बेँसीसहर जानु पोखराको बाटो ?

- धीरकुमार श्रेष्ठ

हुनुपर्ने कुरो भएरै छाड्दो रहेछ कि ? यसपटकको यात्रामा यस्तै भयो । पुग्नुपर्ने थियो बेँसीसहर, पुगियो झन्डैझन्डै पोखरा । बँेसीसहर पुग्न डुम्रेबाट उत्तर लाग्नुपर्ने । हामी लाग्यौँ सिधै पश्चिम पोखरातिर । डुम्रेबाट लगभग ४० किलोमिटर पश्चिम खैरेनीटार पुगेर दक्षिण मोडिँदा पो झसङ्ग भएँ र तुरुन्तै प्रतिवाद गरेँ, ‘यो बाटो त कुनै पनि हालतमा बेँसीसहर पुग्दैन ।’
किनभने बेँसीसहर जाने बाटो पृथ्वी राजमार्गबाट दक्षिण लाग्दैन भन्नेमा म विश्वस्त थिएँ । कारण बेँसीसहर पृथ्वी राजमार्गबाट उत्तर पर्छ भन्ने ज्ञान राम्रैसँग थियो । साथै बेँसीसहर जाने बाटो डुम्रेबाट छुट्टिन्छ भन्ने घोइरोघोइरो जानकारी नभएको होइन तर पूर्णले एकपटक पुगेर आइसकेको हुँ भनेपछि उनलाई पक्कै थाहा होला भनेर चुप लागेर बसेको थिएँ । तर जब खैरेनीटार बजार नाघिसकेर पूर्णले बा १ झ ८३४१ लाई पिचबाट दक्षिण ओराले अनि प्रतिवाद नगरी रहन सकिनँ, ‘यस बाटोले त हामीलाई बेँसीसहर होइन गाउँतिर चाहिँ अवश्य पु¥याउँछ । यसमा फरकै पर्दैन ।’
मैले यति भन्नु के थियो पूर्णले झ्याप्पै ब्रेक लगाए । हो न हो उनी पनि बाटो बिराए जस्तै भए तर पनि एकछिन जिद्दी गर्न छाडेनन्, ‘म यतैबाट बेँसीसहर पुगेर आएको हुँ त सर । कसरी फेरो पर्न सक्छ !’
‘कसरी फेरो पर्न सक्छ होइन, हामी लगभग पोखरा पुग्न आँटिसक्यौँ ।’ सडक छेउमै हामी जस्तै दिग्भ्रमितलाई पर्खिबसेका माइल स्टोनतिर देखाउँदै भनेको थिएँ जहाँ लेखिएको थियो, ‘पोखरा २५, २४, ... ।’ र पोखराको दूरी क्रमशः घट्दो क्रममा थियो ।
‘म त कतै पोखराबाट पनि बेँसीसहर जाने बाटो छ र हामी त्यतै लागेका हौँ कि भनी चुप लागेको हुँ । होइन भने अगि नै एकपटक यस विषयमा उच्चारण गरिसकेको हुँ तर तपार्ईंले नै पहिला गइसकेको हुँ भनेपछि चुप लागेँ ।’ आफ्नै कुरो माथि पार्न भनेँ ।
भन्न त भनेँ तैपनि मनभित्र कताकता लागिरहेको थियो, कतै दक्षिण गएर फेरि कुनै पुलमुनिबाट उत्तर लाग्ने बाटो त छैन ? जसले बेँसीसहर पु¥याओस् ? भन्नुको अर्थ बेँसीसहर जाने बाटोका बारेमा धमिलो जानकारी हुँदाहुँदै पनि पूर्णले एकपटक पुगिसकेको हुँ भनेपछि मेरो मनमा पुनः द्विविधा पैदा भयो । त्यही द्विविधाले खैरेनीटार पुग्दासम्म चुपै लागेको थिएँ तर जब बा १ झ ८३४१ लाई पूर्णले ओरालो कुदाउन थाले अनि फेरि प्रतिवाद गरेँ । मेरो प्रतिवादमा गंगाराम र चुडाले पनि हो मा हो थपे, ‘एकपटक वरपर कसैलाई सोधूँ न त ?’
उनीहरूको आड पाएपछि म भाले भएँ । बस बिसौनीमा भेटिएकी दुईजना महिलालाई सोध्दा उनीहरू हामीलाई अचम्म मानेर हेर्न थाले । त्यसबाट मैले लख काटेँ कि हामीले बाटो बिराइसकेका रहेछौँ । कताकति मनभित्र लागिरह्यो डुम्रेतिरै कसैलाई सोधेको भए पनि त हुन्थ्यो तर सोधिएन किनभने मलाई आफ्नै धमिलो जानकारीमा विश्वास थियो भने पूर्णले एकपटक पुगेर आइसकेको भनेपछि उनीप्रति भरोसा थियो । अन्ततः हामी दुवैको विश्वास र भरोसाले हामी दुवैलाई धोका दियो । दुवै काम लागेन तर पनि हामी हाम्रो भ्रमलाई अझै तिलाञ्जली दिन तयार थिएनौँ । पूर्ण ‘यतै कतैबाट बेँसीसहर पुगेर आएको हुँ’ भन्दै थिए भने म पनि दबेको स्वरमा ‘मैले त भनेको हुँ तर पूर्णले एकपटक गइसकेको हुँ भनेपछि चुप लागेँ’ भन्दै थिएँ ।
नचाहँदा नचाहँदै पनि पूर्णले बा १ झ ८३४१ लाई जुन बाटो ओरालेका थिए त्यही बाटो उकाल्न थाले । बस बिसौनीमा बसेका ती महिला अक्क न बक्क परी हामीलाई हेर्दै थिए । हामीले उनीहरूलाई बेवास्ता ग¥यौँ । उनीहरूका अगाडि आफूलाई लिलिपुट बनाउन थिएन यसैले हामीबाट भुल भएको हो भन्ने नपरोस् भन्ने पार्न थाल्यौँ । अलि वर फर्केर एकजना भाइलाई सोध्दा उनी पनि हामीसँग झस्के । लाग्यो, उनले हामीलाई सद्दे मान्छेको कोटिमा राखिरहेका छैनन् । हामीले लाजै नमानी बत्तीस दन्त देखाएपछि भने उनी साम्य भए र बाटो देखाउन थाले, ‘बेँसीसहर जान त डुम्रेबाटै उत्तर लाग्नुपथ्र्यो । तपाईंहरू लगभग ४० किलोमिटर वर आइसक्नुभएको छ । अब फर्किनुस् ।’
अब भने पक्का भयो । हामीले बाटो बिराएकै रहेछौँ । ल्हासा जानु कुतीको बाटो भनेजस्तो बेँसीसहर जान डुम्रेबाट उत्तर लाग्नुपर्नेमा झन्डैझन्डै पोखरा पुग्न आँटिसकेका रहेछौँ । बाटो जङ्गलबीचमा मात्र होइन चिल्ला सडकमा पनि बिराइँदो रहेछ । यसको अनुभूति त्यति बेला भयो जति बेला मैले धमिलो भए पनि आफूसँग भएको जानकारीलाई अधुरो मानेँ र पूर्णको जानकारीलाई पूर्ण मानेँ । कहिलेकाहीँ के हुन्छ कुन्नि ! आफूसँग भएको जानकारीलाई अपूर्ण मान्दा बाटो बिराउन पुगिँदो रहेछ । पूर्ण जानकारीमा पनि संशय गरिरहँदा सही सूचना सम्प्रेषण गर्न नसकिँदो रहेछ जसले गर्दा बाटो बिराउन पुगिँदो रहेछ । उसो त आबु खैरेनीमा भेट गरिएका अनिल श्रेष्ठसँगै सोधेर मनभित्रको संशय निवारण गरेको भए पनि हुन्थ्यो तर सोधिएन । उनलाई त बेँसीसहर जाने बाटो राम्रैसँग थाहा थियो । सामान्य साहित्यिक भलाकुसारी र सूचना आदानप्रदान गर्दैमा समय बित्यो । त्यतातिरको ख्यालै आएनछ ।
वास्तवमा हामी काठमाडौँबाट बेँसीसहर जान भनी हिँडेका थियौँ तर पुग्यौँ खैरेनीटार अर्थात् झन्डैझन्डै पोखरा । सम्भवतः हाम्रा लागि यस्तो सुवर्ण अवसर जुराइदिएको थियो डुम्रेमा कुनै पनि किसिमको सूचना बोर्ड एवम् सङ्केत चिह्न नराखिदिएर सडक विभाग अथवा पृथ्वी राजमार्ग बस व्यवस्थापन समितिले । यसैले तिनलाई सहस्र साधुवाद दिनै पर्छ । दिएँ पनि । हुनत हामीमात्र किन ? हामी जस्ता कैयौँलाई यस्तो सुवर्ण अवसर जुरिसकेको हुनुपर्छ सूचनाको अधिकार प्राप्त देशमा असूचनाका कारण । मात्र यसपटक यस्ता अवसरको सिकार हामी भएका थियौँ ।
खैरेनीटार पुगेर फर्किंदा हामीले खेर फालेको समयको क्षतिपूर्ति सम्भव थिएन तर जुन बाटो गएका थियौँ त्यहीँ बाटो उल्टो पाइला फर्किन थाल्यौँ । फर्किंदा पूर्णमा थोरैथोरै ग्लानिबोध भने देखिन थालिसकेको थियो ।

प्रकाशित मिति : प्रकाशन मिति : शनिवार, 26 श्रावण, 2070

लेखकका अन्य रचनाहरु