गणतन्त्रपछिको प्रेम

- कृष्ण बजगाईं

पाठकवृन्द ! यो कुनै राजनैतिक लेख होइन। त्यसो भए तपाईंको अनुमान हुन सक्छ ‘गणतन्त्र जिन्दावाद’ भन्ने नारा लगाउने युवायुवतीको प्रेम कथा हो। अथवा ठान्नु भयो होला गणतन्त्रपछिको व्यवस्था मन पराउनेहरूको कथा। ती कुनै पनि होइनन् ।

यस कथामा नायक र नायिकाको भेट ठ्याक्कै आठ वर्षपछि भएको छ। यसअघि उनीहरूको देखादेखमात्र भएको थियो। यो पुनर्मिलन पनि होइन।
नायिकाले प्रस्टै चिनी नायकलाई। तर नायक अल्मलियो। हो वा होइनको दोसाँधमा रह्यो। नायकलाई लन्डनको इन्डियन रेस्टुराँमा देख्‍नु पर्ला भनेर नायिकाले सोँचेकी पनि थिइन।

रेस्टुराँको सबै कामदार नेपाली। मालिक नेपाली। नेपालीले चलाएको रेस्टुराँको नाम चाहीँ किन इन्डियन राखेको होला? जिज्ञासा हुन सक्छ पाठकवृन्दलाई। त्यही त हो नि ब्यापार भनेको। ब्रान्ड बेच्ने हो नि ! सामान बेच्ने हो र बजारमा?

‘म आएको दुई महिना भइसक्यो। खान बस्न गाह्रो भयो। जे जस्तो हुन्छ, जति पैसा दिनु हुन्छ। काम पाउँ हजुर।’ नायकको यस्तो याचना सुन्दा ‘खुच्चिङ पर्‍यो’ भनेर आनन्द लिई नायिकाले। पुरानो हिसाबकिताब चुक्ता गर्ने सुनौलो अवसर आयो, बदला लिउँ जस्तो लाग्यो नलागेको हैन। एक मनले भन्यो मालिकलाई भनेर नराख्नु भन्दिउँ। तर उसको नारी मन पग्लियो। विदेशी भूमिमा एउटा नेपालीले दु:ख पाएको सुन्न सकिन। आ.. होस् भनेर चुप लागी।

नायिकाको पारिवारिक आर्थिक पृष्ठभूमिले जेट विमान चढेर बेलायतसम्म आउने हैसियत राख्दैनथ्यो। पैसाको कारण बाबु गुमाएकी गरिब परिवारकी छोरी।
लामो समयदेखि चन्दा मागिरहेका थिए। कैयौं पटक धम्की आएको थियो। उनीहरूले मागेको चन्दा रकम एकपटक हो र हरेक महिना तिर्नुपर्ने। यही भएर उसको बुबाले पैसा दिन अस्वीकार गरेका थिए। औंसीको मध्यरात १०, १२ जनाको हूल आए घरमा। चन्दा रकमको कुरा गरे।

‘म प्राथमिक स्कुलको सामान्य शिक्षक। मेरो पाँचजनाको परिवार छ। मेरो तलब सबै तिमीहरूलाई दिन्छु। मेरो घर खर्च चलाउनु। बचेको पैसा तिमीहरूलाई नै भयो।’ बुबाको यस्तो जवाफले उनीहरू उग्र क्रान्तिकारी बने।

‘तेरो घर चलाउने ठेक्का हामीले लिएको छौं’ भन्दै बुबालाई घिसार्दै बाहिर निकाले। त्यो घिसार्नेको हूलमा कालो कोठी भएको त्यो नायकलाई प्रस्ट चिनी। नायकलाई धेरै पटक उसको स्कुलमा देखेकी थिई। स्कुलमा काली कोठे नामले चिनिएको थियो। ऊ आए पिच्छे स्कुलका ठूला कक्षाका केही विद्यार्थी हराउँदथे। कोही भन्दथे विद्यार्थीलाई पछि लगाएर लग्यो। कोही भन्दथे विद्यार्थी नै उसका पछि लागेर भागे। तर ऊ चाहिँ डराउँदथी अपहरणमा परिने हो कि भनेर।

बुबालाई बेपत्ता पारेपछि सदरमुकाममा आमाले उजुरी नगरेको भए सायद उनीहरू उतै हुन्थे होलान्। त्यो उजुरीले गाउँबाट उठीबास लगायो। काठमाडौंमा दु:खले जीविका चलाइरहेका मामाले दु:ख माथि थप दु:ख व्यहोर्दै सबैलाई उतै बोलाए।

आएको दुई वर्षपछि काठमाडौंबाटै एसएलसी पास गरी। ‘प्लस टु’ जाने सुरसार हुँदै थियो। टुरिस्ट गाइड उसको मामाले कैयौं गोरागोरीलाई दिदीको परिवारले पाएको दु:खको कथा सुनाइरहेका थिए। बरोबर नेपाल आइरहने एक दयावान् गोराले नायिकालाई लन्डन पुर्‍याउने सम्पूर्ण जिम्मा लियो। नायिका लन्डन पुगी।
नायिकालाई लिएर वचनका पक्का ती गोरा लन्डनको ग्रिनफोर्ड रोडमा अवस्थित रेस्टुराँमा छिरे।

‘तपाईंको रेस्टुराँमा मेरो लागि कुनै जागिर होला।’ नियमित ग्राहकको यस्तो कुरालाई रेस्टुराँ मालिकले ठट्टा सम्झिएर हाँसोमा उडाए।

‘म सिरियस्ली कुरा गर्दैछु।’ उसको कुरा सुनेपछि रेस्टुराँ मालिक अलिक गम्भीर भए।

उनलाई अनुमान गर्न गाह्रो भएन सँगै आएकी युवतीका लागि जागिर मागिएको हो भनेर। उसो त ऊ हरेक सप्ताहन्तमा आउने गर्दछ। यसपटक मात्र हो युवतीलाई लिएर बीचमा आएको। ऊ एक्लै आउँदैन, कम्तीमा पनि १०, १२ जनाको समूहमा आउँछ। आएपछि सबैभन्दा धेरै खर्च गरेर जान्छ। उसको समूहले एकपटक गर्ने खर्चले युवतीको पूरै महिनाको तलब पुग्छ।

नायिका अब कलेजको विद्यार्थीमात्र होइन रेस्टुराँमा वेटरको जागिरे पनि भई। खर्च जोगाएर पैसा नेपाल पठाउन थाली। नायिका खुसी छे।

पाठकवृन्द ! उता नायकको विदेश पलायनको कथा पनि कम दर्दनाक छैन। एसएलसी पास गरे पनि पढाइलाई बीचैमा रोकेर क्रान्तिमा होमिएका थिए। क्रान्ति र जनमुक्तिका लागि बुर्जुवा शिक्षाको काम छैन। जनवादी शिक्षाले सबै ठाउँमा काम चल्नेछ भनेर घोकेका थिए। सोही कारण स्कुल, गाविस भवन जलाउँदै हिँडे। झोलुंगे पुल, विद्युत्गृह र पानीको कुलो भत्काउँदै हिँडे। नायकको यस्तो गतिविधिले तीव्रता लिँदै थियो देशमा गणतन्त्र आइहाल्यो। बाँकी भौतिक संरचना उनको हातबाट नष्ट हुनबाट जोगिए।

जे खोजेका थिए त्यो नै अभिशापजस्तै भयो। गणतन्त्रले त उनको सर्वस्वहरण गरेजस्तै देखियो। उनीसँग कोही पनि डराउन छाडे। चन्दा उठ्न छाड्यो। नायकको पनि घर परिवार थियो। रोजीरोटी चलाउन गाह्रो भयो। पार्टीमा गएर जिम्मेवारी र काम मागे। पार्टीले उनीजस्ता कतिलाई ›यवस्था गर्न सक्थ्यो र? पार्टीका जिम्मेवार नेताहरूले हेरौंला, उपयुक्त जिम्मवारी दिउँला, काम खोजौंला भन्थे। अलिकपछि त उनीभन्दा तेज र चलाख झुन्डले पार्टीलाई घेर्न थाल्यो। हेर्दाहेर्दै उनी त्यो घेराभन्दा बाहिरै भए।

जीविकाका लागि अनेकौं काम सुरु गरे। उनीसँग न त राम्रो शैक्षिक योग्यता थियो न त पुँजी नै। त्यसैले बिना पुँजीको काम सुरु गरे। पत्रकारितादेखि जग्गा दलालसम्म। टुरिष्ट गाइडदेखि मेनपावर एजेन्टसम्म। हरेक ठाउँमा उनलाई असफलता हात लाग्यो। खुला वातावरणमा न त उनको बलिष्ठ पाखुरा काम लाग्यो न त चर्को क्रान्तिकारी भाषण। जताततै आफू ठगिएको, आफ्नो शोषण भएको देखे। एकदिन एउटा दाउ लाग्यो। भनौं भाग्य खुल्यो। र लन्डन आइपुग्न सफल भए।

लन्डन आएपछि उनको दु:खको दिन सुरु भयो। कामको लागि लन्डनको बाह्र चक्कर मारे। नेपालमा नभेटिएका नेपालीहरू लन्डनमा भेटिए। प्रहरी र सेनाका भगौडादेखि पार्टीका चलाख नेता, कार्यकर्ता र सरकारी कर्मचारीसम्मलाई जमेर बसेको देखे। उनीहरूको घर, फ्लाट, गाडी आदि देख्दा बेकारमा आफू क्रान्तिमा अल्मिलिएकोमा पछुताउ माने।

काम पाउन धेरैलाई गुहारे। पार्टी, जात, थर, नाता, गोत्र, क्षेत्र आदिको च्यानल लगाए। अहँ काम पाएनन्। काम खोज्दाखोज्दै गोजी नै रित्तिसकेको थियो। थाकेर चूर भएको एक साँझ ट्रेनमा भेटिएका एकजना नेपालीको सहयोगमा उक्त रेस्टुराँमा कामको मेसो मिलेको थियो।

रेस्टुराँमा काम पाएको पहिलो दिन मेहनतले काम गरे। बेस्सरी थाकेर आधा रातमा कोठामा पुगेपछि कम्प्युटर खोले। निक्कै लामो समयपछि फेसबुकमा एउटा ‘स्टाटस’ लेखे- ‘विदेशी दलाल नेपाली नेताको चाकरी गर्नुभन्दा विदेशमा भाँडा मोल्नुमा मलाई गर्व छ। म श्रमको सम्मान गर्दछु।’

उनको फेसबुकको ‘स्टाटस’ पढेपछि लन्डन पुगेका कुरा धेरैले थाहा पाए। पार्टीका केही कार्यकर्ताहरू एउटा अप्ट्यारो र अडबाङ्गे मान्छे पन्छियो भनेर खुसी भए। लन्डन पुगेर पैसा कमाउने भयो भनेर उनलाई चिन्नेहरू भित्रभित्रै जल्न थाले। रातभरी आफ्नो स्टाटसमा आएको प्रतिक्रिया हेर्दै बिताए। बिहानै अनिँदो आँखा लिएर फेरि काममा निस्किए।

नायकलाई काममा खुब जोताइएको छ। नयाँ कामदार आएपछि पुरानाले त्यसै गर्दछन्। आफ्नो भागको काम पनि नयाँलाई थपिदिन्छन्। मन नपर्दा उसका विरुद्धमा मालिकलाई चुक्ली पनि लगाउँछन्। यो रेस्टुराँभित्र काम गर्नेहरूको प्रवृत्ति हो।

गधाको जस्तै भारी बोकेका छन् कामको। गोरुले जस्तो जोतिरहेको छ कामले नायकलाई। र घोडाजस्तै दौडिरहेका छन् काम लिएर। कामबाहेक केही देखेका छैनन् उनले। रेस्टुराँका कामदारहरूको ब्यवहार हेर्दा उनलाई लागिरहेको छ यीभन्दा बढी सामन्ती अरूको होलान्? दुईजना कामदारको काम एक्लैले गरेपछि पाएको ज्याला हेर्दा लाग्दछ यो मालिकभन्दा ठूला शोषक को होला? लागेर के गर्नु? बाध्यताको फाइदा अरूले उठाइरहेका छन्। यी सब सहनु छ। अर्को विकल्प छैन।

उता नायकले कसरी काम गर्दैछ भनेर नायिका चियो गर्दैछे। रेस्टुराँ भित्र उसलाई दलाएको देखेर नायिकालाई खुब मज्जा आइरहेको छ। नायकको अगाडि चारपाँच किलो प्याजदेखि नायिकाले। दुईचारवटा प्याज काट्दा नकाट्दै नायकको आँखाबाट तरतरी आँसुका धारा चुहिए। आँसु पुछ्दै प्याज काट्दैछन् नायक। नायिकाले मनमनै भनी- ‘क्रान्ति गर्दा कतिका टाउका काटे। कतिका हातगोडा काटे होलान्। ऊ बेला नआएको आँसु अहिले आउँदैछ। मान्छे काट्नुभन्दा प्याज काट्नु कति गाह्रो रहेछ, देख्यौ क्रान्ति नायक !’

केही समयपछि नायिकाले किचेनमा हेर्दा नायक बडेमानको भाँडा घोटीघोटी धोइरहेका थिए। डढेको भाँडा पटक्कै सफा भइरहेको थिएन। उनी पसिनाले निथ्रुक्कै भएका थिए। ‘देख्यौ ! नेताको पाउ मोल्नुभन्दा भाँडा मोल्नु कति गाह्रो रहेछ त कमरेड?’ नायिका मनमनै प्रश्न गर्दछे।

चल्तीको रेस्टुराँ। ग्राहकको भीडबाट कामको चाप अनुमान गर्न सकिन्छ। बाहिर भर्खरै डेलिभरी दिने गाडीले किचेनको सामान छाडेर गयो। ठूल्ठूला बोरा र गह्रौं सामानका बक्सा नायकले सकिनसकी उठाएर भित्र लाँदै थिए। नायिका सो दृश्य हेरिरहेकी थिई। मनमनै प्रश्न गरी- ‘एउटा बोरा उठाउन त्यति गाह्रो छ, पाँचजनाको परिवारको बोझ उठाउन कति गाह्रो रहेछ। थाहा पायौं मुक्तिदाता?’

यसैबीच एउटा ठूलो बोरा काँधमा हाल्दा सन्तुलन बिग्रेर नायक भुइँमा पछारिए। नायिका जोडले हाँसी। नायकले आफ्नो अपमान भएको ठान्यो। र उसको मुहारमा क्रान्तिकारी परिवर्तन आयो। नायिका डराई। वातावरणलाई सहज बनाउन हत्तपत्त प्रेमपूर्वक मुसुक्क हाँसी। ऊ मुस्कुराएको देखेर नायक पनि मुस्कुरायो।
काम सुरु गरेको तेस्रो दिन मै थाकेर गलित, युद्ध हारेर शिर ढलेको सिपाहीजस्तो नायकको हुलिया हेर्न लायकको थियो। नायकले पाएको दु:ख, हन्डर देखेर ऊ प्रतिको रिस, बदला र घृणा विस्तारै कम हुँदै गयो नायिकामा।

बाबुलाई अपहरण गरेका दिनदेखि नायक र उसका पार्टीका सबैलाई खुब घृणा गर्दथी। एकदिन अवश्य बदला लिन्छु भन्थी। तर गणतन्त्र आएपछि कल्पना गर्नै नसकिने सम्बन्ध विकास भएको देखी। टाउकोको मूल्य तोक्ने र बहुमूल्य टाउकाहरू एउटै पार्टीमा काम गरेको देखी। महँगा होटेलमा सहभोज खाएको टीभीमा देखी। विध्वंसकारीहरू प्रजातन्त्रको रक्षा र देश पुनर्निर्माणमा लागेको कुरा पत्रिकाहरूमा पढी।

अनि नायिकाले समय पढी। समयको धार भन्दा उल्टो चल्नु हुँदैन भन्ने निष्कर्ष निकाली। आज पहिलोपटक उसले सबैलाई माफ गरिदिई। र नायकसँग प्रेमपूर्वक बोली। गणतन्त्रपछिको पहिलो प्रेम थियो उसको।

लन्डन, बेलायत

प्रकाशित मिति : प्रकाशन मिति : शनिवार, 5 आश्वीन, 2070

लेखकका अन्य रचनाहरु