पठन संस्कृति

- पेशल आचार्य

पढ्ने किन ?
‘पठन’ शब्दको बनोटलाई लिएर भन्दा ‘पाठ’ मा ‘अन’ प्रत्यय लागेर ‘पठन’ शब्द बन्दछ । यो संस्कृतको तत्सम शब्द हो । पठन भनेको पढ्नु हो । आफू पढ्नु । अरूलाई पढ्न दिनु । जसरी भए पनि पढ्नु । सुनिने गरी पढ्नु । बुझिने गरी पढ्नु । बुझाउनका लागि पढ्नु । मौखिक अभिव्यक्तिका लािग पढ्नु । लिखित अभिव्यक्तिका लागि पढ्नु । औपचारिक योग्यता हासिल गर्न पढ्नु । फगत् तुष्टि प्राप्तिका लागि पढ्नु आदित्यादि ।
शिक्षकको काम सिकाउने । सिकाउनका लागि पढ्नुपर्छ । नपढ्नेले सिकाउन त के आफू पनि सिक्दैन । शिक्षकहरूले निरन्तर पढिरहनुपर्छ । पढ्छन् पनि शिक्षकहरू जीवनभर । संसारका शिक्षकहरू रातोदिन पढ्छन् । आफू पढ्ेर आफ्ना शिष्यहरूलाई पढ्ने प्रेरणा दिन्छन् । यो शाश्वत हो । यही संस्कारले अहिलेसम्म शिक्षामा पढ्ने पढाउने काम गर्दै आएको छ । चुरो कुरो यही हो ।
संसारले नपढेको कुरा शिक्षकले पढ्छ । प्राध्यापकले पढ्छ । वकिलले पढ्छ । लेखक, कवि र कलाकारले पढ्छ । समालोचकले पढ्छ । निर्देशकले पढ्छ । गायकले पढ्छ । वैज्ञानिकले पढ्छ । पढ्नेले पढेन भने त अचम्म हुन्छ । अपसगुन हुन्छ । आश्चर्य हुन्छ । संसारको आठौं आश्चर्य । त्यसैले शिक्षक भएर आठौं आश्चर्य भई सामान्य ज्ञानमा दरिनका लागि नपढ्ने नहोऔं । पढौं । खूब पढौं । अब पढौं । अहिले पढौं । आजै पढौं । सके प्रत्येक साता एकएकवटा किताब पढौं । नसके पनि महिनामा एकौटा अवश्य पढौं । त्यो पनि नसके आफू सम्बद्ध शिक्षा क्षेत्रका पत्रपत्रिका पढौं । किनेर पढौं । खोजेर पढौं । मागेर पढौं । सापट लिएर पढौं । पढेर नपढेकाहरूसँग कुरा गरौं । तर लाग्ने कुरा गरौं । पानीजस्ता पातला कुरा नगरौं । किताब र पत्रिका पढ्नुमा आकासजमिन अन्तर छ । किताबबाट ज्ञान मिल्छ भने पत्रिकाबाट सूचना । के चाहिएको हो ? छानौ र जानौं ।
अहिलेको युग तर्कको हो । भन्नेले जतातिर तर्क उतैतिर फर्क भनेका छन् । दर्शनको दाउन तर्क । राजनीतिको वीज तर्क । कलाको सुगन्ध तर्क । साहित्यको चुरो पनि तर्क । शिक्षाको मेरुदण्ड पनि तर्क । जोसँग तर्क छैन ऊ तुरिन्छ । सकिन्छ । सकिनु भनेको वैचारिक मृत्यु हो । कोही पनि बाँचीबाँची मर्न चाहदैन । जसरी पनि बाँच्नै चाहन्छ । यो मानिसको उत्कट चाहना हो ।
अहिले नपढे कहिले पढ्ने । अब नपढे कब पढ्ने ? सामान्य ज्ञानमा नदरियौं । बस् । खुसीले पढौंं । सुखी हुनका लागि पढौं । आनन्दको खोजीमा भए नि पढौं । परमानन्दको खोजीका लागि भए पनि पढौं । जोगी भए पनि पढौं । भोगी भए पनि पढौं । कसैले केही भन्छ कि भन्ने डर नमानौं । कुरा बुझौं । पढ्ने मानिससँग संसारै डराउँछ । बरू झुक्छ । बाँस नुहेझैँ ।
मानिस पढेरै ठूलो भा’को हो । यहाँ ‘ठूलो’ भनेको असल मानेमा हो । नपढी कोही पनि ठूलो हुँदैन । नपढेको मानिस रूपमा ठूलो भए पनि त्यो व्यक्तित्वमा सानो हुन्छ । पढेको मानिस रूपमा सानो भए पनि व्यक्तित्वमा ठूलो हुन्छ । मानिसलाई आम मानिसबाट पहिचान दिलाउने भनेकै शिक्षाले, विद्वताले, विचारले, तर्कले, बुद्धिले, प्रज्ञाले, सीपले, अभिव्यक्तिले, लेखन शक्तिले र वाकपटुताले हो । मितभाषीहरू पढैया । मिष्ठभाषीहरू पढैया । त्यस्तै मृदुभाषीहरूमा पनि पढ्नेलेख्ने अतूल विशेषताहरू विद्यमान भएको हुन्छ । मानिस पढैया छ या छैन उसको एक झल्को अभिव्यक्ति वा एक हरफ लेखनबाटै पत्तो लाग्छ । परिभाषाको यो छनकलाई उसको पढ्नेलेख्ने गहनापरक बानीले नै पाइन् हाल्छ । नपढ्ने मान्छे जतिसुकै बक्बक् गरेपनि उसको अज्ञान केही क्षणमै थाहा भैहाल्छ । अनि पढ्ने मानिसले जतिसुकै ढाकछोप गरेर म पढ्दिन भने पनि उसको परिचयको एक झुल्कोले नै किरण बताइहाल्छ ।
पठन संस्कृति किन ?
नमरी संसार देखिन्न भनेझैँ नपढी संसार पनि बुझिन्न । यो शाश्वत सत्य हो । अब जनजन ढाँट्ने समय रहेन । संसारका शिक्षक पढ्नमा अब्बल छन् । भारतका एघारौं राष्ट्रपति अब्दुल कलाम भूपू शिक्षक हुन् । एरोनोटिकल इन्जिनियर । उनलाई भारतका अन्तरिक्ष अन्वेषणका पिता भनिन्छ । राष्ट्रपति हुँदा पनि पढ्थे । नहुँदा पनि पढ्छन् । उनी पहिले पढ्नेमा गनिएका । अहिले पनि पढिनेमा दरिएका । पाँच वर्ष देश चलाए पनि अहिले कक्षा चलाइरहेका छन् । संसारका सबै राजनेताहरू पढ्ने प्रकृतिमा गनिएका छैनन् । यो दुःखको कुरो हो । जो पढ्छन् ती महान् छन् । जो पढ्दैनन् ती जहानका लागि मात्रै भए पनि महान् (?) छन् ।
नेपालीमा उखान छ –फूलको बास्ना डाँडावारि मानिसको बास्ना डाँडापारि । मानिसले व्यक्तित्व बनाउन गाह्रो । बनाई सकेपछि संसारको सिमाना र देशीय सरहद्ले छेक्दो रहेनछ –उसलाई । दक्षिण अफ्रिकाका अश्वेत नेता भनौं या प्रथम अश्वेत राष्ट्रपति नेल्सन मण्डेला हुन् या अमेरिकाका सोह्रौं राष्ट्रपति अब्राहम लिङ्कन यी सबैले आफ्नो समयमा कुछ बढी नै पढेका छन् र कालजयी कृति लेखेका छन् । मण्डेलको ‘ए लङ् वाक टु फ्रिडम’ नामक संस्मरण पुस्तक संसारमा असीलाख प्रति विक्री भइसकेको छ । लिङ्कनको चिठी प्रधानाध्यापकलाई आज पनि सामयिक नै लाग्छ । त्यसमा जगत् बोलेको छ ।
त्यसैगरी भारतका प्रथम प्रधानमन्त्री जवाहरलाल नेहरूले जेलबाटै लेखेका ‘नेहरू लेटर’ (इन्दिरा प्रियदर्शिनी गान्धी उर्फ इन्दिरा गान्धीलाई लेखिएको चिठी) पनि पढैया संस्कृतिको दस्तावेज हो । यो विद्वताको द्योतक हो । जसले उमेरमा पढेको छ –उसैले जीवनभर प्राप्ति गर्छ पनि । यसमा दुई मत छैन । जीवनभर पूर्वीय धर्मशास्त्रको पवित्र गन्थ्र श्रीमद्भागवत् गीता पढेका नेपालका गान्धीवादी सन्त नेता कृष्णप्रसाद भट्टराईले जीवनको अन्त्यमा एउटा पुस्तक लेखेर जीवन बिसाए । उनी पूर्वीय धर्मशास्त्रका विद्वान् थिए ।
सांसद् हुन् या डाक्टर, पण्डित हुन् या पप गायक, पुजारी हुन् या बैङ्कर यी सबैको पेसालाई अगाडि बढाउन पठन कल्चर आवश्यक मात्र होइन अत्यावश्यक पनि छ । अब के भयो भने जो पढ्दैन ऊ जीवनमा अगाडि बढ्दैन । हुन् त राज्यका सञ्चालकहरू एक जमानामा पढाइलेखाइका विरुद्ध पनि थिए । लुई चौधौंको कुरा कोट्याउने हो भने उनी भन्थे –म नै राज्य हूँ । म नै कानुन हूँ । म जे बोल्छु त्यो कानुन हो । यो दम्भ हो । यसमा विद्वता नाई । मानिसले यसरी पश्चिममा आफूलाई पहिलोपटक अहंवादी भएर प्रकट गरेको थियो । समयको रफ्तारसँगै युरोप र अमेरिकातिर पनि धेरै नै पढैयाहरू आए र गए पनि । जसमा सेक्सपियर, नित्से, माक्र्स, आइन्स्टाइन, न्यूटन, थोमस अल्वा एडिसन, स्टिफन हकिन्स, जोन डिबे, कीट्स, लर्ड टनिसन, फ्रायड, एड्लर, युङ्, शेली, डार्बिन, सर आर्थर कानन डायल, रोबर्ट फस्ट, टोनी मरिसन आदि दरिएका छन् भने पूर्वीय साहित्यका पठित विद्वत्जनहरूमा आचार्य भरत, दण्डी, वामन, माघ, भारवि, राजशेखर, भट्टलोल्लट, श्रीशंकुक, अभिनवगुप्त, वाल्मीकि, कालिदास, तुलसीदासहरू अग्रभागमा आउँछन् । त्यसैगरी भारतीय विद्वत्जनहरूमा विभिन्न क्षेत्रोपक्षेत्रमा आएकाहरूमा प्रेमचन्द, शरदचन्द, बकिमचन्द चटोपाध्याय, क्षितिजचन्द्र चक्रवर्ती, सुमित्रानन्दन पन्त, जयशंकर प्रसाद, सूर्यकान्त त्रिपाठी निराला, डा. राहुल सांस्कृत्यायन, डा. कमला सांस्कृत्यान, महाश्वेतादेवी, डा.अमृता प्रितम, रवीन्द्रनाथ टैगोर, प्यारेलाल आबारा, सहादत हसन मन्टो, अरुन्धती रोय, चेतन भगत, प्रेम बाजपेयी, झुम्पा लहरी, वेदप्रकाश शर्मा, ओम शर्मा, डा. हरिवंश रायबच्चन आदि लेखन क्षेत्रका महा हस्तीहरू हुन् भने विज्ञानका सिभी रमन, भूमिका चावला तथा अन्तरिक्ष विज्ञानका पिता भनिने एपिजे अब्दुल कलाम तथा संवैधानिक ज्ञाता र राजनीतिज्ञ भीमराव अम्बेडकर, नेताजी सुभाषचन्द्र बोस, राष्ट्रपिता मोहनदास करमचन्द गान्धीजी (बापू), मोहमद अलि जिन्हा, भारतका प्रथम राष्ट्रपति डा.सर्वपल्ली राधाकृष्णन, घनघोर विद्वान् तथा दार्शनिक आचार्य रजनीश, प्रजापिता ब्रह्माकुमार लेखराजजी, सत्य साइ बाबा, ब्रह्माकुमारी दादी जानकी, त्यसैगरी माहिर उर्दू सायरहरू मिर्जा गालीब, फिराद गोरखपुरी, माहिर संगीतकार आरडि बर्मन, गुलाम अली, सत्यजीत रे, दादा फाल्के, आधुनिक गीत संगीतका साधक मजरु सुत्लानपुरी, किशोर कुमार, मेहदी हसन, खेश साद्वी, गीतकार जावेद अख्तर, संगीतकार अनु मलिक, बाँसुरीवादक पं. हरिप्रसाद चौरसिया, तबलावादक पण्डित जसराज आदिको नाम अत्यन्त नमनपूर्वक लिनु पर्दछ ।
अहिलेको भारतमा पनि यो नाम निकै लामो हुन सक्छ । नेपाली विद्वानहरूमा पनि पठन संस्कृति निकै पन्पिएको पाइन्छ । सात सालअघि देखि नै नेपालमा पढ्ने संस्कारले घर गर्न थालेको पाइन्छ । एकीकरणकालमा उदाएका आदिकवि भानुभक्त आचार्य हुन् या पण्डितराज सोमनाथ सिद्याल, कविशिरोमणि हुन् या महाकवि लक्ष्मीप्रसाद देवकोटा, नाट्यस्रमाट बालकृष्ण सम हुन् या समालोचक रामकृष्ण शर्मा यी त भए सातसाल अघिका विद्वान् । त्यसपछि पनि नेपालमा निकै पढैया मानिसको नाम निकै लामो सूचीका साथ पेस गर्न सकिन्छ ।
त्यसैले पठन संस्कृति संसारबाट लिन र संसारलाई दिनका लागि हो । मानिसले समाजबाटै लिने हो र समाजलाई दिने हो ।
आदर्श शिक्षक कोको हुन् ?
शिक्षक तीन अक्षरले बनेको शब्द । माने गहिरो छ । बुझ्नेलाई श्रीखण्ड नबुझ्नेलाई खुर्पाको बिँड । शिक्षण गर्ने, क्षमतावान् र कर्तव्यनिष्ट । यस्तो पनि अर्थ लगाएका छन् – कतिपय बुभ्mनेहरूले । मलाई त के लाग्छ भने कक्षा या तालिम कक्षभित्र मात्र पढाउने अनि सिकाउने शिक्षक या प्रशिक्षक होइनन् । जीवनमा कहिल्यै साउँ अक्षर नखारेका पनि शिक्षक हुन् सक्छन् । प्रा.नोबल किशोर राईलाई आफ्नो पीएच्डीको खोजीका लागि धनकुटातिरको कुनै अमुक गाउँमा जाँदा ‘जीवनमा जान्नु जतिको सजिलो र नजान्नु जतिको गाह्रो केही छैन’ भनेर शाश्वत चिन्तन गर्न ज्ञानको आँखा खोलिदिने कुनै राईआमा उनको जीवनकी महान् गुरुआमा हुन् भनेर उनले जर्मनीको राजदूत हुनुभन्दा केही अघिमात्र पत्रिकामा सगर्व लेखेकै थिए । नेपाली काँग्रेसका चिन्तक प्रदीप गिरी नेपाली राजनीतिका पढैयामा गनिन्छन् । उहिले त सिके प्रसाईं पनि इने गिनेका विद्वान् मै गनिन्थे । अहिले एनेकपा माओवादीका संविधान सभाका मनोनित भूतपूर्व सांसद् हरि रोक्का, राजनीतिक विश्लेषक सिके लाल, नेपाली काँग्रेका युवा नेता गगन थापा, नेता नरहरि आचार्य, महिला नेतृ चित्रलेखा यादव, विघटित संविधान सभाका अध्यक्ष सुवाष नेम्वाङ पनि कुनै जमानाका ल क्याम्पसका गुरु नै थिए ।
अहिलेकै पनि बाँचेका गुरुहरू मध्येमा प्रा. बालकृष्ण पोखरेल हुन् या डा. तारानाथ शर्मा यी एकसेएक धुरन्धर विद्वान्मा गनिन्छन् । त्रिविका प्राडा वासुदेव त्रिपाठी हुन् या प्राडा मोहनहिमांशु थापा, प्राडा दुर्गाप्रसाद भण्डारी र प्राडा अभि सुवेदीहरू पनि कुनै समयका फरक विषय औ क्षेत्रोपक्षेत्रका विश्वविद्यालयकै गहना थिए । वर्तमान समयका भाषा विज्ञानका आधिकारिक ज्ञाता भनिएका प्राडा हेमाङ्जराज अधिकारी हुन् या वैयाकरणशास्त्री प्रा. मोहनराज शर्मा यी पनि चलायमान रत्नमा पुजिन्छन् । त्यसै त कहाँ भनेको रहेछ संस्कृतले पनि –स्वेदश पुज्यते राजा, विद्वान् सर्वत्र पुज्यते ।
साहित्यका विद्वत्शिरोमणि हेमराज शर्मादेखि इतिहास शिरोमणि बाबुराम आचार्यसम्म सबैले जीवनका कुनै न कुनै रोचक क्षण शिक्षणमा बिताएका छन् । संस्कृत साहित्यका प्रथम पोष्टाचार्य (प्रथम पीएच्डी) पद्मप्रसाद भट्टराई हुन् या भीम शमशेरका दरबारीया पण्डित सोमनाथ घिमिरे ‘व्यास’, शाम्बभक्त सुवेदी मुरारि हुन् या प्रथम मौलिक आधुनिक उपन्यास रुपमतिका सर्जक सरदार रुद्रराज पाण्डे नै किन नहून यी सबै कुनै जमानामा माष्टरजीका उपनामले सुशोभित भएका व्यक्तित्व हुन् ।
कविशिरोमणि लेखनाथ हुन् या कलाकार उस्ताद् गणेशलाल, कथाकार रूपनारायण सिँह हुन् या कलाकार लैनसिँह वाङ्देल यी सबैले गुरु बनेर चेलाचपेटा बनाएकै छन् । उबेलाका पश्चिम बंगाल उपन्यायाधीश रामकृष्ण शर्मा हुन् कि विख्यात गीतकार अगमसिँह गिरी यी सबैमा आदर्शपना छचल्किएको पाइन्छ । डा.लख्खीदेवी सुन्दास, मनप्रसाद सुब्बा हुन् या डा जगत क्षेत्री, महावीर पुन हुन् या सुरेशराज शर्मा, प्राडा छविलाल गजुरेल हुन् या प्राडा दयानन्द वज्राचार्य, प्राडा पद्मप्रसाद देवकोटा हुन् डा. कृष्णहरि बराल यी सबै आफ्नो जमानाका माहिर गुरु हुन् । त्यसैले यी कुनै न कुनै रूपमा पुजित छन् । नमन गर्नुपर्नेमा दरिएका छन् । यिनीहरूको जमाना कुनै बेला अति नै सकस पूर्ण थियो अहिले यिनीहरू आफ्नो प्रतिभा र परिश्रमको पौरख पाइरहेका छन् । कोही एवमरितले जीवन बिताइरहेका छन् ।
विश्व साइकलयात्री पुष्कर शाहले भनेका थिए –यो संसार यति विशाल र सिक्न लायक छ कि जसका लागि एउटा जीवन त के सयौं जीवन पाए पनि सकिन्न । घुमेपछि जानिन्छ । पैसा न कौडी लखरलखर विश्व दौडी भनेर उबेला उनलाई कतिले जिस्क्याए पनि । कठै ! सारीको सप्कोमा पट्याएर राखेको आमाको एकसय रुपैयाँ लिएर विश्वको भ्रमणमा निस्किएका पुष्करले संसारबाटै लिए र घुमे पनि । आँट चाहिने रहेछ मानिसमा ।
स्कुल या क्याम्पसमा पढाउने मात्र शिक्षक होइनन् । जसले जीवनमा बाँच्नका लागि केही न केही सिकाउँछन् ती पनि हाम्रा लागि शिक्षक हुन् । भनिन्छ पनि –बालकको पहिलो पाठशाला घर र उसको पहिलो गुरुआमा भनेकी आमा हुन् । गान्धीले भनेका थिए –म जे छु त्यो मेरी आमाको प्रतिफल हो । संसार गुरु र शिष्यले बनाएका हुन् भनेर चिनीयाँहरू अझै भन्ने गर्छन् ।
अन्त्यमा, पढाइको विकल्प यो संसारमा त के खगोलभित्रका कुनै पनि संसारमा छैन । धन बाँड्दा घट्छ भने विद्या बाँड्दा बढ्छ । एकबारको जुनीमा जोसुकै पनि मरेर जाने हो । बाँचुञ्जेल त बाँचिहालिन्छ मरेपछि पनि तपाईँलाई चिरकाल पर्यन्त बाँचिरहन मन छ भने पठन संस्कृतिलाई बचाउन पढ्ने लेख्ने काममा सक्रिय सहभागी हुनुहोस् । यसैमा तपाईँको कल्याण छ । जय पठन संस्कृति ।

उपप्राध्यापक, मन्थली बहुमुखी क्याम्पस, मन्थली ।

प्रकाशित मिति : प्रकाशन मिति : शनिवार, 5 आश्वीन, 2070

लेखकका अन्य रचनाहरु