ब्रह्माण्ड र मान्छे

- पुष्कर रिजाल ”शुभेच्छुक”

समय अनुसार मान्छे र उस्को आवश्यकता बदलिदै जान्छ। सपनाहरु फेरिदै जान्छन। गुणहीनबाट गुणस्तर र गुणस्तरबाट गुणहीन, यहि हो चक्रिय छलाङ समयसँगको मान्छेको। इच्छा, आकांक्षा, रहर सबै समयको रफ्तारमा परिबर्तित हुँदै जाने रहेछ। स्वंम मान्छे पनि भौतिक रुप र विचारमा ब्रहमाण्डसँगै बदलिदै गएको प्रष्ट देख्न सकिन्छ। इतिहास यही त पाठ पढाईरहेको छ युगौं देखि निरन्तर। इतिहासको गुलाम भएर हिड्नुको अर्को बिकल्प खै मान्छेसँग? केवल मनुष्य जातिको अध्ययनमा सर्बश्व गुमाएका ऋषिमुनिहरु समेत न त जरा सम्म पुग्न सके न टुप्पोसम्मै। विचमा बसेर ब्रहमाण्ड र मनुष्यको स्व अध्ययन गर्ने कार्य अब कहिल्यै पुराहुन सक्दैन। र त्यो अध्ययन बिश्वसनिय पनि हुदैन।
ब्रह्माण्ड र मान्छे दुबै कैद छन आफ्नै संरचनामा। संरचना एउटै भएपछि आकारको ठुलो महत्व हुँदैन। आकार त्यस्तो चिज हो जो अस्थिर छ र अस्थिरै रहिरहन्छ। अस्थिर हुनुमा नै आकारको स्थिरता छ। आकारको फेरबदलले बस्तुको गुण, आचरण र स्वभाबमा फरक आउदैन। मुसाको सबै गुण हात्तीमा राखेर परिक्षण गरियो भने पनि सुत्ने/लुक्ने बेलामा हात्ती बरु दुलै खोज्ला तर जंगल नजाला। मान्छे र ब्रह्माण्डमा यही कुराको समानता छ। चाहे आकारमा होस या आश्चर्यमा। यहि समानताको सिद्धान्तले हेर्दा प्रष्ट पार्छ की दुबैको एक अर्कामा अन्योन्याश्रित प्रभाब कायम छ, रहिरहने छ। ब्रह्माण्ड र मान्छेको थपघट हुने आयतनले यस्को बिशेषतामा कुनै असर गर्दैन। यो त एउटा नियमित प्रक्रिया हो। र यस्को सम्बन्ध दुबैको अस्तित्वसँग जोडिएको छ। अस्तित्व बोध रहुन्जेलसम्म यी दुबै प्रक्रिया चक्रियतामा चलिरहेका हुन्छन। ब्रह्माण्डिय आश्चर्यता भित्र केबल धरातलिय (सांसारिक) आश्चर्यता अर्थात अंशिय आश्चर्यता मात्र खोज्दै हिड्ने मान्छे आफैंमा आश्चर्य भित्रको अर्को आश्चर्य हो। बाँकी मान्छेहरु त स्वंममै आश्चर्य चकित छदैछन।
ब्रह्माण्डिय स्थाईत्व सुर्यसँग बढि जबाफि हुन्छ भन्ने मेरो ठम्याई छ। वास्तवमा सम्बन्धहरुको सम्बन्धले नै नयाँ-नयाँ सम्बन्धको उदय गर्छ, बिकाश गर्छ। बिना सम्बन्ध पहिचानको जन्म हुन सक्दैन। जसरि घरको स्थाईत्व परिवारका सदस्य र छिमेक, ब्यक्तिको स्थाईत्व समाज र गाऊ/शहर, राष्ट्रको स्थाईत्व आफ्नै प्रादेशिक इकाई, छिमेकि देश र अन्तराष्ट्रिय सम्बन्धमा आधरित हुन्छ। एक ब्यक्तिको स्थाईत्व, पहिचान अन्तराष्ट्रिय सम्बन्धसँग गौढ हुन्छ ठिक त्यसरि नै हाम्रो ब्रह्माण्डिय केन्द्र पृथ्वी हो (हामी पृथ्वी बासी भएकाले) र सुर्य पृथ्वीबाट नजिक छ त्यसैले सुर्य नै हाम्रो ब्रह्मण्डको सबै भन्दा ठुलो हिस्सा हो। यसको स्थाईत्वले नै हाम्रो स्थाईत्वको आधार तयार गरेको हुन्छ। सुर्यको शक्तिको हेरफेरले, उथलपुथलले हाम्रो सम्बन्धको, पहिचानको र स्थाईत्वको हेरफेर हुन्छ। शारिरिक, मानसिक दुबैमा। हाम्रो शक्ति 'वैचारिक' सुर्यको तापमा/ प्रकाशमा निर्भर छ। सुर्यको गतिमै हाम्रो गति निर्देशित छ। चाहे काल्पनिक, वैचारिक वा बिकाशे जे भनौ। त्यसैले सुर्यसँगको सम्बन्ध प्रधान हुनुपर्छ सिमासँगको होइन। यो कुनै अराष्ट्रियवाद अथवा अराजकवाद होइन। न यो मातृभूमी प्रतिको नाजबाफी वा संक्रिणता नै हो। यो मात्र यथार्थता हो। राष्ट्रियता भन्ने चिज सिमासँग जोडेकाले नै मान्छेले आजसम्म सास्ति ब्योहोरिरहनु परेको छ। यो मान्छेसँग जोडिनु पर्थ्यो तर जोडिएन। जसरि हाम्रो विचार स्वतन्त्र छ, सिमा विहिन छ त्यसरि नै राष्ट्रियता पनि सिमा बिहिन हुनुपर्छ। हामी सबै राष्ट्रिय प्राणि हौं। हाम्रो राष्ट्रियता, पहिचान सिमाले होइन कर्मले निर्धारण गरोस। प्रत्येक ब्यक्ति आफैमा राष्ट्रियता र पहिचानको उदाहरण बन्न सकोस। हामी जति छौं यस पृथ्वीमा, जहाँ छौं सबै त्यति नै छौं संख्यामा र एकै थियौ इतिहासको कुनै कालखण्डमा। वा भनौ एउटै प्रक्रिया अपनाएर प्रकृतिको छत्रछायामा, ममतामा हुर्कदै यहाँसम्म आएका हौं। र जति टाढासम्म जानेछौ साथमै जानेछौ। कुनै सिमाले मान्छेलाई, मान्छेको सभ्यतालाई, गतिलाइ छेकेर दुनियासँग अनभिज्ञ राख्न सक्दैन। हामी अनेकतामा एकता झै यहि पृथ्वीलाई एउटै मात्रिभूमि मानेर किन रहन सक्दैनौं? आगमन, अध्यागमनमा किन रोकिइन्छौ, यहि भूमिमा बाँडिएर देशी-परदेशी भएर आफन्तसँग टाढिएर रहन किन बाध्य छौ? सिमामा बारुद पड्काएर आफ्नै मनुष्यत्व किन नष्ट गरिरहेकाछौं? सिमा बिबादले विश्वमा मर्ने मानिसको बार्षिक आँकडा हेर्यौं भने मान्छे हुनुको दम्भ क्षणभरमै तोडिन्छ। के कुनै जनावरले सिमा भित्र आफुलाई कैद गरेको छ। मान्छेको नजिक भएर कुकुरहरुले सिमा तोक्नुको के आश्चर्य? ज-जस्ले राज्य बिहिन समाजको परिकल्पना गरेका छन्, वकालत गरिरहेका छन ति सबैलाई मेरो साधुवाद छ। तिनिहरु यो ब्रहमाण्डका श्रेष्ठ मानव हुन जस्ले धेरै अघि नै यो आबश्यक तथ्यको उजागर गरेका थिए। हामी जहाँ रहुँ हामीले ओगट्ने धर्तीको क्षेत्र उहि हो। बिस्थापित गर्ने प्रकृतिको अंश उहि हो। हामीले गर्न सक्ने पराक्रम पनि लगभग उति नै हो। त किन बार बारिन्छ मान्छेको चाहनाहरुको वीचबाट, बस्ति-बस्तिको वीचबाट।
जमिन जसरि के ब्रह्माण्डको पनि बिभाजन गरिएको छ? कि यो पनि बिभाजनको प्रक्रियामा जाँदै छ? ब्रहमाण्डिय फेरबदलले कुनै दिन हामी यो सौर्य मण्डलबाट टाढा जान सक्ने संभाबना त छदैछ। हुनसक्छ कुनै दिन् यो सौर्य उर्जा समाप्ति तिर गएर यो सारा चराचर जगत पुर्ण रुपले बदलिएला, लोप होला। यी भबिष्यमा आउन सक्ने दैवि बिपत्ति त छदैछ। त्यसबाहेक हामी आफै पनि किन बिपत्तिहरुको सृजना गर्दैछौं? भाषामा, धर्ममा, खानामा, नानामा, छानामा सिमा छैन अनि किन क्षेत्रमा मात्र? सिमा राख्ने नै हो भने हरेक कुरामा राख नत्र बार लगाउदै प्वाल पार्ने काम कसैले गर्न पाउदैन। होइन भने सृष्टिको एक अभिन्न अंश हुनुको नाताले मान्छेको स्वतन्त्र पर्याबरणमा, बिचरण गर्ने अधिकारमा अंकुश किन? अंकुश त उस्को ब्यबहार र कर्मलाई हेरेर पो हुनुपर्ने होइन र? यो ब्रह्माण्डमा सबै मान्छेको हिस्सा बराबर होस्। आकाश र धर्तीलाई सबैले बराबर ओढ्न र ओछ्याउन पाउन। यो बहसमा सबैले आ-आफ्नो ठाउबाट एक पटक गम्भिर भएर सोचौं। ब्रहमाण्ड र मान्छेको बीचमा खिचिएको यो बिभेदकारी पर्दालाई सकिन्छ भने वैचारिक हतियारको बलामा च्यात्ने प्रयत्न गरौं।
जय 'ब्रह्माण्ड र मान्छे' !!

प्रकाशित मिति : प्रकाशन मिति : शनिवार, 29 भाद्र, 2070

लेखकका अन्य रचनाहरु