अर्धसत्य

- युवा बराल ‘अनन्त’

कालो अलकत्रे सड़कको छेउमा छ उसको घर । दुई तले बिल्डिङ्ग । घरको मूल द्वार सड़कपट्टि फर्किएको छ । सड़कको समतलमा दुईवटा दोकान कोठा, पछाड़ि भान्साघर अनि एउटा वैठक कोठा छ । त्यहिंबाट घुमेर एउटा सिंड़ि उँधो झरेर तल्लो तला पुगिन्छ, जहाँ आभा, रुपेश, दिनेश र तिनीहरुका आमाबाबाका निम्ति भनेर भिन्न-भिन्न कोठाहरु छन् । कसैगर्दा पनि एउटा कोठा अतिथिहरुको निम्ति भनेर निकाल्न सकिएन भनी आभाका बाबा भित्र-भित्रै असन्तुष्टि उग्राउँछन् ।

आभालाई घरको कोठा रखाई मन परेको थिएन । भान्साघर तल्लो तलामा हुनुपर्थ्यो। दोकान कोठा केवल एउटा राख्दा काफि थियो । तर उ बोल्दिन । बोल्छ रुपेश । अनि दिनेश पनि । बोल्रेर के हुन्छ र! जो बनिनु थियो त्यो बनिइसक्यो । बाबाआमाको सपनालाई सम्मान दिनुपर्छ भन्थी आभा भाईहरुलाई पनि। भाईहरुको मुख थुनेर बाबाआमाको मुहार हँसिलो हेर्न चाहन्थी उ ।

रङ्ग लगाउने बेलामा मात्र छोरा-छोरीको मनसाय लिएका थिए आभाका बाबा दिवाकरले । आमा सर्मिलाले पहेंलो रङ्गको सिफरिश गरेकी थिइन् । आभाले जस्तो पनि हुन्छ भनेर भन्दिएकीले रुपेश र दिनेशको भाउ बड़ेर गएको थियो । रुपेशले प्यारोट ग्रीन भन्यो, दिनेशले स्काई ब्लू । सबैलाई सोधेर तर रङ्ग पनि अन्तमा आफ्नै इच्छाको लाइट पर्पल लगाएका थिए दिवाकरले । त्यो उनको एकाधिकार थियो । तर एकदमै खुलेको र सुहाएको थियो त्यो रङ्ग घरलाई । खुशी सबैभन्दा ज्यादा आभा नै भएकी थिई किनकि त्यो रङ्ग उसको मनपर्दो र प्यारो थियो ।

यी थिए दिवाकरको सुखमय देखिने घरको बाहिरी आकार प्रकार अनि रङ्ग ।

राति दश बजे पश्चात दिवाकर उठ्छन्। आफ्नी अर्धाङ्गनी उता घुर्दै गर्दा उनी यता घर बनाउँदा लागेको ॠणको रहल हिसाब जोड़दै हुन्छन् । राति बाह्र बजे एक गिलास चिसो पानी पिए पछि ओछ्यानमा पस्छन् । सिह्रानीमा शिर राख्दै ती दृश्यहरु एक पछि अर्को पालो फेर्दै हिसाब माग्दै आउँछन् अनि अबेर राति फर्किजान्छन् ।

किन बनाए उनले घर, छोरा छोरी पढ़ाउन छोड़ेर ? अन्तरात्माले प्रश्न गर्छ । किन नबनाउँ एउटा घर, त्यो मेरो कहिले देखिनको सपना थियो, जतिबेला मेरा छोरा-छोरी जन्मिएका थिएनन् ।

छोरी आभालाई घर बनाउनुले गर्दा (?) पढ़नका निम्ति टाड़ा जाने मौका पाउँदा-पाउँदै पनि पठाउन सकेनन् । त्यही क्षोभले पनि निद्रा कोशौं दूर भगाउँछ दिवाकरको कुनै-कुनै रात, हर रात उनी आफ्नो विगत पल्टाएर ओड़ेर छङ्गै अनिदो सुतेका हुन्छन् ।

दिवाकरको विगत, आभाको वर्तमानको धरातल हो । आभा आज जहाँ छे त्यहाँसम्म सुव्यवस्थित डोर्याइ ल्याई पुर्याउने दिवाकरको विगतको कठोर संघर्ष र अटुट वोश्वासको लामो पर्खाई थियो । अनि त्यो घर नै हो उसको बाबाले बाँचेको पुग अपुग जीवनको प्रतिविम्ब । उनी एक ट्रक चालक हुन्; ध्रुवसत्य त्यही हो । उनी अर्काका नोकर हुन्; अरुले त्यही सत्यता बोल्छन् । उनको हातमा गाड़ी चलाउने इलिम थियो त त्यसैको आधारमा उनले नोकरी हाशिल गरे । बीस बर्ष भयो सबैले उनलाई “काईंला ड्राइभर” पुकारेर चिन्ने गरेको । तर उनले वहन गरेको आफ्नो हैसियत र उत्तरदायित्वलाई कहिले भुलेनन् । जुन इमानदारीकासाथ उनले त्यो गाड़ी चलाए, त्यसैको कमाईले त्यो घर बनिएको छ आज, हल्का वैगुनी रङ्गले सुसज्जित । छोरीले बह्रौं श्रेणी उत्तिर्ण गरेकी छे, छोराहरु क्रमैले छैठौं अनि नवौं श्रेणीमा पढ़दैछन् । गाड़ी चलिरहेकै छ, घरमा पनि, सड़कमा पनि ।

कम्ति पढ़ेका छन् दिवाकरले । तसर्थ छोरीको कोठामा सजिएको टेबुलमाथि थाक लागेको मोटा मोटा किताबहरुले ठिट्याउँछन् उनलाई । ती किताबहरु विस्तारै छुन्छन् र ओल्टाई-पल्टाई गरेर तिनीहरुका नाम र विषयवस्तु पढ़िराखेर पुन: त्यहीं मिलाई राख्छन् । त्यति पढ़न उनी जान्दछन ।

छोरी डाक्टरी पढ़न चाहन्छे । जीव विज्ञानमा दोस्रो श्रेणीमा उत्तिर्ण भए पश्चात गुरुहरुले दिएको परामर्शलाई आभाले पनि अँठ्याएर निकै दिन जिद्दिगर्दा सफलता हात नलागेपछि, निन्यौरो बनेर बसेकी थिई । खासगरि सर्मिला चाहन्नन् छोरीलाई बाहिर पठाएर पढ़ाउन । उनलाई अति नै डर लाग्छ रे ।

एकपल्ट आँट गरेर मनको इच्छा पोखेकी थिई आभाले – ‘आमा, म एकलै कहाँ हो र! त्यहाँ त हामी जस्ता हजारौं केटीहरु पढ़न आउँछन्। म पनि तिनीहरुसंगै पढ़िहाल्छु नि !’

उसकी आमाले गहभरि आँशु डब-डबाई असमञ्जसता र असहमति जनाएको कुरा आभाले बुझेकी थिई । भाईहरु पनि त पढ़दै छन् । तिनीहरुको भविष्य पनि सोचिदिने कर्तव्य अब उसको हो ।



रहर कसको हुँदैन र! आभालाई डाक्टर बन्ने रहर थियो । डाक्टर बन्नसक्ने औजार उसले आर्जन पनि नगरेको होइन । उसमा योग्यता पनि नभएको होइन । आफ्ना हितैषि साथीहरुले जोश, उत्साह अनि प्रोत्साहन दिन पनि नचुकेका होइनन् । वश ! यहाँ आइपुगेर टुप्पा काटियो आभाको । हाय ! कति समय लाग्ने हो नि अर्को हाँगा पलाउन ।

X X X


हल्का नीलो रंगको साड़ी पहिरेकी एउटी युवती म चेड़ेको गाड़ीको पछिल्लो सिट्मा चढ़छे । हल्का बैगुनी रङ्ग लगाएको घरको अघि उभिएर एउटा हातले साड़ीको आँचल समाउँदै अर्को हातले गाड़ी रोकिदिने आग्रह गरेकी थिई उसले चालकलाई । चालकले देख्नु भन्दा पनि पहिला मैले नै उसलाई दिखेको थिएँ- एउटी पातलो सुहाउँदिलो जीउ-डालकी गहुँगोरी हँसिली त्यही माथि त्यो हल्का नीलो साड़ीमा सुसज्जित । घचक्क रोकिएको थियो गाड़ी पनि । मेरो छेवैको सिट खाली थिएन, उ पछिल्लो सिटमा बसी । अनि मेरो मनमा पनि ।

आधा घण्टाबाद उसको गन्तव्यमा गाड़ी रोकियो । यो एउटा सानो बजार थियो । मलाई पनि त्यहीं झर्नु थ्यो, उत्रें । गाड़ीको चालक आफै उत्रेर दैलो खोलि त्यो युवतीलाई उतारिदिएको थियो । निकै मस्केर भाड़ा मिलाउँदै थिए, हतार थियो, आफ्नो भाड़ा दिएर म अघि बड़ें ।

केही क्षण पश्चात म उसलाई पुन: देख्दै थिएँ । त्यो युवती बजारको भिड़मा अलग्गै देखिन्थी । त्यो हल्का नीलो साड़ीको रंग मेरो आँखामै बसेको थियो । त्यो गज्याङ्ग-गुजुङ्गभित्र पनि म उसको उपस्थिति प्रष्ट देख्थें । त्यो चहल-पहलमा पनि म उसको भिन्न चाल-ढाल एकाग्र विचारिरहेथें । अग्लो उँचाई अनि उही पातलो छरितो सुहाउँदिलो शरीरमा एउटी सौम्य मुहारकी नव-यौवनाले, मेरो उत्सुक्तालाई झन झन जिस्क्याईरहेकी भान हुन्थ्यो । म हेराईको त्यही निरन्तर प्रवाहसंगै चिया दोकानभित्र पसें चिया पिउन भनी । दोकानभित्रको चौकीमा बस्दा नबस्दा मेरा एक स्कुले जीवनका सहपाठी उदयसित भेट भयो । म त्यता भुलिएँ, उ कता विलाई अत्तो-पत्तो भएन ॥

त्यो मित्रले अगिदेखि चियो गर्दैथ्यो कि कसो मलाई झस्किने गरी झकझक्यायो – “ पराय स्त्रीलाई त्यसरी निर्निमेष हेर्ने बानी अझै गा’को छैन? मान्छे चैं बुढ़ो भैसक्यो, लाज हुन्छ है लाज !”

म साँच्चै अकमकिएर रातो भएको थिएँ । कुरा लम्बिन नपाउँदै मैले उसलाई अनुनयन गरेको थिएँ – “ उ को थिई?”

उसले गिज्याएर भनेको थियो “ त्यो क्या त हौ, त्यत्रो फेमस पर्सनालिटि पनि चिन्दैनस पाजी ! आफ्नो विबी बच्चा हुँदा-हुँदै पनि त्यस्तो केटीको चासो लिन्छस ! हे… हे… मान्छे हेर्दा मात्रै सोझो देखिन्छ कि क्या हो हौ !” भन्दै मेरो उपहासमा आडम्बरी हाँसो हाँसेको थियो ।

“भन् न भन् सोझै, चिन्छस भने भन् नत्र चुप लागेर आफ्नो बाटो लाग !” मैले रिसाएको अभिनयमा बोलेको थिएँ ।

उसले गिल्ला गरेको लवजमा महत्वहीन बोलेको थियो – “ त्यो ट्रक ड्राइवर छैन त्यो के भन्छ, त्यो रामलाल कैयाँको, त्यो क्या त हौ, अँ काइँला ड्राइवर! हो तेस्की छोरी नाम के रे अँ आभा, … आभा हौ । ऐले याँ टिचर ट्रेनिङ्ग गर्दैछे नि ! क्या क्युट छे हई !”

त्यसपछि उसले त्यो युवतीको चरित्र विषयमा यस्तो बेलिविस्तार सुनाएको थियो कि सुनेर म एकदमै अचम्भित तथा दिग्भ्रमित बनेको थिएँ । । म अवाक उसका ती अपत्यारिला र घिनलाग्दा कुराहरु सुनिरहन वाध्य थिएँ । मेरो हृदयमा बसेको त्यो हल्का निलो रङ्गको साड़ीमा हिलोको अँध्यारो कालो मैलो रङ्ग छ्यापिएको भान भयो । म किंकर्तव्यविमूड़, भावशुन्य के के सोचिरहेको थिएँ कि एउटा किशोर केटो आएर बोलाउँदै भन्यो-“ दाजु गाड़ी भरियो, जौं अब”। म उसका कुरा नटुङ्गिई उठेर हिंड़न वाध्य भएँ । मनभरि नानाथरिका अव्यक्त भाव खेलाउँदै दोकानबाट बाहिरिएँ ।

गाड़ीको अघिल्लो सिटमा… उही हल्का नीलो रङ्गको साड़ी पहिरिएकी युवती, मलाई भर्खरै चिनाइएको काइँला ड्राइभरकी छोरी, आभा, अगावै बसिसकेकी थिई । म पुग्दा हल्का मुस्कानमा, अलिकति ठाँउ छोड़दै बोलेकी थिई- “आउनुहोस न अंकल, तपाईंकै प्रतिक्षा थियो।“ म पुन: झस्केर उसलाई हेर्छु । शान्त मुद्रामा, उ, कुनै अपरिचित सहयात्रीको प्रतिक्षा गरिरहेकी पाएँ । उसको आवाजमा एक किसिमको स्वभाविक मोहक्ता थियो भने लवजमा त्यस्तै लचिलोपन । उसले ‘अंकल’ भन्दा यस्तो मीठो लयमा भनेकी थिई कि मलाई कुनै नराम्रो लाग्दै लागेन यध्यपि उ मसंग बोलिरहोस झैं लागेको थियो । गाड़ी विस्तारै हिंड़यो आफ्नो रफ्तार लिएर ।

“अङ्कल! तपाईं अगि पनि यै गाड़ीमा हुनुहुन्थ्यो हैन?” अकस्मात उ बोलेकी थिई । म पुन: अर्कोपल्ट झस्किन्छु । “हो त नि ! कसरी चिन्यौ ?” म प्रश्नलाई तेर्स्याइदिन्छु ।

“तपाईंको यो डार्क ब्राउन सर्टको रङ्गले चिनेको नि ! यो कलर मेरो फेब्रेट हो” । उसको सहज उत्तर थियो । म खल्बलिन्छु एकाएक अनियंत्रित बनेर । कस्तो अपूर्व संयोग हो यो । ‘के मेरो क्षणिक उपस्थितिले पनि यसरी कोही प्रभावित बन्न सक्छ र ?’ म सोंचमा पर्छु । ‘मेरो लवाई, खुवाई अनि जिवाईको पनि कुनै महत्व बनेर त्यो कसैको निम्ति अभिरुचिको विषय बन्न सक्छ र ! म पनि कसैको निम्ति यति महत्वपूर्ण बन्न सक्छु र!’ वैचारिक उद्वेलनको ज्वारभाटा उठ्छ मनमा ।

भाव तरङ्ग अकस्मात छचल्किन्छ विचारको सङ्कुचित आँगनभरि । मेरो मनमा उ प्रति एक किसिमको मोह अर्थात चाह पलाउन थाल्यो । पुरुष हुँ, ममा पनि त्यो व्यभिचारी मान्छेको सुसुप्त रुप भित्र कतै वास बसिरहेको रहेछ, ज्ञात भयो । त्यो जाग्दै थियो । पाप नलागोस, उदयको कुराले बिथोलिएको मेरो सशंकित मनमा उसको त्यस किसिमको समीपताले थप ऊर्जा भरेको थियो । उसको मनोहर मुहार,शरीर,पहिरन, सजावट, हेराई, मुस्कान अनि बोलीले जो कोहीलाई पनि उतिर खिंचेर राख्न सक्ने चुम्बकीय शक्ति थियो । म पनि बत्तीसित खेल्न आएका ती निर्दोष पुतली सरी स्वयं झुम्मिंदै थिएँ एकाएक उसको चम्किलो ज्योति र रापिलो ज्वालातिर ।

‘किन चुप हुनुभो तपाईं? कि बोल्न मन परेन ? … अँ …यता कहाँ आउनु भा’को थ्यो ? अनि तपाईंको घर नि ?’ थुप्रै जिज्ञासाले कोट्याई उसले मलाई एकैसाथ । तन्द्राबाट ब्युँझे झैं नसोची बोलिपठाउँछु -“ तिम्रो आण्टीकोमा, अनि तिमी नि !”

“तपाईंले देख्नु भयो होला जहाँबाट म बिहान चड़ें, हो त्यही हो हाम्रो घर । मेरो नाम आभा । सायद तपाईंले मेरो बाबालाई चिन्नु हुन्छ होला, सबैले उहाँलाई ‘काईंला ड्राइभर’ भन्छन् । उहाँ ट्रक चलाउनु हुन्छ” । केहीक्षण चुप रहँदा मैले उसको त्यो महानतालाई निहारें । उसलाई गर्व नै रहेछ आफ्नो बाबाप्रति । उसको अनुहारमा किञ्चित पनि हिनताबोध थिएन । उ बोलिरहेकी नै थिई- “ हामी छोरी मान्छे रे, एमबीबीएस पढ़न बाहिर जान्छु भन्दा आमा विलौना गरेर रुनु भयो, नानाभाँतिको वहना लगाउनु भयो, बाबाले नानाकिसिमको उदाहरण देखाएर सम्झाउनुभयो नजानु भनेर । पैसा धेरै लाग्छ रे, खर्च पुर्याउनु साह्रो पर्छ रे, अनि सबैभन्दा खासकुरा के भने म छोरी हुनुले उहाँहरुलाई डर लाग्छ रे, अर्काका छोरीहरु बाहिर पढ़न गएकाहरु कोही उतै बिहे गर्छन रे, कोही उतै कसैले थाहै नपाई हराँउछन् रे, कोही कुलतको शिकार बनी जिउँदो लाश फर्कन्छन् रे, कोही अर्काको हवशको शिकार बनी उतै आत्माहत्या गर्छन् रे । कोही अकारण आफ्नो पढ़ाई अधकल्चै छोड़िराखेर उल्टा फर्कि आउँछन् रे ।…………। (निकै समय चुपचाप रहेपछि ) बुझ्नु भो होला मेरो कुरा । हो………> त्यसैले…< त्यसैले म जान पाइनँ, अनि गइनँ पनि , अब जान्न पनि …।

मैले धेरै बुझेर पनि नबुझे झैं भनें-“ त्यो त सब स्वयंमाथि निर्भर रहन्छ नि होइन र ? तर तिमीले एककिसिम ठिकै गर्यौ । तिमीले बाबाहरुको भावनालाई पनि सम्मान दिनै पर्थ्यो, दियौ । तर तिमले कुन सही कुन गलत भन्ने खोट्याउन सक्नुपर्थो । त्यो सब तिमीमाथि नै निर्भर थियो । सबैभन्दा प्रबल तिम्रो आत्माविश्वास हुनु आवस्यक थियो । तिमीले उनीहरुलाई अडिग विश्वास दिलाउन सक्नु पर्थ्यो । खैर …!’’

आभाले झट्टै जवाब फर्काई-“ हो मैले हजार कोशिश गरें, तर फेरि हाम्रो घरको आर्थिक अवस्था तगारो बनेर ठड़ियो मेरो अघि । बाबाले पैसा छैन, म सक्दिन त भन्न सक्नु भएन, तर मैले नै बुझ्नु पर्यो नि होइन र ! भाईहरु पढ़दैछन् । आमा बिमार भैरहन्छिन् । घर बनाउँदा लागेको ॠण तिर्न बाँकि नै छ । बरु भाईहरुले राम्रो पढ़े म पठाउँछु तिनीहरुलाई बाहिर पढ़न । के मेरो फैसला सही थियो कि थिएन, अङ्कल ?”

कति बुझकी र ज्ञानी रहिछ आभा ! कति संस्कारी ! कति स्निग्ध !! कति स्वच्छ अनि सरल !!! कुनै झरनाको सङ्ग्लो पानीको रङ्ग जस्तो पारदर्शि उसको स्वभाव !!! मेरो मनमा उप्रति प्रगाड़ स्नेह उम्रेर आयो । मेरो हृदय भरिएर कुन्नि कस्तो गह्रौं अनि रुग्ण बनेको थियो । एकान्तमा हुन्थ्यो त म उसलाई अँगालेर निधारमा चुम्थें हुँला र अशेष आशिर्वाद दिन्थें हुँला । अखण्ड सौभग्यवती भव: भन्थें हुँला । सुनिबसें उसलाई, सुनिबसें ।

म बोलेकै थिइनँ उ फेरि उत्सुक्ताकासाथ बोल्दैथिई- “ तपाईं कुनै सरकारी विभागमा काम गर्नुहुन्छ?”

अकमकाएर बोलेको थिएँ –“ हो म जन सेवा विभागमा कार्यरत छु । किन?”

अनुनयनीय लवजमा बोलेकी थिई- “ तपाईंलाई एउटा सानो रिक्वेस्ट गर्छु, हुन्छ ?

“भन न कस्तो कुरा!” मैले निकै गम्भिरताकासाथ उसको अनुरोधलाई स्वीकारे झैं गरेको थिएँ । उसले मेरो आँखाभरि निहार्दै कुनै चिर परिचितलाई दङ्ग्याए झैं लाड़े स्वरमा बोलेकी थिई- “के सानो नोकरी मिलाईदिन सक्नुहुन्छ तपाईंको विभगमा? जस्तो भए पनि हुन्छ । हाम्रो शिक्षण तालिम पनि सकियो, आज दिक्षान्त थियो। तसर्थ यो साड़ी पहिरिएकी !”

“राम्री! असाध्यै राम्री देखिन्दैछौ यो साड़ीमा, …पक्का । अनि तिम्रो शिक्षण तालिमको चैं के हुन्छ ?” उसको प्रशंसा नगरि सकिन मैले । त्यो दोस्रो वाक्य मेरो कण्ठबाट अनर्गल फुत्किएको थियो, पछिबाट खेद लागेको थियो । कत्रो भरोशा बोलें म ! कतै कारणवश उसको इच्छापुर्ति गर्नसकिन भनें !!

“ कुनै दिन काम लाग्ला, होइन र अङ्कल ! पढ़ेको त कहाँ खेर जान्छ र !” उसले यसरी ममाथि सम्पूर्ण विश्वास चड़ाएकी थिई ।

म असमञ्जसमा पर्दैथिएँ । म केही बोल्न नसकिरहेको थिएँ , हठात गाड़ी रोकियो । उसको घर आईपुगेछ । उ गाड़ीबाट निस्कनु नपरे पनि हुन्थ्यो झैं गरेर बाहिर उत्री । उ तल झरेको भित्रबाट एकोहोरो हेरिरहें । उसले पनि आँखाभरि धेरै अपेक्षा साँचेर हेरिरही । गाड़ी क्षणभर पनि रोकिएन हाम्रो निम्ति । मैले केही भरोशा दिलाउने मौकै पाइन । उसले पर्खिरहेको जवाब मेरो तर्फबाट फर्किनै पाएन । गाड़ीले रफ्तार लिईहाल्यो । धेरै कुरा अधुरै रह्यो ।

यसरी हामी छुटियौं आधा बाटो मै । यतिबेला मलाई उदयप्रति घृणा उब्जेर अएको थियो भने आभाप्रति सम्वेदना !!

X X X

उही अलकत्रे सड़क । ओहोर दोहोर भैरहँदा देख्छु, त्यही घर, उड़दै गएको, हल्का वैगुनी रङ्ग । हिउँदो-वर्खा, घाम-पानी, झरी-खड़ेरी, हिलो-धूलो, अँधेरी-उजेली, रात-दिन, शीत-वाफ आदिको थपेड़ाले हिर्काउँदा हिर्काउँदा क्लान्त बनेका ती घरका भित्ताहरुले त्यो रङ्गको अस्मितालाई जोगाईराख्न सकेन कसो । समय र परिस्थितिले मान्छेलाई कुन हदसम्म परिवर्तन गराउँछ कुन्नि, घर छेउमा लमतन्न सुतिरहने त्यो कालजयी सड़कलाई मात्र ज्ञात होला । उसका उध्रिएका छाला र उप्किएका पाप्राहरूलाई विधित होला, छेवैकी एउटी निष्पाप युवती ‘आभा’को त्यो अप्रतिम भविष्य ।

उही आभा, जो केही दिन अघिमात्र मेरो संसर्गमा आएकी थिई, जसले मलाई दुखिरहने एउटा घाउ नासो स्वरुप सुम्पिराखिदिएकी थिई । जसले, मलाई उसको खजमजिएको वर्तमानले प्रदान गरेको एक गुजुल्टो जिन्दगीको जटिल समस्या समाधान गर्न भनी सुम्पिदिइराखेकी थिई । जसले, मेरो सोझो मस्तिष्कलाई बिथोल्दै भ्रमको एउटा विस्तृत फाँटमा विचरण गर्न भनी छोड़िराखिदिएकी थिई ।

हो, उही आभा नामकी युवती, जसलाई यहिं कहिं देख्छु, ऐले देख्छु, भरे देख्छु, कहिले देख्छु, आज देख्छु, भोली देख्छु भैरहन्छ, तर ऐलेसम्म एक झलकसम्म उसलाई प्रत्यक्ष रुपमा चिन्नेगरिकन देख्नसकेको छुइन ।

हिज आज के गर्दै होली ऊ, कता जाँदै होली, के उ मबाट आगामि दिनहरुमा, कुनै वखत, झरिलो आश्वासन पाउँछु या त सानो नोकरी पाँउछु नै भनि प्रतिक्षारत बसेकी होली ? म किन उसको घरमा उत्रेर उसको बारेमा सोधि-खोजि गर्न सक्दिन ? किन म उसित भेट्न लालायित रहेर पनि भेट्न सक्दिन ? किन म त्यहाँनेर आईपुग्दाखेरि देखिनु र छलिनु माझ झुलिरहेको हुन्छु ? म किन उदेखि भरसक भाग्न चाहन्छु ? के यी मेरा नितान्त व्यक्तिगत वैचारिक उद्वेलन मात्र हुन ? फेरि किन म उही बाटो निरन्तर धाईरहन्छु ?

म अभ्यस्त सदैव त्यो बाटो हिंड़िरहँदा, त्यहीं आईपुग्दा, आभाको त्यो सौम्य मुहार र मायालु स्वभावको झल-झली याद आउँछ ।उसको त्यो मधूर याद संग-संगै मलाई उसको त्यही अनुत्तरित वाक्यको तीक्ष्णपनले चस्सै घोंच्छ - “एउटा सानो नोकरी मिलाईदिन सक्नुहुन्छ तपाईंको विभागमा?” के यो वाक्यको आघातद्वारा उद्पादित पिड़ाले साँच्चै म दुखें र ? चोट पर्दो हो त यतिका दिन म किन निष्क्रिय अनि लाचार छु ? किन म छटपटाइनँ ?

हो यही वाक्यले, मलाई मेरो वास्तविक परिस्थितिको कठोर धरातलमा उभ्याइदिएकोथ्यो । उसले, मेरो व्यक्तित्वमा निकै प्रोत्साहनको तेल भर्दै उसको आशाको दियो जलाइसकेकी थिई। परोक्षमा उसले मेरो आशक्ति अनि अपाङ्गपनलाई वेस्मारि निचोरेकी थिई । उदयको व्यङ्यात्मक उपहासले भन्दा पनि आभाको खुला किताब झैं त्यो आत्मीय व्यवहारले मलाई अधिक लाञ्छित तुल्याएको थियो ।

अनि त्यही वाक्यले, उसलाई, आर्थिक विपन्नताको उत्ताप भुवँरीमा रुमलिएकी एउटी निरीह प्राणिको रुपमा चिन्हाइदिएकोथ्यो । उ के वास्तव मै त्यो आगोमा पिरोलिएकी थिई ? पत्यार लाग्न गाह्रो पर्ने सुक्खा मौसममा सन्देहको सानो वीज उम्रने तर्खर गर्छ ।

आजकल, म पटक पटक कुन्नि कुन एउटा अव्यक्त भयले तर्सिरहन्छु, जब जब म कहीं कतै एकान्तमा, या भिड़मा, त्यही हल्का नीलो रङ्गको साड़ीमा सजीएकी कुनै नव-यौवनालाई देख्छु ।

बिरिङ्ग रिनाक पूर्व सिक्किम

प्रकाशित मिति : प्रकाशन मिति : आईतबार, 23 भाद्र, 2070

लेखकका अन्य रचनाहरु