अनामनगरका बासिन्दा

- विश्वम्भर चन्चल

आज अनामनगर शान्त छ । कतै कुनै हल्लाखल्ला छैन न त मानिसहरू नै त्यस बस्तीमा कतै देखिएका छन् । वरपरका गाउँका मनिसलाई अचम्म लाग्छ र एक–अर्कासँग प्रश्न गर्छन्–
“होइन, आज अनामनगर किन शान्त छ ?”
“किन आज अनामनगरमा कुनै हल्लाखल्ला छैन ?”
यो स्वभाविक थियो– वरपरका गाउँका मानिसलाई कुनै दिन अनामनगरमा हल्ला नहुनु, झगडा नहुनु र कुटपिट नहुनु अस्वभाविक लाग्दथ्यो र त आज उनीहरू स्वभाविक रूपमै एक–अर्कासँग प्रश्न गरिरहेछन्–
“आज किन अनामनगर शान्त छ ?”
“आज किन अनामनगरमा हल्लाखल्ला छैन ?”
त्यस बस्तीको नाम अनामनगर राखियो किनभने त्यस ठाउँको कुनै नाम नै थिएन अर्थात् अनाम । न त्यहाँ कोही पहिलेदेखि बसोबास गरिआएका मानिस थिए न त कुनै खास ठाउँ विशेषको नामले त्यो ठाउँ परिचित नै थियो । त्यो ठाउँ त केवल एउटा नदीको किनार थियो र वर्षायामको बाढीले त्यो किनारलाई कहिले फराकिलो तुल्याउँथ्यो त कहिले साँगुरो तर एउटा कुरा के प्रष्ट थियो भने वातावरणीय कुप्रभावले दुईचार वर्ष यता त्यहाँ पानी कम पर्न थालेको थियो र बाढी कम नै आउँथ्यो । त्यसैले त्यो नदीको किनार आजभोलि अलि विस्तृत भएर पैmलिएको थियो । सिमानाका कृषकहरू आ–आप्mनो जग्गाको क्षेत्रफल बढाउन त खोज्थे तर बलौटे माटोको कारण केही उब्जनी नहुने देखेर त्यसै छोडिदिन्थे । भनौँ, अहिले त्यो जग्गा ऐलानी थियो । सरकारी बाहेक त्यहाँ कसैको कागजी हक लाग्न सक्दैनथ्यो ।
देशमा जनसंख्या बढ्दै गयो । पहाड, पाखा–पर्वतमा उद्योगधन्दा फस्टाउन सकेनन् न त कृषिमा नै राम्रो विकास हुन सक्यो । मानिसहरू बेरोजगार बने र अन्य भौतिक सुविधाबाट पनि प्रायः वञ्चित रहे । शहरको आकर्षणले उनीहरूलाई तान्यो र सबै मानिसहरू शहरतिरै ओइरिए । फलस्वरूप शहरको कृषियोग्य मलिलो जग्गा पनि धमाधम मासिए र त्यहाँ भवनहरू बने । त्यसमाथि पारि सिमानातिरबाट पनि काम र मामको खोजीमा मानिसहरूको आइरो लाग्यो । बसोबास अनियन्त्रित भयो । सरकारले कुनै योजना बनाउन सकेन र बनेका योजना पनि कार्यान्वयन हुन सकेनन् । जो जहाँ पनि बाँस, काठ वा झिँजाले बार बारेर वा पालको छाना ओढाएर आ–आप्mनो बासको निर्धारण गर्न थाले । त्यहीमध्येको अनामनगर पनि एउटा हो ।
अनामनगरमा कुनै सुुविधा थिएन । मानिसहरू दूषित पानी खान्थे । दिशा–पिशाब त्यहीँ वरपर गर्थे । जताततै फोहोरको डङ्गुर थुप्रिन्थ्यो । नदी किनारको बालुवा असंख्य पैतालाहरूको धूलोले माटोमा परिणित भइसकेको थियो र पानी पर्दा उनीहरूको शरीर हिलोले मुछिने गथ्र्यो । राती बत्तीको नाममा कसैले टुकीसम्म बाल्थे भने कसैले भात वा ढिँडो, रोटी पकाउँदाको झिटाझाम्टाको उज्यालोेले नै काम चलाउँथे । त्यसमाथि उनहिरू साँझ नपर्दै खाईवरी सुत्थे । पृथ्वी उनीहरूको ओछ्यान बन्थ्यो, आकाश उनीहरू ओढ्थे तर पनि त्यस बस्तीलाई उनीहरूले भौतिक सुविधासम्पन्न नगरी भैmँ ‘नगर’ को नै संज्ञा दिए । एउटा बुज्ुगले भन्यो, “जे छ र हो, त्यो त सबैले भन्छन्, गर्छन् । अरुले नभनेको र नगरेको कुरा भन्नु, गर्नु पो बहादुरि !”
”हो हो,” सबैले मञ्जुरी जनाए र त्यसै बखतदेखि त्यस बस्तीको नाम नै अनामनगर राखे ।
तर अनामनगरले कहिल्यै आप्mनो चोला फेरेन । पृथ्वीको गति चलिरह्यो, सूर्य र चन्द्रमा उदाइरहे, अस्ताइरहे, ताराहरू चम्किरहे, दिन र वर्षहरू अगाडि बढ्दै गए, अनामनगर चाहिँ गतिहीन नै रह्यो । त्यहाँका बासिन्दा न सूर्यको किरणसँगै हाँस्न सक्थे न त चन्द्रमाको शीतल छहारीमा नै रमाउन सक्थे । हरेक दिनको बिहानीको सूर्यमा उनीहरूको आशा पल्हाउँथ्यो र रातको अन्धकारमा गएर त्यो विलीन हुन्थ्यो । यस्तो लाग्थ्यो– अनामनगर सारा अभावको प्रतिक हो, विकासको उपहास हो, सभ्यताको अपभ्रंश हो र साँच्चै भन्ने हो भने मानवजीवनप्रतिको वितृष्णा हो । यसैले त्यो बस्ती कलहको मूलजड पनि हो । त्यहाँ होहल्ला, झगडा र कुटपिट भइरहन्थ्यो । फेरि एकैछिनमा शान्ति हुन्थ्यो । मानिसहरू दिन दिनभरि काममा वा कामको खोजीमा अल्झिन्थे । बेलुका फर्किँदा छाक टार्ने सामान बोकी आउँथे । तर बोकी आउनेले त्यसको उपभोग गर्न पाउनु चाहिँ एउटा ठूलो भाग्य नै सम्झिनु पथ्र्यो ।
यस्तै थियो त्यो अनामनगर, गरिबीको एउटा ‘मोडेल....’ ।
अनामनगरका बासिन्दा जब रात पथ्र्यो, छियाछिया परेका प्लास्टिक, बोरा, मान्द्रो वा कपडाका छानाबाट चन्द्रमालाई नियालिरहन्थे वा रेगिस्तानका मानिसले गनेजस्तै गरी तारा गनिरहन्थे । यसरी जब दिनदिनै चनद्रमालाई हेर्दै जान्थे, एउटा मीठो कल्पनामा उनीहरू डुब्थे । उनीहरूले सुनेका थिए– अब मानिस पनि चन्द्रमामा पुगिसकेका छन् र त्यहा बस्ती बसाल्ने तरखार गर्दैछन् । “कत्ति मज्जा हुने थियो यदि हामीहरूले चन्द्रमामा गएर बस्न पाए.... !” यही कुरा उनीहरू सोचिरहन्थे र कुनै दैवी वरदानको आशामा रातहरू काट्थे ।
यसरी नै अनामनगरका बासिन्दाले प्रतिक्षा गरिरहे आप्mनो भाग्यको, आप्mनो कर्मको । यस्तैमा एक दिन जब रातको सन्नाटामा उनीहरू पलपल गनेर कोल्टे फेरिरहेका थिए, त्यस बस्तीमा अकस्मात् असंख्य किरणहरूका साथ एउटा उज्यालोले प्रवेश गर्यो । यो देखेर अनामनगरका बासिन्दाले अचम्म माने र रहस्य थाहा पाउन आँखा मिच्दै उठे तर त्यो रहस्य थाहा नपाउँदै अर्को रहस्यले स्थान लियो । एउटा आवाजले भन्यो, “उठ ! अब तिमीहरू उठ ! तिमीहरूको भाग्यलाई मैले साथमा लिएर आएको छु ।”
बासिन्दाहरूले सोधे, “कसको आवाज हो यो ? खोइ हामीले तपाईलाई देखेनौँ ।”
यत्किैमा त्यहाँ एउटा मानवरूप देखा पर्यो जादू गरेजस्तै गरी । उसले ओठमा हाँसो ल्याएर भन्यो, “ल ! चिनेनौ तिमीहरूले मलाई ? म देवदूत हुँ, तिमीहरूलाई यो दुखबाट मुक्ति दिन आएको ।”
“देवदूत.... ?” बासिन्दाहरूले अचम्म र खुशीमिश्रित आवाजमा एकै मुखले सोधे ।
“हो मनुष्यहो ! एउटा श्रृष्टि र एकै जातका तिमीहरू मानिस–मानिसबीचको यो असमानता मैले देख्न सकिनँ,” देवदूतले प्रष्ट पार्दै भने, “तिमीहरू सबै एउटै भाग्य लिएर जन्मिएको हौ र उति–उति हात–खुट्टाहरू तिमीहरूका साथमा छन् । तर पछि गएर मानिसले शक्ति सिध्दान्तका आधारमा आपूmलाई विभाजन गर्यो र बलियाले निर्धालाई शोषण गर्ने नीति त्यस बेलादेखि नै चल्यो । अहिले तिमीहरू त्यही शोषणको शिकार भएका छौ र यो नारकीय दुःख भोगिरहेका छौ । तिमीहरूको यस दुःखले ममा दया आयो र तिमीहरूको उध्दारको लागि म यो बस्तीमा आएको छु । माग, तिमीहरू जे माग्छौ, मेरो इच्छाले म दिन्छु ।”
यो कुरा सुनेर अनामनगरका बासिन्दालाई पहिलोपल्ट विश्वास त भएन तर जब देवदूतले पृथ्वीलोकमा भइरहेका अन्याय, अत्याचार, पापाचार र दुराचारले चर्को रूप लिँदा स्वयम् भगवानले मनुष्यको रूप लिई अन्त्य गरेका कथाहरू सविस्तार वर्णन गर्दै गए, उनीहरूमा पनि विश्वास जागेर आयो । यस प्रकार उनीहरूमा विश्वास जगाउन सकेकोमा देवदूत फेरि मुसुक्क हाँसे र दाहिने हातलाई उठाएर अभय मुद्रामा भने, “माग मनुष्य हो, बेर नगर । म तिमहिरूको इच्छा पूर्ण गरिदिन्छु ।”
अपशोच ! सँधैँ दारिद्रय र र अभावमा जन्मिई हुर्किएका अनामनगरका यी बासिन्दामा यस स्थितिमा एकैपटक के माग्ने हो सुभ्mन सकेन । त्यहाँ उनहिरूलाई तत्काल जे–जे आवश्यक थियो, त्यही त्यही मागे । कसैले भने, “भगवान ! एक पेट टन्न राम्ररी खान पाइयोस् !”
“होइन भगवान ! हामीलाई जाडोमा लाउने लुगा दिनुहोस् !”
“बस्नलाई एउटा सानु घर होस् !”
एउटा मानिस बीचबाट हात जोड्दै करायो, “मेरो छोरो सार्है बिरामी छ र मर्न लागिरहेछ, त्यसलाई बचाउनुहोस् भगवान !”
अर्काले अर्कोतिरबाट सुनायो, “मेरा छोराछोरी साह््रै मूर्ख छन् । तिनीहरूको बुध्दि आवोस् !”
यिनीहरू सबैको मागपछि त्यही बुज्रुग उफ्रियो जसले यस बस्तीको ‘अनामनगर’ नामाकरण गरेको थियो । उसले भन्यो, “भगवान ! हामीलाई केही भए होस्, नभए नहोस् तर यस बस्तीलाई पानी, बिजुली, सडक, बजार, अस्पताल, विद्यालय सबै कुरायुक्त बनाइदिनुहोस् र अरु नगरसरह हाम्रो यस बस्तीले पनि स्थान पावोस् !”
यसै बीच देवदूत बोल्न तरखराए । आ–आप्mना बाँकी मागलाई थमौती राखेर बासिन्दाहरू हात जोडेर नै उभिए । देवदूतले सगौरव घोषणा गरे, “तिमीहरूका यी माग धेरै साधारण कुरा हुन् मनुष्यहो । म त तिमीहरूले माग्दै नमागेको र सोच्दै नसोचेको कुरा दिन्छु । त्यो हो चन्द्रलोक.... ।”
“चन्द्रलोक....? हामीलाई.... ?” बासिन्दाहरू एकदमै स्तम्भित बने ।
“हो मनुषहो ! हाम्रो चन्द्रलोक खाली छ । त्यहाँ कुनै बस्ती बसेको छैन,” देवदूतले उनीहरूलाई बुझाए, “तर तिमीहरू जस्तै अरु मनुष्यले त्यो कुरा पत्ता लगाइसकेका छन् र हामी देवताहरूका विरुध्दमा त्यहाँ बस्ती बसाउने योजना गर्दैछन् । हामी उनीहरूलाई त्यो ठाउँ दिँदैनौँ । हामीले तिमीहरू जस्तै अभावग्रस्त मानिसका लागि चन्द्रलोक सुरक्षित राखेका हौँ र त्यहाँ बस्ने पहिलो मानव तिमीहरू नै हुनेछौ । यो नै तिमीहरूको स्वर्गीय सुख हो.... ।”
अनामनगरका बासिन्दा हर्षले गद्गद् हुँदै देवदूतको जयजयगान गर्न लागे । देवदूतले फेरि एकपल्ट आप्mनो हात ठड्याए र उनीहरूलाई शान्त हुने इशारा गरे । जब उनीहरू शान्त भए, देवदूतले सुनाए, “मनुष्यहो ! म तिमीहरूलाई चन्द्रलोक त दिन्छु तर त्यसका लागि तिमीहरूले एउटा काम गर्नु पर्छ ।”
“हुन्छ भगवान, शिरोपर छ । हामी त्यो काम गर्न राजी छौ,” बासिन्दाहरू सबैले एकैस्वरमा भने ।
“चन्द्रलोक पाउनको लागि तिमीहरूले मेरो आराधना गरिरहनु पर्छ । त्यसपछि म तिमीहरूलाई लिन चन्द्रयान पठाउनेछु र तिमीहरू त्यसैमा चढी चन्द्रलोक आउनेछौ ।”
देवदूतको कुरा अनामनगरका बासिन्दाले सहर्ष मञ्जुर गरे । अनि देवदूत पनि त्यहाँबाट ‘तथास्तु’ को आशीष्सँगै अन्तध्र्यान भए ।
भोलि भयो, पर्सि, निपर्सि पनि । अनामनगरका बासिन्दाले देवदूतको आराधना र पूजा गर्दै रहे । चन्द्रलोक जाने उपलक्ष्यमा भोज खाए, नाचे, रमाए । उनीहरूसँग जे–जति थियो, सबै देवदूतको नाममा सिध्याए । उनीहरू जब आकाशमा केही उडेको देख्थे वा हवाईजहाज नै देख्थे, चन्द्रयान नै हो कि भनेर आँखा तान्थे । रातमा चनद्रमातिर हेर्दै चन्द्रसतहमा आ–आप्mना बास जोर्थे र त्यहाँबाट फेरि पृथ्वीलाई हेर्थे जहाँबाट उनीहरू आएका थिए र उनीहरू जस्तै असंख्य–असंख्य मानिसहरूको अझ त्यहीँ नै बास थियो । तर पनि उनीहरूलाई लिन चन्द्रयान कहिल्यै आएन न त देवदूत नै फर्केर आए । यस अवस्थामा अनामनगरका बासिन्दा विक्षिप्त हुन थाले । एक समय त यस्तो आयो जब कि सम्पूर्ण बासिन्दा आ–आप्mना सबै कामकाज छोडी केवल आकाशतिर नै टाउको फर्काई ‘चन्द्रलोक.... ! चन्द्रलोक.... !’ भनेर मानौँ चन्द्रमालाई नै छोऔँला भैm गरी भूईँबाट खुट्टा छोडीछोडी उफ्रिन थाले या त ‘भगवान.... ! भगवान.... !’ पुकार्दै हात जोडीजोडी अदृश्य देवदूतका पछि दगुर्न थाले । यतिसम्म कि उनीहरूलाई आप्mनो स्थिति र बस्तीको समेत होस रहेन । यसै बेला एक दिन पश्चिमतिरबाट एउटा नराम्रो हूरी जोडले बहेर आयो र यसले बाटोमा पर्ने सबै चीजवीजलाई उडायो । खुल्ला नदीकिनारका अनामनगरका ती झुपडीहरू पनि त्यही हूरीमा मिसिए र भुमरीमा छ्यालब्याल भएर आकाशका बीचमा तल–माथि हुँदै बतासिए । अनामनगर शान्त रह्यो..... । अनामनगरमा कुनै हल्लाखल्ला भएन.... ।

प्रकाशित मिति : प्रकाशन मिति : शनिवार, 26 श्रावण, 2070

लेखकका अन्य रचनाहरु