त्यो कोठा

- युवा बराल ‘अनन्त’

त्यहाँसंग पटक्कै मेल खाँदैन
यहाँका कुरा
हाम्रा रीति-थिति र नीतिका कुरा…

हुन त सिमाना एउटै भए पनि
जमानामा धरै अन्तर छ
मत-मतान्तरमा पनि त वैभिन्नता आइसकेको छ।
उद्वेलनहरु मनबाट विचलित नभई
दिमागले प्रतिपालन गर्न थालेको छ,
उद्भावनाहरुलाई कार्यान्वयन गर्ने
एउटा नयाँ शक्तिपुञ्जको आविष्कार भएको छ ।

तपाईं के जान्नु हुन्छ
यहाँका कुरा
हाम्रो घरभित्रका चोठा-कोठाका कुरा…

आफ्नो लाग्ने मगज मस्तिष्क पनि
अर्को “स्ट्राइकर”को आधारमा चल्ने गर्छ
कण्ठबाट प्रसारण हुने बोली-आवाजसम्म
सिकाइएको भरमा प्रस्फुटित हुने गर्छ
अन्धाले ब्रेल छामेको जस्तो
छामिएको सत्यता घोकिने गर्छ
रटाईमा खटिएका आँखा र दिमागलाई
परिक्षा भवनभित्रै छोड़िएका हुन्छन्
बाहिर निस्कन्छ त केवल एउटा अस्तित्व
अवशेष अपूर्ण अयोग्यता अनि
सीमितताको अशान्ति रित्तो भाँड़ा झैं ।

तपाईंलाई कति ज्ञात छ र
यहाँका कुरा…
देखेर पनि नदेखिएका गोप्य गोप्य कुरा…







ज्ञानार्जन पेशागत व्यवसाय भएको बेला

टाउको गनेर पैसा थापिने गरेको समयमा

शिक्षा पनि बिकाउ वस्तु भन्दा अभेद्य रहेन अब

जता सुकै पसारो फिंजाउन नमिल्दा

राख्न र प्रदर्शन गर्नका निम्ति

चोठा र कोठा बारिने गरेको छ

थोकका तहहरु र मोलका तप्काहरु

सड़क अनि गल्लिको छेउ-कुनातिर

मिलाइने गरेको छ

जहाँ ग्राहकलाई सम्पूर्ण आनन्द दिलाउने

शतप्रतिशत सन्तुष्टि प्रदान गर्ने

विज्ञापन झुण्ड्याएका छ्न् ।



तपाईंलाई कसरी सुनाऊँ

सुनाएरै नसकिने- भन्नै नमिल्ने कति

हाम्रो पैंचो मागिएको सभ्यताको कुरा ।

प्रकाशित मिति : प्रकाशन मिति : शनिवार, 29 भाद्र, 2070

लेखकका अन्य रचनाहरु