शैलु दिदी

- पेशल आचार्य

‘अन्ततः शैलु दिदी गुमनाम मृत्यु मरिन् ।’
शम्भुले आँखामा गहभरि आँसु पार्दै भने । मलाई (म भनेको कथाकार) शैलु दिदीको मृत्युको खबरमा एकप्रकारको नमिठो पीडा त अघिदेखि छँदै थियो फेरि शम्भुको शोकमग्न भावमुद्रा देख्दा असाध्यै दुःख लागेर आयो ।
शम्भु मेरो हितैसी मित्र हो ।
हुन् त उसको शैलु दिदीसँग रगतको नाता छैन । उसका घरभरि आफ्नै दिदीबहिनीको ताँती छ ।
शम्भुलाई शैलु दिदीको असामयिक निधनले निकै बिथोल्यो ।
उसको आफ्नै सानो भए पनि घरपरिवार छ । ऊ कसैको लोग्ने हो, कसैको पिता र कसैको पुत्र हो । राजधानीको रैथाने शम्भुलाई एकसरो लाउँनखान पनि अभाव छैन । उसका साथीसँगीहरू पनि निकै छन् । तिनीहरू सहरमा आआफ्नो पेसामा रमेका छन् । जमेका छन् ।
ऊ पनि सहरमा रमेको थियो । उसले उसको भनाइअनुसार नै चाहेजति पढ्न सकेन रे ! त्यतिखेर पनि काठमाडौँमा घरैपिछे प्लस टु र टोलै पिच्छे क्याम्पसहरू थिए ।
‘शिक्षालय भएर के गर्नु मानिसलाई पढन नआएपछि कसको के लाग्छ र ?’ शम्भुले मलाई फेरि भन्यो ।
उसका बा सहरमा मजदुर थिए । आफूले नसकेपछि उसका बाले शम्भुलाई धेरै पढाएर वकिल बनाउँने सपना उनको मुटुको अन्तरकुन्तरमा राखेका थिए । तर शम्भुले आशातीत रुपमा पढाइमा प्रगति गर्न नसकेपछि उनले एक दिन बिरक्त हुँदै भनेका थिए –‘हाम्रो मुद्दाको यस्तो झन्झटले गर्दा शम्भुलाई मैले वकिल भएर कालो कोटमा रमाउने मानिस देखेको थिएँ ।’ त्यो दिन उसले बाबुको मुखमा मलिन भाव पढेको थियो । के गर्नु इच्छा नभएर होइन भएरै पनि उसले उसको बाबुले भनेजति गरी वकिल पढ्न सकेन ।
उसलाई आज शैलु दिदीको मृत्युको खबरले उसको दिवंगत बाबुको सपनाको पत्र फेरि नयाँ बनाएर कलेजोमा तीखोगरी प्रहार गरिरहेछ ।
बाबुले उसको आँखाबाट संसार हेर्ने कोशिस गरेका थिए । ऊ शैलु दिदीको सहयोगबाट आफ्नो छोराको इन्जिनियर बन्ने सपना देखिरहेको छ । तर दुवै सपनाका महलहरूमा नराम्ररी हुरी आयो र ती सिसाझैँ फुटे । उसका बाका सपना त तुहिएतुहिए । अब उसको सपनामा पनि नराम्ररी तुषारो प¥यो ।
शम्भुले मलाई भन्यो –‘उसको शैलु दिदीसँग भेट त्यस्तै पचपन्न सालमा मित्रपार्कनेर भएको रहेछ ।’ शैलु दिदी त्यतिखेर मन्त्री हुनुहुन्थ्यो ।
उसले शैलु दिदीसँग भएको अप्रत्याशित भेटबारे बताएको थियो –‘पचपन्न सालतिरको कुरा हो । म एकजना साथीसँग मित्रपार्कतिर जाँदै थिए । मित्रपार्कबाट एउटा झन्डावाल गाडी निस्कँदै थियो । गाडीभित्रकी महिलालाई देखेर मैले साथीलाई सोधेँ । ‘उहाँ शैलजा आचार्य होइन ?’ उसले ‘हो’ भन्यो । मैले सोधेँ –‘म वहाँलाई नमस्ते गर्न सक्छु नि ?’ साथीले टाउको हल्लाएपछि सुरक्षाकर्मीहरूलाई पन्छाउँदै नजिकै गएर ‘मन्त्रीज्यू, नमस्कार’ भनेँ । उहाँले पनि ‘नमस्कार’ भन्नुभयो । त्यसबेला उहाँ उपप्रधानमन्त्री हुनुहुन्थ्यो । पार्टीका नेता र मन्त्रीहरूले साधारण मान्छेसँग कुरै गर्दैनन् नमस्ते नै फर्काउँदैनन् भन्ने सुनेको थिएँ तर शैलजालाई मैले सुनेँभन्दा बेग्लै पाएँ । उहाँको नाम मैले रेडियो र टिभिमा धेरै पहिलेदेखि सुन्दै आएको हुँ । उहाँ कस्ती मान्छे हुनुहोला भन्ने खुल्दुली पनि थियो तर त्यस दिनपछि म वहाँको प्रशंसक बनेँ ।’ यति भनिसक्दा पनि शम्भुका आँखाका डिलहरू फेरि त्यस्तै चौवन्नपचपन्न सालतिरको च्छो रोल्पा हिमतालझैँ फुट्नफुट्न खोज्दै थिए । तर यसपटक पनि उसले ती सहानुभूतिका अश्रुरसलाई बल गरेर आँखैमा दबायो । दुखित भावले होला उसले त्यतिखेर आफ्ना दुवै ओठ दाँतले टोकेको थियो ।
ं ं ं
शम्भुले फेरि अर्को दिन बतायो –‘उपप्रधानमन्त्रीबाट हटेपछि उहाँको ड्राइभर मेरो काकाका छोरा लक्ष्मण हुनुहुन्थ्यो । उहाँलाई दिदीले अन्तै जागिर लगाइदिनु भएछ तर मलाई थाहा थिएन । त्यतिबेला म मेरै ट्याक्सी चलाउँथे । मलाई आफ्नै संसारमा फुर्सद थिएन । मैले वहाँलाई बिसेर्को थिएँ । सहरमा यस्ता कति मानिसहरू छन् । तिनीहरूसँगको भेटलाई सधैँ सम्झिरहन पनि त सकिदैँन ।’
उसले फेरि बतायो –‘पचपन्न सालकै मंसिरको अन्तिम हप्तातिरको एक दिन लक्ष्मण दाइले मलाई बिहानै आफ्नो घर बोलाउँनुभयो । म गएपछि वहाँले ‘दिदीको घरमा जाऊँ’ भन्नुभयो । दिदीलाई ड्राइभर चाहिएको रहेछ । मलाई दिदीको घर गएपछि मात्र थाहा भयो । दाइले मलाई वहाँलाई चिनाउँदै भन्नुभयो ‘यो मेरो भाइ हो, अब यसले गाडी चलाउँछ ।’
यसरी म दिदीको घर र गाडीसम्म पुगेको थिएँ ।
मैले काम गर्न थालेकै अर्को दिन दिदीले मलाई ‘हामी बीसपच्चीस दिनलाई बाहिर जाँदै छौं’ भन्नुभयो । मैले आफू काठमाडौँ बाहिर नगएको कुरा उहाँलाई बताएँ । पछि थाहा भयो वहाँ जिल्ला भ्रमणमा जान लाग्नुभएको रहेछ । अर्कै ड्राइभरले दिदीलाई जिल्लाबाहिर लग्यो ।
कार्यक्रम सकेपछि वहाँ फेरि राजधानी फर्कनु भयो । म बिहान सबेरै जान्थे र राति गाडीलाई थन्क्याइवरि घर फर्कन्थे । एकदिन दिदीले भन्नु भयो –तिमीलाई अप्ठ्यारो भए यहीँ बस ।’ पछि म दिदीको घरमा त्यहीँ बसेँ ।
यसरी म त्यो घरको सदस्यझैँ भएको थिएँ । दिदी कम बोल्नुहुन्थ्यो । एकदिन उहाँले मलाई आफ्ना बारेमा सबै सोध्नुभयो मैले नढाँटी भनिदिएँ –‘मेरो बिहे भैसकेको छ । दुईजना छोराछोरी छन् ।’ दिदी असाध्यै हक्की र स्वाभिमानी खालकी मानिस हुनुहुँदो रहेछ । काम गर्दागर्दै मैले वहाँलाई चिने । नेपालको राजनीतिमा यस्ती हक्की, स्पष्टवक्ता र निडर मानिस त्यसमा पनि महिला नेतृ मैले देखेको छैन । मेरो चुरोट खाने बानी थाहा पाएर वहाँकी आमा इन्दिराले मलाई निकै नराम्रो मान्नुभयो तर दिदीले नै ‘खानेभए खाऊ तर पछाडिको कोठामा ढोका लगाएर खाऊ’ भन्दा वहाँकी आमाले वहाँलाई एकपटक गाली पनि गर्नुभयो । त्यो गालीले मलाई नराम्रो चोट पु¥याएपछि मैले चुरोटै खान छाडिदिएँ । मलाई निकै दिनसम्म पनि मेरा लागि शैलु दिदीले गाली खाएको कताकता मन परेन ।
ं ं ं
दिनहरू त्यसरी नै बिते जसरी रत्नपार्कमा गुडेका र ट्राफिक जाममा परेका गाडीहरू रोकिँदै हिँड्दै गुड्ने गर्छन् । मैले दिदीलाई राम्ररी नै सेवा गरेको थिएँ । एकपटक दिदीकी आमा नराम्ररी बिरामी पर्नुभयो । त्यसबेलामा मैले मेरो मिसेजलाई वहाँकी आमाको हेरचाहमा पठाइदिएँ । यसरी मेरो मिसेज पनि त्यस घरकी सदस्य भएकी थिई । कहिलेकाहीँ मेरा छोराछोरीहरू पनि दिदीको घरमा जान्थे । त्यति ठूलो पदपाएकी भएपनि मेरा छोराछोरीसँग दिदी निकै मजाले गफिनु हुन्थ्यो ।
मलाई राम्रो लाग्थ्यो । मेरो छोराको पढाइ राम्रो भएकाले एकपटक दिदीले नै कुरा उप्काउँनु भयो –‘यसलाई राम्ररी एसएलसी पास गराऊ । म आफ्नै खर्चले इन्जिनियर पढाइदिन्छु ।’ यसोभन्दा त्यसबेला दिदीका आँखामा मैले भरोसाको भाव पढेको थिएँ ।
आज वहाँ असमयमै हामीलाई चटक्क छाडेर जानुहुँदा हामीलाई आफ्नै अभिभावक गुमाएझैँ लागिरहेछ । कतिपय मानिसहरू त वहाँको प्रगति देखेर डाह गर्थे । खासगरी आफ्नै राजनीतिक पार्टीका सहकर्मीहरूलाई वहाँको भ्रष्टाचार विरोधी प्रवृत्ति उतिसारो निको लागेको थिएन ।
एकपटक दिदीले मलाई भन्नु भएको थियो –‘अब म सानुबाबुलाई भनेर भारतको राजदूतमा जान्छु ।
‘शम्भु तिमी पनि मसँग जानुपर्छ ।’ दिदीले त्यसोभन्दा मैले केहीपनि प्रतिक्रिया जनाइनँ । पछि मैले सुस्तरी भनेको थिएँ –‘म त जान्न होला, दिदी तर हजुरलाई सेवा गर्न मेरी मिसेजचाहिँ पठाउँछु ।’
दिदीले केही भन्नु भएन । खालि सुनिरहनु भयो, मात्र ।
एकप्रकारले वहाँ निकै हठी पनि हो । वहाँ आफ्नो तर्कमा अडिनुहुन्थ्यो । कसैले वहाँको अन्र्तमनको आवाजलाई सुनेन भने वहाँ जस्तोसुकै निर्णय लिन पनि पछि पर्नु हुन्नथ्यो । जलस्रोत मन्त्रीहुँदाको घटना रमाइलो छ । दिदी देशका ठूला बिजुली प्रोजेक्टको विरोधी हुनुहुन्थ्यो । वहाँ यस्ता विदेशी आयोजना गरिब देशले थेग्न नसक्ने भएकाले हामीले थोरै लगानीमा हुने साना जल विद्युत्मा लगानी गर्नुपर्छ भन्नुहुन्थ्यो । म त त्यस्ता नीतिगत कुरा बुझ्दीनथेँ तर बुझ्ने मानिसहरूले भनेको सुनेको छु । दिदीकै अडानका कारण साना जलविद्युत् नीति त्यतिखेरको सरकारले बाध्य भएर पारित गराएको थियो रे !
अलिअघि वहाँ कृषि मन्त्री हुँदा पनि मलको व्यापारमा हुने घोटालाको विरुद्धमा राम्रैगरी जमेर विरोधमा लाग्नु भएको थियो तर सरकारनै माफियाहरूलाई संरक्षणदिने भएकाले दिदी त्यसपटक पनि असफल हुनु भएको थियो रे !
मुख्य कुरो त दिदी आफूलाई कसैले महिला भनेर कठैबरा भनी सान्त्वना दिएको एकरत्ति पनि मन पराउँनु हुन्नथ्यो । वहाँ आफू महिला भएर कसैको पनि माया पाउनकै लागि मोरमोलाहिजा गर्न चाहनुहुन्नथ्यो । एकदसकको मेरो सेवामा वहाँले मलाई निकै शिक्षा दिएर जानुभएको छ । आफू जुनसुकै कार्यक्रममा जाँदा पनि वहाँ पहिला हामी सवारी चालकलाई खानापिनाको व्यवस्था गराएर मात्र आफू खानु हुन्थ्यो ।
वहाँ जे हुनुहुन्थ्यो त्यो छवि बाहिर देखिन्थेनँ । बाहिर देखिएको व्यक्तित्व आन्तरिकरुपमा भित्र वहाँको थिएन । कहिलेकाहीँ मलाई वहाँको यस्तो विरोधाभाषपूर्ण व्यक्तित्व निकै गूढ लाग्थ्यो । तर मसँग त्यस्तो प्रवृत्तिको विश्लेषण गर्ने क्षमता थिएन । आखिर म एउटा सामान्य चालक न थिएँ ।
एकपटक म निकै बिरामी भएँ । मसँग औषधि गर्ने पैसा पनि थिएन । दिदीले नै त्यसबखत मलाई ओम नर्सिङ् होममा लगेर उपचार गरी निको पार्नुभयो । एकप्रकारले भन्ने हो भने हाम्रो त वहाँ अभिभावकनै हुनुहुन्थ्यो ।
आज वहाँ बित्नु भएको भन्ने कुरा यो मनले स्वीकार्नै चाहिरहेको छैन ।
हुन त धेरै मानिसहरू वहाँको मृत्युबाट भित्रभित्र खुसी पनि भैरहेका होलान् । अझ खासगरी कोइराला परिवारका लागि वहाँ बाटाको काँडा नै हुनु भएको ठान्थे –तिनीहरू । मेरो सोचमा दिदी त्यस्ती खालकी पटक्कै हुनुहुन्थेन । आफ्नो उन्नति आफैँ गर्ने स्वाभावकी र चाकरी चाप्लुसी नगर्ने भएकैले वहाँ नेपाली राजनीतिको पछिल्लो समयमा निकै पाखा लगाइनुभयो । यो वहाँको जीवनको अर्कै पाटो हुनसक्छ ।
आज सबैभन्दा चिन्ता मलाई र मेरो छोरा सुयशलाई परेको छ । ऊ अहिले एसएलसी डिस्टिङ्सन स्थानमा पास भएर बाह्र कक्षा पढ्दै छ । उसको एउटा सफल इन्जिनियर हुने सपना अब कहिल्यै पूरा नहुने भएको छ । म उसलाई उसले भनेको विषय पढाउँन सक्दिनँ । उसले त्यही कुरा बुझेकाले हिजोआज ऊ निकै स्याडो मुडमा छ ।
दिदी मरेको दिन ऊ त्यसरी भक्कानिएर रोला भन्ने मैले सोचेकै थिइनँ । उसका बाउआमा हामी छँदै थियौं । उसको त त्यही सपना चुँडिएको थियो तर उसले देखाएको चिन्ता र उत्तेजनाले मलाई पनि त्यसदिन भित्रैदेखि हुँडलो मच्चाइदियो । म पनि गहभरि आँसु पारेर झोक्राइरहेँ ।
ं ं ं
आर्यघाटमा वहाँको चिता जलिरहँदा मेरा मनमा अनेकौं भावहरूले पिङ खलिरहेका थिए । यो हाम्रो समाज कस्तो जगमा उभिएको होला ? एउटा स्वाभिमानी मानिसलाई आफ्ना अन्र्तआत्माको आवाज सुनेर काम गर्न पनि दिँदैन । अनि कसरी हुन्छ यहाँको सामाजिक उन्नति । म सामान्य चालक भए पनि वहाँको करिबन एक दसकको संगतले गर्दा यस्ता कुराहरू पनि सोच्न सक्ने भैसकेको रहेँछु ।
सम्झेँ । गहिरिएर सोचेँ ।
दिदी गम्भीरताकी धनी हुनुहुन्थ्यो । लामो यात्रामा गएका बेला या जिल्ला भ्रमणका निस्केका बेला उहाँ प्रायः गाडीको अगाडिको सिटमा बस्नुहुन्थ्यो । म आराम गरेरै पछाडिको सिटमा बस्न अनुरोध गर्थे तर वहाँ भन्नु हुन्थ्यो –‘अगाडिको सिटमा बस्ने मानिस निदायो भने चालकलाई पनि निद्रा लाग्छ । त्यसैले तिमीलाई ननिदाउने बनाउँन म अगाडि बसेकी हुँ ।’ म दिदीको यस्तो कुरालाई काट्न पनि सक्दिनथेँ । हो, हामी चालकलाई त्यस्तो फिलिङ् हुन्छ पनि ।
‘आज मै उपर.....आसमा निचे......’ भन्ने हिन्दी गीत दिदीलाई निकै मन पथ्र्यो । यतिमात्र कहाँ हो र वहाँ हिन्दीका मुकेस, किशोरकुमार र मन्नाडेका उदासी भरिएका गीतलाई दोहो¥याईतेहे¥याई सुन्नुहुन्थ्यो । वहाँले आफूले सांसद् हुँदा पाएको सुविधाको पैसाबाट ललितपुरको भैसेँपाटीमा चारकोठाको घर बनाउँन सुरु गर्नुभएको थियो तर त्यो पूरा हुन नसकेपछि आफ्नी बहिनी मधुलिकाकी छोरीका नाममा नामसारी गरिदिनु भएको थियो ।
निकैअघि वहाँका भाइबुहारीले वहाँलाई आमाले दिएको अंशमा झमेला थप्न अंशमुद्दासमेत दिएका थिए । त्यसपछि दिदी ट्«ेड युनियनका नेता लक्ष्मण बस्नेतले मित्रपार्कमा दिनुभएको एउटा घरको फ्ल्याटमा सरणार्थीजस्तै भएर बस्न लाग्नुभयो । वहाँले आमा इन्दिरालाई पाल्नुभएको थियो । बीचमा वहाँ एउटा अघोर पन्थी बाबाबाट दीक्षा लिएर पोखरामा अघोर आश्रम बनाउँन पनि कम्मर कसेर जुट्नुभएको थियो । त्यो काम पनि पैसाको अभावमा त्यतिकै तुह्यो । दिदीले आफ्ना लागिभन्दा सामान्य मान्छे र दुःखीलाई बढावा दिनु भएको कुरो काँग्रेसको राजनीति गर्नेहरूलाई पचेन । यसरी दिदी गुमनाम हुन पुग्नभयो ।
वहाँको मृत्युको कारण वहाँको आफ्नै स्वाभिमान रहेछ ।
मैले चालक भएर बुझेको गुह्य यही हो ।
शम्भुले यसरी शैलु दिदीका व्यक्तिगत र सामाजिक इच्छाहरूको लामो फेहरिस्त मेरा सामु प्रस्तुत गर्दा कसोकसो मेरा आँखामा पनि पोहोर साल भदौमा फुटेको सप्तकोसीको बाँधझैँ टिलिपिलटिलपिल आँसु छचल्किरहेका थिए ......।
टीकाथली –४, ललितपुर, हालः मन्थली, रामेछाप

प्रकाशित मिति : प्रकाशन मिति : आईतबार, 23 भाद्र, 2070

लेखकका अन्य रचनाहरु