मृत व्यक्तिका अमृत प्रसङ्ग

- गङ्गाराम गड्तौला

साहित्यकार हरि मञ्जुश्रीद्वारा लिखित 'अनेक स्रष्टा अनेक प्रसङ्ग' नामक निबन्धसङ्ग्रह भर्खरै प्रकाशित भएको छ। नेपाली साहित्यमा विशिष्ट पहिचान बनाइसकेका साहित्यकारहरूका विविध प्रसङ्गलाई विषयवस्तु बनाई वस्तुपरक शैलीमा लेखिएका निबन्धहरूको सङ्ग्रह हो 'अनेक स्रष्टा अनेक प्रसङ्ग।' साहित्यक्षेत्रमा छुट्टै पहिचान बनाउन सफल साहित्यकार मञ्जुश्रीको विशेषता प्रस्तुत सङ्ग्रहमा पनि झल्किएको छ। आदिकवि भानुभक्त आचार्यदेखि पछिल्लो पुस्ताका जीवन आचार्यसम्मका त्रिपन्न जना कविसाहित्यकारका जीवनमा घटेका घटनालाई आधार मानेर लेखिएका निबन्धले लुकेर रहेका कुराहरूको उजागर गरेका छन्। साहित्यकारहरूका जीवनमा आइपरेका समस्या, उनीहरूले भोग्नुपरेका पीडा, खुसीका क्षण तथा रोचक प्रसङ्गहरू समेटिएको हुनाले नेपाली साहित्यको इतिहास अध्ययन गर्ने जोसुकैलाई रोचक एवं यथार्थ जानकारी प्रदान गर्ने छ प्रस्तुत सङ्ग्रहले। प्रायः स्रष्टाहरूका जीवनीमा समेत पढ्न नपाइने प्रसङ्ग उल्लेख गरिएकाले स्रष्टा र साहित्यका शोधकर्तालाई समेत सङ्ग्रह उपयोगी छ।
कतिपय निबन्धहरूमा वास्तविकता भन्दा लेखकको कल्पना बढी प्रकटिएको छ। यसबाट पाठकले सम्बन्धित स्रष्टाका बारेमा यथार्थ जानकारी भन्दा पनि लेखकको कल्पनाशीलता प्राप्त गर्ने छन्। यही आरोपबाट बच्न लेखकले पहिल्यै सतर्कता अपनाएका छन् ― '......... कुनै घटनाहरूलाई कथात्मक स्वरूप पनि दिएको छु। प्रस्तुतिलाई पठनीय बनाउन कहीँकहीँ कल्पनाशीलताको प्रयोग पनि गरेको छु।'
निबन्धहरू समान स्तरका नहुनाले कतिपय पाठकका लागि सबै निबन्ध उत्तिकै रुचिकर नहुन पनि सक्छन्। केही बौद्धिक पाठकले मन पराउने खालका छन् भने केही सर्वसाधारण पाठकका लागि उपयोगी छन्।
लेखकको शैली र प्रस्तुति आकर्षक भएकाले निबन्धहरू पट्यारलाग्दाचाहिँ छैनन्। कथात्मक भावले प्रभाव पार्दछ पाठकलाई सङ्ग्रह पढिरहँदा। भाषा, वर्णविन्यास र सम्पादनपक्ष निकै तिखारिएका छन्। कतैकतै भेटिने व्याकरणगत त्रुटिबाहेक औंल्याउनैपर्ने गल्तीहरू त्यति देखिँदैनन्। दिवङ्गत स्रष्टाहरूका विषयमा लेखिएको नेपाली साहित्यकै 'उत्कृष्ट' सङ्ग्रह भनेर साहित्यकार भवानी घिमिरेले लेखेका छन्, यद्यपि, पाठकले आँकल गर्न भने बाँकी नै छ।
प्रकाशकका तर्फबाट मन्तव्य व्यक्त गर्दै साहित्यकार घिमिरे लेख्छन् ― ' ........ नेपाली साहित्यमा विशिष्ट स्थान बनाई दिवङ्गत भएका ५३ जना साहित्यस्रष्टाहरूका साहित्यिक र असाहित्यिक घटनाप्रसङ्गहरूको यस्तो उम्दा सङ्ग्रह नेपाली साहित्यका पाठकहरूले यसअघि कहिल्यै पढ्न पाएका थिएनन्। कहीँ पेट मिचीमिची हँसाउने, कहीँ खुसीले गमक्क फुलाउने, कहीँ दुःखले धरधरी रुवाउने, कहीँ रिसले जरक्क पार्ने, कहीँ डरले थर्कमान बनाउने, कहीँ बौद्धिकताले ओतप्रोत पारिदिने, कहीँ सङ्घर्षशील बन्न प्रेरित गराउने र कहीँ गम्भीर पार्ने रोचक, मार्मिक र संवेदनशील घटनाप्रसङ्गहरूको यो सङ्ग्रह साहित्यिक वाङ्मयले प्राप्त गरेको अत्यन्त महत्त्वपूर्ण खजाना हो। यसका लेखकको गहन अध्ययनअनुसन्धान, सूचनाको पर्याप्तता र भाषाशैलीमा भएको चामत्कारिक दक्षता प्रमाणित गर्ने यस सङ्ग्रहभित्र उल्लेख भएका प्रसङ्गहरू पढ्दा ती प्रसङ्गहरूसँग सम्बन्धित वृत्तचित्र हेरिरहेजस्तो अनुभूति हुन्छ। अत्यन्त सुन्दर, सरल र सुललित भाषाशैलीमा लेखिएको हुनाले यो सङ्ग्रह मनमोहक कथा र रोमाञ्चक उपन्यास पढेजस्तै गरी प्रत्येक पाठकले आद्योपान्त पढ्ने कुरामा कुनै शङ्का छैन ...................।'
बिस्तारै लोप भएर जाने साहित्यकारहरूका प्रसङ्गलाई जीवन्त बनाउने कार्य गरेकामा लेखकलाई धन्यवाद दिनै पर्छ। सबैलाई प्रेरक बन्न सक्ने यस्ता घटनाहरूको खोजीले नेपाली साहित्य पक्कै पनि फस्टाउँदै जाने छ। सहज प्रस्तुतिले पाठकको मन तान्न सफल सहित्यकार हरि मञ्जुश्रीको पछिल्लो सङ्ग्रह 'अनेक स्रष्टा अनेक प्रसङ्ग' नयाँ प्रयोगका रूपमा आएको छ। साहित्यका पारखीहरूले यसलाई कुन रूपमा ग्रहण गर्ने छन्, भविष्यले नै बताउला।
[email protected]

प्रकाशित मिति : प्रकाशन मिति : आईतबार, 17 चैत्र, 2064

लेखकका अन्य रचनाहरु