सिन्धुलीगढी घुमेर हेर्दा

- भेषराज रिजाल

२०७० साल वैशाख १७ गते शुक्रबार ।
जनकपुरधामबाट बर्दिबास हुँदै लागियो काठमाडौंतिर । बाटोसँग म अपरिचित, मसँग बाटो अनभिज्ञ, तथापि पहिलो पाइला रोमाञ्चक थियो मेरा लागि, जिज्ञासु यात्री भेटेर आनन्दित भएझैँ लागेको थियो बाटो पनि । पहिलोपटक देखेका दृष्य र फुरुङ्ग मनका उद्वेगले पाइरहेथेँ अतुलनीय आनन्द ।
एउटा बजारको फर्सी व्यापार हेरेर रमाएँ म । छोराको वर्थ डे सम्झँदै हुनुहुन्थ्यो एकनारायण शर्मा । साथी रमेश अर्यालको फोनले एकैछिन आजको प्रस्थान विन्दू जनकपुरै पु¥यायो स्मृतिमा । ढल्केबर कटेर बर्दिबास हुँदै सिन्धुलीतिर हानिँदै थियौँ हामी ।
चुरेबाट ओर्लेर फाँटमा फिँजिएको खहरेको छेउछाउमा टक्राकटुक्रुक उभिएका झुप्रे सुकुम्बासी बस्ती भेटिए । खोलामा बगाएको सालनालसितको नवजात शिशुजस्तै फराकिलो धरतीको आँगनमा मिल्किएका थिए ती झुप्रा, जहाँ सम्भ्रान्तहरू फोहोरका डङ्गुर मिल्काउँछन् । मलाई कसैले धर्तीका सुन्दर चिज खोज्न लगाए निश्चय नै रोज्दथेँ तिनै झुप्रा र ती झुप्रामा बस्ने गरिबहरूलाई । चिसो र तातोभन्दा बढ्ता छोइएर ती झुप्राको गरिबी मेरो मनमुटु हुँदै मस्तिष्कमा पुग्यो । त्यसले मेरो टाउकादेखि पैतालासम्म हल्लायो । गोडाहरू भारी भए । आँखाहरू गुच्चाजस्ता भए । कन्सिरीमा नयाँ रौँ उम्रिएझैँ भयो । मनमनै प्रश्न प्रतिप्रश्न गरेँ ‘कसैको आलिशान महल, कसैको हावाले उडाउलाजस्तो झुप्रो ! कसरी हुन सक्छ यस्तो ? कसैको भोग्नै नसक्ने सम्पन्नता, कसैको सहनै नसक्ने विपन्नता ! एउटै आमाका सन्तानबीच पनि यत्रो विभिन्नता !
आस्थाका पर्खाल भत्काएर भित्री आँतमै भेल पस्यो । व्रिmयाशील हातमा रित्तो उपलब्धि सिबाय केही हात लागेन । शब्द टेढामेढा बनाएर कर्तब्यच्यूतहरू मात्र लाभान्वित भइरहे । दिनहीनका सपना अनपेक्षित त्रासभित्र हुँडलिएर मर्माहत भए । यस्तो देख्दा स्तब्ध हुनुपर्नेमा बुज्रुकहरू उत्साहित भएर समाजलाई झन् अधोगतितिर बढाउनमा तल्लिन रहे । म वर्तमानका पीडादायी चस्काले छटपटिएको छु ।
लालगढ पार गर्दा मुखमा कोक्रो लागेका गोरुले जोतको देखियो । निर्धालाई अवसरमा बन्देज लागेको देख्दा मेरो बुवाले भन्ने गर्नुहुन्छ ‘मुखमा कोक्रो’ । एक त्यान्द्रो तृण चर्न नपाई जोतिएका छन् बिचरा गोरुहरू । बाँझो धर्ती फोरेर धराभरा बनाउन जोतिने जोरु तर खाने मालिक । सोझालाई जोताएर खान पल्केका कामचोरहरूप्रति घृणा उब्जन्छ बिछट्ट ।
विपनाका अनेक अफ्टेरा कुल्चँदै सपनाको लोकमार्गमा मर्निङ वाक गरेझैँ लाग्छ । सूर्य रश्मीमा टेकेर घडीपला नाप्दै सुस्त..री घिस्रिरहन्छन् दिनहरू । रात भने सिरक डसनाभित्र हुस्सु निद्रामा तन्द्राका चल्ला कोरल्दै सुगमपथ भएर सुइँकुच्चा ठोक्छन् । जुनेली चकह शीतल छर्दै टिलपिलाएर झुल्किरहन्छ । आकाशका तारागण एकएक गर्दै मेरैछेउमा खस्छन् तर म कसैको माया र यादले टोलाउँदै तन्द्रामा पुगेर अर्धसपनामा अल्मलिएको हुन्छु । व्युँझिँदा के दशा होला मेरो । हरे ! बरू मेरो दुईदिने जिन्दगी सपनामै बितेहुन्थ्यो । तन्द्रामा आफ्नै चिन्तामा रहेँछु म । व्युँझँदा महेन्द्र लोकमार्ग छोडेर जापानी सहायतामा बनेको विपी लोकमार्गमा कुद्दै रहेछ गाडी । यही मार्गको नाम लेखेर लोक सेवा आयोगका कति परीक्षा उत्तिर्ण गरिएहोला । जागिरे कामले डुल्दा बल्ल पहिलो पाइला परेको छ यसमा ।
सालका लाँकुरा हुर्किरहेको जङ्गलका बीचबाट नागबेली पर्दै सुइँकुच्चा ठोकिरह्यो बाटो । खोलाका गुडुल्की हेर्दै रमाइरहेँ म । आइरहे – बस्ती, खोला, पुल, जङ्गल, चौर, जसरी मान्छेको जिन्दगीमा आउँछन् बालवय, युवा अवस्था, प्रौढावस्था आदि । अनि ती वयमा बयेली खेल्दै आउँछन्, खुसी, चिन्ता, दुःख, पीडा, उत्साह आदि । मेरो आस्थाको घरबारीछेउमा सगर्व ठडिएको काफलको बोटमा धेरै पहिल्यै वसन्त फक्रेको रहेछ । मनभित्र हेमन्तको अत्यासलाग्दो उराठ किन पालेको रहेछु खै ? मनमा उराठ पालेर मस्तिष्कमा खुसी फुलाउन कहाँ सकिन्छ र ? दृष्यसँग रमाएको मन गह्रुुङ्गो हुँदै थियो । शिशिर र हेमन्तबाट भागेर सदावहार वसन्त फुल्ने फुलबारीमा पुग्न चाहन्छु तर सिरिखुन्ने उदासीले छोपिहाल्छ फेरि पनि ।
भीमानमा एकैछिन बिसायो यात्रा । ऋषिराज देवकोटा आजाद, दुर्गा सुवेदी र दल बहादुर राना मगर भेटिए सहिद पार्कमा । उनीहरूलाई नियाल्दा ‘फर्किरहेको इतिहास चर्किरहेको घाउ’ शीर्षकको ‘देश सधैँ रूने छैन’ कविता सङ्ग्रहमा प्रकाशित आफ्नै कविताका हरफ सम्झिएँ –
सबै भन्छन्
बगेको पानी÷गएको समय
कहिल्यै कहिल्यै फर्कँदैन
फेरि किन
सागरको पानी फर्केर
आकासबाट बर्षेको देखिन्छ ?
झरनाबाट खसेको देखिन्छ ?
पोहोरसाल गएको पैह्रो
फेरि अहिले
गाउँपिच्छे धर्किरहेछ
बूढा आमाबाबुको
कलेजी चर्किरहेछ
भीमान र रुम्जाटार भएर दर्किरहेछ !
भीमान र रुम्जाटार युद्धमा मारिएकाहरूप्रति श्रद्धा कुसुम थिए ती । नदेखेर लेखेको ठाउँमा पुगी देखेर केही लेख्न खोज्दै थिएँ । परिचय भएर पनि अपरिचितजस्तो । अपरिचित भएर पनि पहिल्यै चिनजान भएजस्तो । आँखा विच्छ्याएर व्यग्र प्रतिक्षा गरेको आफन्त भेटेजस्तो भयो मलाई अनायास भीमान भेटिँदा । मनमनै प्रार्थना गरेँ भिमानबासीले फेरि कहिल्यै भोग्न नपरे हुन्थ्यो त्रासद युद्ध ।
मधु रेग्मी सरले नियमित खाने औषधि किन्न रोकिएका थियौँ हामी त्यहाँ । युरिक एसिडले बेस्सरी सुनिएका थिए सरका खुट्टा तर पाइएन औषधि । ‘खानदानी रोग’ भन्दै आततायी रोगलाई ब्यङ्ग गर्दै मुस्काउने सरलाई देखेर घरि हाँसो त घरि मायाले द्रविभूत हुनपुग्छु म । लाग्यो, आफैभित्र अनेक रोग पालेर पनि मुस्काउन सक्नुपर्ने रहेछ मान्छे ।
चिया खाएर विदा भयौँ भीमानसँग ।
मुलुकभित्र केही नगर्ने तर विदेश पुगेपछि जस्तो पनि काम गर्ने नेपाली चलनबारे चर्चा हुँदै थियो, भुइँकटहर रोपेको सुख्खा पाखो देखियो । केही गर्न खोज्ने तर निर्वाह नचलेर बीचमै छोड्नेहरू छन् यहाँ ।स्थानै पाउँदैन बजारमा विचराहरूको नयाँ कामले, अनि जाँगर मरेर छोड्छन् उनीहरूले । जागिरे जङ्घारमा नपसेको भए कृषि कर्ममै हुन्थेँ म पनि । मैले नै रोपेका भुइँकटहर मर्न आँटेको कल्पेर म झन् भक्कानिएँ । थाहा पाएँ, आफ्नो पीडा मात्र असह्य हुने रहेछ यो स्वार्थी दुनियाँमा ।
क्या सुन्दर बाटो तर निरीह काठे झुप्राहरू ! डढेलाले सखाप पारेछ जङ्गल । डढेलो सल्कँदा गुहारे गरेनछ छिमेकी बस्तीले जसरी म जल्दा वास्ता गर्दैनन् मेरा आफन्तहरूले । डढेलाको ठुटो जस्तै भएको छु म भित्रभित्र तर सतह नियाल्नेहरू देख्दैनन् जलेको मन । वाध्यतावश मुस्काउँदा परेका मुहारका मुजा हेरेर सोच्छन्, साह्रै खुसी छ यो ! दुःख जोसुकैलाई देखाउने चिज पनि त होइन रहेछ !
‘मैलाई सल्काइरहेको दीप शिखाका लबलबाउँदा ज्वालाले तिमी राँकियौ कि भनेर वरपरको शीतल बतास मैले नै बोलाइदिनुपर्ने । वर्षात्का बुँद साँचेर हिउँदे खडेरीमा निर्वाह चलाइदिनुपर्ने । यो कस्तो रीत हो ? यो कस्तो प्रीत हो । यो कस्तो जीवन गीत हो । अनि यो कस्तो जित हो । हारेर पनि तिम्रा लागि जितेको मान्नुपर्ने । जितेर पनि मन फुकाएर रमाउन नपाइने । तिमी मेरो चोट लागेको मुटुको धड्कन रहेछौ । म प्रकृति । तिमी मानव जाति ।’
‘रक्सीको रौस्याहा मादकताले चुर्लुम्म बनेका तिम्रा अधरबाट निस्कने थर्थराहट र सुवाश धेरैचोटी भोगेको छु । यसपटक तिम्रा पयरका लड्खडाहटसँग ठोक्किएर दुबैसँगै लड्यौँ । म उठेर यताउताका नजरबाट भाग्न चाहेँ तर तिमी बेपरबाह लडिर्यौ । म तिमीलाई छोडेर धेरै पर पुगेँछु । थाहा छैन तिमी अझै लडिरहेछौ वा उठेर लडखडाउँदै हिँड्न थाल्यौ । अरूलाई बल्झाउन तिमीले थाप्ने गरेको जालमा तिमी आफै फसिरह्यौ । तिम्रो जाल तिम्रै लागि महाजाल नभए हुन्थ्यो । मेरो त्रसित मन बोलिरहेछ । शायद तिमीसँग प्रेम बसेछ मेरो । तर तिमी मलाई सिध्याएर रमाउँछौ । म गर्छु तिम्रा सन्तान–दरसन्तानको दीर्घायु र सुस्वास्थ्यको कामना । तिमीले कहिल्यै राखेका छौ मप्रति थोरै सहानुभूति र माया ?’
डढेलोले पोलिएर अधमरो भएको प्रकृति मसँग सम्वादरत थियो । प्रकृतिका कलरवपूर्ण वाणीमा मेरा कान टाँसिएका थिए, चुम्बकमा फलामजस्तै । म निःशब्द थिएँ । सोचिरहेको थिएँ –प्रकृतिले दिएको ऊर्जा सल्बलाइरहेको छ जीवनमा हरक्षण । तर सकेको छैन केही गर्न प्रकृति संरक्षणका लागि मैले ।
जङ्गल, खोला, सडक र बस्तीको मिलेमतो हेरेर रमाएँ म । कमला पुल त¥यौँ हामी । तल सङ्लो खोला बगिरहेछ । मैले आफू अनुकूल अर्थ लगाएँ –सङ्लिन बग्नुपर्दो रहेछ । तर म बग्न नसक्ने मान्छे कसरी सङ्लिन सक्छु ? र त, धमिलिएको छु मेरै मान्छेहरूको मनभित्र । छटपटी भुल्न मनले मनमनै गाउन थालेछ – सङ्लो पानी धमिलो मन किन ?
सिन्धुली माडी आइपुगेछ । सोधेँ कति टाढा छ सिन्धुली गढी ? जवाफ पाइयो – १९ कि.मी. टाढा रहेछ अझै । सुन्दर देखिएका छन् सडकका गुडुल्की र क्षितिज । सुरक्षित अवतरण खोज्दै ओर्लिरहेछन् मोडहरू । मात लागेझैँ लठ्ठ परेर नियालिरहेछु गाडीको झ्यालबाट ।
सोला भञ्ज्याङबाट गढीतर्फ उकालियौँ । सिन्धुली गढी आइपुग्यो । हतियार भण्डारण गर्ने वा पानी सङ्कलन गर्ने कुवा जस्तो ठूलो खाडल, पुनर्निर्माण भएको पर्खाल र युद्ध किल्ला भएर भेटियो गढी । म एकाकार भएँ उन्यु फुलिरहेका चौरहरू, तलका बेँसी, माछिकाँडे डाँडाका लम्बेतान श्रृङ्खलाहरूसँग । दुईवटा थुम्कामा उक्लेर वरपर हेरियो पालैपालो । सिन्धुली गढी संरक्षण तथा सम्वर्धन समिति कार्यालय रहेछ चौरमा । अलिपल्तिर खोल्सामा देखियो भत्केको दरबार मेरो जिन्दगीजस्तै लथालिङ्ग । अनायास सम्झिएँछु एउटा लोकगीत –
सिन्धुलीगढी घुमेर हेर्दा सुन्तलीमाई कति पो राम्रो दरबार मा¥यो नि मायाले मा¥यो ...
हो, त्यही रहेछ बुद्धिकृष्ण लामिछानेले गाउने ‘कति पो राम्रो दरबार’ जुन अहिले भग्न भएको छ प्राणपखेरूविहीन उनको जीवनजस्तै ।
हाम्रो यात्रा फेरि सडकमा आइपुग्यो । भेटिए बनमारे र पाती एकैठाउँ, परम्परामा आधुनिकता मिसिन आइपुगेको नेपाली समाजजस्तो भएर । के पीर परेर हो न्याउली भने उरालीरहेछ विरह । म भने विरह पालिरहेछु मनमनै । खोइ म किन हुन सकिन न्याउली ? मनको विरह पखाल्न गाउन सकिन न्याउली भाका ।
चुत्रो र ऐसेलु खाँदाका सम्झनासँग हराउँदै कालो सेतो पोतिएका प्याराफिटले सुन्दर बनेको आफू जाँदै गरेको सडकसँग हराएँ म फेरि ।
खनिया खर्कमा सल्लाको सुसेली सुनिएथ्यो सहयात्री बोले क्या मनोरम दृष्य प्रकृतिको । रूखमा राखेका मकैका डाँठ र पिपलका रूख हेरेर रमाइरहेँथे, सहयात्रीले देखाए मकै गोडिरहेका जाँगरिला दिदी बहिनीहरू । रूख विरूवाका सिउर ठडिएका डाँडाका नाक र बाटाका गुडुल्की हेर्दै रमाइरहेथेँ, सहयात्रीले देखाए बुढेसकालको चेहराजस्तो ताछिएर भीरमा झुण्डिएका वरपरका डाँडापाखा । लहरे पिपल, ठूलो चौर, छेउमा खोलो, पुराना बाटाका धर्सा हेर्दै कुदिरह्यौँ हामी । त्यसको परबाह नगरी सुनकोशीको सुसेली प्रतिध्वनित भइरहेथ्यो । जाँगरिला हातहरू देख्दा मभित्र भेटिएको थियो तरुनो मन । गरिबी र उमेरले खाएर मरञ्च्यासे बनेका जस्ता डाँडापाखा देख्दा म पनि भएको थिएँ हात पयर पसारेको खङ्ग्रङ्ग बूढो सिमलको रूख । एकछिन अघि भेटिएको तरुनो मन एकैछिनमा कसरी भएछ बूढो रूख ? म अचम्मित हुन्छु । सोच्छु, उत्साहबिना असम्भव छ तरुनो हुन ।
सिउँडीको छेउमा खिचियो फोटो । काँडेदार सिउँडीका पहेँला सुन्दर फूलमा राता कोपिला औधि सुन्दर देखिए । ती सिउरमा सिउरिन नसकिए पनि फोटोमा सिङ्गार्न लायक ठानिए ।
रातमाटेको भोक उपचार केन्द्रमा भर्ना भइयो । सुनकोशीका ताजा माछा पाइन्छ भनेर बिनसित्ति लोभिएछौँ हामी, माछा त सुकाएर सिध्रा पारेको पो रहेछ । अपेक्षामुन्तिरको प्राप्तिले रमाएन मन । स्वार्थी मन स–साना कुरामा पनि ठुस्सिन्छ किन ? मनको प्रश्न मनभित्रै हुँडलियो । अघाएको पेट धुले बाटामा ठोक्किँदा थचारिँदा भोक सहनभन्दा झन् कठिन भयो । कतिबेला उल्टी हुन्छ भनेर त्रसित भइरहेँ म ।
दुम्जाबाट विराटनगर पुगेका विपी कोइराला परिवारको सम्झना भयो । लमजुङे कोइराला दुम्जा हुँदै पुगेका रहेछन् विराटनगर । सानैदेखि भोग्दै आएको आफ्नो परिवारको बसाइँ सराइँ सम्झेर भने चस्किन्छ मेरो छाति । बसाइँ सर्दासर्दै म मेरै मुलुकमा परदेशीजस्तै भएको छु, न जन्मथलोले सम्झन्छ न त हालको बसोबासले चिन्दछ । न त मैले केही गर्न सकेको छु आफ्नो जन्मभूमि र थातथलोलाई । भीडमा हराएको आफ्नो अस्तित्व खोजीका लागि तड्पिन्छु म ।
जाँदाजाँदै देखिएको बाटामुन्तिरको कुशेश्वर मन्दिरमा पसेथ्यौँ हामी । मन्दिरबाट निस्केर सडकसँग बग्न थाल्दै थियौँ हामी, रोशी सुनकोशीमा मिल्यो । त्यो मिलन देखेर सदा विछोडको पीडा सहेर हैरान भएको छातिले केही राहत अनुभूत गर्दै थियो । सिद्धिचरणलाई सम्झँदै मनमनै गुन्गुनाउँदै थिएँ म –
त्यो तामाकोशी त्यो सुनकोशी त्यो गिरि फोरी बहने रोशी
दाप्चा पुल तरियो । भकुण्डे बेँसी र बुचाकोटपछि धुलिखेल आइपुगियो । काठमाडौंको कोलाहल र धुलोमैलोको स्मरणले तर्साइसकेको थियो धुलिखेल आइपुग्दा नपुग्दै । यद्यपि मेरो यात्रा काठमाडौंको त्यही फोहोरको डङ्गुरभित्र चक्कर लगाइरहेछ अचेल, जहाँ दैनन्दिन नरक नभोगी सुखै छैन । काठमाडौं नरकशाला हो फोहोरको, अपराधको, त्रासको, कहरको, छटपटीको, कुण्ठाको, पीडाको, वेदनाको, अपहेलनाको, ... ।

प्रकाशित मिति : प्रकाशन मिति : शनिवार, 29 भाद्र, 2070

लेखकका अन्य रचनाहरु