एउटा सग्लो प्रतिबिम्ब

- बैद्यनाथ उपाध्याय

चौतरफा
विश्वायनको हुरी चलेको छ
कपास सरी उडिरहेछन
नैतिकता, आदर्श र
मान्यताका धुजाहरु
भागमभागको
यो चर्को प्रतिस्पर्धामा
लडखडाएका पाईलाहरू सम्हालदै
आफ्नै मनको क्यानभासमा
मेरो समयको
एउटा सग्लो प्रतिबिम्ब उतार्ने
जमर्को गरिरहेछु।
अज्ञताको कालो पोतिएर
क्यानभासभरि
धुँवा धुँवा देखिएको
यो समयमा
सुन्दछु कतै कालाहांडीका बुभुक्षूहरूको
विभत्स चित्कार
कतै नन्दीग्राम का विस्थापित
किसानहरूको पराजित पीडा
आज के भयो
मेरो यो समयलाई
चिरै चिरा भएको देख्दछु अनुहारहरू जताततै
साम्प्रदायिकताको सिकार बनेर
आफ्नै घरमा शरणार्थी बन्नुको
पीडा बोकेर
कालो मैलो हुँदै काल्लिएको छ आकाश
वसुधैव कुटुम्बकमको
यो उर्बर भूमिमा
आज शकुनीका कुट कौशलहरू
मौलाईरहेछन।
समाजमा गुरूहरू
अहं भवामि सुखिन
अहं असानि निरामयको
मंत्र रटिरहेछन, रटाईरहेछन
स्वाँ स्वाँ गर्दै छानामाथिबाट
गुज्रिरहेछ विश्वायनको हुरी
विश्वनै एउटा गाउँमा समेटिएको यो बेलामा
संकुचित बन्दै गएका
मनुजका मनहरू
अब केवल मैं खाउँ, मैं लाउँ,
मै मात्रै अघि बढूँको
दर्शन अघिबढाइ रहेछन।
चौतरफा प्रदुषणले धमिलिएको
यस्तो यो विकट घडीमा
म देख्दछु
मेरो क्यानभास नै
छिद्रै छिद्रा बनेको छ
म सोचिरहेछु
अब कसरि उत्रिएला
मेरो समयको
एउटा सग्लो प्रतिबिम्ब

प्रकाशित मिति : प्रकाशन मिति : शनिवार, 8 भाद्र, 2070

लेखकका अन्य रचनाहरु