नितान्त व्यक्तिगत गन्थन

- छविरमण सिलवाल

नेपाली साहित्यमा हरि अधिकारीलाई चिनाई रहनु पर्ने नाम होइन । पछिल्लो समयमा उनी कवि, साहित्यकार भन्दा पनि खरो समिक्षकको रुपमा चिनिन्छन् । नेपाली साहित्यका विविध पुस्तकहरूको खरो समालोचकका रुपमा रहेका अधिकारीलाई विभिन्न आरोप प्रत्यारोप पनि लाग्ने गरेको छ । सस्ता टिका टिप्पणी र आरोप प्रत्यारोपले उनलाई घाटा भएको छैन बरू उनको लोकप्रियता वढाएको अवश्य छ । साहित्यिक पुस्तकहरूको गुण दोषलाई खरो प्रस्तुित गर्ने एउटा समिक्षकले आफूले कस्तो रचना सिर्जना गर्ला भन्ने पाठकहरूलाई अवश्य पर्छ नै । त्यसो त उनी नेपाली साहित्यमा आफ्ना मौलिक रचनाहरू अथवा मौलिक पुस्तक लिएर देखा परिरहेका छन् । उनको पछिल्लो कवितासङ्ग्रह गार्मेन्टकी गायत्री निकै लोकप्रिय रहेको थियो । हालै मात्र उनले आफ्ना संस्मरणलाई र निवन्धात्मक रुपमा समेटेर “साठी वर्षपछि” पुस्तक प्रकाशन गरेका छन् । आम पाठकहरूको कौतुहलताका विषय बनेका हरि अधिकारीको यो पुस्तकले पाठकका विचारहरूलाई शान्त पार्ने छ नै । उनका संस्मरणत्मक निवन्धहरू नितान्त व्यक्तिगत गन्थनका कुराहरूले वढि प्रसय पाएका छन् । कतिपय समयमा भएका उतारचढावसंगै उनले भोगेका यथार्थ कुराहरू पनि हामीले यस पुस्तकमा पढ्न सक्छौं । उनको साठी वर्ष लामो जीवनका कथाहरूको संगालो भन्दा पनि हुन्छ यो पुस्तकलाई । उनले जीवन जीउनको लागि गरेका संघर्षका साथै साहित्यिक क्षेत्रमा उनको योगदानका कुराहरू पनि यहाँ समेटिएका छन् । नेपाली राजनीतिमा उनको प्रभाव र विकृतिका नमूनाहरू पनि यस पुस्तकमा अटाएका छन् । “छपामार युवतीसंग एक छिन”बाट शुरु भएको उनका यी संस्मरणहरू “कमल जोशीको संम्झना गर्दै”बाट टुङ्गिएको छ । जम्मा २४ ओटा उनका संस्मरणको पुस्तकलाई प्रतिष्ठित प्रकाशन संस्था रत्न पुस्तक भण्डारले प्रकाशनमा ल्याएको छ । नेपाली काङ्ग्रेसका संस्थापक नेता कृष्णप्रसाद भट्टराईका सन्दर्भलाई समेटेर तिन ओटा संस्मरण रहेका छन् प्रस्तुत पुस्तकमा । भुटानी शरणार्थीहरूको अमेरिका प्रवासका कुराले पनि यस पुस्तकमा ठाऊँ पाएका छन् । समिक्षकको प्रष्टिकरण शिर्षकले उनले पत्रपत्रिकाहरूमा समिक्षा गर्दा व्यहोर्नूृ परेका तिता यथार्थहरूलाई यहाँ प्रष्टिकरण गरेका छन् । नेपाली साहित्यमा एक आपसमा गरिने यस्ता टिका टिप्पणी नौला नभए पनि हरि अधिकारीका रूपमा अलि बेग्लै ढंगले प्रस्तुत भएका पनि छन् । यस अर्थमा उनी एउटा खरो समिक्षकका रुपमा रहेको ले गुण दोष केलाउनु एउटा असल समिक्षकको कर्तव्य पनि हो । उनले यही नियम पालना गरेकैले आफूविरुद्ध लागेका आरोपलाई यहाँ संस्मरणात्मक रुपमा प्रस्तुत गरेका छन् हेरौं एउटा नमूना ः–“हरि अधिकारीले गर्ने प्रत्येक पुस्तक समिक्षकबाट एक एक जना मलामी घटाउँदै लगेको छ । कुनै लेखकलाई सराप दिनुप¥यो भने तेरो पुस्तकको समिक्षा हरि अधिकारीले गरोस् भनिदिए पुग्छ । पुस्तकको संसारलाई साँप र सिँढीको खेल मान्ने हो भने त्यसको सिँढी गोविन्दराज भट्टराई र सर्प हरि अधिकारी हो । एउटाले सिँढी चढाउनमात्रै जान्ने, अर्काले खसाल्नमात्रै ।” आदी आदी यस्तै झटाराहरूको सामना उनले व्यहोरेको सत्य हो तापनि उनले आफ्ना संस्मरणमा यी कुराहरूलाई उल्लेख गरेका छन् । यो उनको लेखकिय इमान्दारीता पनि हो । मूलतः हाम्रा बहुसंख्यक साहित्यकारहरू आफ्ना कृति माथि गरिएको आलोचनालाई सह्य मान्दैनन् । उनीहरूका सिर्जनालाई राम्रो गुणस्तरीय र अब्बल दर्जा दिए भने मात्र खुशी हुने हाम्रो परम्पराले नेपाली साहित्यलाई नराम्ररी गाँजेको छ । यसले गर्दा साहित्यको गुणस्तर दिनप्रति दिन खस्किरहेको छ । यदि हरि अधिकारी जस्तै खरो समिक्षक ५ जना मात्र भैदिए भने नेपाली साहित्यको गुणस्तरियतामा सुधार हुने नै थियो । उनी एक्ला बृहस्पति जस्ता भएका छन् । तापनि जीवनको पछिल्लो अवस्थामा उनको साहित्यमा निकै सक्रियता वढेको पाइएको छ, यसको नमूना साठी वर्षपछि पुस्तक हो । यस पुस्तक भित्रका कतिपय निवन्धहरू पढ्दा भावुक पनि बनाउँछ पाठकहरूलाई । भैरव अर्यालको दुखदायी अन्त्य, बीपीको अभिनन्दनको त्यो क्षण, हुआँ कार्लोसको अभिनन्दन, भूपिको शोकसभा आदि शिर्षकका संस्मरणहरूमा उनको त्यसबेला पनि शाहसिक कार्य गरेका रहेछन् भन्ने झझल्को देखाउँछन् । यस्तै यस्ता आफ्ना जीवनका रोचक प्रसंग र तिता मिठा अनुभवलाई समेटेर उनले पुस्तकका रुपमा प्रस्तुत गरेका छन् । उनका केही संस्मरणहरू भने पढ्दा अधुरा जस्ता लाग्छन् । लेखकले यथेष्ट मेहनत नगरेको जस्तो महशुस भईरहन्छ । हुनतः उनले अखवारी लेखनका क्रममा लेखिएका संस्मरणहरू यहाँ समेटेका हुन् । पुर्नर्लेखन नभएका कारणले यस्तो लागेको हुनसक्छ । यी कुराहरू गहिरिएर हेर्दा मात्र यस्तो लाग्छन् । यद्यपि उनको लेखन अब्बल दर्जाकै छन् । उनका यी संस्मरणहरू पढ्दा साहित्यमा लाग्ने जो कोहीलाई पनि उर्जा प्रदान गर्न सक्षम रहन्छन् ।

प्रकाशित मिति : प्रकाशन मिति : आईतबार, 16 भाद्र, 2070

लेखकका अन्य रचनाहरु