भर्चुअल दुनियाँमा नेपाली साहित्य

- फणीन्द्र संगम

नेपाली साहित्यसम्बन्धी पत्रिका निस्कन थालेको साढे एघार दशक पुगिसक्यो। १९५५ सालमा प्रकाशित नेपाली भाषाको पहिलो साहित्यिक पत्रिका 'सुधासागर'यता धेरै पत्रिका निस्किए, बन्द भए । पत्रिकाहरू अब कागजका अक्षरमा मात्रै सीमित छैनन्। सूचना र प्रविधिमा नेपालले मारेको फड्कोबाट साहित्य बाहिर छैन । अर्थात्, नेपाली भाषाका पत्रिकाहरू इन्टरनेटमा लोकप्रिय हुँदै छन् ।
कुनै कुनामा बसेर लेखिएका सिर्जना इन्टरनेटको सहायतामा सामाजिक सञ्जाल वा वेबसाइटमा राखिदिने हो भने संसारभरका पाठकले तत्काल पढ्न सक्छन् ।

बेबसाइट र ब्लगसँगै साहित्यसम्बन्धी कतिपय फेसबुक पेजसमेत चर्चित छन् । पाठक र लेखकलाई प्रत्यक्ष जोड्ने काम तिनले गरेका छन् । विदेशमा बसेर नेपाली साहित्यिक वेबसाइट चलाउनेको संख्या ठूलो छ ।

अनलाइनकै माध्यमबाट कयौं पुस्तक प्रकाशन भएका छन्, साहित्यिक छलफल भएका छन् । कतिपय साहित्यिक अनलाइनले त स्रष्टालाई सम्मानस्वरूप नगद नै प्रदान गर्ने गरेका छन् ।

'लेखकलाई संसारभर पु¥याउन प्रयास गरिरहेका छौं,' लन्डनबाट प्रकाशित हुने समकालीन साहित्य डटकमका सम्पादक कृष्ण बजगाईंले अनलाइनमा भने । उनको साइटले १५ विधामा साहित्य सामग्री राख्दै आएको छ । 'विनाविज्ञापन ठूलो पैसा र श्रम खर्च गरेर चलाइरहेका छांै,' उनी भन्छन्, 'अहिलेसम्म रोयल्टी दिन सकिएको छैन ।'

खसखस, साहित्य संगालो, नेपाली लिटरेचर, साहित्य संसार, मझेरी, जिएफएनएल डट ओआरजी, साताको साहित्य, अनलाइन साहित्य, नेपाली कला साहित्य, नेपाली गजल डटकमजस्ता साइटले साहित्यिक सामग्री निरन्तर पस्किरहेका छन् । मझेरी डटकमले तामाङ, नेवारी, मैथिली, लिम्बू, भोजपुरी भाषाका रचनालाई पनि समावेश गर्दै आएको छ । अन्य भाषा समेट्ने साइट देखिन थालेका छन् ।

अस्ट्रेलियाबाट सञ्चालित साताको साहित्यले वर्षभरि प्रकाशन भएकामध्ये उत्कृष्ट रचनालाई पुरस्कृतसमेत गर्छ । गत वर्ष रवीन्द्र समीरको लघुकथा 'ढुंगाको देवता'का लागि १० हजार नगद दिइएको पत्रिकाका कार्यकारी सम्पादक सुमन घिमिरेले बताए । 'लेखकले प्रतिरचना पाँच सय रुपैयाँ रोयल्टी पाउँछन्,' उनले भने, 'पुरस्कारको राशि बढाएर यो वर्षदेखि २० हजार र सम्मानपत्र दिने निर्णय गरेका छौं ।' साताको साहित्यमा प्रकाशित रचना एक सातासम्म वालमा रहन्छन् ।

सन् २००७ देखि सञ्चालनमा आएको समकालीन साहित्यले अहिलेसम्म १४ सय ५० लेखकका तीन हजार छ सय रचना प्रकाशन गरिसकेको छ । सम्पादक बजगाईं भन्छन्, 'नेपाली भाÈा–साहित्यलाई संसारभर विस्तार गर्दै साइबर युगमा पु¥याउने प्रयास हो ।' कथा, लघुकथा, कविता, गीत, गजल, निबन्ध, नियात्रा, विचार, अनुवाद, कृति समीÔा, हास्यव्यंग्य, जीवनी, वार्ता, संस्मरण स्मृति, व्यक्तित्व र कृतित्व विधाका सामग्री उनको साइटमा पढ्न पाइन्छ ।

'पाठकले भिन्न स्वादका रचना पढ्न पाएका छन,' बजगाईंले भने, 'अब नेपाली भाÈा अन्तर्राष्ट्रिय भाÈा भएको छ । अन्तर्राष्ट्रियकरणमा साहित्यिक वेबसाइटले मद्दत पु¥याएका छन् ।'

नेपालमा भन्दा विदेशमा रहेका नेपाली भाषा–साहित्यप्रेमीको सक्रियतामा सञ्चालित वेबसाइटको संंख्या तुलनात्मक रूपमा बढी देखिन्छ । यहाँका साहित्यकारमा प्राविधिक ज्ञानको कमीले वेबसाइट सञ्चालनमा रुचि नदेखिएको कथाकार नारायण तिवारीको भनाइ छ ।

'नेपाली पत्र–पत्रिकाको अभावले गर्दा विदेशमा साहित्यिक रुचि बढी हुँदो रहेछ,' साताको साहित्यका कार्यकारी सम्पादक घिमिरेले भने, 'फुर्सदको समय अनलाइन बसेर साहित्यिक वेबसाइट हेर्नेहरू विदेशमा धेरै छन् ।'

तिवारीका अनुसार प्रविधिमा दुई खालका प्रयोगकर्ता छन्, मनोरन्जनमा रमाउने र सिर्जनामा रमाउने । फेसबुकमा निर्माण भएका कतिपय साहित्यिक पेज सिर्जनामा रमाउनेका लागि उपयोगी बनेका छन् । वेबसाइट र यस्ता पेज सिर्जनात्मक अभिव्यक्तिको सजिलो माध्यम पनि हुन् । 'सिर्जनामा जुटेका युवाका लागि साहित्यिक पेज उपयोगी छन्,' उनी भन्छन्, 'पत्रपत्रिकाको पहुँचसम्म नपुगेका लेखकका लागि यस्ता पेजले लेखनमा ऊर्जा थप्ने गर्छन् ।' उनी फेसबुक पेज 'लघुकथा कुनो'का संस्थापक पनि हुन् । यो पेजमा जोडिन आउनेको संख्या अहिलेसम्म एक हजार छ सय ३८ पुगेको छ । लघुकथालाई मात्र स्थान दिने पेज प्रयोगकर्ताबीच क्रिया–प्रतिक्रिया भइरहन्छ ।

फेसबुक पेजबाटै सिर्जनामा लाग्नेहरू अहिले राम्रा लेखक पनि बनेका छन् । कुनै पत्रिकामा नछापिए पनि फेसबुकबाटै चर्चामा आउने पनि उत्तिकै छन् ।

उपन्यास कुनो, कथा चौतारी, कविताकृतिहरू, बुकाहोलिक्स, हाम्रो नेपाली नाटक, नेपाली गजल डटकम, राष्ट्रिय मुक्तक मण्डप नेपाल, हाइकुको लालित्यजस्ता पेजले पनि फेसबुक प्रयोगकर्तामाझ लोकप्रियता कमाइरहेका छन् । यी पेजमा सम्बन्धित विधाका कृतिबारे जानकारी, तिनको टिप्पणी, प्रतिक्रिया समावेश हुन्छन् । कतिपय साहित्यिक पत्रिकाले वेबसाइट समेत सञ्चालन गरेका छन् । 'पत्रिकाको पहुँच नपुगेका पाठकका लागि वेबसाइट प्रभावकारी बन्दो रहेछ,' प्यास राष्ट्रिय गजल पत्रिकाका अनलाइन सम्पादक दीपसागर पन्तले भने, 'नेपाली भाषा साहित्यमा घुलमिल भइरहन प्रवासी नेपालीले साहित्यिक अनलाइन बढी प्रयोग गर्छन् ।'

साहित्यकार किशोर पहाडीले चार वर्षदेखि सञ्चालन गर्दै आएको पेज हो, पेन लभर्स इन नेपाल । यसमा साहित्यिक समाचार र साहित्यकारबारे जानकारी राखिन्छ । पहाडीले हरेक हप्ता ५० वर्ष पार गरेका एक साहित्यकारको तीन कालखण्डका तस्बिर पनि अपलोड गर्ने गर्छन् । 'फेसबुकमा जति पनि ठाउँ पाइने भएकाले पेज बनाउन सजिलो छ,' उनी भन्छन्, 'नामअनुसारको काम गरियो भनेमात्र त्यसमा आबद्ध प्रयोगकर्तालाई फाइदा पुग्छ ।' कृति विमोचन, साहित्यिक अन्तरक्रियाबारे जानकारी दिइने भएकाले यो उपयोगी पेज बनेको उनको दाबी छ ।

लघुकथा कुनोका संस्थापक तिवारीले सोही पेजमा होमर श्रेष्ठ, मोहनराज शर्मा, दिव्य गिरी, विनय कसजू र एलबी क्षेत्रीसँगको अन्तर्वार्ता पनि प्रकाशन गरिसकेका छन् । आफैंले सञ्चालन गरेपछि बढी खट्नुपर्ने भएकाले सिर्जनात्मक समय गुमेको उनमा गुनासो पनि छ । 'आफू एडमिन रहँदा लेख्ने समय पेजमै बिताइयो,' उनी भन्छन्, 'तर अरूलाई सहभागी गराउन पाएकोमा खुसी लागेको छ ।'

यीबाहेक फेसबुकमा अत्यधिक साहित्यिक पेज छन् । कुनै पनि पेज निर्माण गर्दा एडमिन रहनुपर्छ । तर, एडमिनले नियन्त्रण गर्न नसकेका कतिपय पेज समाचारका लिंक, विज्ञापन र अश्लील तस्बिरले भरिएका छन् ।

'अबका दिनमा साहित्यकारले प्रविधिको प्रयोग नगरी सुखै छैन' भन्छन्, साहित्यकार पहाडी । 'हस्तलिखित सामग्री पत्रपत्रिकाले छाप्दैनन् । इमेल, इन्टरनेट र सामाजिक सञ्जालबारेको ज्ञान हरेक साहित्यकारमा हुनैपर्छ,' उनले भने ।

सञ्चालनमा आएका साहित्यिक वेबसाइट वा फेसबुक पेज सबै अपडेट हुँदैनन् । 'नामका लागि सुरु गर्ने अनि अपडेट नगर्ने प्रवृत्ति देखिन्छ,' पहाडी भन्छन्, 'दैनिक अपडेट गरेर वेबसाइटको लिंक फेसबुकमा राखिदिए त्यो बढी प्रभावकारी हुन्छ ।'

सञ्चालनमा आए पनि अपडेट हुन नसकेका साहित्यिक अनलाइनले नियमितता दिने हो भने इन्टरनेटमार्फत् नेपाली भाषा–साहित्यलाई विश्वभर चिनाउन मद्दत पुग्नेछ ।

नागरिकबाट

प्रकाशित मिति : प्रकाशन मिति : आईतबार, 23 भाद्र, 2070

लेखकका अन्य रचनाहरु