सुमधुर सम्बन्ध स्थापित गर्नुपर्ने, त्यसको निम्ति अन्तर ग्रह द्रुततर एन सेवा सञ्चालन गर्नुपर्ने सर्तहरू पेस गरेका थिए। बृहस्पति ग्रहका संयोजक यस्कनको अर्को आग्रह थियो "नवजाम्पलमा प्रयोग गरिएको अदृश्य सहसम्बन्धको निम्ति यस ग्रहको प्रगति र वास्तविकताको अध्ययन गर्न असक्षम भयौ र आजसम्म हामी अनविज्ञ भइरहनु पर्यो। यसको उदाहरण आज हामी यहाँ उपस्थित हुदाँ ज्यादैपछि परेको महसुस भयो।" भन्दै आफ्नो निरीहता प्रकट गरेँ।
यसैक्रममा पृथ्वी ग्रहका संयोजकको आफ्नो धारणा अभिव्यक्ति राख्ने पालो आयो तब उनको आफ्नो आग्रह राख्न थाले "नवजाम्पल ग्रहले विकास गरेको 'ह्युमन सेन्सर फ्याल्स बोर्ड' (आफूले गरेका कार्यहरू अरुले नदेख्ने तर अरुका सबै कार्य हेर्न सकिने यन्त्र) पद्धति सबैमाझ सर्वजनिक गरी खगोलीय ग्रहहरूमा प्रयोग गर्न पाएमा उपयुक्त हुन्थ्यो। यदि यो पद्धति सबै ग्रहका सर्वसाधारणहरूले प्रयोग गर्न पाए भने सहज र सरल तरिकाले समग्र खगोलीय क्रियाकलापलाई अवलोकन र अध्ययन गरी आफ्नो जीवनमा प्रयोग गर्न सक्दथ्ये जसले गर्दा सबैको व्यक्तिगत वृत्ति विकास एवम् अन्तरग्रह सम्बन्ध स्थापित गर्न सहज हुन्थ्यो"
सबै ग्रहका प्रतिनिधिहरू हाम्रो ग्रहको विकास र विस्तारका पक्षलाई आफ्नो हितको निम्ति प्रयोग गर्नमात्र लालायित भएको कुरा सहज र स्वभाविक रूपमा संयोजक निकोलसले मनन गरिरहेका थिए। उनी आफ्नो ग्रहका सामान्य विकास र अदृश्य पद्धतिको बारेमा मात्र थाहा पाउदाँसमेत यत्रो सन्त्रस्त हुने अन्य ग्रहका प्रतिनिधिको मानसिकताको आकलन गरी अब आफूले नै सम्पूर्ण ग्रहको नेतृत्व गर्न सक्ने कुरामा मख्ख देखिन्छन्। हाल-सालै विकास गरिएको 'माइन्ड सेन्स डिभाइस' जस्को माध्यमबाट मानिसका अन्तर मनका कुरा जानकारी प्राप्त गर्न सकिन्थ्यो भने 'आवर भिजन एसेप्टयबल डिभाइस' मार्फत आफ्नो विचार अन्य ग्रहबासीले सहस्र स्वीकार गरी हाम्रो अधीनमा आउन सक्ने सम्भावनालाई विकास गरिएको थियो। तर यसको पूर्ण प्रयोग भने गरिएको थिएन। यो प्रथम शिखर सम्मेलनमा प्रयोग गर्ने लक्ष्यका साथ अगाडि बढिएको थियो।
प्रथम खगोलीय शिखर सम्मेलनलाई सम्वोधन गर्ने पालो जब संयोजक निकोलसको आयो मतर्फ सङ्केत गर्दै 'आवर भिजन एसेप्टयबल डिभाइस' सञ्चालन गर्ने अनुमति दिए, तब यन्त्रले सहीरूपमा आफ्नो कार्य गर्न सुरु गर्यो। संयोजक निकोलस आफ्नो प्रभावकारी अभिव्यक्ति दिदै "हामी सबै ग्रहको समान विकास र प्रगतिको कामनामात्र होइन प्रयोगात्मक रूपमा कार्य गर्न पनि लालायित छौँ। यदि सबै ग्रहका संयोजकहरू हाम्रो मतहतमा रहेर कार्य गर्न मन्जुर हुनु हुन्छ भने 'नवजाम्पलले' विकास गरेको वैज्ञानिक प्रविधि, अनुसन्धान, विकास र अदृश्य पद्धति सबै ग्रहमा समानरूपमा हस्तान्तरण गर्नपछि पर्ने छैनौ, यस विषयमा यहाँहरूको सोचाइ के छ ?" भन्ने प्रश्नात्मक अभिव्यक्ति प्रकट गरेपछि सबै ग्रहका प्रतिनिधिहरू बीच एक-आपसमा खास-खुस र चिन्तनहरू एक-अर्कामा अभिव्यक्ति हुन थाले। अन्ततोगत्व 'आवर भिजन एसेप्टयबल डिभाइस'ले पूर्ण रूपमा कार्य गरेछ क्यारे सबै ग्रहका प्रतिनिधिहरू एकसाथ निकोलसको नेतृत्व स्वीकार गरी उनको मातहतमा रहेर कार्य गर्न मन्जुर भएको देखियो। प्रथम खगोलीय शिखर सम्मेलन सकिएको एक हप्ता पुगि सक्दसमेत त्यत्रो ठाटबाट र लक्ष्य लिएर नवजाम्पलमा आएका प्रतिनिधि कोही पनि अहिलेसम्म आफ्नो ग्रहमा फर्किन चाँहेको पाइएन्।
यता प्रत्येक ग्रहका संयोजकहरू नवजाम्पल र निकोलसको प्रगति र प्रभावमा भुलीरहँदा खगोलीय विभिन्न ग्रहमा बसोबास गर्ने जैवीक एवम् यान्त्रिक मानवहरू बीच आफ्ना नेताहरूको बारेमा चर्चा सुरु भइसकेको थियो। उनीहरू भन्दै थिए "हाम्रो ग्रहका संयोजकलाई त अदृश्य ग्रहको शक्तिशाली निकोलसले अपहरण गरिसक्यो अरे" अर्को हेर्दै मरनच्यासै दुब्लो अनुहार भएको खगोलीय वैज्ञानिक नामधारी व्यक्ति आफूले ठूलै कुरा पत्ता लगाएझैँ गरी पृथ्वी ग्रहमा बस्ने मानिसहरूलाई भन्दै थियो "हाम्रो ग्रहका संयोजक अदृश्य ग्रहका प्रतिनिधिको रूपमा काम गर्दै छन् भने हामी पनि अदृश्य ग्रहको शासकद्वारा शासित निरीह दास भई सक्यौ।" त्यो मरनच्याँसेको कुरालाई दीर्घकालीन स्वरूप दिन हाम्रो ग्रहका संयोजक अझ बढी दिमागी खेल खेल्न सोचमा छन्।

कास्की, पोखरा

प्रकाशित मिति : प्रकाशन मिति : शनिवार, 19 आश्वीन, 2070

लेखकका अन्य रचनाहरु