कमरेड भाउजू

- कृष्ण बजगाईं

कमरेड भाउजूले हुँइक्याएको कार ग्रीनफोर्डको कम्युनिटी हल अगाडिको कार पार्कमा रोकियो । नयाँ मोडेलको कालो कार । गोरी, उज्याली कमरेड भाउजूलाई खुब सुहाएको थियो कार । अझ भनौं गाडीलाई सुहाउने चालक बल्ल भेट्टिए जस्तो । गाडीको अघिल्लो सिटमा बसेका कमरेड परिवर्तन उर्फ धर्मप्रसाद उपाध्याय सबै भन्दा पहिले उत्रे । र पछाडिको ढोका खोलेर छोरा र छोरीलाई बाहिर निस्कन भने । कमरेड भाउजू कार भित्रै बसिन् । कारको ‘साइड ग्लास’ र ‘रिअर मिरर’मा हेरेर आफ्नो मेकअप अपडेट गर्दै फाइनल टच गरिन ।

कार्यक्रम सुरु हुनुभन्दा अघि पुगेका केही माानिसहरु कारपार्क कै छेउमा चुरोट पिउँदै थिए । केही सहभागीहरु बियर र ह्वीस्कीका गीलास समाएर राष्ट्रिय चिन्तनमा डुबेका थिए । कोही नेपालमा सरकार ढाल्ने र नयाँ बनाउने योजना बनाइ रहेका थिए । उनीहरुको कुराको मुख्य निचोड थियो –‘नेपालमा सरकार चलाउन सक्ने क्षमता भएको मानिस नै छैन ।’

ती गफका विषयमा कमरेड धर्मप्रसादको धेरै चाख छ । त्यहाँ उनी आफ्नो तार्किक क्षमता देखाउन चाहान्छन् । तर परिवारसँग आएकोले त्यो माहोल छैन । अभिवादन र औपचारिकतामै सिमित राखे आफूलाई ।

कमरेड धर्मप्रसादकी धर्मपत्नी अर्थात भाउजू कमरेड नयाँ कारबाट निस्कदै गरेको उनीहरुले देखे । श्रीमतीले कार चलाएकोमा कमरेड धर्मप्रसादलाई बधाई दिए । उनले बधाई थापे । नयाँ कारको दाम सोधे दुइचार जनाले । भेटिएका र चिनेका जति सबैले खुशी ब्यक्त गरे श्रीमतीले कार चलाएकोमा । तर कमरेड धर्मप्रसाद उति धेरैै खुशी छैनन् । कारण कार चलाउने लाइसेन्स भएर पनि सडकमा कार निकाल्ने उनको हुति छैन । थुप्रै पटक जाँच दिएर बल्ल बल्ल पास भएका धर्मप्रसादलाई अलिक भीडभाड र नयाँ ठाउँमा कार चलाएर लाने आँट आउँदैन । त्यही भएर निक्कै समयसम्म कार ग्यारेज मै थन्काएका थिए ।

‘कार ग्यारेजमा थन्काउन किनेको हो ? अरुका लोग्ने मान्छे कारमा स्वास्नी छोराछोरी लिएर निस्कन्छन । आफ्नो चाहीँ चिनेको बाटो बाहेक अरु ठाउँ जानु पर्यो भने डरले काम्नछन् ।’ एक दिन कमरेड भाउजूले रिश पोखेकी थिइन ।

‘मैले पहिलै भनेको थिएँ । मबाट यो काम हुन सक्दैन । अरुको देखासिखी गरेर कार सिकाउन पठायौ । कार किन्न लगायौ । मान्छेको मनले नआँटेको काममा जर्बजस्ती गर्नु हुँदैन भन्ने कुरा बुझेनौं । दुर्घटना भयो भने के गर्ने ?’ कमरेड धर्मप्रसादले डरको पोको खोले ।

‘नाथे कार चलाउन डराउनेले देश चलाउँछु भनेर त्यतिका वर्ष के क्रान्तिमा हिँडेको त ? धन्न बीचबाटै फिर्ता बोलाएर लन्डनसम्म ल्याएछु । नत्र क्रान्ति नै दुर्घटनामा पर्ने रहेछ ।’ भाउजू कमरेडले ब्यङग्य कसिन ।

‘म यता भए रै त हो नि क्रान्ति अधुरो रहेर दुर्घटनामा परेको ।’ कमरेड धर्मप्रसादले प्रतिरक्षा गरे ।
‘फ्रिजमा रहेको कुखुराको साँप्रा डरले टुक्रयाउन नसक्नेले मान्छेका हात खुट्टा गिँड्ने हुलमा हिँडेको कुरा सुन्दा पनि अचम्म लाग्छ ?’ भाउजू कमरेडको यो प्रहार उनले खप्न सकेनन् । त्यसपछि मनको कुरा खोले उनले ।

‘क्रान्तिकारी परिवर्तनका लागि हिँडेको बेला तिमीसँग प्रेम विबाह भयो । त्यसपछि नै हो आफूलाई कमजोर ठान्न थालेको । जब प्रथम सन्तानको जन्म भयो, त्यसपछि मनमा भय उत्पन्न हुन थाल्यो । डरले मनमा डेरा जमायो । हरेक कुरासँग डराउने । एकदिन तिमीलाई नसोधी डाक्टरलाई देखाए । उनले डिप्रसेनको लक्षण हो भने । कारण रहेछ क्रान्तिमा हिँडेको बेला धेरै मृत्यु आँखै अगाडि देखेँको थिएँ । कैयौं पटक मृत्युको मुखबाट बाँचेर फर्केरको थिएँ । त्यसपछि नै हो मनमा डर उत्पन्न हुन थालेको । चारपाँच तलामाथि पुग्यो भने वा तिब्र गतिमा चढेको कारमा चढ्यो भने डर लाग्छ । कार चलायो भने कसैले सिधै ल्याएर हान्न आँटे जस्तो लाग्छ । मैले चलाएँ भने कसैको गाडीमा हान्छु कि जस्तो लाग्छ । यो कुरा तिमीलाई पहिलो पटक भन्दैछु । हेर ! मलाई यस्ता कुराहरुमा जोड नगर्नू ।’ कमरेड धर्मप्रसादको कुराले कमरेड भाउजू छक्क परिन । दुःखी भइन र माफी मागिन ।

त्यसपछि भाउजू कमरेडले कार चलाउन सिक्ने अठोट गरिन । दृढ इच्छा शक्ति भएकी उनले छोटो समयमै कार चलाउने लाइसेन्स लिइन । त्यसपछि उनी कमरेड धर्मप्रसाद ड्राइभर जस्तै भइन । फुर्सद हुने बित्तिकै लन्डनमा हुने हरेक सामाजिक, सांस्कृतिक, साहित्यिक तथा राजनैतिक कार्यक्रममा श्रीमान्सँगै उनको उपस्थिति बढेपछि उनको लोकप्रियता बढ्न थाल्यो । अझ भनौं धर्मप्रसाद ओझेलमा पर्दै गए । कमरेड भाउजू सूर्य जस्तै चम्किँदै जान थालिन ।

कमरेड भाउजूको ब्यस्तता खुब छ । दिउँसो हातमुख जोर्ने आफ्नो काम । र विहान बेलुकाको घरको काम उनैले थामेकी छिन् । नेपालमा हुँदा हुन भने छोराछोरी मनग्गे काम सघाउने उमेरका भैसकेका थिए । यता भएकोले होला अहँ पटक्कै काम छुँदैनन् । मान्दैनन् । तर कमरेड धर्मप्रसादले प्रसस्त सघाएका छन् । तर पनि भाउजू कमरेडको खटाइ हेर्ने हो भने दुइजनाको काम एक्लैले भ्याएकि छिन् । खटाइ अनुसारको सुखसुविधा पाउँदा उनलाई कुनै दुःख वा ग्लानी छैन । खुशी छिन् । भन्छिन् –‘रोग नलागोस् । काम गरेर मरिँदैन ।’

कमरेड भाउजू दोचारे आदर्शवादी कुरा गर्न मन पराउँदिनन् । अन्य नेपालीहरु जस्तो बेलायतको बसाईलाई दिनरात गाली गर्ने तर यतै टाँसी रहनेहरुलाई ठाडै भन्छिन् । ‘जहाँ बसेका छौ आफ्नो संस्कृति जोगाउँदै त्यहाँको माटो, मान्छे र संस्कृतिलाई मनैदेखि माया र सम्मान गर । सक्दैनौ जहाँबाट आएको हो त्यहीँ जाऊ ।’ उनको यो समन्वयवादी विचारले उनलाई सन्तुष्टि मिलेको छ । संसारभरका मानिस बसोबास गर्ने बेलायती समाजमा उनको राम्रो घुलमिल छ । झन् नेपालीहरुको घना बस्ती भएको क्षेत्रमा सहयोगी तथा सामाजिक कार्यकर्ताको छवि बनाएका छन् श्रीमान् श्रीमती दुबैले ।

साँझमा डोरबेल बज्यो । कमरेड धर्मप्रसाद साँझको पूजामा ब्यस्त थिए । कमरेड भाउजू भान्समा थिइन । छोरीले ढोका खोलिन । चिरपरिचित कमरेड गौरव आएका थिए पैसा सापट माग्न । धोति फेरेका क्रान्तिकारी धर्मप्रसादलाई संस्कृत मन्त्रोच्चारण सहित पुजाको प्रसाद लिएर बैठक कोठामा निस्केको देख्दा कमरेड गौरव छक्क परे । पुरै ब्राहम्णरुपमा थिए धर्मप्रसाद । भलाकुसारी गरेर कमरेड गौरव फर्के ।

केही दिन मै कमरेड गौरवले कमरेड धर्मप्रसादको थप योग्यता प्रचार प्रसार नेपाली समाजमा गरिसकेका थिए । त्यसको एक हप्तापछि अर्का छिमेकी घर आए । सहयोगको लागि उनले बिन्ती भाउ गरे ।

‘कमरेड तपाईंले नाइ भन्न पाउनु हुन्न । मेरो छोरीको न्वारान गर्न ब्राम्हण नपाएर हैरान भएको थिएँ । यत्तिका वर्षदेखिको हाम्रो चिनजान । हजुरको यो विद्धता हामीलाई थाहै थिएन । छिमेक मै हजुर भएपछि म अरुलाई खोज्न कहाँ जाउँ ?’ सुखदुःखका साथी छिमेकीको कुरा सुनेर कमरेड धर्मप्रसाद किंकर्तब्यविमूढ भए ।

कमरेड धर्मप्रसादको पिताजीको खान्दानी पुरोहित पेशा थियो । संस्कृत कलेज टेक्नु अघि पिताजीलाई प्रशस्त सघाएका थिए उनले । जजमानकोमा कर्मकाण्ड जुधेको बेला कैयौं ठाउँमा बाबुको प्रतिनिधी बनेर सफलतासाथ कार्य सम्पन्न गरेका थिए । धर्मप्रसादले पनि यही पेशा र पुस्तैनि परम्परा कायम राखोस् भनेर नै उनका पिताले संस्कृत विद्यालय सकेपछि संस्कृत कलेजमा पढ्न पठाएका थिए । कलेज टेकेपछि उनी राजनैतिक चेतले दिक्षित भए । ‘धर्म भनेको अफिम हो’ भन्ने गुरुमन्त्र कानमा परेपछि कलेजको पढाई बिचैमा छाडेर क्रान्तिमा होमिएका थिए ।

लन्डनको नेपाली समाजमा सहयोगीका रुपमा परिचित कमरेड धर्मप्रसाद कम्युनिष्ट विचारका भए पनि सबै पार्टी प्रति आस्था राख्नेहरुका बीचमा पनि लोकप्रिय थिए । साह्रो गाह्रो परेको बेला आर्थिक, भौतिक हरेक प्रकारको सहयोग गर्न कसैलाई पनि नाइ भन्दैनन् । खास गरि नेपाली भाषा तथा संस्कृति प्रति उनको ठूलो लगाव थियो । दशैं, तिहार, नयाँ वर्ष होस् वा साहित्यकारको जन्मजयन्ती, उनको अनिवार्य उपस्थिति हुन्थ्यो । त्यति मात्र होईन कैयौं कार्यक्रम उनकै संयोजकत्वमा भएको थियो ।

छिमेकीको अनुरोध सुनेपछि श्रीमतीले कर गरिन । ‘जानोस् न त मानिसको आफ्नो संस्कार र परम्परा प्रति कत्रो आस्था छ । तपाईंलाई त्यत्रो विश्वास गरेर अनुरोध गर्न आएका छन् ।’

धेरै वर्षपछि र पहिलोपटक विदेशमा एउटा नेपालीको धर्म तथा संस्कार प्रतिको आस्थालाई सम्मान गरे । र न्वारानको कर्म पुरा गरिदिए ।

कमरेड धर्मप्रसादले यो कर्म के गरेका थिए नेपाली समाजमा उनको चर्चा चल्यो । राम्रो नराम्रो दुबै ।
पार्टी समर्थित समुदायले उनी ढोंगी र नक्कली कम्युनिष्ट भएको आरोप लगाए । धर्मभिरुलाई पार्टीबाट हदैसम्मको कार्यवाही गर्नुपर्दछ भन्नेसम्म निस्किए । घरभित्र जे सुकै गरे पनि सार्वजनिकरुपमा पार्टीको छविमा असर पर्ने गरि जिम्मेवार नेताले यस्तो कार्य गर्नु हुँदैन भनेर हूर्मत लिए । तर पार्टी बाहिरको अन्य समुदायमा उनी समाजका उपयोगी, हितकारी ब्यक्ति भएको भन्दै गुनगान गरे पनि गुनगान गर्नेहरुको संख्या एकदम थोरै थिए ।

कमरेड धर्मप्रसाद उतिबेला लन्डनमा आउँदा फाट्टफुट्ट मात्र नेपालीहरु थिए । उनले नेपालीहरु खुब खोजे । नेपालीहरुले चिनुन र सम्पर्क होस् भनेर ढाका टोपी लगाएर कैयौ महिना हिँडे । तर विदेशीहरुका अगाडि जोकर जस्तो देखिए । केही नेपालीहरुले उनलाई पाखे भन्दै तर्केर हिँडे । उनलाई यी कुनै कुरामा मतलब थिएन । उनको एउटैमात्र उद्येश्य थियो लन्डनमा नेपाली खोज्नु । र एकिकृत गर्नु । त्यो ढाका टोपीले खुब काम गर्यो । थुप्रै नेपाली भेटाइ दियो । नेपालीहरुलाई समटेर बृहत्तर नेपाली समाज बनाए । नेतृत्व गरे ।

उनको राजनैतिक परिचय अलिक पछि खुलेको हो । सामाजिक कार्यले गर्दा उनी लोकप्रीय मात्र होइनन् सम्मानित पनि भएका थिए । सोही कारण उनकी श्रीमतीले भाउजूको सम्मान पाईन । सबै कि भाउजू । तर अलिकपछि नेपालीहरुको बसोबास बढेपछि उनी भन्दा पाका उमेरका र राजनीति तथा सामाजिक सेवा गर्नेहरु थपिदैं गए । नेपाली चलन अनुसार अरु महिलाहरुलाई पनि आदरसाथ भाउजू भन्न थाले । धेरै भाउजूहरु भएपछि कुन भाउजू भनेर छुट्याउन गाह्रो हुन थाल्यो । राजनीति गरेका श्रीमान्का कारण उनलाई कमरेड भाउजू भन्न थाले । राजनीतिमा कुनै चाख र लगाव नभए पनि उनले यसलाई सहजसाथ लिइन । श्रीमान्सँग जोडिएर आएको सम्मानार्थी शब्द जस्तो लाग्यो उनलाई ।
लन्डनको नेपाली समाज हरेक खालका मानिस थपिदैं गए । ती सबैले नेपालबाटै आफ्नो संस्कृति बोकेर आएका थिए । हरेकका आआफ्ना आस्था र विश्वास थिए । सामाजिक र राजनैतिक कार्यमा सक्रिय धर्मप्रसादले विभिन्न विचार र आस्था बोकेका नेपाली समाजको अनुरोधलाई अस्वीकार गर्न सक्दैन थिए । दशैं, तिहार, तीज, नयाँ वर्ष जस्ता कार्यक्रम उनी बिना आयोजना हुँदैन थियो । त्यसलाई उनी नेपालीहरुलाई विदेशमा भावनात्मकरुपमा जोड्ने पर्वको रुपमा लिन्थे । तर पनि उनको छवि राजनैतिक कम र सामाजिक बढी देखिन थाल्यो ।

नेपालीहरुको संख्या थपिदै गयो । उनको राजनैतिक आस्थाको संगठन पनि ठूलो भइसकेको थियो । संगठन भित्र थुप्रै महत्वाकांक्षीहरु देखिन थाले । विस्तारै कमरेड धर्मप्रसादलाई पाखा लगाउँदै जाने रणनीतिमा लागे । पार्टी इतरका मानिससँगको बढ्ता हिमचिम तथा कम्युनिष्ट भएर पनि धर्म जस्तो अन्धविश्वासका पछि लागेको भनेर सातो लिए । धर्म निरपेक्ष देशमा बसेर धर्म फैलाएको भन्ने आरोप लगाए । एकदिन पार्टीबाट स्पष्टीकरण सोधे । त्यसको केही दिन मै पार्टीबाट निष्कासित गरे ।
आफूले संगठन गरेर मलजल गरेर हुर्काएको पार्टीबाट बाहिरिएको उनलाई त्यति दुःख लागेन । तर दुःखीत त आफू कहाँ महिनौं बसेर काम खोजिदिएको, सहयोग र उद्धार गरेका मानिसहरु नै उनैलाई विस्थापित गर्न हिडेको थाहा पाउँदा दुःखीत भए ।

त्यसो त उनले राजनीतिको यस्तो दाउपेच र उतार चढाव नेपाल मै भोगेका थिए । पार्टी भनेको समाज भन्दा ठूलो होइन । समाज छ भने त पार्टीको अस्तित्व हुन्छ भन्थे । उनले यसलाई सहजरुपमा लिए । र सामाजिक सेवामा सक्रिय भए । उनी बारम्बार भन्दथे–‘आखिर जहाँ जुन संगठनमा भए पनि समाज हितको काम गर्नु त हो नि ।’

पार्टीको काम छुटेपछि बल्ल उनलाई फुर्सद भए जस्तो भयो । घरमा समय दिन थाले । घरको काममा सघाउन थाले । छोराछोरी पढाउनेदेखि किनमेलको काममा धर्मप्रसादले समय दिन थालेपछि कमरेड भाउजूलाई काममा अलिक हलुका भयो । घरमा सघाउने भएपछि र गाडी भएपछि कमरेड भाउजूले बाहिर काम बढाइन । अर्थात ओभरटाइम गर्न थालिन । अर्थात गृहलक्ष्मी घर वाहिर काममा अलि बढी दौडे पछि धनकी लक्ष्मी भित्रिन थालिन ।

कमरेड भाउजू ओभरटाइममा जान थालेपछि कमरेड धर्मप्रसादलाई घर काम र बाहिरको कामको ओभरलोड हुन थाल्यो । समयाभावका कारण सामाजिक काममा उनको संलग्नता कम हुन थाल्यो । त्यसपछि मानिसले उनको कुरा काट्न थाले ।

लोग्ने स्वास्नी दुबैले मेहनतले काम गर्न थालेपछि उनीहरुको आर्थिक प्रगति भएको देखियो । तर बिरोधीहरुले हल्ला फैलाए....
–पुजापाठ र धर्म गरेपछि उसलाई फलिफाप भएको छ ।
–जजमानीको कमाई र दानमा आएको सम्पत्तिले ऊ छोइन सक्नुको भा’को छ ।
– कोठाको भित्तामा रहेको माक्र्स, एङ्गेल्स, लेनिन र माओको तस्विर हटाएर देवताका तस्विर टाँसेको छ ।
– रेडबुक त थेम्स नदीमा बगायो अरे ।
– विहान गीता पाठ नगरी जल, अन्न केही पनि मुखमा हाल्दैनन् अरे ।
–संगठनको पैसा खर्लैप्पै पचायो अरे ।

अब धर्मप्रसाद बिरोधीहरु माझ काल्पनिक कथाको पात्रको रुपमा देखिन थाले । धेरैले धेरै थरिका कथा बुने धर्मप्रसाद उपर । अन्त्यहिन कथा । जसको उद्येश्य थियो धर्मप्रसादलाई बदनाम गर्नु ।
बदनाम किन नगरुन त ? आफैले स्थापना गरेको सबै जाति अटाएको नेपाली समाजमा पहिचानको कुरा उठ्यो । जातिय पहिचान । नेपालमा जस्तै भागवन्डा र पहिचानको मुद्दा उठेको धर्मप्रसादलाई मन परेन । संसार भरकै जाति रहेको बेलायतमा अल्पसङ्ख्यक नेपाली जातिको पहिचानको कुरा उठाएर नेपाली जाति स्थापित हुनु पर्नेमा नेपालमा झैं जातको पछि कुदेको भन्दै कमरेड धर्मप्रसादले विरोध गरे । उनले यति कुरा के उठाएका थिए त्यो समाज विभाजित भयो । धर्मप्रसाद समाज बाहिरै रहे ।

उता उनलाई पार्टीले कार्यवाही गरेर निलम्बन गरिसकेको थियो । कमरेड धर्मप्रसाद अब कमरेड रहेनन् । उनी धर्मप्रसाद मात्र रहे । कुनै समय लोग्नेलाई सम्मानसाथ कमरेड भनेकोमा खुब गर्व गर्ने उनकी श्रीमतीलाई यसमा दुःख लाग्यो । अनि श्रीमान्को राजनैतिक विरासतबाट प्राप्त नाम मात्रको कमरेड सम्बोधन प्रति उनलाई वितृष्णा जाग्यो । मनमा अनेक कुरा खेले । श्रीमान् नै कमरेड नरहेपछि यो कमरेड पद म मात्र किन भिरिरहूँ ? यो कहाँ लगेर फिर्ता गरुँ ? समाजका कस–कसलाई भनौं मलाई कमरेड नभन्नू भनेर । म फेरि पार्टीको सदस्य पनि छैन । कमरेड भाउजूले कुनै निर्णय गर्न सकिनन् ।

प्रकाशित मिति : प्रकाशन मिति : शनिवार, 1 भाद्र, 2070

लेखकका अन्य रचनाहरु