कस्तो छ स्वर्गको द्वार ?

- कृष्णादेवी शर्मा (श्रेष्ठ)

नेपाल भू–भाग पहाडबीच
हो स्वर्गको द्वार छ यो समीप
पुग्छौ जहाँ फर्कन चाह हुन्न
प्रारब्ध राम्रो नभए पुगिन्न ।

हेर्दै अहो ! स्वर्गसमान भान
कस्तो छटा सुन्दर स्वच्छ दान
मैले भुलेँ दुःख सबै भुसुक्कै
हर्षेर हाँस्यो मन यो मुसुक्कै ।
छन्द ः इन्द्रवज्रा (ऽऽ। ऽऽ। ।ऽ। ऽऽ) (त, त, ज, गु गु) गण सूत्र

यात्रा जीवनको पर्याय त हुँदै हो । अनि जीवनयात्राबाट पाइने सुखानुभूतिको प्यासी पनि हो । त्यसैले म पनि आफ्नो पहुँच पुग्नेसम्मका दर्शनीय स्थलहरूको अवलोकन गर्न सौखिन छु । जो कोही प्रायः हुन्छन् पनि । हो, स्वर्गको द्वारको दर्शन गर्ने चाहना मनभित्र पलाएको त धेरैवर्ष बितेको थियो । पहाड चढ्नुपर्ने कुराले मन खुम्चिएको हो । यसपालि छिमेकी साथीहरूबाट कुरा आयो, ‘अब कच्ची मार्गबाट मोटर लान सकिन्छ, मात्र २ किलोमिटर पैदलयात्रा गर्नुपर्ला, स्वर्गको द्वारसम्म पुगौँ ।’ यो चर्चाले मेरो मन पनि तान्यो । त्यसो भए म पनि यसपालि स्वर्गको द्वार दर्शनार्थ जानुपर्छ ।
वि.सं. २०७० साल, आषाढ मासको १ गते शनिबार थियो । यात्राको लागि यही मिति तय भयो । सवारी साधनको व्यवस्था मिलाइसकिएको थियो । सोही दिनको बिहान ठीक ९.३० बजे प्रगतिनगर गा.वि.स. वडा नं. ३ र ४ का तीर्थयात्रीहरू भीमप्रसाद आचार्य, खगीदेवी आचार्य, कृष्ण आचार्य, गोमा आचार्य, सरस्वती खनाल, निर्मला न्यौपाने, शान्ति पौडेल, रुककुमारी क्षेत्री र म लगायतका नौजनाको एउटा टोली ३५९६ लु. १ च नं. को गाडीमा बसेर प्यूठान जिल्लामा अवस्थित स्वर्गद्वारी पुण्य भूमिको दर्शनार्थ प्रस्थान ग¥यौँ । हाम्रा गाडीचालक भाइ बद्री चौधरीसित हामी १० जना भयौँ । यसरी हामी स्वर्गद्वारी पुण्य भूमिको दर्शनार्थ नवलपरासीको दाउन्ने पहाडमा अवस्थित दाउन्ने देवीको दर्शन गरेर वर्दघाट, सुनौल र भुमही हुँदै रूपन्देहीको बुटवल नगरतर्फ अगाडि बढ्दै गयौँ । गृष्मऋतुको प्रखर गर्मी याममा पनि हामीलाई घामले अत्याएन, दिन शीतल प¥यो । न वर्षा न घाम, हामी धेरै आनन्दित भयौँ । भनाइ पनि छ – यात्रामा साथी मिल्नुपर्छ, यात्रा रमाइलो र सुखदायी हुन्छ । भन्छन् – यात्रामा हिँड्दा केही खानेकुराहरू पनि बनाएर बोक्न सके बेलाबखत भोकको तोक पनि छोपिने र सबै मिलेर खाँदाको स्वाद छुट्टै रमाइलो हुन्छ रे । जानेका त हौँ, तर म आफूलगायत खानेकुरा नबोक्ने अरू साथी पनि थियौँ । तर सरस्वती खनालले लगेका खानेकुराहरूको पोको भने ११.३० देखि नै फुक्यो । यसबेला हामी रूपन्देही जिल्ला छोडिसकेका थियौँ । कपिलवस्तु जिल्लाको गोरुसिङ हुँदै ठीक १२.५५ मा हामी भालुवाङ पुगिसकेका थियौँ । त्यहाँनिर अर्घाखाँची जिल्लाले थोरै दाङ जिल्ला छुँदो रहेछ । भालुवाङमा हामीले १÷२ घण्टा आराम ग¥यौँ, फलफूल किन्यौँ र ठीक १.१५ बजेको थियो, हामी भालुवाङबाट छिरेर शान्तिपुर हुँदै गनाहा खोलाको पुल तरेर प्यूठान जिल्लामा प्रवेश ग¥यौँ । आफ्नो देशको विविधतामा रमाउँदै मीठा–मीठा गफ मार्दै र कविता वाचन गर्दै हाम्रो यात्रा अगाडि बढिरह्यो, बढिरह्यो । चारैतिर प्रकृतिको राज, असाध्य रमाइलो जङ्गल, खोला, खेतबारी । गृष्मको याम, मन्द हावाको स्पर्श आनन्ददायी यात्रा बनेको थियो । पश्चिमी क्षेत्रको विविधता ज्यादै गर्व लाग्यो, यसैबेला मलाई एक श्लोक मुक्तक पनि फु¥यो —
भोर्लो, पैयु, निगालो र सल्लेरीको बाटो
खोला–नाला पार गरी हेर्दै रातो माटो
अघि बढ्यौँ स्वर्गद्वारी काफल–चुत्रो खाँदै
बिर्सिएर बिर्सिंदैन यो प्यूठानी पाटो ।
मोतीपुर हुँदै उकाली–ओराली गर्दै च्युरीका बोट र लटरम्म फलेका फल देखेर लोभिँदै जुडापाटाको माध्यमिक विद्यालय पुगेका थियौँ । प्यूठानको सारी गाउँ नेपालको एउटा सुन्दर गाउँ रहेछ । अब बिस्तारै हामी स्वर्गद्वारीको फेदीमा पर्ने भिङ्ग्री गाउँमा पुगेका थियौँ, जहाँबाट स्वर्गद्वारी आश्रममा पुग्न १४ कि.मी. कच्ची बाटो गाडीमा उक्लेर २ कि.मी. लगभग पैदल हिँड्नुपर्ने रहेछ । भिङ्ग्री कोटमा हामी १÷२ घण्टा बसेका थियौँ, चारैतिर पहाडको दृश्य अवलोकन गरेर । त्यहाँ नेपाल राष्ट्रिय प्रा.वि. रहेछ । पातलो गाउँ भेटियो । बाटोमा बसेका साना–साना भाइबहिनीहरू रहेछन् । तिनीहरू विद्यालयमा पढ्दा रहेछन् । हामीले प्रश्न सोध्यौँ, पोशाक र अन्य रहनसहनको तुलनामा यी भाइबहिनीहरू धेरै दक्ष रहेछन् । मलाई यतिबेला महाकवि देवकोटाको भनाइ स्मरण गर्न मन लाग्यो । जस्तै —
‘यहाँ सेक्सपियर भेँडा चराइरहेछन्
र वाग्नर कोदाली खनिरहेछन् ।’
यसरी हर्ष र खुसीका साथ ६.४५ बजे झण्डै २ कि.मी. तल सवारी साधन थन्काएर एकघण्टा उकालो बाटो पैदल हिँडी हामी स्वर्गद्वारी मन्दिर परिसरभित्र छिरिसकेका थियौँ । मौसमले साथ दिएको थियो । गृष्मऋतुमा पनि गर्मीको कुनै आभास नहुने स्वर्गद्वारी साँच्चै स्वर्गजस्तै अनुभूत भयो । चारैतिर पहाडका चुचुरासित मितेरी लगाएको नीलो आकाशको सामीप्यताले हरियो जङ्गलसित जोडेको गाढा सम्बन्ध नवदम्पत्तिको प्रेम–मिलनभन्दा कम महत्त्वको भनेर आँकलन गर्न सकिन्नथ्यो । मलाई एउटा हाइकु लेख्न मन लाग्यो —
‘यही हो घर
द्वार मात्र किन र ?
देवता बस्ने ।’
आश्रममा खान–बस्नको लागि टिकट लियौँ । रु. ७० खाना परहेड र एक बेडको रु. ५० लाग्दो रहेछ । हामीले बस्नको लागि २ नम्बर कोठा जहाँ ६ वटा बेड थिए, दस जनाको लागि रिजर्भ नै ग¥यौँ । आश्रमको दालभात, तरकारी खाएर त्यहाँका भान्सेहरूसँग केही अन्तर्वार्ता लियौँ जसबाट हामीलाई निम्न कुराहरू पत्तो लागे स्वर्गद्वारी पुण्य भूमिको बारेमा —
(१) तपोभूमिको रूपमा प्रसिद्ध रहेछ स्वर्गद्वारी,
(२) त्रिकालदर्शी बालतपस्वी स्वर्गद्वारी महाप्रभुले सनातन धर्मको मर्यादा कायम राखी विश्वकल्याणार्थ अखण्ड महायज्ञसहित स्वर्गद्वारी आश्रमको बलियो जग बसाल्नुभएको रहेछ ।
(३) बालतपस्वी हंसानन्द गिरीको जन्म वि.सं. १९१६ मा रोल्पाको रुम्टी भन्ने ठाउँमा भएको रहेछ ।
(४) वि.सं. १९५२ मा उहाँको व्यक्तिगत प्रयासबाट संस्थापित एवम् सञ्चालित यो संस्था गुरुशिष्य परम्पराबाट अविच्छिन्न रूपमा सञ्चालित रहेछ ।
(५) वेदब्यासजस्ता त्रिकालदर्शी महर्षिले यही ठाउँमा ठूला–ठूला यज्ञ गरेका रहेछन् । पाँच पाण्डवहरू यही ठाउँमा तपस्या गरेर स्वर्ग प्रस्थान गरेको जनश्रुति पनि रहेछ । सत्ययुगमा प्रजापति ब्रह्माले यही स्थानमा ठूलो यज्ञ गरेर शक्ति सञ्चय गरी सृष्टि गर्नुभएकोले यो स्थान यज्ञभूमिको रूपमा प्रख्यात रहेछ । यसरी ठूला–ठूला ऋषिमुनिजन यही यज्ञभूमिलाई महत्त्व दिएर कठीन तपस्या गरी यहीँबाट स्वर्ग प्रस्थान गरेको हुनाले स्वर्ग जाने ढोका÷द्वारको रूपमा स्वर्गद्वारी भनिएको जानकारी पायौँ ।
(६) राप्ती अञ्चलअन्तर्गत प्यूठान जिल्लाको अग्लो शैलशिखरमा अवस्थित यो पावन क्षेत्र स्वर्गद्वारी समुद्रसतहबाट करिब ८०००। फिट उचाइमा पर्दो रहेछ ।
(७) नित्य ८० ब्राह्मणहरूले हवनकुण्डमा हवन गर्दछन् ।
(८) देउखुरीमा र दाङमा गरेर ६ मौजा जग्गा रहेछ स्वर्गद्वारी आश्रमको ।

आश्रमका दर्शनीय स्थानहरू ः
(क) यज्ञशाला ः
स्वर्गद्वारीको मुख्य दर्शनीय स्थल हो । जहाँ नित्य हवन कार्य भइरहन्छ ।
(ख) गुफा ः
महाप्रभुको समाधिस्थल अर्को दर्शनीय स्थलको रूपमा रहेको छ । यहाँ रुद्राभिषेक र पूजाद्वारा महाप्रभुसँग आफ्नो वेदना बिसाइन्छ ।
(ग) शिवालय ः
गुफा मन्दिरको आग्नेय कोणमा रहेको मन्दिर शिवालय हो । यहीँ नै शिवको नित्य पूजा हुने गर्दछ ।
(घ) सिद्धस्थान ः
आश्रमभन्दा केही माथि सिद्धको स्थान छ । स्वर्गद्वारीमा सिद्धको ठूलो श्रद्धासाथ पूजा हुने गर्दछ । मानवीय त्रुटिलाई सिद्धले पूरा गरिदिने विश्वास छ ।
(ङ) बाँझ वृक्ष ः
यज्ञशालाको दक्षिणतर्फ अवस्थित यो बाँझ वृक्षको ठूलो महत्त्व छ । महाप्रभु रुम्टीबाट स्वर्गद्वारीमा पदार्पण गर्दाको पहिलो रात यही वृक्षको काखमा बिताउनु भएको थियो । दीर्घ तपस्वी यो वृक्षको दर्शन अनिवार्य मानिन्छ ।
(च) गौमाता ः
स्वर्गद्वारी गएर अत्यन्तै श्रद्धा र ममताले पालनपोषण अनि संरक्षण गरिएका गाईहरूको दर्शन गरिएन भने स्वर्गद्वारीको यात्रा अपूरो मानिन्छ । त्यसैले दर्शनार्थीहरूले नुन, पिठो आदि लगेर गौमाताको सेवा गर्दछन् ।
क्रन्दन र कोलाहलले विक्षिप्त मानवबस्तीभन्दा अलग घना जङ्गलले वेष्ठित, अनेक प्रकारका पशुपक्षी, लता, वनस्पतिले सुशोभित स्वर्गद्वारीको प्राकृतिक सौन्दर्य वर्णनानित देखियो । आध्यात्म साधनाका पारखीहरूका लागि यहाँको प्राकृतिक सौन्दर्य कम मनोहर र शालीन पाइएन । प्यूठान जिल्लाको सदरमुकाम खलङ्गादेखि १२ कोश पश्चिममा रहेको यो आश्रम हेर्दा वैदिक सभ्यताका धरोहर महर्षिहरूका आश्रमको झझल्को मेटिदोरहेछ । स्वर्गद्वारी गिरी शिखरको पूर्वमा भिङ्ग्री गाउँ रहेछ । यही गाउँको बाटो गरी यात्रीहरू आवतजावत गर्दा रहेछन् । पश्चिममा कोचिवाङ, उत्तरमा खाला गाउँ, दक्षिणमा धोवाघाट र गोठीवाङ गाउँ पर्दा रहेछन् । स्वर्गद्वारीको नगिचमा सिद्धगुफा, गुप्तिसारे वनकुटी, शुकदेह, सिद्धस्थान, प्रभुपाइला, आरुखर्क, धर्मपानी र ऐसेलुपाटा जस्ता रमणीय र पवित्र स्थान रहेका रहेछन् । विकट पर्वतभूमि भए तापनि प्रभुका अनुकम्पाले पँधेरा, गुहेलीपानी, साउनेपानी, ठूलो पोखरीजस्ता जलाधारस्थानहरू स्वर्गद्वारीको सेवामा अनवरत उपस्थित रहेको पाइयो ।
जामुनो, काफल, साल, बाँझ, साज, बाँस, गुराँस, देवदारु र पाखरीजस्ता ठूला–ठूला वृक्षहरू अनि कमला, केसर, त्रिपत्री, कखीरजस्ता पुष्पका रुख हुनुको साथै अनेक प्रकारका लताकुञ्जले स्वर्गद्वारीलाई शोभा दिइरहने रहेछन् । वरिपरि जङ्गलमा कृष्णसार, मृग, सिंह, बाघ, चित्तल, भालु र दुम्सीजस्ता वन्यजन्तुहरूसँग स्वर्गद्वारीका हजारौँ गाई र साँढेहरूले नाता कायम गरी स्वच्छन्द घुमफिर गर्दा रहेछन् । यो पनि प्रभुकै कृपा हो, आजसम्म यी जनावरहरूका बीच वैरभाव देखिएको छैन रहेछ ।
हामी पुग्दाको दिन आश्रममा भोजन गरेर आश्रममै बस्यौँ । मस्त निद्राबाट ब्यूँझँदा मुसलधारे वर्षा भएको रहेछ । यो २०७० आषाढ मासको २ गते थियो । हामी उठेर स्नान गरी पूजाको लागि तयार भयौँ । वर्षामा भिज्दै मन्दिरभित्र प्रवेश ग¥यौँ ८.३० बजेसम्म पूजा र अर्चना सकेर आश्रमको भान्सामा चिया पियौँ । पानी परिरहेकोले जाडोले गर्नुग¥यो । यहाँ नियमित वेदको पढाइ हुँदो रहेछ । ३०० जना विद्यार्थी गुरुकुलको फ्रि अध्ययन गर्दा रहेछन् । पूजा, रुद्रीपाठ र होमन गर्न २४ जना ब्राह्मणहरू नित्य खट्दा रहेछन् । ६ जनाले आश्रमको भान्सा चलाउँदा रहेछन् । ४०० गाई र ५० भैँसी आश्रम परिसरमा रमाउँदै डुल्दा रहेछन् । अविरल वर्षाको कारण तेस्रो दिनसम्म हामी स्वर्गद्वारीमा रहन बाध्य भयौँ । तेस्रो दिनमा पानीले थोरै विश्राम लिएको समय हेरेर हामी धरमपानीसम्म झ¥यौँ । भिङ्ग्रीको बाटो पहिरोले ब्लक भएको कारण हामी दाङ–घोराही हुँदै फर्किने अठोट त ग¥यौँ, त्यो बाटो पनि बीच–बीचमा गाडी जाम भएको कारण बन्द थियो । झण्डै ३.३० बजे एक होटलमा बास बस्यौँ । त्यो ठाउँमा हामी जेष्ठ ५ गतेसम्म रहनु प¥यो । ४ गते रातिबाट वर्षाले विश्राम ग¥यो । हामी ५ गते बिहान ६ बजे धरमपानीबाट टाप कस्यौँ । अब हामी दाङ–घोराही हुँदै घर फर्कने अठोट ग¥यौँ । हामीहरू बाटोमा फँसेका गाडीहरूकै उद्धार गर्दै बाटो बनाएर आफ्नो गाडी पास गर्दै अगाडि बढेका थियौँ । सुनिल चापागाई, नारायणगढबाट गएको टोलीको ड्राइभर, डिल्लीराम सापकोटा, रामप्रसाद भण्डारी, हामी बास बसेका घरभेटी भाइ देबेन्द्र बूढा र हामी सबैले बाटो सफा गर्दै प्यूठानको स्वर्गद्वारी गा.वि.स. छोडेर अगाडि बढ्यौँ । भारतको उत्तरखण्डमा अवस्थित अति प्रचलित केदारनाथ र बद्रीनाथ तीर्थस्थल बाढीले बगाएको विचल्ली अवस्थाप्रति खेद प्रकट गर्दै हामी हिक्मत नहारी अब रोल्पा जिल्लातर्फ उन्मुख हुँदै थियौँ ।
गाउँलेहरूले नेपालको हरिया पहाडमा त्यसै टल्केका रोल्पा जिल्लाका अनुपम सुन्दरतालाई प्रदर्शन गरेका थिए । कुहिरो रोल्पाको भ्रमणमा थियौँ । हामी भने बाटोभरि पाकेको चुत्रो र टिमुर टिप्दै यात्रालाई स्मरणीय गराएका थियौँ । रोल्पाका आकर्षक ग्रामीण क्षेत्रले हाम्रा आकर्षक ग्रामीण क्षेत्रले हाम्रा आँखा तानिरहेका थिए । यसबेला ११ बजेको थियो, हामी थियौँ रोल्पाको होलेरी बजारमा लगभग १२ बज्दा रोल्पा जिल्लालाई नमस्कार गरी दाङसित मितेरी लगाएका हौँ । यसरी हामी दाङ जिल्लाको दुई खोली हुँदै १.३० बजे घोराही झरेका थियौँ । अब घोराहीमा केही अल्मलिएपछि हामी लमइतर्फ तन्कियौँ । दाङ उपत्यका नेपालको एउटा सुन्दर उपत्यका लाग्यो । यसबेला मलाई तलको भनाइ उदृधृत गर्न मन लाग्यो —
‘पहाडमा राम्रो पाङ
मधेसमा राम्रो दाङ्’
यसरी हामी सात जिल्ला पार गर्दै २ बजे लमइमा पुगेर एउटा होटलमा छिरी रोटी–तरकारी खायौँ । अब हामी सुन्दरबारी, पहरुवा, पिपरी, बिजौरी, मौरीघाट, मसुरिया, बराखुट्टी, लालमटिया, पाखापानी हुँदै भालुवाङ आइपुग्दा ३.४५ भएको थियो समय । कपिलवस्तुको चन्द्रौटा हुँदै अगाडि बढेर हामी ५.४५ बजेको समयमा तिनाउ खोला तरेर बुटवल प्रवेश गरेका थियौँ । यसरी ६.३५ बजे नवलपरासी दाउन्ने पहाड हुँदै ८ बजेको समयमा प्रगतिनगर – घर प्रवेश गरियो । नवलपरासी, रूपन्देही, कपिलवस्तु, अर्घाखाँची, प्यूठान, रोल्पा र दाङ जम्मा ७ जिल्लाको हाम्रो रमाइलो यात्रा पाँच दिनमा पूरा भएको थियो । अन्त्यमा, स्वर्गद्वारीबारे दुई श्लोक कविता —
बस्छन् पवित्र गौमाता, स्वर्गद्वारी छ स्वर्गझैँ
देख्दा प्रकृतिको राज, पुगेझैँ लाग्छ स्वर्गमै ।
गुन्जिन्छन् वेदका मन्त्र, रुद्राभिषेक चल्दछ
स्वर्गद्वारी अहोरात्र, ज्ञानको ज्योति बल्दछ ।
(अनुष्टुप्)

प्रगतिनगर–३, नवलपरासी

प्रकाशित मिति : प्रकाशन मिति : शनिवार, 29 भाद्र, 2070

लेखकका अन्य रचनाहरु